• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रजिता तामाङ
२०७८ श्रावण २ शनिबार १३:०२:००
सम्झना

संसार दिनहुँ अँध्यारो हुँदै गएजस्तो लाग्छ !

२०७८ श्रावण २ शनिबार १३:०२:००
रजिता तामाङ

 

समयको खेल पनि खै कस्तो–कस्तो । कुन वेला के हुन्छ थाहै नहुने । त्यही वर्ष खुट्टा भाँचिनु, त्यही वर्ष एसएलसीमा फेल हुनु । त्यही वर्ष बहिरो हुनु । जिन्दगीले भएभरको दुःख मैमाथि थोपरिरहेको थियो । म एक्लै एकान्तमा खुब रुन थालेँ ।

 

रामेछापको बेथान डहुमा हेलाको पात्र छोरी भएर जन्मिएँ । भाइ जन्मिँदा घरमा जति खुसी थियो, म र दिदी जन्मिँदा सायद त्यो खुसी थिएन होला । आमा सधैँ भन्नुहुन्थ्यो, ‘पहिलो सन्तान छोरा भएको भए अर्को जन्माउने थिइनँ ।’ आमाको कुरा सुनेर सोचेँ– हामी त संयोगले मात्रै जन्मिएका रहेछौँ ।

 

आमाबाबाको माया त भाइले पायो, तर उसको स्वास्थ्य राम्रो भएन । उसलाई जन्मिँदै जन्डिस भयो, पछि निमोनिया भयो । त्यसपछि छारे रोग लाग्यो । त्यही चिन्ता र तनावमा बाबाले रक्सी पिउन थाल्नुभयो । आमाले भाइलाई बोकेर धामी–झाँक्रीकहाँ लैजानुभयो, तर उसलाई निको भएन । 

 

दिदी र म स्कुलमा पढ्न थालेँ । स्कुल ड्रेस च्यातिएपछि सेतो धागोले सिलाएकी थिएँ । धागोको डोब देखेर साथीहरू हाँस्थे, गिज्याउँथे । उनीहरू पछाडि भिर्ने झोला बोक्थे । म पोलिथिनमा किताव बोकेर स्कुल जान्थेँ । अनि मलाई बेन्चमा नबस भनेर कुट्थ्यो । मलाई पनि कति रहर लाग्थ्यो, साथीहरूसँगै मिलेर बनमाराको मुन्टो टिपेर चुंगी खेल्ने, गट्टी खेल्ने, लुकामारी खेल्ने, तर साथीहरूले मलाई सँगै खेल्न दिएनन् । उनीहरूले म गरिबको छोरी भनेर सँगै खेल्न दिएनन् सायद । 

 

मलाई स्कुल जान मन लाग्नै छाड्यो । बाख्रा लिएर जंगलतिर जान्थेँ । पाखाभरि ऐँसेलु पाकेको हुन्थ्यो । भाइ र बहिनीहरूसँगै ऐँसेलु टिपेर खान्थ्यौँ । जामुनो पाक्दा रूखमा चढेर खाइन्थ्यो । काँचै आँप चोरेर खान्थ्यौँ । जंगलै थर्किने गरी गीत गाउँथ्यौँ । तल सुनकोसी बगिरहेको, माथि सैलुङ र सुनापति डाँडा । कतै चराको गुँड भेटिन्छ कि भन्दै खोज्थ्यौँ । चराका बच्चाहरू भेटिहाले घर लगेर पाल्थ्यौँ । बचेराहरू बोकेर आएको देखेर बाबा र काकाहरूले गाली गर्दै भन्नुहुन्थ्यो, ‘छोरी मान्छे भएर यस्तो उत्ताउलो हुने ?’ तर, त्यही काम दाइ र भाइहरूले गर्दा केही पनि भन्नुहुन्थेन । 

 

भाइलाई निको नै नभएपछि आमालाई अर्को बच्चा जन्माउन बाबाले दबाब दिन थाल्नुभयो । दिदी र म अलिअलि बुझ्ने भएकाले आमालाई नजन्माउनु भन्थ्यौँ । आमाले हामीले भनेको कुरा मान्नुभयो । त्यही कारण घरमा झगडा हुन थाल्यो । बाबा रक्सी खाएर हामीलाई हप्काउनुहुन्थ्यो । हामी डरले कुनामा लुक्थ्यौँ । 

 

६ वर्षको हुँदा भाइले अलिअलि हिँड्न सुरु गर्‍यो । पछि हिँड्न र बोल्न त सक्ने भयो, तर बौद्धिक अपांगता भयो । सधँै सानो बालकको जस्तै व्यवहार गरिरह्यो । स्कुल भर्ना गरे पनि उसले पढ्न सकेन ।

 

स्कुल जान मन लाग्न छाडेपछि म पनि भाइसँगै बस्न थालेँ । बाबाले अलच्छिन छोरा भन्दै मरे पनि मरोस् भनेजसरी भाइलाई पिट्नुहुन्थ्यो । अपांग भएपछि जन्मदाता पनि पराई हुँदोरहेछ भन्ने त्यसवेला थाहा पाएँ । 

 

दुःख–कष्ट गरेर म कक्षा १० मा पुगेँ । एसएसलीको तयारी गर्न थालेँ । मैले सपना सजाएँ, एसएलसी पास भएपछि म आर्मी बन्छु । पैसा कमाउँछु, आमाबाबालाई पठाउँछु । छोरी सक्षम हुँदैन भन्नेहरूलाई आर्मी बनेर देखाउने ठूलो धोको थियो । तर, जीवनमा देखेको सबै सपना कहाँ पूरा हुुँदोरहेछ र । सपना कहिल्यै पूरा नहुने गरी टाढियो । ०६९ जेठमा रूखबाट खसेर मेरो खुट्टा भाँचियो ।

 

मेरो खुट्टाको अप्रेसन गर्दा आमाबाबाले ऋण गरेर खोजेको डेढ लाख सकियो । एसएलसी दिनुपर्ने मान्छे पाँच महिना स्कुल पनि देख्न पाइनँ । दुईतिर बैसाखी च्यापेर बल्लबल्ल उठ्न थालेँ । अप्रेसन गरेको खुट्टा तीन महिनासम्म सीधाको सीधै भयो । खुट्टा त कुनै निर्जीव फलाम र काठजस्तो भयो । एक इन्च पनि नखुम्चिएपछि डाक्टर आफैँ छक्क परे ।

 

म यस्तो हुनुमा डाक्टरको दोष हो कि,आमाबाबाको दोष हो कि, गरिबीको दोष हो ? थाहा छैन ।

 

डाक्टरले थेरापी गर्नुपर्छ भने । बनेपाको सिर मेमोरियल अस्पतालमा थेरापी गर्दा एकदमै दुख्यो । त्यहाँको थेरापी गर्ने एकजना डाक्टरले मेरो खुट्टा जबर्जस्ती खुम्च्याइदिए । त्यसवेला म पीडाले यति चिच्याएँ कि गेटमा बसिरहेको पालेदाइ पनि म भएको ठाउँमा दौडिँदै आए । वरपरका मान्छेहरू सबै तर्सिए । त्यो दिनको पीडा म आजसम्म पनि भुल्न सक्दिनँ । कुनै डाक्टर यति मूर्ख पनि हुँदोरहेछ भन्ने मैले सोचेँ । तीन महिनादेखि बिग्रिएको खुट्टाको नसा जबर्जस्ती खुम्च्याउन खोज्दा मेरो अरू ठाउँको नसा पनि गडबड भएछ । त्यो दिनको घटनापछि मेरो जिन्दगीमा नसोचेको मोड थपियो । त्यस दिनदेखि म थेरापी गर्न पनि गइनँ । घरमै तोरीको तेलले मालिस गरिरहेँ । अस्पताल जान मन लाग्थ्यो, तर त्यो दुखाइले अस्पताल सम्झिनेबित्तिकै आत्तिन्थेँ । मालिस गर्दागर्दा बल्लबल्ल टेक्न सक्ने भएँ । त्यसपछि जसोतसो एसएलसी दिएँ । अब मैले आर्मी बन्ने सपना त्यागेँ र प्लस टु पढेर जापान जाने सपना देख्न थालेँ । 

 

बिरामी भएकाले परीक्षाको तयारी राम्रो भएन । गणित विषय बिग्रियो । त्यही वेला दिदीले पनि भागेर बिहे गरिन् । अब घरमा भाइ र म मात्रै । त्यसपछि नरमाइला दिनहरू बित्न थाले । अब मैले अरूले बोलाएको पनि सुन्न छाडेँ । मेरो कान नसुन्ने हुँदै गयो । गाउँको मेडिकलमा गएर देखाएँ । फोहोर जमेको भन्दै पम्पमा पानी हालेर सफा गरिदिए । थोरै सुनेजस्तो पनि लाग्यो, तर सुनिनँ । मेरो मन आत्तिन थाल्यो । अब के गर्ने ? 

 

आमासँग पैसा थिएन । रक्सी खाँदै हिँड्ने बाबासँग पैसा हुने कुरै भएन । मेरो खुट्टाको अप्रेसन गर्दा लागेको ऋण आमाले कहिले गलैँचा बुनेर, कहिले ढुंगा र इँटा बोकेर, कहिले गिटी कुटेर तिरिरहनुभएको थियो । आमाले वेलामै मेरो कान उपचार गर्न लैजान सक्नुभएन । 

 

एसएलसीको नतिजा आयो । म त फेल भएछु । तीनवटा विषय लागेछ । सहनै नसक्ने गरी पीडा भयो । अनि म यति रोएछु कि, रुँदारुँदै कति दिन रात बिते पत्तै पाइनँ । 

 

समयको खेल पनि खै कस्तो–कस्तो । कुन वेला के हुन्छ थाहै नहुने । त्यही वर्ष खुट्टा भाँचिनु, त्यही वर्ष एसएलसीमा फेल हुनु । त्यही वर्ष बहिरो हुनु । जिन्दगीले भएभरको दुःख मैमाथि थोपरिरहेको थियो । म एक्लै एकान्तमा खुब रुन थालेँ । खाना मनै नलाग्ने, रातभरि निद्रा नलाग्ने, कोहीसँग बोल्न मन नलाग्ने हुन थाल्यो । मुटु पोलिरहन्थ्यो । जति रोक्न खोजे पनि आँखाको आँसु पटक्कै रोकिँदैनथ्यो । १६ वर्षको उमेरमै म बुढीजस्तो भइसकेकी थिएँ । अब आँखा पनि कम देख्न थालेँ ।

 

राम्रोसँग नसुतेको आठ–नौ महिनापछि काठमाडौंबाट फुपाजुले घरमा ‘हस्पिटल लैजान्छु । काठमाडौं पठाउनू’ भन्नुभयो । पहिले खुट्टा भाँच्दाको ऋण तिरिसकेकै थिएन । अब अर्को पैसा कहाँबाट ल्याउने आमाले । बाबा जहिल्यै रक्सी खाएर हिँड्नुुहुन्थ्यो । बाबा वेलावेलामा चामल लिएर घर आउनुहुन्थ्यो । अनि ठेला फुटेको हात देखाउँदै भन्नुहुन्थ्यो, ‘तिमीहरू अलच्छिनहरूलाई पालेर हेर मेरो हातमा ठेला उठ्यो ।’ अनि घरमा झगडा हुन्थ्यो । नमातेको वेला बाबालाई इमान्दार, मिलनसार, बुद्धिमान देख्छु । अनि मलाई खुब माया पनि गर्नुहुन्छ । तर, मातेको वेला उहाँलाई बाबा पनि भन्न मन लाग्दैन । यस्तो दुईवटा भूमिकामा जीवन बाँच्नु सायद बाबाको बाध्यता थियो ।

 

जसोतसो ऋण खोजेर आमाले मलाई काठमाडौं पठाउनुभयो । फुपाजुले मलाई टिचिङ अस्पताल लिएर जानुभयो । जाँचपछि डाक्टरले कानमा पाक्ने खालको कुनै समस्या नदेखिएको बतायो रे । कमजोरीका कारण कानको नसा सुकेको हुन सक्ने बतायो रे । एक महिनाका लागि औषधि र भिटामिन दिएर पठायो । अब त औषधि खाएपछि सुन्छु होला भन्ने मनमा आशा पलायो । भिटामिन खाँदै गर्दा कतै सुनेजस्तो भयो, तर सुनिनँ । फेरि अर्कोपल्ट अस्पताल गएँ । तब डाक्टरले भन्यो रे,‘यस्तो खालको समस्याको उपचार हुँदैन । तर, मेसिन लगाउन सकिन्छ ।’ फुपाजुले बानेश्वरमा मेसिन पाउने ठाउँमा बुझ्नुभएछ । ५०/६० हजार पो लाग्छ रे । ब्याट्री पनि फेरिरहनुपर्छ रे । कति महँगो । त्यसपछि मैले नलिने निर्णय गरेँ । अनि हामी त्यत्तिकै फर्कियौँ । 

 

मनभित्र पीडा थुपारेर रोइरहनुबाहेक अरू म के गर्न सक्थेँ र ? त्यति पैसा माग्न म कसकहाँ जाऊँ ? कहाँ खोज्न जाऊँ ? आमालाई पीडामाथि पीडा कति थर्पू ?त्यसपछि धेरैजनाको कुरा सुनेर धेरै ठाउँमा कानको उपचार गर्न गएँ । तर, कतै पनि सुधार भएन । ठूलो आशा बोकेर अस्पताल जान्थेँ, उल्टै अस्पतालले निराश बनाएर पठाउँथ्यो । लाग्यो, कस्तो–कस्तो रोग त ठिक हुन्छ, जाबो मेरो यति कान पनि ठिक हुँदैन रे । डाक्टरहरूले चासो नदिएर हो ।

 

मनभरि पीडा बोकेर गाउँ गएँ । सबैजनाले मलाई ठुल्ठूलो स्वरमा कराउन थाले । बिचरा भन्थे । यति कलिलै उमेरमा यो लाटी भई भन्थे । यसको जिन्दगी खेर गयो भन्थे । मनमा झनै पीडा गहिरिन्थ्यो । बिस्तारै मलाई बाटोमा हिँड्न पनि मन लाग्न छाड्यो । अनि गाउँमा बस्न मनै लागेन । मन नलागेर पनि के गर्नु ? म कहाँ जानु?

 

म चुपचाप टोलाएको मात्रै देख्यो दुनियाँले । म एकान्तमा रोइरहेको मात्रै देख्यो समाजले । तर, आफ्नो हजारौँ सपनाहरू कुल्चिएर हरदिन आँसुमा बाँचिरहेको कसैले देखेन । त्यसपछि म अरूको नजरमा झन्झन् रुन्चे हुँदै गएँ । आफन्त परिवारका लागि म त बोझ बन्दै थिएँ ।

 

एसएसली दिएर पास पनि भएँ । त्यस्तो पीडाका वेलामा पनि पास भएँ, मनमा अलिकति सान्त्वना मिल्यो । गाउँमै एघार कक्षामा पढ्ने तयारी भयो । तर, मैले शिक्षकले बोलेको नै सुन्न सक्दिनथेँ । अनि कसरी पढ्ने ? पढ्ने मन हुँदाहुँदै पढ्ने सपना छाडिदिएँ । जापान जाने सपना पनि त्यागिदिएँ । 

 

बर्षहरू त्यतिकै बितिरह्यो । उमेर पनि बढ्दै गयो । समाजको दृष्टिमा म अब बिहेका लागि योग्य भएँ । तर, जिस्किएजस्तै गरी परिवार र गाउँका मान्छेहरू भन्थे, ‘मान्छे त राम्री छे नि के गर्नु बहिरी छे । यस्तोलाई कसले बिहे गर्छ र ?’ उनीहरूको कुराले मनलाई नराम्रोसँग दुखाउँथ्यो । मलाई बिकाउ वस्तु जस्तो बनाएर बोलेको सुन्दा एकदमै रिस उठ्थ्यो ।

 

काका ठूलोबाबाका छोरीहरूसँग बस्न मलाई एकदमै मन पथ्र्यो । तर, ती बहिनीहरू भन्थे, ‘यो माइली दिदीसँग त कुरा गर्न पनि झ्याउ लाग्छ ।’ मैले कुनै प्रश्न गर्दा पनि उनीहरू दिक्क मान्थे । जुन बहिनीहरूलाई सानोमा मैले रहरले कति–कति बोकेर हिँडे, उनीहरूको सिंगान पुछि दिएँ । उनीहरूको जुठो कति पनि नघिनाइ खाएँ । आज उही बहिनीहरू मदेखि झिजार मान्न थाले ।

 

कहिलेकाहीँ म टिभी हेर्न बस्थेँ । त्यसवेला ‘कान नसुन्ने मान्छेले कसरी टिभी हेर्छ ?’ भन्दै उनीहरू हाँस्थे । त्यसवेला मलाई एकदमै नरमाइलो लाग्थ्यो । टिभीको आवाज सुन्न सक्दिनँ । आवाज नसुने पनि भिडियो मात्रै देख्दा पनि रमाइलो लाग्थ्यो । मन भुलाउने ठाउँ पाउँथे । उनीहरू म देखेर हाँसेपछि मैले टिभी पनि हेर्न छाडेँ । 

 

त्यसपछि मैले गाउँघरमा हुने बिहे भोज र रमझममा पनि जान छाडेँ । यतिसम्म कि मलाई दिसा–पिसाब नलागेसम्म बाहिर निस्कन मनै नलाग्ने हुन थाल्यो । म प्रायः सुति रहन्थेँ । लाग्थ्यो, म सुतिरहेको बेला कोही आएर मलाई जिस्क्याउने छैन, कसैले लाटी, बहिरी भन्ने छैन । अरूको नजरमा म निदाए पनि खासमा निधाइरहेको हुन्थेँ, दुनियाँको तीखो वचनबाट बच्न लुकिरहेकी हुन्थेँ । 

 

म चुपचाप टोलाएको मात्रै देख्यो दुनियाँले । म एकान्तमा रोइरहेको मात्रै देख्यो समाजले । तर, आफ्नो हजारौँ सपनाहरू कुल्चिएर हर दिन आसुमा बाँचिरहेको कसैले देखेन । त्यसपछि म अरूको नजरमा झन्झन् रुन्चे हुँदै गएँ । आफन्त परिवारका लागि म त बोझ बन्दै थिएँ । अनि कहिले काँही लाग्थ्यो, ‘मन नदुख्ने, आँशु नआउने दबाइ किन बनाएन मान्छेले ? त्यस्तो दबाइ खान पाए जिन्दगीभरि खाइरहन्थेँ ।’ 

 

म कान नसुन्ने शारीरिक अपांग भएँ । भाइ बौद्धिक अपांग भयो । त्यसपछि बाबा मात्रै होइन आमाले पनि हाम्रो चिन्ताले रक्सी पिउन थाल्नु भयो । हामीलाई जड्याह आमाबाबुको सन्तान भन्न थाले । बाबाआमालाई ‘बहिरो’ र ‘लाटो’को आमाबाबु भन्न थाले । आमाबाबालाई रक्सी नखानु भनेर कति सम्झाएँ, तर उहाँहरूले मान्नुभएन । उल्टै आमाबाबाले भन्नुभयो, ‘तँ अलच्छिनहरूले गर्दा यो सबै भएको हो । ऋण पनि तैंले गर्दा भएको हो ।’ आमाबाबालाई कमाएर दिन नसकेकोमा पछुतो लाग्यो । अनि यस्तो पनि बुझेँ, कमाउन सके सारा संसार आफ्नो हुनेरहेछ, कमाउन नसके आफ्नै जन्मदाता पनि पराइ हुनेरहेछ । 

 

मैले भोग्नुपर्ने पीडा कहाँ यति मात्रै रहेछ र ! समय बित्दै जाँदा–आँखा पनि पो धमिलो देख्न थालेँ । म आत्तिएँ । भोलि बिहान उठ्दा आँखाले झन् उज्यालो दृश्य देख्छु होला भन्ने कल्पना गर्थें । तर, ठिक उल्टो हुँदै भयो । 

 

त्यसपछि म काठमाडौं आएर आफन्तकहाँ बस्न थालेँ । तिलगंगा आँखा अस्पतालमा गएर देखाएँ । डाक्टरले अप्रेसन गर्नुपर्छ भन्यो । अप्रेसनका लागि ३०/४० हजार पैसा लाग्ने रहेछ । त्यति धेरै पैसा अब कहाँबाट ल्याउने ! त्यसपछि मैले सहारा देखेँ, सामाजिक सञ्जाल । फेसबुकमा जोडिएका साथीहरूलाई आग्रह गरेँ । प्रायः खाडी मुलुकमा काम गर्ने साथीहरूले दुई–चार हजारको दरले पठाएर मलाई सहयोग गरे । मेरो आँखाको अप्रेसन भयो । आँखामा मोतिबिन्दु भएको रहेछ । अप्रेसनपछि आँखा देख्छु भन्ने विश्वास थियो । तर, सोचेजस्तो सुधार नै भएन । कानको समस्या छँदै थियो, अब त्यसमाथि थपियो आँखाको समस्या । डाक्टरले खुट्टाको अप्रेसन गर्दा कस्तो औषधि खाएको थियो भनेर त्यसवेलाको कागज मागेको थियो । तर, त्यो कागज हराइसकेको थियो । 

 

भूकम्पले हाम्रो पनि घर भत्कायो । बाबाले रक्सी खाको सुरमा गाउँतिर भन्नुभएछ, ‘ठूली छोरी बिहे गरेर गइहाली । यो दुईवटा अलच्छिन छोराछोरीका लागि किन बनाउनु घर ?’ त्यो कुरा सुनेर साह्रै दुःख लाग्यो । अपांग भयो भन्दैमा हामीलाईचाहिँ घर नचाहिने हो र ? सक्ने भए म आफैँ ज्यामी काम गरेर बनाउने थिएँ घर । तर, बाबाको व्यवहारले बुझ्न बाध्य बनायो, ‘यो घर मेरो पनि होइन रहेछ ।’ सोचेँ, ‘एकदिन म आफैँ एउटा सानो घर बनाउँछु । त्यस दिन समाजलाई भन्नेछु, यो मेरो घर हो । तर, यसै मरेछु भने मेरो कुनै ठेगाना हुनेछैन । म ठेगानाविहीन र घरबारविहीन नै भएर मर्नेछु ।’ 

 

आर्मी बन्ने, जापान जाने मेरो सपना आँसुसँगै बगेर सकियो । उमेरले २४ वर्ष लागिसकेँ । अझै पनि कलेज पढ्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, मजस्ताले कहाँ पढ्ने ? कसरी पढ्ने ? सायद यो पनि मेरो अधुरो सपना नै बन्नेछ । मेरो सपना र आकाशको अनगिन्ती तारा उस्तैउस्तै लाग्छ । दुवैलाई कहिल्यै छुन नसकिने ।

 

अहिले म ललितपुरमा आफन्तको डेरामा बसिरहेकी छु । यहाँ कति दिन बस्छु थाहा छैन । यसपछि कहाँ जान्छु त्योे पनि थाहा छैन । सहरमा एक्लै हिँड्न पनि सक्दिनँँ । आँखा झन्झन् कमजोर हुँदै गएको छ । कान केही पनि सुनिँदैन । आँखाको नजिकै मोबाइल लैजाँदा मात्रै अलिअलि अक्षर देख्छु । त्यही अलिअलि देखेकै भरमा यो लेखेको हुँ । यो पनि देख्न छाडेँ भने थाहा छैन मेरा दिनहरू कसरी बित्नेछन् !

 

संसार दिनहुँ अँध्यारो हुँदै गएजस्तो लाग्छ ! मेरो हालत यस्तो हुनुमा डाक्टरको दोष हो कि, आमाबाबाको दोष हो कि, गरिबीको दोष हो ? छुट्याउन सकिरहेकी छैन । तर, अब म रुँदिनँ । कत्ति रुनु । आखिर रोएर केही नहुने रहेछ । 

 

[email protected]