• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
किशोर नेपाल
२०७८ श्रावण २ शनिबार १२:४२:००
समाज

कोल्टे–कोल्टेमा जीवन

२०७८ श्रावण २ शनिबार १२:४२:००
किशोर नेपाल

 

हिजोआज मानिसहरूसँग देखाउनका लागि पनि न अनुभूति छ, न भोक छ ।

 

कोरोना महामारीको पहिलो चरणका रातहरू मस्त निद्रामा बिते । कुनै रात पनि सपना देखिएन । साँच्चै निर्विवाद बित्यो रात– मस्त निद्रामा बित्यो । आफू बसेको टोेलबाट नदी र तीर्थहरू नजिक थिए । बिहान मन्दिरतिरका हल्लीखल्ली र शंख–घन्टका आवाज पनि स्पष्ट सुनिन्थे । तर, कोरोनाको पहिलो चरणमा ती केही सुनिएनन् । कानले केही सुन्नै मानेन । स्नान गर्ने तीर्थहरू बन्द थिए । मन्दिरका छेउमा झुन्ड्याइएका घन्टका रालोहरूमा स्पष्ट देखिने गरी विकास कोषको लाहछाप लगाइएको थियो, ताकि मन्दिरभित्र जानीजानी अथवा झुक्किएर कुनै मानिस थुनिएको नै रहेछ भने पनि उसले घन्ट बजाएर आफ्नो उपस्थिति जनाउन नपाओस् ।

 

चकमन्न मन्दिर परिसरमा मानिस र पशुपक्षीका आवाज सुनियो भने, पुलिस–पहरा, चौकिदार र द्वारपालहरू, कसैको पनि इज्जत र प्रतिष्ठा जोगिनेछैन । सरकारले यति कडा–कडा नियम बनाएर मन्दिर र मन्दिर परिसरको मर्यादा जोगाउन खोजेको छ– धेरैका लागि यो आश्चर्यको विषय भएको छ । अहोरात्र, झरी–पानी, हावा–हुरी, केही नभनी चौबीसै घन्टा, मानिस खटिएका छन् चारैतिर । महा–श्मशानमा शव विसर्जन गर्न आउने मानिसहरूलाई समेत कडा सुरक्षामा राखेर हेर्ने गरिएकोे छ । 

 

काठमाडौंका होटल, रेस्टुराँहरूमा कुन जातिका मानिसले भात–भान्साको काम गर्थे ? त्यो कसैले भन्न सक्दैनथ्यो । मानिसहरू मिठाई पसलमा जात–पातको मिसावट हुँदैन भन्थे । तर, सबभन्दा बढी जात–पातको मिसावट त्यहीँ हुन्थ्यो भन्ने मानिसहरूलाई थाहा थिएन ।

 

घाटमा जजमानी गरेर बस्ने बाजे पर्शुराम पण्डित भन्छन्– आर्यघाटको किनारमा गाडिएको विरुपाक्षको मूर्ति अब केही वर्षपछि नै पृथ्वीको माथिल्लो सतहमा निस्किँदै छ । जुन दिन यो मूर्ति पृथ्वीको सतहमा साबूत देखा पर्नेछ, त्यस दिनदेखि कलियुगको समाप्ति हुनेछ । यतिवेला देशमा हिन्दू धर्मको पुनर्स्थापनाका लागि सबै मानिसहरू जुर्मुराउनु र तेत्तीसकोटी देवताहरूको रथयात्रा हुनु शुभ कुरा हो । कति मानिस यसलाई ‘ठूलो संकेत’ भन्छन् । देशमा ठूलो परिवर्तनको संकेत ! 

 

मानिसहरू आशाको यति विशाल छायामुनि बसेका छन् । कथं, यहाँ कुनै दुर्घटना भयो भने त्यो दुर्भाग्य नै हो । पर्शुराम पण्डितसँगसँगै, केही मानिसहरू आपसमा कुरा गर्दै छन्– कलियुगमा ईश्वर पनि ‘चोर, डाँका र ज्यानमारा’ बाट जोगिन सक्दैनन् । यत्रो देवभूमिका मन्दिरहरू दुर्व्यसनीका किल्ला बन्दै छन् । यौनकर्मीहरू नदीपारि, मन्दिरका टुँडाल देखाएर, अघिल्लो युगमा यो क्षेत्रमा यौन–स्वतन्त्रता भरपूर भएको साबित गर्न खोज्दै छन् । हरेक मानिस असन्तुष्ट देखिन्छ । हरेक मानिस रिसाएको छ । हरेक मानिस पगलाएको छ ।

 

तै, तै, अहिलेसम्म त त्यस्तो केही भएको छैन : एकजना मानिस अथवा एकजना स्वास्नीमानिसले पनि, र कसैले पनि, दिन र रातका दुवै समयमा, भगवान्श्रीको अन्तःपुरमा प्रवेश पाएका छैनन् । कोरोना संक्रमणको अघिल्लो साँझसम्म शंकर भगवान्को निवासमा ताला–चाबी र आग्लो–तगारोको आवश्यकता परेको थिएन । लोग्नेमानिस र स्वास्नीमानिसहरू मन्दिर प्रवेशका लागि स्वतन्त्र थिए । मन्दिरहरूको भिडमा एउटा मन्दिरको अँध्यारो भाग छानेर जोडीहरू त्यहीँ पलेटी कसेर बस्थे । भजन गाउँथे । रतिक्रीडामा रमाउँथे । कसैले कसैको वास्ता नै गर्दैनथ्यो । तर, अहिले त के भन्न सकिन्छ र ? समय उल्टो घुम्दै छ । जे भए पनि, बिराला त अहिलेसम्म यता आएका छैनन् । सबै शिवालयमा पहिलेको जस्तो नियमित दूध चढाउने चलन पनि छैन । कुकुरहरू मन्दिरभित्र छिर्छन् र गुँडुल्किएर सुत्छन् । बाँदरहरूले प्रभुको दरबारमा खासै बदमासी गर्दैनन् । एउटा जो छ, यो मानिसको जात, अनेक प्रकारका उपद्रो गरिरहन्छ । चोरी–चकारी र बदमासी । हुल्याइँ, छुल्याइँ र गुन्डागर्दी ।

 

हो नि । मानिसको जात सारै सारै खराब भएको छ – हुल्याहा र बेसोमती । आमा प्रायः भन्ने गर्नुहुन्थ्यो, ‘अहिलेका मानिसको विश्वास गर्नै सकिँदैन ।’ त्यसपछि यो वाक्यलाई एकलाइन श्लोकले बन्द गरिदिनुहुन्थ्यो, ‘विश्वास नगर्नु रघुनाथ ती त दुष्ट पो हुन् !’ 

 

 

मलाई थाहा थियो, आमाले पाठ गर्ने अध्यात्म रामायणको नेपाली खण्डमा थियो, त्यो श्लोक । आमाको पालामा मन्दिर परिसरमा त्यस्ता घटना केही हुँदैनथ्यो । जीवन शान्त थियो, र पनि, आमा र उहाँका साथीहरू समय बदलिएको गुनासो गरिरहेका हुन्थे । हो, त्यसको केही वर्षपछि, जब आमाको देहान्त भयो, मलाई पनि लाग्न थाल्यो, समय साँच्चै हुल्याहा भएको छ । मेरो विचारमा समयको स्वभाव बदलिएको थियो । अचानक देशमा एउटा हुल्याहा चरित्र विकसित हुन थालेको थियो ।

 

यो कोरोनाका वेला, यो महामारीका वेला, यो विपत्तिका वेला, यतिवेला मानिसहरू जातको कुरा गर्दै छन् । यस्तो वेला जातको कुरा नगर्नु नि । जात–पात–भात सबै लकडाउनमा हालिदिनू । त्यस्तो कुरा फेरि कहिल्यै नगर्नू ।

 

सहरमा मन्दिर जानु एउटा फेसन भएको थियो । जात–पात, छोइ–छिटोले ठाउँ पाउन थालेको थियो मानिसको जीवनमा । पैसावालाहरू धन–सम्पत्तिको मात्रै होइन, जात–पातको हिसाब–किताबसमेत राख्न थाले । हुल्याहा चरित्र र प्रवृत्ति स्थापित हुँदै गयो समाजमा । तैपनि, सहरको जाति निरपेक्ष समानतालाई चुनौती दिने आँट चाहिँ कसैमा थिएन । काठमाडौंका होटल रेस्टुराँहरूमा कुन जातिका मानिसले भात–भान्साको काम गर्थे ? त्यो कसैले भन्न सक्दैनथ्यो । मानिसहरू मिठाई पसलमा जात–पातको मिसावट हुँदैन भन्थे । तर, सबभन्दा बढी जात–पातको मिसावट त्यहीँ हुन्थ्यो भन्ने मानिसहरूलाई थाहा थिएन । मध्य सहरका यस्ता कतिपय मिठाई पसलमा हाम्रै गाउँघरतिरका, जात–पात नमिल्ने, भाइहरूले काम गर्थे । उनीहरूको जात कसैले सोध्दैनथ्यो त्यतिखेर । मानिस निर्धक्क र निर्भय थियो । त्यतिवेला, विरूपाक्षको मूर्ति पृथ्वीको सतहमा आएको थिएन । मानिसहरू भन्थे, ‘ओहो, मूर्ति त कम्मरभन्दा माथि आइसक्यो ।’ मलाई त्यस्तो लाग्दैनथ्यो । मैले अनेकपटक आफूलाई त्यो मूर्तिसँग दाँजेर हेरेको थिएँ । त्यतिवेला मेरो छातीसम्म आइपुग्ने मूर्ति अहिले कम्मरसम्म आउँछ । मलाई मूर्तिको र आफ्नै उचाइका बारेमा थाहा छ ।

 

मनमा अटाई–नअटाई ठुसिएका छन्, स्मृतिका बिम्बहरू । सधैँ केलाउने हो भने दिन–रात एक हुन्छन् । यी सधैँ केलाउने र सधैँ सम्झनामा राख्ने कुरा होइनन् । अहिले, जब कोरोना महामारी दोस्रो चरणबाट उक्लिएर तेस्रो चरणमा पुग्दै छ, बिम्बहरू एकपटक फेरि खेल्न थालेका छन्, मनमा । कहिले सपनामा, कहिले विपनामा, कहिले झुंगी लागेको वेलामा । मैले आमालाई नियमित सपनामा देख्ने गरेको छैन । कहिले मनलाई गह्रुंगो ढुंगाजस्तो चिन्ताले थिचेको वेला आमा सपनामा आउनुहुन्छ । सपनामा कुरा गर्नुहुन्छ, निरपेक्ष । निरपेक्ष, किनभने, आमाको मृत्यु भैसकेको बिर्सिइन्छ सपनामा । आमा उस्तै हुनुहुन्छ, जीवित हुँदा जस्तो हुने गर्नुहुन्थ्यो । फिक्का निलो रंगको साडीमा, कस्मिराको ओढ्ने ओढेको, निधारमा गोपी चन्दन लगाएको, आमाको अनुहार शमनकारी हुन्छ । खासगरी चिन्ताकोे समयमा । आमाको आँखाको कान्तिले अभिभूत तुल्याउँछन् । यत्ति हो !

 

यो कोरोनाका वेला, यो महामारीका वेला, यो बिपत्तिका वेला, यतिवेला मानिसहरू जातको कुरा गर्दै छन् । यस्तो वेला जातको कुरा नगर्नु नि । जात–पात–भात सबै लकडाउनमा हालिदिनू । त्यस्तो कुरा फेरि कहिल्यै नगर्नू । सहरमा ती घरधनीको चर्चा छ, जसले जातको नाममा मानिसलाई इन्कार गरिन् । त्यसपछि, भोकको चिसोमा जातको चिसो थपियो कि के भो ? 

 

सहर भनेर के गर्नु ? यो सुुखको एउटा सानो चेष्टा मात्रै हो । घोर गरिबी र अचेतनाले अँचेटेको समाजमा सहर भन्नु पनि अनुभूति हो । महामारीको बीचमा गएको बाढीलाई सम्झिनु नि मानिसले, काठमाडौंका घरघरमा चलनचल्तीको शब्द भैसकेको मेलम्चीलाई सम्झिनु । बाढीले भएका लुगा त बगाइदियो । अब रहेको छ कपडा हुनुको अनुभूति । त्यो अनुभूतिलाई कसरी ओढ्नु, कसरी ओछ्याउनु र कसरी पहिरिनु ? त्यसैले हिजोआज मानिसहरूसँग देखाउनका लागि पनि न अनुभूति छ, न भोक छ । मानिसको बिजोग । मानिसको कोलाहल । प्रत्येक बच्चा रोप्न नपाई सुकेको बिरुवाजस्तो कुपोषणले ग्रस्त छ । मानिसहरू कुपोषण शब्दको उच्चारण मात्रै गरेर डलरमा कमाउँछन्, पाउण्डमा खर्च गर्छन् । बाढीपीडित बालबालिकाका नाममा हजारौँ सेट कपडा पठाउने योजना बन्छन् । लाखौँ डलरको कारोबार हुन्छ । वाइन एन्ड चिप्स पार्टी । योजनाकारहरूको नागरिक अभिनन्दन । समाचार । विचार । फेसबुक । बाढीपीडित बालबालिकाको कलात्मक तस्बिर ।

 

थाहा छैन, समय किन दौडिरहेको छ । बाढी र पहिरोपीडित केटाकेटीका नियास्रा अनुहारहरू एकपछि अर्को मौसममा पनि नियास्रो नै देखिन्छ । सत्र वर्षमा विधवा भएकी छ तारा । उसको प्रेमी, जोसँग उसले बिहे गरेकी थिई, बाढीमा पर्‍यो । पर, इन्द्रावती दोभानसम्म खोज्न गए ताराका दाजुभाइ । तर, लास पनि फेला परेन । तारा रोई । उसले चित्त बुझाई, रोएर आखिर केही हुने पनि त होइन । ध्रुव मर्‍यो । ध्रुव तारा त बाँचेकै छ । 

 

के आज सपनामा आमाको निरपेक्ष अनुहार देख्न पाइनेछ ? भन्न सकिँदैन । मैले सोचेर हुने हो कि आमाले सोच्नुपर्ने हो ?  कि त्यो सपना नै नआउने हो ! के थाहा । जीवन हो । जीवन नै त हो । अहिले कोरोना महामारीसँग भिडिरहेको छ । भिड्न कहिल्यै छाडेको छैन । कहिले पहिरोसँग । कहिले बाढीसँग । कहिले अनिकालसँग । कहिले भुइँचालोसँग ।