• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
हरि रोका
२०७८ श्रावण ९ शनिबार ११:०७:००
इतिहास

चीन रोलमोडल हुन सक्छ ?

२०७८ श्रावण ९ शनिबार ११:०७:००
हरि रोका

 

पुँजीवादी विकासमा चीनले के कमायो र के गुमायो ?

हरि रोका

सन् १९१७ को अप्रिलमा चेन दुइक्सुको सम्पादनमा प्रकाशित हुने सिंगक्विंनियन (युवा) नामक म्यागेजिनमा तरुण माओ जेदुङको ‘जन–गणतान्त्रिक चीनमा साम्यवादी सुरुवात’ शीर्षकमा लेख छापियो । त्यसपछि सम्पादक चेन दुइक्सुसँग माओको सम्बन्ध जोडियो । चेन दुइक्सु र उनका अर्का साथी ली दाजाओले जापानबाट माक्र्सवादको अध्ययन गरेर फर्किएका थिए । पेकिङ विश्वविद्यालयको असिस्टेन्ट लाइब्रेरियनको रूपमा काम गर्दै गरेका माओले चेन दुइक्सु, हु सिह र क्विन सुवान्तोङ तथा प्रोफेसर ली दाझाआबाट माक्र्सवादी विचारधाराबारे धारावाहिक लेक्चर सुन्ने अवसर पाए । उनीहरूकै अगुवाइमा सन् १९१९ को मई महिनामा चीनमा मई फोर्थ मुभमेन्ट हुन पुग्यो । जो वास्तवमा विद्यार्थी आन्दोलन थियो, तर मुलुकमा व्याप्त सामन्तवादविरुद्ध केन्द्रित थियो । त्यही आन्दोलनको जगमा चिनियाँँ कम्युनिस्ट पार्टीको गठन गर्न माथि उल्लिखित व्यक्तिहरू तम्सिए । 

 

सन् १९२१ को जुलाईमा (जुलाई २०–५अगस्त) सांघाईमा पहिलो महाधिवेशन आयोजना गर्ने निधो गरियो । माओ जेदुङ पेकिङस्थित माक्र्सवादी अध्ययन केन्द्रको प्रतिनिधि भएर हुनान हुँदै सांघाई पुगे । महाधिवेशनको पहिलो सेसन ‘फ्रेन्च कन्सेसन’ मातहत एउटा गर्ल्स स्कुलमा भएको थियो । यस्ता ‘कन्सेसन’ चीनका ठूला सहरमा पश्चिमा राष्ट्रहरूले आफ्ना लागि खुला गतिविधि गर्न छुट पाउने प्रचलनलाई भनिन्थ्यो । चीनको कमजोर राज्य व्यवस्थाबाट उनीहरूले यस्ता कन्सेसनमा निर्बाध रूपमा मनलागेको गतिविधि चलाउँथे । त्यो वेला लगभग ५० जना मात्र सदस्य रहेका कम्युनिस्टहरूले आफूमध्ये पनि १३ जना प्रतिनिधि छानेर महाधिवेशन गराएका थिए । महाधिवेशनमा कम्युनिस्ट इन्टरनेसनल अर्थात् कोमिन्र्टनका दुई प्रतिनिधि ग्रिग्रोरी भोइतिनस्की तथा हेनिरिकस स्निभलित (उर्फ कमरेड मारिङ)उपस्थित थिए । महाधिवेशनबाट चेन संस्थापक महासचिव छानिए ।

 

सपनाको पहिलो पृष्ठभूमि

 

चिनियाँ कम्युनिस्ट पार्टीले आफ्ना सतवार्षिकी भव्यतापूर्वक सम्पन्न गरेको छ । यद्यपि गठन हुँदाताका र त्यसअघिको लगभग सय वर्षको चीनको अर्थराजनीतिक माहोल वा परिवेश गएगुज्रेको थियो । बेलायती साम्राज्यवादले सन् १८३९ देखि १८४२ सम्म अफिम युद्ध नै चलायो । उक्त युद्धमा चिनियाँ पक्ष हारेपछि हङकङमाथि बेलायतले कब्जा जमायो । मकाओ प्रोचुगलको अधीनस्थ बन्यो । अन्य मुलुकले चीनभित्र उल्लिखित थुप्रै गतिविधि चलाउन कथित कन्सेसनहरू प्राप्त गरे । त्यसपछिका दशकमा चिनियाँ साम्राज्य अपमानित हुँदै गयो । सामाजिक तथा सांस्कृतिक रूपमा आत्मग्लानिले थलियो । हजारौँ वर्षदेखि वंशानुगत शासन चल्दै आएको चीनमा सन् १९११ मा डा. सुन यात सेनको नेतृत्वमा पहिलो क्रान्ति सम्पन्न भयो ।

 

विपन्न र अपहेलित चीनलाई आजको आधुनिक चीनमा रूपान्तरण गर्न माओको योगदानलाई कसैले पनि अवमूल्यन गर्न सक्दैन । चिनियाँ समाजमा आत्मविश्वासको बीजारोपण गर्न लोककल्याणकारी राज्य निर्माण गर्दै सबैभन्दा पहिला भोक र दरिद्रतालाई हटाउने नै माओको नीतिगत प्राथमिकता रह्यो ।

 

तर, सँगसँगै राजनीतिक तथा बौद्धिक खालीपन झन् फराकिलो भएर देखाप¥यो । डा. सुन यात सेन बेइजिङ सरकारको नेतृत्वमा भए पनि वास्तविक राजकीय शक्ति प्रान्तीय युद्ध सरदारहरूले आआफ्नो क्षेत्रमा कब्जा जमाएका थिए । केन्द्रीय सैन्यशक्ति पुगेको ठाउँमा मात्र कोमिन्ताङ (पछि गोविन्दाङ उच्चारण गरिन्छ) अर्थात् राष्ट्रवादी पार्टीको शासन थियो । क्रान्तिसँगै अस्थिरता, भोकमरी, अराजकता र महँगीका कारण सामान्य जनजीवन अस्तव्यस्त हुन पुग्यो । गणतन्त्र, सैन्यवाद र त्योभन्दा पनि विचित्रका प्रणालीहरू स्थापित हुन सक्ने अस्थिरता निम्तिने हो कि भन्ने चर्चा चलिरहन्थ्यो । नयाँ खालको उत्तेजना सञ्चार भइरहन्थ्यो । 

 

यसैबीच रुसमा अक्टोबर क्रान्ति सम्पन्न भयो । सामान्य मजदुर र किसानको नेतृत्वमा सम्पन्न नयाँ किसिमको बेग्लै क्रान्तिले विषाद र रोमाञ्चकताले भरिपूर्ण चीनमा कम्युनिस्ट पार्टीको स्थापना गर्न हौस्यायो । वास्तवमा कम्युनिस्ट पार्टीको गठन चिनियाँ सामन्तहरूको उत्पीडन र साम्राज्यवादी ताकतको हेपाइ र हस्तक्षेपविरुद्ध क्रान्ति सम्पन्न गर्नु थियो । सुरुमा जनचाहनाअनुरूप राष्ट्रवादी सरकारलाई स्थिरता तथा सहजताका निम्ति साथ दिने निर्णय महाधिवेशनबाटै पारित पनि गरिएको थियो । छोटो समयमा नै विद्यार्थी, रेलवे मजदुर, मध्यचीनमा किसानहरूबीच कम्युनिस्ट पार्टीले धेरै राम्रो संगठन निर्माण गर्‍यो ।

 

सन् १९२५ को मे ३० मा सम्पन्न गरिएको साम्राज्यवादविरोधी प्रदर्शन नै कम्युनिस्ट पार्टीको राष्ट्रव्यापी रूपमा प्रभाव पार्ने पहिलो कार्यक्रम थियो । कम्युनिस्टहरूले देखाएको शक्ति प्रदर्शन संयुक्त मोर्चाको अग्रपंक्तिमा रहेको सत्तारुढ नेस्नालिस्ट पार्टीलाई पचेन । सेनको मृत्युपश्चात उनको उत्तराधिकारी तथा मार्सल च्याङ काइ–सेकलाई झन् मन परेन । सन् १९२७ मा राज्यको बागडोर च्याङ काइ–सेकको हातमा पर्नासाथ त्यही वर्षको अप्रिलमा घात गरेर नरसंहार नै गराए । त्यो घटनापछि कम्युनिस्ट पार्टीमा आबद्ध संगठित पार्टी क्याडर्सहरूको मनोबल टुट्यो । बनाइसकिएका आधार इलाकाहरू पनि धमाधम भंग भए । त्यसो भएपछि नानच्याङमा वर्षे बाली भित्र्याउने कार्यक्रमको अवसर पारेर अगस्त १, १९२७ मा माओ र चाउ एनलाईको नेतृत्वमा मजदुर किसान सम्मिलित रेड आर्मी गठन हुन पुग्यो । सन् १९२७ देखि प्रान्तीय युद्ध सरदारहरू तथा नेस्नालिस्ट गोमिन्दाङविरुद्ध लड्दै–भिड्दै चिनियाँ कम्युनिस्ट पार्टी अगाडि बढ्यो । दोस्रो विश्वयुद्ध सुरु भएपछि जापानी साम्राज्यवादविरोधी युद्धमा फेरि सत्तारुढ नेस्नालिस्टसँग हातेमाले गर्‍यो । सन् १९३४ को अक्टुबर १६ देखि एक लाख ३० हजार सेना तथा अन्य नागरिकहरूसहित बो गुलगायत नेताहरूको कमान्डमा लङ मार्च सुरु भयो ।

 

लङ मार्च सुरु भएको झन्डै एक दशकपछि मार्च २०, १९४३ मा माओलाई चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष (चेयरमेन) बनाइयो । किसान संगठनको अध्यक्ष रहेका माओको लोकप्रियतालाई ध्यानमा राखेर कम्युनिस्ट पार्टीमा महासचिवभन्दा माथि अध्यक्ष पद स्थापित गरिएको थियो । सन् १९४५–४९ को लामो गृहयुद्धमा गोविन्दाङलाई हराएपछि अक्टुबर १, १९४९ मा माओले पिपुल्स रिपब्लिक अफ चाइना स्थापना भएको घोषणा गरे । सन् १९४९ मा सम्पन्न क्रान्तिले शताब्दी लामो चिनियाँ जनताको नैराश्य र आत्मग्लानिलाई चिरेर नयाँ मनोबल स्थापित गर्न सफल भयो ।

 

सपनाको दोस्रो खेती

 

चिनियाँ कम्युनिस्ट पार्टीको सपना आमूल परिवर्तनकारी क्रान्ति नै थियो । क्रान्तिको अर्थ चिनियाँ समुदाय वा समाजलाई पुँजीवाद, साम्राज्यवाद, बेरोजगार, गरिबी र दरिद्रता, तथा शोषणबाट मुक्ति दिलाउन नै कम्युनिस्ट क्रान्तिको चाहना थियो । सरकार बनेपछि द्रुतगतिमा समाजवादका आधारशिला खडा गर्ने हतारोमा क्रान्तिकारीहरू लागे । हतारमै उनीहरूले सन् १९५२ मा पहिलो योजना अगाडि सारे र सन् १९५८–६२ मा ‘लामो–छलाङको कार्यक्रम (ग्रेट–लिप फरवार्ड प्रोग्राम)’ अभियानका रूपमा अघि सारे । हतारमा थालिएको यो कार्यक्रमको लक्ष्य कृषिको उत्पादकत्व बढाउने र त्यसबाट भएको सञ्चितिलाई स्रोत बनाएर औद्योगिकीकरण अगाडि बढाउने थियो । ग्रेट–लिप फरवार्ड कार्यक्रम आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि पहिलो अभियान थियो । यो नीतिलाई अगाडि बढाउँदा माओले राज्यको मूल स्रोत कृषि र औद्योगिकीकरणमा खर्चिन चाहन्थे र आममानिसलाई उत्साहपूर्वक विकास अभियानमा होम्न चाहन्थे । ताकि छोटो समयमै पुँजी र प्रविधिको क्षेत्रमा मुलुक आत्मनिर्भर बन्न सकोस् । त्यही अभियानअन्तर्गत सिँचाइ र बिजुलीका लागि सयौँ बाँध र सडकलगायत पूर्वाधार बनाइए । यद्यपि अभियानका लागि ती अपुग थिए ।

 

तर ग्रेट लिप फरवार्ड कार्यक्रम असफल भयो । त्यसको मूल कारण आधारभूत पूर्वाधार र उत्पादन कोटाबारे गलत सूचना प्रवाहले पनि काम गरेको थियो । अभियान चलाइनुअघि सिँचाइको उचित प्रबन्ध मल, बिउ–बिजन, औजारको प्रबन्ध, सडक र बजारको सुसम्बन्धको उचित संयोजन नमिलाई अभियान चलाइएको थियो । कहीँ सुक्खा र कहीँ बाढी पहिरो, कटान डुबानको समस्या थियो नै । उद्धारका लागि आवश्यक व्यवस्थापन कमजोर थियो । माओको देहान्तपछि सरकारले प्रकाशित गरेको तथ्यांकअनुसार त्यो अभियान भइरहँदा एक करोड ६० लाख मानिस भोकमरीका कारण हताहती भएका थिए (जोसेफ बल ‘डिड माओ रियल्ली किल मिलियन्स इन द ग्रेट लिप फरवार्ड’, मन्थ्ली रिभ्यु, सेप्टेम्बर २१, २००६) ।

 

पार्टी जनमानसबाट र मूल मुद्दाबाट अलग्गियो, पार्टीभित्रै पुँजीवादीहरू नजानिँदो हिसाबले सत्ताको आडमा हुर्किदै छन् भन्ने लागेपछि शुद्धीकरणका लागि माओले ‘सांस्कृतिक क्रान्तिको’ आह्वान गरे । ‘कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा बमवर्षा गर’ भने । अराजक स्थिति पनि बन्यो र सांस्कृतिक क्रान्ति इतिहासमा विवादास्पद पनि बन्यो । क्रान्तिपछि माओको नेतृत्वमा भएका यी दुवै कार्यक्रम अविस्मरणीय मानिन्छन् र नयाँ प्रयोग पनि ।

 

विपन्न र अपहेलित चीनलाई आजको आधुनिक चीनमा रूपान्तरण गर्न माओको योगदानलाई कसैले पनि अवमूल्यन गर्न सक्दैन । चिनियाँ समाजमा आत्मविश्वासको बीजारोपण गर्न लोककल्याणकारी राज्य निर्माण गर्दै सबैभन्दा पहिला भोक र दरिद्रतालाई हटाउने नै माओको नीतिगत प्राथमिकता रह्यो । सबै छोराछोरीको शिक्षाको प्रबन्ध र स्तरीय स्वास्थ्यमा सबैको पहुँचको व्यवस्था उनैलाई जान्छ । बेलायती जनसंख्याविद् जुडिथ बेनिस्टरका अनुसार सन् १९७३–७५ सम्म आइपुग्दा चिनियाँहरूको आयु अफ्रिका, दक्षिण एसिया, पश्चिम एसिया तथा ल्याटिन अमेरिकाभन्दा माथि थियो । १९४९ देखि १९७५ सम्म वार्षिक १.५ वर्षका दरले अर्थात् सरदर आयु ३५ वर्षबाट बढेर ६५ पुगेको थियो । 

 

 

देङले चिनियाँ अर्थतन्त्रमा सुधार सुरु गर्नुअघि सुरुका दिनमा प्राकृतिक प्रकोप र कामको संयोजनमा ढंग नपुग्दा समस्या आए पनि कृषिमा आमूल परिवर्तन भएको थियो । सन् १९४९–१९७८ को अवधिमा प्रतिहेक्टर कृषिको मुख्यबाली उत्पादन १४५.९ प्रतिशतले, अन्य साग–सब्जी–फलफूल उत्पादन १६९.६ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा ७७.७ प्रतिशतले जनसंख्या वृद्धि भयो भने प्रतिव्यक्ति खाद्यान्न २०४ किलोग्रामबाट ३२८ किलोग्राम पुगेको थियो । देङकै समयमा प्रकाशित तथ्यांकअनुसार सन् १९५२–७६ को अवधिमा ११.२ प्रतिशतले औद्योगिक उत्पादन, र सन् १९५२ मा कुल राष्ट्रिय उत्पादनमा ३६ प्रतिशत उद्योगको हिस्सा रहेकोमा ७२ प्रतिशत पुगेको र कृषिको हिस्सा २८ प्रतिशत रहेको थियो (माउरिस मेस्नर, ‘दि देङ जियायो इरा. एन इन्क्वाइरी इन्टु दि फेट अफ चाइनिज सोसिलिजम, १९७८–१९९४, हिल एन्ड वारी १९९६)। 

 

समाजवादबाट राज्य–पुँजीवादमा फड्को

 

फिलिपिनो समाजशास्त्री वाल्डेन बेलो भन्छन् ‘धनी हुनु भनेको गौरवशाली हुनु हो’ भनेर देङले कहिल्यै दाबी गरेका थिएनन् । तर, हल्ला त्यही चल्यो । बरु माओको मृत्युपश्चात् कमान्ड सम्हालेका देङ र सिसिपीले एक स्वरमा भन्यो, ‘पिएलएले सांस्कृतिक क्रान्तिको समयमा घेरा हालेजस्तै चीनले पश्चिमा पुँजीवादी मुलुकले प्रभुत्व जमाएको लोककल्याण कार्यक्रमका लागि भ्रष्टाचाररहित प्रतिस्पर्धात्मक वातावरण बनाउन फेरि एकपटक घेरा हाल्न आवश्यक छ’ (द थ्री रेभ्युल्युसन्स अफ दि चाइनिज कम्युनिस्ट पार्टी, ३० जुन, २०२१, फोकस वैब ओआरजी)। यो भनाइ र गराइ वास्तवमा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाकालमा निरूपण गरिएको सैद्धान्तिक र वैचारिक हिसाबभन्दा भिन्न थियो । किनकि यो अभियान पुँजीवादतर्फको व्यापक रूपान्तरणको अर्को अभ्यास थियो ।

 

पार्टी जनमानसबाट र मूल मुद्दाबाट अलग्गियो, पार्टीभित्रै पुँजीवादीहरू नजानिँदो हिसाबले सत्ताको आडमा हुर्किंदै छन् भन्ने लागेपछि शुद्धीकरणका लागि माओले ‘सांस्कृतिक क्रान्तिको’ आह्वान गरे । ‘कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा बमवर्षा गर’ भने ।

 

जनवादी क्रान्तिले स्थापित गरेका समाजवादउन्मुख कार्यक्रम बिस्तारै उखेलिए । पोस्ट इन्डस्ट्रिलाइजेसनको हल्ला चलिरहेको युरोप र अमेरिकी बहुराष्ट्रिय निगमका लागि चिनियाँ श्रमिकको उपयोगमार्फत नाफा आर्जन गर्न आह्वान गरियो । चिनियाँ राज्यले तोकेको स्पेसल इकोनोमिक जोनमा मात्र लगानी गर्ने, राज्य सञ्चालित उद्यमहरूसँग सहकार्यलाई (ज्वाइन्टभेन्चर)प्राथमिकतामा पारिने, विनिमयमा बैंक अफ चाइनाको नियमन पालन गर्ने सर्त अगाडि सारिए । सस्तो मजदुरको उपयोग गरेर नाफा आर्जन गर्न चाहने उद्यमीहरू चीनमा लगानी गर्न उत्सुक भए र आए । १९४९ मा स्थापित जनवादी शासनले शिक्षा, स्वास्थ्य र पूर्वाधार र सबैखाले उत्पादनका लागि विकसित मानवीय शक्तिको चीनमा त्यो समय कमी थिएन । थियो त लगानी गर्नका लागि पुँजी अर्थशास्त्रीय भाषामा रिसोर्स कन्सट्रेन्ट थियो । परिश्रमी मजदुर, राजकीय नियमन र बहुराष्ट्रिय पुँजीको संयोजनले चीन संसारकै वस्तु उत्पादन गर्ने कारखानामा बदलियो । तर, सँगसँगै केही चुनौती पनि थपिए । आर्थिक तथा लैंगिक असमानता र व्यक्तिवादी संस्कृति र वातावरण प्रदूषण आदि । चीनको विकासको यो श्रेय देङ जियायो पिङलाई नै जान्छ र चिनियाँ राज्यले सम्मानपूर्वक अर्पण पनि गरेको छ ।

 

यो पुँजीवादी विकासमा चीनले के कमायो र कति गुमायो भन्नेबारे दर्जनाैँ पुस्तक प्रकाशित छन् । देङ र उनको टिमले आफ्नो कार्यक्रम वा नीतिलाई पुँजीवाद कहिल्यै भनेनन् । उनीहरूले चिनियाँ चरित्रको समाजवाद निर्माणको कार्यदिशा भनिरहे । चार आधुनिकीकरणबाट सुरु भएको चिनियाँ चरित्र समाजवादी अर्थतन्त्र थिएन । उनका कार्यक्रमले समाज र समुदायलाई होइन, व्यक्तिलाई प्रभुत्वशाली नै बनाउँथे । गरिबी निवारणका लागि त्यो पूर्ण रोजगारी (फुलइम्प्लोयमेन्ट) फस्टाउने कार्यक्रम थिएन । शक्तिशाली चीन बनाउन समाजवादभन्दा राष्ट्रवादले प्रमुखता पाएको थियो । सम्भवत साम्राज्यवादको आँखा नपरोस्, आफूलाई तयार नभएकै अवस्थामा घेराबन्दीमा नपारून् वा अरूले बढी अविश्वास गरेर आन्तरिक मामिलामा नगिजोलून् भन्ने रणनीति अन्तर्यमा अख्तियार गरिएको हुन सक्छ । अन्तर्विरोधलाई संयोजन गर्दै कम्युनिस्ट पार्टीले चीनमा लोककल्याणकारी कार्यक्रमलाई संयोजन गर्दै राज्यपूँजीवादलाई बलियो बनाउन ठूलो भूमिका निर्वाह गर्‍यो ।

 

चीन विश्व पुँजी सञ्चितिको केन्द्र बनेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१३ देखि २०१८ सम्म चीन विश्व अर्थतन्त्रको इन्जिनजस्तो देखिएको छ । यो अवधिको सम्पूर्ण आर्थिक वृद्धिको २८ प्रतिशत हिस्सा चीनको छ । यो अवधिमा विश्व बैंकले घोषणा गरेको मापदण्डअनुरूप गरिबीको रेखामुनि रहेका ८० करोड मानिसलाई चीनले चरम गरिबीबाट बाहिर ल्याएको छ । तैपनि चीनले भनेको छ, यो अत्यधिक गरिबीबाट (एक्सट्रिम पोभर्टी) निकालिएको मात्र हो । भारतीय वामपन्थी अर्थशास्त्री प्रभात पटनायक लेख्छन्, ‘अहिले चीनले उन्मूलन गरेको दरिद्रता दिगो र भरपर्दो नहुन सक्छ । प्रतिदिन नौ युएन खर्च गर्ने क्षमतालाई आधार मान्दा यो सुखद परिणाम देखिएको हो । यो रकमले एक वा दुई बोतल पानी मात्र किन्न सकिन्छ । यसले मानिसका आधारभूत कुरा, जस्तो– गाँस, बास र कपासको आवश्यकता पूरा हुन सम्भव छैन (पटनायक, चाइना’ज सेन्चुरी अफ बिकमिङ, जुलाई ७, २०२१ इन्डिएन एक्सप्रेस)। यद्यपि पटनायक थप्छन्, ‘चीनका केही प्रान्तमा श्रमशक्तिको अभाव देखिए पनि केही प्रदेशमा अझै पनि नचलाइएका श्रमिकको ठूलो फौज स्टकमा छन् । बेरोजगारी र दरिद्रताको ठूलो अन्तर–सम्बन्ध हुन्छ । यद्यपि भारतलगायत अन्य तेस्रो विश्वका मुलुकमा भन्दा चीनमा बेरोजगार र दरिद्रताको दर कम भएकै हो ।

 

रोलमोडल चीन !

 

सोभियत नेता निकिता खु्रस्चेवले पश्चिमा मुलुकका राजदूतहरूको भेलामा भनेका थिए, ‘तपाईंहरूलाई मन परोस् वा नपरोस्, इतिहास हाम्रो पक्षमा छ ।’ दोस्रो विश्वयुद्ध जितेको सोभियत संघले पचासकै दशकमा स्पेसमा पाइलो टेकेको थियो र अमेरिकालाई चुनौती दिँदै आफ्नै न्युक्लियर बम पनि बनाएको थियो । सोभियत संघ त्यो समयको वैकल्पिक रोलमोडल थियो । अक्टुबर क्रान्तिको बिरासत बोकेको सोभियत संघ सन् ३० डिसेम्बर १९२२ मा स्थापित गरिएको थियो र २६ डिसेम्बर १९९१ मा भत्कियो । उदारवादी लेखक तथा विश्लेषकहरूले चीनको अहिलेको प्रगतिलाई पनि त्यसरी नै दाँज्ने कोसिस गरेका छन् । यद्यपि चीनका सर्वशक्तिमान नेता राष्ट्रपति सी जिङपिङले खुस्चेवको झैँ कम्युनिस्टहरूको सर्वसत्तावाद हाबी हुने या गर्ने कुनै मनसाय व्यक्त गरेका छैनन् । बरु विश्वबजारमा प्रतिस्पर्धामार्फत नै आर्थिक तथा प्रविधिको विकास गर्न सकिने बताइरहेका छन् । चीनले अहिले जे–जस्तो प्रगति हासिल गरेको छ, त्यो चिनियाँहरूको विशेष चरित्रअनुरूपको मोडल हो । चिनियाँ चरित्र भन्नेबित्तिकै अरूका लागि अनुकरणीय हुनैपर्छ भन्ने बाध्यात्मक सर्त उनीहरूले तेस्र्याएका छैनन् र हुन पनि सक्दैन । 

 

अहिलेको चीन बाह्य व्यापार, बाह्य लगानी विस्तारमा अरूलाई उछिनेर पहिलो बन्दै छ । वैदेशिक सहयोग, प्रत्यक्ष लगानी र ऋण उपलब्ध गराउन उसले संस्थागत पहल गरिरहेछ । जस्तो– चाइना विकास बैंक, एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइना । अहस्तक्षेप र विकासमा साझेदारी बढाउँदै लैजान र परनिर्भरता हटाउन सहकार्यका लागि आह्वान गरिरहेछ । उदाहरणको रूपमा बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) लाई लिन सकिन्छ । यातायात र शक्ति र सूचना पूर्वाधार विकासमा सहकार्य गर्दा उत्पादनलाई, क्षेत्रीय तथा विश्व व्यापारलाई व्यवस्थित गर्न सकिन्छ भन्ने भनाइ अगाडिका शक्तिराष्ट्रहरूले स्थापित गर्न खोजेको प्रभुत्ववाद चीनसँग देखिँदैन । 

 

चीनले रोलमोडेलको दाबी नगरे पनि अमेरिकालगायत अन्य धनाढ्य राष्ट्र मान्न तयार देखिन्नन् । केही वर्षअघिदेखि इन्डो–प्यासिफिकको खेल चलिरहेकै थियो । त्यसमा चीनलाई नै घेराउ गर्ने उद्देश्य राखेर सामरिक गठबन्धन ‘क्वाड’लाई संस्थागत गरिँदै छ । अघिल्लो महिना बेलायतको कर्नवालमा सम्पन्न जी–७ राष्ट्रहरूको बैठकमा अमेरिकाका वर्तमान राष्ट्रपति जोय बाइडेनले पनि ‘पश्चिमा प्रजातन्त्रविरुद्ध चिनियाँ एकतन्त्री शासन’ कुरा उठाए । बिआरआईको विश्वव्यापी प्रभाव निस्तेज गर्न ‘बि३डब्लु’ अर्थात् बेटर वल्र्ड पार्टनरसिपलाई विकासको एजेन्डाको रूपमा प्रस्ताव गरे । यी सबै नयाँ सोचभन्दा पनि चीनलाई दबाब हाल्न सारिएका हतास अभिव्यक्ति थिए । प्रस्ट देखिन्थ्यो, बाइडेन अरू पश्चिमा राष्ट्रहरूलाई आफ्ना पक्षमा चीनविरुद्ध उभ्याउन चाहन्छन् । तर, पश्चिमा पुँजीवादका लागि अहिलेको समय त्यति सुखद र भरपर्दो छैन । पहिलो कुरा त राजनीतिक हिसाबले पश्चिमाहरूले भन्दै आएको उदारवादी/नवउदारवादी राजनीतिक व्यवस्थामाथिको जनविश्वास पहिलेको जस्तो बलियो छैन । दोस्रो, १२ वर्षसम्म पनि आरोग्यता हासिल गर्न नसकेर १९७० को दशकमा सुरु गरिएको नवउदारवादी आर्थिक मोडेल असफलसिद्ध भई नै सकेको छ । १९४० को दशकमा स्थापना गरिएका विश्व बैंक तथा आइएमएफको सुधारको माग विश्वव्यापी बन्दै छ । जी–७ देखि जी–२० हुँदै डब्लुटिओलाई समयसापेक्ष र धरातलीय यथार्थमा बदल्न पनि आह्वान भइरहेको छ । 

 

माथि नै भनियो, आधुनिक, समृद्ध र शक्तिशाली राष्ट्रवादी चीन निर्माणमा कम्युनिस्ट पार्टीको ठूलो योगदान छ । चीनको विकासको मोडलको सफलताको कपी गर्न रुचि राख्नेहरू बढेका छन् । तर, चीनका सामुन्ने दुइटा चुनौती छन् । एउटा आन्तरिक र अर्को बाह्य । बाह्य चुनौती त उसको सौम्य व्यावहारमा धेरै भर पर्छ । तर, आन्तरिक चुनौती कम्युनिस्ट पार्टीको स्थापनाकालमा देखिएको सपनासँगै जोडिएर आएका छन् । ती सपना पुँजीवादी अवयवहरूलाई समाप्त पार्दै समाजवाद हुँदै साम्यवादसम्मको यात्रा कसरी तय गर्ने भन्ने विषयसँग जोडिन्छ । जसलाई पूरा गर्नु उसको परम कर्तव्य पनि हो ।

 

कार्ल मार्क्सका विचारमा उत्पादनका साधनमाथि पुँजीवादी स्वामित्व समाप्त नगरी, सामूहिक उत्पादन र आवश्यकताअनुसार वितरण प्रणालीको व्यवस्थापन नगरी त समाजवादमै पुग्न सकिन्न । चिनियाँ कम्युनिस्ट पार्टी सय वर्ष पार गरेकोमा बधाई छ । तर, अब राज्य पुँजीवादबाट समाजवादमा पुग्नका लागि जुन चुनौती आन्तरिक तथा बाह्य रूपमा खडा भएका छन्, त्यसलाई चिर्ने चुनौती छ । कस्ता नीति कार्यक्रम र संस्थागत निर्णयहरू भावि दिनमा अगाडि सार्छ, त्यसमा धेरै कुरा निर्भर गर्छ ।

 

[email protected]