• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
राजेशमान केसी
२०७८ श्रावण ९ शनिबार ११:४२:००
अनुवाद

हकिन्सले हिम्मत हारेको भए !

२०७८ श्रावण ९ शनिबार ११:४२:००
राजेशमान केसी

 

चिकित्सकहरूले उनी दुई वर्षभन्दा बढी नबाँच्ने बताएका थिए

 

सन् १९६३ को कुरा हो । स्टेफन हकिन्स आफ्नो  २१औँ वर्षगाँठ मनाइरहेकै समयमा अप्रत्याशित ‘मोटर न्युरन डिजिज’ नामक रोगबाट पीडित हुन पुगे । यो एउटा यस्तो रोग थियो जुन रोग लागेपछि बिरामीले बिस्तारै आफ्नो शरीरका सबै अंगहरूको नियन्त्रण गुमाउँदै जान्छ । रोग फैलँदै गएपछि हकिन्स शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने भए । उनको बोली अस्पष्ट हुँदै गयो र अन्ततः उनले आफ्नो आवाज पनि पूर्ण रूपमा गुमाए । उनमा यस्तो रोग पत्ता लागेपछि चिकित्सकहरूले उनी दुई वर्षभन्दा बढी नबाँच्ने बताएका थिए । 

 

यसरी हकिन्सले जब आफू ‘मोटर न्युरन डिजिज’बाट पीडित भएको थाहा पाए, सुरुमा त उनी अत्यन्त दुःखी भए । उनको मस्तिष्कले सोच्नै सकेन कि बाँकी जीवन कसरी जिउने ? केका लागि जिउने ? र कुन उद्देश्यले जिउने ? तर, उनले हिम्मत हारेनन् । उनले के निश्चय गरे भने जस्तोसुकै कठिन परिस्थिति आए पनि पूर्ण सार्थकताका साथ जीवन जिउनुपर्छ । आफ्नो यही दृढ निश्चयअनुरूप उनीे उच्च अध्ययनका क्रममा विद्यावारिधी हासिल गर्नतिर लागे र साथसाथै ब्रह्माण्डको उत्पत्ति र अवस्थितिका बारेमा पनि गहनतापूर्वक अध्ययन अनुसन्धानमा लागे ।

 

त्यसपछि चिकित्सकहरूकै सल्लाहअनुसार उनले ह्विलचियरमा बसेर आफ्नो बाँकी जीवन व्यतीत गर्न थाले । यद्यपि, हकिन्सको यो ह्विलचियर साधारण किसिमको भने थिएन । यसमा धेरै किसिमका वैज्ञानिक उपकरणहरूसमेत जडान गरिएका थिए । जसको माध्यमबाट उनी विज्ञानका अनेकन रहस्यहरूको अध्ययन गरेर यसबारेमा उनी विश्व समुदायलाई जानकारी गराउन सक्तथे । स्टेफनले आफ्नो यो रोग पत्ता लाग्नुभन्दा केही समयअघि मात्र जेन विल्डे नामक महिलालाई भेटेका थिए र पछि दुवैले सन् १९६५ मा प्रेमविवाह पनि गरे । यस क्रममा हकिन्सदम्पतीको एक छोरी र दुई छोरा गरी तीन सन्तान पनि भए । तर, सन् १९९५ मा उनको पहिलो पत्नीको मृत्यु भएपछि सोही वर्ष उनले अर्की महिला एलैन मासोनसँग दोस्रो विवाह गरे । तर, दोस्रो पत्नीसँग पनि उनको वैवाहिक सम्बन्ध लामो समय कायम रहन सकेन र सन् २००६ मा दुवैले स्वेच्छापूर्वक नै सम्बन्धविच्छेद गरे ।

 

स्टेफन विद्यार्थी जीवनदेखि नै अत्यन्त मेधावी छात्र थिए । उनी विद्यालय तथा क्याम्पसमा पनि सधैँ उत्कृष्ट नै हुने गर्थे । विशेष गरी गणितलाई आफ्नो प्रिय विषय मान्ने हकिन्सले पछि अन्तरिक्ष विज्ञानमा पनि रुचि लिन थालेका थिए । आफ्नो यही रुचि र लगनशीलताका कारण उनी २० वर्षको कलिलो उमेरमै क्याम्ब्रिज अन्तरिक्ष विषयमा शोधवृत्तका लागि समेत छनोट भए । त्यसपछि अन्तरिक्ष विज्ञानमै उनले विद्यावारिधी पनि गरे । वास्तवमा आज जुन क्षेत्रमा उनले दिएको योगदानको स्मरण गरिन्छ, त्यो अन्तरिक्ष विज्ञान नै हो । त्यसो त उनलाई अन्तरिक्ष विज्ञानको गहन अध्येताकै रूपमा पनि लिइन्छ । स्मरण रहोस्, अन्तरिक्ष विज्ञानसम्बन्धी अध्ययन–अनुसन्धानकै क्रममा उनी ‘बिग ब्यांग’ र ‘ब्ल्याक होल’को नयाँ परिभाषा प्रस्तुत गर्न पनिसफल भए । 

 

वैज्ञानिक स्टेफन ‘मोटर न्युरन डिजिज’जस्तो शरीरको अंगहरूले चेतना गुमाउने रोगबाट पीडित भएर पनि न्युटन आइन्सटाइनजस्ता विशिष्ट वैज्ञानिकहरूसँग तुलनायोग्य मानिन्थे । उनको यही गुण अथवा विशेषताका कारण उनका शिक्षक तथा साथीभाइहरूले उनलाई ‘मिस्टर आइन्सटाइन’ भनेर पनि बोलाउँथे । अत्यन्त तीक्ष्ण बुद्धिका हकिन्सले आफ्नो ग्र्याजुएसनपछि पनि क्याम्ब्रिजमा रिसर्ज फेलोका रूपमा कार्य गर्न थाले र पछि प्रोफेसनल फेलोका रूपमा समेत काम गरे । त्यसपछि सन् १९७४ मा आएर उनी बेलायतको रोयल सोसाइटी एन्ड नेसनल रिसर्च एकेडेमीको मानार्थ सदस्यमा समेत मनोनित भए । यो उनका लागि निकै प्रतिष्ठित र गरिमामय पद थियो । आफ्नो यही उत्कृष्ट अध्ययन–अनुसन्धानसम्बन्धी कार्यका कारण आफ्नो जीवनकालमा उनले विभिन्न एक दर्जनभन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारहरू पनि पाए । 

 

 

यसै सिलसिलामा सन् १९७९ मा उनी क्याम्ब्रिज विश्वविद्यालयमा गणित विषयको प्राध्यापकका रूपमा पनि नियुक्त भए । त्यो पनि उनका लागि निकै ठूलो प्राज्ञिक र गरिमामय पद थियो । वैज्ञानिक स्टेफन हकिन्स भौतिकशास्त्रीका साथसाथै एक प्रसिद्ध लेखक पनि थिए । उनको पहिलो पुस्तक ‘अ ब्रिफ हिस्टोरी अफ टाइम’ थियो । जुन पुस्तकले त्यतिखेर अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक बिक्री हुने पुस्तकहरूमध्येमा समेत निकै चर्चा पाएको थियो । यो पुस्तक उनले साधारण व्यक्तिलाई समेत ब्रह्माण्डको उत्पत्ति र अवस्थितिबारे ज्ञान दिलाउन सकियोस् भन्ने अभिप्रायले लेखेका थिए । 

 

वैज्ञानिक हकिन्सले आफ्नै छोरी लुसी हकिन्ससँग मिलेर विभिन्न ‘फिक्सनल सिरिज अफ बुक्स’ पनि लेखे जुन विशेष गरी माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरूका लागि निकै उपयोगी मानिएको थियो । यीमध्ये एउटा महत्वपूर्ण पुस्तक ‘जर्ज एन्ड बिग ब्याङ’ भन्ने हो । यसका साथै हकिन्सले केही टेलिभिजन कार्यक्रमहरू पनि निर्माण गरेका थिए । तीमध्ये ‘बिग ब्याङ थ्यौरी’ तथा अन्य ससाना टेली शृंखला छन् जुन विद्यार्थी र सर्वसाधारण व्यक्तिहरूका लागि समेत अत्यन्त शिक्षाप्रद र उपयोगीमूलक मानिन्छन् । त्यसमा पनि ‘स्टेफन हकिन्स युनिभर्स’ भन्ने टेली शृंखलाले त उनको अन्तरिक्षसम्बन्धी अनुसन्धान र सिद्धान्तलाई पनि स्पष्ट रूपमा उजागर गरेको मानिन्छ । 

 

वैज्ञानिक स्टेफन ‘मोटर न्युरन डिजिज’जस्तो शरीरका अंगहरूले चेतना गुमाउने रोगबाट पीडित भएर पनि न्युटन आइन्सटाइनजस्ता विशिष्ट वैज्ञानिकहरूसँग तुलनायोग्य मानिन्थे । उनको यही गुण अथवा विशेषताका कारण उनका शिक्षक तथा साथीभाइहरूले उनलाई ‘मिस्टर आइन्सटाइन’ भनेर पनि बोलाउँथे 

 

वैज्ञानिक स्टेफन कुनै ईश्वरवाद वा अदृश्य शक्तिमाथि विश्वास राख्दैनथे । यस सम्बन्धमा उनले आफ्नो ‘द युनिभर्स इन अ नट सेल’ नामक पुस्तकमा स्पष्ट रूपमा लेखेका छन्–समस्त ब्रह्माण्डको सञ्चालन कुनै ईश्वर वा अदृश्य शक्तिद्वारा नभई विज्ञानको आधारभूत सिद्धान्त र नियमअनुसार चल्ने गर्छ । 

 

त्यसपछि सन् २०१५ मा हकिन्सकै जीवनीमा आधारित एउटा चलचित्र पनि निर्माण भएको छ । जसको नाम ‘द थ्यौरी अफ एभरिथिङ’ भन्ने छ । यस चलचित्रको स्वयं हकिन्सले समेत आप्mनो जीवनको वास्तविक घटनाहरू प्रतिबिम्बित भएको भनेर प्रशंसा गरेका थिए । उनले भनेका थिए कि, ‘दुर्भाग्यवश म शारीरिक रूपमा निकै अशक्त बन्न पुगे’ । तर, वैज्ञानिक अध्ययन–अनुसन्धानमा भने म आफूलाई पूर्ण रूपमा सफल भएको मान्दछु । र, मलाई के पनि विश्वास छ भने एक दिन म अन्तरिक्षसम्म यात्रा गर्न पनि सफल हुनेछु ।’ तर, सबै कुरा मानिसले सोचेको जस्तो त कहाँ हुनेरहेछ र । वैज्ञानिक स्टेफनको यो चाहना अधुरो नै रह्यो । आफ्नो यो सदिच्छा पूरा हुन नपाउँदै सन् २०१८ को मार्च १४ का दिन आफ्नै गृहनगर मानिने बेलायतको क्याम्ब्रिजमा उनको दुःखद निधन भयो ।

 

यसरी वैज्ञानिक स्टेफन हकिन्स शारीरिक रूपमा अशक्त र अत्यन्त जटिल अनि अनौठो रोगबाट पीडित भईकन पनि उनले आफ्नो अदम्य साहस र दृढ इच्छाशक्तिका कारण आफ्नो वैयक्तिक जीवन मात्र सार्थक रूपमा जिएर देखाएनन्, अपितु वैज्ञानिक जगत्मा समेत अद्वितीय योगदान पुर्‍याएर उनले आफूलाई असाधारण क्षमता भएका व्यक्तिका रूपमा विश्वसामु प्रमाणित गरेर देखाए । 

 

(लेखक केसी नास्टका निवृत्त वरिष्ठ प्रवर्द्धनअधिकृत हुन् ।)