अभिनेत्री साई पल्लवीले फेयरनेस क्रिमको दुई करोडको अफर नै अस्वीकार गरिन्
अनस्क्रिन होस् या अफस्क्रिन, प्रायः अभिनेता अभिनेत्रीहरू मेकअपविना बाहिर देखिँदैनन् । अधिकांशले सुन्दर देखिन मेकअपको सहारा लिन्छन् । मेकअप आर्टिस्टहरू, कलाकारहरूलाई सुन्दर देखाउन लागिपरिरहेका हुन्छन् । सेलिब्रिटीहरूका लागि ‘ग्ल्यामर लुक’ व्यक्तित्व झल्काउने मुख्य अस्त्र बनिसकेको छ । ठूलो पर्दामा देखिँदा होस् या सामाजिक सञ्जालमा, सेलिब्रेटीहरूको लुकले समाजको ठूलो हिस्सा प्रभावित भइरहेको हुन्छ । फ्यान फलोअर्स बढाउन र फलोअर्समाझ आफूलाई टिकाइराख्न पनि प्लास्टिक सर्जरी गर्नेदेखि बडी मेन्टेनका लागि अनेक उपाय अपनाउनु सेलिब्रेटीका लागि सामान्य बनिसकेको छ ।
कतिसम्म भने समाजमा मेकअपविना पनि सुन्दर हुन सकिन्छ भन्ने धारणा लगभग हराइसकेको छ । तर, ग्ल्यामर क्षेत्रमै केही यस्ता कलाकार छन्, जसले बजारले स्थापित गरेको मानकभन्दा पर पनि सुन्दरताको परिभाषा हुन्छ भन्ने प्रमाणित गरेका छन् । जसमध्ये बजारिया सुन्दरताको मानकलाई नटेर्ने एक पात्र हुन्, साउथ इन्डियाकी २९ वर्षीया चर्चित अभिनेत्री साई पल्लवी ।
साउथ इन्डियन सिनेक्षेत्रमा अभिनय र नृत्यकी क्विन मानिने अभिनेत्री साई पल्लवी ‘नेचुरल लुक्स’का कारण चर्चित छिन् । नेचुरल ब्युटीलाई प्रमोट गरिरहेकी पल्लवीले ग्ल्यामर क्षेत्रमा बजारले निर्धारण गरेको सौन्दर्यको मानकलाई नै चुनौती दिइरहेकी छिन् । अमेरिकी बिजनेस म्यागजिन ‘फोर्ब्स’को २०२० को ‘इन्डिया ३० अन्डर ३०’ मा पर्न सफल पल्लवी फिल्मी दुनियाँमा मेकअपको सन्दर्भमा अपवाद बनेकी छिन् । सन् २००५ बाट साउथ इन्डियन सिनेक्षेत्रबाट करियर सुरुवात गरेकी उनले हालसम्म १३ अवार्ड जितिसकेकी छिन् ।
पल्लवी स्क्रिनमा होस् या बाहिर, मेकअपविना नै देखिन्छिन् । मेकअप गरिहाले पनि उनी यति सामान्य मेकअप गर्छिन् कि उनको गालामा रहेको पिम्पलसमेत मेकअपले छोपिँदैन । सामान्यतया आममहिलाले दैनिक गर्ने मेकअपभन्दा पनि कम मेकअपमा उनलाई ठूलो पर्दामा देख्न सकिन्छ । मेकअप र कस्मेटिक सर्जरीविना ग्ल्यामर क्षेत्रमा टिक्न सकिँदैन भन्ने भिडमा उनको साहस ठूलो झापड साबित भएको छ ।
पल्लवी एक एमबिबिएस डाक्टरसमेत हुन् । उनको फिल्मी करिअर सन् २००५ बाट सुरु भए पनि २०१५ मा आएको ‘प्रेमम’ले उनलाई इन्डस्ट्रीमा स्थापित ग¥यो । जर्जियामा एमबिबिएस पढिरहेकी उनी बिदामा इन्डिया आउँदा ‘प्रेमम’ फिल्ममा काम गरेकी थिइन् । फिल्ममा पल्लवीको नो मेकअप ब्युटीलाई यति रुचाइयो कि उनले ‘बेस्ट फिमेल डेब्युट’ फिल्मफेयर अवार्ड नै जितिन् । त्यसपछि उनी तेलगु, तमिल र मलायलम भाषाका १६ वटा फिल्मको मुख्य भूमिकामा देखिइसकेकी छिन् । २०२१ मा मात्रै उनका चारवटा फिल्म प्रदर्शनको तयारीमा छन् ।
अभिनयमा अब्बल रहेकी अभिनेत्री पल्लवीको ‘नो मेकअप सेन्स’लाई अत्यधिक रुचाइन थालिएको छ । सौन्दर्य प्रशाधनको विज्ञापन खेल्न मरिहत्ते गर्ने कलाकारहरूमाझ उनले करोडौँको विज्ञापन खेल्न अस्वीकार गरेपछि उनलाई मन पराउनेको जमात झन् बढेको छ । ‘म जस्तो छु, यस्तै रहन चाहन्छु’, उनले हरेक कार्यक्रम वा अन्तर्वार्तामा दिने मेकअपबारेको अवधारणा हो यो । उनले एक फेयरनेस क्रिमको दुई करोडको अफरलाई अस्वीकार गर्नुको कारणबारे फिल्मफेयर अवार्डमा भनेकी छिन्, ‘मलाई दर्शकले नेचुरल लुक्समा मन पराउँछन् । म आफ्नो फाइदाका लागि मेरो फलोअर्सको विश्वास तोड्न सक्दिनँ । म चाहन्छु, मेरो प्राकृतिक सौन्दर्यलाई स्वीकार गरियोस् ।’
ग्ल्यामर क्षेत्रमा शारीरिक बनावटलाई कलाभन्दा पनि बढी महत्व दिन थालिएको धेरै भइसक्यो । सुन्दरताको मापदण्ड परम्परागत पितृसत्तात्मक समाजले निर्धारण गर्छ र त्यसमा थपिएको छ, पुँजीवादी बजारशास्त्र । महिलामा मात्र नभई पुरुषहरू पनि सुन्दर देखिन कस्मेटिक साधनहरूको प्रयोग अनिवार्य छ भन्ने भ्रम बजारले छरिरहेको छ । सौन्दर्यको बदलिँदो मानकबारे लेखक सरिता तिवारी भन्छिन्, ‘सौन्दर्यप्रतिको चेत पुँजीवादी पितृसत्तात्मक सोचबाट निर्देशित छ । तर, हाम्रो पुस्ताले नारी सौन्दर्यमाथि पितृसत्तात्मक सोचको मात्रै विरोध गरिरहेको छ ।’ विज्ञापनमा महिलाको शरीरलाई देखाउनु, पातलो ज्यान हुनु, गोरी हुनु, सिल्की कपाल हुनु, मेकअप प्रयोग गर्नु आदिलाई बोल्ड हुनु हो भन्ने मानक स्थापित गरिएको उनी बताउँछिन् । भन्छिन्, ‘हामीलाई बजारले वस्तुकरण गरिरहेको छ भन्नेमा हामी अनभिज्ञ छौँ ।’
साउथ इन्डियन सिनेक्षेत्रकी अभिनेत्री साई पल्लवी ‘नेचुरल लुक्स’का कारण चर्चित छिन् । नेचुरल ब्युटीलाई प्रमोट गरिरहेकी पल्लवीले ग्ल्यामर क्षेत्रमा बजारले निर्धारण गरेको सौन्दर्यको मानकलाई नै चुनौती दिइरहेकी छिन् ।
चर्चित मार्क्सिस्ट फेमिनिस्ट ‘एभिलिन रिव’ले सुन्दरताको नाममा गरिने व्यापारलाई ‘काँचो मासुको व्यापार’को उपमा दिएकी छिन् । ‘द ब्युटी मिथ’ पुस्तकमा लेखक नाओमी वुल्फ भन्छिन्, ‘बजारले सुन्दरताप्रतिको अवधारणा बेचिरहेको छ । आजको पुस्तामा बजारको ट्रेन्ड फलो गरे मात्रै आफ्नो व्यक्तित्व निखारमा सहयोग पुग्छ भन्ने भ्रम फैलाइरहेको छ ।’ वुल्फले पुस्तकमा ‘कल्चरल कन्सपिरेसी’ (सांस्कृतिक षड्यन्त्र) वाक्यांश प्रयोग गरेकी छिन् । भन्छिन्, ‘कस्मेटिक कम्पनीहरूले बजारमा टिक्न एन्टी एजिङको अवधारणा दिमागमा सेट गरिदिएको छ ।’
‘बजारले भिराइदिएको ‘राम्री’ वा ‘राम्रो’को मानकभन्दा माथि उठेर मैले मेरो व्यक्तित्व कसरी निर्माण गरिरहेको छु वा शोषणमा परिरहेको छु कि भन्ने जान्नु महत्वपूर्ण छ,’ लेखक तिवारी भन्छिन्, ‘बजारको आई फ्रेन्डली हुनका लागि मात्रै अबको पुस्ताले स्वतन्त्रता सोच्नु दुर्भाग्यपूर्ण छ ।’
अभिनेत्री साई पल्लवीको बजारबारे धारणा के–कस्तो छ, त्यो त अहिले भन्न सकिन्न, तर उनले फिल्मी दुनियाँमा टिकेर पनि बजारको मानक भत्काउने जुन कोसिस गरिन्, त्यसको चाहिँ सराहना गर्नैपर्छ ।