• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दोभान राई
२०७८ श्रावण २३ शनिबार १०:३६:००
इतिहास

तरे संसार घुमिआम्ला, झरे माछा भइजाम्ला

२०७८ श्रावण २३ शनिबार १०:३६:००
दोभान राई

साउन १५ गते एउटा समाचार आयो, ‘वैदेशिक रोजगारीका लागि काठमाडौं आउने क्रममा महाकाली तर्दातर्दै भारतीय एसएसबीले तुइन काटिदिएपछि दार्चुलास्थित व्यास–२ का ३३ वर्षीय जयसिंह धामी महाकालीमा बेपत्ता ।’ घटनास्थलमै नभए पनि त्यो समाचार पढेपछि मन–मस्तिष्कमा थुप्रै दृश्यहरूले एकसाथ प्रहार गर्‍यो– नेपालको भौगोलिक विकटता, रोजगारीका लागि बिदेसिनुपर्ने बाध्यता, भारतीय एसएसबीको क्रूरता, चुच्चे नक्सा अनि नेपाली राष्ट्रवाद । मन–मस्तिष्क खलबलाइदिने त्यो समाचारबाट आक्रोशित भइरहेकै वेला कवि श्रवण मुकारुङको गीत सामाजिक सञ्जालमा पढेँ । उनको गीतले भन्छ :

 

‘तुइन समाई गइजाम्ला
तरे संसार घुमिआम्ला
झरे माछा भइजाम्ला’

 

यो गीत सुनेपछि झन् मन थाम्नै सकिनँ । घटनाका प्रत्यक्षदर्शी र बयान दिइरहेका कल्याणसिंह धामीका भनाइहरूले पनि झस्काइरह्यो । २१ वर्षदेखि तुइन सञ्चालन गर्दै आएका कल्याणसिंह धामी त्यस दिन जयसिंह धामीलाई तुइन तार्दै थिए । भारतीय एसएसबीको समूहले तुइनको डोरी काट्न थाले । कल्याणसिंह धामीले मान्छे तर्दै छ भनेर कराए– इसारा गरे । तर, सुने पनि नसुने झैँ गरी जयसिंह धामीले नदी तरिनसक्दै, एसएसबीले तुइनको डोरी काटिदिए । कल्याणसिंहका अनुसार नेपालले चुच्चे नक्सा निकालेपछि भारतीय सुरक्षाफौजले घरिघरि तुइन काटिदिने गथ्र्यो । तर, मान्छे भएकै वेला काटिदेला भनेर उनले सोचेका पनि थिएनन् । 

 

तुइनमा यात्रुलाई तारेर पारि पुर्‍याउने जिम्मा लिएका कल्याणसिंह धामीले जब तुइन तर्दातर्दै आफ्नै गाउँले खोलामा खसेको देखे, उनको मनमा के गुज्रियो होला ? जयसिंह धामीको ठाउँमा त मैले आफूलाई राख्न सकिनँ, तर कल्याणसिंह धामी आफैँ भएजस्तो लाग्यो । त्यो अमानवीय घटना टुलुटुलु हेर्न बाध्य हुँदा, त्यो अन्याय र क्रूरता सहन बाध्य हुँदा, निरीहपन र अपराधबोधको अनुभव भयो । भारतीय एसएसबीको हातले त्यो डोरी काटे पनि, त्यहाँ थुप्रै थुप्रैको हात मिसिएझैँ लाग्यो, र सायद मेरो आफ्नै पनि ।

 

म सानो हुँदा सुन्थेँ, लडेर मरेका कथाहरू । अझ मर्नुलाई नै ‘खस्यो’ भनिन्थ्यो ।
‘त्यो काका खस्यो रे,’ ‘आम्मै नि त !’
‘त्यो बोजु खस्यो रे,’ ए, हो र ?’
दिनभरि खेलिरहने, पटक–पटक लडिरहने मलाई यस्तो कुरा सुनेर अचम्म लाग्थ्यो– लडेर, खसेर पनि मान्छे मर्छ त ?
‘साइँला बाजे कसरी मरेको ?’ 
‘पारि गाउँबाट राति आउदै थिए रे ! घर आइपुगेन । रक्सी खाएको थियो होला । बाटोमै
खस्यो होला ।’
घाँस काट्दा लडेर मरेको, गोरुले ठेलेर मरेको, यस्ता थुप्रै कथा हुन्थेँ । धेरैचाहिँ रक्सी र भिरकै कथा हुन्थे ।

 

म मधेस–गाउँमा जन्मे–हुर्केको र पछि काठमाडौंमा पढेको मान्छे । त्यो लडी मर्ने भिर हेर्न मावली गाउँ नै जान पर्‍यो । कम्प्युटर साइन्सको नशा चढिसकेको थियो । तर, जब म पहाड–गाउँमा गएँ, मलाई अत्यास लागेर आयो । ‘एफिसियन्सी’, ‘अप्टिमाइजेसन’को ‘माइन्डसेट’ आइसकेको थियो । पहाडमा त तल गाउँबाट माथि गाउँ जाँदा दिनै बित्थ्यो । बाह्र पुगेर तेह्र लागेको केटोलाई देखाउँदै गाउँलेहरू भन्थे, ‘अब यो नुन लिन मधेस झर्न सक्ने भयो ।’ एउटा डाँडाको कोप्चामा एउटा बस्ती, अर्को डाँडाको कोप्चामा अर्को बस्ती । त्यो सबै बस्तीमा बाटो कहिले पुर्‍याइसक्नु, बिजुली–पानी कहिले पुर्‍याइसक्नु ?

 

जयसिंह धामी संसारभरिका श्रमिकहरूका प्रतिनिधि । उनी तुइन काटिएर पातालतिर बेपत्ता भए । जेफ बेजोस महाधनीहरूका प्रतिनिधि । जयसिंह खोलामा बेपत्ता भएको डेढ हप्ताअघि मात्रै बेजोस निजी अन्तरिक्षयात्राको नयाँ अध्याय खोल्दै आकाशतिर गए ।

 

त्यही बाटो र बिजुली–पानी पु¥याउन नै एक जुनी बिताउनुपर्ने हो भने कल्पनाका त्यत्रा त्यत्रा आकांक्षाहरू कहिले पूरा गर्नु ? चारैतिरबाट घेरेको डाँडाले भौतिक रूपमा क्षितिज साँघुराएजस्तै ती डाँडाको कोप्चाकोप्चीमा आफ्नो सपनाहरू निचोरिए जस्तै लाग्यो । अब यो डाँडा बिर्सेर काठमाडौं भागौँ जस्तै लाग्यो । तर देखिसकेको कुरा मान्छेले बिर्सिन कहाँ सक्छ र ?

 

मलाई डाडाँहरूसँग रिस उठ्यो । खासमा भन्नुपर्दा डाँडामा अल्झिने मान्छेहरूसँग । यस्तो लाग्थ्यो– यत्रो ठूलो संसारमा किन त्यही डाडाँको भिर र कोप्चामा बस्नुपरेको होला ?

 

‘सर्भाइभल अफ द फिटेस्ट’ ‘इभोलुसन’को नियम हो भने समयअनुकूल आफूलाई परिवर्तन गर्न नसक्नुको भार कसले लिने ? यो गरिब देशले गर्न सक्ने के ? हिजोआज पहाड मावली गाउँमा बाटो पुगेको छ । ‘नुन सकिन लाग्यो के गर्ने होला’ भनेर चिन्ता लिने ठाउँमा चाउचाउले स्वास्थ्य बिगार्‍यो भन्ने नयाँ चिन्ता थपिएको छ ।

 

नेपालमा दार्चुलाका जस्ता अझै थुप्रै गाउँहरू छन्, जहाँका आममानिसले अझै पनि परिवर्तनको महसुस गर्न पाएका छैनन् । गाउँलेहरू रोजगारीका लागि जाने गन्तव्य फेरियो होला, तर दुःख फेरिएन । नेपाललाई खुल्ला दिसा मुक्त घोषणा गरे जस्तै तुइन मुक्त गर्ने घोषणा त भयो तर त्यो पूरा हुन सकेको छैन ।

 

तुइनको दृश्य हेर्दा सधैँ असहज लाग्छ । डोरी चुँडेर खस्ने हो कि ? हात फुस्किने हो कि ? यस्तो डर त भइरहन्छ नै । त्योसँगै तुइनमा तुर्लुंग उधोमुन्टे झुन्डिँदा ऊ कर्ताजस्तो देखिँदैन । विकल्पहीन असहायजस्तो देखिन्छ । मान्छे मान्छेजस्तो देखिँदैन । कुनै निर्जीव बन्दीजस्तो देखिन्छ ।

 

स्कुले केटाकेटीहरू तुइन तरेर पढ्न गएको, लुंगी र फरिया लगाएका महिलाहरू तुइन तान्दै बजार गएको देख्दा आशावादी हुँदै सोच्न मन लाग्छ– ओहो ढुंगाको चेपमा फुलेको फूलजस्तो ! तर थाहा हुन्छ, यो मन बुझाउने मात्र बहाना हो । संसार आज कहाँ पुगिसक्यो ।

जयसिंह धामी असन्तुलित आधुनिकता, केन्द्रीकृत राज्यव्यवस्था, हेपाहा भूराजनीति र अन्धो राष्ट्रवाद सबैका कारण मारिए ।

 

तुइन काटिएर जयसिंह धामी खोलामा खस्नुपरेको दिनभन्दा डेढ हप्ताअघि मात्रै संसारको सबैभन्दा धनी मान्छे जेफ बेजोस, आफ्नै निजी रकेटमा अन्तरिक्षयात्रामा गएका थिए । जयसिंह धामी संसारभरिका श्रमिकहरूका प्रतिनिधि । उनी तुइन काटिएर पातालतिर बेपत्ता भए । जेफ बेजोस महाधनीहरूका प्रतिनिधि । उनी निजी अन्तरिक्षयात्राको नयाँ अध्याय खोल्दै आकाशतिर गए । जयसिंह धामीहरूलाई सम्झिँदै कवि श्रवण मुकारुङले आफ्नो गीत सामाजिक सञ्जालमा पोस्ट गरे, ‘तरे संसार घुमिजाम्ला, झरे माछा भइजाम्ला ।’ जेफ बेजोसजस्ता बिलिनेयरहरू संसार घुम्ने होइन, संसार छेड्ने दौडमा छन् । हुन त संसार छाडेर अन्तरिक्षमा मान्छे आधा दशकअघि नै पुगेको हो । तर, जेफ बेजोसको अन्तरिक्षयात्रा मानव विकासको अर्को कदम नभएर ‘महामानव’ हुने उसको निजी होड हो । आजका जेफ बेजोसहरू संसार मात्र होइन, मानव जुनीका सबै सीमितताहरू छेड्दै, मृत्युलाई पनि जित्दै ‘महामानव’ हुने तम्तयारीमा छन् । 

 

सामन्तवाददेखि पुँजीवाद र साम्यवादको मानव इतिहासमा देखिएको शृंखला हो– केही खास मानवहरू जब ‘महामानव’ हुने चाहना राख्छन्, त्यो महत्वाकांक्षाको मार्ग अरू थुप्रै मानवहरूको मानवता लुटेर बनाइने गरिन्छ । सोचिएको थियो सायद प्रविधिले ल्याउने प्रचुरतामा त्यो जित–हार जरुरी छैन । ‘विन–विन’को नयाँ ‘प्याराडाइम’मा सामूहिक समृद्धि सम्भव छ ।

 

जेफ बेजोस अन्तरिक्षयात्रामा जाँदै गर्दा उसकै कर्मचारीहरू संसारको सबैभन्दा धनी देशमा दुई छाक खान राज्यको अनुदानमा आश्रित छन् । जेफ बेजोसको रकेट ठेल्ने पुँजी महामारीबीच आकासिँदै गर्दा उसका कर्मचारीहरू महामारीसँग निहत्था लड्दै छन् । जित्नेहरूमा जति जिते पनि नपुग्ने असीमित लोभ भएपछि ‘विन–विन’ को ‘प्याराडाइम’ केवल ‘प्रपगान्डा’ हुन पुग्दो रहेछ । जित्नेहरूको गुलामीमा जित र हारको सर्वव्यापी मिथ्या रचिएपछि त्यो असीमित लोभ घिनलाग्दो होइन, जितको आकर्षक शैली मानिँदो रहेछ । जब प्रविधि सत्यलाई भ्रमले छोप्ने औजार बन्छ, विवेक र सौन्दर्यचेतलाई धमिल्याउने अस्त्र बन्छ, समृद्धि सुन्दर होइन, कुरूप हुन पुग्ने रहेछ ।

 

हामी मानव इतिहासको विशेष कालखण्डमा छौँ । कम्प्युटरको स्क्रिनबाट जेफ बेजोसको रकेट उडेको दृश्य हेरिरहेको छु । अनि मैले नभेटेको तर म आफँैजस्तो लागेको कल्याणसिंह धामीको आँखाबाट जयसिंह धामी खोलामा खसेको देखिरहेको छु ।

 

जयसिंह धामी नेपाल आर्मीमा जागिरे भएर पनि घर बनाउन सकेनन् । त्यसपछि उनी वैदेशिक रोजगारीका लागि अरब गए । अरब गएर पनि घरको ऋण तिर्न सकेनन् । ती जवानले आफ्नो माटोमा पसिना बगाउने ठाउँ भेटेनन् । उनी फेरि बिदेसिनुपर्‍यो । बिदेसिन काठमाडौं आउनुपर्‍यो । गाउँबाट सीधै काठमाडौं आउन नसक्ने । सिमानाको खोला तरेर भारत हुँदै आउनुपर्ने । आखिर एउटा सन्की विदेशीको क्रूरतामा परेर उनको जीवनलीला सकियो । 

 

मान्छे भएर जन्मेपछि मर्नु नियति हो । जो मान्छेले डाँडा–भिर–कोप्चामा बस्ने साहस वा दुस्साहस गर्‍यो, ऊ अकालमा लडी मर्नु पनि सम्भाव्यता नै बनेको हो । तर, जयसिंह धामीलाई उसको डाँडाले मारेको होइन । अविकासले मारेको होइन । उसको डाँडामा उसका पुर्खा कोही २० वर्ष बाँचे होलान्, कोही ८० । बाँच्नकै लागि अरब जानुपर्ने उनको जुन नियति बन्यो, अरब जानकै लागि राजधानी आउनुपर्ने जुन परिवेश बन्यो, चुच्चे नक्साको विवादमा एक हिंस्रक भारतीयको जुन घातक निसाना ऊ बन्यो, यसबाट छर्लंग छ, जयसिंह धामी असन्तुलित आधुनिकता, केन्द्रीकृत राज्यव्यवस्था, हेपाहा भूराजनीति र अन्धो राष्ट्रवाद सबैको कारण मारिए ।

 

जयसिंह धामीको सामूहिक हत्या भएको हो । आधुनिक दासत्वमा चलेको विश्व अर्थव्यवस्थामा हड्डी घोटाएर, कुनाबाट केन्द्र धाउँदा–धाउँदा पसिना सुकाएर, कृत्रिम सिमानामा जुधेका अहं र कुण्ठाको हिंसामा रगत बगाउँदा–बगाउँदै जयसिंह धामी मरेको हो ।

 

केन्द्रको अहं र कुण्ठाको मूल्य सधैँ कुनाका निर्दोषहरूले चुकाउनुपरेको छ– यो निरन्तरको कथा हो । ‘सर्भाइभल अफ द फिटेस्ट’ या ‘योग्यतमको जित’ भन्दै आज कसैले जयसिंह धामीको मृत्युलाई एउटा हरूवाको स्वाभाविक अन्त्य ठान्छ भने मलाई आज प्रश्न गर्न मन लागेको छ– एउटा मान्छेलाई मान्छे भएर बाँच्न के योग्यता चाहिन्छ ?

 

जयसिंह धामीले आफ्नो पसिनामा आफ्नो परिवारका निम्ति घर बनाए । छोराछोरीलाई बढाए, पढाए । आफ्नो सम्पूर्ण श्रम लगाएर घर बनाउँदा ऋण लाग्ने, आफ्नै देशको राजधानी आउँदा जीवन दाउमा लगाउनुपर्ने स्थिति आउनुमा को अयोग्य ? जयसिंह धामी कि शोषक विश्व अर्थव्यवस्था कि असंवेदनशील निकम्मा राज्य ?
योग्यताको कुरा गर्ने हो भने जयसिंह धामीहरूलाई सेवा गर्न चुनिएर गएका राजनेताहरूले, विकासका शास्त्र जानेको छु भन्ने नीति–निर्माताहरूले विकासको नाममा जसरी सिमेन्टका गेटमाथि सिमेन्टका गजुर थप्ने, सिमेन्टको रुखमा सिमेन्टको फल फलाउने कामहरू गरे, उनीहरूले आफ्नो योग्यता–अयोग्यताको परिचय दिइसकेका छन् । तर, उनीहरूको कमसलताको प्रतिफल मात्र जयसिंह धामीहरूले भोग्नुपरेको छ । पटक–पटकको असफलताका बाबजुद ‘जिताहा’को पगरी पाएकाहरूले सुलभताको जीवन बाँच्दै आएका छन् । विकासको नलीमा अयोग्यताको प्वाल जहाँ, जोसुकैले पारोस्, शक्तिको भ¥याङको तल पर्ने जयसिंह धामीहरूले घाटाका सम्पूर्ण भेल खेप्दै आएका छन् ।

 

के शक्तिको भर्‍याङको माथि पर्नु नै योग्यताको मापन हो त ? सामर्थ कुम्ल्याउनु नै योग्यताको अर्थ हो त ? तल परेकालाई, भागमा थोरै पारिएकालाई झन्–झन् सोस्नु नै योग्यताको उपयोग हो त ? योग्यताको भाष्यमा माथि परेकाहरूले अरूमाथि अत्याचार मच्चाउनु नै मानव सभ्यताको उपलब्धि हो त ?

 

मलेरिया र जंगलका अनेक रोगसँग लड्ने शारीरिक योग्यता विकास गरेर आदिवासी थारूहरूले शताब्दीयौँदेखि आफ्नै योग्यताको बलबुतामा माटोको उर्वरता कला र संस्कृतिको विपुलता सिर्जना गरे । सत्ताको संयोगले झरेका नयाँ आगन्तुकको नियत ठम्याउन नसक्नु त्यही एक ‘अयोग्यता’का निम्ति थारूहरूले कति पुस्तासम्म के–के मात्र सुम्पेर मूल्य चुकाउनुपर्ने ?

 

जयसिंह धामीले आफ्नो पसिनामा आफ्नो परिवारका निम्ति घर बनाए । छोराछोरीलाई बढाए, पढाए । आफ्नो सम्पूर्ण श्रम लगाएर घर बनाउँदा ऋण लाग्ने, आफ्नै देशको राजधानी आउँदा जीवन दाउमा लगाउनुपर्ने स्थिति आउनुमा को अयोग्य ? जयसिंह धामी कि शोषक विश्व अर्थव्यवस्था कि असंवेदनशील निकम्मा राज्य ?

 

विद्यमान असमानता र अन्यायलाई ‘सर्भाइभल अफ द फिटेस्ट’को अवधारणाले अथ्र्याउन कसरी सकिन्छ, जब कि आजको मानव समाज प्रकृतिको लयमा बगेको खुला प्रतिस्पर्धा हुँदै होइन । प्रकृतिको स्वाभाविक लहरसँग डराएको भयभीत मानसिकताको कृत्रिम व्यवस्था हो, आजको मानव समाज । सबैभन्दा भयग्रस्तले कुम्ल्याएको शक्तिको बन्दी हो, आजको मानव समाज । भय र कुण्ठाको चक्रव्यूहमा आफूलाई बिर्सेको रोगीहरूले चलाएको रोगग्रस्त उपज हो, आजको मानव समाज । 

 

आज सारा संसार अस्तित्व संकटबाट गुज्रिरहेको छ । प्रकृति र जीवहरूको सामूहिक विनाश दिनानुदिन बढ्दै गएको छ । जलवायु परिवर्तन झन्–झन् बढेर मानव अस्तित्व नै अनिश्चित छ । विजयका आकांक्षीहरूले जित र हारको यति साँघुरो बुझाइ बोकेका छन् कि उनीहरूले बिर्सेका छन्, प्रकृतिलाई जितेर मान्छे कहिल्यै विजेता हुन सक्दैन । संसारलाई पछाडि छाडेर एकलौटी कोही टाढा जान सक्दैन । सह–अस्तित्व नै मूलभूत सत्य हो ।

 

मानव शरीरमा यदि मस्तिष्कले सबै रक्त आफूमै सञ्चारित हुनुपर्छ भन्ने अहं राख्छ भने यदि मुटुले आफू मात्रै चल्नुपर्छ भन्ने भ्रम राख्छ भने र यदि सबै कोषिकाले आफू मात्र फैलिन खोज्यो भने त्यो मस्तिष्क, मुटु वा कोषिकाको जित हुँदैन, बल्कि एक शरीरको नाश हुन्छ । आत्मघाती प्रतिस्पर्धा प्रगतिको संवाहक होइन । असन्तुलित एकाधिपत्य समृद्धिको शिखर होइन ।

 

मानव हुनुको अर्थ के हो र मानवजीवनको औचित्य के हो ? यो ठूलो प्रश्नको उत्तर मसँग छैन । तर, यो कुरा फेरि दोहोर्‍याएर भन्न चाहन्छु – सहअस्तित्वको विकल्प छैन । सायद मानवीय संवेदनशीलता हाम्रो सबैभन्दा ठूलो गुण हो र विवेक सबैभन्दा ठूलो औजार । 

 

संसार छेडी महामानव हुने होडमा कुदेका जेफ बेजोस र मान्छेको जुनी बाँच्न नसकी माछाको जुनीमा सान्त्वना खोज्ने जयसिंह धामी, यी दुई बिन्दुबीचमा कहाँ छौँ हामी ? मरेपछि माछाको जुनी हुन्छ कि चराको, कि यो नै एक अन्तिम जुनी हो, त्यो मरिजानेलाई नै थाहा होला । कल्याणसिंह धामीजस्तै प्रत्यक्षदर्शी भएर बसेका छौँ हामी । भोलिको पुस्तालाई हामीले पक्कै बयान दिनुपर्नेछ ।

 

हाम्रो प्रत्येक कर्म, प्रत्येक संवेदना, प्रत्येक तरंग आकाश उक्लिँदै गरेका महामानवहरूलाई ठेल्न सुम्पिन्छौँ कि मान्छे भएर बाँच्न संघर्ष गर्दै गरेका हाम्रा तमाम साथीहरूलाई खोला तार्न समर्पित गर्छौं ? आज हाम्रो आफ्नै मानवता अस्तित्वको ठूलो चुनौतीमा छ ।