सानो छँदा म ठूलाले भनेको खुरुखुरु मान्ने ‘ज्ञानी’ बालक थिइनँ । ठुल्दाइको त मलाई ‘तँलाई उपद्र्याहा’ भन्ने थेगो नै थियो । म उपद्र्याहा हुनुमा केही कारण थिए । आमाबाका पाँचमध्ये म चौथो छोरो । पाँचौँ छोरो त के जन्मेला भनेर होला, मलाई कान्छो भने । कान्छा छोरालाई यसै पनि पुल्पुल्याइन्छ । उसका सानातिना बदमासीले माफ पाउँछन् । अरू जे कुरामा पिटिन्छन्, ऊ पिटिँदैन । खानमा पनि उसको मानमनितो हुन्छ । हो, यसरी पुलपुलिएँ म । सात वर्षपछि अर्को कान्छो जन्मियो । जिब्रामा लागेको बानी किन छुट्थ्यो, म कान्छो भनिइनै रहेँ ।
पढाइमा तिखो थिएँ म । कक्षामा सधैँ पहिलो हुन्थेँ । विशेष प्रतिभा भएर म पहिलो भएको होइन । मेरो मातृभाषा नेपाली । अंग्रेजीबाहेक सबै पाठ्यपुस्तक नेपालीमा थिए । गोर्खा राजको सरकारी भाषा पनि नेपाली नै थियो । त्यसबाट मलाई फाइदा भयो । बाउ ज्योतिषी थिए । बाउलाई शिक्षाको महिमा थाहा थियो । बाउले मलाई पढाइमा जोते । त्यसैले म पहिलो भएँ । पहिलो हुनुका अनेक फाइदा थिए । म पहिलोलाई ‘पञ्च खत’ माफ हुन्थ्यो । सानातिना कसुरका त के कुरा, रेस्टिकेटै हुने कसुरमा पनि म माफ पाउँथेँ । एउटा स्कुलमा रेस्टिकेट भए मलाई अर्को स्कुलले भर्ना गरिदिन्थ्यो । यसरी विद्यालयमा पनि म पुल्पुलिएँ । नतिजा के भो ? म जोकोहीलाई नटेर्ने भएँ । तँ ठूलो त म किन सानो ? तँ हेप्ने त म किन दब्ने ? हो, म यस्तो भएँ ।
म सात–आठ वर्षको हुँदो हुँ । घरमुन्तिर ठूलो ओखरको फेदमा देवीथान थियो । त्यहाँ झ्यासमा माकुराको जालो र झुसिल्किराका बीचमा त्रिशूल गाडिएको थियो । बाँसका लिंगामा सेता धजा टाँगिएका थिए । काला, ठाडा ढुंगामा सिन्दुर पोतिएको थियो । टुपी, जनै र कन्दनीवाले जुँगामुठेहरू देवीको पूजा गर्थे । भन्नु मात्रै देवी छ, देवीको रूप हेरिनसक्नु छ । ठूलाबडाहरू मलाई त्यो नाथे देवीको छेउ पर्न दिँदैनन् । जो पनि मलाई ‘ए, तँ उता हट्, उता’ भन्छन् । यिनले मलाई कति हेपेका ? बालसुलभ झोँकले मेरो टुपी ठाडो भयो । झोकैझोँकमा एकदिन मैले देवीथानमा सुइँक्याइदिएँ । त्यसपछि जे भो, त्यो उज्ज्वल प्रसाईंकृत जीवनीको गुप्तवासमा छ ।
१. तीन लाल खगेन्द्र
०२७ सालमा म मास्टर भएर लमजुङ, खुदी गएँ । खुदीमा हामी तीन खगेन्द्र थियौँ । स्कुल सञ्चालक समितिका अध्यक्ष खगेन्द्रजङ गुरुङ । मास्टर खगेन्द्र पूर्वेली । र, हेडमास्टर म खगेन्द्र संग्रौला । तीन खगेन्द्रलाई त्यहाँ लाल मानियो । ती जहाँ–जहाँ हिँड्छन्, विद्रोह आकरै हिँड्छन्, आगो ओकल्दै हिँड्छन् । तीन खगेन्द्र मिलेर धर्ती र आकाश जम्मै लाल बनाउने भए ! हो, यस्तो हौवा पिटियो । आखिरमा हामी तीन खगेन्द्र कांग्रेस, पञ्च र पुलिसको घेरामा पर्यौँ । सदरमुकाम बेसीसहरमा एकजना थानेदार थिए । तिनका तीनवटा पुलिस थिए । घरिघरि थानेदार आफ्ना तीन पुलिस पछि लाएर खुदी आउँथे । अनि कुरा हुन्थ्यो, ‘मास्टसाप, यहाँ त गर्नु नहुने केही गरिँदै छ रे नि ?’
‘थानेदार साप, पढाउन आको हो, पढाइया छ । अरू के गर्नु ?’
‘होइन, रिपोर्ट राम्रो छैन ।’
‘कस्तो रिपोर्ट ?’
‘त्यो भन्न मिल्दैन । तपाईंजस्तो सज्जनलाई केही गरेको देख्नु नपरोस् ।’
थानेदार अरू केही नगर्ने । आउने, यति भन्ने अनि फर्केर जाने । संकेत नै पर्याप्त भो नि । उनी मलाई हेड सर पनि भन्थे । कहिले त सलाम पनि ठोक्थे । अनि थर्काएर जान्थे । त्यो उपक्रम चलिनै रह्यो ।
सदरमुकाम दुई घन्टा पर छ । स्कुलमा पढाइरहेका वेला पुलिस आउँछ । रामजी भन्ने मभन्दा पनि पुड्का सिडिओ छन् । मान्छे छन् साह्रै दुष्ट ।
मलाई सोध्छन्, ‘के हो माड्साप, केही गरिया छ रे नि ।’
‘पढाउन आको हो सिडिओ साप, पढाइया छ ।’
‘होइन, पढाउन नहुने चिज पढाइया छ भन्ने रिपोर्ट आ’छ ।’
‘रिपोर्ट कसले गर्यो ?’
‘त्यो भन्न मिल्दैन ।’
म हिँड्न लाग्दा धम्कीको भाषामा भन्छन्, ‘म हेरिराछु, होस गर्नुहोला ।’नाम नन्दबहादुर मल्ल हो केरे, ती अञ्चलाधीश थिए । जिल्ला सभापति थिए कांग्रेसी लेखनाथ अधिकारी । श्रीकान्त अधिकारी भन्ने अर्का नाउँ चलेका कांग्रेसी थिए । एक साँझ अञ्चालाधीशलाई अघि लाएर ती दुई कांग्रेसी खुदी आए । र, हामी तीन खगेन्द्रलाई घेरे । तिनले ‘तीन लाल’लाई थर्काउन खोजे । सबै कुराको प्रतिवाद ‘मन्त्री’ खगेन्द्रजंग गुरुङले गरे । भोलिपल्ट बिदा हुन लाग्दा अञ्चलाधीशले मलाई एकान्तमा भने, ‘संग्रौलाजी, यसो हेर्दा तपाईं सज्जन जस्तो लाग्छ । तपाईं त पढेलेख्या विद्वान् मान्छे । यी दुई खगेन्द्र बदमास निक्ले । यिनले तपाईंलाई बिगारे । खगेन्द्र पूर्वेलीलाई हटाउनोस् । त्यसले गाउँ भाँड्यो भन्छन् । खगेन्द्रजंग गुरुङको संगत छोड्नोस् ।’
मैले भनेँ, ‘मलाई खगेन्द्रजंग गुरुङले यहाँ ल्याएका हुन्, अञ्चलाधीशज्यू । उनी सञ्चालक समितिका अध्यक्ष, म स्कुलको हेडमास्टर । मैले उनलाई कसरी छोड्नु ? स्कुलमा अंग्रेजी पढाउने मास्टरको कत्रो खाँँचो छ ! खगेन्द्र पूर्वेलीलाई मैले कसरी हटाउनु ? बरु जागिर छोड्न मिल्ला । जिन्दगी छोड्न मिल्ला । यी दुई खगेन्द्रलाई मैले छोड्न मिल्दैन ।’‘कि यिनलाई छोड्नोस्, कि तपाईंमाथि म कारबाही गर्छु ।’
यति भनेर उनी मनाङतिर लागे । ऊवेलाको अञ्चलाधीश अञ्चलको राजा थियो । शाहीतन्त्रले उसलाई मान्छे मार्ने अधिकार दिएको छ । म कारबाही गर्छु भन्छ । मलाई किञ्चित् असहज लाग्यो । विरानो ठाउँमा छु । सारा प्रतिक्रियावादी धर्ती र आकाश लाल बनायो भन्छन् । कहिलेकाहीँ विद्यार्थीसँग लुकेर अखिलका कुरा गर्नुसिवाय मैले अरू गर्या केही छैन । पछि त अवस्था यस्तो आयो, हेडमास्टरले गुन्टा कसेर रातरात टाप कस्नु पर्ने भो । बस्, कसेँ टाप ।
२. टुहुरे पसलको कारबाही
म उही मास्टरी भेषमा तनहुँको टुहुरे पसल गएँ । विषय छ, उही अंग्रेजी । दिनभरि ‘राजा महेन्द्र देशलाई उज्यालोतिर डोर्याइराछन्’ भन्ने अंग्रेजी पाठ पठाएँ, राति विद्यार्थीहरूलाई राजा फाल्ने लाल शिक्षा दिएँ । कहिले चौतारीमा, कहिले देउरालीमा । कहिले मसानघाटमा, कहिले मन्दिरछेउमा । बडो विरोधाभाषी जिन्दगी बाँचियो । दिउँसो एउटा औतार छ, राति अर्को अवतार । दिउँसो राजाको काम गर्या छ, राति आफ्नो काम गर्या छ ।
टुहुरे पसलमा इन्द्र श्रेष्ठ भन्ने साहु थियो । त्यसले एउटी गरिब नारीलाई एउटा सारीमा पाँच दोब्बर पैसो ठगेछ । विद्यार्थी उचालेर त्यहाँ आगो बालियो । सबै लाल मास्टर अघि सरेर साहुको भण्डाफोर गर्ने मतो गरिया थियो । लड्ने वेलामा हेडमास्टर र म मात्रै भयौँ । अरू लाल मास्टर कतै लुके । भोलिपल्ट जिल्लाको सिडिओसहित पाँच–सातजनाको टोली हुरुरु आयो । ती सबैले मलाई घेरे । अलि दिनअघि ‘मैले ‘खरानीमुनिको आगो’ भन्ने आफ्नो कथालाई नाटकमा ढालेर देखाएको थिएँ । नाटकमा कथा–नायक सार्कीको अभिनय आफैं गरेको थिएँ । ममाथि नाटक देखाएर गरिबलाई भाँड्यो, अछुतलाई उकास्यो भन्ने आरोप लाग्यो । अझ इन्द्रे साहुमाथि त विद्यार्थी उचालेर आक्रमणै गरेको आरोप जाग्यो । जिल्लाका राजाले मसँग कडा केरकार गरे । मैले भनेँ, ‘हो, मैले अन्यायको विरोध गरेकै हो । गरिबलाई पाँच दोब्बर ठग्नु हुँदैन भनेकै हो ।’
‘तपाईं त मास्टर हो नि । मास्टरको काम त्यो हो ?’
‘मास्टरको काम त्यो पनि हो, सिडिओ साप । आँखै अगाडि अन्याय भको देखेर आँखा चिम्लेर हिँड्ने काम मास्टरको होइन ।’
‘तपाईं मर्यादाभित्र बस्नुस् ।’
‘म मर्यादा भित्रै बस्या छु, सिडिओ साप । मैले मर्यादाभित्रैबाट अन्यायको विरोध गर्या हुँ ।’सिडिओको झुन्ड आजित भएर फर्कियो । टुहुरेपसलमा एकजना सन्कीसन्की खालका मगर लाहुरे थिए । शम्भु पण्डित भन्ने एकजना सन्काहा थिए । वरपरका दक्षिणपन्थी प्रतिक्रियावादीहरू मिलेर मलाई काट्ने योजना बनाएछन् । मेरो भात–भान्सा ट’ह’रे पसलमै हुन्थ्यो । एक साँझ यी दुई सनकसिं खुकुरी अर्जापेर मलाई काट्न गौँडा ढुकेर बसेछन् । म ती गौँडाबाट छलिएँ । र, ठूलो संयोगले बाँचेँ ।
३. कडा पर्चा
०३२ सालमा एकवर्षे बिएड पढ्न म बन्दिपुरबाट कीर्तिपुर आएँ । झापाली घटना घटिसकेको थियो । केही विद्रोही मारिएका थिए, केही जेलमा थिए । बाँकी भूमिगत भएका थिए । ०३२ सालमा काठमाडौंमा राजाविरुद्ध कडा पर्चा छरियो । पर्चामा राजा वीरेन्द्रको नाउँ काढेर अब तेरा दिनगन्ती सुरु भए टाइपको गर्जन थियो । शाही शासनका पुर्जाहरूले त्यो पर्चाको भाषा मेरो हो भन्ने शंका गरे । म कीर्तिपुर बस्थेँ । डेरामा सहभोजनी पाँच–सातजना थियौँ । सबै विभिन्न तहका विद्यार्थी । एक साँझ प्रहरी आएर डेरा खोतलखातल गरी हामी जम्मैलाई पक्रेर लग्यो ।
अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ थिए । केरकारको क्रममा मेरो पालो आखिरमा आयो । अञ्चलाधीशको दायाँबायाँ सह–अञ्चलाधीश र सरकारी वकिल थिए । कठघराअगाडि भित्तामा वीरेन्द्रको पूर्णकदको फोटो टाँसिएको रहेछ । एकदम झल्झलाकार । झलक्क हेर्दैमा सातो जाने खालको । अभियुक्तका चित्तमा त्रास पैदा गरी नूर गिराउन राखिएको ।
रातको १२ बजे मलाई त्यो कठघरामा उभ्याइयो । अञ्चलाधीश श्रेष्ठले मलाई पर्चा दिँदै भने, ‘संग्रौलाजी, यो पढ्नोस्त ।’ मैले मनमनै पढेँ । ‘संग्रौलाजी, तपाईं स्कलर हुनुहुन्छ । तपाईं पेसामा हुनुहुन्छ । म तपाईंलाई सम्मानपूर्वक व्यवहार गर्दै छु । तपाईंको ठाउँमा अरू कोही भएको भए म यसरी रातको १२ बजेसम्म बस्ने थिइनँ । संग्रौलाजी, यस्तो भाषा लेख्ने खगेन्द्र संग्रौलाबाहेक अरू को होला र भनी हामीलाई शंका लाग्यो । त्यसैले...।’
तीनैजनाले पालैपाले मलाई केरकार गरे । जति गरे पनि तिनको कुरो एउटै थियो । पर्चा कहाँ लेखियो ? लिथो कहाँ गरियो ? छर्ने को–को थिए ? अहिले ती कहाँ छन् ? मौसुफलाई मनपरी भन्न कसरी आँट आयो ? मैले नकारमा उत्तर दिएँ । ‘तपाईं त ज्याद्रो हुनुहुँदो रहेछ, संग्रौलाजी,’ ध्यानपूर्वक सुनेर श्रेष्ठले भने, ‘तपाईं जे पनि होइन भन्दै हुनुहुन्छ । तपाईंको नभए भन्नोस्, यो भाषा कसको हो ?’
आखिरमा अञ्चलाधीशले मलाई भित्रीकोठामा लगे । र, कलम–कापी दिँदै भने, ‘संग्रौलाजी, बयान लेख्नोस् । सत्यसाँचो जे हो, त्यो लेख्नोस् । तपाईं कोअपरेटिभ हुनुहुन्छ कि को–नक्सलाइट हुनुहुन्छ, म हेर्छु ।’बयानमा मैले लेखेँ, ‘मलाई श्रीमान् अञ्चलाधीशबाट यो–यो कुरा सोधनी भयो । जवाफमा मैले यसो–यसो भनेँ । पर्चा छरिएको मैले सुनुको हुँ । पहिले पढेको थिइनँ । अहिले पढ्दा पर्चा कडा लाग्यो । पर्चा लेख्ने र छर्ने हात कसको हो मलाई थाहा छैन । मलाई यति थाहा छ, यसमा मेरो कुनै हात छैन ।’
बयान पढेर श्रेष्ठले भने, ‘खै, केही पनि लेख्नुभएन छ त, संग्रोलाजी ।’
‘भए न लेख्ने हो, अञ्चलाधीशज्यू ।’
अनि मलाई दैनिक तारिखमा छाडियो । बन्दिपुरमा भर्खरै मेरी छोरी जन्मेकी थिइन् । छोरीको मुख हेर्न जाने मेरो बाटो छेकियो । र, मैले दिनदिनै अञ्चलाधीशको बासी मुख हेर्न धाउनुपर्यो । साता–दश दिनपछि झापाली प्रदीप नेपालहरू पक्राउ परे । कठोर यातनापछि तिनले साबिती बयान दिए । र, सूर्यप्रसादका पञ्जाबाट मैले छुटकारा पाएँ ।
४. राष्ट्रियगानले पार्यो हैरान
शाही पञ्चायतले उग्र रूप लिने क्रममा नयाँ शिक्षा पद्धति लागू गरियो । यो पद्धति जनताका मुख पूरै थुन्ने दाउ थियो । कथित नयाँ शिक्षा पद्धतिमा मास्टरले पनि प्रार्थना गर्नुपर्ने नियम बन्यो । घन्टी बज्नासाथ मास्टरहरू विद्यार्थीहरूअगाडि खडा हुनुपर्ने भयो । उभिनु मात्रै परे त केही थिएन, त्यसका बाउको ‘श्रीमान् गम्भीर नेपाली’ गाउनुपर्ने भयो । गायो कि गाएन भनेर स्काउट मास्टर जासुसी गथ्र्यो । ओठ मात्रै चलाएको हो कि गाएको पनि छ भनेर भाते कान थापेर सुन्दै हिँड्थ्यो । मैले बाध्य भएर ओठसम्म त चलाएँ, स्वर कहिल्यै निकालिनँ । मलाई घरिघरि सिडिओ डाकिपठाउँथे । र, धम्कीको लबजमा भन्थे, ‘माड्साप, राष्ट्रियगान गाइया छैन रे नि ? यो देश कसको ? को भएर यो देश छ ? कसको देशमा बसिया छ ? अनि राष्ट्रियगान नगाउने ?’
‘सिडिओ साप, कसैको स्वर सानो होला, कसैको स्वर ठूलो होला । हल्लाखल्लाको बीचमा मेरो स्वर सुनिएन होला । सानो स्वरले गा’कै हो त ।’
‘हुम् ! रिपोर्ट राम्रो छैन ।’
‘श्रीमान् गम्भीर’ले नपुगेर राष्ट्रियगान नाउँको अर्को चाकरीगान आयो । रचनाकार थिए मेरा मित्र गणेश रसिक । त्यो चाकरीगान थियो, ‘हट्ने होइन डटी लड्ने...।’ एउटै चाकरीगानले मेरो हुर्मत लिया थियो, अब दुइटा भए । मैले स्वर निकालेर त्यो गान पनि गाइनँ । खालि ओठ चलाएँ । म फेरि सिडिओको केरकारमा परेँ, ‘के खोजेको हो माड्साप ?’
सिडिओ, पञ्च, मण्डले, सिआइडी आदिले त हैरान पारेकै थिए, चाकरीगान लेखेर मित्र रसिकले मलाई थप हैरान पारे ।
५.ज्यानमारा सिडिओ
०४० सालमा म भरतपुर क्याम्पस, चितवनमा अंग्रेजी पढाउँथेँ । चितवनमा रामकृष्ण पन्त भन्ने सिडिओ थिए । उनी भिमादमा ऋषि देवकोटा ‘आजाद’लाई मारेर आएका थिए । पन्त आउनु के थियो, पञ्चायतविरोधीहरूमाझ डरका लहर पैmलिए । कसलाई मार्न खटाइएको हो यसलाई ? मान्छे अचाक्ली निठुरी छ भन्छन् । मान्छेको खुन चुखेर बस्ती पसेको चितुवाजस्तो । एक दिन पढाउँदै थिएँ, मलाई कक्षाबाटै पक्राउ गरियो । सिडिओको आसन त पण्डित बस्ने मण्डप जस्तो हुँदोरहेछ, माथि उठेको, अग्लो । म तल बसेँ । उनले यस्सो तल मतिर हेरे ।
‘तपाईंको नाम के रे ?’
‘म फलानो ।’
राजाको फोटो झुन्डिएको छ उनको ठिक माथि । फोटो हेर्दै उनले डुर्र गरे, ‘विष्णुका वैरीमाथि म एक्सन लिन्छु ।’भर्खरै मान्छे मारेर आएको छ । हातमा बन्दुक छ । मार्छु भन्छ । मैले के भन्ने ? म त्यसैत्यसै स्तब्ध भएँ । स्वनाम साथी चितवनमै थिए, त्यसवेला । घटना उनका कानमा परेछ । रातिबीच मलाई लिन उनले मोटरसाइकलमा मान्छे पठाए । बाटो रेकी गर्दै मलाई थारू बस्तीमा पुर्याए । म एक हप्ता थारू गाउँमा बसेँ । त्यसपछि केही दिन माथि डाँडाको चेपाङ बस्तीमा घुमेँ । त्यसपछि लुक्दै रातारात काठमाडौं आएँ ।
६. अपहरण शैलीमा पक्राउ
०५२ फागुन १ गते माओवादीहरूले राम्ररी नपड्किने भरुवा बन्दुक पड्काए । फागुन ६ गते युद्धप्रसाद मिश्रसम्बन्धी कार्यक्रममा म वक्ता थिएँ । माइतीघर जान हिँडेको, चाबेल चोकनेर अपहरण शैलीमा म पक्राउ परेँ । पछि थाहा भयो, मलाई बेपत्ता पार्ने दाउले पक्रिएको रहेछ । महाराजगन्ज दंगा प्रहरीको सुरुङमा मलाई थुनियो । स्युस्यु जाडो छ, खान्की छैन । पक्राउ गर्ने निकायले खान्की दिने नियम रहेछ । निकाय नाथे बेपत्ता छ । ड्युटी बसेका प्रहरी भाइहरूले आप्mना गाँस काटेर मलाई ख्वाए । शौचालय धेरै पर थियो । मलाई तीन–चारजनाले घेरेर लान्थे । एउटा जबान त संगीनको चुचो मेरो ढाडमै छुवाएर हिँड्थ्यो । भलिबल खेलिरहेका क्रुद्ध प्रहरीहरू भन्थे, ‘मार्दे आतंककारीलाई । के लगिराछस् मु...लाई मु...उन ?’
वरपरका दक्षिणपन्थी प्रतिक्रियावादीहरू मिलेर मलाई काट्ने योजना बनाएछन् । एक साँझ यी दुई सनकसिं खुकुरी अर्जापेर मलाई काट्न गौँडा ढुकेर बसेछन् । म ती गौँडाबाट छलिएँ । र, ठूलो संयोगले बाँचेँ ।
सुरक्षा कमान्डर शान्त स्वभावका असइ थिए । पक्राउ परेका एकजनाले मलाई देखाउँदै भने, ‘उहाँ कवि हुनुहुन्छ, भानुभक्तजस्ता ।’ प्रहरी भाइहरूका नजरमा म अब भानुभक्त भएँ । मेरो इज्जत ह्वात्तै बढ्यो । बेलुकी १० बजेपछि पिसाप फेर्न बाहिर निस्कन वर्जित थियो । तैपनि माथिकाहरूका आँखा छलेर असइले म भानुभक्तलाई पिसाब फेर्न छुट दिए । पक्राउ परेको केही दिनपछि मेरो बयान लिन एकजना आए । देवकोटा थरका ती अधबैँसे मृदुभाषी थिए । तिनले मलाई चिया–बिस्कुट खिलाए । बयानको औपचारिकता पूरा गरेर तिनले भने, ‘सर, तपाईंलाई धेरै माथिबाट हेरिया छ ।’ ‘धेरै माथि’को अर्थ हो शाही दरबार । ०४६ सालको जनआन्दोलनको धक्काले सेन्सरसिपका सबै बार–बन्देज भत्कायो । र, मैले अहो, यस्तो पनि हुन्छ र भनी विस्मित हुँदै उन्मुक्त मुद्रामा आप्mना विचार र अनुभूतिहरू पोखेँ । त्यो क्रममा मैले ‘चाँदनी शाह र चाँदीका टुक्राजस्ता’ अनेक पुन्टे निबन्ध लेखेँ । सायद धमिलो पानीमा माछा मार्ने दाउले मेरा तिनै अभिव्यक्तिको साटो फेर्न मलाई ‘धेरै माथिबाट हेरिएको’ होला ! मेरो पक्राउविरुद्ध मिडियामा विरोधको लहर उठ्यो । र नै म जिउँदै बाहिर निस्किएँ ।
७. प्रचण्डको भौतिक कारबाही
०५६ सालमा ‘जूनकीरीको संगीत’ छापियो । यो उपन्यासमा माओवादीको सानो प्रसंग छ । खास गरेर माओवादीको भुइँफुट्टा कार्यशैलीको । दलित बस्तीमा माओवादी कतै शून्यबाट राँका बाल्दै आउँछ, र अलिबेरमा अलप हुन्छ । माओवादीका नाउँमा रैथाने जन थोत्रो सत्ताको प्रताडनाको सिकार बन्छन् । द्वन्द्वको चेपमा परेका निमुखा जनको निसासको सानो कथा हो यो । माओवादीले ‘जूनकीरीको संगीत’लाई कम्निस्टविरोधी, क्रान्तिविरोधी भनी अथ्र्याए । नेता मोहन वैद्यले यो जूनकीरीको संगीत होइन, लामखुट्टेको भुनभुन हो भनी शब्दको प्रतिवाद शब्दैले गरे । यहाँसम्म कुरो ठिकै थियो । सर्वोच्च कमान्डर प्रचण्डले ‘जूनकीरी’का लेखकमाथि भौतिक कारबारीसमेत गर्न सकिने फर्मान जारी गरे । माओवादी कारबाही तीन खालका थिए । जनकारबाही अर्थात् गाला पड्काउनु । भाटे कारबाही अर्थात् ढाड भाँच्नु । भौतिक कारबाही अर्थात् ज्यानै लिनु । प्रचण्डको फर्मानमा यो ज्यान ज्यानै लिइने कित्तामा पर्यो । जिन्दगीमा त्यस्ता दिन पनि भोगिए ।
८. ज्ञानेन्द्रको फौजी ताण्डव
ज्ञानेन्द्रीय फौजी ताण्डव मेरो बागी जीवनको कठोर काल थियो । दरबारको नोकरतुल्य शाही सेना सडकमा ओल्र्यो । अखबारको सम्पादकीय टेबुल मिसिनगनको कब्जामा पर्यो । जनताको सातो लिन थोत्रा ट्यांक चोकचोकमा निकालिए । साँझपख सैनिकका आँखा छल्दै कतै गुप्त मदिरालयमा हाम्रो भेट हुन्थ्यो, गोविन्द वर्तमान, जेरी गोविन्द, केशव आचार्य, भोला पुडासैनी र मेरो । कमल थापा फौजीतन्त्रका गृहमन्त्री थिए ।
मदिरालयमा सादा पोसाकको जासुस प्रकट हुन्थ्यो । कपालको कट, गर्धन र हाउभाउले सहजै चिनिने जासुस । त्यो मलाई उक्साउँथ्यो, ‘यो कमले चोर हो । सरले यसलाई ठोक्न पुगेन । दिनुपर्यो सास खुस्कुन्जेल यसलाई ।’ काल र सन्दर्भ बुझेर म मौनधारण गर्थें । उत्ताउलिँदै जासुस भन्थ्यो, ‘सर, ज्ञाने चोर दाजुमारा हो । सरहर्ले दिनुपर्यो यसलाई दरो दनक । यस्ता बेलाँ पनि मुख बाँधेर बस्ने ?’ जासुसका खल्तीमा रेकर्डर होला । पक्का पनि भातेको मलाई बकाउने र फसाउने दाउ हो यो । म गम खान्थेँ ।
शाही सेनामा मेरा एकाध पूर्वविद्यार्थी थिए, क्याप्टेन वा मेजरको दर्जामा । तीमध्ये कोही रातसाँझ मकहाँ आउँथे । निहुँ मैले अनुवाद गरेका माओका सैनिक रचना हात पार्नु हुन्थ्यो, दाउ हुन्थ्यो मेरो मुख बन्द गर्नु । मेरा पूर्वविद्यार्थी प्रेमपूर्वक भन्थे– ‘सर, केही गर्नलाई बाँच्नुपर्छ ।’ यो घुमाउरो भनाइको गुदी कुरो हुन्थ्यो– सर, मारिन किन हतार गर्या ? वचनमा प्रेम लेपन गरिएको ज्यानमारा धम्की थियो त्यो ।
रातैपिच्छे १२–१ बजेतिर मेरो फोनको घन्टी बज्थ्यो । धोद्रो स्वरमा उताबाट कोही बोल्थ्यो । कुरो बुझिँदैनथ्यो । फोन राख्यो, पाँच–सात मिनेटपछि फेरि फोन आउँछ । इरिटेट गर्न, हैरान पार्न, मनोबल मार्न । रात्रिकालीन आततायी धम्की !
९ ‘कमरेड’ महेश काण्ड
वामपन्थी कम्निस्ट हुँ भन्ने ढ्याके पार्टीको सरकार छ । संविधानले समाजवादको जनै ला’को छ । समाजवाद ल्याउँछु भन्ने प्रधानमन्त्री सिंहासनमा छ । सडक–डबलीमा बाहुबली ‘कमरेड’हरूको जगजगी छ । बाहुबली जत्थाका कमान्डर छन्, प्रधानमन्त्रीका प्राण पियारा महेश बस्नेत । श्री बस्नेत मलाई इंगित गर्दै कुटेर ‘तह लाउने’ घोषणा गर्छन् । वीरेन्द्रकालीन धम्की चाखियो । प्रचण्डकालीन धम्की झेलियो । ज्ञानेन्द्रकालीन धम्की पचाइयो । पहिलेका त्यस्ता–त्यस्ता अरिंगाल–बच्छिउँसामु अहिले को हुन् यी झुसे बारुलाहरू ?
०००
यो ज्यानको जीवनमा आइलागेका धम्की सिरियल यिनै हुन् । यी खासमा निम्त्याएर आएका धम्की हुन् । जसले सत्तासँग आँखा जुधाउने अर्घेल्याइँ गर्छ, उसले धम्की निम्त्याउँछ । जसले निषेधका पर्खाल तोड्ने दुस्साहस गर्छ, उसले धम्की निम्त्याउँछ । जो कोही नहिँडेको बाटो हिँड्न जिद्दी गर्छ, उसले धम्की निम्त्याउँछ । बागी, विद्रोही, दुस्साहसी र प्रतिरोधी बन्न रहर पनि गर्नु, धम्की नआऊन् भनी ‘भगवान्’सँग प्रार्थना पनि गर्नु– कठिन र कष्टकर तर सुन्दर र भव्य जीवनमा यो असम्भव छ ।
(राजु स्याङ्तान र रवि मिश्रसँगको कुराकानीमा आधारित)