• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रकाश सपुत
२०७८ श्रावण ३० शनिबार १०:२२:००
सम्झना

दुःखसँग बढी चिनजान छ (भिडियोसहित)

२०७८ श्रावण ३० शनिबार १०:२२:००
प्रकाश सपुत

धेरै रुन्चे गीत ल्यायो भनेर मलाई आरोप पनि लाग्छ । तर, मैले ल्याएका गीतहरू अलि बढी आँसुको भावमा चाहिँ छन् । फेरि हाम्रो जीवन पनि त दुःखमै छ । भौगोलिक, आर्थिक, सामाजिक दृष्टिकोणबाट हामी दुःखमै छौँ । हाम्रा त्यही दुःखले अलि ज्यादा छुने भएकाले होला, मेरा गीतहरू त्यस्तै प्रकृति र स्वभावका हुन्छन् । म स्वयं पनि त्यस्तै पृष्ठभूमिबाट आएकाले रुन मन लाग्ने, पुस्तक पनि त्यस्तै पढ्ने, सिनेमा पनि त्यस्तै मन पराउने गर्छु । खासमा जीवनको रंगमा दुःखको रंग अलि ज्यादा मन पराउँछु । 


‘बोल माया’ गीतबाटै त्यस्तो आरोप लाग्ने गरेको थियो । तर, मलाई के लाग्छ भने हामी आँसुसँग नै बढी नजिक छौँ । त्यही सोचाइ आएकाले पनि गीतमा भावनात्मकतालाई अलि ज्यादा फोकस गरेको हो । मेरो आफ्नै जिन्दगी पनि आँसुसँग ज्यादा परिचित छ । आँसु बग्ने भनेको पनि दुःखमा त हो । दुःखको वेला आँसुको अलि बढी भूमिका हुन्छ । र, आँसुलाई प्रतिबिम्ब गर्ने दुःखसँग मेरो बढी चिनजान छ । 


म जुन परिस्थितिमा जन्मिएँ अथवा मेरो हजुरबुबा, बुबा, आमाले जीवनका खातिरजस्तो दुःख गर्नुभयो, त्यो ममा मिसिएको छ । अलि पछि हामीले चेतनाका लागि गरेको दुःख, परिवर्तनका लागि गरेको दुःख छ । त्यसैले पनि दुःखलाई ग्रहण गर्न सक्ने क्षमताको विकास भयो ममा । त्यसैको रिफ्लेक्सन मेरा सिर्जनामा आउने हुन् । 


हुन त सर्जकमा कल्पनाशीलता चाहिन्छ भनिन्छ । मेरो कमजोरी भनौँ वा विशेषता भनौँ, आफूले देखेको समाजभन्दा पर गएर शब्द टिप्ने, कथा लेख्ने गर्दिनँ । मसँग जे क्षमता छ, त्यसैलाई मैले कलाकारितामा जोडेको हुँ । लय मिलाउन जान्छु होला, अनुप्रास मिलाउन जान्छु होला, संगीत भर्न जान्छु होला । र, गीत लेख्दा मैले आफूले देखेको, भोगेको कुरा नै लेख्छु ।

भोकले दिने पीडा एक ठाउँमा हुन्छ, सपनाले दिने पीडा अर्को ठाउँमा हुन्छ । सपना र अभावले सँगै दिने पीडामा मान्छे ज्यादा दुःखी हुन्छ ।


गीत लेखेर, कम्पोज गरेर, गाएर मैले जुन यात्रा तय गरेको छु, मेरो पारिवारिक र समुदायको पृष्ठभूमि हेर्दा नसोचेको यात्रा गरियोजस्तो लाग्छ । मेरो यात्रा मेरो पुस्ताकै लागि सप्र्राइज हो । गाउँमा हाम्रो अस्तित्व बुबा बलबहादुरसम्म आइपुग्दा, हजुरबुबा लालवीरको पुस्तामा आइपुग्दा र मसम्म आइपुग्दाको पृष्ठभूमि हेर्ने हो भने ठूलो फड्को हो । तर, म कहाँनेर विश्वस्त छु भने उकालो जति चढे पनि एक बिन्दुमा पुगेपछि पिकपोइन्ट हुन्छ । त्यहाँबाट झर्ने नै हो, फेरि यात्रा सुरु गर्ने नै हो । मलाई मानिसले जुन उचाइमा देख्छन् अहिले, त्यो स्याथी होइन । आफू कुनै उडान अथवा उचाइमा रहिरहन्छु भन्ने घमन्ड भयो भने गाह्रो हुन्छ । त्यसवेला म भ्रममा बाँचिरहेको हुन्छु । 


यो यात्रा हो, अहिले सबैले स्याबास गरेका होलान् । तर, यात्रामा पाएको प्रेम भोलि घृणामा पनि बदलिन सक्छ । जीवन त सिंगै बाँकी छ, जीवन बाँकी भएपछि यात्रा जरुर हुन्छ । यात्रामा अप्ठ्यारो आउन सक्छ । यात्रामा गल्ती गर्न सक्छु । कुनै मोडमा पुगेर सोचाइ, भोगाइ परिवर्तन हुन सक्छ । त्यो वेला अर्को फेज आउँछ । त्यसैले आफैँले आफैँलाई सचेत गराउन जहाँ पुगे पनि झर्नु त पर्छ नै । त्यसका लागि पनि म तयार हुनुपर्छ । किनभने मैले गल्ती गर्न बाँकी छ । अझै जीवनको रंग देखिन बाँकी छ ।


गीत लेखनको मेरो आफ्नै पृष्ठभूमि छ । प्यासन र पेसा दुई चिज मानिसको जीवनमा हुन्छ, दुवैमा ऊ अभ्यस्त पनि हुन सक्छ । पत्रकारिता गर्नेले पनि नयाँ–नयाँ अभ्यास, नयाँ प्रयोग गरिरहेकै हुन्छ । मैले पनि चौबीसै घन्टा अनुकूल भएसम्म सबैथोक संगीतमा देख्छु । यो क्षेत्रबाहेक अरू सोच्दिनँ । सपना, भविष्य, रोजीरोटी सबै यसैमा देख्छु । मन यसैमा भुल्छ, दिमाग पनि यसैमा चल्छ । अहिलेसम्मको अनुभवले गीत कति लामो मिटरको हुन्छ, कति शब्दको हुन्छ थाहा भयो । नेपालमा कस्ता भाका छन्, थाहा भयो । म आफैँ लोकगीतबाट आएँ, त्यो माटोबाट आएँ । आमाले गाएको सुनेँ, हजुरबुबा, बुबाले गाएको सुनेँ । क्यासेटमा सुनेँ । त्यो यात्राबाट लयहरू पनि सँगै बोकेर आएँ । अनुभूति पनि सँगै लिएर आएँ । त्यसपछि लाइभ दोहोरी गाएर आएँ । मेरो संगीतमा जति ज्ञान छ, सबै त्यो यात्राको उपज हो । 


पहिला–पहिला कसरी हिट भइन्छ र मान्छेले चिन्छन् भनेर गाइन्थ्यो, तर आजभोलि गीत लेख्न सक्छु भने त्यसलाई समाजसँग जसरी पनि जोड्नुपर्छ भन्ने लाग्छ । यात्राको आफ्नै खाले फेज हुने रहेछन् । त्यो फेजलाई व्यक्तिगत जीवनले असर गर्छ, संगतले पनि असर गर्छ । कस्ता साथीहरू बन्छन्, कस्तो विचार बन्छ त्यसले असर गर्छ । गाउँमा हुँदा अर्कै चेतनासँग थिएँ, कलेज पढ्न थालेपछि अर्कै चेतनासँग थिएँ । दोहोरीमा लाइभ गाउँदा अर्कै चेतना थियो होला, अहिलेको चेतनाले चाहिँ भन्छ, सिर्जना समाजसँग जोड्नैपर्छ । 


तर, दोहोरी साँझ र त्यहाँ गाइएका गीतचाहिँ मेरो ठूलो पाठशाला बन्यो, प्रस्तुति र गायनको हिसाबले । त्यस क्षेत्रलाई गम्भीर रूपमा त लिइनँ, किनभने काम गर्न गएको थिएँ । तर, दोहोरीमा मेरो प्यासन थियो । दोहोरी साँझमा काम गर्दा विविध रंगहरू देखेको छु । अँध्यारो, उज्यालो सबै देखेको छु । त्यसले पनि मलाई सपनाको भ¥याङ चढ्नमा बल दिएको छ । सांगीतिक क्षेत्र सपनासँग जोडिने क्षेत्र हो । कलासँग जोडिने भएकाले सबैले चिनिदिए हुन्थ्यो, हिट हुन पाए भन्ने नै हुन्छ । भोकले दिने पीडा एक ठाउँमा हुन्छ, सपनाले दिने पीडा अर्को ठाउँमा हुन्छ । सपना र अभावले सँगै दिने पीडामा मान्छे ज्यादा दुःखी हुन्छ । 


एक समय थियो, न हिट भइन्छ, न सपना पूरा हुन्छ । न अभाव मेटिएको छ । त्यसरी पनि बाँचेँ । अभावले एक खालको दुःख दिएको छ, सपनाले अर्को खालको । कतिपय मान्छेमा अभावको मात्रै दुःख हुन्छ । त्यसको त थुप्रा विकल्प हुन्छन् । तर, सपनाको विकल्प हुँदैन । कलाकार बन्नु छ भने कलाकार नै बन्नुपर्छ । मैले मेरा पछिल्ला दुई वर्षको संघर्षलाई त्यसरी नै लिएको छु । त्यो अँध्यारो अवस्था र सपनाका लागि अन्तिम वर्ष भनेर स्टाटस नै लेखेको थिएँ ।

यात्रामा पाएको प्रेम भोलि घृणामा पनि बदलिन सक्छ । जीवन त सिंगै बाँकी छ, जीवन बाँकी भएपछि यात्रा जरुर हुन्छ । यात्रामा अप्ठ्यारो आउन सक्छ । यात्रामा गल्ती गर्न सक्छु । कुनै मोडमा पुगेर सोचाइ, भोगाइ परिवर्तन हुन सक्छ ।

अभावका लागि मसँग पासपोर्ट थियो, जापानिज भाषा पढेको थिएँ, कोरियन भाषा पढ्न कोसिस गरिरहेको थिएँ, तर सपनाका कारण रोकिएको थिएँ । यो वर्ष अन्तिम हो, सपना र अभावको पूर्ति गरेँ भने गरेँ, गरिनँ भने सपनालाई मेटाइदिन्छु भन्ने निर्णय लिएको थिएँ । यसपछि अभावको कुरालाई छाडेर सपनातिर लागेँ । ‘चरर बरर’ गीत आफ्नै लगानीमा गरेँ । दोहोरी ब्याटल आयो, त्यसले एकखालको अवस्था दियो । तर, एक दिन मेरो पनि दिन आउँछ भनेर कुरेको भए केही हुँदैनथ्यो । 


पछिल्लो दशकको राजनीतिक परिवर्तनपछि हामीले धेरै कुरा देखिरहेका छौँ । यो सामाजिक, आर्थिक, सांस्कृतिक रूपान्तरणको फेज हो । यो समयमा समाज एकदमै चलायमान छ । दलितले आवाज उठाएको, महिलाले आवाज उठाएको कति नै भयो र ! प्रविधि भित्रिएको कति नै भयो र ! सबै कुराको सुरुवातमा समाज एकदमै चलायमान हुने रहेछ । बहस भइरहेका छन्, छलफल भइरहेका छन् । यी विषयले कतै न कतै सबैलाई छोएको हुँदोरहेछ । मैले त्यस्ता धेरै कथा सुन्न पाइरहेको छु, भन्न पाइरहेको छु । 


मैले गीत चल्यो भनेर सेलिब्रेसन गरिनँ । ‘बदला बरिलै’ निर्मला पन्तसँग जोडिएको थियो, ‘मेरो पनि हैन र यो देश’ लगायत गीत लेख्नु, गाउनु पनि त दुःख हो नि । त्यस्तो घटना त सबैलाई थाहा छ । त्यस्ता कथा कतै चिया पसलमा सकिन्छन्, कतै टेलिभिजनको पर्दामा सकिन्छन् । म संगीतमार्फत बोलिरहेको छु, यसको असर अलि बढी हुन सक्छ । म जे काम गरिरहेको छु, धेरै मान्छेलाई त्यो इस्यु थाहा छ । नयाँ कुरा होइन, संगीत सशक्त माध्यम भएकाले धेरै मान्छेसम्म पुग्यो । 
(कुराकानीमा आधारित)