• वि.सं २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
लोकरञ्जन पराजुली
२०७८ भदौ ५ शनिबार १०:२४:००
साहित्य

महाकवि देवकोटा र जन–प्रकाशनालय

२०७८ भदौ ५ शनिबार १०:२४:००
लोकरञ्जन पराजुली

नेपालमा जहानियाँ राणाशासन करिब १०४ वर्ष टिक्यो । राणाशासकहरूमध्ये अन्तिम–अन्तिम राणा प्रधानमन्त्री पद्मशमशेर अलि उदारवादी मानिन्छन् । अलि पहिलेदेखि नेपालमा मृत्युदण्ड खारेज गरिसकिएको भए पनि जनअधिकार माग गर्नेमध्येका चार नागरिकलाई मृत्युदण्ड दिएका थिए, जुद्धशमशेरले १९९७ सालमा । तर, जुद्धपछि २००२ सालमा शासनारुढ भएका प्रधानमन्त्री पद्मशमशेरले भने आफूलाई जनताको सेवक भनेर घोषणा गरे । शिक्षा पाउनबाट पहिले रैतीलाई रोकिँदै आएकोमा ‘उपयुक्त’ शिक्षा दिनुपर्ने भनेर उनले नीति परिवर्तन गरे । साथै, नयाँ संविधान तयार गराए, भलै त्यो कार्यान्वयनमा आउनुअघि नै उनी ‘पदच्यूत’ गरिए ।

 
पद्मशमशेर यसै त अलि रुन्चे र अलि उदार मानिन्थे, त्यसमाथि उनी प्रधानमन्त्री हुँदा नेपालबाहिर र भित्र परिवर्तनको हुन्डरी मच्चिरहेको थियो । राष्ट्रवादीहरूको आन्दोलनले गर्दा भारत, पाकिस्तान आदि स्वतन्त्र राष्ट्र भएका थिए । नेपालमा पनि राजनीतिक सुधारका लागि मुलुकबाहिर र भित्र नेपालीहरू संगठित हुँदै थिए । उनीहरूले राजनीतिक दलहरू स्थापना गरेर विभिन्न गतिविधि गर्दै थिए । भूमिगत तवरमा राजनीतिक दलमा संलग्न र कतिपय असंलग्न व्यक्तिहरू पनि विभिन्न ‘सामाजिक’ गतिविधिमा संलग्न हुँदै थिए । उनीहरू विद्यालय खोलेर या पुस्तकालय सञ्चालन गर्दै पृष्ठभागमा बसेर राजनीतिक आन्दोलनमा सक्रिय थिए । २००३ सालको विराटनगरको मजदुर आन्दोलन, २००४ सालको जयतु संस्कृतम् आदि आन्दोलनलाई यही परिप्रेक्ष्यमा हेर्न सकिन्छ ।


अर्कोतर्फ, नेपालको अत्यन्तै धीमा गतिमा अगाडि बढेको राजनीतिक विकासक्रमबाट रुष्ट र दिग्दार भएकाहरू भारततर्फ भासिने क्रम जारी नै थियो । उनीहरू सीमापारि पुगी राजनीतिक संगठनहरूमा मिसिन्थे । यसै क्रममा त्रिचन्द्र कलेजमा नेपाली र अंग्रेजी पढाइरहेका लक्ष्मीप्रसाद देवकोटा सम्बन्धितहरूलाई कुनै खास सूचना नदिई २००४ सालको साउन महिनामा भारततर्फ हानिए । उनी पलायन हुनुमा केहीले गणेशमान सिंह, केदारमान व्यथित, प्रेमबहादुर कंसाकारको भूमिका रहेको लेखेका छन् । देवकोटासँगै कंसाकार पनि भारत लागेका थिए, जो सेवा समिति, शान्तिनिकुञ्ज विद्यालय, प्रदीप्त पुस्तकालय आदिमा संलग्न थिए । 


यताबाट वनारस पुगेको केही महिनापछि (माघदेखि) देवकोटा नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादक बनाइए, र उनी पत्रिका निकाल्न तल्लीन भए । उनलाई पत्रिका प्रकाशनमा सघाउनेमा बालचन्द्र शर्मा, कृष्णप्रसाद भट्टराई, नारायणप्रसाद उपाध्याय, ईश्वर बराल आदि थिए । 


आफ्नो दुई वर्षभन्दा बढीको वनारस बसाइमा देवकोटाले पत्रिका सम्पादन मात्रै गरेनन्, थुप्रै कविताहरू पनि कोरे । खाने–जिउने खर्च जोहो गर्ने क्रममा यीमध्ये कतिपय कविता लेखिएका देखिन्छन् । देवकोटा कविता लेख्थे, र प्रकाशकलाई बुझाउँथे अनि प्रकाशकले ती कवितामा भएका शब्द गनेर पैसा दिन्थे । देवकोटाका नवरसमा प्रकाशितमध्ये धेरै रसका कविता यही दौरान लेखिएका थिए । धाराप्रवाह लेख्न सक्ने देवकोटाले कविताका ठेली तयार गर्न सक्ने देखेपछि पहिले कबोलेअनुसारको पैसा दिनबाट प्रकाशकहरू पछाडि हटेको पनि विभिन्न संस्मरणमा पढ्न पाइन्छ । 


देवकोटासँगसँगै काठमाडौं खाल्डोबाट सीमापारि गएका प्रेमबहादुर कंसाकार पनि राणाविरोधी राजनीतिमा संलग्न भए । सँगै, कंसाकार र पछि कम्युनिस्ट पार्टीका संस्थापकसमेत भएका निरञ्जनगोविन्द वैद्य मिलेर २००५ सालमा वीरगन्जपारि रक्सोलमा एउटा प्रकाशन–गृह खोले— जन–प्रकाशनालय । 


प्रकाशकीयमा दाबा गरिएअनुसार यो संस्था ‘नाफा खाई पुँजी थुपार्ने अभिप्रायले’ खडा गरिएको थिएन । सहकारी मोडलमा ढाल्ने योजना राखिएको यो प्रकाशन गृहले सस्तो मूल्यमा (परल मूल्यमा १५ प्रतिशत मात्र बढी लिई) ‘प्रगतिशील क्रान्तिकारी विचार भएका मौलिक तथा अनुवादित किताबहरू प्रकाशित’ गर्ने लक्ष्य लिएको थियो । 


तात्कालिक अवस्थामा नेपालबाट जेजस्ता लेखनी निस्किरहेका, छापिइरहेका थिए (भगवान्–भक्ति वा प्रेम–विरह–प्रकृति वर्णन आदि) तीप्रति तीव्र असन्तुष्टि जनाउँदै जनअधिकारको कुरा गर्ने, राजनीतिको विवेचना गर्ने र शोषण–उत्पीडनको विरोध गर्ने सामग्री प्रकाशन गर्ने ध्येयले जन–प्रकाशनालय स्थापना गरिएको थियो । 

आफ्नो दुई वर्षभन्दा बढीको वनारस बसाइमा देवकोटाले पत्रिका सम्पादन मात्रै गरेनन्, थुप्रै कविताहरू पनि कोरे । खाने–जिउने खर्च जोहो गर्ने क्रममा यीमध्ये कतिपय कविता लेखिएका देखिन्छन् । देवकोटा कविता लेख्थे र प्रकाशकलाई बुझाउँथे अनि प्रकाशकले ती कवितामा भएका शब्द गनेर पैसा दिन्थे ।


जन–जागृतिका लागि तीन चिज— विद्यालय, पुस्तकालय र प्रकाशनालय आवश्यक पर्ने र तीमध्ये अघिल्ला दुई केही संख्यामा खुल्न लागेका भए पनि प्रकाशनालयको अभाव उनीहरूले महसुस गरेकाले यो संस्था खोलिएको दाबी प्रकाशकद्वयको छ । यद्यपि, खासमा प्रकाशनालयकै ‘अभाव’भन्दा पनि ‘राजनीतिक’ सामग्री प्रकाशन गर्ने संस्थाको अभाव भएको देखिन्छ । अन्य खाले सामग्री प्रकाशन गर्ने व्यापारिक संस्था त ‘यथेष्टै’ थिए । त्यसबाहेक सरकारी संस्था पनि थियो । 


जन–प्रकाशनालयको पहिलो प्रकाशनको रूपमा महाकवि देवकोटाको कविता–पुस्तिका पहाडी–पुकार छापिएको छ । आफ्नो ‘गाँस घटाएर र पान र चुरोट खुवाएर’ देवकोटालाई आफूहरूले कविता लेख्न लगाएको प्रकाशकमध्येका एक निरञ्जनगोविन्द वैद्यले एउटा पुरानो अन्तर्वार्तामा उल्लेख गरेका छन् । रेलवे प्लेटफर्म तथा बसस्टपहरूमा पहाडी–पुकार बेचेरसमेत आफूले जीवन–गुजारा गरेको वैद्यले सो अन्तर्वार्तामा बताएका छन् । 


नेपालका कुनै धर्मध्वजले ‘धेरै कालदेखि पद–दलित र शोषित जनतालाई उत्थान गर्नलाई कम्मर कसेका दुई युवकहरूको क्रान्तिकारी प्रयत्नको फलस्वरूप निस्केको संस्था जन–प्रकाशनालयलाई’ ‘हार्दिक स्वागत’ गर्दै शुभेच्छा दिएका थिए । उनको त्यो छोटो ‘स्वागत’ सो पुस्तिकामा छापिएको छ । तर, यी धर्मध्वज को थिए भन्ने बुझिन्न । (एउटा अनुमान यी गणेशमान सिंह पो थिए कि भन्ने लगाउन सकिन्छ, तर पुष्टि गर्ने आधार हामीसँग अहिले छैन ।) 


सो प्रकाशन–गृहले आफ्नो छुट्टै सम्पादकसमेत राखेको देखिन्छ । आफ्नो प्रकाशन पहाडी–पुकारमा सो गृहका सम्पादक काशीनाथ शर्मा गु.पु. (गुरुपुरोहित ?) ले लेखेको पुस्तिकाको छोटो परिचय छापिएको छ । परिचयमा उनले ‘लोलुप भएर, बेचिएर र थिचिएर नबस्नुहोस् बरु उठेर लड्नहोस्, यस्तै आर्तनादका पुकारहरू पठाउनुहोस् र पछिका लागि आफ्नो र अरूको निम्ति केही संगालिदिनुहोस्’ भनेर पाठकलाई आग्रह गरेका छन् । यी गु.पु. काशीनाथ शर्माबारे पनि हामीलाई थप केही थाहा छैन ।

नेपालका नवयुवकहरूले घोर निद्रा त्यागिसके । तिनीहरूले अन्धकारलाई हटाई प्रकाश–पुञ्ज ल्याउन कम्मर कसिसकेका छन् । अत्याचारी सरकारको कत्ति पर्वाह नगरी तन, मन, धन दिएर ठाउँ–ठाउँमा विद्यालय र पुस्तकालय खोल्न लागिरहेछन् । 


पहाडी–पुकार नै जन–प्रकाशनालयको पहिलो र अन्तिम प्रकाशन हो जस्तो देखिन्छ । नेपाली भाषाका प्रकाशनहरूको सबैभन्दा बलियो संग्रह भएको मदन पुरस्कार पुस्तकालयको सूची केलाउँदा यो प्रकाशनालयको कुनै अर्को पुस्तक सूचीकृत भएको त्यहाँ देखिँदैन । पहाडी–पुकारका प्रकाशकमध्येका एक निरञ्जनगोविन्द भने राणाशासन समाप्त भएको अलि समयपछि खासगरी विदेशी वामपन्थी साहित्य अनुवाद गरेर–गराएर प्रगति प्रकाशनमार्फत प्रकाशन–व्यवसायमा लामो समयसम्म संलग्न रहिरहे । 


मुना–मदनजस्तै झ्याउरे भाकामा लेखिएको महाकवि देवकोटाको छोटो काव्य पहाडी–पुकारले प्राणै गए पनि आफ्नो हक नलिई नछाड्ने प्रण गरेको छ । र, मानिस हाैँ भने मानिसझैँ जिउनु र मानिसको हक लिनुपर्छ भनेको छ । कविताको अन्तिम पाउमा भनिएको छ :

ज्यानै पो जाओस्, प्राणै पो जाओस्
पर्वाह गर्दैनौँ ।
मानिसलाई चाहिने हक
नलिई छोड्दैनौँ ।।
मर्नु त एक दिन अवश्यै पर्छ
पशुझैँ नजिऊँ । 
मानिस हौँ भने मानिसझैँ जिऊँ
मानिसको हक लिऊँ ।।

जम्माजम्मी १६ पानाको यो पुस्तिकाको मूल्य मो.रु. सात पैसा र कं.रु. एक आना थियो, र त्यस वेला ५००० प्रति छापिएको थियो । यसको दोस्रो संस्करण रश्मी प्रकाशनबाट २०३५ सालमा छापिएको देखिन्छ । देवकोटाको यो क्रान्तिकारी रचनाबारे थोरबहुत चर्चा भएको छ । तर, कवितासँगै छापिएको प्रकाशकीय टिप्पणी पनि उत्तिकै क्रान्तिकारी र रोचक छ । तसर्थ, अहिलेलाई पढौँ सोही पुस्तिकाको प्रकाशकीय जस्ताको तस्तै । 

जन–प्रकाशनालय
निरंकुश राणाशाहीको भण्डार नेपाल । जनतालाई अन्धकारमा राखी शोषण गरिरहनु नै राणाशाहीको नीति । जनता जान्ने भएपछि सारा कुकर्मको भण्डाफोर होला भन्ने राणाहरूलाई डर । ‘राजनीति’ शब्द उच्चारण गर्नु पनि महाअपराध भन्ने राजनीतिक किताब पढ्नुहुन्छ कि भनी कल्पना गर्नु नै व्यर्थ । यस्तो नेपालका नेपालीहरूमा राजनीतिक चेतना आउन ढिलो हुनु कुन आश्चर्य !


राणाशाहीको अत्याचार हेरिरहन र सहिरहन नसकी नेपालमा क्रान्तिको आवश्यकतालाई महसुस गरेका र राजनीतिमा चाख भएका मानिसहरू लुकीछिपी अंग्रेजी र हिन्दीका एक–दुईवटा राजनीतिक किताबहरू पढ्छन् र राजनीतिक ज्ञान हासिल गर्छन् । तर, राजनीति अंग्रेजीबाजहरूले मात्र पढ्ने र बुझ्ने कुरा होइन । हिन्दीजत्तिको गाह्रो नभए उत्तिको सजिलो पनि छैन । राष्ट्रभाषा नेपालीमै राजनीतिक किताब भई विनाजनसमूहमा राजनीतिक ज्ञानको विकास हुनु असम्भव छ । नेपाल राष्ट्रको राजनीतिलाई राष्ट्रभाषा नेपालीमा नै उल्लेख गरी प्रकाशित नगर्नु झन् लाजको कुरा । आदिकवि भानुभक्तको ‘एक दिन नारद सत्यलोक पुगिगया’ भन्ने किसिमको साहित्यले धार्मिक रुचिलाई तृप्त गरे पनि मानिस मात्रको जन्मसिद्ध अधिकारसम्बन्धी समस्यालाई हल गर्दैन ।

 

आफ्नो रगत–पसिनाको कमाइ आफैँले खाई पेट परमेश्वरको पूजा गर्ने विधि पनि त्यसले सिकाउँदैन । जबसम्म मानिसले मानिसजस्तो भएर बस्न पाउँदैन र जबसम्म शोषण, घुस, पेच आदि भइरहन्छन्, चाहे नारद सत्यलोकमा जाऊन्, चाहे ब्रह्मा नै नारदकहाँ आऊन्, यस मृत्युलोकबाट कलह–झगडा मिट्नेछैन र सुखशान्तिको वास यहाँ हुनेछैन । ठीक त्यस्तै, प्रेमी–प्रेमिकाको हृदयविदारक सुस्केरो, नदीको कलकल, झरनाको झर्झर, हावाको सिर्सिर आदि रोमान्टिक कुराहरू भएका किताबहरूले दुई–चारजना अलमस्तीहरूको मन बहलाउने कामबाहेक अरू केही गर्ने होइनन् । तर, हकदारको हक खोसी, अर्काको रगत–मासु खाई मोटाइरहेका शोषकहरूले शोषणको अन्त नचाहनु स्वाभाविकै हो । त्यसैले तिनीहरू शोषणको भण्डाफोर हुने र जनतामा जागृति आउने किसिमको कुनै पनि किताब छाप्न दिँदैनन् । बरु तिनीहरू या जनतालाई बिलकुलै अन्धकारमा राख्छन्, या शोषणलाई नै पुस्ट्याइँ गर्ने किसिमका किताबहरू छपाएर वितरण गर्छन् । नेपालका राणाशासकहरू यस्तै किसिमका शोषक हुन् ।


निच शोषकहरूको शोषण प्रथालाई नाश गरी, सबैलाई समानाधिकार दिई, देशलाई धनधान्यले परिपूर्ण गरी मृत्युलोकलाई नै सत्यलोक बनाउन खोज्ने कर्मवीरहरूले शोषकहरूको डरले चिप्लेकिराझैँ एक डल्लो नभई र स्वार्थीहरूसरह ‘हजुर’ ‘सरकार’ भनी राणाशासक र शोषकहरूको पछि पाल्तु कुकुरझैँ नलागी जनतालाई वस्तुस्थितिको ज्ञान दिलाउनु र अधिकारको बोध गराउनुपर्छ । भाषणादि दिई एउटा–दुइटा कुरा भन्ने र आह्वान गर्ने काम राजनीतिक संस्थाको हो ।

 

भाषणले क्षणिक जोस जगाउँछ र त्यही भाषण पनि बराबर भइरहन्न । पूर्णरूपेण राजनीतिक चेतना ल्याई जनतामा जागृति फैलाउनलाई तीन कुराको मुख्य दरकार छ– विद्यालय, पुस्तकालय र प्रकाशनालय । विद्यालयको अभावलाई शान्ति निकुञ्ज विद्यालय र त्यही किसिमका अरू विद्यालयहरूले पूर्ति गरेका छन् । प्रदीप्त पुस्तकालय र अरू पुस्तकालयहरूले पुस्तकालयको दुर्लभतालाई हटाएका छन् । नेपालका नवयुवकले घोर निद्रा त्यागिसके । तिनीहरूले अन्धकारलाई हटाई प्रकाशपुञ्ज ल्याउन कम्मर कसिसकेका छन् । अत्याचारी सरकारको कत्ति पर्वाह नगरी तन, मन, धन दिएर ठाउँ–ठाउँमा विद्यालय र पुस्तकालय खोल्न लागिरहेछन् । अहिले सहरतिर मात्र प्रचार भइरहेको छ । चाँडै नै गाउँतिर पनि फैलिँदै जानेछ । यसलाई रोक्ने शक्ति अब राणाशाहीसँग छैन । बाँकी रह्यो प्रकाशनालय । त्यो पनि पूरा होस् भन्ने हेतुले जन–प्रकाशनालय खडा भएको छ ।


जन–प्रकाशनालय जनताको हो । जनताको चन्दाबाट यसको काम चालू हुनेछ । प्रगतिशील क्रान्तिकारी विचार भएका मौलिक तथा अनुवादित किताब प्रकाशित गर्नु नै यसको उद्देश्य हो । यो कुनै राजनीतिक संस्थासँग सम्बद्ध रहनेछैन । नाफा खाई पुँजी थुपार्ने अभिप्रायले पनि यो बनेको होइन । सकेसम्म सस्तो मोलमा बेची जनतामा राजनीतिक किताब पढ्ने रुचि बढाउनु नै यसको ध्येय हो । प्रकाशनालयको खर्च चलाउनुलाई र बिस्तार–बिस्तार यसलाई बृहत् रूप दिनुलाई पर्ता मोलभन्दा सयकडा पन्ध्र मात्र यसले बढ्ता लिनेछ । एजेन्टहरूलाई सयकडा दश कमिसन दिइनेछ । सो दश पनि त्यही पन्ध्रबाट कट्टा गरिनेछ । प्रकाशनालयबाट निर्धारित भएका विषयहरूमा किताब लेख्ने अथवा अनुवाद गर्ने सज्जनहरूलाई मर्यादाको पालन गरी थोरबहुत पुरस्कार पनि यसले दिनेछ । त्यो पनि त्यही सयकडा पन्ध्रबाटै ।जन–प्रकाशनालय अहिले नेपाल बाहिरै रहनेछ । मौका आउनासाथ नेपालभित्र काठमाडौंमा पस्ने बेर पनि यसले गर्नेछैन ।


उठेको चन्दा र भएको आम्दानी सेन्ट्रल बैंक अफ इन्डियामा जम्मा रहनेछ ।अहिलेलाई एउटा प्रबन्धकर्ता र एउटा खजान्चीद्वारा यसको सञ्चालन हुनेछ । जनताको राम्रो सहयोग पाई सुव्यवस्थित भएपछि एउटा पञ्चायत बनाई सो पञ्चायतको जिम्मामा सारा काम सुम्पिदिइनेछ । तर, नेपालीमा प्रगतिशील क्रान्तिकारी विचार भएका किताब लेख्ने मानिसहरूले मात्र पञ्चायतका सदस्य बन्ने अधिकार पाउनेछन् । साल–सालमा हिसाब–किताब गरी अडिटरद्वारा यसको आम्दानी–खर्चको बहिखाता जाँच गराइनेछ ।

  हाल कार्यालय :
  रक्सोल,
  जि.– चम्पारण 
  १५–५–२००५
  सञ्चालक वर्ग :
  प्रेमबहादुर कंसाकार
  निरञ्जनगोविन्द वैद्य