• वि.सं २०७८ असोज १० आइतबार
  • Sunday, 26 September, 2021
क्रिस्टियन प्यारेन्टी
२०७८ भदौ १२ शनिबार ०८:५९:००
अनुवाद

अमेरिकी जिहाद

२०७८ भदौ १२ शनिबार ०८:५९:००
क्रिस्टियन प्यारेन्टी

क्रिस्टियन प्यारेन्टी वरिष्ठ अमेरिकी पत्रकार  हुन् । उनको यो चर्चित लेख ‘सोसियल जस्टिस’ जर्नलमा सन् २००१ मा प्रकाशित भएको थियो । उनी लेखमा २० वर्षअघि विस्थापित तालिबान र हाल पुनस्र्थापित तालिबान दुवै अमेरिकी जिहादकै परिणाम हुन् भन्छन् । दिनेश पन्तले अनुवाद गरेको लेखको सम्पादित अंश यहाँ प्रकाशित गरेका छौँ :

 

यो लेख लेखिरहँदा न्युयोर्क भित्रभित्रै बलिरहेको छ, मध्यपूर्वी आप्रवासी शरणार्थीहरूको ताँती लाग्न थालिसकेको छ भने अफगानिस्तानमा ट्याक्टिकल न्युक विस्फोटकहरूपछिकै घातक डेजी कटर्सको अन्धाधुन्ध बमबारी भइरहेको छ । अमेरिकाको नयाँ आतंकवादविरुद्धको युद्धलाई बुझ्न हामीले त्यही अमेरिकीले पालनपोषणबाट विश्वकै पहिलो नम्बरको शत्रु बनेको इस्लामिक उग्रवादी सञ्जालबारे बुझ्न आवश्यक छ । राजनीतिक इस्लामका जरा निकै गहिरोसँग गाडिएका छन् । अहिले सतहमा आएको राजनीतिक इस्लाम प्रत्यक्ष रूपमा अमेरिकी नीतिसँग जोडिएर आए पनि यो लेखले ती जराहरूलाई खोतल्ने छैन । कथा अफगानिस्तानबाट सुरु हुन्छ । 


‘असल’ जिहाद 
सन् १९७८ मा अफगान सैन्य बलका कम्युनिस्ट अधिकारीहरूले राष्ट्रपति सरदार मोहम्मद दाउदलाई सत्ताच्यूत गरे । तत्पश्चात्को सत्ता धेरै अर्थमा प्रगतिशील पनि थियो अर्थात् कम्युनिस्टहरूले शिक्षाको विस्तार, लैंगिक समानता र भूमि सुधारलाई प्रोत्साहन गरेका थिए । यद्यपि नयाँ बनेको सरकारले अफगानिस्तानका स्वायत्त कविला नेताहरूलाई अपनत्व दिन सकेनन् । नतिजा ससाना विद्रोहले आकार लिन थाल्यो । लगत्तै ३० मार्च १९७९ मै सिआइएका पूर्वनिर्देशक रोबर्ट गेट्सले तत्कालीन अमेरिकी रक्षा मन्त्रालयका उपसचिव वाल्टर स्लोकम्बेसँगको बैठकमा ‘अफगानिस्तानमा द्वन्द्व जारी राखेर सोभियत संघलाई पनि अमेरिका भियतनाममा फसेजस्तै दलदलमा फसाउनुपर्छ’ भनेर सुझाब दिएका थिए । नभन्दै विद्रोहीहरूलाई अमेरिकाले सहयोग गर्न थाल्यो । सन् १९९८ मा एक अन्तर्वार्तामा राष्ट्रपति जिम्मी कार्टरका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार एज्बिग्निउ ब्रजजेन्स्कीका अनुसार सोभियत विस्तार हुनुभन्दा ६ महिनाअघि ३ जुलाई १९७९ बाट नै अमेरिकाले कविला एवं इस्लामवादी विद्रोहीहरूलाई सहयोग गर्न थालिसकेको थियो ।


पार्टी आदर्शका खिलाफ गएका सोभियत कम्युनिस्ट पार्टीका द्वितीय सचिव लियोनिड ब्रेझ्नेभले २४ डिसेम्बर १९७९ मा अफगानिस्तानमा सोभियत विस्तारको आदेश दिएपछि लडाइँ सतहमा आयो । सोभियत संघ विशेष बल (स्पेतनाज)का कमान्डरहरूले तत्कालीन कम्युनिस्ट राष्ट्रपति नुर मोहम्मद तारकीको हत्या गरेर आपूmअनुकूलका बराक कर्मललाई नेतृत्वमा स्थापित गरे । त्यसपछिका १३ वर्ष हिन्दकुश क्षेत्रमा सोभियतले रक्तपात मच्चायो । सोभियतले अफगानिस्तानबाट जस्ता खनिजका साथसाथै हिरोइनको कुलत लागेका निवृत्त सेना अधिकारीहरूको आयात गर्न थाल्यो । जब युद्ध दिनप्रतिदिन बढ्दै गयो जहाजबाट आमजनतामा बेहिसाब बमहरू खसालिन थाले । अन्ततः यो युद्ध सोभियत पतनकै एक कारण बन्न पुग्यो । 


द्वन्द्वको अमेरिकी पाटो झन् भयानक छ । फ्रेड ह्याल्लिडेका अनुसार अमेरिकी कारबाही ‘सिआइएको इतिहासको सबैभन्दा महँगो खुफिया कारबाही’ बन्यो । सोभियत र नजिबुल्लाह सरकारविरुद्ध लड्न सन् १९७९ देखि १९९२ सम्ममा अमेरिकाले कमसेकम ३० करोड अमेरिकी डलर तत्कालीन मुजाहिद्दिन समूहहरूलाई सहयोग गरेको थियो । साउदी शाहहरूले पनि अमेरिकाजत्तिकै सहयोग गरेका थिए र चीन एवं इरानजस्ता मुलुकहरूबाट पनि थप सहयोग हँुदै गयो । त्यति मात्रै होइन लागुऔषध कारोबारीहरू, सिआइएका निजी लगानीकर्ता बैंकहरू, इस्लामवादी परोपकार संस्थाहरू एवं ओसामा बिन लादेनजस्ता अरब क्षेत्रका करोडपतिहरूले पनि मुजाहिद्दिन समूहलाई सहयोग गरेको थियो । हतियार, सैन्य तालिम, पैसा, सूचना एवं लागुऔषध ओसारपसारको बन्दोबस्त पाकिस्तानको खुफिया निकाय आइएसआईले गरेको थियो । 


राष्ट्रपति रोनाल्ड रेगन प्रशासनकालमा मुजाहिद्दिनलाई अमेरिकी सहयोग दिनप्रतिदिन बढ्दै गयो । यस्ता सहयोग अफगान अमेरिकन एजुकेसनल फन्डजस्ता सरल एवं हानि नपुर्‍याउने नाम भएका लबी समूहहरूबाट हुन थाल्यो । यस्तो सहायता १९८५ सम्ममा वार्षिक २५ करोड डलरसम्म पुग्यो । रकम सहयोगमा प्राथमिकता इस्लामिक अतिवादसँग प्रत्यक्ष अनुपातिक रहेको थियो । उदाहरण अमेरिकी सहायता रकमको एकतिहाइ रकम पस्तुन धार्मिक कट्टरपन्थी गुलबुद्दिन हेक्मत्यारलाई हुन्थ्यो । हेक्मत्यारपछि अफगानिस्तानका प्रधानमन्त्री पनि बने ।कम्युनिस्टविरोधी धार्मिक कट्टरपन्थी लडाकुहरूलाई अमेरिकामै फस्टाएको हिरोइन दुव्र्यसनले पनि साथ दिएको थियो । मध्य १९८० मा कंग्रेसको एक अनुसन्धानले अमेरिकामा लागुऔषध व्यापारले आकाश छुने गरी १० अरब अमेरिकी डलरको आँकडा पार गरेको थियो । 


अफगानिस्तान अन्तर्राष्ट्रिय अखडा
सन् १९८० को दशकमा पाकिस्तानी बन्दोबस्तीले उल्लेख्य संख्यामा अन्तर्राष्ट्रिय स्वयंसेवकहरूलाई अफगानिस्तानमा ओसा¥यो । थुप्रै इस्लामिक मुलुकहरू विशेषतः मध्यपूर्वका मुलुकहरूका लागि अफगानिस्तान साम्यवाद र पुँजीवादको लडाइँ हुने ठाउँका रूपमा मात्रै रहेन यी मुलुकहरूका मध्यमवर्गका कुण्ठित धार्मिक अभियन्ता र अधिर बेरोजगार विपन्नहरूका लागि पनि राजनीतिक व्यवस्थापनको एक गतिलो थलो बन्न पुग्यो । इजिप्टका शल्यचिकित्सकबाट आतंककारी बनेका ओसामा बिन लादेनका निकटतम मित्र (हालका अल कायदा प्रमुख) अइमन अल–जवाहिरी सबैभन्दा ठूलो उदाहरण हुन् । अनवर सादतका हत्या षड्यन्त्रमा कैद गरिएका एवं यातना भोगेका जवाहिरी रिहा हुनासाथ अफगानिस्तान भागेका थिए ।

 

सन् १९८६ मा अफगान युद्ध तीन बाटोमा तीव्र गतिले बढ्यो जुन भविष्यको वैश्विक जिहादको आधार पनि बन्यो । पहिलो अमेरिकाले मुजाहिद्दिनलाई वायुयान प्रतिरोधी मिसाइल उपलब्ध गरायो । नतिजा सोभियत वायु सेना तहसनहस भयो र युद्ध समाप्त भयो । दोस्रो अमेरिकी, बेलायती र पाकिस्तानी खुफिया संस्थाहरू क्रमशः सिआइए, एमआइ–६ र आइएसआइले सोभियतका मध्य–एसियाली गणतन्त्रमा हतियारबन्द सैन्य अभियानको अनुमति दियो जुन तत्कालीन सोभियतका ‘नरम इस्लामिक भाग’का रूपमा समेत चिनिन्थ्यो । अन्तिममा सिआइएले आइएसआईलाई भाडाका सिपाही एवं धार्मिक स्वयंसेवक भर्ती गर्न प्रत्यक्ष सहयोग ग¥यो । सन् १९८८ सम्म न्युयोर्क, डेट्रोइट, सान फ्रान्सिस्कोजस्ता अमेरिकी सहरहरूमा पनि भर्ती केन्द्र खोलिए ।


यी घटनाक्रम भइरहँदा ओसामा बिन लादेनलाई साउदी खुफिया प्रमुख एवं निकट मित्र राजकुमार तुर्कीले अफगानिस्तानमा ल्याए । अफगानिस्तानमा लादेनको काम पूर्वाधार निर्माण, मुजाहिद्दिनका लागि बन्दोबस्तीमा सहकार्य गर्नु, सहयोग रकम विनियोजन र लडाइँ लड्नु थियो । अन्तर्राष्ट्रिय स्वयंसेवकहरूको नेता भएकाले लादेनले भर्ती भएकाहरूको जानकारी राख्थे, तिनका परिचय र सम्पर्क सूचीकृत गर्थे । यही सूचीकृत नामावलीबाट अल कायदाको जन्म भएको मानिन्छ ।


व्यक्तित्व वा संगठन मात्रै होइन, थुप्रै क्रुद्ध र अलगावमा परेका युवाहरू अफगान युद्धको ज्वालामा झोसिए । अफगान जिहादलाई सोभियत संघविरुद्धको इस्लामिक मुलुकहरूको वैश्विक युद्धको रूप दिने सिआइए र आइएसाईले तदारुकताका साथ प्रयास गर्‍यो । नतिजा ४० इस्लामिक मुलुकहरूका ३५ हजार इस्लामिक अतिवादीहरू १९८२ देखि १९९२ सम्मको युद्ध अन्तरालमा अफगानिस्तान प्रवेश गरे । दसौँ हजार अधिक विद्यार्थी पाकिस्तानका मदरसाहरूमा अध्ययन गर्न आए । अन्ततः एक लाखभन्दा बढी विदेशी इस्लामिक अतिवादीहरू प्रभावित हुन पुगे । माथि उल्लेखित अतिवादीहरू आ–आफ्ना मुलुकका पक्राउ सूचीमा परे र युद्ध समाप्तपछि अपमानित भए वा राजनीतिक रूपमा वैधता गुमाउन पुगे ।  


अफगानिस्तानबाहिर फैलिन थाल्यो जिहाद  
सन् १९९२ सम्म आइपुग्दा अफगान कम्युनिस्ट राष्ट्रपति मोहम्मद नजिबुल्लाह सत्ताच्यूत भए र सोभियत संघको पनि विघटन भयो । अमेरिकाले अन्ततः आफ्नो खुफिया युद्ध बन्द ग¥यो । अफगानिस्तानमा स्वयंसेवक बनेका अरब–अफगानहरू आ–आफ्ना गृहमुलुक फर्किएर आफ्नै घरमा सशस्त्र जिहादको प्रयास गर्न थाले । हजारौँ संख्याका क्रुद्ध, युद्ध उन्मादले कठोर बनेका धार्मिक लडाकुहरूको सामना गर्न मध्यपूर्वका नेता तथा प्रहरीहरू तयार थिए ।

 

सन् १९९० दशकको सुरुवाती वर्षहरूमा नवउदारवादी नीतिहरूले निम्त्याएको गरिबी, चरम राज्य दमन र अतिवादी राजनीतिक इस्लामले ससाना द्वन्द्वको लहर निम्त्यायो ।यी नतिजामा सामान्य चासो मात्रै दिएका पश्चिमा संस्थापनका नीति–निर्माताहरू संकटको नौलो विकास अर्थात ‘न्यु आर्क अफ क्राइसिस’मा घोत्लिन थाले । सन् १९७० मै एज्बिग्निउ ब्रजजेन्स्कीले प्रतिवादित गरेको न्यु आर्क अफ क्राइसिस वाक्यांशले तत्कालीन सोभियत संघले मध्यपूर्वमा आफ्नो प्रभाव बढाउने सम्भावनालाई मध्यनजर गरेर ल्याइएको थियो । वास्तविक संकटको विकासको आयतन बढिसकेको छ । अर्थात् अफगान युद्धपछि इस्लामिक अतिवादीहरू मध्यपूर्वदेखि जोर्जिया, चेचन्या, ताजकिस्तान र बोस्नियासम्म फैलिइसकेका छन् । 


नयाँ सिर्जना भएका ससाना युद्धले अमेरिकी साझेदार र तिनका स्वार्थलाई संकटमा पारे पनि केही द्वन्द्वहरूले अमेरिकी विदेश नीतिको निर्माताहरूलाई फाइदा नै गरेको छ । समाजवाद र वर्गसंघर्षका विचारधारा हराउँदै गएको अवस्थामा पनि अमेरिकी कर्पारेट स्वार्थ र राजनीतिक शक्तिलाई अझै पनि खतरा रहेको छ । अर्कोतर्फ, सोभियत पराजयले अमेरिकी नेतृत्वका आँखामा पट्टी लगाइएदिएको छ । एज्बिग्निउ ब्रजजेन्स्कीलाई अफगानिस्तान युद्धका कारण कुनै पछुतो भएको छ भनेर प्रश्न गर्दा उनले प्रस्ट रूपमा यसो भनेका थिए, ‘किन पछुतो मान्ने ? गोप्य कारबाही एक उत्तम योजना थियो । यो कारबाहीले रुसीहरूलाई अफगान पासोमा फसाउन ठूलो भूमिका खेलेको थियो र के तपाईं मलाई यो उपलब्धिका लागि पछुताउन सुझाउँदै हुनुहुन्छ ? विश्व इतिहासमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ? तालिबान वा सोभियत साम्राज्यको पतन ? केही उत्तेजित मुसलमान वा मध्य युरोपको मुक्ति एवं शीतयुद्धको अन्त्य ?’


ब्रजजेन्स्कीको टिप्पणीले घमन्ड र इस्लामिक अतिवादको संकटले केही खतरा निम्त्याउन्न भन्ने नश्लभेदी काल्पनिकीले दिएको छद्म सुरक्षा मात्रै जनाउँछ । अमेरिकी इतिहासको अर्को एउटा पाटो रहेको पुँजीको विश्वव्यापी उत्सवले हाम्रो ध्यान खिचेको छ । अमेरिकी नेतृत्वको नयाँ उत्तर–समाजवादी विश्वमा बजारको वर्चस्व छ । यो वर्चस्वले गरिब मुसलमानहरूका माझमा ओसामा बिन लादेनको छविलाई कसरी लोकप्रिय बनायो ? धनाढ्य ओसामा र न्युयोर्कमा आक्रमण गर्ने विमान अपहरणकारीहरू मध्यमवर्गीय भए पनि यिनीहरूको कृत्यले दसौँ लाख दयनीय अवस्थामा रहेका गरिब मानिसहरूको भावनालाई प्रतिबिम्बित ग¥यो ।

अमेरिकाले अफगानिस्तानमा अल कायदालाई ध्वस्त पनि पार्न सक्ला, तर यो वैश्विक युद्धले कस्ता नयाँ पुस्ता जन्माउला ? के अबको १० वर्षपछिको स्थिति प्रत्युत्पादक त हुने होइन ?

 

विश्व व्यापार संगठनका भवनहरूमा आक्रमण गर्ने पहिलो विमानका पाइलट मोहम्मद अट्टाको मुलुक रहेको इजिप्टमा सरकारले चार प्रतिशत बजेट मात्रै स्वास्थ्य क्षेत्रमा खर्च गर्छ नतिजा इजिप्टका आठ दशमलव पाँच प्रतिशत बालबालिका पाँच वर्ष नपुग्दै मर्छन् । विश्व बैंकको २०००–२००१ को प्रतिवेदनअनुसार विश्वभर करिब दुई अरब मानिस ‘चरम गरिबी’को चपेटामा परेका छन् । त्यसको अर्थ हो दुई अरब मानिसहरू पर्याप्त भोजन, ओत लाग्ने ठाउँ र शुद्ध पानीबाट समेत वञ्चित छन् । मध्यपूर्वको सन्दर्भमा बैंकको प्रतिवेदनका अनुसार इजिप्टका ३० प्रतिशत जनता दैनिक दुई डलरभन्दा कम आम्दानीमा आश्रित छन् । यमनमा यो आँकडा ३५ प्रतिशत रहेको छ । अवस्था झन्झन् विकराल हुँदै गइरहेको छ । मध्यपूर्वमा मोटामोटी ४० प्रतिशत जनसंख्या १७ वर्षभन्दा मुनिका छन् भने एकको पाँच भाग युवाहरू बेरोजगार छन् । यो क्षेत्रको वार्षिक औसत प्रतिव्यक्ति आय करिब २१ सय डलर मात्रै रहेको छ । 


नैराश्यताको समयमा विद्रोह 
नासेरवाद वा माक्र्सवादी पुनः वितरणका मुद्दा हराइसकेका छन् र राष्ट्रवाद, यहुदीद्वेष, नश्लवाद र राजनीतिक इस्लामजस्ता ‘मूर्खहरूका समाजवादहरू’ मात्रै बाँचेका छन् । चरम गरिबीलाई प्रयोग गरेर उदाएका ओसामा बिन लादेन पवित्र भूमिबाट अमेरिकालाई लखेट्ने, प्यालेस्टाइनीहरूलाई न्याय एवं इस्लामिक काल्पनिकीमा आधारित पवित्र तथा न्यायपूर्ण समाजको माग गरिरहेका छन् । आफ्नो मागलाई सशक्त देखाउन लादेन बालबालिकालाई यातना दिइरहेका इजराली सेना र विद्रोह ! विद्रोह ! भनेर चिच्याइरहेका जिहादी युवाहरूको भिडियो साझा गरिरहेका छन् ।


अमेरिकाले अफगानिस्तानमा अल कायदालाई ध्वस्त पनि पार्न सक्ला, तर यो वैश्विक युद्धले कस्ता नयाँ पुस्ता जन्माउला ? के अबको १० वर्षपछिको स्थिति प्रत्युत्पादक त हुने होइन ? इस्लामिक अतिवादको दमनबाट कोही सन्तुष्ट छ भने २० वर्ष अगाडि यमन अल जवाहिरीले जेलबाट अंग्रेजीमा गरेको भाषण पढौँ ः 
‘हामी सारा विश्वसँग संवाद गर्न चाहन्छौँ ! हामी को हौँ ? हामी मुसलमान हौँ ! हामी आफ्नो धर्ममा आस्था राख्छौँ ! हामीले इस्लामिक राज्य एवं इस्लामिक समाज बनाउने पूरा प्रयास गर्‍र्यौँ ! अहिले हामी अर्थात् असली इस्लामिक मोर्चा इजरायली सर्वोच्चतावाद, साम्यवाद र साम्राज्यवादविरुद्ध सामना गर्न तयार छ ! हामीले निकृष्ट अमानवीय व्यवहार व्यहोर्‍यौँ ! उनीहरूले हामीलाई लात हाने, कुटपिट गरे, उनीहरूले बिजुलीका तारका कोर्रा बर्साए ! करेन्टको झट्का लगाए ! हाम्रा पछाडि कुकुर खेदाए ! उनीहरूले हाम्रा श्रीमती, आमा, बुबा, बहिनी र छोराहरूलाई पक्राउ गरेर यहाँका निर्दोष बन्दीहरूलाई मानसिक प्रताडना दिइरहेका छन् !’


अहिले २० वर्षपछि जवाहिरीविरुद्ध क्रुद्ध भएकामा हामी अचम्मित छौँ ? जवाहिरीलाई बन्दी बनाउने इजिप्टका सुरक्षा बलहरूलाई अमेरिकाले धन र सैन्य तालिमको सहायता गरेको थियो । के हामी अब आउने पुस्ताले अमेरिकी साम्राज्य र त्यहाँका नागरिकलाई आक्रमण गरे अचम्मित हुन्छौँ ? अमेरिकी जिहादले सेप्टेम्बर ११ को आत्मघाती विमान हमला गरायो अर्थात् अमेरिकी जिहादले कहिल्यै समस्याको समाधान दिनेछैन, बरु थप्दै जानेछ । वैश्विक न्याय, आर्थिक पुनः वितरण र साँचो अर्थको विकासले मात्रै विनाशकारी उग्र इस्लामलाई हराउनेछ ।