
‘पहाडको उकालो–ओरालो हिँड्न मान्नुहोला र जेबी दाइ ?’ माननीय कमरेड अशोक राईले मेरो प्रस्ताव सुनेपछि भन्नुभयो । २०५० सालको फागुन १ गत बिहानै हामी (मा.टंक राई, मा.कुलप्रसाद फुँयाल अशोकजीको डेरामा भेला भएका थियौँ । जिल्लामा पार्टीको एउटा अभियान थाल्ने प्रस्ताव लिएर म आएको थिएँ । उहाँहरू संसद्को हिउँदे अधिवेशनका लागि काठमाडौंमै हुनुहुन्थ्यो । मेरो प्रस्ताव थियो– जनसांस्कृतिक मञ्चका उपाध्यक्ष दाइ जेबी टुहुरेसहितको टिमलाई अभियानमा सरिक गराउने ।
‘एकपटक सोधिहेरौँ न,’ यति भन्दै मैले जिल्ला कमिटीको अनुरोधपत्र अशोकजीलाई थमाएँ । टंकजी र केपीले होस्टेमा हैँसे थप्नुभो ।सांगठनिक संवेदना रामरी बुझ्नुभएका अशोक कमरेडले म सक्दो कोसिस गर्छु भन्नुभो र हामी बाहिरियौँ । हाम्रो जिल्लाको पार्टीको सांगठनिक हालत बेहाल थियो ।२०४८ को संसदीय निर्वाचनमा तीनवटै क्षेत्रको सांसद (प्रतिनिधिसभा) जिते पनि, २०४९ मा भएको स्थानीय निर्वाचनमा हामी डाङडुङ हारेका थियौँ । संगठित शक्ति कमजोर भएको र जिल्ला र केन्द्रमा कांग्रेसकै सरकार भएकाले हामीमाथि संस्कारहीन राजनीतिक थिचोमिचो थियो । जिल्लाका लगभग तीन सय अगुवा कमरेडमाथि ६ सयजति सार्वजनिक तथा फौजदारी मुद्दा भिराइएका थिए । म आफ्नै थाप्लामा ३९ मुद्दा थिए । पछिल्लो चरणमा नौवटा मुद्दाको त तारेख नै खेपिरहेको थिएँ । त्यस हिसाबले राजनीतिक अस्तित्व जोगाउन पनि मजबुत संगठन निर्माणको विकल्प थिएन । त्यसका निम्ति राजनीतिक अभियान आवश्यक थियो र गीतसंगीतविना अभियानको त त्यो वेला कल्पना नै गरिन्नथ्यो ।
अशोकजीले नै भनेपछि जेबी दाइ आउनुहुन्छ भन्नेमा म शतप्रतिशत विश्वस्त थिएँ । हामीले कार्यक्रमको रूपरेखा र रुटिन अशोकजीलाई जिम्मा लगाएर उठ्यौँ । माननीय कामरेडहरू त अनिर्वाय उपस्थिति हुनैपर्ने कडा उर्दी थियो जिल्ला कमिटीको ।दिउँसो म आफैँले पनि जेबी दाइलाई भेट्न खोजेँ, तर उहाँ त विराटनगरमै हुनुहुँदोरहेछ । भोलिपल्ट गाईघाट प्राध्यापक राजेश्वर निरौलालाई फोन गरेँ र सविस्तार सुनाएँ । त्यो समय उहाँ महेन्द्र मोरङ कलेजमा पढाउनुहुन्थ्यो । मैले उहाँलाई भनेँ, ‘सर ! २५ फागुनबाट हामी धर्तुङ माविबाट कार्यक्रम थाल्दै छौँ, तपाइँ दाइको टोली लिएर २४ गते बेलुकासम्ममा आउनुहोला ।’ विनम्र स्वरमा सरलाई आदेश जारी गरेजस्तो भो । फोन राखेपछि भने आफैँलाई आफ्ना शब्द प्रयोगप्रति ग्लानि महसुस भयो ।
०००
हाम्रो जिल्ला कमिटी चुस्त दुरुस्त थियो । हामी जम्मा १९ जना त्यसमा सामेल थियौँ । टिम स्पिरिट राम्रो थियो । अधिकांश नयाँ सदस्य कमरेडहरूलाई हामीले जनवर्गीय संगठनमा आबद्ध गरेर, कामको जागरुकता र प्रतिबद्धता परीक्षण गरेपछि मात्र पार्टी सदस्यता दिने गथ्र्यौँ । त्यसैले पार्टीको तुलनामा जनवर्गीय संगठनका आकारहरू ठूला हुनु अस्वाभाविक थिएन । हामी हरेक तीन महिनामा जनवर्गीय संगठनमा आबद्ध कामरेडहरूको आन्तरिक मूल्यांकन गथ्र्यौँ । सम्बन्धित क्षेत्रका इन्चार्ज साथीसँग परामर्शपछि मात्र गाउँ संगठन, इलाका संगठन कमिटीमा प्रमोट गर्ने परिपाटी चलाएका थियौँ । सबै कमिटी चुस्त–दुरुस्त थिए । पार्टीले हतपत्ति खटाउँदैन, खटाएपछि काम फत्ते गर्न आग्रह गर्छ भन्ने सोच अधिकांश साथीहरूमा छाप परेको थियो ।
म गाईघाटबाट कार्यक्रम गरिने स्थलहरूको टार्गेट गरेर निस्किएँ । वास र गाँसको प्रबन्ध, भेटघाट र सुस्ताउने व्यवस्थापन, भइपरी आउँदा औषधिउपचारका लागि स्वास्थ्यचौकीहरूसँगको समन्वय, आदिबारे स्थानीय कमिटी र स्थानीय बुद्धिजीवीहरू सल्लाह गर्दै जिल्लाको दक्षिण र मध्यक्षेत्रको तयारी बन्दोबस्त गरेर सदरमुकाम पुगेँ । जहाँ धेरै साथीहरू हाम्रो सल्लाहबमोजिम नै भेला हुनुभएको थियो । हामीले फेरि कार्यक्रमबारे परामर्श गर्यौँ, जिम्मेवारी बाँडफाँड ग¥यौँ र फेरि तयारीमा जुट्यौँ । अपेक्षाअनुसार जेबी दाइ नयाँ टोली लिएर आउने पक्का भएको खुसखबरी राजेश्वर सरले दिनुभो । हामी कृतकृत्य भयौँ ।
हामी जिल्लाका २० ठाउँमा कार्यक्रम गर्ने निधो गरेर पूर्वतयारीमा जुटेका थियौँ । अभियान मोटामोटी ४८ दिन हुने भन्ने थियो । बाटोको म्याद र थकाइका लागि समय छुट्याइएकोे थियो । दाइको टोलीलाई बेल्टारदेखि फाक्टाङ ल्याउने प्रबन्ध मिलाइयो । हामी अघिल्लै दिनदेखि त्यतैका गाउँघर घुमिरहेका थियौँ । माननीय कमरेडहरू आ–आफ्ना हिसाबले आइपुग्नुभो । साँझमा गलेर लखतरान हुँदै दाइको टोली धर्तुङ माविको प्रांगणमा आइपुग्यो । हाम्रो स्थानीय संस्कारअनुरूप अपार हर्षका साथ दाइहरूलाई पहिले फूलमालाले, दोस्रो चिसो भातीजाँडले, अलिकति विश्रामपछि आराखाको चुस्कीले, अनि पछि तितेसँगको भातले स्वागत गर्यौँ ।
०००
धेरै साथीहरूलाई एकै घरमा खुवाउने वा आराम गर्न दिने औकात हाम्रो गाउँघरमा थिएन । त्यसमाथि पार्टीको जरो जनवर्गीय संगठनमार्फत जजसको घर पुगेको थियो, ती घरहरू अधिकांश गरिबीको रेखामुनि थिए । कुनै पनि कार्यक्रम गर्दा भान्साको प्रबन्धका लागि मुठी र मानो योगदान गर्ने चलन बसाएका थियौँ । हाम्रो सामूहिक भान्सामा पिठो, मकै सामल र चामल गरी तीन थरी खाना पाक्थ्यो । जिल्ला तथा इलाका स्तरीय नेता कार्यकर्ताले सिधोपिठोको ढिँडो र च्याँख्लामा रुचि राख्थ्यौँ र पाहुनाहरूलाई भरसक चामलको भातको प्रबन्ध मिलाइन्थ्यो । भान्सा एकै ठाउँमा भए पनि सुत्नचाहिँ गाँउभरि छरिनुपथ्र्यो । ओढ्ने–ओछ्याउने बन्दोबस्तीको हिसाबले गाउँमा अनिकाल नै थियो । हामी सबैलाई थाहा थियो पाहुना लाग्नुको अर्थ घरमूलीहरू ओढ्ने–ओच्छ्याउनेविहीन हुनु हो ।
सार्वजनिक कार्यक्रमको अर्थ त्यो दिनको काम पूरै हल्ट हुनुहुन्थ्यो । कार्यकर्ता शुभेच्छुक शुभचिन्तक सबैले आफ्ना गाईबस्तु, भोडाबाख्रा सुँगुरकुखुरा सबैका लागि अघिल्लै दिन आहारा र पानीको प्रबन्ध मिलाइन्थ्यो । कार्यक्रम सुरु हुने दिन सखारै खाना खाएर घरमा भोटेताल्चा वा चुकुल लगाएर आउने हो । त्यसैले हाम्रो पार्टीको कार्यक्रम भनेको पार्टीका सक्रिय सदस्यहरूको मात्र होइन हजुरबा हजुरआमा, आमा, दिदीबहिनी, छोराछोरी नातिनातिनासहितको कार्यक्रम हुन्थ्यो । कार्यक्रम गर्ने ठाउँमा दुकानहरू खुल्थे र हाटबजारकै दिनजस्तो किनबेच हुने गथ्र्यो ।
जेबी दाइले थप्नुभयो,‘गीत भनेको विचारसहितको हुन्छ । गरिब र धनीको पक्षपाती हुन्छ । हामी गरिब निमुखा, श्रमजीवीहरूका पक्षमा गीत गाउन आयौँ । धनीका पक्षमा गीत गाउनेहरू पनि आउनुहुन्छ । आ–आफ्ना गीत हुन्छन् । सहिदहरूजस्तै ।’
अशोकजी भाँती पुर्याएर भाषण गर्नुहुन्थ्यो । उहाँलाई पुराण र महाभारतका श्लोकहरू कण्ठाग्र थिए । सुन्नेहरू सधैँ मन्त्रमुग्ध हुन्थे । टंकजी आफ्नै पाराको समाजशास्त्रीय, तर तार्किक भाषण गर्नुहुन्थ्यो भने कुलप्रसादजी क्रान्तिकारी छविमा प्रस्तुत हुनुहुन्थ्यो । उपसचिव स्वर्गीय गणेश राईले जिल्लाको विकास निर्माणमा भएका थिचोमिचो भष्ट्राचारबारे कुरा गरेर समस्यासँग जुझ्न किन संगठित हुनुपर्छ भनेर कन्भिन्स गर्न खोज्नुहुन्थ्यो । लगभग हाम्रो भाषण टोली राम्रै थियो ।
जेबी दाइको टोलीमा दुई कलाकार बाउछोरा थिए । सत्यनारायण र रूपक चौधरी । सत्यनारायणजी हार्माेनियम बजाउनका साथै गीत पनि गाउँनुहुन्थ्यो । छोरा रूपक जम्मा १० वर्षको फुच्चे थियो, तर उनी गीत गाउँनमा सिपालु । अर्का गायक हर्कबहादुर लुंगेली मगर हार्मोनियमका साथै सुरिलो भाकामा गीत गाउँथे । भरत बुढाथोकी, नृपलाल मगर तथा मेघराज लुंगेलीले तवलाका साथै भाँतीभाँतीका नृत्य र क्यारिकेचर गर्न सिपालु थिए । यो सातजनाको टोली हाम्रो मिसनमा जोडिन आएको थियो ।
०००
सभापिच्छे हाम्रा उद्घोषक र स्वागत भाषण गर्ने कामरेडहरू फेरिन्थे । मूल कार्यक्रम सुरु हुनुभन्दा एक घन्टाअगाडि सहायक कार्यक्रम सञ्चालनको प्रबन्ध गरिन्थ्यो । स्थानीय विद्यार्थी, युवाहरूलाई भाषण गर्न र स्थानीय कलाकारहरूलाई आफ्नो कला प्रस्तुत गर्न लगाइन्थ्यो । उत्कृष्ट प्रस्तुतिलाई मूल कार्यक्रममा हामी पुनः दोहो¥याउँथ्यौँ । यो पूर्वतालिमजस्तै थियो । एउटा हाई स्कुल, सानो स्तरको हेल्थ पोस्ट, एउटा सानो कापी–कलम तथा किराना पसल भएको धर्तुङ दुईवटा अग्ला डाँडाहरूको बीचमा अवस्थित सानो भन्ज्याङ थियो ।
तल गहिराइमा पूर्वतर्फ सुनकोसी बगिरहेको थियो । माथि तरेली परेका होचा–अग्ला डाँडा–पाखाहरू, बीचमा असंख्य खोँचहरू । जसलाई माथिल्लो भेगका मान्छेहरू तल्लो हट्टी भन्छन् । अशिक्षा, गरिबीले पिल्सिएका, दुब्ला, पातला र होचा मानिसहरू ती खोँचमा बस्थे । बराहपोखरी, साउने, फाक्टाङ, मौवाबोटे र देवीस्थान यी पाँच गाविसका तल्लो तटीय क्षेत्रमा म १५–२० दिन लगाएर घरघरै चहारेर बसोवास, रहनसहन, बोलीवचन र आमबुझाइको स्तर नाप्ने कोसिसमा थिएँ । यी भुइँमान्छेलाई पार्टीको जनवर्गीय संगठनमा संगठित गर्न अनेक कोसिस गरियो । तर, असफल । त्यहीवेला मैले रामेश, रायन, मञ्जुल र जेबी दाइलाई झलझली सम्झेको थिएँ । दाइहरू आए, यिनीहरू उज्यालोमा आउँथे भन्ने मेरो विश्वास थियो ।
नीलो आकाश कञ्चन थियो । पाँच गाउँका भुइँमान्छेहरू त्यो सभामा भेला हुँदै थिए । धुलो भुइँ भएको त्यो स्कुलको मैदानमा छिनमै भरियो । अध्यापक टंक श्रेष्ठ सर भन्दै हुनुहुन्थ्यो, ‘हाम्रा ठाउँका मान्छे यसरी कुँडुली लाएर सभामा आउँछन् भन्ने त मैले १० मनमा एक मन पनि सोचेको थिइनँ ।’ यो जादु जेबी दाइको आगमनका कारण सम्भव भएको थियो । स्थानीय कामरेडहरूले हरेक गरिब–दुःखीका घरमा जादुगर गायक र उड्ने गरी नाच्ने केटाहरू आउँदै छन् भनेर प्रचारको करामत थियो ।
पार्वता राईले उद्घोष गर्नुभो । गणेश कोइराला सभाको सभापति । तीनजना भाषणवाज छान्यौँ । किनकि यो कार्यक्रम भाषण कम सांस्कृतिक कार्यक्रम ज्यादा थियो । विपक्षी दलका साथीहरूको पनि मनग्य उपस्थिति थियो ।स्थानीय भाइबहिनाले स्वागत गीत गाए । दुई शब्दमा चन्द्रमणि राईले स्वागत गर्नुभो । देवी रेग्मी र संगीता राईले तीनदेखि चार मिनेटको स्थानीय समस्या र अप्ठ्याराहरूबारे प्रस्ट्याउनुभो । ताकि सांसदहरूले केन्द्रमा स्थानीय मागबारे केही कुरा भन्दिऊन् र समाधान गरून् । टंक सरले स्कुलको पठनपाठनको समस्या राख्नुभो । अशोक कमरेडले जेबी दाइ र साथीहरूको छोटो चिनारी गर्नुभो । अनि सुरु भो कार्यक्रम ।
सानो भाइ रूपकले, ‘लेकै फुल्यो त्यही लाली गुराँस...’ गाए । मधेसको त्यो चौधरी ठिटोको त्यो सुरिलो धुन र गीत सुनेर सब चकित । हर्क लुंगेली र साथीहरूको संयुक्त आवाजमा रामेश दाइको गाउँगाँउबाट उठ बोलको जागरण गीत । सत्यनारायण दाइले ‘पसिनाको मूल्य’ गाउनुभो । त्यसपछि जेबी दाइलाई निम्ताइयो । अनि दाइले भन्न थाल्नुभयो, ‘दाजुभाइ दिदीबहिनीहरू हो ! म तपाईंहरूजस्तै सामान्य परिवारको मान्छे हुँ । मेरो नाम जुठबहादुर हो । पछि साथीभाइले लम्बेतान नाम बोलाउन झर्को मान्न थालेपछि मैले आफूलाई जेबी भन्दिएँ । बा खसेपछि छहारी टुटेको महसुस भो र मैले जेबीको पछि टुहुरे थपेँ ।’ हाम्रातिर पनि त त्यस्तै नाम थिए । टुंके, दत्ते, फत्ते, भान्के, मान्के, मंगले, आइते, सोमे, बुधे आदि । मान्छेलाई परिचयले घत पर्यो । भुइँमान्छेहरूलाई लाग्यो– यो सँग बात मार्न सकिनेरहेछ । केहीले त भनिहाले, ‘यो गाइने त हामीजस्तै पो रछ त ह..ह..ह ।’
दाइले थप्नुभो, ‘गीत भनेको विचारसहितको हुन्छ । गरिब र धनीको पक्षपाती हुन्छ । हामी गरिब निमुखा, श्रमजीवीहरूका पक्षमा गीत गाउन आयौँ । धनीका पक्षमा गीत गाउनेहरू पनि आउनुहुन्छ । आ–आफ्ना गीत हुन्छन् । सहिदहरूजस्तै ।’ अजीबको त्यो परिभाषा सुनेर म आफैँ चकित थिएँ । दाइले भन्दै जानुभो, ‘हामीजस्ताका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर, बिमारी हुँदा स्वास्थ्य पाउनुपर्छ, सुत्केरी बेथालाग्दा अस्पताल पुग्न पाउनुपर्छ, हाम्रा भाइ, बुहिना, छोराछोरीले पनि सुविस्तापूर्वक ज्यान पाल्न रोजगारीको ग्यारेन्टी हुनुपर्छ, न्यानो घरमा वास बस्न पाउनुपर्छ । यस्तो भनेर हाम्रा लागि संघर्ष गर्दैगर्दा मानिसहरू मारिए । जसलाई हामी सहिद भन्छौँ । तिनलाई हामीले पनि सम्झेनौँ भने कसले सम्झन्छ ?’ अनि गीत सुरु भो....
‘सुखानीको रगतले भन्छ हामीलाई,
सहिदको रगतले भन्छ हामीलाई,
सही बाटो हिँडदै छौँ कि,
भुल्यौ दाजु भाइ ।
’
स्वर, लय, संगीत र जोसले भुइँमान्छेहरूमा अद्भुत जादुमय प्रभाव छोड्यो । त्यसपछि दाइले आफ्नै पाराले वर्गसंघर्ष किन आवश्यक छ भन्ने भूमिका बाँध्नुभो । ऋण कसरी लाग्छ ? आफ्नो थातथलोबाट मान्छेको जरोकिलो किन उखेलिन्छ ? मान्छेले भाग्यलाई दोष दिन छोडेर किन संघर्ष गर्न जरुरी छ ? त्यसपछि गाउँनुभो ...
बसाइँ हिँड्नेको ताँतीले
बस्नेको मन रुवाउँदछ
लाखौँका लागि उजाड छ यो देश
मुठीभरलाई त स्वर्ग छ ।
तुरुन्तै कोरस गानमा रूपान्तरण भो यो गीत । भुइँमान्छेहरूले तत्कालै टिपे । एकजना दिलकुमार तामाङ नामको सानो १०–१२ वर्षको स्थानीय स्कुलको भाइले सुरिलो भाकामा गाइदियो । सब चकित ।दाइले अरू केही गीत गाउनुभो । र, अन्तमा एउटा भूमिकामा प्रश्न उठाउनुभो ? ‘यो संसार गरिबहरूले कसरी जित्छन् ? निमुखा श्रमजीवीहरूले राज्यमाथि प्रभुत्व कसरी कायम गर्न सक्छन् ?’ दाइपट्टि मुख फर्काएर हामी सबै ध्यानपूर्वक सुनिरहेका थियौँ । दाइले पुनः प्रश्न गर्नुभो ‘महिलाबेगरको घरको कल्पना गर्न सकिन्छ ? प्रिय छोराछोरी जन्मने र हुर्कने कल्पना गर्न सकिन्छ ? कथित सभ्यताको विकास हुन्छ ? यो सृष्टि धानिन्छ ?’ चुपचाप सुनिरहेका मानिस दाइलाई नै प्रश्नसूचक दृष्टि लगाएर हेरिरहेका थिए । दाइले भन्नुभो, ‘सर्वहारा श्रमजीवीहरूले जित्ने हो भने महिलालाई अगाडि लगाउन नेतृत्वमा राख्न र इज्जत दिन सिक्नुपर्छ ।’ अनि सुरु भो उही कालजयी गीत :
आफ्नै पौरख खान्छन् ।
आफ्नै सीपमा बाँच्छन् ।
दुःखकष्ट सहेर सृष्टि यिनले थाम्छन् ।
असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन् ।
ज्ञानगुन बुध्दि यिनैले सिकाउँछन् ।
तर, पनि अँध्यारोमा जीवन बिताउँछन् ।
आमा, दिदीबहहिनी हो... ।
सबै जुर्मराएका थिए । हौसिएका थिए । अठोट गरिरहेका थिए । हामी हतारमै थियौँ । स्थानीय कामरेडहरूसँग भुइँमान्छे कसरी संगठित गर्ने भन्ने विषयमा थोरै परामर्श गर्यौँ । हामीलाई छुट्टि नै थियो । किनकि हाम्रा लागि ४७ दिनको यात्रा बाँकी नै थियो । हामीलाई ७६ गाउँ १३ इलाकासँगै छिचोल्नु थियो । दाइले बच्चु कैलाश र पुष्प नेपालीले गाएको गीत गाएर भुइँमान्छेसँग बिदा माग्नुभो ।
‘बिदा हुने भइगयो वेला
फेरि भेट होला कि नहोला ।’
सबैका आँखा रसिला थिए । हामी भन्ज्याङ छोडेर उकालो लाग्यौँ ।
०००
अल्पमत, बहुमत र विशिष्ट बहुमत ल्याएर पार्टी सरकारमा पुग्यो । तर, कल्पनाको जनवादी क्रान्ति सम्पन्न भएन । बसाइँ हिँड्ने क्रम रोकिएन । हाम्रा नानीबाबुहरूको उचित र स्तरीय शिक्षाको सपना अधुरै रहेको छ । आमा, दिदी–बहिनीहरूको बेथामा केही फरक आएको छैन । वैदेशिक रोजगारी नगई जीविका नचल्ने भएको छ । पार्टीहरू संस्कार–संस्कृतिहीन र उद्देश्यविहीनजस्ता देखिएका छन् । दाइ भने हामीलाई यो दुःखी संसारमा छोडेर एक्लै–एक्लै बिदा हुनुभो । ती भुइँमान्छेको तर्फबाट सपना साकार गर्न बिँडो थाम्ने सिसिफस अभ्यास जारी राख्ने अठोटका साथ धर्ती टेकेको त्यो गायकलाई अन्तिम सलाम ! अलबिदा दाइ ।