• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ भदौ १९ शनिबार ०७:२९:००
साहित्य

एक तपस्वी कवि

२०७८ भदौ १९ शनिबार ०७:२९:००

आफ्नो मातृभाषालाई माध्यम बनाएर लेख्ने कवि हुन्– पूर्ण वैद्य । उनी नेपालका एक सशक्त कवि हुन् । गत भदौ १० गते उनको निधन भयो । कवि वैद्यको जन्म ने. सं. १०६० मा गुंपुन्ही (जनै पूर्णिमा) का दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो । पानीलाई प्रतीक बनाएर कविता लेख्न रुचाउने उनको व्यक्तित्व पानीजस्तै शीतल र शान्त थियो । उनलाई भेट्ने कुनै पनि व्यक्तिले एकै झलकमा उनको भव्य तर शालीन अनि सौम्य व्यक्तित्व ठम्याउन सक्छ । 


वैद्यको कविताले समाएको धार प्रगतिवाद हो, तर उनका कविता प्रगतिवादी धारका अन्य कविका कविताभन्दा नितान्त फरक छन् । ‘लः लः खः’ (पानी मात्र पानी) कविता–सङ्ग्रहको भूमिकामा कृष्णचन्द्रसिंह प्रधान लेख्छन्, ‘वैद्य प्रगतिवादले हुर्काएका कवि होइनन्, कविले हुर्काएको प्रगतिशीलता वैद्यको हो । अर्थात्, कवि भईकन प्रगतिवादको अनुशरण गर्ने भएकाले वैद्यको कविता प्रगतिवादी भई कविता लेख्ने कविहरूको भन्दा भिन्न छन् ।’


उनी उग्रताविना नै जसरी सफल विद्रोही भएका छन्, त्यसरी नै उनी धर्मको शब्दै उच्चारण नगरीकनै साँचो अर्थमा धार्मिक कवि भएका छन्, अध्यात्मको नामै नलिईकन आध्यात्मिक दार्शनिक बनेका छन् । उनको कविताले सहजै मानवीय धर्मलाई बोकेका छन्, आध्यात्मिक भावको टड्कारो प्रतिबिम्बन गरेका छन् । 
पानीका कवितामा उनी पानीको गुण देख्छन्, पानीमा जुनै रंग पनि घुल्छ, तर पानीको कुनै रंग छैन, पानी जुनै आकारको भाँडामा पनि सहजै बसिदिन्छ, तर कुनै पनि आकार पानीको आफ्नो होइन । यसैकारण कृष्णचन्द्रसिंह प्रधान वैद्यको कविताको सन्दर्भमा अझै थप्छन्, ‘मानिस रंग होइन, रंगले त उसलाई विभाजित गर्छ । मानिस जाति होइन, त्यो त उसलाई टुक्र्याउने संस्कारको पहिचान मात्र हो । मानिस देश होइन, त्यो त करोडौँ मानिस मारेर तिनकै रगतले कोरेको सीमा हो । रंग नलागेको पानीको स्वच्छता, नबाँडिएको मानिसको अखण्डता, साँध नबाँधिएको असीमितता कविको बृहत् सत्य र मानवीयता भन्नुपर्छ । यही लक्ष्य लिएको सामाजिक परमार्थलाई कविले परिभाषित गरेका छन् ।’


ने. सं. १०८४ (ई. १९६४) मा पाण्डुलिपिमा प्रस्तुत ‘सरासु’ कविता सङ्ग्रहका लागि पूर्ण वैद्यलाई श्रेष्ठ सिरपाः पुरस्कार प्रदान गर्ने घोषणा भएपछि नेपालभाषा साहित्यमा ठूलै खैलाबैला मच्चियो । प्रतिस्पर्धी स्थापित कविहरूमाझ नवयुवक वैद्यको नाम घोषणा हुनु आश्चर्यको विषय थियो । साथै, आधुनिक कविता अर्थात् गद्य कविताले राम्ररी मान्यता पाइनसकेको अवस्थामा गद्य कविताकै सङ्ग्रहलाई सर्वाधिक प्रतिष्ठित पुरस्कार प्रदान गरिनु अर्को विवादको विषय बन्यो । 


यिनै कारणले नेपालभाषा साहित्य क्षेत्रमा केही समय ठूलै हलचल मच्चिएको थियो । त्यतिवेला जति पक्ष–विपक्षमा समालोचनाहरू ओइरिए, सायद अघिपछि कहिल्यै भएन । यसै कुरालाई लिएर कमलप्रकाश मल्लले भने, ‘त्यस वेलाको छन्दबद्ध र परम्परागत विषयवरिपरि घुमिरहेको कवितालाई वैद्यज्यूको ‘सरासु’ले दीर्घकालसम्म धुलो उड्ने गरी भूकम्प ल्याइदियो ।’ सिद्धिचरण श्रेष्ठले त सो कृति जुनै भाषामा अनूदित भए पनि अनमोल रत्न हुने कुरामा आफू विश्वस्त रहेको बताएका थिए (‘सरासु’को दोस्रो संस्करणको आवरण) ।


वास्तवमा ‘सरासु’ शब्दले जुन अर्थ बोक्छ, त्यसले त्यही नै कार्य नेपालभाषा कविताको क्षेत्रमा फत्ते गरेको छ । ‘सरासु’ काठमाडौं र पाटनका नेवारका लागि परिचित शब्द होइन । त्यो भक्तपुरको नेपालभाषाको आफ्नै विशेषताले युक्त रैथाने शब्द हो । ग्रामीण परिवेशमा झिसमिसे उज्यालो हुनुभन्दा पनि अघि अँध्यारैमा सन्नाटालाई चिर्दै वातावरणमा जुन अस्पष्ट स्याराक–सुरुक जस्तो प्रथम आवाज आउँछ, त्यसलाई नै ‘सरासु’ भनिन्छ ।

वैद्यको कविताले समाएको धार प्रगतिवाद हो, तर उनका कविता प्रगतिवादी धारका अन्य कविका कविताभन्दा नितान्त फरक छन्

 


यसरी पहिलो अप्रकाशित कृतिमै प्रतिष्ठित पुरस्कार हात पार्ने उनले ने. सं. ११०१ मा फेरि आफ्नो निबन्ध सङ्ग्रह ‘जि छगू अभिव्यक्ति युगया’ (म एक अभिव्यक्ति युगको) का लागि श्रेष्ठ सिरपाः पाउँछन् । कवितात्मक शैलीको चिन्तनप्रधान आत्मपरक निबन्धको क्षेत्रमा सो कृति अब्बल मानिन्छ । साथै, उनको अर्को कृति ‘कविताया लागा’ (कविताको क्षेत्र) कविता विषयक रचना सङ्ग्रह पनि प्रकाशित छ । वास्तवमा, पूर्ण वैद्य कविता कोर्ने कवि मात्र नभई कविताको सैद्धान्तिक पक्षमा पनि आफ्नै स्पष्ट बुझाइ भएका कवि हुन् ।

 

सौम्य विचारक कवि
विद्रोहलाई पनि सौम्य भाषामा अभिव्यक्त गर्न सक्नु कवि पूर्ण वैद्यको विशेषता हो । ‘लः लः खः’को भूमिकामा कमलप्रकाश मल्लले उनलाई यथार्थप्रति असन्तोष, अस्वीकृति र विद्रोह मात्र व्यक्त गर्ने नभई त्यसलाई आत्मसात् गर्न सक्ने प्रौढता र वैचारिक सौम्यता भएका कवि ठह¥याएका छन् । उनी लेख्छन्, ‘शैलीको दृष्टिले उनमा संयम नै धेरै देखिन्छ । ... आफ्नो सिर्जनशील कविताको आधारमा एक चिन्तक, एक विचारक मात्र होइन, एक दार्शनिक बन्ने प्रयास वैद्यज्यूले गर्नुभएको छ ।’


उनको कविता पढ्दा दार्शनिक दृष्टि सहजै भेटिन्छ । तर, त्यो कुनै सैद्धान्तिक दर्शन होइन, बरु अनुभूति र कुतूहलले भरिएको दर्शन हो । अझ आश्चर्यको कुरा के भने उनले सरल शब्द र शैलीमै गहिरा दर्शन व्यक्त गरेका छन् । गहकिला कविता दुरूह हुन्छन् भन्नेलाई उनका कविता चुनौती हुन् । मल्ल के. सुन्दरले नेपालभाषाको आधुनिक कवितासम्बन्धी आफ्नो शोधग्रन्थ (ने. सं. ११०२) मा लेखेका छन् कि त्यसताका आधुनिक कविता लिएर आउने कविहरूमध्ये पूर्ण वैद्य शैलीमा सरलताको साथै अभिव्यक्तिमा सूक्ष्मता लिई आउने कवि हुन् ।


कवि पूर्ण वैद्यको कविताको शैली मात्र होइन, जीवनको शैली सरल थियो । उनले आफ्नो जीवनको ८० वर्ष अत्यन्त सरलतामै बिताएका थिए । पेसाका नाममा उनले अध्यापन नै मात्रै गरेका छन् । शिक्षा शास्त्रमा स्नाताकोत्तर गरेका उनी विद्यालयको माध्यमिक तहमा अंग्रेजी र नेपालभाषा पढाउँथे । रत्नराज्य क्याम्पसमा उनले नेपालभाषा पढाउँथे । घर भक्तपुर तर जागिर काठमाडौंमा भएकाले उनी काठमाडौंमा डेरा गरी बसे । जागिरको आम्दानीले धान्ने खालको सामान्य कोठै हुन्थ्यो, उनको डेरा !


उनको डेरा पुगेका जोकोहीले देख्न सक्ने उनको क्रियाकलाप भनेको लेखन नै थियो । उनी चकटीमा बसिरहेका हुन्थे । सामुन्ने एउटा होचो टेबुल हुन्थ्यो । बस्, सधैँ यति नै ! देख्दा लाग्छ, उनी तपस्वी हुन् र कविता नै उनको साधना हो !कम बोल्ने, कसैसित धेरै नजिक नहुने र कसैसित नटाढिने, बिरलै मानिसमा मात्र भेटिने समतापूर्ण र सौम्य व्यवहार थियो उनको । उनको अनुहारमा दुःख वा सुखको भाव पनि खासै झल्केको देखिँदैन । नाफा–घाटा वा प्रशंसा–आलोचनाजस्ता लोकधर्मले खासै प्रभाव नपर्ने उनको विशिष्ट भावनात्मक व्यक्तित्व थियो । निस्पृह सन्तजस्तो देखिने उनी सामाजिक उत्तरदायित्वबाट भने कहिल्यै बिच्किएनन् । उनको लेखनीले नै भाषिक, जातीय, राष्ट्रिय र विश्वजनीन मानवता सबै क्षेत्रमा उनको जिम्मेवारीबोध छर्लङ्ग्याउँछ । उनका निबन्धमा भियतनामको युद्धको बमवर्षामा छोरी गुमाएका आमादेखि जाडोमा कामेर बसेका सडक बालबालिकासम्म अटाएका छन् ।

 

भाषाप्रेमी कवि
उनी लेखनमा मात्र होइन, साहित्यिक र भाषिक संस्थाहरूमा सक्रिय थिए । विराट् नेपालभाषा साहित्य सम्मेलन गुथीका अध्यक्ष, च्वसापासा संस्थाको सदस्य, अनि ‘सितु’ साहित्यिक द्वैमासिकका सम्पादक भई भाषिक क्षेत्रमा सक्रिय रहेका थिए उनी ।उनकै विद्यार्थीहरूका अनुसार उनले आफ्ना विद्यार्थीहरूमा भाषिक र जातीय अधिकारको चेतना सञ्चार गर्ने पनि गरेका थिए । अमेरिकी सहयोगमा लागू भएको नयाँ शिक्षा पद्धतिको योजनाले मातृभाषिक विषयको रूपमा पढाइ भइरहेको नेपालभाषालगायत अन्य भाषालाई हटाएको थियो । मातृभाषालाई जानाजानी हतोत्साहित पार्ने सरकारी योजनाबाट उनी मर्माहत भएका थिए । 
त्यसवेलाका उनका कतिपय विद्यार्थीहरू लेखक भएर निस्के । साँच्चै भनौँ भने नेपालभाषाका अहिलेका वर्तमान कवि, लेखकहरू कवि पूर्ण वैद्यको लेखनीबाट प्रभावित र प्रेरित नभएका कोही छैनन् ।


पूर्ण वैद्यका प्रशंसक नेपालभाषाभित्र मात्रै सीमित छैनन् । कतिले उनका कविता नेपाली, अंगे्रजी र हिन्दी भषामा अनुवाद गरी विभिन्न पत्रिकामा प्रकाशित गराएका छन् । पुस्तककै रूपमा मञ्जुलले ‘लः लः खः’ को नेपाली अनुवाद ‘पानी मात्र पानी’, अनि अमेरिकी कवि वेन एम्सिस र कृतिश राजभण्डारी मिलेर अंग्रेजी अनुवाद ‘ड्रप्स अफ वाटर’ प्रस्तुत गरेका छन् । लाइब्रेरी अफ कंग्रेसले कवि पूर्ण वैद्यका १७ कविताको वाचन आफ्नो सङ्ग्रहमा सुरक्षित राखेको छ ।