• वि.सं २०७८ असोज १० आइतबार
  • Sunday, 26 September, 2021
नवीन विभास
२०७८ भदौ १९ शनिबार ११:००:००
समाज

च्याङ्फाले गोरु खेद्यो, ‘विकास’ले किसान

२०७८ भदौ १९ शनिबार ११:००:००
नवीन विभास

गोरु गायब गरेर ठिंग उभिएको छ, च्याङ्फा । मान्छेकै ठाउँमा च्याङ्फा ठिंग उभिए के होला ?

 

खडेरी परेपछि देउखुरी उत्तरमजगाउँका बठिन्या (अविवाहित थारू महिला)सहित सजना गाउन माहिर महिला पुरुष–पहिरन पहिरिन्छन् । सजना गोडाले छिमेकी गाउँ (वनगाउँ वा घुम्ना वा भैसकुर्मा वा सिर्गाउँ वा टिक्लिगर) पुग्छन् । तिनले हलो चोर्छन् । त्यसपछि गोरु । गोरु लिन नपाए लोग्नेमानिस साथ लिई फर्किन्छन् ।त्यसपछि ? रातमा ककन्डार(थारू गाउँको मूली, जसलाई भलमन्सा, मटवाँ र बड्घर पनि भन्छन्)को आँगनमा ‘उल्टो हलो’ जोत्छन् । जोत्ने महिला नांगै हुन्छन् ।
छिमेकी गाउँले आफ्ना गोरु लिन उत्तरमजगाउँ पुग्छन् । घमासान सुरु हुन्छ, सजना । सजना गायनमा जितेर गोरु फिर्ता लाने हो । त्यसैले कहिलेकाहीँ चार–पाँच दिनसम्म पनि सजना लम्बिन्छ ।


थारू समुदायको ऋतुगीत हो, सजना । ऋतुगीतबाहेक थारू समुदाय त बाह्रमासे गीत, संस्कार गीत, चाडपर्व गीत र श्रमगीत पनि गाउँछन् । 
हो, पानी पार्न गाइने उही सजना सम्झिँदै एक थारू युवाको गोजीफोनले गाउँछ–


बल्ल(गोरु)आइग्या खेतकै आली, ज्वाली बान्दैनौ क्या,
म मान्या जतिको माया, साइले मान्दैनौ क्या ।                 
गुवालालाई भारी भैग्या गाई/बल्लका दाउला,
होइजाऔ बाज माल परेवा, जता जाउला जाउला ।  

गोजीफोनको गला गाँस्दै ती युवा उही गीत गोडाले
उभिन्छन् । त्यसपछि रित्तो गोठको बर्डा
(थारू भाषामा गोरु) सम्झना समुद्रमा डुब्छन् । 


‘यहीँनेर त हो, बँर्‍वा बाँधेको,’ बँर्‍वा नामक बर्डा बाँधेको दाम्लो अड्काउन ठोकेको किलाको डोबमा दायाँ गोडाको बूढीऔँलाले कोट्याउँछन् । त्यसपछि उनका आँखा पूर्वपश्चिम राजमार्ग दक्षिणछेउको देउखुरी उत्तरमजगाउँबाट करिब १७ किलोमिटर दक्षिण गोबरडिहातिर लाग्छ । जुन जंगलमा बँर्‍वा छ । जसलाई धपाउन उनले पाँच वर्ष पुरानो एक साँझ केही युवाका हातमा ५०० रुपैयाँ थमाएका हुन् । गोरु चराउँदै संघारी(थारू भाषामा साथी)हरूसँग वनपाखामा गाएका सजना गीत, नाचेको र छुर खेलेका स्मृति डोरीमा तुर्लुंग झुन्डिन्छन् । अनि ? गोरुका पिठ्युँबाट पिठ्यँुमा बसाइ सर्दै चारा चर्ने चराका चिरबिरमा बिलाउँछन् । ‘परिस्थितिले बँ¥वा धपाउन बाध्य बनायो,’ गोरु यादमा यादिँदै थकथकाउँछन् । देउखुरीका रैथाने थारू किसान छविलाल आफ्नो नाममा कोपिला गाँसी कन्चनपुर, कैलाली, बाँके, बर्दिया र दाङका थारू बस्तीसहित पश्चिम नेपालका गाउँसहरमा कविता वाचन गर्दै हिँड्छन् ।

 

गोरुगाथा

 

उत्तरमजगाउँमा करिब चार सय घरधुरी छन् । जो कृषि–मजदुरी गर्छन् । दुई पर्वते(पहाडबाट झरेका) हुन् भने बाँकी घरधुरी थारू । प्रायः थारू परिवारमा दर्जन हाराहारी सदस्य संख्या हुन्छ । ठूला परिवारले त पाँच–सात हल गोरु नै पाल्छन् । चार सय घरधुरीमा प्रत्येक घरको कम्तीमा एक हल गोरुको हिसाबले पनि संख्या कति हुँदो हो ? 


०००

नेपाली लोकजीवनका उकाली–ओरालीमा गोरु ‘होक्का’ गर्छ– कहिले गीत भएर त कहिले उखान–टुक्का र किस्सा भएर । जुन गीतका उदाहरण हुन्, माथि उद्धृत गीति टुक्का । जो रुकुमेली मनलाल ओली, शशिराम ओलीले गुनगुनाएका हुन् ।खस–नेपाली(मानक)मा गोरु भन्छन् भने पश्चिम नेपालमा भल्ड÷बल्ल । पश्चिम पहाडतिर बारीको मापनसमेत गोरुको जोताइलाई आधार बनाइन्छ । एक हल गोरुले दिनमा कति जोत्छ ? जोताइको अन्दाजमा खेतबारीको मूल्य निर्धारण हुन्छ । ‘यति हलको बारीलाई यति मोल’ भन्छन् । हल पनि कुन यामको हो– कात्तिकको कि जेठको भनेर सोध्छन्, ‘कात्तिके कि जेठाङ्से ?’ कात्तिके दिन छोटो हुन्छ भने जेठको दिन लामो । लामा दिनमा गोरुले धेरै जोत्ने हुँदा ‘जेठाङ्से हो भने बारी धेरै’ रहेछ भन्ने बुझ्नुपर्छ भने कात्तिके भनेपछि ‘थोरै’ ।

हेर्दा त केही छैन, गोरुको समस्या हो । तर, एउटा गोरुको समस्याले पु¥याउँछ कहाँ कहाँ ? रासायनिक मलवाला खान्कीले यति धेरै रोग निक्लिन्छ कि सद्दे मान्छे कोही छैन जस्तो लाग्छ ।


यसैगरी, गोरुको नाउँमा कैयौँ उखान, टुक्का र किस्सा कोरलिएका छन् । जसले मानिस र गोरु सम्बन्ध कति विस्तारित छ भन्ने कुरा सविस्तार सुनाउँछ । प्रायः प्रयोग हुने कहावत छ, ‘जुन गोरुको सिङ छैन, उसकै नाउँ तिखे ।’ गोरुको सिङबाटै कपिलवस्तुको एउटा बजारको नाउँ छ– गोरुसिङ्ङे । जिद्दी बुझाउन ‘मेरो गोरुको बाह्रै टक्का’ भन्छन् । 


थारू समुदायमा चल्तीको आहान छ, ‘चलाए गुन बर्डा सिपार, अह्राए गुन मनै सिपार (चलाउन जाने गोरु सिपालु हुन्छ भने अह्राउन जाने मान्छे सिपालु हुन्छ) । खडेरी पर्दा पानी पार्न गाइने सजना गीत र छिमेकी गाउँबाट गोरु चोर्ने सन्दर्भ माथि उल्लेख भइसकेको छ । भलै अहिले जति खडेरी परे पनि सजना र सजना गाउनेकै खडेरी छ । कोपिला भन्छन्, ‘सजना गीत पनि बूढापाकासँगै बाटो लाग्यो ।’ 


‘गोरु बेचेको साइनो’, ‘भिर खोज्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न’, ‘गोरु बूढो भए भिर खोज्छ, मान्छे बूढो भए निहुँ खोज्छ’ जस्ता थुुप्रै गोरु–कहावत छन् । ‘तीन गोरुको हल बलियो, दुई स्वास्नीको घर बलियो’ पनि भन्छन् । असम्भव काम फत्ते भएको खण्डमा ‘गोरु ब्याएछ’ भन्छन् । ‘एक काँधे गोरुजस्तै काममा जोतिनुपर्छ’ भन्ने भनाइ त छँदै छ । 


पश्चिम नेपालको रैथाने नाच ‘पैसरी’मा लामो स्वरमा (डाँडा पारिसम्म नै सुनिने गरी तर लयमै) कल हाल्छन्, ‘खोरे भल्ड लोटी मरो, पुच्छर जिउँदै छ हँककक ।’ खोरे(गोडा नभएको)को बदलामा गले(नजोत्ने गोरु) भल्ड लोटी मर्‍यो पनि भन्छन् । कल हाल्नु पैसरी नाच्दा बीचबीचमा नचारुले एकै स्वरमा कराउनु हो ।


०००

 

चराले गोरुको शरीरबाट किर्ना, पराङ्का, किरा, झिंगाजस्ता चारा चेपेर भुर्र उड्छ । चरा गोडाको अंकुपञ्चरले चस्चस्सले घोच्दा फाफाफुफु भाषामा गोरु भन्छ, ‘होक्का !’ चराले आफ्नै भाषामा भन्छ, ‘चिर्बिरचिर्बिर ।’ चरा चिर्बिर र गोरु होक्का संवादमा गोरु गलामा तुर्लुंंग झुन्डिएका कोलोले संगीत भर्छ । थारू समुदायमा गोरु चराउन जाने निश्चित उमेर समूह हुन्छ– कि सम्पूर्ण अनुभव र अनुभूतिले पूर्ण सिनियर नागरिक कि जीवनका सुरुवाती पलका बालबालिका । दुवै उमेर समूहका ग्वालाले गाउँछन् । गोरु चराउँदै पुरुषले हेल्का बुन्छन् भने महिलाले ढकिया, छिटुवा, गैजा, छटरी । कोपिला आफ्ना संघारीसाथ गोरु चराउँदै छुर खेलेको, बाघचालजस्तै डिउरा, घोर बसाओर, डुल्टी नामक डन्डिबियो खेलेको सम्झन्छन् । 


माघे संक्रान्तिमा नुवाकोट तारुकामा गोरु जुधाउँछन् । गोरु जुँधाएर रमिता हेर्छन् । युरोपतिर गोरु पिठ्युँ चढेर कुदाउँछन् । गोरुको श्रम र सीप मात्र होइन, गोरुको मलमूत्र पनि उपयोगी छ । गोरु गोबरको प्रांगारिक मलले बालीनाली हल्कन्छ । किरा लाग्दा अर्गानिक विषादीको रूपमा गोरुकै पिसाब प्रयोग हुन्छ । उत्पादन हुन्छ, अर्गानिक खान्की । यस्तो खान्कीले जनस्वास्थ्य स्वस्थ रहन्छ ।गोबरबाट नै गुइँठा र गोबरग्यास उत्पादन हुन्छ । हिन्दू धर्मावलम्बी त बाच्छीको गहुँत पवित्र मान्छन् र चोख्याउन प्रयोग गर्छन् । गाईको दूध र गोरुको मासुको स्थानबारे बयान गरिसाध्य छैन । गोरु/गाईविनाको नेपाली लोकजीवनका उकालीओराली असम्भव हुनाले उखान बनेको होला, ‘गाई न बाच्छा, कुटी माछा ।’


०००

 

नेपाली समाजलाई राज्यले जबर्जस्त हिन्दू गोडा हालिदिनुअघि र पछिको किरात समाजको समाचार सुनाउँछन्, लेखक गणेश रसिक– राईको बिहेमा गोरुको टाउको राख्ने चलन थियो । सरकारले गोरु निषेध गरेपछि राँगाको टाउको राख्न थाले । 


सायद लामो कालखण्डपछि अर्थात् ‘जनयुद्ध’ताका
नेकपा(माओवादी)ले मासुको लागि गोरु प्रयोग गर्छ ।


माओवादी मूलथलो रोल्पा/रुकुमतिर त ‘हाइ स्याक्री’को नाममा परिचित हुन्छ । खाम भाषामा हाइ भनेको गाई र स्याक्री भनेको मासु हो । आफ्ना सेनाका फर्मेसनलाई मासुजन्य खान्की ‘सस्तो र सहजै’ उपलब्धताका लागि पनि माओवादी रोजाइमा गोरु परेको हुन सक्छ । विश्वयुद्धताका जापानी हमलाबाट बच्न बर्मेली जनता गोरुगाडामा भागेको प्रसंग कथाकार इन्द्रबहादुर राईले ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’मा उल्लेख गरेका छन् । बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत तराईमा बयलगाडा खुबै चल्तीमा छ ।

गोरु नहुँदा माटो रोगी हुन्छ । माटो नै रोगी भएपछि कसरी बालीनाली स्वस्थ हुनु ? गोरु नहुँदा अर्गानिक बालीनाली अभाव हुन्छ । यसको अर्थ अर्गानिक फुड अभाव हुन्छ । अभावले जनस्वास्थ्य बिग्रिन्छ । 


‘जनयुद्ध’ताका माओवादी मक्का थबाङमा गोरु बारीमा छाडेर सारा गाउँले भागेका हुन् । ०५९ को कुरा हो । माओवादीले शाही नेपाली सेना थबाङ पस्ने सुइँको पाउँछ । माओवादी भन्छ, ‘अल आउट ।’ अल आउट गर्दा माओवादीले जनताको विभिन्न टोली बनाउँछ । गर्भवती र बूढाबूढीका २२४ जनाको जिम्मा पाएकी सम्झना घर्तीमगर (कमरेड असिना) अल आउट सम्झन्छिन्, ‘बाँचेपछि स्याहारौँला भनी गोरु, गाई, सुँगुर, बारीमा छोडुवा छाडेर हिँड्यौँ ।’

 

च्याङ्फा इन, गोरु आउट
गोरुको अर्थ सरल, मिहिनेती, सोझो, इमानदार हो । लप्पनछप्पन नगर्ने इमानदार र मिहिनेतीलाई ‘यो गोरु नै हो’ भन्छन् । नेपाली समाजमा यही इमानदार र मिहिनेती गोरुको भने भाउ छैन । गोरु श्रम र सीपप्रति उदासीन छ । उदासीन मात्र होइन, गोरुको सम्पूर्ण श्रम र बैंस खाएपछि त खेद्छ । अनुसन्धाता हेमन्त विवश सुदूरपश्चिमको बूढो गोरु हाल सुनाउँछन्– बूढो गोरुको पिठ्युँमा दुई–चार माना चामल, दाल, नुन, बोकाएर सार्कीको हात पार्थे । लमजुङको पनि त्यस्तै गर्ने चलन सम्झन्छन्, लेखक रविकिरण निर्जीव । निर्जीवसँगै अर्का लेखक मोदनाथ मरहट्टा चितवनतिरको गोरु समाचार सुनाउँछन्– बाच्छो धनीले चार–पाँच सय रुपैयाँ हात पारेर जंगलतिर पठाउँछन् । ०७६ भदौ १४ गतेको कान्तिपुर समाचारले त सरकार नै गोरु जंगल धपाउँछ (नेपालगन्ज उपमहानगरपालिका ट्रकमा गाई र गोरु जंगलमा छाडेको) भन्छ । 


एक दिन यस्तो समय आउँछ । जुन दिन गोरुको बदलामा च्याङ्फा ‘होक्का’ गर्छ । च्याङ्फा नामक टेक्टरले होक्का गर्दै गोरु खेद्छ ।‘४०० घरधुरीमा अहिले त मुस्किलले १० हल गोरु बचेका होलान्,’ कोपिला मजगाउँ गोरु किस्सा कहन्छन् । करिब एक सय असी किलोमिटर उत्तर पहाड रोल्पाको सुदूर उत्तरको जैपामा पनि च्याङ्फा पुगेपछि ‘एउटा परिवारले कम्तीमा एक हल गोरु पाल्ने चलन’ चट् छ । ‘हमेल(एकेकवटा गोरु मिलाएर हल बनाउनु) गर्ने मात्र बचेका छन्,’ जैपाका प्रकाश पुन भन्छन् । किन यस्तो भएको होला ?


०००
कोपिलाको सानो परिवार । गोरु हेर्ने जिम्मा हुन्छ, आमाको । उनै बूढीआमाले घाँसपात र दानापानी खुवाउँदै गोरु पाल्न थाल्छिन् । एकदिन एउटा गोरु मर्छ । बचेको एउटा गोरु जोत्न नमिल्ने । हल बनाउनलाई अर्को गोरु किन्न पनि ‘अनिवार्य’ हुन्न । कारण, गोरुको बदला च्याङ्फा ठिंग उभिन्छ । त्यो गोरुलाई १५ सयमा बेच्छन् । गोरु फिर्ता आउँछ । पाँच सयमा बेच्छन् । फेरि फर्काउँछन् । 


एक साँझ केही युवा गाउँ पस्छन् । ती युवाका हातमा पाँच सय थमाउँछन् । बँ¥वा नामक बर्डालाई लान्छन्, करिब १७ किलोमिटर दक्षिण गोबरडिहाको जंगलमा ।
कोपिला कहानीले भन्छ– थारू समाजमा पनि परिवार सदस्य संख्यामा बदलाव आउँछ । संयुक्त परिवार भत्कन्छ । किसान–मजदुर नै भए पनि काम गराइले अनुहार फेर्छ । बाआमा काममा । छोराछोरी स्कुल जान थालेपछि घर हुल्ला(बन्द) हुन्छ । बस्, परिवारको संख्यामा फेरबदल, सोचाइ र कामको प्रकृति फेरिन्छ ।
गोरु चराउने वन सामुदायिक वन बन्छ भने कति चरनका अन्य जमिन जग्गा दलालको । सामुदायिक वनले चराउन रोक लगाउँछ भने जग्गा व्यापारीले प्लटिङ । चरनभूमिको अभाव र चरन पनि सामुदायिक वनमा रूपान्तरण भएकाले पशुपालनमा समस्यामा पर्छ (थारू लोकवार्ता तथा लोकजीवन, पेज १११) ।


च्याङ्फाले कामकाज छरितो बनाउँछ । गोरुजसरी न रिसाउँदा गुनासो गर्छ, न खुसी हुँदा धन्यवाद दिन्छ । गोरुजसरी न च्याङ्फा रुन्छ, न प्रेम गर्छ । गोरुको जस्तो न आँखा हुन्छ, जहाँबाट सुख र दुःखमा आँसुसमेत झर्छ । न त कान छ । गोरुको जस्तो न मुटु छ, जसले माया र घृणा अनुभूत गर्छ । एक हल गोरुले बिहानभर एक कट्ठा मात्र जोत्छ भने च्याङ्फाले एक बिघा ।

गोरुविनाका गोठ
घरबाट बाहिरिँदा होस् या पस्दा कोपिला आँखा गोठमा पस्छ । त्यसपछि स्वागत वा बिदा गर्ने बँर्‍वाको फाफाफुफु आवाज–याद बल्झन्छ । गोरुविनाका गोठ गोठजस्ता छैनन् । गोरु होक्का नसुनिँदा गोठ, घरआँगन, खेतबारी र वनपाखा सुनसान छन् । बाँसुरी धुनमा झुल्ने बताससमेत उदास छ । कारण, बाँसुरी धुनसँगै बतास पनि सुइँसुइँ सुइँकिएको हो । गोरुसँग बिताएका पल मिस गर्दै चरा भुर्रभुर्र उड्दै कहिले यता त कहिले उता गर्छन् । गोरु चराउँदै खेलेका, गाएका सम्झनामा ग्वाला डुब्छन् । चराले कहाँ खोज्छन् होला हँ, आफ्ना बचेराका लागि चारा ? कोपिला सम्झन्छन्, ‘सय हाराहारीका हामी गोठालाले गाउँदै गोरु चराउँथ्यौँ ।’ एक दिन एउटाको त अर्को दिन अर्कोका खेत र बारी जोत्ने जस्ता सामूहिकतासमेत गोरुसँगै सती गएको छ । 


०००

बँर्‍वा हुँदा अर्गानिक तरकारी फलेको कोपिला बारी अहिले कव्रmक्क सुकेको छ । बारीमा टेक्यो कि गोडा बिझाउँछ । गोरु र माटोबीचको सुमधुर सम्बन्धबाट अर्गानिक बाली हल्केको हो । गोरुको पिसाबबाट विषादी बन्छ, अर्गानिक विषादी । गोबरबाट मल । अर्गानिक मल । गोबरबाट गुइँठा र गोबर–ग्यास । गोरु नहुँदा माटो रोगी हुन्छ । माटो नै रोगी भएपछि कसरी बालीनाली स्वस्थ हुनु ? गोरु नहुँदा अर्गानिक बालीनाली अभाव हुन्छ । यसको अर्थ अर्गानिक फुड अभाव हुन्छ । अभावले जनस्वास्थ्य बिग्रिन्छ । 


कुलो र खोलामा बँर्‍वासँगै गायब छन्, घोंगी, गंगटा र माछा । घाेंगी नभएपछि उनका संघारीहरूलाई सोत्तर पार्न सिकलसेल थारू बस्तीमा देखापर्छ । यो रोग थारू समुदायलाई मात्र लाग्छ । ‘हेर्दा त केही छैन, गोरुको समस्या हो । तर, एउटा गोरुको समस्याले पुर्‍याउँछ कहाँ कहाँ ? रासायनिक मलवाला खान्कीले यति धेरै रोग निक्लिन्छ कि सद्दे मान्छे कोही छैन जस्तो लाग्छ,’ लेखक गणेश रसिक भन्छन् । मानिसलाई आज जसरी पनि उत्पादन बढाउनु छ । कमाउनु छ । छिटो खानु छ । गोरुजस्ता वस्तुभाउ नभएपछि अर्गानिक खेती हुन्न । विदेशी मल आयात गर्छ । जसले उत्पादन त बढाउँछ, तर दुई–चार वर्षमै माटो बिग्रिन्छ । 


झट्ट हेर्दा च्याङ्फाले गोरु मात्र गायब गरेको छ । तर, गोरुसँगै माटो, जमिन र पानीका जीवजन्तु अनि मानिसको स्वास्थ्य पनि गायब बनाउँदै छ । संसारको कुनै जीव (गोरु नै किन नहोस्)ले प्रकृतिको समीकरण सम्हालेको हुन्छ । पर्यावरण सन्तुलित भएको हुन्छ । ‘गोरु’हरूको बदला मानिसले च्याङ्फासित घाँटी जोडेपछि न भेट भएको छ– खडेरी, बाढीपहिरो, सुनामी अनि कोरोना महामारीसँग । 


०००

कोपिला झन् हलाक् हुन्छन्, जब उनलाई ठम्याउन गाह्रो हुन्छ– च्याङ्फा हो कि पुँजीवाद ? यसो हेर्छन्– च्याङ्फा सिर्फ मेसिन न हो । तर, फेरि हेर्छन्, च्याङ्फा नै त हो, पुँजीवाद । नेपालको राजनीतिक बजारमा चल्तीको एउटा पदावली छ नि, दलाल पुँजीवाद । च्याङ्फाले गोरुसँगै अन्य रैथाने चिजलाई पनि गायब गर्ने क्रम जारी छ । शक्तिराष्ट्रका आधुनिकीकरणलाई गरिब नेपालले अन्धानुकरण गर्दाका के कुरा ! गोरु गायब गरेर ठिंग उभिएको छ, च्याङ्फा । मान्छेकै ठाउँमा च्याङ्फा ठिंग उभिए के होला ? भन्नुहोला, रोबोट त हाजिर छ त ! कुकुर र घोडापछि मानिससित जोडिएको गोरुलाई च्याङ्फाले ‘गोरु बेचेको साइनो’ लाइदिए कस्तो होला यो दुनियाँ ? होला कस्तो यो प्रकृति, यो पर्यावरण, यो जैविक विविधता ? कोपिला झन् हलाक् हुन्छन् झस्केर कि– कुनै साँझ ५०० थमाएर बँर्‍वा धपाएजसरी मानिसलाई धपाउन च्याङ्फा उभिए कसो गर्ने होला ?