• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
गोविन्द मरासिनी
२०७८ भदौ २६ शनिबार ०६:५३:००
समाज

खाडीमा नेपाली हाकिमहरू

‘खाडी भन्नेबित्तिकै उँट चराउन जाने होला भन्ने सोचमा परिवर्तन ल्याउनुपर्छ ।’

२०७८ भदौ २६ शनिबार ०६:५३:००
गोविन्द मरासिनी

सर्लाहीको हरिवन नगरपालिका घर भएका २९ वर्षीय प्रमोद राय क्षेत्री रोजगारीको सिलसिलामा कतार पुगेको सात वर्षभन्दा बढी भयो । काठमाडौंमा रहँदा उनी शिक्षण पेसा गर्थे । मास्टरी जागिरले उनको काठमाडौं बसाइ सुखद भएन । महँगी र पारिवारिक खर्चका कारण उनी आर्थिक भारले थिचिए । रातदिन खटिँदा पनि खर्च धान्नै नसकेपछि उनी खाडी मुलुक जान बाध्य भए । त्यसवेला अमेरिका, अस्ट्रेलिया र युरोपका विभिन्न देशहरूमा जाने ‘ट्रेन्ड’ नै चलेको थियो ।


उनले पनि सकेसम्म राम्रो देश गएर अध्ययन सँगसँगै राम्रो जागिरमा आबद्व भएर आर्थिक हिसाबले मजबुत हुने सोचका साथ विदेश जाने मनसाय बनाए । राम्रो अंग्रेजी दक्षता भएका कारण पनि उनले अस्ट्रेलिया जानका लागि प्रक्रिया चाले र मिहिनेतका साथ आइएलटिएस परीक्षामा ६.५ अंक ल्याउन सफल भए । तर, दुर्भाग्य ! अस्ट्रेलियाका लागि दिएको भिसा आवेदन रद्द भयो । उनीसहित करिब दुई हजार नेपालीको भिजा रद्द भयो । कारण थियो, ‘फेक बैंक लोन प्रोसेसिङ ।’


अस्ट्रेलियाको भिसा ‘रिजेक्ट’ भएपछि उनी थोरै त निराश भए, तर हिम्मत हारेनन् । हुन त नेपालमा खाडी मुलुक भन्नेबित्तिकै दृष्टिकोण बदलिहाल्छ । तर, उनलाई थाहा थियो इमान्दारताका साथ मिहिनेत गर्दा खाडी मुलुकमा युरोप, अमेरिका र अस्ट्रेलियामा झैँ कमाउन सकिन्छ । त्यसैले, आर्थिक समस्या समाधान गर्न उनले खाडी मुलुक नै भए पनि जाने निधो गरे ।


कतारको पेट्रोल पम्पका लागि ‘क्यासियर’ पदका लागि कामदार माग भएको भनी जानकारी पाएपछि अन्तर्वार्ता दिए । शिक्षक पेसामा आबद्ध रहेकाले क्यासियर पदका लागि अनुभव नपुग्ने भएकाले उनी ‘ट्रेनी क्यासियर’ पदमा छनोट भए । अस्ट्रेलिया जान चाहेका उनले कतार जान्छु भनेर कतै नभनेको सम्झँदै उनी भन्छन्, ‘कतार उड्ने पक्का भएपछि मात्र ममी, बुबा र साथी भाईहरूलाई भनेको थिएँ, केहि साथीभाइ र आफन्तजनले कतार जानलाई पनि ‘आइएलटिएस’ भनेर हाँसोमा उडाए ।’ 

आजभोलि धेरै नेपाली युवा खाडीका विभिन्न कम्पनी माम्यानेजर तहसम्म पुगिसकेका छन् । लामो संघर्ष र मिहिनेतकै कारण आज नेपाली युवाहरूले खाडीमै म्यानेजर लेभलसम्म पुगेर महिनामै करिब नेपाली दुईदेखि तीन लाखसम्म कमाउँछन् । 


सेप्टेम्बर महिनामा कतार पुगेका क्षेत्रीलाई प्रचण्ड गर्मीले सुरुवाती दिनमै सतायो । घरपरिवार र काखे छोरीको यादले भावुक बनायो । त्यसैमाथि ‘ट्रेनी क्यासियर’को सपना बोकेर कतार पुगेका उनलाई ‘पेट्रोल फिलर’को काम गर्न लगाइयो । ४५ डिग्री बढीको तापक्रम, सामुद्रिक तातो हावा चल्ने मरुभूमिको देशमा निरन्तर आठ घन्टासम्म उभिएर काममा खट्नुपर्दा उनी निकै हतोत्साहित बने पनि बाध्यतावश उनी त्यसमै पनि रमाउन थाले । सुरुवाती दिनमा थोरै कमाइ, तर कामको पेलान धेरै । नेपालमा रहँदा शिक्षण पेसामा आबद्ध हुँदाको कमाइ र कतारमा घन्टौँ खट्दाको कमाइमा खासै भिन्नता थिएन । कतारको हावापानीमा ‘एडजस्ट’ नहुँदा सुरुवाती दिनहरू निकै कहालीलाग्दो भएको र यो कुरा परिवारसँग सधैँ लुकाउने गरेको क्षेत्रीको अनुभव छ । कामको तनावका साथै अरबका मानिसहरूको रुखो व्यवहारले पनि उनलाई सतायो । उनी अहिले पनि सम्झन्छन्, ‘सुरुवाती दिनमा ठूला ग्यासको सिलिन्डर बोक्नेदेखि गहु्रँगो ब्यारेल लोडसमेत गरियो ।’ 


यसरी काम गर्ने क्रममा उनको दक्षता, क्षमता, काम गर्ने शैली र अंग्रेजी बोल्ने शैलीबाट उनले काम गर्ने ओकुद पेट्रोल पम्पमा आउने कतारीहरूले उनको प्रशंसा गर्दै भन्थे, ‘नेपालीहरू पनि यति धेरै बुझ्ने, पढेलेखेका र मिहिनेती हुँदा रहेछन् !’ केहिले त उनलाई आफ्नो कम्पनीमा काम गर्न अफर पनि गरे । तर, अनिवार्य दुई वर्षको ‘कन्ट्र्याक्ट’ सक्नैपर्ने नियमका कारण केही समय त्यही बस्न बाध्य भए । 


उनको कामबाट प्रभावित बनेका कम्पनीका म्यानेजरले सोही कम्पनीमा आन्तरिक विज्ञापन खुलेको भन्दै आवेदन दिन सुल्झाए र म्यानेजरले सिफारिस गरेपछि उनी मार्केटिङ डिपार्टमेन्टमा छनोट भएपछि दुःखका दिनबाट बिस्तारै सुखका दिन सुरुवात भए । करिब डेढ वर्ष लामो मार्केटिङमा काम गर्दा उनले कम्प्युटरका अनेकौँ सिस्टम र प्रविधिलाई नजिकबाट निहाल्ने मौका मात्र पाएनन्, बुझ्ने र सिक्ने मौका त पाए । तर, दुर्भाग्य, कम्पनीको व्यवस्थापन परिवर्तन हुँदा कतारको नियमअनुसार उनीलगायत धेरै नेपालीले रोजगारी गुमाए । 


अब उनीसँग राजीनामा दिएर नेपाल फर्कनुको विकल्प थिएन, तर पनि हिम्मत नहारी उनलाई ‘अफर’ गर्ने कतारीको सहयोगमा ‘अफिसर लेभल’मा छनोट भएर सोही कम्पनीमा दुई वर्ष काम गरे । अहिले उनी सोही कम्पनी एवान अटो मोटिभको ‘अन्तर्राष्ट्रिय प्रोक्युर्मेन्ट म्यानेजर’मा कार्यरत छन् । लेबरबाट काम सुरु गरेर म्यानेजरसम्म पुग्न पाउँदा र खाडी मुलुकमै राम्रो आम्दानी गर्न पाउँदा उनी अहिले आफूलाई भाग्यमानी ठान्दछन् । 


हाल उनको काम अस्ट्रेलिया, अमेरिका, चीन र विभिन्न युरोपेली मुलुकहरूका कम्पनीहरूमा आवश्यक पर्ने सामान ‘इम्पोर्ट र एक्स्पोर्ट’को भूमिका निर्वाह गर्ने र अन्य देशका प्रोक्युर्मेन्ट म्यानेजरसँग सहकार्य गर्ने हो । उनी आफ्नो कामबाट पूर्ण सन्तुष्ट छन् । आफू ‘गल्फ’मा बसेर काम गर्दा पनि युरोपको तुलना गर्न योग्य सम्झन्छन् । क्षेत्रीजस्तै १२ वर्षदेखि साउदी अरेबियामा रहेका धादिङ घर भई चितवनमा बसोवास गर्ने ३५ वर्षीय राजकुमार श्रेष्ठको खाडीको अनुभव मिल्दोजुल्दो छ । परिवारको आर्थिक अवस्थाका कारण रोजगारका लागि उनले युरोप, अमेरिका जानेप्रति सोच्नै पाएनन् । जसका कारण उनको रोजाइमा खाडी मुलुक प¥यो । नेपालमा छँदा पनि उनले दुःख नगरेका भने होइनन्, उनले कस्मेटिक पसल चलाउँथे, पसलबाट गुजारा टार्न गाह्रो भएपछि उनी साउदी पुगे । त्यसअघि रोजगारीकै सिलसिलामा सन् २००१ मा दुबई जाँदै गर्दा उनले काम सिकेर नेपालमै केही गर्ने सोचका साथ प्रवास गएका थिए । तर, नेपालमा आएर पनि कुनै प्रगति नदेखेपछि उनी पुनः प्रवास नै जाने सोचमा पुगे र सन् २००९ मा साउदी अरेबिया पुगे । 


श्रेष्ठले अल्कासिम होटेल (अहिलेको मोबम्पिक होटेल)मा ‘क्लिनर’मा काम गर्न थाले । क्लिनरबाट काम सुरु गर्दा उनले पाएको दुःख र पीडा अहिले पनि उनलाई सपनाजस्तै लाग्छ । खाडी मुलुकमध्ये पनि एकदमै कडा नियम भएको देश मानिने साउदीमा उनलाई सुरुवाती दिनमा त टिक्न निकै मुस्किल प¥यो । धेरै दुःख निकै कम तलब त्यसैले आफ्नो खर्च पनि पु¥याउनुपर्ने र घरपरिवारलाई समेत पठाउनुपर्ने बाध्यता । तर, पनि हिम्मत नहारी अगाडि बढेका श्रेष्ठ क्रमशः सोही होटेलको सुपरभाइजर, हाउस किपिङ सिनियर सुपरभाइजर पुगे । उनी सम्झन्छन्, ‘सुरुवाती दिनमा तल्लो तहमा काम गर्ने आफूलाई देख्दा कहिले सुपरभाइजरसम्म पनि हुन पाइयलाजस्तो लाग्थ्यो ।’ तर ‘क्लिनर’बाट सोही होटेलमा काम सुरु गरेका उनै श्रेष्ठ सोही होटेलको सुपरभाइजर, हाउसकिपिङ सिनियर सुपरभाइजर हुँदै ‘एक्जुकेटिभ हाउसकिपर’जस्तो माथिल्लो तहको पदमा पुगेका छन् । हाल उनी कार्यरत होटेलअन्तर्गत विश्वभरका चार हजार पाँच सयभन्दा बढी होटेल आबद्व रहेका छन् । 


श्रेष्ठ सम्झन्छन्– ‘खाडी भन्नेबित्तिकै नेपालीहरूले सोच्ने सोचमा परिवर्तन गर्नुपर्छ, किनकि खाडीमा पनि हामीले भन्दा धेरै प्रगति गर्नेहरू छन् ।’ खाडी भन्नेबित्तिकै हेर्ने नजरकै कारण उनले नेपालमा आएर विवाह गर्नकै लागि समेत समस्या परेको उनको गुनासो छ । आफन्तजनले अलि राम्रो देशमा गएको भए पो बिहे गर्न सजिलो हुन्थो भनेको सुन्दा दुःख लागेको उनले सुनाए । 

धेरैको सपना हुन सक्छ, युरोप, अमेरिका, अस्ट्रेलिया जाने र मनग्य आम्दानी गर्ने परिवार सेटल हुने । तर, ती मुलुकहरूमा प्रवेश गर्नकै लागि दलाललाई लाखौँ रकम बुझाउनुभन्दा खाडीमा गएर पनि राम्रो प्रगति गरेका केही युवाहरूलाई उदाहरणका लागि हेर्न सकिन्छ । 


खाडी मुलुकमै गएर भए पनि सफल हुन पाउँदा र राम्रो आम्दानी हुँदा उनीमा खुसीको सीमा छैन । पहिला उनलाई मान्छे नगन्नेहरूले पनि अहिले राम्रो नजरले हेर्न थालेका छन् । उनी थप्छन्, ‘अमेरिका, अस्ट्रेलिया गएको भए परिवार उतै लैजान सक्थे होला, तर यति प्रगति गर्न सक्थे जस्तो लाग्दैन ।’ उनी अहिले आफ्नो कामका अलावा गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबको युवा संयोजकमा समेत आबद्ध रहेका छन् । 


यस्तै, विगत १६ वर्षदेखि रोजगारीकै क्रममा दुबर्ईमा रहेका धादिङ नौबिसेका ३६ वर्षीय शिव श्रेष्ठ पनि खाडी मुलुकमा पुगेर प्रगति गर्ने र खुसी हुनेमध्येका एक हुन् । नेपालमा प्रवीणता तह उत्तीर्णपछि करारको जागिरमा अल्झेका श्रेष्ठले त्यसबाट कुनै प्रगति हुने नदेखेपछि विदेश हानिए । त्यो समयमा ‘फ्री भिसा फ्री टिकट’मा विदेश जान पाउने भाग्यको कुरो थियो । उनले पनि त्यसअन्तर्गत पाँचतारे होटेलमा आवेदन दिए र उत्तीर्ण पनि भए । त्यसपछि सुरु भयो उनको वैदेशिक यात्रा । उनले सुरुका दिनमा दुबईमा वेटरबाट काम सुरु गरे । वेटर भनेपछि सामान्यतया गेस्टहरूका लागि खाना ‘सर्भ’ गर्ने बुझिन्छ । तर, सुरुका दिनमा उनले ‘डिसक्लिनर’लगायतका काम गर्दा धेरै दुःख भोग्नुपरेको उनको भनाइ छ । यसका साथै विनापैसामा ‘ओभरटाइम’ पनि गरेर म्यानेजरहरूको मन जिते र अन्य देशहरूमा समेत तालिमहरूको समेत अवसर पाए जसले उनलाई पदोन्नति हुन सहयोग ग¥यो । 
यसरी वेटरबाट अगाडि बढेको उनको वैदेशिक रोजगारको यात्रा सुुखद तरिकाले अगाडि बढ्ने क्रममा उनले वेटर, सुपरभाइजर हुँदै विभिन्न कामको अनुभव मात्र गरेनन्, काम गर्ने संस्थाबाट नै अन्य देशहरूमा पुगेर तालिमको अवसरसमेत पाए । जसका कारण उनले धेरै अनुभव बटुले र अहिले मुलुककै उत्कृष्टमध्येको एक फेयरमोन्ट होटेलको ‘असिस्टेन्ड म्यानेजर’को रूपमा कार्यरत छन् । 


उनी भन्छन्, ‘नेपालीहरूलाई सोझो मान्छन्, जो चाप्लुसी गर्छ उनीहरूलाई मात्र माथिल्लो तहमा पु¥याउँछन् । त्यसैले नेपालमा हल्लिएर खाएका हामीजस्ता मान्छेलाई खाडी मुलुकमा निकै गाह्रो छ तर पनि संघर्ष गर्ने क्रममा म्यानेजर लेभलसम्म आइपुग्दा निकै खुसी छु ।’ यसरी म्यानेजरसम्म पुग्छु भनेर कल्पनासमेत नगरेको भन्दै निकै खुसी देखिन्छन् । 
जो कोही नेपाली युवाको पनि परदेसिनु रहर नभई बाध्यता बनेको छ । नेपालमा राम्रो पढाइ पूरा गरेपछि पनि उचित रोजगारका लागि कुनै व्यवस्था नहुँदा युवाहरू बिदेसिनुको विकल्प देख्दैनन् र विदेश हानिन्छन् । जन्म दिने बुबा आमाको आशीर्वाद, प्राण प्यारी श्रीमतीको साथ, ससाना छोराछोरी र आफन्तजनलाई छाडेर प्रवास जानुपर्दाको पीडामा सबै नेपाली युवाको आँखा रसाउँछ । नेपालमै अध्ययनपश्चात् आफ्नो पढाइ, क्षमता र दक्षताअनुसारको रोजगार पाउने हो भने सायद नेपाली युवाहरू दैनिक हजारौँको संख्यामा खाडी मुलुक जाने थिएनन् होला । अझ नेपालमा खाडी मुलुक भन्नेबित्तिकै आउने सोच र खाडीमा पुग्ने सबै नेपाली युवाहरू सबैले दुःख नै पाउँछन् भन्ने सोच व्याप्त रहेको पाइन्छ ।


त्यसो त सम्पन्न भनिएका युरोप, अमेरिका, अस्ट्रेलियालगायतका मुलुकमा पुग्ने नेपाली युवाहरूले पनि सुख नै भोगेका छैनन् भनेर सोच्नुचाहिँ पक्कै पनि गलत हुन्छ । माथि उल्लेखित युवाहरू खाडी मुलुकमै भए पनिवर्षौंदेखि संघर्ष गरेर खुसी भएका पात्रका रूपमा लिन सकिन्छ । खाडी मुलुक पुग्ने प्रायजसो नेपाली युवाहरूले लेबरबाट नै काम सुरुवात गर्दछन् । लेबरबाट काम सुरु गरेर पनि वर्षौंसम्म माथिल्ला तहमा पुग्न नेपालीहरूलाई निकै कठिन छ । तर, माथि भनिएजस्तै आजभोलि धेरै नेपाली युवाहरू विभिन्न कम्पनीमा म्यानेजर तहसम्म पुगिसकेका छन् । खाडी पुग्नेबित्तिकै लेबरबाट सुरु हुने प्रायः नेपालीहरूको तलब करिब ३० देखि ५० हजारबाट सुरु हुन्छ । लामो संघर्ष र मिहिनेतकै कारण त आज नेपाली युवाहरूले खाडीमै म्यानेजर लेभलसम्म पुगेर महिनामै करिब नेपाली दुईदेखि तीन लाखभन्दा बढीसम्म कमाउने गर्दछन् । यसरी म्यानेजर लेबलसम्म पुग्नेहरूलाई मनग्य आम्दानी मात्र नभई कम्पनीले नै लोभलाग्दो सेवा सुविधासमेत दिने गरेको छ । यसरी दिइने सेवा–सुविधामा परिवारसहितको आवास, गाडी, खानपानको व्यवस्था कम्पनीले नै मिलाउने गरेको छ । 


धेरैको सपना हुन सक्छ, युरोप, अमेरिका, अस्ट्रेलिया जाने र मनग्य आम्दानी गर्ने परिवार सेटल हुने । तर, ती मुलुकहरूमा प्रवेश गर्नकै लागि दलालको भरमा लाखौं रकम फसाउनुभन्दा खाडीमा गएर पनि राम्रो प्रगति गरेका युवाहरू उनका लागि उदाहरणीय पात्र बन्न सक्छन् । पछिल्लो समय खाडी जानेलाई गाउँघरकाहरूले हेर्ने दृष्टिकोणमा केही हदसम्म परिवर्तन त भएको छ, तर अमेरिका, अस्ट्रेलिया जानेलाई नै माथिल्लो तहमा राख्ने प्रवृत्तिीअझै पूर्ण रूपमा हटिसकेको भने छैन । खाडी भन्नेबित्तिकै उँट चराउन जाने होला भन्ने सोचमा परिवर्तन ल्याउनुपर्ने खाडी पुग्ने युवाहरूको भनाइ छ । मिहिनेत गर्ने हो, भने युरोपको कमाइ खाडीमै उपलब्ध हुन्छ र पदीय हिसाबले म्यानेजर लेबलसम्म पुगिन्छ, राम्रो सेवा–सुविधा पाइन्छ भने आखिर खाडी जाने युवा र युरोप जाने युवामा भिन्नता किन ?