• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सम्झना वाग्ले भट्टराई
२०७८ भदौ २६ शनिबार ०७:२२:००
समाज

शिक्षित परिवारमा महिनावारी : परम्पराको नाममा सिकाइरहेछन् कुरीति

२०७८ भदौ २६ शनिबार ०७:२२:००
सम्झना वाग्ले भट्टराई

केहीअघि घरमा सानो पारिवारिक भेला थियो । कोरोना त्रासले लामो समयसम्म प्रत्यक्ष भेटघाट गर्न नसकिएको र अहिले बाहिर गइरहनुपर्ने परिवारका अधिकांश सदस्यले कोभिडविरुद्धको भ्याक्सिन लगाएकाले पनि जमघट कार्यक्रम गरिएको थियो । पारिवारिक भेलामा अपेक्षित सबै आए तर नजिकै घर भएकी एउटी बहिनीकी छोरी आइनन् । छोरी किन नल्याएकी त भनेर सोध्दा उसले भनी, ‘नानीको अस्तिबाट ‘पिरियड’ सुरु भयो, यस्तोमा के ल्याउने भनेर ।’  ‘पिरियड’ भए पनि के हुन्छ र (?) जाऊ लिएर आऊ, केटाकेटीलाई किन एक्लै घरमा छाडेको होला ?’ मेरो प्रश्न । ‘भैहाल्यो, अहिले एकछिनमा खाना घरमा नै लगिदिउँला’, उसको उत्तर ।‘नानीले जान्न भनेकी हो र ?’ मेरो चासो ।


‘ल्याए त किन आउँथिन र ...।’ बोल्दा बोल्दै बहिनी रोकिई । त्यसपछि बहिनी र ज्वाइँबीच आँखाकै इसारामा के–के कुरा भयो । र, बहिनीले निष्कर्ष दिई– ‘भो, भैहाल्यो ।’ 
बहिनी र ज्वाइँ दुवैजना शिक्षित छन् । पढेलेखेका, संसार देखेका उनीहरूसँग समसामयिक राजनीति तथा सामाजिक, सांस्कृतिक विकृतिबारे पटक–पटक छलफल गरेकी छु । उनीहरूका तर्क, विश्लेषण कहिल्यै पनि आधारभूत रूपमा मेरो भन्दा फरक लागेको थिएन । त्यसैले पनि ‘महिनावारी’कै कारण छोरीलाई नल्याएका जस्तो लागेन । पहिलोपटकको महिनावारी सायद गाह्रो पो भएको छ कि भन्ने लागेर हतारहतार खाना तयार गर्नतर्फ लागेँ । अर्की दिदीसँग बहिनीको कुरा भइरहेको सुनेँ, ‘एउटै फ्ल्याटमा राख्दा त फेरि झ्वास्झ्वास्ती देखिन्छ भनेर पनि माथिको स्टोर–कोठा सफा गरेर राखिदिएकी छु । राति सुत्ने वेला म साथी जान्छु ।’ 


‘धन्न सासूआमा गाउँ जानुभएको वेला प¥यो र नत्र कति गाह्रो हुन्थ्यो,’ बहिनीले थपी । उनीहरूबीच अरू कुरा पनि भए । ‘जे भए पनि पूजाकोठा र भान्सामा चाहिँ बार्न लगाउनुपर्छ ।’ उनीहरूको कुराकानीको निष्कर्ष । म केही बोलिनँ । यो र यस्ता धेरै विषयमा बहिनी तथा ज्वाइँसँग पहिले नै प्रशस्त कुराकानी भइसकेको थियो, दोहो¥याउनु उचित ठानिनँ । बहिनी–ज्वाइँले पहिले–पहिले गर्ने तर्कसँग सहमत थिएँ, तर अहिले व्यवहार देखेर दिक्क लाग्यो । भर्खर बाह्र वर्ष पुगेकी छोरीप्रति खुब माया लागेर आयो । यो कुरीतिको भारी कति ज्याद्रो हुने रहेछ, त्यस्ता शिक्षित तथा सक्षम अभिभावकले पनि मिल्काउन नसकेका । 


त्यसो त यो बहिनीको घरको मात्र समस्या होइन । अधिकांश ब्राह्मण–क्षेत्रीलगायत अन्य धेरै परिवारमा यो कुरीति अझै बाँकी छ । मलाई थाहा छ, मेरै अधिकांश आफन्तको घरमा महिनावारी बारिन्छ । महिनावारीको समयमा उनीहरूको घरको पूजाकोठा, भान्सा आदिमा जान अझै वर्जित छ । चाडबाडमा त उनीहरूलाई बहिष्कार नै गरिन्छ । कतिपय घरमा त यस्तो वेलामा अर्को मान्छेलाई पनि छुन नहुने भन्छन् । मैले आफ्ना आफन्तसँग पटक–पटक विरोध जनाएकी छु, यसै विषयमा झगडा गरेकी छु । तर उनीहरू मेरा कुरा सुन्दैनन्, मैले यस्तो लेखेको पनि मन पराउँदैनन् । कहिले वृद्ध हजुरबुबा, हजुरआमाको आस्थाको नाममा वा कहिले बाआमाको सम्मानको नाममा महिनावारी बार्नैपर्ने तर्क गर्छन् । नबारेमा दाइले नराम्रो मान्नेदेखि भिनाजु रिसाउनेसम्मको तयारी उत्तर हुन्छ । 


झन्डै बीस वर्षअघि आठ कक्षा पढ्दा पहिलोपटक रजस्वला हुँदा भोगेको अप्ठ्यारोबारे लेखेकी थिएँ (नयाँ पत्रिका भदौ १४, २०७६, नभएको महिनावारी बार्दा) । अर्काको घरमा बाख्राको खोरमाथिको फोहरी ठाउँमा बस्नुपरेको र कसैसँग देखिनसम्म नहुने कहरले गर्दा ढाँटेर झन्डै तीन वर्षसम्म महिनावारी भएको कुरा लुकाएकी थिएँ । त्यतिवेला पनि मेरो बुझाइ के थियो भने स्वास्थ्य तथा जनसंख्या विषय पढाउने शिक्षकले भनेजस्तै महिनावारी स्वाभाविक र सामान्य प्राकृतिक चक्र हो । समस्या त गाउँघरको अशिक्षा र रुढिवादी सोचमा छ । त्यसैले त एसएलसी पास नगरुन्जेल यो अप्ठ्यारो झेलेँ भने क्याम्पस पढ्न काठमाडौं गएपछि त यी सब झन्झटबाट मुक्त हुन्छु भन्ने आशा हुन्थ्यो त्यतिवेला । 


तर क्याम्पस पढ्न काठमाडौं आएपछि पनि स्थिति बदलिएन । थाहा भयो, ठाउँ मात्र फेरिएको रहेछ, सोच उस्तै । घरमा बाको डर हुन्थ्यो, यहाँ दाइको । महिनावारीको समयमा छोइछाइ हुन्छ कि भनेर घरमा आमाले गाली गर्नुहुन्थ्यो, यहाँ दिदीले । पढेलेखेका दाइ, दिदीहरू पनि उस्तै थिए । वेलामौकामा दिदीहरूले ‘फ्लोर–क्रस’ गरेको थाहा नपाएकी त होइन, तर मलाई भने त्यो अधिकार कहिल्यै दिएनन् । तर पनि गाउँमा हुँदा महिनावारीको समयमा भुइँमा सुत्नुपथ्र्यो, काठमाडौंमा खाटमा नै सुत्न पाएर पनि धेरै राहत मिलेजस्तो लाग्थ्यो । 


स्नातकोत्तर पहिलो वर्ष पढ्दै गर्दा बिहे भयो । बिहे भएको पाँच–६ दिनमा नै मेरो महिनावारीको पालो आयो । नयाँ ठाउँ के गर्ने, कसो गर्ने भन्ने असमञ्जसमा थिएँ । तर पनि भन्नैपथ्र्यो, भनेँ । ‘तिमीलाई गाह्रो भएको होला आराम गर, म घरको सबै काम गरौँला’– उसले सहज ढंगले भन्यो र भान्सातिर गयो । ‘गाह्रो त भएको छैन, भान्साको काम के गर्ने भनेर ?’– मैले अलि संकोच मानेँ । ‘किन अल्छी लागेको छ र ?’ सायद उसले कुरा बुझेन । 


‘पिरियडको वेला पनि भान्सा छुने र ?’– मैले गर्दै आएको/सुनेको/भोगेको बताएँ । उसले एकछिन अनौठोसँग मलाई हे¥यो, हाँस्दै नजिक आयो र अँगालोमा बेर्दै भन्यो, ‘ज्ञान, सीप तथा सूचना आदिका आधारमा व्यवहारमा ल्याउने स्थायी परिवर्तनलाई नै शिक्षा भनिन्छ । त्यही होइन र शिक्षा भनेको ? विज्ञान विषयमा उच्चशिक्षा पढेको उसले शिक्षा प्रमुख विषय लिएर स्नात्तक गरेकी मलाई शिक्षाको परिभाषा बताइदियो । हो, मैले पढेको त्यही थियो, परीक्षाका लागि कण्ठ गरेको त्यही थियो । तर, पारिवारिक नियम र मन नपरे पनि गर्दै आएको अभ्यासले आफूले पढेको कुरा स्विकार्न र त्यसलाई व्यवहारमा लागू गर्न मैले भुलिसकेकी रहेछु । 

उनीहरू मेरा कुरा सुन्दैनन्, मैले यस्तो लेखेको पनि मन पराउँदैनन् । कहिले वृद्ध हजुरबुबा, हजुरआमाको आस्थाको नाममा वा कहिले बा, आमाको सम्मानको नाममा महिनावारी बार्नैपर्ने तर्क गर्छन् ।

 

त्यसपछि भने औपचारिकताको नाममा महिनावारी बार्ने कहिल्यै गरेकी छैन । कहिलेकाहीँ अलि गाह्रो हुन्छ, नियमित कामबाट बिदा लिन्छु, तर महिनावारीकै कारण भान्सा, पूजा वा त्यस्तै कामबाट आफूलाई अलग्याएकी छैन । तर, यो आफ्नो घरमा मात्र । पाहुना लाग्दा वा अधिकांश आफन्तको घरमा भने उनीहरूकै नियम चल्छ, चुपचाप सहनुको विकल्प देख्दिनँ । 


तिजको केही दिनअघि मात्र तिनै बहिनीको घरमा गएकी थिएँ । केही हप्ताअघि मात्र महिनावारी सुरु भएकी छोरीले उत्साहित हुँदै भनी– यो वर्ष त म पनि तिजको व्रत बस्ने, आन्टी !
किन नि ?– मेरो प्रश्न । 


किन त थाहा छैन्, तर मामुले व्रत बस्नुपर्छ भन्नुभएको छ– उसको उत्तर । 
पहिले आफैँ जिद्दी गर्छे, अहिले केको मामुलाई दोष हो, अप्ठ्यारो मान्दै बहिनी बोली । म के बोलूँ ? मसँग भन्ने केही थिएन । 
कहिलेकाहीँको फास्टिङ (व्रत) त स्वास्थ्यका लागि पनि राम्रो हो नि– बहिनीले थपी । 
‘अनि त्यस्तो फास्टिङचाहिँ तिजमा नै गर्नुपर्ने !’– मुखमा आइसकेको उत्तर पनि रोकेँ । 


‘एक त स्वास्थ्यका लागि पनि राम्रो, अर्को केटाकेटीले आफ्नो चालचलन, संस्कृति पनि बुझ्दै जान्छन् । त्यसैले मैले त आफूले मान्दै र गर्दै आएको सबै कुरा छोरीलाई सिकाउँदै आएकी छु ।’– अंग्रेजी साहित्यमा स्नातकोत्तर बहिनीले भनी । आफ्ना सन्ततिलाई परम्परा र संस्कृतिसँग परिचित गराउने, सिकाउने जस्ता विषय त राम्रा हुन् तर चलनको नाममा बाह्रवर्षे छोरीलाई महिनावारीको समयमा एकान्तवास राख्ने, नियमित बार्न लगाउने र विविध व्रत बस्न लगाउने जस्ता कुरा आजभोलि सामान्य शिक्षित व्यक्तिले नगर्लान् जस्तो लाग्थ्यो, तर स्नातकोत्तर उतीर्ण बहिनी–ज्वाइँले नै गरेपछि मसँग तर्क बाँकी रहेन । यस्ता अभ्यास गर्न लगाएपछि÷थालेपछि छोरीको मनमा पनि यी कुसंस्कार संस्कार बनेर बस्छन् । बीस वर्षअघि मेरो पहिलो महिनावारीको समय र अहिले पनि अवस्था झन्डै उस्तै छ । पढेलेखेका अभिभावक पनि चलन र परम्परा सिकाउने नाममा सन्तानलाई कुरीति लादिरहेका छन् । संसारमा कति परिवर्तन आए, तर सभ्यताको कुनै कालखण्डमा त्यतिखेरको व्यावहारिक कठिनाइले गरिएको अभ्यास अहिलेको समयमा पनि त्यसरी नै अनुकरण गरिन्छ भने हाम्रो शिक्षाको के उपादेयता त ?


मेरो छोरा अहिले बाह्र वर्षको भइसकेको छ । छोरी भएको भए सम्भवतः अहिले उसको पनि पहिलो रजो–दर्शनको वेला हुन्थ्यो । आफन्तले ऊसँग पनि यस्तै व्यवहारको अपेक्षा अवश्य नै गर्थे होलान् । नातेदारले के भन्लान् भनेर मैले पनि अबोध छोरीलाई महिनावारी बार्न लगाउने वा विभिन्न बहानामा व्रत बस्न लगाउनुपर्ने भए के गर्थें होला ? सम्झेर पनि दिक्क लाग्छ, अत्यास लाग्छ । त्यसो त निश्चिन्त छुु, चलनको नाममा रहेका कुसंस्कारलाई नाघ्ने हिम्मत मसँग छ । तर, मेरो मनमा रहने प्रश्न भने मेरा अधिकांश शिक्षित आफन्त र साथीहरूको व्यवहार किन नफेरिएको ? के शिक्षा र चेतना सापेक्षित हुँदैनन् ? कि घरका पुरुष सदस्यको भूमिका सहयोगी छैन ? वा हाम्रो समाज ज्यादै आडम्बरी छ ?