• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे
२०७८ भदौ २६ शनिबार ०८:१३:००
साहित्य

कहाँ हराए महाकवि देवकोटाका सामानहरू ?

२०७८ भदौ २६ शनिबार ०८:१३:००
शिवहरि घिमिरे

महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्पत्तिको नाममा एउटा थोत्रो घर थियो, त्यो पनि अब रहेन । २०७२ सालको महाभूकम्पमा नभत्किएको उनको घर केही दिनअघि प्रज्ञा प्रतिष्ठानले भत्काइदियो । त्यही घडेरीमा उनको संग्रहालय बनाइँदै छ । हुँदाहुँदैको घर भत्काएर बनेको कंक्रिटे संग्रहालयभित्र के-के राख्ने होला प्रज्ञाले ? यदि उनको जीवनदर्शनलाई संग्रहालयमा सजाउन खोजिएको भए देवकोटाको जीवनसँग जोडिएका सामग्रीहरू के–के छन् ? 


प्रज्ञा प्रतिष्ठानले दिएको जानकारीअनुसार देवकोटाका केही थान पुस्तक, एउटा हार्मोनियम, अडियो क्लिप, छोराछोरीहरूसँग रहेका केही थान फोटाहरू मात्रै छन् । देशका अमूल्य गहना महाकविको जीवन झल्काउन यति मात्रै काफी होला ? होइन भने उनको इतिहासलाई किन यति मलिन पारियो ? देशलाई चिनाउने महाकविको संग्रहालयलाई अब के राखेर  भर्ने ? उनको इतिहाससँग जोडिएका भौतिक वस्तुहरूविनाको संग्रहालय कस्तो बनाइँदै छ ? 


देवकोटाको जीवन्तता झल्काउने सामग्री तथा वस्तुहरू गायब छन् । उनले भान्सामा प्रयोग गरेका थाल, कचौरा र अन्य भाँडाकुँडाको पत्तो छैन । शरीरमा पहिरिने दौरासुरुवालको त के कुरा, उनले लगाएको एक जोडी लुगाधरी छैन । उनी सुत्ने खाट, चकटी र गुन्द्री पनि छैनन् । चुरोट पिउँदा प्रयोग गर्ने ‘एस्ट्रे’ पनि छैन । उनले बजाउने तबला कहाँ पुग्यो कसैलाई थाहा छैन । धन्न जेठी छोरीले शास्त्रीय संगीत गाउने भएकाले हार्मोनियम भने सुरक्षित राखेकी रहिछन् । उनले रेकर्ड गरेका केही कविता मदन पुस्तकालयमा फेला परेको छ । तर, वाद्यवादनका अन्य सामग्री भेटिएका छैनन् । 


आफूसँग भएका अडियो प्रज्ञालाई जिम्मा लगाउने मदन पुस्तकालयले जनाएको छ । प्रज्ञाका उपकुलपति जगमान गुरुङले देवकोटाका सबै अडियो पुस्तकायसँग माग गरेको बताए । ती अडियोहरू देवकोटाको बन्दै गरेको संग्रहालयको अडियो कोठामा राखिनेछ । संग्रहालयभित्रको अडियो कोठामा उनले प्रयोग गर्ने माइक, तबला, हार्मोनियम, क्यासेट, तथा अडियोहरू राखिनेछ । तर, हार्मोनियम र अडियोबाहेक हालसम्म उनले प्रयोग गर्ने वाद्यवादनका अन्य सामग्री भेटिएका छैनन् । देवकोटाको घरको छानो झिंगटीको रहेको फोटोबाट प्रमाणित भएको थियो । उक्त फोटो उनका छोरा पद्म देवकोटाले राखेका थिए । सोही फोटो उनले प्रज्ञालाई हस्तान्तरण गरेका छन् । तर, देवकोटाको मृत्युपछि उनको घरको झिंगटी हटाएर जस्तापाता राखिएको थियो । 


महाकवि देवकोटामा कैयौँ कृति र उनले प्रयोग गर्ने सरसामानहरू हराएका छन् । भलै उनका छोराछोरीले लुकाएका भए अर्कै कुरा, तर उनको जीवनलाई दर्साउने चिनारीहरू हराइसकेका छन् । परिवारका सदस्यले जतन नगरिदिँदा देवकोटाका लेखरचना र घरभित्रप्रयोग गर्ने सरसामानहरू कहाँ गए अत्तापत्तो छैन । कतिपय सामान हराएको र कतिपय पुरानो भएर कुहिएको पारिवारिक स्रोतको भनाइ छ । देवकोटाले प्रयोग गर्ने कापी–कलम र अक्षरूपी थुप्रै डायरीहरू पनि बाँकी छैनन् । उनले बनाएको फोटो एल्बम, लेखरचनाका पत्रपत्रिका पनि नरहेको प्रज्ञा प्रतिष्ठानले जनाएको छ । उनकी माइली छोरी अम्बिका देवकोटाकहाँ रहेको हार्मोनियम प्रज्ञाले माग गरेको छ । 

संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘महाकविको श्रीसम्पत्ति त्यही घर मात्रै त होइन होला, उहाँको जीवन र दैनिकीसँग जोडिएका सामग्री गायब छन्, आफन्त र छोराछोरीसमेतलाई त्यसको जानकारी छैन ।’

 

प्रतिष्ठानले उनका केही थान कृतिहरू सुरक्षित राखेको छ । देवकोटाको घर भत्काउनुअघि प्रतिष्ठानले उनको घरभित्र सरसामान खानतलासी गरेको भए पनि केही भेटिएनन् । उनका बौद्धिक सम्पत्ति नरहेको प्रतिष्ठानमा उपकुलपति गुरुङको भनाइ छ । ‘उहाँले प्रयोग गरेका सामान सबै हराइसकेका रहेछन्, त्यसको बारेमा उहाँका छोराछोरीले नै जानून्, हामीकहाँ केही थान किताब मात्रै छन्, अहिले अडियो पनि फेला परेको छ, भवन बनिसकेपछि ती सजाएर राख्छौँ,’ उपकुलपति गुरुङले भने । 


गुरुङका अनुसार देवकोटाले वि.सं. २००० सालमा उक्त घर एकजना पुरेतसँग किनेका थिए । २०१३ सालमा उनले त्यो घरको तला थपेका थिए । पुरानो शैलीको उक्त घरमा काँचो इटा, माटो, ढुंगा र काठको प्रयोग भएको थियो । पुरानो हुँदै जाँदा भत्किने अवस्थामा रहेको उपकुलपति गुरुङले बताए । उनले भने, ‘त्यो घरसहित २ रोपनी जग्गा एकजना पुरेतसँग देटकोटाले किन्नुभएको रहेछ, पछि त्यसैमा उहाँले तला थप्नुभएको रे, हामीले अध्ययन गर्दा त्यही भेट्यौँ ।’


हाल देवकोटाका छोराछोरीसमेत उनको सरसामानको बारेमा जानकार छैनन् । देवकोटाका जेठा छोरा हाल भत्काइएको पुरानो घरको आडैमा नयाँ घरमा बस्छन् । छोरी अम्बिका देवकोटा पनि अर्को घरमा बस्छिन् । छोराछोरी नै बुबाको बौद्धिक सम्पत्तिको जिम्मेवार नभएकाले उनका कृति, रचना र भौतिक सरसामानहरू संरक्षण नभएको हुन सक्ने गुरुङको भनाइ छ ।

योगदानलाई मधुरो बनाइएकोप्रति चिन्ता 
नेपाली साहित्यका विशिष्ठ व्यक्ति देवकोटा बसेको करिब ८० वर्ष पुराना घर भत्काएर देवकोटाको योगदानलाई नै मधुरो बनाउन खोजिएकोप्रति साहित्य तथा संस्कृति क्षेत्रका व्यक्तिहरूले चिन्ता व्यक्त गरेका छन् । उनको घर भत्काएसँगै उनको इतिहास नै रित्तोजस्तो बनेको उनीहरूको भनाइ छ । संस्कृतिविद् सत्यमोहन जोशीले कविको घर भत्काउनु निकै दुःखद रहेको बताए । देशकै महान् पात्रका रूपमा रहेका कवि बसेको घर भत्काउनु लज्जाको विषय रहेको उनको भनाइ छ । ‘महाकविको श्रीसम्पत्ति त्यही घर मात्रै त होइन होला, उहाँको जीवन र दैनिकीसँग जोडिएका सामग्री गायब छन्, आफन्त र छोराछोरीसमेतलाई त्यसको जानकारी छैन,’ उनले भने । 


संसारभरि नै यस्ता कवि बसेको घर सजाएर राख्ने परम्परा रहे पनि नेपालमा भने इतिहासकै तहसनहस पार्न थलिएको प्रति उनले चिन्ता व्यक्त गरे । ‘मलाई त साह्रै दुःखलागेको छ, तर भत्काएर सकियो अब के पो गर्न सकिन्छ र,’ जोशीले भने, ‘महाकवि हीरा र सुनका टुक्राभन्दा पनि महत्वपूर्ण व्यक्ति थिए, तर उनीमाथि देशले गरेको सम्मान राम्रो भएन ।’ महाकविको उक्त घरमा वेलावेला पुगेर भलाकुसारी गरेको याद स्मरण गर्दै जोशीले उक्त घर जिर्णोद्धार गरेर पनि संरक्षण गर्न सकिने अवस्थामा रहेको बताए । ‘विदेशमा ज्यादै जीर्ण घरलाई त सम्हालेर राखिएको हुन्छ, महाकविको घर ढल्ने अवस्थामा थिएन, ढलाइएको हो,’ जोशीले भने, ‘अरू केही सामान नभए पनि महाकविको खोक्रो घर मात्रै रहेको भए पनि त्यो निकै ठूलो कुरा हुने थियो, आगामी पिँढीले त्यो देख्नै पाएनन् ।’

देवकोटाकी माइली छोरी अम्बिका भन्छिन्, ‘त्यो घरमा ठेलागाडामा तरकारी बेच्नेहरू बस्थे । त्यसको भाडा मैले नै उठाउँथे, केही पैसाले घर मर्मत पनि गरेकी थिएँ, तर पुरानो हुँदै जाँदा घर धरापपूर्ण बन्यो, त्यसैले सरकारलाई भत्काउन अनुमति दियौँ ।’ 


उनले घर भत्काएर महाकविको स्तर र महिमालाई कम गराइएको बताए । देवकोटाका छोराछोरीकै कमजोरीले बुबाको घर संरक्षण हुन नसकेको उनको धारणा छ । ‘छोराछोरीको नाताले पनि बाबुको घर जोगाउनुपर्ने थियो, तर छोराछोरीले जोगाएनन््,’ उनले भने, ‘प्रतिष्ठानले पनि देवकोटाको घर हचुवामा भत्कायो, जोगाउन सकेको भए हुने थियो ।’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले पनि भवन भत्काएकोप्रति आपत्ति जनाए । उनले महाकवि एउटा व्यक्ति मात्रै नभएर देशकै गहना भएकाले उनको घर भत्काउनै नहुने बताए । तर, विरोध हुँदाहुँदै पनि घर भत्काउनु निकै गम्भीर रहेको टन्डनको भनाइ छ । ‘त्यो घरमा महाकविले सिर्जना फुराउनुभएको थियो, त्यो त्यत्तिकै राख्नुपर्नेमा भत्काएर मोडर्न भवन बनाउनु लाजमर्दो हो,’ उनले भने, ‘कवि कलाकारको सम्मानमा राज्य उहिलेदेखि नै उदासीन थियो, अहिले पनि उस्तै छ ।’ 

 

के भन्छन् देवकोटाका छोराछोरी ? 
तर, देवकोटा परिवारको भनाइ अलि फरक छ । देवकोटाकी माइली छोरी अम्बिका रिमाल देवकोटाले आफूहरूको आर्थिक हैसियत कमजोर भएकाले बुबा बसेको घर सरकारलाई निर्माण गर्ने जिम्मा दिइएको बताइन् । उनले भनिन्, ‘हामीले यत्रो वर्ष घर संरक्षण गर्दै आएका थियौँ, तर अध्ययनको सिलसिलामा परिवार छरिनुपरेको थियो, त्यतिवेलामा हामीसमेत बसेको घर थोत्रिएको हो ।’ घर थोत्रो भइसकेपछि प्रज्ञा प्रतिष्ठानले बनाउने प्रस्ताव लगेपछि आफूहरू सहमत भएको उनको भनाइ छ । उनका अनुसार घरसँगै देवकोटाले प्रयोग गर्ने सरसामानहरू कुहिएका छन् । केही वर्षअघि किताबहरू कुहिन थालेपछि प्रतिष्ठानले लगेर राखेको छ । 


तर, देवकोटाले प्रयोग गर्ने अन्य सरसामानहरूको भने टुंगो नै छैन । देवकोटाले बजाउने एउटा हार्मोनियमबाहेक अन्य सरसामान कहाँ–कहाँ पुगे त्यसबारेमा अम्बिकालाई जानकारी छैन । उनले देवकोटाका धेरै सामान भतिजी सुस्मा शर्मासँग रहेको बताइन् । ‘बुबाका सरसामानहरूका बारेमा पद्म र जेठी दिदीकी छोरी सुस्मा शर्मालाई जानकारी होला, मलाई अन्य केही जानकारी नै छैन,’ उनले भनिन्, ‘म लामो समय पढाइको सिलसिलामा भारत बसेकी थिएँ, त्यही वेलामा बुबाले प्रयोग गर्ने सामानहरू हराए ।’ 


बुबाका केही लेख रचनाहरू भने भाइ पद्मले राखेको उनको भनाई छ । ४० वर्षअघि नै पद्मले बुबाका किताबको लाइब्रेरी खोल्छु भनेर पुस्तकहरू राखे पनि केही पुस्तकहरू हराएको अम्बिकाले बताइन् । ‘बुबाका सामान जतन गरेर एकै ठाउँ राख्न सकिएन, त्यसैले पनि अहिले खोज्न समस्या भइरहेको छ,’ उनले भनिन् । उनका अनुसार पढाइको सिलसिलामा भाइहरू विदेश गएपछि घरमा ठेलामा तरकारी बेच्नेहरू बस्थे । उनीहरू बस्दाताका भित्तामा केही थान फोटाहरू थिए, एउटा दराज र खाट पनि थियो । ‘त्यो घरमा ठेलागाडामा तरकारी बेच्नेहरू बस्थे, त्यसको भाडा मैले नै उठाउँथे, केही पैसाले घर मर्मत पनि गरेकी थिएँ, तर पुरानो हुँदै जाँदा घर धरापपूर्ण बन्यो, त्यसैले सरकारलाई भत्काउन अनुमति दियौँ ।’ 


देवकोटाका पाँच सन्तान हुन् । त्यसमध्ये कान्छा छोरा अस्टे«लियामा छन् भने जेठा छोरा मैतीदेवीमै बस्छन् । उनका तीनजना छोरीमध्ये दुईजनाको निधन भइसकेको छ । माइली छोरी अम्बिका रिमाल देवकोटा मैतीदेवीमै बस्दै आइरहेकी छिन् ।