• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सुजित महत
२०७८ भदौ २६ शनिबार ०८:५०:००
समाज

नयाँ भेषमा ‘डाँका’

डाँकुको हुलिया बदलिएको छ, अहिले सफेद र खाकी पोसाकका डाँकु छन् 

२०७८ भदौ २६ शनिबार ०८:५०:००
सुजित महत

‘राति डाँका पर्‍यो,’ आँगनमा उभिएका खबरियाले बार्दलीमा रहेका बुबालाई सुनाउन के थालेका थिए, भान्छामा आमा, कोठामा दिदी सबैका कान ठाडा भए । ‘देवराज मालिकलाई गोली लागेको छ,’ खबरिया भन्दै गए, ‘जिम्दार मालिक (मेरा सानोबुबा) र डिल्ली (सहयोगी) लाई लाठी नै लाठीले पिटे ।’ अब डकैती त भैसक्यो, निरु (सानीमाकी छोरी) त सही सलामत छिन् भन्नेमा सबैको चिन्तामिश्रित चासो थियो । निरु दिदीको बिहा माघ १९ गते हुनेवाला थियो, पुस १२ गते डाँका परेको थियो– साल थियो २०४१ । रातको समयमा घर, ठूला डाँका समूहले त अझ बस्ती नै रातभर नियन्त्रणमा लिने डाँकाहरूले छोरी–बुहारी बलात्कारसम्म गर्छन् भन्ने सुनिन्थ्यो । सुनिएको कुरा फेक पनि त रैनछ । पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) अच्युतकृष्ण खरेल आत्मकथामा रूपन्देहीको प्रहरी प्रमुख छँदा डकैती नियन्त्रणका क्रममा ‘कोही त्रास मात्र देखाएर लुटपाट गर्ने त कोही छोरी–बुहारीलाई बलात्कार गर्नेसम्मका अपराधी पाएको’ लेख्छन् । भारतमै डाँकाको मक्का मानिने चम्बलमा डाँकाले अपहरण गरी बलात्कार गरेका युवती पछि पेसेवर डाँकामै रूपान्तरण भएका कथाहरू छन् । चम्बलकै पहिलो दस्यू सुन्दरी मानिने पुतली बाई, सबैभन्दा चर्चित सुन्दरी फूलनदेवी र सीमा परिहारहरू यस्तै पीडा भोग्दै डाँका भएका थिए ।

-चम्बलका पूर्वडाँका रमेश सिकरवारले भनेका छन्, ‘मोबाइल आएपछि डाँका सिद्धिए ।’ 
- डकैती हुनुमा जग्गामा आधारित जीवनशैली थियो ।
- सशस्त्र विद्रोहकालमा माओवादीले पनि डाँका तह लगाए ।
- चम्बलका डाँकाहरू आफूलाई बागी भन्न रुचाउँछन् । डाँका भनिदिँदा अपमान ठान्छन् । 
-पानसिंह तोमरको भूमिकामा रहेका इरफान खानको डायलग छ, ‘हम बागी है, डाकु तो पार्लियामेन्टमें होते है ।’


निरु दिदीलाई केही नभएको सुन्दा मात्रै सबैले सायद चयनको सास फेरे । खबर सुनाएपछि खबरिया फर्किए । बुबा डकैती परेको सालीको घर जान तयार हुन थाल्नुभयो, साथी भएर उमेरले दोहोरो अंकमा नपुगेको म जानुपर्ने भयो । ईश्वरपुर गाउँसम्म गाडी चल्थेन, पैदल जाँदा डेढ घन्टाजति लाग्थ्यो । सानीमाको घर पुग्दा अवस्था सोचेजस्तो त्रासद रैनछ । देवराज दाजुलाई उपचारार्थ जनकपुर लगिसकिएको थियो । कम्मरमुनि गोली लागेकाले ज्यान जोखिममा छैन भन्नेमा सबै विश्वस्त । यो स्टोरी लेख्न दाजु देवराज बानियाँसँग कुरा गर्दा त्यो वेला डाँकाले ४१ हजार नगदका साथै सुनचाँदी सिनित्त पारेका रहेछन् । बिहाका लागि बनाइएका नयाँ सिरक–डस्नाधरी लगेका थिए । थिलथिलो हुने गरी चुटाइ खाएका सानोबुबाको स्वास्थ्य त्यसपछि पूर्वावस्थामा फर्केन, मानसिक सन्तुलन पनि गुमाउनुभयो, घटनाको करिब तीन वर्षपछि बित्नुभयो । 


डाँका, डकैतीका किस्सा सुनेरै हुर्किंदै थियौँ । मधेसमा डकैती भइरहन्थे । हाम्रो त गाउँको अघिल्तिर पुस्तैनी पेसा नै डकैती भएका झिंजालीहरूलाई पुनर्वास गराइएको थियो । धनुषाको झिंजा गाउँका पासवान (दूषाध) हरू डकैतीमा कुख्यात । ‘झिंजालीजति संगठित र ठूलो डाँका ग्याङ नेपालमा सम्भवतः अर्को थिएन,’ सिराहाको मिर्चैयामा जन्मेहुर्केका र झिंजालीबारे बाल्यकालमै सुनेका पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल भन्छन् । यस्ता झिंजाली जंगल फँडानी गरी २०३५ सालमा पुनर्वास गराइएपछि छिमेकी गाउँवासी भैसकेका थिए । सर्लाही जिल्लाको साविक नेत्रगन्ज गाविसको वडा १ र २ मा पुनर्वासी थिए । झिंजाबाट आएका हुनाले झिंजाली टोल भनिन्थ्यो । अहिले लालबन्दी नगरपालिकाको २ नम्बर वडा कायम जन्मथलोको वडाध्यक्ष संयोगले झिंजाली परिवारकै युवा किरण पासवान । दुई सयभन्दा बढी पुस्तैनी डाँका परिवारको बस्ती, तर गाउँमै डकैती भएको सुनिएन । औंसीको रातमा डकैती वा चोरीका लागि ती अन्यत्र चल्दिन्थे, जसरी श्रम गर्न कामदार पन्जाबतिर जान्थे ।

 

छिमेकी डाँका भएर के भो, तिनको निसाना अन्यत्रै हुन्थ्यो । यातायातको सुविधा नपुगेका, राज्य (पुलिस) को पहुँचभन्दा परका बस्तीका सम्पन्न परिवार नै डाँकाको निसानामा पर्थे । महेन्द्र राजमार्गनजिकैको र राजमार्गबाट सदरमुकाम मलंगवा जाने कालोपत्रे सडक बनिसकेको ठाउँमा हाम्रो बस्ती जो थियो । चोरी बहुत हुन्थ्यो । कुखुरा, खसी–बाख्रा, अन्नदेखि यदाकदा बयल चोरीका वारदात भैरहन्थे । चोरीका अनेकन् किस्सा सुनिन्थे । चोरलाई च्याप्पै समात्न खोज्दा कट्टु मात्रै लगाएर कम्मरमाथि नाङ्गै रहेको चोर तेल घसेकोले उम्केको पनि सुनियो । चोरी अचाक्ली बढ्दा गाउँकै हुँदाखाने दुई–चारजनाको समूह रातभर खबरदारी गर्न परिचालन गरिन्थ्यो, घरधुरी पैसा संकलन गरी पारिश्रमिक दिने गरी । त्यस्ता समूह ‘खबरदार खबरदार’ भनी चिच्याउँदै रातभर गाउँमा गस्ती गर्थे । पुनर्वास गरिएका सबै दुई सय प्लस परिवार (इस्कीलाल पासवानका अनुसार २०८ परिवार) लाई ३५ कठ्ठा खेत र पाँच कठ्ठा घडेरीका दरले जग्गा वितरण गरिएको थियो ।

बाहिरियाका लागि झिंजाली नामैले आतंक थिए । पुनर्वासलाई चम्बल पनि भन्थे । हाम्रा लागि असामान्य केही थिएन । झिंजाली बस्तीकै बीचमा पञ्चकुमारी, जहाँबाट पानीको मूल फुट्थ्यो, गर्मी महिनामा बिहान स्कुलपछि दिउँसो शीतल खोज्दै पुगिने ठाउँ हुन्थ्यो ।

 

पुनर्वासवासीकै लागि छुट्टै प्राथमिक स्कुल र हेल्थपोस्ट खोलिए । तिनलाई १८ महिना सरकारले रासन ख्वायो । प्राथमिक तहको कक्षा पूरा गरेका झिंजाली भर्ना हुने स्कुल हाम्रै नवजीवन विद्याश्रम थियो । धर्मेन्द्र, रामानन्द, लालबाबु, ग्रुपकुमार त मैसँग पढ्थे । बिरलैले एलएलसी पास गर्थे । पुनर्वासमा चार टोल थिए– ए, बी, सी र डी टोल । ए टोलमा बहुसंख्यक पहाडियाका साथै गैरझिंजाली मधेसी परिवार पनि थिए । बाँकी टोलमा शतप्रतिशत झिंजाली । डकैतीबाट निवृत्त भैसकेका ग्याङका नामुद पूर्वसरदारहरू फरक–फरक टोलमा थिए । बी टोलमा सोतीलाल र ओजागर पासवान, सी टोलमा अजोदी र मुसे पासवान र डी टोलमा सोगारथ पासवान । टोलमा सरदारकै ‘तुती’ बोल्थ्यो । चुनावमा सरदारलाई हात लिएपछि टोलको भोट झिरिप्पै आउँथ्यो । एकैटोलका सरदारहरू फरक कित्तामा उभिए भोट बाँडिन्थ्यो । जस्तो– सी टोलमा अजोदी एकातिर भए मुसे अर्कातिर भैदिन्थे । झिंजाली टोलकै गुटबीच खुनी झडप पनि हुन्थ्यो, फायरिङसहितको । मैसँग पढेका रामानन्द (अजोदी) यस्तै झडपमा गोली लागेर बिते । 


अजोदी र सोगारथलाई जेलबाट छाडेर जनकपुरका तत्कालीन अञ्चलाधीश लीलाराज विष्टको आदेशमा जयनगरमा कांग्रेस नेता सरोज कोइरालाको हत्या गर्न पठाइएको सुनिन्थ्यो । पाको उमेरमा प्रवेश गरिसकेका अजोदी सफा धोती–कुर्तामा देखिन्थे, कम बोल्ने सज्जन सुनिन्थे । सोगारथ दरुवा थिए, फरासिला पनि । अजोदी र सोगारथ सामुन्ने पर्दा हाम्लाई हल्का डर–डर लाग्थ्यो । पञ्चायतकालमा त सोगारथ दारुले मातेपछि ‘हामीले नै सरोज कोइरालालाई मारेको’ भनेर फुर्ती पनि लाउँथे रे ! पञ्चायतको अन्त्यपछि उनले जुबानमा लगाम लगाए । गाउँमा त्यसबखत झिंजालीहरू धनुषाको राजनीतिमा हेमबहादुर मल्लको भोटबैंक रहेकाले तिनकै जोडबलमा पुनर्वासमा जग्गा पाएको सुनिन्थ्यो । अहिले बुझ्दा अञ्चलाधीश विष्टकै पहलमा राजा वीरेन्द्र क्षेत्रीय भ्रमणका क्रममा हेटौंडामा रहँदा बिन्तीपत्र सदर गराई जग्गा पाएको थाहा पाइयो । सुरुमा बर्दियामा हरपरिवारलाई चार बिघा जग्गा अफर गरिएको थियो रे, झिंजालीले बरु थोरै होस, जनकपुर अञ्चलभित्रै होस् भने ।


बाहिरियाका लागि झिंजाली नामैले आतंक थिए । पुनर्वासलाई चम्बल पनि भन्थे । हाम्रा लागि असामान्य केही थिएन । झिंजाली बस्तीकै बीचमा पञ्चकुमारी, जहाँबाट पानीको मूल फुट्थ्यो– गर्मी महिनामा बिहान स्कुलपछि दिउँसो शीतल खोज्दै पुगिने ठाउँ हुन्थ्यो । पञ्चकुमारी मन्दिर बिहा, व्रतबन्ध, पिकनिक स्पट पनि थियो । झिंजाली टोल हुँदै गुज्रिँदा कलिला केटाहरू खेतको आलीमै सेन (सुरुङ) खनेर छिर्ने–निस्किने अभ्यास गरिरहेका पनि देखियो । त्यसैवेला थाहा पाएको, चोरहरू सेन काटेर चोरी गर्दा पहिला पिछवाडा छिराएर घरभित्र छिर्ने रहेछन् । पहिल्यै टाउको छिराउँदा घरवालाले थाहा पाई सुरुङको पुछारमा ढुकेर बसी घाँटी छप्काइदिने जोखिम हुने भएकाले पहिले पिछवाडा छिराउने रहेछ । औंसीको वेला चोरी, डकैती, लुटपाटका लागि टाढा–टाढा जाने झिंजाली पूर्णिमाका वेला चोरेर ल्याएका रेडियो–क्यासेट प्लेयर, घडी, साइकल, गरगहना बेच्न गाउँतिर पनि छिर्थे । अर्को औंसी सुरु हुने वेलासम्म गाउँमै पनि चोरीका घटना बढ्न थाले । चोरीका माल बेचेर मोजमस्तीमा सकाएपछि ती गाउँमै चोर्न छिर्छन् भन्ने चर्चा हुन्थ्यो । दसैँका वेला खसी–बोका जोगाउने चिन्ता गाउँवासीमा हुन्थ्यो । 


पञ्चायतको फायर पावरको रूपमा प्रयोग भएका झिंजालीले पञ्चायतकै निगाहमा जग्गा पाए, पञ्चायत समर्थक हुने नै भए । मधेसमा डकैतीबारे अनुसन्धानरत तुलानारायण साहका अनुसार दुर्गानन्द झाले राजा महेन्द्रमाथि बम प्रहार गरेपछि त अहिलेको प्रदेश–२ भ्रमणका क्रममा राजाको सुरक्षामा सबैभन्दा बाहिरको घेरामा झिंजालीलाई राख्न थालियो । राजनीतिमा झिंजालीको सुझबुझपूर्ण सहभागिता सुनिन्थ्यो । पञ्चायतकालको अन्तिम स्थानीय चुनावमा साविक नेत्रगन्ज गाउँ पञ्चायतको प्रधानपञ्चमा रामजी रिजाल र प्रेमदयाल प्रधानको प्रतिस्पर्धामा आधाउधी झिंजाली रिजालको पक्षमा थिए, आधाउधी प्रधानको पक्षमा । सरदारहरू सोगारथ, ओजागर, मुसे प्रधानको पक्षमा थिए भने अजोदी, सोतीलाल रिजालको पक्षमा । मुलुकमा सायदै अर्को ठाउँ होला जहाँ दलितको दबदबा थियो, अझै पनि छ । दलित भए पनि आफ्नै थलोमा दलित उत्पीडनको पीडा झिंजालीले सायदै भोग्नुप¥यो न मधेसी हुनुको उत्पीडन । बरु, कसैले सुरक्षित महसुस गर्न त कसैले मुखबिरी गरेर यस्तो चोरीको कमिसन चाट्न झिंजालीसँग मित लाउँथे, मित लाउनेमा बहुधा बाउन–क्षेत्री नै हुन्थे । प्रधानपञ्च रहिसकेका रामजी रिजालका छोरा विष्णुसँग सोतीलालको मितेरी साइनोचाहिँ राजनीतिक थियो । 


०४६ सालको राजनीतिक परिवर्तनपछि झिंजाली कांग्रेस, सद्भावनातिर लागे । राजभक्त र पञ्चायतका हतियार तिनको राप्रपातिर बिरलै आकर्षण देखियो । सरोज कोइरालाको हत्यामा संलग्न भएकैले होला अजोदी र सोगारथले सद्भावना समाते । कम्युनिस्ट पार्टीमा लाग्ने झन् बिरलै थिए । सशस्त्र विद्रोहकालमा पनि सम्भवतः एउटै झिंजाली माओवादीमा लागेनन् । अहिले त स्कुलका जुनियर राधेश्याम पासवान तत्कालीन नेकपा (नेकपा) बाट राष्ट्रिय सभा पुगेका छन् । पञ्चायतकालमा शक्तिकेन्द्रको संरक्षण पाएका झिंजालीलाई बहुदल झन् फाप्यो, अब आफ्नो संगठित शक्ति अरूका लागि भोटबैंक मात्र हुन दिएनन् । सद्भावना पार्टीले पहिलो स्थानीय चुनाव (०४९) मा सोतीलाललाई टिकट दियो, जिते पनि । दोस्रो स्थानीय चुनाव (२०५४) मा सद्भावनाका देवानन्द पासवानले जिते कांग्रेसका इस्कीलाल निकटतम प्रतिद्वन्द्वी । 


पूर्वआइजिपी खरेलले आत्मकथामा ०३८÷३९ सालमा रुपन्देहीको प्रहरी प्रमुख छँदा भैरहवामा व्याप्त गुन्डागर्दी र गाउँमा डकैतीको कहरबारे एउटा च्याप्टर नै लेखेका छन् । कुनैवेला ‘सुपर कप­’को अघोषित उपमा पाएका अनि वामदेव गौतमको बर्खास्तगीमा परी पुनर्नियुक्ति पाएपछि त्यो उपमा अघोषित रूपमै खोसिएका पुलिस अफिसर खरेललाई किन ‘सुपर कप’ भनियो भन्ने जिज्ञासाको उत्तर पनि डाँका नियन्त्रणमा उनको सक्रियताले देखाउँछ । उनका अनुसार डकैतीकै डरले मान्छे रात परेपछि मालसामान पोको पारेर परालको कुन्युमा लुकाउँथे, घरमा मान्छे मात्र हुन्थे । डाँकाहरू मूल्यवान् सामान नपाएको झोंकमा मर्ने गरी चुटेर हिँड्थे । चालीस गाविस ओगटेको मर्चवार क्षेत्र त अझ आतंकित थियो । सीमावर्ती क्षेत्रमा दुवैतिरका डाँका समूहबीच साँठगाँठ थियो । पारि पुलिसले खोजे वारि लुक्ने, वारि पुलिसले खोजे पारि लुक्ने । रुपन्देहीमा कहावत प्रचलित थियो, ‘चितुवा समात्न सकिएला, डाँका समात्न गाह्रो छ ।’


डकैती नियन्त्रणमा पुलिस सक्रिय भएपछिको एउटा भेटमा तत्कालीन मन्त्री दीपक बोहोराले खरेलकै जुनियर शारदाप्रसाद पराजुलीलाई बुद्धिराम र रामकिशन यादव भन्ने चाहिँ डकैती छाडेर सुध्रिसकेकाले कतै फेला परे पक्राउ नगर्न सिफारिस गरे । डाँकुद्वयलाई उन्मुक्तिबापत मासिक तीन हजार दिलाइदिने भनेर लोभ्याएछन् । पुलिसले बोहोराको प्रस्ताव स्वीकार गरी डाँकुद्वयलाई डकैतीको सञ्जाल चिर्न प्रयोग गर्ने अनि रकम सुराकी (मुखविर) परिचालनमा उपयोग गर्ने योजना बुन्यो । पेस्कीस्वरूप एक हजार रुपैयाँ लिएर मुखविर परिचालन भयो । डकैतीको योजनाको सूचना पाएको पुलिसले गौंडामा एम्बुस थापेर राति डाँका समूह आएपछि फायर खोल्यो । दुई डाँका ढले, एउटा तिनै बोहोराका लागि वाल्मीकि भैसकेका बुद्धिराम थिए । 


‘डाँकाका आ–आफ्नै मूल्य–मान्यता हुने रहेछन्, कोही शिवभक्त त कोही कालीलाई इष्टदेवता मान्नेहरू,’ खरेल लेख्छन्, ‘शिवभक्त शिवरात्रिलाई डकैतीका लागि उपयुक्त साइत मान्ने त कालीका भक्त नवरात्रिलाई ।’ इस्कीलालका अनुसार झिंजाली पासवानका कुलदेउता सलहेस हुन् । नेपालका हुन वा चम्बलका अधिकांश डाँकाले देवीलाई मान्छन्– डकैती गर्न छिर्दा र फत्ते गरेपछि जय माँ भवानी वा जय महाकाली भन्थे । चम्बलमा त देवीका त्यस्ता मन्दिरहरू छन्, जसमा डकैती सफल भएपछि सरदार गएर घन्ट आदि चढाउँथे । यो स्टोरीका लागि इन्टरनेटमा सामग्री अध्ययन गर्दा देखियो, चम्बलका डाँकु गब्बर सिंहले त एकजना तान्त्रिकले देवीलाई मानव नाक चढाए पुलिसको गोली नलाग्ने भन्दिएपछि नाक काट्दै हिँडेका रहेछन् । धेरैजनाको नाक काटिएको हुनाले एउटा गाउँ नै ‘नक्टापुरा’ भयो । हत्यापछि नाक काट्दिन्थे, कसैलाई नाक काटेर छाडिदिन्थे । 

डाँकाका आ–आफ्नै मूल्य–मान्यता हुने रहेछन्, कोही शिवभक्त त कोही कालीलाई इष्टदेवता मान्नेहरू,’ खरेल लेख्छन्, ‘शिवभक्त शिवरात्रिलाई डकैतीका लागि उपयुक्त साइत मान्ने त कालीका भक्त नवरात्रिलाई ।


पूर्वआइजिपी अर्यालका अनुसार तत्कालीन समयमा डकैती प्रमुख सुरक्षा चुनौती थियो, जसमा नागरिकको धन त लुटिन्थ्यो नै ज्यान पनि जाने गथ्र्यो । फ्रेडरिक गेजले ‘रिजनालिज्म एन्ड न्यासनल युनिटी इन नेपाल’मा उल्लेख गरेअनुसार सन् १९७१ मै रौतहट र बारा जिल्लामा डाँकाहरूले ५१ जनाको त हत्या गरेका थिए । सन् १९५० को दशकको सुरुमा तराईमा जिल्ला तहको प्रशासन असंगठित भएका वेला नेपालले शान्ति सुव्यवस्था कायम गर्न भारतीय सेनाको सहयोग माग्नुपरेको थियो । नेपालले यस्तो सहयोग मागेपछि भारतीय सेनाले सन् १९५१ मा दुईचोटि र १९५३ मा एकचोटि हस्तक्षेप गरेको थियो । ‘त्यसपछि नेपालले भारतसँग यस्तो सहयोग मागेको छैन,’ सन् १९६० को दशकको अन्त्यतिर स्थलगत अध्ययन गर्न तराईका दूरदराज चहारेका गेज लेख्छन्, ‘तर ठूला डाँका समूहहरू अहिले पनि तराईमा डकैती गरिरहेका छन् ।’ सरकारी प्रशासन हालसाल मात्र दह्रो रूपमा स्थापना हुन लागेको छ । यहाँ अझै पनि अराजकता व्याप्त छ । धेरै शताब्दीदेखि भारतका डाँकाहरूले तराईमा डकैती, हत्या, लुटपाट गरिरहेका छन् । ‘उनीहरू हत्या, डकैती र लुटपाट गरी हतार–हतार भारत फर्किन्छन्,’ गेज लेख्छन्, ‘यस्तैगरी, केही डाँकाहरू भारतीय गाउँहरूमा डकैती गर्छन् र नेपालको तराईमा सुरक्षित बस्छन् ।’ 


हालै गाउँ गएका वेला नवलपुर चोकमा एकजना युवा मसँगै रहेका साथीलाई नमस्ते गर्दै आए र भने, ‘दाइ, म त १२ वर्ष दुबईमा थिएँ, भर्खरै आएको ।’ उनी ओझेल परेपछि थाहा भयो, खासमा कर्तव्य ज्यानसहित लुटपाटको वारदातमा उनी जेल सजाय काटेर भर्खरै छुटेका रहेछन् । पुनर्वास गराएपछि सर्लाही आएका झिंजालीकै तेस्रो पुस्ता युवा भैसकेको छ । पहिलो पुस्ताका सरदारहरू नै डकैतीबाट सुस्ताइसकेका थिए । कतिपय झिंजालीका दोस्रो पुस्ता नै चोरी, डकैतीबाट अलग भयो । तेस्रो पुस्तासम्म आइपुग्दा त करिब–करिब सबैजसोले पुस्तैनी पेसा परित्याग गरिसकेका छन् । अब यस्तै एकाध जेलमा सजाय काटिरहेका छन् । फरार भई गाउँमै नदेखिएका एकाध पुस्तैनी पेसामै रहेका हुन सक्छन् । कति त पुलिस भैसके । आरक्षणको बाटोमार्फत केहीले निजामती सेवामा प्रवेश पाएका छन् । हालै आफ्नै पहलमा बहुजन एकता पार्टी गठन गरी वरिष्ठ नेता बनेका राजाराम पासवानका अनुसार निजामतीमा नासुसम्म भएका छन्, फेरि पनि बहुसंख्यक युवाको गन्तव्यचाहिँ खाडी नै हो । ठेक्कापट्टा वा हाट्टहुट्ट गरेर जीविका चलाउने केटाहरू पनि काफी छन् । कोही खेतीपातीमा छन् । 


डकैती अब झिंजालीका लागि मात्र अतीतको कथा भएको होइन, डकैती हुने मधेस नै डकैतीमुक्तउन्मुख छ । अपहरण, लुटपाट हुन्छन्, तर घर, गाउँ नै नियन्त्रणमा लिएर हुने डकैती स्वाट्टै घटेको छ । डाँका ग्याङहरूको अखडाको रूपमा कुख्यात भारतको चम्बलमै निर्भय गुर्जरको इन्काउन्टर (सन् २००५) पछि संगठित ग्याङ रहेनन् । चम्बललाई नै अन्तर्राष्ट्रियस्तरको कुख्याति दिलाउने फूलनदेवीले सन् १९८३ मै मध्यप्रदेश सरकारसमक्ष आत्मसमर्पण गरेकी थिइन् । नेपालभन्दा ठुल्ठूला उत्तरप्रदेश, मध्यप्रदेश र राजस्थान तीन प्रान्तमा फैलिएको सयौँ माइल लम्बिएको बिहड (नदीले बनाएका ढिस्का, जंगल पनि भएको) इलाका डाँका ग्याङको सेल्टरका लागि स्वर्गै थियो, पुलिसलाई पुग्न गाह्रो, पुगे डाँकालाई लुक्न सजिलो । डाँकुहरू बस्तीमा डकैती गर्थे, अपहरण (तिनकै भाषामा पकड) गरी फिरौती असुल्थे । ‘मोबाइल आएपछि डाँका सिद्धिए,’ चम्बलका पूर्वडाँका रमेश सिकरवारले भनेका छन्, ‘पुलिसको हातमा मोबाइल, डाँकुको हातमा मोबाइल, ग्याङकै जोकोहीले पुलिसको मुखबिरी गर्दिने भए ।’ बिहडमा अहिले सडक, पुल बनेका छन् । हाइवे, एक्सप्रेसवे बनेका वा बनिरहेका छन् । पूर्वडाँकाहरू तिनै निर्माणमा प्रयोग हुने बालुवा चोरी, अवैध खननजस्ता काममा व्यस्त छन् । 


तुलानारायणका अनुसार त्यसबखत डकैती हुनुमा जग्गामा आधारित जीवनशैली थियो, ठुल्ठूला जमिनदार गाउँमै बस्थे । व्यापारी, जागिरेको ठेगाना सदरमुकाम वा कुनै सहरबजार हुन्थ्यो । अर्कोतिर गाउँमा चरम गरिबी थियो, वेलावेला भोकमरी नै लाग्थ्यो– वारि–पारि दुवैतिर । बाढी वा खडेरीले बाली सखाप पार्दिएपछि पेट कसरी भर्ने उपाय सुझ्थेन । अनि गाउँमा राज्यको उपस्थिति असाध्यै निम्छरो । फाट्टफुट्ट पुलिस एकाइ हुन्थे । डकैती भइरहेको थाहा पाउने न सूचना प्रविधि थियो, न यातायातको सुविधा र साधन नै । सहरबाट जति दूरदराज छ, उति डकैतीको जोखिम क्षेत्र हुन्थ्यो । वारदात गरी सीमा वारपार गर्न सजिलो सीमा क्षेत्रमा अझ आतंक थियो । ‘जमिनदारहरू डाँकालाई प्रवेश गर्न अप्ठ्यारो हुने गरी र डकैती भइहाले प्रतिकार गर्न सजिलो पर्ने गरी घर बनाउँथे,’ साह थप्छन्, ‘प्रतिकार गर्न लठैत पाल्थे ।’ जीवनशैलीको आधार उद्योग, व्यापार, सेवा क्षेत्र, ज्ञान आदिमा सिफ्ट हँुदै गयो । जमिनदारको सम्पत्ति बन्डा हुँदै वा अरू कारणले क्षयीकरण हुँदै गयो वा ती सहर पसे । फेरि समानान्तर रूपमा गाउँसम्म बाटाघाटा विस्तार हुँदै गए, सँगसँगै यातायातका साधन । राज्यको उपस्थिति बलियो हुँदै गयो । सशस्त्र विद्रोहकालमा माओवादीले पनि डाँका तह लगाए । युवा वैदेशिक रोजगारीमा जान थाले । रेमिट्यान्स भित्रिन थालेपछि गाउँमा क्रयशक्ति बढ्यो, गाउँमै व्यापार व्यवसायका ढोका खुले । सशस्त्र प्रहरीलाई तैनाथ गरिएपछि सीमा क्षेत्रको सुरक्षा तुलनात्मक रूपमा सुध्रिएको छ । तस्करीमा तिनको मिलिभगत भए पनि डकैती जस्ता अपराधमा तिनले कडिकडाउ गरेका छन् । 


डकैती नियन्त्रण गर्न मोबाइल, सडक, पुल, पर्याप्त सुरक्षा एकाइ, अत्याधुनिक हतियार नभई नहुने हो त ? सायद होइन । खरेलले रुपन्देहीमा डकैतीमाथि नियन्त्रण गर्दा जिल्लामा पूर्वाधार, पुलिस बल त्यही नै थियो, जुन उनीअघिका पुलिस हाकिम हुँदा थियो । पुलिस र नेताले मलजल नगरी डकैती हलहली फस्टाउँदैन । आत्मकथामा एउटा घटना उल्लेख गरी दीपक बोहोरालाई एक्सपोज गरेका खरेलले उपप्रधानपञ्च बद्री मिश्रालाई डाँकामार्फत मर्चवारका ठूला जमिनदार करौता शुक्लाले हत्या गरेको तथ्य संलग्न मोहर गोसाईंलाई भारतबाट पक्राउ गरेपछि खुलासा भएको पनि उल्लेख गरेका छन् । मर्चवारका जमिनदार शुक्लाहरूको उतिवेला दरबारसम्म पहुँच थियो । तुलानारायण पनि कतिपय जमिनदारहरू डाँकाको संरक्षण गर्थे भन्छन् ।

 

प्रायः जमिनदारहरू कुनै न कुनै तहको राजनीतिमा सक्रिय हुन्थे । ‘राजनीतिक विरोधीलाई तह लगाउन वा आफ्नै सुरक्षाका लागि डाँकु पाल्थे,’ उनी भन्छन्, ‘डकैती गराई लुटको मालमा भागशान्ति जय नेपाल गर्ने उद्देश्य पनि कसैकसैको हुन्थ्यो ।’ देवराज दाजुले सुनाएअनुसार सम्साँझै ९ बजे डाँका घरमा छिरे, गाउँले खबर गर्न तत्कालै बयलवास थाना पुगे । एक किलोमिटर परको थानाबाट पुलिस आइपुग्न भोलिपल्ट बिहानसम्म कुर्नुपर्‍यो, आँधीहुरी, वर्षा थामिएपछि इन्द्रेणी झुल्किएजसरी पुलिस झुल्किए । डकैती गर्नेको पहिचान पनि भयो, दुईजना त पक्राउ परे । तर, फेरि डकैती गर्ने, मारिदिने धम्की आउन थाल्यो । पुलिसले पनि धेरै चासो नदिनु भन्न थाले । ‘चासो दिन छाडेँ, दुवैले सफाइ पाए,’ दाजु सुनाउँछन् । चम्बलको हेरी हामीकहाँ डाँका ग्याङ उति खुंखार बन्न पाएनन् । मधेसमा चम्बलको बिहडजस्तो भूगोल नै भएन, जसबाट ग्याङ पुलिसको पहुँचबाहिर होस । बिहडजस्तो भूगोल भएका पहाडमा चाहिँ डकैतीलायक धनीकै अभाव भयो, सायद । डकैतीबाट मधेसमा जस्तो प्रताडित हुन परेन । 


चम्बलका डाँका ग्याङ चुनावका वेला तिनै नेता/पार्टीलाई भोट दिन फरमान जारी गर्थे, जसले तिनलाई पैसा दिएका छन् । डाँकाले अति नै गरेपछि राजनीतिक नेतृत्व पनि केही नगरी नहुने अवस्थामा पुग्ने, अनि त्यस्ता डाँका ग्याङलाई पुलिसले सिध्याएरै छाडेका छन् । पुलिसका लागि समात्न ‘असम्भव’ चम्बलका डाँका गब्बर सिंहले पुलिसको मुखबिरी गरेको भन्दै बालबालिकासहित २२ जनाको सामूहिक हत्या गरेपछि प्रधानमन्त्री जवाहरलाल नेहरू नै स्तब्ध भए । यसपछि सक्रिय पुलिसले गब्बरलाई नेहरूकै जन्मदिनको अघिल्लो दिन पूरै ग्याङसहित सिध्याएर जन्मदिनको उपहारका रूपमा पेस गर्‍यो । बेहमईमा २१ राजपूतको हत्या गरेपछि मध्यप्रदेश पुलिसले फूलनदेवीलाई आत्मसमर्पण गरायो । मुखबिरी गरेको भन्दै गाउँको सरपञ्चसहित परिवारका पाँचजनाको सामूहिक हत्या गरेपछि पानसिंह तोमरलाई पुलिसले पूरै ग्याङसहित मुठभेडमा मारिछाड्यो । 


चम्बलका डाँकाहरू आफूलाई बागी भन्न रुचाउँछन् । डाँका भन्दिँदा अपमान ठान्छन् । इन्टरनेटमा उपलब्ध सामग्रीअनुसार स्थानीयले चम्बलको बिहडमा बसेर अलेक्जेन्डर (सिकन्दर) को आक्रमणको प्रतिकार गरेका थिए । सिनेमा बनेका, किताब लेखिएका चम्बलका धेरैजसो चर्चित डाँका सरदारहरू, गरिबी होइन कि गाउँमा न्याय नपाएपछि बदला लिन वा न्याय नपाई हत्या गरेपछि बिहडको बाटो समाएका छन् । फूलनले चाहिँ गरिबी, अत्याचार सहनुपरेको थियो, दलित पनि थिइन । १९४० को दशककै चर्चित डाँका सरदार मान सिंह आठ सय बिघा खेत भएका जमिनदार थिए, गाउँमा दबदबा भएका ब्राह्मणहरूसँग हिंसात्मक झडप भएपछि उमेर पुगेका परिवारका सबै पुरुष सदस्यसहित बिहड पसेका थिए । बाधा दौडका राष्ट्रिय कीर्तिमानी धावक र सेनाको रिटायर्ड सुवेदार पानसिंह तोमर गाउँकै दबंग ठालुले जग्गा कब्जा गरी परिवारलाई प्रताडित गरेपछि हत्या गरेर बिहडको बाटो लागे । गब्बर सिंहको कथा उस्तै, भएको थोरै जमिन पनि ठालुले कब्जा हानेपछि पहिले हत्या, अनि बिहडको बाटो । चम्बलका चर्चित डाँकु सरदारमा राजपूत (क्षेत्रीय) उल्लेख्य भएकाले पनि डाँकाको सट्टा बागी, दस्यू सम्राट्जस्ता शब्द प्रचलित भएको । हाम्रामा यस्तो पृष्ठभूमि र कथित उच्च जातीय डकैतीमा संलग्न नभएकाले होला, बागीजस्तो सम्मानजक शब्द प्रयोग भएन । 


मान सिंहकै छोरा तहसिलदार सिंहलाई त समाजवादी नेता आचार्य विनोवा भावेले राष्ट्रपतिलाई चिठी लेखेर माफी दिलाएका रहेछन् । अनि तहसिल्दारकै पहलमा साढे तीन सय डाँकालाई आत्मसमर्पण गराएका रहेछन् । खरेलले आत्मकथामा शिक्षण पेसा छाडेर डाँका समूहको सरदार बनेका रामरतन यादवलाई मुठभेडमा मारेको कथा लेखेका छन् । रामरतन के कारणले डाँका बने लेखिएको छैन । सायद उनी चम्बलका डाँकाले आफूलाई भन्ने गरेको जस्तै बागी थिए कि ? युट्युबमा उपलब्ध सामग्रीमा चम्बलका पूर्वडाँकु रमेशसिंह सिकरवार भन्छन्, ‘डाँकुको हुलिया बदलिएको छ, अहिले सफेद र खाकी पोसाकका डाँकु छन् ।’ थप्छन्, ‘सफेद पोसाकका डाँकु नेताहरू करोडौँ, अर्बौं लुटिरहेका छन्, खाकी बर्दीधारी पुलिस राजमार्गमा बसेर लुट्दै छन् ।’ फिल्ममा पानसिंह तोमरको भूमिकामा रहेका इरफान खानको डायलग छ, ‘हम बागी है, डाकु तो पार्लियामेन्टमें होते है ।’ भारतीय पूर्वडाँकु वा फिल्मी डाँकुको डायलग हाम्रोमा असान्दर्भिक होला र ?