• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केशव राज खनाल
२०७८ असोज २ शनिबार ०८:२५:००
इतिहास

कलामार्फत इतिहासलाई प्रश्न

२०७८ असोज २ शनिबार ०८:२५:००
केशव राज खनाल

इतिहास, जसले हाम्रा अग्रजहरूको समय बताउँछ, हाम्रो तत्कालीन दिन दिनान्यलाई खोतल्छ र हाम्रो वास्तविक समयलाई हिजोको सुखदुःखसँग केलाउँछ । इतिहास सधैँ पीडादायी हुन्छन् भन्ने छैन अथवा सुखान्तमै रमाएको मात्र पनि छैन । तर, सही इतिहासले हामीलाई भोलिको बाटो पहिल्याउन सघाउँछ र हिजो र आजलाई जोडेर नयाँ गोरेटोमा पुर्‍याउन सहज पार्छ । एक यस्तै नेपाली आदिवासी तामाङ समुदायको कथा चित्रमा बुनेका कलाकार हुन् सुभाष तामाङ । आफ्नै पुर्खाका कथाहरूलाई कलाका विविध माध्यममा पस्केर यतिवेला उनी सिद्धार्थ आर्ट ग्यालरीमा देखिएका छन् । 


‘काइतेन’ उनको एकल कला प्रदर्शनीको शीर्षक हो । काइतेनको अर्थ आफ्ना कुरा भन्ने रहेछ । इतिहासका केही घटना, केही परिस्थिति, केही संरचना र तत्कालीन राज्य व्यवस्थासँग उनका कलाले प्रश्न गरिरहेका छन् । कलाकारले मनमा उब्जिएका प्रश्नसँगै आफ्ना समुदायका कथा भनिरहेका छन् । तामाङ समुदायको कला, संस्कृति र इतिहासलाई उनले आफ्नो कलामा समेटेका मात्र छैनन्, अपितु दर्शकलाई कहीँ प्रश्न गरिरहेका छन् भने कहीँ आफ्नो कला आफैँले लेख्न पाउने माग गरिरहेका छन् ।


तामाङको अलिक पातलो बसोवास रहेको मोरङ, अमरदहमा सन् १९९० मा जन्मिएका सुभाषलाई सानैदेखि आफ्ना रीतिथिति जान्ने बुझ्ने लालसा थियो । तर, सो ठाउँमा उनले न त पठनपाठनमा, न त समाजमा नै तामाङ संस्कृति र सभ्यतालाई केलाउन पाए । उनका अनुसार ‘जब म काठमाडौं आएँ अनि मात्र हामी तामाङको चाडपर्व बेग्लै हुने रहेछ, दसँै जस्तै हाम्रो ल्होछार पनि रहेछ भन्ने थाहा भयो ।’ यसपछि उनलाई आफू र आफ्ना पुर्खाका गाथा खोज्न मन लागेछ, परिणामस्वरूप निस्कन पुग्यो यो प्रदर्शनी ‘काइतेन’ । 


सुभाषले गाईको निबन्ध शीर्षकमा इचिङ प्रिन्टबाट प्रदर्शनीलाई आरम्भ गराएका छन् । तामाङ समुदायले बुझ्ने गाई र समाजले बोकाइदिएको गाईको महिमामाथि उनले प्रश्न गरिरहेका छन् । तत्कालीन राजा सुरेन्द्रको पालामा बनेको मुलुकी ऐनलाई उनले कलामा उतारेका छन् । यस्तै महेन्द्र माला पुस्तकका बारेमा उनका तीनवटा कला शृंखलाबद्ध रूपमा देख्न सकिन्छ । तत्कालीन समयमा महेन्द्र मालाले एक जात र एक धर्मको मात्र पक्षपोषण गरेको र अन्य जातजातिको संस्कृति, कला र उपस्थितिसमेतको आभास नगराएको उनले कलामार्फत रोष प्रकट गरेका छन् । समाजलाई नैतिकता र आचरणको पाठ सिकाउने पुस्तक नै पक्षपाती रहेको उनको बुझाइ छ ।

 

पाठ्यपुस्तकमै आधारित रहेर उनले अर्को कला पनि बनाएका छन् । ‘हामी आफैँ आफ्नो पहिचान लेख्छौँ’ शीर्षकको कलामा उनले अन्य जातजातिले तामाङ समुदायलाई हेर्ने र बुझ्ने दृष्टिकोणलाई केलाएका छन् । एक निजी प्रकाशन गृहको लोकसेवाका लागि तयार गरिएको पुस्तकमा तामाङ समुदायलाई अक्षरमा चित्रण गर्दा मनगढन्ते÷कपोकल्पित र वास्तविकता नबुझी सम्पूर्ण समुदायकै प्रतिष्ठामा आँच आउने गरी अनुच्छेद प्रकाशन गरेको थियो । यस कुराले उनलाई साह्रै छोएको रहेछ । यसैकारण उनले सिलेट ढुंगामा नै सो अनुच्छेद कुदिदिएका छन् ।

 

प्रकाशन/प्रसारण भइसकेपछि अन्यले यस्ता कुरा पढ्दा समुदायमाथि नै लाञ्छना लाग्ने र यो कुरा चिरकालसम्म रहने भएकाले उनले ढुंगालाई नै माध्यमका रूपमा प्रयोग गरेका छन् । अन्य समुदायले आफ्ना कथालाई मनगढन्ते पारामा लेखिदिने भएकाले अब आफ्नो कला, आफ्नो पहिचानलाई सही ढंगमा उनी आफैँ लेख्ने उद्घोष सो कलामार्फत गरिरहेका छन् । उनका कला हेरेपछि अग्रज पत्रकार नारायण वाग्लेले ‘हामी कस्तो इतिहास पढेर हुर्केका हौँ ? लोकसेवा आयोगको कुनैवेलाको ‘नयाँ पाठ्यक्रम’मा आधारित (अ)सामाजिक अध्ययन’, जसले चित्रकार सुभाष तामाङलाई आफ्नो इतिहास आफैँ लेख्नुपर्छ भन्ने ऊर्जा दियो,’ भनी ट्विट नै गरेका छन् । 

इतिहासका केही घटना, केही परिस्थिति, केही संरचना र तत्कालीन राज्य व्यवस्थासँग उनका कलाले प्रश्न गरिरहेका छन् । कलाकारले मनमा उब्जिएका प्रश्नसँगै आफ्ना समुदायका कथा भनिरहेका छन् ।

 

‘कागजी रकम’ शीर्षकमा सुभाषले सातवटा कलाको सिरिज नै बनाएका छन् । तत्कालीन शासक र सामन्तहरूले तामाङ समुदायलाई लोक्ता कागज बनाउन लगाएको प्रसंगलाई उनले मज्जैले कलामा उनेका छन् । पहिला– पहिला लोक्ता कागज नुवाकोटमा तामाङ समुदायलाई बनाउन लगाउने र काम सकिएपछि या त पारिश्रमिक नदिने वा कम दिएर काम लगाउने गरिएको इतिहास उनले पाएको बताएका छन् । राज्यबाटै कृषिकर्म वा आर्थिकोपार्जनमा लाग्नुपर्ने वेलामा ‘अन्य’ काममा लगाइँदा तामाङ समुदायले कहिल्यै आर्थिक रूपमा सशक्त हुन नपाएको उनको बुझाइ रहेको छ ।


उनको कलामा गोले काइँला ‘तुलाराम तामाङ’ भन्ने पात्र पनि परेका छन् । २००७ सालको आन्दोलनमा विराटनगरमा मारिएका गोले आन्दोलनकारी थिए, विद्रोही थिए । उनको सहादतपछि नेपालमा प्रजातन्त्रको उदय भयो । तथापि उनलाई कहीँ कतैबाट खोजीनिति भएन र एक सहिद गुमनाम रहिरहे । यसरी गुमनाम रहेका ती क्रान्तिकारीलाई समेत उनले ‘उडकट’ माध्यममा चित्रण गरेका छन् ।

 

तामाङ समुदायका यी योद्धालाई कलाबाट श्रद्धाञ्जली दिएको बुझ्न सकिन्छ ।उनको कलामा देखिएका अर्का पात्र हुन् असिने लामा । असिने लामासँग असिना पर्ने वेलामा तन्त्र विद्याद्वारा असिना पन्छाउने कला रहेको बताइन्छ । उनको यो कार्यका लागि जंगबहादुर राणाबाट बाली उठाउन पाउने हुकुम भएको रोचक प्रसंग रहेछ, सो कुरालाई इचिङ प्रिन्ट र उडकट माध्यममा पस्केका छन् । तामाङ समुदायमा तन्त्र विद्याप्रतिको अभिरुचि र सो समयको सामाजिक चेतलाई कलाकारले पर्गेल्ने प्रयास यो कलामा गरेका छन् ।

 

उनको कलामा ‘पिपा’ यानी सेनाका भरियाको कथा पनि परेको छ । मुख्यतया राणाकालमा या सोभन्दा पनि अघिदेखि सेनाको भरियाको रूपमा पिपा दर्जा रहेको पाईन्छ । तामाङ समुदाय नै विशेष रूपमा पिपाको रूपमा काम गरेको इतिहासले बताउँछ । जातीय रूपमा तामाङहरूलाई नै सो पदमा काम दिइन्थ्यो । सोभन्दा माथिको पदमा तामाङ समुदायलाई स्थान नदिइएको विषयलाई नै सुभाषले चित्रण गरेका छन् । जातविशेषका आधारमा निजामती साथै सैनिक सेवालाई समेत वर्गीकरण गरिएको अवस्थालाई उनले आफ्नो कलामा ल्याउने प्रयास गरेका छन् ।


यसरी विविध विषय र शैलीमा कला प्रस्तुत गरिरहँदा उनको कलामा नेपालका आदिवासी र विशेषगरी तामाङ समुदायले पवित्र फूलको रूपमा मान्दै आएको टोटोला (कोकोम्हेन्दो)को फूललाई बढो रोचक ढंगले प्रदर्शित गरेका छन् । टोटोलाको फूललाई जोडेर उनले क्यान्भास बनाएका छन् र त्यसैमा अधिकांश कलाहरू सिर्जना गरेका छन् । यसरी ती क्यान्भास मात्र पनि आफैँमा रोचक रचनात्मक देखिन्छ । पारदर्शी क्यानभासमा कहीँ भारी बोकेका भरियाहरू छन् भने कहीँ गोले काइँलाका कथा बुनेका छन् । टोटोलाका फूलमा सिर्जित कला हेर्दा उनको लगनशीलता र एकाग्रतालाई दर्शकले अनुभूत गर्न सक्छन् । यसका साथै सुभाषले नेपाली लोक्ता कागजलाई पनि आफ्नो कलाको अंग बनाएका छन् ।

 

चित्र सतहका रूपमा उनका कलामा कागज र लोक्ताकै प्रयोग अधिक देखिन्छ भने टोटोलाका फूलको क्यान्भासले कलामा अझ रौनकता थपेको छ । इचिङप्रिन्टका साथै उडकट र ‘साइनोटाइप’ उनका कला सम्प्रेषणका माध्यम बनेका छन् । ‘साइनोटाइप’ माध्यम पुरानो कला शैली हो २० को दशकमा प्रख्यात थियो । सन् १८४२ मा वैज्ञानिक सर जोन हर्सेलले यो प्रविधिको आविष्कार गरेका थिए ।

 

नेपालमा केही कलाकारले यो विधामा कला गरेको भए पनि ग्यालरीमा सिरिजका रूपमा यस प्रकारको कला आफूले नदेखेको कला प्रवद्र्धक संगीता थापाको भनाइ छ । यस मानेमा सुभाषले दर्शकलाई नयाँ शैलीमा कलाको रसास्वादन गराएका छन् । तामाङ समुदायमा ताम्बाले गीतबाटै कथात्मक शैलीमा समाजलाई सचेत पार्ने काम गर्छन् । ती ताम्बालाई पनि भिडियो कलामा उनले पस्केका छन्, जसले पृथ्वीको उत्पत्तिको कथा तामाङ गीतमार्फत बताइरहेका छन् ।


आफ्नो समुदायको कथा जान्न बुझ्न खोज्दा विषयवस्तुको अभाव र लिखित दस्ताबेजको अभाव सुभाषले व्यहोरेका छन् । गलत इतिहासले वेलावेलामा समुदाय र समाजलाई फरक र गन्तव्यहीन बनाएको हुन्छ । कारण जुनसुकै होस्, समाजमा एकले अर्कोलाई उपेक्षा गर्नु निन्दनीय हो । तामाङ समुदायको अँध्यारो बनाइएको इतिहासलाई केलाउँदै सुभाषजस्ता कलाकारले नयाँ गोरेटोको पहिचान गर्न सक्नुपर्छ ।

 

समाज दिग्भ्रमित भएका वेला सबैलाई समेट्ने कला, साहित्य र संस्कृतिको निर्माण गरिनुपर्छ । सहचारी, सदाचार र एकतालाई बलियो बनाउँदै हिजोको इतिहासबाट पाठ सिकेर नयाँ युगको गन्तव्यमा पु¥याउन मार्गनिर्देश गर्ने कला साहित्य नै हो । संस्कृतिको अनेकौँ पाटाहरूलाई केलाउँदै नेपालीपनको आभाष दिनसक्नु नै आजको आवश्यकता हो । सुभाषको कलाले आफ्नो समुदायमाथि भएको उपेक्षा र दमनको जवाफ इतिहाससँग मागिरहेको छ, अनि इतिहासलाई प्रश्न पनि गरिरहेको छ ।