• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शिशिर वैद्य
२०७८ असोज ९ शनिबार ०७:२९:००
सम्झना

आमाको विस्मृति

२०७८ असोज ९ शनिबार ०७:२९:००
शिशिर वैद्य

विस्मृतिमा डुबेको मानिसले एउटै कुरा बारम्बार दोहो¥याउँछ । उसको कुरा सुन्नेलाई झिँझो लाग्छ । यो अस्वाभाविक होइन । उमेर ढल्किएपछि मान्छेका मस्तिष्कका तन्तु क्षीण हुन थाल्छन् । यसपछि विस्मृतिको अँगालोमा जान्छ मानिस । मस्तिष्कमा रोग लागेर विस्मृतिमा डुबेको मान्छेसँग घरपरिवारले गर्ने व्यवहार कहालीलाग्दो हुन्छ । 


आमा विस्मृतिको प्रारम्भिक चरणमा हुनुहुन्छ । मनोचिकित्सक रवि शाक्य भन्छन्­ ‘यो निको हुने रोग होइन । रोग बढ्न नदिने मात्रै एउटा उपाय हो । यसका लागि औषधी नियमित खानुपर्छ ।’ औषधी चलिरहेको छ । तर पनि तन्किँदै गएको समयले आमाको मानसिक अवस्थामा चुनौती पनि थप्दै गएको छ । अहिले अवस्था त्यतिसारो गम्भीर छैन । कतिवेला गम्भीर हुन्छ भन्न सकिँदैन । 


आमालाई कोभिडले समात्यो । हामी परिवारका सबै सदस्य पीडित भयौँ कोरोनाबाट । आमाको अवस्था यति रुग्ण थियो, उहाँले कोरोनालाई पचाइदिनुभयो । हामीले पनि भनेनौँ– आमा तपाईंलाई कोरोना भएको छ । कस्तो विडम्बना ! मलाई डर लाग्यो यो बिडम्बनासँग । प्रारब्ध, यो प्रारब्ध नै हो । 


आमाको कपाल सेतै फुलेको छ । कान कम सुन्नुहुन्छ । अनुहारको चमक, फुंग उडेजस्तो, हराएको छ । चम्किला आँखा केही भन्न खोजिरहे जस्ता छन् । वेला–वेलामा देखिने रौद्र रूप हराएको छ । आमा रिसाउँदा, कडा देखिँदा बडो रिस उठ्थ्यो मलाई पनि । आमासँग झगडा गरिन्थ्यो, ढिपी गरिन्थ्यो । अहिले आमाको स्वभाव र अवस्था देख्दा फेरि रिसाइदिए हुन्थ्यो नि जस्तो लाग्छ । 


आमाका आठ सन्तानमा अहिले तीनजना जीवित छौँ । पढाइ सकेर कमाउन थालेको जेठो छोरो गुमाउँदा आमा–बाले असीम पीडा भोगेका थिए । पहिलो सन्तानलाई गोठको चिसो भुइँले खाएको त्यो क्षण, घाँटीमा पैसा अड्किएर छट्पटाएको दोस्रो सन्तानको अनुहार, रगत सुक्दै गएकी सानी छोरीको विछोडको पीडा आमाले कसरी सहनुभयो होला ? त्यो पीडाको वर्णन गर्न कसले सक्ला ? आमाको आफ्नै बोलीमा, आफ्नै स्वरमा सम्झनाका तरेलीहरू सायदै सुन्न पाइएला । 


स्मृतिहरू सबै विस्मृतिमा परेका पनि छैनन् । कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठ ‘पण्डित’ बनेर सम्पन्न गरिएको आफ्नो विवाहको स्मृति अझै ताजै छ आमाको मनमा । माघ २९ गते बिहान चिया पिउँदै गर्दा उहाँले अचानक सोध्नुभयो­ आज कति गते ? जवाफमा माघ २९ गते सुन्नेबित्तिकै भन्नुभयो, ‘आज हाम्रो विवाह भएको दिन । २०११ सालमा भएको थियो विवाह । आमालाई आफ्नो विवाह कम्युनिस्ट पार्टीको कुनै नेतासँग हुँदै छ भन्नेसम्म थाहा थियो । तर, कम्युनिष्ट पार्टीका संस्थापक नेतामध्येका निरञ्जन गोविन्द वैद्यसँग हुनेचाहिँ थाहा थिएन । 


आमाको घरबार दुःखजिलो गरेर चलिरहेको थियो, यता बाको घरको अवस्था पनि उस्तै । राजनीतिक कार्यकर्ता, त्यसमाथि कम्युनिस्ट पार्टीको नेताको जीवन । न वासको ठेगान थियो, न गाँसको । बा जता–जता आमा उता–उता । कहिले रौतहट, कहिले वीरगन्ज, कहिले मकवानपुर, कहिले दिल्ली, कहिले प्याफलको पार्टी कार्यालय । रौतहटको गोठमा स्याउँस्याउँती आएका सर्प र मकवानपुरको विकट गाउँमा विषालु विच्छीका बथान सम्झिँदा आज पनि आमाको आङ सिरिंग हुन्छ रे ! कहिले वीरगन्जमा जेठाजुको शरणमा, कहिले मकवानपुर गोरुखोलापारिको गाउँमा किसानको गोठमा । त्यही गोठमा बस्दाबस्दै औलोले समात्यो । औलोको उपचार गर्न खर्चको अभावले पुर्‍याएको थियो वीरगन्ज ।

 

त्यहाँ आमाले उपचार त पाउनुभयो । बाको अस्थिर आर्थिक अवस्था र सधैँ अरूको भरमा बाँच्नु पर्ने परिवेशका कारण अपमान पनि व्यहोर्नुभयो । यस्तै स्थितिहरूले आमालाई बिस्तारै बासँग विद्रोह गर्न बाध्य गर्‍यो । बूढा–बूढीको सम्बन्धमा कटुताको प्रवेश भयो । आमाको यो विद्रोहले पूरै समाज, आफन्त, साथीभाइसँगको सम्बन्धलाई लपेट्यो । उहाँको स्वभाव रुखो र बोली कडा सुनिन थाल्यो । आफ्ना सन्तानको मुखमा माड नपर्ने भएपछि हरेक आमाले गर्ने विद्रोह नै त हो । 

 

बा राजनीतिका लागि घरबार छाडेर हिँडेपछि दाजुभाइले पुख्र्यौली सम्पत्तिमा आ­आफ्नो हक जनाउन थालेका थिए । बा केही नबोलेको देखेपछि आमाले आफ्नो हक सुरक्षित गर्न आवाज उठाउनुभयो । आमाले आफ्नो हकका लागि आवाज उठाउँदा परिवारमा ठूलो खलबली भयो । आमासँग सबै रिसाएका थिए । अतीतको सम्झनाले आमा अहिले पनि व्यथित हुनुहुन्छ । परिवारका जेठाबाठाहरू आमालाई साह्रै जुझारु मान्दथे । आमालाई बाध्यताले जुझारु बनाएको थियो । सात कक्षासम्म मात्रै पढे पनि आमा वाक्पटु हुनुहुन्छ । अहिलेका नाम चलेका नेताहरू आमाको कडा स्वभावसँग राम्ररी परिचित छन् । भन्छन्­ भाउजू अलि कडा स्वभावको हुनुहुन्छ । 

पढाइ सकेर कमाउन थालेको जेठो छोरो गुमाउँदा आमा–बाले असीम पीडा भोगेका थिए । पहिलो सन्तानलाई गोठको चिसो भुइँले खाएको त्यो क्षण, घाँटीमा पैसा अड्किएर छट्पटाएको दोस्रो सन्तानको अनुहार, रगत सुक्दै गएकी सानी छोरीको विछोडको पीडा आमाले कसरी सहनुभयो होला ?


आमाको रुखो र कडा स्वभावको म सधैँ प्रतिवाद गर्थें । अहिले अवस्था बदलिएको छ । वर्तमानमा आमाको अवस्था निकै पीडादायी बनेको छ । उहाँको दैनिकीमा परिवर्तन आएको छ । उहाँ घर व्यवहारका मामिलामा रुचि राख्नुहुन्थ्यो । केही दिन भयो, उहाँले अचानक घर–व्यवहारको जिम्मेवारी छाड्नुभएको छ । जानेर सोचेर होइन, बिर्सिन थालेर । बुढेसकाल लागेपछि मान्छेको स्वभाव बालबालिकाको जस्तै हुन्छ भन्छन् । म त्यस्तै अवस्था देख्दै छु आमाको । मैले बाल्यकालमा कति दुःख दिएँ हुँला आमालाई । कति पिरोले हुँला ।

 

आमाले कति जतनले कुल्या कुल्या गरेर मलाई नुहाइदिनुहुन्थ्यो होला । मलाई बडो जतनले आफ्नो काखमा राखेर मेरा आँखामा जमेको साबुनको पिरो पखाल्न प्रयत्नशील । सानोमा म नुहाउन भनेपछि असाध्य डराउँथेँ । अहिले आमा त्यस्तै हुनुहुन्छ । म सानो हुँदा जस्तै नुहाउन साह्रै गाह्रो मान्नुहुन्छ । कुनै वेला नुहाएपछि ज्वरो आएको सम्झना अड्किएर बसेको छ, उहाँको मस्तिष्कमा अहिले । त्यसैले ज्वरो आउँछ भन्दै पन्छिने बहाना गर्नुहुन्छ । निकै फकाएर, सम्झाएर, नुहाइदिनुपर्छ । चियाको तलतल बिहान पाँच बजेदेखि नै लाग्छ आमालाई । एक्लै बसिरहने भएर हो कि ? घण्टा–घण्टामा आफैँ चिया पकाउनुहुन्छ । अघि भर्खर चिया पिउनुभएको हैन ? भनेर सोधे, जवाफमा भन्नुहुन्छ– पिएँ र ? मैले त बिर्सिएँ । कोभिडका कारण भेट्न कोही नआउने भएपछि झन् एक्लै पर्नुभएको छ उहाँ ।


यद्यपि, आमाले असी वसन्त पार गरिसक्नुभएको छ, तैपनि उहाँ यति असक्त भएको मैले अनुभव गरेको थिइनँ । आमाको शारीरिक अवस्था अलिकति खस्किएपछि चिकित्सकको सल्लाह लिएँ । मधुमेहको दीर्घरोगी नै भनौँ । तैपनि, आमा खानामा परहेज गर्दै नगर्ने । सधैँ मीठो–चोखो खानुपर्ने । नुन, तेल, पिरो, अमिलो केही नछाड्ने ।

 

आखिर आफूलाई खान नहुने रोग नै लागिसकेपछि नियमित औषधि त खानु पर्‍यो नि । तर, आमा त औषधि नखाने, कहिले काहीँ त बदमास बच्चाले जस्तो औषधि नै लुकाइदिने । मधुमेहले च्याप्दै लगेपछि चिकित्सकले सिफारिस गरे– ‘इन्सुलिन ।’ आमाले देख्नेबित्तिकै मन पराउनुभएन इन्सुलिन । दिनहुँ इन्जेक्सन लगाउँदा पेटमा जता छोए पनि दुख्न थालिसक्यो, कति घोच्ने यो औषधि ? उहाँ दिक्क मान्नुहुन्छ । खाने औषधिले मधुमेह पटक्कै नधान्ने भएपछि चिकित्सकले सुझाएको घोच्ने औषधि अर्थात् इन्सुलिन लगाउनैपर्‍यो । 


म यतिवेला जीवनमा कहिल्यै कल्पना नगरेको अनुभव गर्दै छु । आमा यसरी अचानक विस्मृतिमा जानुहोला भन्ने कहिले सोचेकै त थिइनँ मैले । अहिले जे सोचेको थिइनँ, त्यही भयो । यसलाई प्रारब्ध नै भन्नुपर्ला । अर्को कुन शब्द हुन सक्छ र यस्तो अवस्थाको वर्णन गर्न ?