• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजकुमार दिक्पाल
२०७८ असोज ९ शनिबार ०८:४९:००
इतिहास

तामाङहरूले इतिहासमा भोगेको भुक्तमान

२०७८ असोज ९ शनिबार ०८:४९:००
राजकुमार दिक्पाल

काठमाडौं उपत्यका वरिपरि प्राचीनकालदेखि नै आवाद भएर पनि युगौँदेखि तामाङहरूलाई पछौटेपनले छाड्न सकेको छैन । काठमाडौंमै पुरातात्विक  अन्वेषणका क्रममा फेला परेको प्राचीन पाषण हतियारका आधारमा पुरातत्वविद् जनकलाल शर्माले ती हतियारसँग तामाङहरूलाई जोडेर उनीहरूको प्रागऐतिहासिकताबारे केही खुलासा गरेका छन् ।


उनले आफ्नो पुस्तक ‘हाम्रो समाज एक अध्ययन’ (२०७५ः३८८–३९२)मा रुसी प्रागऐतिहासिक पुरातत्वविद् डा. अनातोली याकोब्लेभ सटेन्कोको खोजलाई तामाङहरूको प्राचीनतासँग जनकलालले जोडेर हेरेका छन् । नेपाल सरकार र सोभियत संघ (रुस)सँगको सांस्कृतिक सम्झौताअनुसार लेनिनग्राद विश्वविद्यालय, पुरातत्व संस्थानका पुरातत्वविद् डा. सटेन्को २०३४ माघ २ गतेदेखि चैत ११ सम्म पुरातात्विक  अध्ययन गर्न नेपाल आएका थिए ।

 

उनले बूढानीलकण्ठको दक्षिणपूर्व बानियाँ पाखा र पण्डित गाउँको बीच भएर बग्ने धोबीखोलाका किनारमा केही पाषाण हतियारहरू फेला पारे । यस अध्ययनबाट डा. सटेन्को काठमाडौं उपत्यकाको मानवबस्ती मध्यपाषण युगदेखि चलिआएको निष्कर्षमा पुगे । डा. सटेन्कोको खोजीका आधारमा शर्माले आफ्नो पुस्तकमा पाषणकालीन मंगोलियनहरू तिब्बत हुँदै नेपाल आउँदा काठमाडौंमा आइपुगेको देखापर्छ भन्ने उल्लेख गरेका छन् । ‘हामी सबैभन्दा पुरानो बासिन्दा हौँ’ भन्ने तामाङहरूको धारणालाई यसले पुष्टि गर्ने शर्माको धारणा छ । उनका अनुसार उपत्यकामा बाहिरियाहरूको प्रवेश हुनथालेपछि तामाङहरू उपत्यका वरिपरि आवाद हुन पुगे ।


काठमाडौंमै यस्तो प्रागऐतिहासिक सभ्यता बोकेका तामाङहरू अहिलेसम्म पछौटेपनको सिकार हुनुमा अनेकौँ कारण छन् । इतिहास अध्ययन गर्ने हो भने सीधै राज्यले उनीहरूमाथि गरेका दमन र त्यसबाट उनीहरूले भोगेका भुक्तमानहरू अनेक छन् । त्यसैसँग सम्बन्धित केही ऐतिहासिक घटनाहरू यस लेखमा उल्लेख गरिएका छन् । 

विद्रोह र हत्या
रणबहादुर शाहको समयमा वि.सं. १८५० मा तामाङहरूले नुवाकोटमा ठूलो विद्रोह गरे । उनीहरूले सुरुमा सांस्कृतिक विद्रोह गरेको देखिन्छ । आफूलाई ‘अवतारी’ घोषणा गर्दै केही अगुवाहरूले नालदुम पश्चिम र वेत्रावतीपूर्वका मानिसलाई भारनागल्यामा भेला गराए । साँगाचोकका लामाले भने विमति जनाउँदा तिनको हत्या भयो । यो खबर पाएपछि विद्रोह दबाउन सरकारले दुई पल्टन सैनिक पठाई केही तामाङको ज्यान लियो । 


तर, उनीहरू चुपचाप बसेनन् । दुई महिनापछि तामाङहरूले निकै ठूलो विद्रोह गरे । साउन १० गते शिखरबेँसी, ताँवेसतार, नर्जा र कविलासका तामाङहरू जुरुक्क उठे । विद्रोह गरेको खबरपछि सरकारले फौज पठाई एक हजारजनाको ज्यान लिएकोे ऐतिहासिकपत्र इतिहासकार दिनेशराज पन्तले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को पूर्णांक ६४ (चैत, २०४१ः१–३)मा प्रकाशित गरेका छन् ।

दरबारमा सुसारेहरू नियुक्त गर्ने प्रचलन छँदै थियो । तिनै सुसारेमध्ये एक दिलकुमारी ब्लोनलाई भीमशमशेरले विवाह गरी सीता बडामहारानी बनाए । उनका लागि सीता भवन पनि बनाइदिए, जहाँ अहिले बालमन्दिर रहेको छ ।


विद्रोह दमन गरिएपछि त्यहाँका तामाङहरूलाई आ–आफ्नो थातथलोमा रहन थामिदिएका पत्रहरू सरकारले पठायो । इतिहासकार महेशराज पन्तले ‘पूर्णिमा’को पूर्णांक ७५ (मंसिर, २०४५ः१८) मा ‘विद्रोहपछि वि.सं. १८५०मा लच्याङ मुर्मीलाई थामिदिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शीर्षकमा प्रकाशित पत्रमा यससम्बन्धी तथ्य पढ्न पाइन्छ । वि.सं. १८५० साउन सुदि २ रोज ४ मा जारी गरिएको पत्रमा ‘...आगे. लच्याङका मुःर्वि प्रजापति. तिमीहरूका गाउंका उपध्राया.कुल् पस्ता तेस् हुल्मुल्मा जो साञिधुवा हुन् काटिया. उन्का. कविलालाई. आफ्ना आफ्ना जग्गामा बस भनि फिराइ बक्स्यैको छ. तिहमेरुको घरवारि. षेत. षोरिया. जो रह्याको आल्माल्. भागिगयाका जो छौ. आफ्ना घरबारिमा आई बस. धामिका मार्फत.....को टहल परापूर्वको रित गर.’ भन्ने परेको छ ।


यस्तै, व्यहोरा भएका रुक्काहरू वि.सं. १८५० श्रावण सुदि ६ मा फोकटपुर, तापेका, सानोगाउँ, धैवुङ, कामचोक, उपल्लो गेर्खु, हिल्पा, भुलुटार–जेवाङ, कविलास, चोग्दे, पुदिकेतिक्पा र चिद्याङका मुर्मी (तामाङ)हरूको नाममा पनि जारी गरिएको ‘रेग्मी रिसर्च सेरिज’ (डिसेम्बर, १९८४ः१२९) पढ्दा थाहा हुन्छ । यो विद्रोहको फैलावट निकै ठूलो थियो । पाँचसयखोला क्षेत्रका बासिन्दाका नाममा वि.सं. १८५० श्रावण बदि १२ मा जारी गरिएको रुक्कामा मुर्मी समुदाय विद्रोहमा सामेल भएकाले समातिएका र काटिएका उल्लेख गर्दै यदि कुनै विद्रोही त्यहाँ लुकेर बसेका रहेछन् भने समातेर अमालीमा बुझाउनसमेत आदेश दिइएको छ । आजभन्दा दुई सय २८ वर्षअघि हजारजनाको ज्यान जाने गरी विद्रोह हुनु चानचुने घटना हुँदै होइन ।

गोसाइँकुण्डमा अर्को विद्रोह
वि.सं. १८४८र४९मा चीन र नेपालबीच युद्ध हुँदा गोसाइँकुण्डआसपासमा एउटा विद्रोह भएको थियो । विद्रोह मच्चाउनेहरू बौद्धमार्गी थिए । त्यहाँका स्यार्पाप्रति भोटियाहरूले सहानुभूति राख्ने भएका कारण नेपालबाट अलग हुन उनीहरूले विद्रोहको झन्डा खडा गरेका थिए भनी इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पूर्णिमा’को पूर्णांक ६३ (चैत, २०४१ः२०) उल्लेख गरेका छन् । यी विद्रोहीहरूलाई दमन गर्न नयाँ सरदार अमरसिंह थापा (भीमसेन थापाका पिता) र शत्रुसाधन शाहीलाई खटाउँदा उनीहरूले ती स्यार्पाहरूको संहार गरिदिए ।


यसरी काटिने तथा मारिनेका छोरी–बुहारीहरू पक्रिएर ल्याइए । तीमध्ये दासी गराएर केहीलाई रणबहादुर शाहले आफ्नो महलमा राखे भने केही भारदार तथा अफिसरहरूलाई बाँडिदिए ।आचार्यले गोसाइँकुण्डआसपास भनेर जुन ठाउँलाई उल्लेख गरेका छन्, यो रसुवा क्षेत्र हो । उनले उल्लेख स्यार्पा भनेको शेर्पा हो । तर, शेर्पाहरूको मूल बसोवासस्थल गोसाइँकुण्ड (रसुवा) क्षेत्र सोलुखुम्बु र दोलखा हो । रसुवाचाहिँ तामाङ र ह्योल्मोको मुख्य बसोवासस्थल हो । अझ रसुवा जिल्लामा अन्य जातिको तुलनामा तामाङहरू अधिक छन् । आचार्यले उल्लेख गरेअनुसार विद्रोहमा उत्रने शेर्पा नभई तामाङहरू हुनुपर्छ । यस ऐतिहासिक तथ्यले विद्रोहमा उत्रेर मारिने तामाङहरूका छोरी–बुहारीलाई राज्यले कतिसम्मको व्यवहार गरेको रहेछ भन्ने स्पष्ट हुन्छ । 

तामाङहरूको दुरुपयोग
राज्यले तामाङहरूलाई अनेक किसिमले दुःख दियो । उनीहरूलाई निकृष्ट काममा लगाएर उनीहरूको चरम दुरुपयोग पनि गरियो ।कीर्तिपुरेको नाक ओठ काटिएको घटना स्पष्ट रूपमा खुल्ने एउटा पुरानो लिखत फेला परेको छ । कीर्तिपुरमा गोर्खालीहरूले विजय हासिल गरिसकेपछिको केही तथ्यहरू उक्त लिखतमा पाइएको छ । लिखतमा उल्लेख भएको विवरण यस्तो छः


अघिका कीर्तिपुर कालरात्रिमा सुर प्रताप साह कन यकाक्षि गरिदियाको रिसले नपाल सम्वत ८९६ साल अक चत्र सुक्त त्रः नया ।।  ।। वारका दिन किर्तिपुर प्रवेश गरि वाहालि चलाइ भालिका दिनमा बाह« १२ वर्ष देषि उभोका प्रजाहरू सबैले राजाका सलाम गर्नु आउनु भनि छलकाल गरि बोलाइ कोतमा थुनि— दिनपछि सबै प्रजाहरूका नाष कातिदियो र नाष तौलाइ हेर्दा बाह्र १२ धार्नी १ सेर ६ तोला छ । प्रजाहरू ज्मा आठ सय पयसथि ८६५ जना फेरी इन ।। दिनपछि नाष काटन्या भोत्याहरूलाई नाष मात्र कात भन्याका ओठ स्मेत कातिदियो भनि भोत्याहरू सबै ज्मा जमलोक पथाइया०जुन किर्तिपुरका प्रजाहरू साथ ७ वर्ष स्म गोर्षालिकन हतांइ लदाञि गरि थामिराष्या¥या. यस्ता विर सिपाहिलाइ नाष काति षराष् गरिदिया ।।  ।। किर्तिपुरका कोत किर्तिपुरका प्रजाहरूका घर सबै आगो लाई नास गरिदिया ।।  ।। यस्ता किर्तिपुरका प्रजाहरूका नाष कातनलाईः ६ महिनाअघि चोवाहलका गणेशका नाष फुतिआया । 

यसरी काटिने तथा मारिनेका छोरी–बुहारीहरू पक्रिएर ल्याइए । तीमध्ये दासी गराएर केहीलाई रणबहादुर शाहले आफ्नो महलमा राखे भने केही भारदार तथा अफिसरहरूलाई बाँडिदिए ।


यो लिखत इतिहासकार भागवत नेवार (भागवतनरसिंह प्रधान)बाट यो लेखकले प्राप्त गरेको हो । भागवत नेवार ब्राइन हज्सनलाई पुराना लिखत संकलन गरी सहयोग गर्ने खरदार जितमोहनका सन्तति नातेदार (भान्जा खलक) हुन् ।
यस लिखतबाट विजित भइसकेका कीर्तिपुरेको नाक र ओठ काटिसकेपछि उनीहरूको बस्तीमा आगो लगाइएको र कीर्तिपुरेको नाक ओठ काट्दा भोट्या (तामाङ)हरूको प्रयोग गरिएको तथ्य खुल्छ । 


यस कागजमा ‘...नाष काटन्या भोत्याहरूलाई नाष मात्र कात भन्याका ओठ स्मेत कातिदियो भनि भोत्याहरू सबै ज्मा जमलोक पथाइया...’ भन्ने परेको छ । यो कागज कुनै नेवारले लेखेको हुँदा नेवारी जिब्रोको उच्चारणअनुसार ‘भोट्या’ भनी लेख्दा भोत्या भनेर लेखिएको छ । कुनै समय तामाङहरूलाई ‘मुर्मी भोट्या’ भनी सम्बोधन गरिएको इतिहास पाइन्छ । यसमा ‘नाक काट्ने भोट्याहरूलाई नाक मात्र काट भनेको ओठसमेत काटिदियो, त्यसो गरेकाले उनीहरूलाई पनि मारियो’ भन्ने स्पष्ट हुन आउँछ ।


पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार अभियानअन्तर्गत सबैभन्दा पहिले वि.सं. १८०१ असोजमा कान्तिपुर अधिनस्थ नुवाकोट हात पारे । गोरखालीले वि.सं. १८१९ असोजमा तिमाल क्षेत्र जिते । यी क्षेत्रहरू तामाङको बाक्लो आवादी रहेको क्षेत्र हुन् । पृथ्वीनारायण शाहले कीर्तिपुरको पहिलो युद्धमा आफ्ना प्रिय सेनापति कालु पाँडे मारिएको मात्रै होइन, आफ्नै ज्यान जोखिममा परेको र दोस्रो युद्धमा आफ्नो भाइ सुरप्रताप शाहको एउटा आँखा फुटेको घटना बिर्सिएका थिएनन् । यहीँ प्रतिशोध साँधेर आत्मसमर्पण गरी विजित भइसकेका १२ वर्षमाथिका कीर्तिपुरे पुरुषहरूलाई नाक र ओठ काटी सजाय दिनेजस्तो अप्रिय काममा पृथ्वीनारायण शाहले सोझासीधा तामाङहरूलाई प्रयोग गरेको देखिन्छ ।

राज्यको भारी बोक्ने भरिया
तामाङहरूलाई लामो समयदेखि राज्यले बन्दुक बोक्ने सिपाही होइन, भारी बोक्ने भरिया बनाइरह्यो । उनीहरूलाई पल्टनको बन्दोबस्तीका लागि काम गर्ने पीपा गोस्वारामा सीमित गरियो । पीपा गोस्वारामा काम गर्ने अधिकांश जवान तामाङ नै हुन्थे । उनीहरूले अरू सैनिकले पाउने पद त पाउँथे, तर हतियार बोक्न वा चलाउन भने नपाउने । यस अर्थमा सैन्यका नाममा पीपा गोस्वाराका जवानहरूको काम एकजना मजदुरले गर्नुपर्ने कामजस्तै थियो । उनीहरूको पद सुबिदारभन्दा माथि जाँदैनथ्यो ।


नेपाल सरकार र संयुक्त तामाङ संघर्ष समितिबीच २०६६ साउन २० गते एक सहमति भयो । सहमतिका बुँदाहरूमध्ये बुँदा नम्बर ३ मा नेपाली सेनामा विगतको पीपा गोस्वारा र हालको बन्दोबस्ती गणलाई सैनिकसरहको सेवा–सुविधा प्रदान गर्ने र बुँदा नम्बर ४ मा तामाङहरूको छुट्टै गणको व्यवस्था गर्ने उल्लेख छ ।


पृथ्वीनारायण शाहले तामाङहरूलाई युद्धका समयमा भारी नै बोकाएका थिए । इतिहास शिरोमणि आचार्यको पुस्तक ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१ः४१८) मा तामाङहरूलाई पाखाबाली हुने जग्गा किपटका रूपमा दिएर युद्धको समयमा भारी बोकाइएको उल्लेख गरिएको छ । आचार्यले ‘गोर्खालीहरूले माझकिराँत हान्दै गर्दा पूर्वपट्टिको पहाडमा बाटाघाटा असजिला हुनाले भरियाको बन्दोबस्त मिलाउन पृथ्वीनारायण शाहले सैनिक भर्ना नहुने मुर्मी, सुनुवार र थामीलाई पाखाबाली हुने जग्गा किपट दिई युद्धको काममा रसद हतियार आदि तोक्ने काम ठेकिदिएका थिए’ भनी उल्लेख गरेका छन् ।


आचार्यले यस प्रसंगमा राखेको पाद टिप्पणीमा यसै साल (वि.सं. १८२९)बाट तामाङ (मुर्मी)हरूले किपट पाएको र यसअघि उनीहरूले किपट पाएको कागज आफूले नभेटेको उल्लेख गरेका छन् ।मानवशास्त्री डोरबहादुर विष्टले आफ्नो पुस्तक ‘सबै जातको फूलबारी’ (२०६४ः४२) मा त्यो वेलाको पल्टनमा भर्ती हुन आए पनि तामाङहरूलाई भारी बोक्ने पल्टनमा मात्र भर्ती लिइन्थ्यो भन्ने उल्लेख गरेका छन् । यसरी तामाङ राज्यले लामो समयसम्म भरिया बनाइरह्यो ।

‘तामाङ’ लेख्न पनि सकस
जो आज आफूलाई ‘तामाङ’ भनी गौरव गर्छन्, उनीहरूले विगतमा तामाङ लेख्न पाउँदैनथे । पुराना अर्थात् खासगरी शाहकालीन अभिलेखहरूमा हालका तामाङहरूलाई ‘मुर्मी भोट्या’ भनिएको पाइन्छ । यसैगरी, उनीहरूलाई ती अभिलेखहरूमा ‘मासिन्या जात’को कोटीमा राखिएको छ । मासिन्या जात भनेको मार्न, दास बनाउन र बेच्न सकिने जात हो ।


तामाङहरूले वि.सं. १९८९ देखि मात्रै आफूहरूको जातथरमा ‘तामाङ’ लेख्न पाउने स्वीकृति प्राप्त गरे । यसका लागि तत्कालीन श्री ३ महाराज भीमशमशेरले एक इस्तिहार जारी गरिदिए । आफूहरूले ‘तामाङ’ लेख्न पाउनुपर्ने माग गर्ने अघिसरा सरदार जंगवीर तामाङ हुन् । तिब्बती भाषामा ‘तामाङ’ शब्दको अर्थ खुलाउँदा ‘ता’को अर्थ घोडा ‘माङ’को अर्थ व्यापारी वा धनी हुन्छ । उनीहरूलाई घोडचडी पनि भन्ने गरेको पाइन्छ । 


भाषाशास्त्री अमृत योञ्जन तामाङका भनाइअनुसार भने ‘ताम’ भनेको कुरा अर्थात् भाषा र ‘पाङ’ भनेको बोल्नु हो । यसरी ‘ताम’ र ‘पाङ’ मिलेर तामाङ भएको हो । यसको अर्थ कुराको पहल गर्ने वा भाषाको उत्पति गर्ने भन्ने लाग्छ ।तर, तामाङहरूले आफूहरूलाई मुर्मी र त्योसँगै भोट्या अर्थात् ‘मुर्मी भोट्या’ भनी सम्बोधन गरेको मन पराएनन् र तामाङ लेख्न तत्कालीन शासकसमक्ष जाहेर गरे । त्यो स्वीकृति पनि भयो । श्री ३ भीमशमशेरले उनीहरूलाई वि.सं. १९८९ भाद्र ६ रोज १ मा ‘...अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राजभरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउने गर्नू, सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नू’ भनी एक इस्तिहार नै जारी गरेका थिए ।


हुन त भीमशमशेरले यस्तो इस्तिहार जारी गर्नुअघि नै पहिलो विश्वयुद्धको बेला बेलायती सेनाका लागि रिक्रुटमा जवानहरू भेला गर्न उर्दी गर्दै चन्द्रशमशेरले वि.सं. १९७२ मा जारी गरेको सनदमा तामाङ जाति उल्लेख गरिएको पाइएको छ । सनदमा ठकुरी, घले, सुनुवार, मतवाली खस, क्षत्री, मगर, रानाभाट, तामाङ, गुरुङ, लिम्बू किराँती राई, नगरकोटी र श्यार्पालाई रिक्रुट भर्तीका लागि योग्य जाति भएकाले उनीहरूमध्येबाट नौजवान लिन आदेश दिएको छ । युद्धका समयमा रिक्रुटका लागि जवानहरू आवश्यकता पर्दा तामाङ शब्द प्रयोग गरिए पनि अन्य वेला उनीहरूलाई मुर्मी भोट्या शब्द नै प्रयोग गर्ने गरिएको थियो ।

बेचबिखनको पीडा
तामाङहरूले भोग्नुपरेको अर्को पीडा हो, मानव बेचबिखन । तामाङ चेलीहरू बेचबिखनको सिकार हुनुपरेको कारणमा पनि राज्यको दोष देखिन्छ । माथि गोसाइँकुण्डको विद्रोहको वेला पनि विद्रोहीका छोरी–चेलीहरू पक्रेर ल्याई रणबहादुर शाहले केही आफूकहाँ राखी केही भारदार तथा अफिसरहरूलाई बाँडिदिएको माथि उल्लेख भइसकेको छ । 


दरबारमा सुसारेहरू नियुक्त गर्ने प्रचलन छँदै थियो । तिनै सुसारेमध्ये एक दिलकुमारी ब्लोनलाई भीमशमशेरले विवाह गरी सीता बडामहारानी बनाए । उनका लागि सीता भवन पनि बनाइदिए, जहाँ अहिले बालमन्दिर रहेको छ । इतिहासकार पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्यवृत्तान्त’ (२०६५ः१९७) अनुसार जंगबहादुरकी ४२ पत्नीहरूमध्ये धाई नामकी एक पत्नी थिइन् । उनी भोटिनी (तामाङनी ?) थिइन् । सम्भवतः उनी पनि सुसारे हुँदै जंगबहादुरकी रानी बनेकी थिइन् ।


जबरा (उही, पृ. १९८) अनुसार आमा पत्ता लाग्न नसकेको जंगबहादुरकी एक छोरी थिइन्, डम्बरकुमारी । उनी बनारसमा वेश्याकोठी खोलेर बसेकी थिइन् । उनलाई कुनै तरहले नेपाल फर्काएर ल्याउन जंगबहादुरले धीरशमशेरलाई त्यसतर्फ पठाउँदा उनी असफल भएर फर्केका थिए । त्यसपछि उनले राजपुरोहित वामदेव पण्डितलाई डम्बरकुमारीलाई फर्काउन पठाए । त्यतिखेर डम्बरकुमारीको बनारसको दालकि मण्डिमा कोठी थियो । डम्बरकुमारी फर्कन मानिरहेकी थिइनन् । वामदेव पण्डितले पुलिस लगाएर उनको कोठीका सबै झ्यालढोकामा किला–काँटा ठोकेर कोठी बन्द गरिदिएपछि उनी बाध्य भएर नेपाल फर्केकी थिइन् ।


सम्भवतः उनै डम्बरकुमारीले नेपालको दरबारमा रहेका कतिपय सुसारेहरूलाई फकाइफुल्याई, धम्क्याई अनेक लोभ र डर देखाएर आफ्नो कोठीमा लैजान थालिन् । त्यसमा तामाङ चेलीहरू पनि परे । तामाङ जातिले मानव बेचबिखनको पीडा अहिलेसम्मै भोगिरहनुपरेको छ ।  यसरी तामाङहरूले इतिहासमा यस्ता अनेकौँ भुक्तमानहरू भोगे, जसका कारण उनीहरू युगौँ पछाडी धकेलिए ।