सहरको नामी संगीतगुरुले
उसलाई भनेको थियो–
तिमीले गिटार बजाएर खाँदिनौ
किनभने, बजाएपिच्छे हरेकपटक चुँडिरहेको हुन्छ
एउटा न एउटा तार
(कुन्नि, कुन आक्रोशमा बजाउँछे !)
गिटार भिर्नु उसको सोख हो
कहिलेकाहीँ त यस्तो पनि लाग्छ
ऊ कुनै हतियार बोकिरहेकी छे
र, दुस्मनहरूसँग भिड्न आतुर छे
टोलमा छे ऊ बदनाम
पण्डित उसलाई देख्यो कि अनुहार अमिलो बनाउँछ घृणाले
र, सोच्छ–
छोरो बोकेर हिँड्ने उमेरमा
ऊ किन गिटार बोकेर हिँड्छे
किन कहिल्यै जाँदिन मन्दिर
पूजाको थाली बोकेर
यसरी त सिद्धिन्छ धर्म र संस्कृति...
टोलको श्रेष्ठ भलाद्मीलाई
आपत्ति छ–
यो केटी किन मेरो अदबै राख्दिन ?
उसको ग्रन्च प्यान्टको आँखीझ्यालबाट चिहाउने
एक–दुई चोक्टा छालामा हिंसा गर्न भने चुक्दैन कहिल्यै
विस्मित छन् टोलका केटाहरू–
किन देखाउँछे ऊ माझी औँला हामीलाई
परिवारमा ऊ अप्रिय छे
आमाको गुनासो छ–
किन ऊ भान्छाको जिम्मेवारी बोक्दिन ?
बाबु लज्जित छ–
किन ऊ कुलको नाकको वजन बोक्दिन ?
दाइ अवाक् छ–
किन ऊ असल चरित्र बोक्दिन ?
भाइ दुःखी छ–
किन दिदी महिलामा हुनुपर्ने शालीनता बोक्दिन ?
सबैजना उसलाई केही न केही बोकाउन चाहन्छन्
तर, ऊ भने बस् गिटार बोकेर हिँड्छे
परिवार, टोल, सहर
अनि देश
सारा ऊसित नाखुस छन्
किनभने, जसरी छे बाँचिरहेकी ऊ
त्यसमा सामेल छैनन्
उनीहरूका सर्तहरू
ऊ गर्धनमा चे ग्वेभारा र कालो गुलाबको ट्याटु बोकेर हिँड्छे
केटाहरूलाई भाउ नै दिन्न
बिहे शब्दैसँग उसलाई घृणा छ
महिनावारी बार्दिन
चुरोट तान्छे
कहिलेकाहीँ ‘पट’ पनि हान्छे
त्यसमाथि अयला पनि खान्छे
अझ डरलाग्दो कुरो–
हरेक विषयमा धारणा व्यक्त गरिहाल्छे
त्योभन्दा नि भयानक कुरो–
फेमिनिस्ट–फेमिनिस्ट टाइपको कुरा गर्छे
झन् खतरनाक कुरो–
पर्खालहरू नाघ्नु उसको प्रिय खेल हो
म जान्दिनँ–
गिटार भिरिहिँड्ने युवतीले
गिटार बजाएर खान्छे कि खाँदिन
तर, उसलाई देख्दा
मनमनै सुनिरहेको हुन्छु
याम परिवर्तनको धुन ।