• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
दोभान राई
२०७८ असोज १६ शनिबार ०७:५६:००
समाज

बहुसांस्कृतिक राष्ट्रमा धार्मिक सहिष्णुता

२०७८ असोज १६ शनिबार ०७:५६:००
दोभान राई

गाउँबाट बोजुहरू काठमाडौं आउनुहुन्थ्यो, कहिले घुम्नका लागि, कहिले भेटघाटका लागि र कहिले उपचारका लागि । उहाँहरू काठमाडौं आएपछि पशुपति दर्शन गर्न जानुहुन्थ्यो र उहाँहरूलाई पछ्याउँदै म पनि जान्थेँ । सबेरै बिहानी, घन्टीको आवाज, धुपको वासना, टपरीमा फूल, माला र मिठाई– यी सबै मीठा स्मरण भएर बस्थ्यो । हाम्रो परिवारमा देवीदेवताको पूजाआजा गर्ने भनेको यस्तै पशुपति जाँदा, मन्दिर जाँदा हुन्थ्यो या दसैँ–तिहारजस्तो चाडबाडमा । हाम्रो घरमा पूजा गर्ने कोठा वा कुना हुन्थेन र भगवान्को फोटो भित्तामा झुन्डिएको हुन्थेन ।


श्रीदेवीको पोस्टकार्डसँगै लक्ष्मीको पोस्टर हेर्दै लक्ष्मीको आकृति पेन्सिलले कागजमा उतार्थेँ । मुकुट, गहना र सारीमा सुसज्जित देवीहरू चित्रमा उतार्न मलाई एकदम रमाइलो लाग्थ्यो । लक्ष्मीपूजाको दिन अरूहरूको घरमा पीठोको पैताला बनाएको देख्दा हाम्रोमा पनि यस्तै हुनु नि जस्तो लाग्थ्यो । रामायणका तिलस्मी कथाहरू मेरा कल्पनाका निम्ति रोमाञ्चक खुराक थिए । हिन्दू संरचना, रीतिरिवाज, मिथक र बिम्बहरूको बीचमा नै म हुर्किएँ । मेरो बालमस्तिष्कमा यी सबै रंगीन र रमाइला लाग्थे । म हिन्दू हो कि होइन अथवा कति हिन्दू हो, थाहा थिएन । अरू साथीहरूभन्दा ती प्रतीकहरूमा मेरो पहुँच कम छ भन्ने आभास त थियो, तर त्यसलाई मैले म किराँती हुनुसँग बुझेको थिइनँ । मलाई लाग्थ्यो, हामी भर्खर काठमाडौं आएका हौँ । सायद काठमाडौंमा हाम्रो आफ्नै घर, आँगन र छत भएपछि हाम्रो आँगनमा पनि लक्ष्मीको पैताला हुन्छ होला


अनि छतमा टिलिक्क पूजाका भाडाहरू । जब म ६–७ कक्षामा पढ्दै थिएँ, हाम्रो परिवार र आफन्तजनमा कुरा भयो– अब हामी दसैँ नमान्ने । हामी हिन्दू होइनौँ, हामी किराँत धर्मावलम्बी हौँ । हिन्दू धर्म हामीमाथि जबर्जस्ती लादिएको परम्परा हो । हाम्रो धर्मलाई दमन गरेर, राज्य–संयन्त्रले झुक्याएर, हाम्रो पहिचानलाई सुनियोजित ढंगले मासेर, हामीलाई हिन्दूकरण गरिएको हो । यसैले हिन्दूकरणको विद्रोहस्वरूप र आफ्नो पहिचानका लागि हामी दसैँ बहिष्कार गर्छौँ । यो कुराले हाम्रो किराँत समुदायमा निकै तरंग ल्यायो । कति परिवारमा मतभेदको तनाव पनि । धेरैजसो बच्चा र वृद्धमा निराशा र न्यास्रोपन ल्यायो । मचाहिँ दसैँ बहिष्कारको पूर्णतः समर्थनमा थिएँ ।

 

म कमसल हिन्दू होइन, म फरक हो, म किराँती हो भन्ने नयाँ पहिचानले नयाँ ऊर्जा दिएको थियो । यो वेलासम्ममा ममा हिन्दू धर्मप्रतिको मोह पनि भंग भइसकेको थियो । रामायणका तिलस्मी कथाहरूको बीचमा सीताको उत्पीडन र व्यथा देख्न थालेको थिएँ । श्रीदेवीजस्ता राम्री अप्सराको कुरा हुँदा स्वर्ग त खालि पुरुषहरूका निम्ति कल्पेकोरहेछ भन्ने बुझ्न थालेँ । हिन्दू धर्म मान्ने मेरा साथीहरू महिनावारी हुँदा भान्सा र बैठकमा वर्जित हुन्छन् भनेर थाहा पाउँदा आपूm हिन्दू नभएकोमा राहतजस्तै महसुस भयो । महिलावादी चेतना बढ्दै गएपछि, विज्ञानप्रति रुचि बढ्दै गएपछि र सायद बाल्यकालका रहर कम हुँदै गएपछि मलाई हिन्दू धर्मप्रति नै आकर्षण कम भयो । 


हामी कक्षा ९ मा पढ्दा हिन्दू विद्यापीठबाट एउटा सर आउनुहुन्थ्यो । पाठ्यक्रममा पढाइने देवी–देवताका कथाभन्दा उहाँको कुरा अलि फरक हुन्थ्यो । ‘हामी आफ्नो शरीरलाई आपूm भन्छौँ, तर यो शरीर काटेर हेर्ने हो भने गुहु नै गुहु छ, तपाइँ आफ्नै शरीरसँग भाग्नुहुन्छ’ भन्नुहुन्थ्यो । यो सरले के बोल्छ के बोल्छ, जे पायो त्यै बोल्छ भनेर त्यो सरको क्लासमा धेरैजना झ्याउ मान्थे । मलाईचाहिँ रोचक लाग्थ्यो र सायद मेरो चाख देखेर होला, उहाँले मलाई दुईवटा किताब दिनुभयो– ‘तत्वज्ञान’ र ‘आत्मज्ञान’ । रोमाञ्चक उपन्यास पढेजस्तो ती दुई किताब निकै डुबेर पढेँ । धर्मको यो पक्ष पनि रहेछ भनेर ज्ञानको यही बाटोमा लागौँ कि जस्तो पनि लाग्यो । फेरि सोचेँ आत्मज्ञान भन्दै आफैँलाई नियालेर मात्र के गर्नु । समाज परिवर्तन गर्ने त आखिर विज्ञानले नै हो ।

रामायणका तिलस्मी कथाहरूको बीचमा सीताको उत्पीडन र व्यथा देख्न थालेको थिएँ । श्रीदेवीजस्ती राम्री अप्सराको कुरा हुँदा स्वर्ग त खालि पुरुषहरूका निम्ति कल्पिएकोरहेछ भन्ने बुझ्न थालेँ ।


कम्प्युटर विज्ञान पढ्न भनेर म अन्ततः अमेरिका पुगेँ । तर, त्यहाँ पुग्नेबित्तिकै मलाई चरम पुँजीवादको प्रदूषणले क्याक्क घाँटीमा अठ्याएजस्तै भयो । चरम व्यक्तिवाद र चरम उपभोक्तावादबीच मेरो चेतना छट्पटाएजस्तै भयो र म बुद्धका वाणी र उपनिषद्का पानाहरूमा सहारा लिन पुगेँ । मैले थाहा पाएका नेपाली समाजका रीतिरिवाज, किराँती हुन् या हिन्दू, तिनीहरूमा अन्तर्निहित सामूहिकताका आधार बुझ्न थालेँ । पक्कै पनि रिवाज र संस्कृति समाजका प्रतिगमनका अवशेष संहिताकृत गर्ने माध्यम पनि हुन्, तर ध्वंसात्मक व्यक्तिवादी रसातलबाट मानिसलाई राहत दिने आश्रय पनि हुन् ।


पढाइ सकेर म नेपाल फर्किँदा नेपाल ‘नयाँ नेपाल’ भइसकेको थियो । हिन्दू राज्यबाट नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको थियो । संघीयता र गणतन्त्रसँगै धर्मनिरपेक्षता नेपालको संविधानको आधारभूत स्तम्भका रूपमा स्थापित भएको थियो । नेपाली पात्रोमा दसैँ, तिहार, रामनवमी र कृष्णाष्टमी मात्र होइन, अब साकेला र छठ, इद र ह्लोछार पनि अंकित हुन थालेको थियो । 


धर्मनिरपेक्षताका निम्ति लामो समयदेखि संघर्षरत आदिवासी–जनजाति र धार्मिक अल्पसंख्यकले त धर्मनिरपेक्षताको हार्दिक स्वागत गर्ने नै भए, बहुसंख्यक हिन्दू समुदायबाट पनि ठूलो विरोध देखिएन । राजावादी र कट्टर हिन्दूवादी समूहबाट छिटपुट प्रदर्शन भए पनि हिन्दू राज्यबाट धर्मनिरपेक्षताको नेपालको रूपान्तरण सहज देखियो । यसलाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । एक तरिकाले यसलाई नेपाली समाज र नेपाली हिन्दूहरू साँच्चै सहिष्णु भएको दृष्टान्तका रूपमा लिन सकिन्छ । अर्को तरिकाले नेपाल धर्मनिरपेक्ष घोषित भए पनि कानुनतः, सामाजिक र व्यावहारिक रूपमा अझै हिन्दूराज्य नै निरन्तर भएको र हिन्दू वर्चस्वमा तात्विक परिवर्तन नआएको र यसले यथास्थितिलाई ठोस चुनौती दिन नसकेको रूपमा पनि अथ्र्याउन सकिन्छ । 


माओवादी संघर्ष र जनआन्दोलनको जगमा बनेको संविधानसभाले बनाएको नयाँ संविधानमा गणतन्त्र र संघीयता आउने अनुमान गरे पनि धर्मनिरपेक्षता पनि आइहाल्ने अड्कल सायद हिन्दूराज्यका पक्षधरहरूले काटेका थिएनन् होला । तर, राजतन्त्रको अवसानपछि हिन्दूराज्यको अवधारणा र औचित्य पनि एक हिसाबले समाप्त भएको हो । पृथ्वीनारायण शाहले असली हिन्दुस्तानको ध्वजामुनि गोर्खा राज्यको विस्तार गरेका थिए । विश्वका अन्य राजतन्त्रले आफ्नो औचित्य पुष्टिका निम्ति धर्मको सहारा लिएजस्तै नेपाली राजतन्त्रले पनि आफ्नो सामन्तवादी अस्तित्वलाई मान्यता दिन आपूmलाई विष्णुको अवतारका रूपमा स्थापित गरे ।

 

राजा महेन्द्रले २०१९ सालमा पञ्चायती संविधानमा नेपाललाई हिन्दूराज्य घोषणा गरेर हिन्दूकरणलाई संस्थागत गरे । विष्णुरूपी नरेश, ‘एक भाषा, एक भेष’सँगै अब हिन्दू धर्म नेपाली राष्ट्रियताकै मापक रह्यो । सगरमाथा र बुद्धको मात्र देश रहेन नेपाल, संसारको एक मात्र हिन्दू राष्ट्रको पहिचान बोकेको अद्वितीय राष्ट्र भयो । पृथ्वीनारायण शाहले नेपाल राज्यको इतिहासमा हिन्दू राष्ट्रवादको सुरुवात गरे भने महेन्द्रले नेपाली राष्ट्रवादको नै हिन्दूकरण गरे । हिन्दुवाद र एकतन्त्रीय राष्ट्रवाद दुइटै तानाशाही राजतन्त्रलाई वैधता दिने औजार बने ।


नेपाली जनतामा उदाउँदै गएको लोकतान्त्रिक चेतलाई दबाउन सुनियोजित रूपमा राजतन्त्र, हिन्दुवाद र राष्ट्रवादको जन्जाल बुनियो । बिम्ब र विधि, कथ्य र कानुन सबै जोडेर कौशलतापूर्वक यो जन्जाल यसरी बुनियो कि अब नेपालीले देशलाई माया गर्ने राष्ट्रवादी नेपाली हुन ऊ हिन्दुवादी राजतन्त्रवादी हुनैपर्ने । नेपाल हिन्दूराज्य र नेपालका राजा हिन्दू धर्मका प्रतीक । हिन्दू देवी लक्ष्मीको वाहन गाई, हिन्दुराज्य नेपालको राष्ट्रिय जनावर । गाई मास्ने अराष्ट्रिय र अपराधी र राजा गौरक्षक र धर्मरक्षक ।

हाम्रो देशको शासनसत्ता र शासकहरू मात्र होइन, ताकि हाम्रो समाज र सामाजिक चेतनामा नै हिन्दू आधिपत्य र हिन्दूकरणको गहिरो र व्याप्त प्रभाव रहेको यथार्थ छ ।


यो सुनियोजित ‘प्रोपोगन्डा’ मनोवैज्ञानिक तवरमा यति व्याप्त भयो कि र हिन्दूकरणको लक्ष्य प्राप्तिमा यति प्रभावकारी भयो कि २०७२ को नयाँ संविधानमा नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिँदागरिँदै नेपालको राष्ट्रिय जनावर फेरि पनि गाई घोषित गरियो र गौहत्या राज्य अपराध । नेपाल धर्मनिरपेक्ष घोषित हुँदाहुँदै यो देश पुर्खौँदेखि गाईगोरुको मासु खाँदै आएका समुदायहरूको साझा बहुसांस्कृतिक राष्ट्र हँुदाहुँदै, गौहत्याको अभियोगमा नेपाली नागरिकलाई कैद सजाय तोक्नु, सारा गाउँ–समुदायलाई त्रसित–आतंकित गर्नु राज्यको तर्फबाट गैरसंवैधानिक, अलोकतान्त्रिक र आपराधिक कदम हो । 
गाईगोरु मारेको आरोपमा आजीवन जन्मकैद सजाय भोगेका निर्दोषहरूका थुप्रै हृदयविदारक कथाहरू छन् । भर्खरै मात्र मकवानपुरका नौजना तामाङ र एकजना दलित हिरासतमा छन् ।


यो देशमा गोर्खा राज्यले हिन्दू राष्ट्रवादको झन्डा गाड्नुअगाडि नै यहाँका आदिवासी जनजातिहरू आ–आफ्नै विभिन्न धर्मसंस्कृति मानेर बसेका थिए । आफ्नो माटोअनुसार विभिन्न अन्न फलाएर, आपूmले पालेका गाईबस्तु, भेडा–बाख्रा, कुखुरा–सुँगुर खाँदै, जीविका धान्दै आएका थिए । आफ्ना चाडपर्व मनाउन, पाहुना–कुटुम्ब स्वागत गर्न, र आपूmले मान्दै आएका भगवान्, पितृ, प्रकृतिलाई पुज्न यिनै अन्न र पशुपक्षीको भोगचलन गर्दै आए । 


विभिन्न अभाव र अप्ठ्याराबीच दुःख–सुखले गुजारेको जीवनमा राज्यले राहत–सुविधा दिनु त कता हो कता उल्टै परापूर्वकालदेखि आर्जेको आफ्नो जीवन–पद्धतिलाई अपराधीकरण गर्नु राज्यबाट हुने अन्याय र हिंसा नै हो । पटक–पटकको आन्दोलन र बलिदानीपछि प्राप्त नयाँ नेपालमा अझै हिन्दू वर्चस्वको विभेदकारी कानुन निरन्तर हुनु लोकतन्त्रविपरीत हो । समावेशी लोकतन्त्रका निम्ति लड्ने सम्पूर्ण नेपाली जनतामाथि घोर धोका हो । हाम्रो संविधान साँच्चै धर्मनिरपेक्ष हो भने गौहत्याको अभियोगमा नेपाली जनतालाई जेलमा कोच्नु गैरसंवैधानिक हो ।


जब निर्दोष नेपाली जनता यस्ता विभेदकारी, गैरसंवैधानिक मारमा पर्दा यो अन्याय र धोकाको विरुद्धमा न्यायप्रेमी सम्पूर्ण नेपालीहरू मुखरित हुनुपर्ने, आन्दोलित हुनुपर्ने । तर, आज आदिवासी जनजाति, धार्मिक अल्पसंख्यक र धर्मनिरपेक्षका समर्थकहरू यो मुद्दामा खुला रूपमा विरोधमा आउन नसकी रक्षात्मक हुनुपरेको स्थिति छ । 


यो विषय निकै संवेदनशील र जोखिमपूर्ण छ । गौहत्याको आरोपमा कोही नेपाली जनता अपराधी तोकिन नपरोस् र जेल–सजाय भोग्नु नपरोस् भनेर विशुद्ध मानवअधिकारको कुरा गर्दा उल्टो र अनर्थ बुझिने वातावरण छ ।झट्ट सुन्दा गाई मार्न पाउनुप¥यो भनेर एक अबोध जनावरप्रति क्रुरता र हिंसाको पक्षधर भएजस्तो लाग्न सक्छ । गाईलाई माता मानेर पूजा गर्ने हिन्दू धर्मावलम्बीहरूको भावनालाई लत्याएजस्तो देखिन सक्छ । प्रतिशोधको भावनाले हिन्दूहरूसँग जानीजानी निहुँ खोजेजस्तो लाग्न सक्छ । नाथे एउटा जनावरको मासुको स्वादका लागि यो समाजको सहिष्णुता भड्काउन खोज्ने अविवेकी र अदूरदर्शीजस्तो प्रकट हुन सक्छ ।


यो देशको नागरिकको आधारभूत नैसर्गिक अधिकारको कुरा गर्दा यति विघ्न पूर्वाग्रहको सामना गर्नुपर्ने स्थिति हुनुमा हाम्रो देशको शासनसत्ता र शासकहरू मात्र होइन, ताकि हाम्रो समाज र सामाजिक चेतनामा नै हिन्दू आधिपत्य र हिन्दूकरणको गहिरो र व्याप्त प्रभाव रहेको यथार्थ छ ।


हिन्दू वर्णव्यस्थामा आधारित मुलुकी ऐनले चलाएको यो देशको इतिहासदेखि वर्तमानसम्म हाम्रो पाठ्यपुस्तकमा, हाम्रो कथ्यकाव्यमा, हाम्रो सञ्चारमाध्यममा, हाम्रो विचार–विमर्शमा सबैतिर हिन्दूदर्शन, हिन्दू दृष्टिकोण, हिन्दू अनुभूति, हिन्दू संवेदनशीलता र हिन्दू सौन्दर्यचेतकै आधिपत्य छ । के राम्रो के नराम्रो, के सही के गलत, के धर्म के अधर्म, हामी सबै हिन्दू मूल्य प्रणालीमा आधारित भएर नै मूल्यांकन र निक्र्योल गर्ने गर्छौँ । 


पक्कै पनि हिन्दू धर्मावलम्बीको गाईसँग गहिरो भावनात्मक र प्रतीकात्मक सम्बन्ध छ । तर, गाईसँग अन्य धर्म मान्ने अरू समुदायको पनि आफ्नै ऐतिहासिक र पारम्परिक सम्बन्ध छ । जसरी हिन्दूहरूले दसैँमा खसी मार हानेर खान्छन्, अमेरिकनहरूले ‘थ्यांक्सगिभिङ’मा टर्की चरा पकाएर खान्छन्, नेपालका कैयन आदिवासी समुदायले पितृपूजा र जमघटमा गाईगोरुकै मासु चढाउने र खाने गर्छन् ।


करुणाको आँखाले हेर्दा र अहिंसाको भावले हेर्दा त मानिसले निहत्था जीवको जीवन लिन नपरोस् नै भन्ने लाग्छ । भोलिको दिनमा हामीले आफ्नो आहाराका निम्ति कुनै पशुपन्छीको हत्या गर्नु नपरोस् भन्ने लाग्छ । आफ्नो पितृ र देवीदेवतालाई रिझाउन कसैको मरणलाई प्रतीक बनाउन नपरोस् भन्ने नै लाग्छ । जुन देशमा विशेष मठमन्दिरमा कहाँ कति बलि दिइयो भनेर उत्सवको समाचार बन्छ, विशेष चाडपर्वमा कति खसीबोका र भेडाबाख्राको आयात र खपत भयो भनेर सञ्चारमाध्यममा सहज तथ्यांक बन्छ, त्यहाँ त्यस्तै अर्को जनावरको भोग हुँदैमा पाप र अपराधको अभियोगमा कसैको जिन्दगी बर्बाद गर्नु कसरी अहिंसा र धर्म हुन सक्छ ?

 

हिन्दू समुदायको जसरी कुन जीव खाने र कुन जीव पुज्ने, कुन कार्य पवित्र र कुन अपवित्र, के धर्म र के अधर्म भनेर नियम र मान्यता छन्, त्यस्तै अरू समुदायका आफ्नै मौलिक मूल्य–मान्यता छन् । कुनै धर्म बहुमतले मान्दैमा, शासक वर्गले संरक्षण गर्दैमा त्यो धर्म अन्य धर्मभन्दा सत्य र श्रेष्ठ हुनुपर्छ भन्ने कदापि होइन । सबैलाई आपूmले सुन्दै आएका कथ्य र मिथक नै साँचो र मीठो लाग्न सक्छ, आफूले मान्दै आएका रीतिरिवाज नै स्वाभाविक र अनुकूल लाग्न सक्छ । 


धर्मसंस्कृति, चाडबाड, खानपान, नाचगान समुदायभित्रका व्यक्तिहरूलाई एक–आपसमा जोड्ने माध्यम हो । नयाँ अनुभव र पुराना स्मरण गाँस्ने धागो हो । सामूहिक भावना र चेतनाको संगम हो । एउटा धार्मिक विश्वदृष्टिको चस्माले हेरेर अर्को धर्मसंस्कृतिलाई अनुपयुक्त र अपवित्र मान्नु र सत्ताशक्तिको आडमा उसको पारम्परिक जीवनशैलीलाई अपराधीकरण गर्नु त्यस संस्कृति मान्ने सम्पूर्णको अवहेलना गर्नु हो, उनीहरूको इतिहास र पहिचानको अपमान गर्नु हो, उनीहरूले साँचेको स्मरण र बाँचेको जीवन सबैलाई अपराधीकरण गर्नु हो । यो जस्तो अपवित्र र असहिष्णु काम अरू के हुन सक्छ ?

पारम्परिक चालचलन समस्याग्रस्त हुँदैन भन्ने पक्कै होइन । धर्मसंस्कृति परिवर्तन हुनुहुँदैन भन्ने पक्कै होइन । हिन्दू धर्मकै इतिहासअनुसार हिन्दूहरू स्वयंले कुनै कालखण्डमा गाईको मासु खाने गर्थे । गाईबस्तुको मासु नेपालका जनजातिले मात्र खाने होइन, विश्वमा सबैभन्दा धेरै खपत हुने खाद्यमध्ये एक हो । जलवायु परिवर्तनले आज जुन अस्तित्व संकट आइरहेको छ, त्यसमा खाद्यका निम्ति गरिने गाईबस्तु पशुपालन एउटा ठूलो कारक हो । गाईबस्तुको मासु नेपालका हिन्दू र अरू धर्मावलम्बीले मात्र होइन विश्वका इसाई, इस्लामलगायत सबैले खान छाडे जीव–जनावरका लागि मात्र होइन सम्पूर्ण मानवको अस्तित्वका निम्ति सकारात्मक कुरा हो ।


साना–साना जातीय झुन्डबाट अगाडि बढेर राष्ट्रिय पहिचानमा जोडिँदै आज मानव समूह अन्तर्राष्ट्रिय समुदायमा एकीकृत हुने क्रममा छ । सायद भविष्यमा हामी एउटा साझा विश्व धर्ममा जोडिन्छौँ होला, अथवा सयाैँ थुंगा फूलहरूजस्तै विविध धर्महरू साझा विश्व फूलबारीमा फुल्छन होला, अथवा वसुधैव कुटुम्बकम्को सारअनुरूप मानवता र भातृत्वको अवधारणाले ओतप्रोत नयाँ विश्वमा धर्मको आवश्यकता नै वैकल्पिक हुन सक्ला । 

 

बदलिँदो विश्व बुझ्न नसकेर र बढ्दो अनिश्चिततासँग डराएर आज मानव समुदाय केही हिस्साहरू जातीय र सामुदायिक संकीर्णतामा ओत लाग्दै हिंसालाई औजार बनाउँदै विविधतालाई मास्न उत्रिएका छन् । हाम्रो छिमेकी राष्ट्र भारतमा हिन्दूत्वको ब्यानरमा घृणा र हिंसा छताछुल्ल भएको छ । हिन्दू धर्मले वकालत गर्ने विविधता, सहअस्तित्व र सहिष्णुताको मूल मर्मको विपरीत विषाक्त पुरुषत्वले संक्रमित मोदी र आदित्यनाथ ब्रान्डको हिन्दुत्व घृणा र डरको ध्वंसात्मक तमासा रच्न तल्लीन छ । 


हामी नेपालीहरूले साँच्चै रचनात्मक राष्ट्रिय पहिचान खोज्ने हो भने, राष्ट्रवादलाई मानवतावादी अन्तर्राष्ट्रियतावादसंग जोड्ने हो भने, हिन्दू धर्मले देखाएको वसुधैव कुटुम्बकम्को मार्गमा जाने हो भने सहिष्णुताको बिउ हामीले आजै रोप्नु पर्दछ । अल्पसंख्यकलाई अपराधिकरण गर्नु सहिष्णुताको बाटो होइन । विविधतालाई स्वीकार्नु र विविध अनुभूतिहरूलाई सम्मान र समानुभूति दिन सक्नु नै सहिष्णुताको आधारशिला हो ।