• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गीता रसाइली
२०७८ असोज १६ शनिबार ०९:०१:००
सम्झना

त्यो पहिलो र अन्तिम भेट

कमला भसिन महिलाले सुसेली हाल्नुहुँदैन भन्ने परम्परागत सोचविरुद्ध महिलाको ओठमा सुसेली छाडेर जानुभयो

२०७८ असोज १६ शनिबार ०९:०१:००
गीता रसाइली

 

सेतै फुलेको कपाल, चस्मा अनि रातो रंगको कुर्ता लगाएको फोटोले सुरुमै नजर तान्यो । ‘पितृसत्ताविरुद्धको लडाइँ पुरुषविरोधी लडाइँ होइन’ कमला भसिनले भनेको यो भनाइ कतै पत्रिकामा हेडलाइन बनेको थियो । उहाँका विचार र अन्तर्वार्ताहरू बिस्तारै खोजी–खोजी पढ्न थालेँ । उहाँको विचारले जोस र ऊर्जा भरिन्थ्यो । उहाँलाई पढ्न ढिला गरेछु भन्ने लाग्न थाल्यो । 


कमला भसिन दक्षिण एसियामा मात्र नभई विश्व महिला आन्दोलनमा एक परिचित नाम हो । उहाँले आफ्नो जीवनको पूरै समय महिला मुक्ति आन्दोलनमा खर्चिनुभयो । उहाँ हजारौँ महिलाको तागत हुनुहुन्थ्यो । संगठनको शक्तिमा विश्वास गर्नुहुन्थ्यो । दक्षिण एसियाका महिलाहरूलाई एकताबद्ध गर्न उहाँको महत्वपूर्ण भूमिका रह्यो । पितृसत्ताविरुद्धको आन्दोलनको अग्रणी व्यक्ति हुनुहुन्थ्यो उहाँ । 


समाजमा जातीय, वर्गीय, लैंगिक, भौगोलिक, धार्मिक असमानता छ भन्ने जब मैले बुझ्दै गएँ, त्यसवेलादेखि यो विभेदविरुद्ध लड्नुपर्छ भन्ने लाग्दै गयो । सानैदेखि न्यायका लागि लड्न घरबाटै सिकेँ । महिलावादी आन्दोलनको किताबहरू पढ्न थालेँ । संसारका महिला आन्दोलनका नेतृहरू रोजा, जेनी मार्क्स, क्रुप्कायको विचार र जीवनी पढ्न खुब चाख लाग्थ्यो । उनीहरूको संघर्षबाट म प्रभावित हुन्थेँ । यस्तै महिलाहरूको विचार पढ्ने क्रममा कमला भसिनलाई पनि पढ्न पुगेँ ।

 

उहाँको विचार मेरो मस्तिष्कमा सलबलाउन थाल्यो । उहाँलाई आइडलको रूपमा लिन थालेँ । आफ्नो आइडल व्यक्तित्वलाई भेट्ने सबैको इच्छा हुन्छ, मलाई पनि थियो । तर, त्यो मेरो पहुँचभन्दा टाढाको विषय थियो । केही वर्षअघि दिल्लीमा हिँड्दै गर्दा ‘कमला भसिनलाई भेट्ने हो ?’ भनेर फोटो पत्रकार उषा तितिक्षु दिदीले मलाई सोध्नुभयो । मैले उहाँलाई ‘नजिस्काउनु न दिदी’ भनेँ । उहाँले त साँच्चै सोध्नुभएको रहेछ । सोच्दै नसोचेको कुरा एक्कासि कानमा ठोक्किँदा थाम्नै नसक्ने गरी म खुसी भएँ । म त उडेर कमला भसिनकोमा पुगिसकेको थिएँ । त्यो खुसी एकैछिनमा निराशामा परिणत भयो । हामीले हतारमा भेट गर्न नसक्ने भयौँ ।


त्यसको केही समयपछि कमला भसिन नेपाल आउनुभएको खबरले फेरि उत्साह पैदा ग¥यो । उषा दिदीलाई भेटाइदिन अनुरोध गरेँ । दुर्भाग्यवश मैले जुन दिन थाहा पाएको थिएँ, त्यही दिन उहाँ दिल्लीका लागि प्रस्थान गरिसक्नुभएको खबर पाएँ । मेरो मन फेरि बेचैन भयो । अब कमला भसिनलाई भेट्ने कुरा मेरो पहुँचभन्दा टाढाको विषय हो भनेर उनलाई सोसल मिडियामै फलो गर्दै गएँ । एकजना दिदीले कमला भसिनले एक महिना फेमेनिस्ट सेसन चलाउने गर्नुहुन्छ, त्यसमा जानू भन्ने सल्लाह दिनुभयो । यो कुरा सुनेर असाध्यै खुसी लाग्यो । 


कमला भसिनले यो सेसन नेपालमै चलाइरहनुभएको छ भन्ने थाहा पाएँ, तर धेरै ढिलो भइसकेछ । उहाँलाई भेट्न पाउँछु कि भन्ने आशाचाहिँ लागिरह्यो । उषा दिदीले समय पनि मिलाउनुभयो । मेरो भुइँमा खुट्टा भएन । कहाँ गएर कसलाई भनौँ भयो र अफिसका साथीहरूलाई भनेँ । नग्मा बहिनीले पनि भेट्ने इच्छा गरिन् । अब हाम्रो योजना बन्न थाल्यो के लगाएर जाने ? के लिएर जाने ? कसरी बोल्ने ? के कुरा बोल्ने ? नमस्कार गर्ने कि हात मिलाउने ? कि अंकमाल गर्ने ? मनभित्र एक प्रकारको युद्ध नै चलेजस्तो भयो । छट्पटी सुरु भयो । उहाँका लागि उहाँकै फोटो र भनाइ राखेर कप बनाउन अर्डर दिएँ । भेट्ने दिन महिला भलिबल लेखेको टिसर्ट लगाएर गएँ । हाम्रो साथमा नग्माकी बहिनी स्वस्तिका पनि आइन् ।

 

तालिमको समापन नभएकाले हामीलाई हलमा नै बोलाइयो । हलमा पुग्दा खुसीले गोडा लगलग कामिरहेको थियो । ४०–४५ जना भएको हलमा मेरा आँखाले मात्र कमला भसिनलाई खोजिरहेको थियो । हामी बसेको दायाँपट्टि यसो मुन्टो फर्काएर हेर्दा उही सेतै फुलेको कपाल देखेँ । मुटुको धड्कन बढ्न थाल्यो । आफैँलाई पत्याउन गाह्रो भएको थियो । नग्मालाई चिमोटेर देख्यौ भनी इसारा गरेँ । नग्माले पनि मुस्कान दिइन् । हामी तीनको मुहारमा चमक नै अर्कै आयो । मलाई भने उफ्रिएर जाऊँ कि चिच्याऊँ कि के गराैं गरौँ छटपटी भयो । अझै करिब ३० मिनेटजति उहाँलाई भेट्न कुर्नुपर्ने भयो । ३० मिनेट ३० घण्टाजस्तो लागिसकेको थियो । 


तालिमको समापनपछि दायाँ हातले भुइँमा र देब्रे हातले देब्रे घुँडामा टेकेर उठ्नुभयो । मलाई सहारा दिन जाऊँ कि जस्तो लाग्यो । तर कसरी जाने ? म त एकपटक पनि बोलेको छैन । उचालिएका खुट्टा अरूले थाहा नपाउने गरी राखेँ । म बबुरोले के बिर्सेछु कि उहाँ आफैँमा एक सहारा हो । मेरा लागि, उनका लागि, हाम्रा लागि र हामी जस्तै धेरैका लागि । एक विचारका सहारा, आत्मविश्वासका सहारा अनि कला र कलाकारका सहारा । उहाँले हामी बसेको ठाउँमा आएर हामीलाई भेट्नुभयो ।


उषा दिदीले तपाईंका फ्यानहरू भनेर चिनाउनुभयो । हामीले नमस्कारसहितको मुस्कान दियौँ । कोठामा गएर कुरा गरौँ भनेर अगाडि लाग्नुभयो । हामीले उहाँलाई पछ्यायौँ । उहाँले ढोका खोल्दै हुनुहुन्थ्यो, मेरो आँखा ढोकाकै छेउमा राखेको छातामा प¥यो । मेरो मुखबाट फ्याट्ट निस्कियो ‘आपकी छतरी ?’ उहाँले सोध्नुभयो, ‘तुमको कैसे मालुम हुवा ?’ मैले जानी–जनाजी हिन्दी भाषामा भनेँ, ‘मैने आपकी भिडियो में आपका यसीवाली छतरी देखा था ।’ उहाँ ‘टेडटक’ कार्यक्रममा छाता लिएर आउनुभएको थियो । अनि भन्नुभएको थियो, ‘आज बर्साद थी, तोे मे छतरी ले आई ।’ त्यो कार्यक्रममा उहाँले हामीभित्रको आगो हाम्रो आत्मविश्वास र दृढ निश्चय हो भन्नुभएको थियो । मैले उहाँको आँखामा त्यही देखेँ, जसले मभित्रको आगो सल्काइसकेको भान भयो ।

 संसारका महिला आन्दोलनका नेतृहरू रोजा, जेनी मार्क्स, क्रुप्कायको विचार र जीवनी पढ्न खुब चाख लाग्थ्यो । उनीहरूको संघर्षबाट म प्रभावित हुन्थेँ । यस्तै महिलाहरूको विचार पढ्ने क्रममा कमला भसिनलाई पनि पढ्न पुगेँ


उहाँले हामीलाई यति सानो उमेरमा मेरो फ्यान कसरी भयौ भनी कुराकानी सुरु गर्नुभयो । विशेषतः यो प्रश्न स्वस्तिका बहिनीतिर लक्षित थियो । मैले भनेँ, ‘तपाईंको बारेमा धेरै पढेको छु, तपाईंका अन्तर्वार्ताहरू हेरेको छु ।’ उहाँले पक्कै आमिर खानसँगको भिडियो हेरेको होला हैन भनी रमाइलो ढंगले प्रतिप्रश्न गर्नुभएको सन्दर्भ सम्झिँदा म मुस्काउँथँे, तर आज मन भक्कानिन्छ । मैले लगेको कप उहाँलाई दिएँ । उहाँ खुसी हुनुभयो । कपमा कुदेको आफ्नो नाम हेर्दै भन्नुभयो कि मेरो नाम कमला भासिन हैन, कमला भसिन हो । मैले भनेँ– मिडियाबाट लिएको नाम हो । उहाँले ‘वही तो, नेपाली मिडिया लोग मेरा नाम गलत लिख्ते हें’ भन्नुभयो । नग्मा र स्वस्तिकाले आफैँले बुनेको गलबन्दी लगेका थिए । त्यो देखेर उहाँले आफ्नो छोरालाई याद गर्नुभयो । ‘मेरो छोरालाई हिमाञ्चल जाँदा लगाइदिन्छु’ भनी राख्नुभयो । 


सन्दर्भ जोडिँदै जाँदा १० वर्षे जनयुद्धबाट नग्मा र स्वस्तिकाको बाबा बेपत्ता बनाइएको र स्वस्तिका जन्माउँदा आमा बित्नुभएको र मेरी दिदीलाई बलात्कारपछि हत्या गरिएको विषयमा छलफल भयो । लामो समयदेखि द्वन्द्वपीडितहरूको न्यायको अभियानमा लागेको कुरा सुनाउँदा ‘उहाँले यति सानै उमेरमा नेता बनेको ?’ समेत भन्नुभयो । हाम्रो कुरा सकिँदा नसकिँदै हामी यति आत्मीय भयौँ कि हामीलाई उहाँले आफ्नो छोराछोरीको फोटो देखाउनुभयो । हामी बच्चाले आमालाई घेरा हालेजसरी उहाँको वरिपरि लुटपुटिएका थियौँ । हामीलाई कार्यक्रमको सहभागीहरूसँग हाम्रो बारेमा बताउन सकिन्छ कि भनी भेटाउने कुरा भयो । हामी त्यो दिन कार्यक्रमस्थलमा नै बस्ने भयौँ । बेलुका हलमा हाम्रो बारेमा कमला भसिनले नै बताउनुभयो । नग्मा र स्वस्तिकाको कथा भन्दा ‘ए दो लड्की कैसे जिन्दगीका सफर कर् रही हे मे हैरान हुँ’ भन्दै भावुक देखिनुभयो । हाम्रो स्टोरी सुनेर सबै प्रभावित भए ।


राति खानापछि फेरि फिल्म हेर्न हलमा जम्मा भयौँ । सबैकी दिदी कमला भसिनको सहभागीहरूसँगको आत्मीयता अर्कै किसिमको थियो । नाच्ने, गीत गाउने, सबैलाई मनोरञ्जन दिने कार्यमा उहाँ नै पहिला अघि सर्नुहुँदो रहेछ ।सहभागीहरूलाई सहज वातावरण बनाउने चुलबुले कमला भसिन यो संसारबाट बिदा भइन् भन्ने स्विकार्न अहिले धेरैलाई गाह्रो भएको छ ।


उहाँका सबै मनोरञ्जन महिला मुक्तिसँग सम्बन्धित थिए । डकुमेन्ट्री हेर्दा आफ्नो शरीरलाई सर्लक्क भुइँमा बिछ्याएर दुई कुइना टेकेर दुई हत्केलाले च्यापुलाई टेको दिँदै हेर्नुभएको दृश्य अझै आँखाबाट ओझेल भएको छैन । म डकुमेन्ट्री हेर्न भन्दा पनि उहाँको फोटो खिच्नमै व्यस्त थिएँ । एसियास्तरको सहभागी रहेको कार्यक्रममा पाकिस्तानबाट आउने सहभागीसँग हाम्रो सामीप्य बढेकाले मध्य रातपछि पनि कस्मिर, पाकिस्तान र नेपालको आन्दोलनका बारेमा हामीले विचार विमर्श गर्‍यौँ । बिहान हिँड्ने वेलामा एकमहिने तालिममा बस्ने इच्छा कमला भसिनलाई बतायौँ । अर्को वर्ष नग्मा र मलाई उहाँको कार्यशालामा बोलाउनुभएको थियो । उहाँले स्वस्तिकालाई पनि लिएर आऊ, ऊ घुम्छे, म खर्च व्यहोर्छु भन्नुभएको हिजै जस्तो लाग्छ । ‘संगत’ भन्ने संस्थासँग मिलेर काम गर भनेर उक्त संस्थाकी निर्देशक पूजा पन्तसँग जोड दिनुभयो । सोही वर्ष नै हिमाञ्चल तालिममा भेट्ने आशामा हामी छुट्टियौँ । त्यतिखेर हामीलाई के थाहा ? त्यो हाम्रो पहिलो भेट नै अन्तिम भेटमा परिणत हुनेछ भन्ने ।


कोभिड–१९ का कारण उक्त तालिम सञ्चालन हुन सकेन । परिस्थिति सहज होला र उहाँसँग फेरि भेट होला भन्ने लागिरह्यो । उहाँ उपस्थित हुने हरेक अनलाइन कार्यक्रममा सहभागी हुन्थेँ । सहभागी बढी भएर बाहिरिनुपर्ला भनी कार्यक्रममा पहिला नै जोडिएर बस्थेँ । कोभिडको समयमा घरभित्रै बसेर आफूलाई कसरी खुसी बनाउने ? भन्नका लागि उहाँले केटा र केटीको फरक र यी दुईको विभेदबारे चित्रमार्फत बुझाउने तरिका अपनाएर तयार पार्नुभएको भिडियो (बच्चाहरूका लागि) कोभिडको समयमा घरभित्र हुन सक्ने हिंसा, लामो समयभित्र बस्दा आउन सक्ने मनोसामाजिक समस्याबारे जुममार्फत चलाउनुभएको कार्यक्रमले किन नहोस्, यो सबैले मान्छेको डर भगाउन र समयको सदुपयोग गर्न मद्दत गरेको थियो ।


२५  सेप्टेम्बरको बिहान इन्स्टाग्राममा आएको एउटा म्यासेज हेरेर मेरो मुटुको धड्कन रोक्किएझैँ भयो । यो समाचारको विश्वसनीयताका लागि अरू सामाजिक सञ्जालमा हेर्न थालेँ । सामाजिक सञ्जालका भित्ताहरू कमला भसिनका फोटोले लपक्कै पोतिएका थिए । ‘हार्दिक श्रद्धाञ्जली’, ‘सामाजिक अभियन्ता कमला भसिनको महाप्रस्थान’, ‘अस्ताइन् कमला भसिन’, जस्ता शब्दले मलाई सत्यबाट भाग्न दिएन ।


हामी त उहाँलाई हिमाञ्चलमा भेट्ने प्रतीक्षा गरिरहेका थियौँ । हालै तालिबानले सत्ताकब्जा गरेपछि अफगानी महिलाको न्यायका लागि एसियाभरिका महिलाहरूलाई २५ सेप्टेम्बरमा सडकमा निस्किन आह्वान गरेर उहाँचाहिँ हामीबाट सदाका लागि बिदा हुनुभयो । महिलाहरूले सुसेली हाल्नुहुँदैन भन्ने परम्परागत सोचविरुद्ध महिलाहरूको ओठमा सुसेली छाडेर जानुभयो । हार्दिक श्रद्धाञ्जली कमला भसिन दिदी ।