• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७८ असोज २३ शनिबार १०:३१:००
रिपाेर्ट

भवनले छेकिदियो चङ्गा उडाउने आकाश

२०७८ असोज २३ शनिबार १०:३१:००
शिवहरि घिमिरे काठमाडाैं

‘सहरीकरणसँगै चङ्गा संस्कृतिमा ठूलो धक्का पर्‍यो’ 

 

संस्कृतिविद् सत्यमोहन जोशी २००७ सालतिर चङ्गा उडाउन लक्ष्मी निवास र बुढानिलकण्ठ साइट पुग्थे । त्यहाँ देशैभरका चङ्गा प्रतियोगीहरू जम्मा हुन्थे । दर्जनौँ चङ्गावाहकहरूबीच कडा प्रतिस्पर्धा हुन्थ्यो । दसैँ लागेसँगै आयोजना हुने चङ्गा प्रतियोगिता हेर्न सहरका मानिस मात्रै झुम्मिँदैनथे राजाहरू पनि पुग्थे । उडिरहेको चङ्गा देखेर निकै रमाउँथे । कोही ताली बजाउँथे, कोही औँलाले सिटी फुक्थे । ‘सबैभन्दा बढी उचाइमा जसको चङ्गा पुग्छ र अर्काे चङ्गालाई काट्छ, उसैको चङ्गाले जितेको मानिन्थ्यो,’ संस्कृतिविद् जोशी भन्छन्, ‘कतिपय अवस्थामा चङ्गा उडाएर जसले सहजै अवतरण गर्न सक्छ, उसकै जित हुने नियम पनि बनाइन्थ्यो ।’

 

कुनै विकृतिविहीन यो संस्कृति हाम्रो समाजको रमाइलो खेल रहेको जोशीको बुझाइ छ । उनका अनुसार यो खेल एउटा धागो र कागजको सहायतामा हातको कलाले खेलिन्छ । जसको हातमा कला छ, उसैको जित हुन्छ । हेर्नेलाई र उडाउनेलाई यो ज्यादै रमाइलो खेल मानिन्छ । तर, छोटो समयमै चङ्गा खेल ओझेलमा परेको जोशीको बुझाइ छ । ‘सहरीकरण बढेसँगै चङ्गा संस्कृतिमा ठूलो धक्का पर्‍यो,’ उनी भन्छन्, ‘सहरमा चङ्गा उडाउने खुला आकाशलाई अग्ला भवनहरूले छोपिदियो । सहरको भूमि निजीकरण भई बनेका अग्ला–अग्ला भवन चङ्गा संस्कृतिका लागि हानिकारक भयो ।’

 

जोशीका अनुसार राजा त्रिभुवनले आफ्ना तीन छोराहरू (महेन्द्र वसुन्धारा र हिमालय) लिएर कात्तिक शुल्क त्रियोदशीको दिन बूढानीलकण्ठमा चङ्गा उडाउन तथा खेल्न पुग्थे । त्यहाँ उनले सहभागिता पनि जनाउँथे । जनताका छोराछोरीहरूले आयोजना गरेको प्रतियोगितालाई खुब समर्थन गर्थे । आफूलाई मन पर्‍यो भने उनले जित्ने टिमलाई पैसा दिएर पुरस्कृत गर्थे । त्रिभुवन दसैँताका स्वयम्भूको मुनि एउटा चउर (हुच) मा चङ्गा उडाउन आउँथे । जनताले उडाएको चङ्गा हेर्थे । राजा आफैँले र उनका सन्तानले पनि चङ्गा उडाउँथे । राजाले उडाएको चङ्गा काट्यो भने राजाले पाँच रुपैयाँ दिन्थे । राजाले चङ्गा उडाउँदा एकपटक प्रयोग भएको धागो प्रयोग गर्दैनथे । 

 

बाल्यकालमा चङ्गासँगै हुर्किएका असनस्थित चङ्गाबाज निर्मलमान तुलाधरले चङ्गाका लागि यति प्रतिकूल समय आउला भनेर सोचेका पनि थिएनन् । समाज जतिसुकै आधुनिकतर्फ मोडिए पनि चङ्गा संस्कृति झन् विकास हुन्छ भन्नेमा उनी आशावादी थिए । तर, हेर्दाहेर्दै सहरमा चङ्गा उडाउन ठाउँसमेत रहेन । सहरीकरणले पुराना रमाइला खेललाई नै विस्थापित पारिदियो । उनी भन्छन्, ‘काठमाडौंमै चङ्गा उडाइन्थ्यो । त्यसवेला यो चङ्गा उडाउन रहर हुनेहरूको पनि सहर थियो । तर, अहिले यो सहरमा चङ्गा उडाउने वातावरण नै छैन ।’ यहाँका ठूला संरचनाका कारण चङ्गा संस्कृति नै लोप हुने अवस्थामा पुगेको उनको ठम्याइ छ । उनका अनुसार २०४० सालतिर काठमाडौंमा चङ्गा उडाउन निकै सहज थियो । पुराना घर एकैनासका हुन्थे । चउर र छानोको उचाइ एउटै हुन्थ्यो । तर, अहिले चङ्गा उडाउन सम्भन नै छैन, अग्लाअग्ला घरहरूले चङ्गा उडाउन चाहिने हावा छेक्यो ।

 

‘काठमाडौंको सहरीकरण चङ्गावाहकका लागि अवरोध सिर्जना भयो,’ तुलाधर भन्छन्, ‘क्लब हिमालयले चङ्गा उडाउने अभियान पनि थालेको थियो, तर अहिले त्यो पनि हराइसकेको छ ।’  वि.सं. २०१६ सालतिर असनमा निकै खाली चउर र स–साना घर भएकाले त्यो छानोमा चढेर उडाएको याद छ उनलाई । त्यतिवेला उनी आफैँले चङ्गा बनाएर उडाउँथे । 

 

 

वासिंगटनको म्युजियममा नेपाली चङ्गा

 

तुलाधार चङ्गावाहक मात्रै होइनन्, उनी यसका खोज तथा अध्ययनकर्ता पनि हुन् । उनका अनुसार संसारमा सबैभन्दा ठूलो काइट म्युजियम अमेरिकाको वासिंगटन सहरमा छ । त्यहाँ नेपाली कागजमा बनेको चङ्गा पनि राखिएको उनको भनाइ छ । ‘अरू देशमा चङ्गा संस्कृतिलाई निकै जगेर्ना गरिएको छ, नेपालमा यो ओझेलमा परेको छ,’ उनी भन्छन्, ‘अरू खेलजस्तै यो खेलको पनि विकास गर्न आवश्यक छ ।’ उनले सहरमा अग्ला–अग्ला भवन बनेकाले ती भवन नै चङ्गा उडाउनका लागि बाधा बनेको बताउँछन् । ‘मेरो रहर नेपालका अझै पनि चङ्गाको विकास गरौँ भन्ने छ,’ तुलाधर सुनाउँछन्, ‘यसबाहेक एउटा काइट म्युजियम खोल्ने सपना पनि छ ।’

 

निर्मलमान तुलाधर, चङ्गाबाज

काठमाडौंमै चङ्गा उडाइन्थ्यो । त्यसवेला यो चङ्गा उडाउन रहर हुनेहरूको पनि सहर थियो । तर, अहिले यो सहरमा चङ्गा उडाउने वातावरण नै छैन ।

 

उनका अनुसार चङ्गालाई अरू देशमा व्यावसायिक खेल नै बनाएका छन् । यो खेलको विकास र प्रतियोगिताका लागि बजेट नै विनियोजन हुन्छ । तर, नेपालमा भने समयक्रमसँगै यो खेल ओझेलमा परेको छ । हाम्रोमा रमाइलोका लागि मात्रै चङ्गा उडाइन्छ । अहिले त यो खेल बालबालिकाले मात्रै खेल्ने गरेको पाइन्छ । उनी यसबाहेक जापान, कोरिया, श्रीलंका, भारतजस्ता मुलुकमा आयोजना हुने चङ्गा प्रतियोगिताहरूमा पनि भाग लिन पुगे । पछिल्लो केही वर्षअघि उनी कोरियामा पुगेका थिए । उनका अनुसार पहिले–पहिले नेपालमा पनि चङ्गा प्रतियोगिताहरू हुन्थे । बाहिरी देशहरूले नेपालमा पनि चङ्गा प्रतियोगिता आयोजना गर्थे । यसअघि १८ वर्षसम्म टुँडिखेलमा जापानी राजदूतावासले चङ्गा प्रतियोगिता आयोजना गरेको थियो । टुँडिखेलबाट चङ्गा उडाइन्थ्यो । उनका अनुसार जापानी राजदूतावासले सन् १९९८ मा चङ्गा प्रतियोगिता एक हप्तासम्म गरेको थियो । 

 

चङ्गा चैट

 

नेपालको चङ्गा खेल परम्पराअनुसार चङ्गा खेलको हारजित चङ्गा काटेपछि हुन्छ । दुई समूह वा टोली बनाएर चङ्गा उडाइन्छ । काठमाडौंको बूढानीलकण्ठमा चङ्गा उडाइन्थ्यो । त्यहाँ खाली फाँटैफाँट थिए । त्यही फाँटमा एकले अर्कोको चङ्गा चैट पार्ने प्रतियोगिता हुन्थ्यो । सोही क्रममा राजाको तर्फबाट पनि चङ्गा उडाउनेहरू हुन्थे । यदि राजाको टिमले हारेको खण्डमा राजाले जित्ने टिमलाई पैसा दिन्थे । कहिलेकाहीँ राजाका छोराहरू पनि चङ्गा प्रतियोगितामा भाग लिन्थे । उनीहरूको चङ्गा जनताहरूले काट्थे । राजाले चङ्गा हेर्न आउनेहरूलाई फलफूल खुवाउँथे । त्यतिवेला उपत्यकाभित्र यातायात खासै थिएन । चउर र फाँटहरूमा मात्रै थिए । मानिसहरू ठाउँ–ठाउँमा बसेर चङ्गा उडाउँथे । जुुन समूहले चङ्गाको धागो काटिदिन सक्छ, त्यो समूह नै विजयी हुन्थ्यो । 

 

संस्कृतिविद् जोशीका अनुुसार चङ्गा बनाउन त्यति खर्चिलो पनि छैन । दुईओटा कप्टेरो भए पुग्छ । बनाउन पनि निकै सजिलो छ । हावाको वेगमा चङ्गा कसरी उडाउने र हावाको वेगले चङ्गा बिगार्‍यो भने प्वाँख हालेर मर्मत गरिन्थ्यो । कतिपयमा कागज थपेर पनि मर्मत गरिन्थ्यो । करिब ३० वर्षअघिसम्म बुढानिलकण्ठमा मेला नै लाग्थ्यो चङ्गाको । मानिसहरू कौसी, फाँट र खुला ठाउँमा बसेर चङ्गा उडाउँथे । 

 

पहिले–पहिले चङ्गा उडाउने तालिम पनि दिइथ्यो । सबैतिर चङ्गा नै खेलिने भएकाले चङ्गावाहकहरूले तालिम दिन्थे । नेपालमा आजभन्दा २० वर्षअघिसम्म उडाइने अधिकांश चङ्गा लखनउबाट किनेर ल्याइन्थ्यो । त्यो चङ्गा थरी–थरी रंगको हुन्थ्यो । हेर्दा चिटिक्क र आकर्षक देखिने यो चङ्गा सबैले मन पराउँथे । 

 

राजाको तर्फबाट पनि चङ्गा उडाउनेहरू हुन्थे । यदि राजाको टिमले हारेको खण्डमा राजाले जित्ने टिमलाई पैसा दिन्थे । कहिलेकाहीँ राजाका छोराहरू पनि चङ्गा प्रतियोगितामा भाग लिन्थे । उनीहरूको चङ्गा जनताले काट्थे । राजाले चङ्गा हेर्न आउनेहरूलाई फलफूल खुवाउँथे ।

 

हिलोमैलो सकिएपछि नेपालमा चङ्गा उडाउने चलन छ । त्यस्तै, मुरी रोपेर फल्ने वेला यो खेल खेल्नु निकै शुभ मानिने संस्कृतिविद् जोशीको भनाइ छ । उनी भन्छन्, ‘यो समय आकाश निर्मल हुन्छ, प्रकृति पनि मोहक हुन्छ, पानी पनि धेरै पर्दैन, नेपालमा पहिलेदेखि नै यही समयमा चङ्गा उडाइन्छ ।’ 

 

सन्देश र मान्यता

 

चङ्गा माथिसम्म पुग्दा त्यो सन्देश इन्द्रले थाहा पाउँछन् भन्ने मान्यता छ । त्यस्तै, नेपालमा चङ्गा उडाउँदाका खास मान्यता चारवटा छन् । जसमाः १) पानी पुग्यो, अब रोके हुन्छ भनेर इन्द्रदेवलाई भन्न, २) परिवार आफन्तमा समृद्धि ल्याउन, ३) मृत्यु भएका आफन्त तथा पितृको सम्झना गर्न, ४ं) स्वर्गमा जान नसकेका अज्ञात मृतात्माहरूलाई बाटो देखाइदिन ।

 

नेपालमा हाल एकै थरी चङ्गा पाइन्छ । तर, पहिले–पहिले थरी–थरीका चङ्गा थिए । ती चङ्गाहरू खोजकर्ता तुलाधरले आफ्नो घरमा संरक्षण गरेर राखेका पनि छन् । पहिले–पहिले उडाइने सबैजसो चङ्गा आफूलाई बनाउन आउने तुलाधरको भनाइ छ । उनका अनुसार नेपालमा पुच्छर भएको, नभएको, रंग भरेको, माझा (धागो बलियो बनाउन प्रयोग गरिने सिसाको धुुलो) हालेको, धर्के एकान्ते, जुँगेजस्ता थरीका चङ्गाहरू बनाइन्थ्यो । 

 

चङ्गा संस्कृतिको अभिलेख 

 

हाम्रोमा चङ्गा संस्कृति कहिलेदेखि सुरु भयो भनेर कहीँ लेखिएको छैन । यसको यकिन अभिलेख पनि भेटिँदैन । तर, कतिपय पुस्तक तथा लेख–रचनाहरूमा यसको वर्णन तथा प्रयोग भएको पाइन्छ । कहीँ कतै चङ्गालाई बिम्बको रूपमा प्रयोग गरेको पनि भेटिन्छ । यसबारे हेमराज शाक्यले नेपाल भाषामा लेखेको श्री स्वयम्भू महाचैत्य (स्थम्भुना) किताबमा चङ्गासम्बन्धी पञ्चबुद्ध (बैरोचन, अछ्योभे), रत्नसम्भव, अनिताभ र अमोघसिद्धि) गुठी रहेको उल्लेख गरेका छन् । दसैँको अन्तिम दिन पूर्णिमामा त्यो गुठीले चङ्गा प्रतियोगिता आयोजना गथ्र्याे । उक्त गुठीले बुद्धको चित्र भएका चङ्गाहरू बनाएर उडाएको उल्लेख छ । तर, गुठी हराएको भनी उक्त पुस्तकमा उल्लेख गरिएको छ । 

 

सत्यमोहन जोशी, संस्कृतिविद्

चङ्गा उडाउने खुला आकाशलाई अग्ला भवनहरूले छोपिदियो । सहरको भूमि निजीकरण भई बनेका अग्ला–अग्ला भवनहरू चङ्गा संस्कृतिका लागि हानिकारक भयो ।

 

वि.सं. २०५१ मा पुण्यशील गौतमले लेखेको ‘मंगलेको चङ्गा’ नामक बालसाहित्यमा चङ्गा र काठमाडौंका चित्रहरू टाँसिएका छन् । रातोबंगला स्कुलको प्राङ्गणमा २०५१ सालमा विमोचन हुँदा कनकमणि दीक्षितले एउटा नेपाली शैलीकै चङ्गा उडाएर यसको विमोचन गरेका थिए । 

 

कनकमणिले नै सन् २००४ मा ‘द ट्रिटी अफ काठमाडौं’ नामक किताबमा उपत्यकामा कहाँ–कहाँ चङ्गा उडाइन्छ भनेर लेखेका छन् । त्यही किताबको आधारमा सन् २०१४ मा रातोबंगला स्कुलका विद्यार्थीले चंचाबारे नाटक मञ्चन गरेका थिए । 

 

त्यस्तै आठ कक्षाको अनिवार्य अंग्रेजीमा ‘काइट् फ्लाइन ट्रेडिसन इन नेपाल’ भनेर एउटा पाठ नै राखिएको छ । उक्त पाठका लेखक निर्मल तुलाधर र उजिना राणा हुन् । 

 

संसारका सबै देशमा लगभग चङ्गा उडाउने र बनाउने तरिका एउटै किसिमको छ । तर, नेपालमा भने यसको स्वरूप नै फरक रहेको चङ्गावाहक तुलाधरको भनाइ छ । उनी भन्छन्, ‘हामीकहाँ माझा लगाएको धागो प्रयोग गरेर सिधै लट्टाईबाट चङ्गा उडाइन्छ, विदेशमा धागोमा माझा लगाइन्न । त्यस्तै उडाएका वेला एकापसमा चङ्गा काट्ने र धागो चुँडाइदिने परम्परा हामीकहाँ मात्रै छ ।’ 

 

२०६८ साल कात्तिक ४ गते नक्सालको नारायणचौर (नन्दीकेशर बगैँचा) मा चङ्गा महोत्सव सुरु गरिएको थियो । त्यसयता नेपालमा चङ्गा प्रतियोगिता भएको छैन । त्यतिवेलादेखि नारायणचौरमा भएको प्रतियोगितापछि खुला चौर चाहियो भनेर चङ्गावाहकले माग गरेका थिए । त्यहाँ चङ्गा महोत्सव गरेको दिनदेखि खाली ठाउँ राख्नुपर्छ भन्ने सोच स्थानीयवासीमा पनि आएको चङ्गावाहक तुलाधरको भनाइ छ । उनका अनुसार उक्त प्रतियोगिता नरेन्द्रबहादुर श्रेष्ठले आयोजना गरेका थिए । त्यसयता प्रतियोगिताको रूपमा चङ्गा उडाइएको छैन । 

 

मच्चिन छाड्यो पिङ पनि

 

चङ्गा संस्कृतिको खास इतिहास नभएझैँ पिङ संस्कृतिको पनि खास इतिहास छैन । तर, यसको प्रयोग भने भगवान् श्रीकृष्णले महाभारतमै गरेको बताइन्छ । नेपालको संस्कृति र पर्वसँग पिङ जोडिएको छ । दसैँ तथा तिजका वेला सार्वजनिक स्थलहरूमा पिङ हालिन्छ । यो परापूर्वकालदेखि नै खेलिँदै आएको संस्कृतिविद् जोशीको भनाइ छ । उनी भन्छन्, ‘पिङ हाम्रो समाजको पुरानो संस्कृति हो । महाभारत, धार्मिक पुस्तक, पुराणहरूमा पनि पिङका बारेमा कहीँकतै लेखिएको छ ।’ उनका अनुसार यसको खास मान्यता वर्षमा एक दिन भए पनि पृथ्वी छाड्नुपर्छ भन्ने हो । पिङमा मच्चिँदा वा भुइँ छोड्दा साहस र आँट आउँछ भन्ने मान्यता राखिन्छ । उनका अनुसार पहिले–पहिले राजाहरूले सार्वजनिक ठाउँमा पिङ हाल्न लगाउँथे । जनताहरू पनि पिङमा मच्चिएर रमाइलो गर्थे । केटाकेटीदेखि बुढाबुढीसम्मले एकपटक हल्लिएर भए पनि पृृथ्वी छाड्नुपर्छ भन्ने सोच राख्दै पिङ खेल्थे । तर, सहरभित्र चङ्गा र पिङ दुवै ओझेलमा परेका छन् ।