• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
विजयराज खनाल काठमाडाैं
२०७८ असोज २३ शनिबार ०८:५१:००
सम्झना

दसैँमै नयाँ नोट किन ?

२०७८ असोज २३ शनिबार ०८:५१:००
विजयराज खनाल काठमाडाैं

भक्तपुरका सन्तोष न्यौपानेले नेपाल बैंकको जागिरबाट अवकाश लिएको दुई वर्ष भइसक्यो, तर अहिले पनि दसैँ लागेसँगै गाउँघरका साथीभाइले नयाँ नोट ल्याइदिन उत्तिकै आग्रह गरिरहन्छन् । 

 

‘उतिवेलादेखि नै गाउँघरका १०/१२ जना साथीभाइलाई नयाँ नोट ल्याइदिन्थे,’ न्यौपाने भन्छन्, ‘अहिले पनि ल्याइदिइरहेकै छु ।’ दसैँ र नयाँ नोट पयार्य नै भइसकेको छ । कटकट आवाज आउने यस्ता नोटले बच्चादेखि वृद्धवृद्धासम्मलाई आकर्षित गर्छ । सर्वसाधारणको नयाँ नोटप्रतिको मोहकै कारण राष्ट्र बैंकले हरेक वर्ष दसैँ सुरु हुनुअगाडिदेखि नोट सटही सुविधा दिन्छ । आखिर दसैँमा नयाँ नोट नै किन चाहिन्छ त ? 

 

प्रथम गभर्नर हिमालयशमशेर राणाका अनुसार, पहिले सिक्काको चलन रहेको र भारतीय मुद्रा पनि बढी चलनचल्तीमा रहेको कारण नेपाली नोटको चलनचल्ती बढाउन दसैँजस्तो बढी करोबार हुने समयमा नयाँ नोट वितरण गर्ने गरिएको थियो । चलनका रूपमा सुरु गरिएको नोट सटही अहिले हरेक वर्ष कर्मकाण्डी नै भएको छ । यसपालि पनि दसैँका लागि ४ असोजदेखि नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले हालसम्म २५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण गरिसकेको छ । यो १८ दिनमा सर्वसाधारणले सरदर दैनिक एक अर्ब ३८ करोड रुपैयाँ नोट सटही सुविधा पाएका छन् । 

 

राष्ट बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म सटही सुविधा दिइरहेको छ । ५, १०, २०, ५० र १ सयका प्रतिबन्डलसम्म सटही हुने गरेर सटही सुविधा दिइएको हो । हालसम्म करिब नौ अर्ब रुपैयाँ सानादरका नोट सटही भएका छन् भने बाँकी १६ अर्ब रुपैयाँबराबरका पाँच सय र एक हजारदरका नोट सटही भएका हुन् । 

 

यसपालि पनि दसैँका लागि ४ असोजदेखि नयाँ नोट वितरण सुरु गरेको राष्ट्र बैंकले हालसम्म २५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण गरिसकेको छ । यो १८ दिनमा सर्वसाधारणले सरदर दैनिक एक अर्ब ३८ करोड रुपैयाँ नोट सटही सुविधा पाएका छन् ।

 

पछिल्लो समय डिजिटलाइजेनसँगै डिजिटल दक्षिणाको अभियान सुरु गरिएको भए पनि अझै पनि यो प्रभावकारी हुन नसकेको यही वर्ष वितरण भएको नयाँ नोटले विवरणले देखाउँछ । 

 

राष्ट्र बैंकले चाडपर्वमा नोटको दुरुपयोग रोक्न नोटका पुर्जा गर्न, जलाउने कार्यमा प्रतिबन्ध लगाएको छ । यद्यपि, यसमा कमी आउन सकेको छैन । एउटा नोटका लागि हाल एक रुपैयाँ ४० पैसादेखि चार रुपैयाँ ६८ पैसा लागत लाग्न थालेको छ । तर पनि नोटहरूको दुरुपयोगकै कारण चाँडै पुरानो हुने र नयाँ नोट छाप्नका लागि मुलुकलाई वार्षिक ८४ करोड लागत पर्ने गरेको छ । 

 

यद्यपि महँगो लागतमा छापिने नेपाली मुद्राको जतन अभावमा राज्यलाई नै भार पर्दै आइरहेको छ । विगत पाँच वर्षमा मात्रै राष्ट्र बैंकले दुई अर्ब २१ करोडवटा नयाँ नोट छापेको थियो । यी नोट मुद्रणको लागत मात्रै चार अर्ब २३ करोड रुपैयाँ छ र यो पाँच वर्षमा कुल दुई खर्ब ३३ करोड पुराना नोट जलाइएको छ । अर्थात् वार्षिक सरदर ४६ अर्ब मूल्यका मुद्रा जलाइने गरेको छ । सरदर पाँच वर्षमा नोट नचल्ने अवस्थामा राष्ट्र बैंकमै फर्किने अनुमान गरिँदै आएको छ । 

 

गत वर्षसम्म काम नलाग्ने पुराना झुत्रा नोटहरू राष्ट्र बैंकले जलाउँदै आएको थियो । यसअघि नोट सोझै जलाउने क्रममा कतिपय नोट कर्मचारीहरूबाटै चोरिने खबरहरू पनि ‘नयाँ पत्रिका’ले यसअघि सार्वजनिक गरेको थियो । नोटमा भएका विशेषताहरू निकालेर नक्कली नोट बनाउन दुरुपयोग हुन सक्ने भएकाले पनि काम नलाग्ने भइसकेका नोट जलाउने चलन रहँदै आएको थियो । अहिले अन्य मुलुकमा भने यस्ता झुत्रा नोटहरू मसिना टुक्रा बनाएर पुनः कागजी फाइललगायत बनाउन प्रयोग गरिएको पाइन्छ । 

 

अहिले भने राष्ट्र बैंकले काम नलाग्ने नोट जलाउन छाडेर इन्धनका रूपमा प्रयोग हुने बिक्रेट बनाउन थालेको छ । ‘बिक्रेटको बिक्री नै भने सुरु भइसकेको छैन,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीरमण नेपाल भन्छन्, ‘अझै हामी यसको परीक्षणकालमा नै छौँ ।’

 

दसैँमा नयाँ नोटको वितरणसँगै चलनचल्तीको मुद्रामा पनि २५ अर्बले नै वृद्धि भएको छ । भदौ अन्त्यमा ६ खर्ब ८७ अर्ब चलनचल्तीमा रहेको मुद्रा असोजमा बढेर ६ खर्ब ६३ अर्ब रुपैयाँ भएको छ । यसरी चलनचल्तीमा बढेको मुद्रा भने तिहारपछि प्रणालीमै फर्किने अनुमान गरिएको छ ।