• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७८ असोज २३ शनिबार ०९:२६:००
सम्झना

कलाकारको सम्झनामा दसैँ

२०७८ असोज २३ शनिबार ०९:२६:००
नयाँ पत्रिका

पहिलेजस्तो रमाइलो हुँदैन : इन्दिरा जोशी, गायिका 

गायिका इन्दिरा जोशीलाई पनि अभिनेता विपिन कार्कीलाईजस्तै दसैँको कुरा गर्दा जन्मथलो नवलपरासी र बाल्यकालको सम्झनाले सताउँछ । आकाशमा बादल उघ्रिँदै जाँदा, गाउँघरमा फूलहरू फुल्दा र लिंगे पिङ हालेको देख्दा उनलाई आफ्नो जन्मथलो पुगेको महसुस हुन्छ । त्यसैले पनि उनी हरेक वर्ष दसैँ मनाउन घर नै पुगिन्छन् । भन्छिन्,‘मौसम खुल्दै गएपछि दसैँ आएजस्तो हुन्छ । अनि परिवारसँगै बसेर दसैँ मनाउन मन लाग्छ । त्यसैले प्रत्येक वर्ष दसैँ मनाउन घरै जान्छु ।’ घरमा आमाले बनाएको आलुको अचार र सेलरोटीले दसैँ आएको अझ बढी महसुस हुन्छ उनलाई ।

 

‘हाम्रा दिदीबहिनी धेरै भएकाले निकै रमाइलो हुन्थ्यो । दिदीले बहिनीलाई टीका लगाइदिने चलन छ,’ इन्दिरा भन्छिन्, ‘दक्षिणा कसको बढी भन्दै पैसा गन्थ्यौँ । दसैँमा आफन्तकोमा टीका लगाइसक्न पाँच दिन लाग्थ्यो ।’ अहिले टीकाको अघिल्लो दिन घर पुग्ने र समय एकदमै छोटो हुने उनी सुनाउँछिन् । उनी दुई तीन दिन मात्रै गाउँमा बसेर काठमाडौं फर्किन्छिन् । भन्छिन्, ‘पहिलेजस्तो माहोल नै हुँदैन दसैँमा । कामले गर्दा राम्रोसँग मनाउनै पाइँदैन ।’

 

उनी दसैैँमा लगाउने कपडा खुब सम्झिन्छिन् । उनको बाल्यकालको दसैँमा अहिलेको जस्तो विदेशबाट आयातीत कपडाको थुप्रोबाट छान्ने सुविधा हुँदैनथ्यो । भन्छिन्, ‘त्यो दसैँ अहिले सम्झिँदा रमाइलो लाग्छ ।’

 

दसैँअघि नै नयाँ पर्स किन्थेँ : विपिन कार्की, अभिनेता

दसैँमा पिङ खेल्दै, लंगुरबुर्जा खेल्दै साथीभाइसँग रमाइलो गरेको बाल्यकालका दिनहरू सम्झिँदा अभिनेता विपिन कार्की ‘नोस्टाल्जिक’ हुन्छन् । दसैँका रमाइला पलहरू बाल्यकालमै सकिएजस्तो लाग्छ, उनलाई । उनी भन्छन्, ‘पिङले मात्रै पनि दसैँ आएको सन्देश दिएजस्तो लाग्छ । दसैँको कुरा गर्नेबित्तिकै मोरङको बाहुनीमा पु¥याउँछ । जहाँ म जन्मिएँ, हुर्किए त्यस ठाउँको दसैँ नै दसैँजस्तो लाग्छ ।’

 

विपिनले दसैँ सुरु हुनुअघि नै दक्षिणा राख्न ‘पर्स’ किनेर ठिक पार्थे । दसैँमा दक्षिणा धेरै आउँछ भन्ने आशामा उनी नयाँ पर्स किनेर ठिक्क पार्थे । आफ्नो बाल्यकालका रमाइलो क्षण सम्झँदै उनी भन्छन्, ‘दसैँमा मेरो गोजी भरिन्छ भन्ने लाग्थ्यो । मामाघरमा दिएको दक्षिणा पर्समा मिलाएर राख्थेँ ।’

 

विपिनका लागि दसैँ पुराना साथीभाइ भेट्ने र गाउँघरमा पुराना यादहरू सम्झिने अवसर हो । अरू वेला फुर्सद नमिल्ने र काठमाडौं बढी समय बस्नुपर्ने भएकाले उनी दसैँको समयमा गाउँका साथीहरूसँग भेटेर रमाइलो गर्छन् । भन्छन्, ‘गाउँमा सँगै हुर्केका साथीभाईसँग भेटेर दसैँ मनाउँछु ।’

 

उनी पहिले–पहिले दसैँको समयमा नयाँ लुगा सिलाइदिने चलन सम्झिन्छन् । दसैँ मनाउने मौलिक तरिका पुस्तान्तरण गर्दै लैजानुपर्ने उनको मत छ । भन्छन्, ‘मैले पनि मेरो छोरीलाई बुबाआमासँग मनाएको दसैँ यस्तो हुन्थ्यो भन्ने देखाउनुपर्छ ।’ विपिनलाई अझै पनि ‘टिपिकल’ दसैँ मनाउन मन लाग्छ । दसैँमा बढी खर्च गरेको उनलाई मन पर्दैन । भन्छन्, ‘आफ्नो गच्छेअनुसार दसैँ मनाउनुपर्छ ।’

 

अहिले त पिङ खेल्नै लाज लाग्छ : शिव परियार, गायक

गायक शिव परियारलाई पनि आफ्नो बाल्यकालको दसैँ असाध्यै रमाइलो लाग्छ । दसैँ भन्नेबित्तिकै उनलाई त्यसवेलाको मासुको परिकारको विशेष सम्झना आउँछ । त्यसपछि उनलाई दसैँमा लगाइने लुगा र सेलरोटी विशेष लाग्छ । भन्छन्, ‘दसैँमा मासुचिउरा खाने, सेलरोटी खाने र नयाँ लुगा लगाउने भनेपछि मन फुरुंग हुन्थ्यो । अहिले त्यो समय रहेन, उमेरसँगै जिम्मेवारी थपिँदै गयो ।’

 

किशोर अवस्थामा गाउँमा पिङ खेल्दै बजारमा नाचगान गरेका दिन उनी अझै झलझली सम्झन्छन् । भन्छन्, ‘दसैँमा किशोरावस्थाको उमेरमा बेग्लै रमाइलो थियो । आज ती दिन सम्झँदा निकै रमाइलो लाग्छ ।’ उनी अहिले पिङ खेल्न जान पनि अप्ठ्यारो लाग्ने बताउँछन् । 

 

अहिले आफ्नोभन्दा पनि पाहुना कसरी टार्ने र परिवारलाई कसरी खुसी राख्ने भन्ने चिन्ता धेरै हुन्छ उनलाई । त्यसैले उनलाई आजभोलि परिवारको खुसी नै आफ्नो खुसी हो भन्ने लाग्छ । उनको बुझाइमा दसैँ नेपालीको भावनात्मक आत्मीयता साट्ने संस्कार र संस्कृति हो । भावनाको साइनोलाई आत्मीय बनाउने माध्यम हो दसैँ । तर, अहिले दसैँ मनाउने तरिका बदिलिँदै गएको देख्छन् उनी । भन्छन्, ‘हाम्रो संस्कृतिलाई पनि बिर्सनु हुँदैन । सामाजिक सद्भाव नभड्किने गरी दसैँ मनाउनुपर्छ । आफ्नो क्षमताअनुसार मनाउन सिक्नुपर्छ । अरूको देखासेखी कम गर्नुपर्छ ।’

 

दसैँ कहिले आउलाजस्तो हुन्थ्यो : सुरक्षा पन्त, अभिनेत्री 

अभिनेत्री सुरक्षा पन्तलाई पनि दसैँ भन्नेबित्तिकै गाउँमा पिङ खेलेको सम्झना आउँछ । परिवारसँग बसेर टीका र आशीर्वाद ग्रहण गरेको याद आउँछ । उनी भन्छिन्, ‘दसैँमा पिङ खेल्ने र परिवारसँग बसेर रमाइलो कुरा गर्न मन पर्छ । तर, यो वर्ष दसैँमा घर जान पाउँदिनँ । दसैँको समयमा लमजुङमा हुन्छु । परिवारसँग बसेर अर्काे साल दसैँ मनाउँछु ।’

 

सानो वेला सुरक्षालाई पनि दसैँ कहिले आउलाजस्तो हुन्थ्यो । दसैँमा नयाँ लुगा लगाउन र टीका लगाएर दक्षिणा लिन उनलाई पनि खुब रहर लाग्थ्यो । उनी भन्छिन्, ‘दक्षिणाको पैसा कसको कति भयो भन्नेमा बढी ध्यान जान्थ्यो ।’ उमेरसँगै दसैँको रहर पनि परिवर्तन हुँदै गएको उनी बताउँछिन् । 

 

अहिले दसैँ मनाउने संस्कृति धेरै परिवर्तन भएको देख्छिन् उनी । ‘अहिले सहरमा पनि चंगा उडाएको देखिँदैन, गाउँघरमा पनि पिङ हालेको देखिँदैन’, उनी भन्छिन्,‘दसैँ मनाउने संस्कार पनि बिस्तारै परिवर्तन हुँदै गएको छ । अहिले समाजमा देखावटीपन बढी देखिन थालेको छ ।’

 

प्रस्तुति : पवन बराइली