• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मुकुन्दराज शर्मा
२०७८ असोज २३ शनिबार ०९:५५:००
साहित्य

शिक्षाकर्मीले पढ्नुपर्ने पुस्तक

२०७८ असोज २३ शनिबार ०९:५५:००
मुकुन्दराज शर्मा

कुनै–कुनै विषयको नाम वा शीर्षक नै यति पर्याप्त हुन्छ कि त्यसले सबैथोक बयान गर्छ । अन्तर्यमा गइरहनुपर्दैन । जस्तो कि ‘राणाकालीन शिक्षा’ नामधारी पुस्तक, जसलाई पत्रकार प्रकृति अधिकारीले हालै सार्वजनिक गरेका छन् । यो पुस्तकको अन्तिम पातो २००७ सालको सेरोफेरोमा गएर टुंगिन्छ भन्ने अनुमान त स्वभाविकै हो, पुस्तकका भित्री दृश्य पनि राणाकालीन शिक्षाका छालहरूसँगै बगेको हुनैपर्छ भन्न पनि गाह्रो भएन । तर, पुस्तक पढ्दै जाँदा यो फगत् सय, सवा सय वर्षको इतिहासको फेहरिस्त मात्रै नभई लेखक अधिकारीले धेरै ‘प्रकृति’का सूचनाहरू सम्प्रेषण गरेका छन् । केही जोडी विद्वान्हरूले नेपालको शैक्षिक इतिहासमाथि कलम चलाउने गहकिलो प्रयास गर्नुभएको छ, तर अधिकारी थोरै फरक शैली र रोचक विषयका साथ उपस्थित भएका छन् भन्दै म केही हरफले यो पुस्तकको चर्चा गर्न चाहन्छु ।

 

शिक्षाको कुनै इतिहास नलेखिएको रित्तो समयमा डा. त्रैलोक्यनाथ उप्रेती, कृष्णराज अर्याल र प्रा. गोपीनाथ शर्माले जुन जगको शिला बिछ्याउने स्तूत्य कार्य गर्नुभयो, त्यसको एक पुस्तान्तरपछि मात्रै आएको प्रकृति अधिकारीको यो पुस्तक कुन मानेमा भिन्न छ भन्नु भन्दा पनि यसको आफ्नै वैशिष्ट्य रहेको र शिक्षाइतर केही विषयमा शोध गर्नेहरूका लागि समेत उपयोगी देखिन्छ । म सुरुमै एउटा प्रसंग उल्लेख गरिहालौँ– प्रकृति अधिकारी गोरखापत्रसँग आबद्ध रहेकाले र अधिकांश विषयवस्तु त्यसवेला गोरखापत्रमा प्रकाशित हुने चलन हुँदा यसमा उल्लिखित विषयहरूको आधिकारिकतामा संशय गर्ने ठाउँ कमै छ । अब ती संक्षिप्त सूचनाहरूको व्याख्या लेखकले कसरी गरेका छन् भन्ने कुरा अहं हो ।

 

प्रकृतिजीले यो लेखन कार्य आरम्भ गरेको मधुरो जानकारी मलाई नभएको होइन, तर यो कृति यति गहिरो शोधकार्यबाट निखारिएर आउँदै छ भन्ने मलाई लागेको थिएन । थोरबहुत ऐतिहासिक घटनाक्रमहरूको विवरणात्मक पुस्तक मात्रै होला भन्ने मेरो हलुका अनुमानलाई निस्तेज पारिदिएका छन् लेखकले ।

 

जसरी तत्कालीन हिन्दुस्तानको सामाजिक, सांस्कृतिक र गुरुकुलीय शिक्षा भत्काउन अंग्रेजहरूले मेकालयको शिक्षाको ढाँचा बलपूर्वक थोपरिदिए भन्ने धेरै विद्वान्हरूको निचोड छ, त्यसै उद्देश्यअनुरूप नेपालमा पनि अंग्रेजी शिक्षाले प्रविष्टि पाएको रहेनछ । अपितु हाम्रै राणाकालीन शासकहरूले आफ्ना पारिवारिक व्यक्तिहरूलाई पनि शिक्षित र आधुनिक बनाउन बलपूर्वक यो शिक्षा पद्धति भित्र्याएको कुरा यो पुस्तक पढेपछि झनै स्पष्ट हुन्छ । तथापि नेपालमा आधुनिक शिक्षाको श्रीगणेश राणाकालमा भएको कुरा सर्वविदितै छ ।

 

यो पुस्तक पढेपछि मैले माथि नै उल्लेख गरेझैँ राणाकालीन समयको सामाजिक, धार्मिक, भाषिक र धेरथोर राजनीतिक पक्षमा चासो राख्नेहरूका लागि पनि थुप्रै पोषणयुक्त विषय पाउन सकिन्छ । पैँतालीसौँ पृष्ठ यसको एउटा उदाहरण हो । त्यसवेलाका धेरै पदावलीहरू अंग्रेजीमा पढ्दा रमाइलै लाग्दो रहेछ, जस्तै प्राइम मिनिस्टर, एजुकेसन बोर्ड, डाइरेक्टर आदि । अचेल यी पदावली सबै मौलिक नामधारी भइसके । भाषिक दृष्टिकोणले पनि तकरिबन सय वर्षको अवधिमा हाम्रो भाषाको लेख्य र कथ्य रूपमा निकै परिवर्तन भएको कुरा पनि यसै पुस्तकबाट समेत महसुस गर्न सकिन्छ । 

 

राणाकालीन समयको अन्त्यतिर आउँदा शिक्षामा ल्याइएका सोच र नीतिहरूमा सबै पाठक एकचोटि टक्क अडिएर विचार पुर्‍याउनैपर्छ । अहिले आएर हामीले शिक्षामा नयाँ–नयाँ सोचको जुन पैरवी गर्दै छौँ, ती कुराले त्यसवेला नै प्रविष्टि पाइसकेका रहेछन् । बरू प्रजातन्त्रपश्चात् झन् भताभुंगे ताल भएछ जस्तो महसुस हुन्छ । मैले संख्यात्मक रूपमा विद्यालयहरू थपिँदै जानु, बढीभन्दा बढी मान्छे साक्षर हुनु र शिक्षामा सबै जातजातिको पहुँच बढ्नुलाई अनदेखा गरेको होइन, म शिक्षाशास्त्रीय हिसाबले सोच्दै छु । गणतान्त्रिक नेपाल बनेपछि संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षाको अवधारणा त २००४ सालमै आएको रहेछ (पृ. ५३) । त्यस्तै गरिब बालबालिकालाई सित्तैमा पुस्तक वितरण, केटाकेटीलाई सित्तैमा दिउँसोको खाजा दिने चलन त्यतिबवलै बसालेका रहेछन् ।

 

हामी अहिले यिनैलाई अग्रगामी कदमका रूपमा बुझिरहेछौँ । सायद केही अंग्रेज, केही बंगाली र त्यसवेला हिन्दुस्तानमै अध्ययन गरेर आएका नेपालीहरूकै प्रभावले होला, कस्तो शिक्षा दिने र कसरी दिने भन्ने ‘कन्सेप्ट’को गतिलो विकास त्यतिवेलै भएको पाइन्छ, जुन विकास हामी पुनः अहिले गरिरहेका छौँ । मन्टेस्वरी शिक्षा र आधार शिक्षाको प्रारम्भ गरिएको रहेछ । अहिले देशले व्यावसायिक शिक्षाका लागि जोड दिइरहेको छ, तर यसको परिकल्पना त्यसवेला नै भएको रहेछ । त्यस्तै बालबालिकालाई पूर्वप्राथमिक कक्षादेखि नै खेलाएर पढाउने विधि पनि ल्याइएको रहेछ । तर, यी सबै राणाकालको समाप्तितिरैका बखतमा रहेछन् । मन्टेस्वरीमा पढाउने शिक्षक विशेष तालिम प्राप्त हुनुपर्ने चेतना पनि देखिन्छ ।

 

मन्टेस्वरी केही सीमित समुदाय र सम्भ्रान्तका छोराछोरीका लागि आरम्भ गरिएको शिक्षा भनिए पनि शैलीगत रूपमा राम्रो शिक्षणको आरम्भ भएको मान्न सकिन्छ, यो पुस्तकका आधारमा ।

 

घुम्ती फिर्ती स्कुल, जुन दुई वर्षजति चल्यो, त्यो पनि गजबकै अवधारणा हो, त्यस बखतका हिसाबले । शिक्षामा ट्युसन संस्कृतिको रोग भने उहिल्यैदेखि भित्रिएको रहेछ, जसले गर्दा विद्यार्थीप्रति शिक्षकको पक्षपाती व्यवहार सदैव देखियो ।

 

समग्रमा लेखक प्रकृति अधिकारीले संस्कृत शिक्षा, आधार शिक्षा, मन्टेस्वरी शिक्षा, पाठ्यक्रम, शिक्षक तालिमजस्ता हरेक पक्षलाई एउटा–एउटा अध्याय बनाएर राखिदिएका छन्, जुन पाठकलाई खोज्न र जान्न सजिलो बनेको छ । नयाँ पुस्ताका हरेक शिक्षाकर्मीले एकपटक यो पुस्तक पढ्नु फाइदाजनक हुनेछ । निषेधाज्ञाको समयको सदुपयोग गर्दै छोटो अवधिमा राम्रो समय व्यवस्थापन र कठोर परिश्रमका साथ यति उपयोगी पुस्तक तयार पारेकोमा लेखक प्रकृति अधिकारीलाई बधाई र धन्यवाद दिनु वाञ्छनीय ठान्दछु ।