• वि.सं २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
डा. जगमान गुरुङ
२०७८ कार्तिक १३ शनिबार ०६:५७:००
इतिहास

‘नेपाल एकीकरणको इतिहास’ कति पूर्ण ? कति अपूर्ण ?

२०७८ कार्तिक १३ शनिबार ०६:५७:००
डा. जगमान गुरुङ

हामीले इतिहासलाई इतिहास बनाउन जान्नुपर्छ । वास्तविक सत्य र तथ्यका आधारमा इतिहास लेखिनुपर्छ ।

 

नेपाली सेना, जंगी अड्डाले वि.सं. २०७७ फागुन २७ गते, बिहीबार महाशिवरात्रि, सेना दिवसको उपलक्ष्यमा ‘नेपाल एकीकरणको इतिहास’ शीर्षकको पुस्तक प्रकाशित गरेर एउटा प्रशंसनीय काम गरेको छ । प्रा.डा. त्रिरत्न मानन्धर, प्राज्ञ प्रा. दिनेशराज पन्त, प्रा. कमलराजसिंह राठौर र डा. विनोद थापाजस्ता वरिष्ठ इतिहासविद्हरू यस महान् कार्यमा जुटनुभएको छ । यस पुस्तकको विवेच्य विषय वि.संं. १८०१ देखि वि.सं. १८७२ सममको घटना भए पनि पुस्तकको पहिलो अध्यायमा पृष्ठभूमिको रूपमा एकीकरण अभियानपूर्वको नेपाल र सेनाको स्वरूपको सन्दर्भमा संक्षिप्त चर्चा गरिएको छ ।


इतिहास लेखनको मुख्य स्रोत र आधार प्रमाण अभिलेख नै हो तापनि हाम्रा कतिपय लोकविश्वास, मान्यता, परम्परा र जात्रा आदिको विश्लेषणात्मक अध्ययनबाट पनि राम्ररी केलाएर इतिहास लेख्न सकिन्छ । जनता र सेनाको बीचमा समन्वय गराउने, सेनाको मनोबललाई उच्च बनाउने र रणकौशललाई उदीप्त बनाउने खालका घटनाको समुचित व्याख्या र विश्लेषण गरिनुपर्छ । यसैगरी एकीकरणको इतिहासमा नेपाल राष्ट्रको निर्माणमा नेपालका विविध समुदायको भूमिका र योगदानको व्याख्या र विश्लेषण गर्न अत्यावश्यक छ । 


यस पुस्तकमा गोपालवंशभन्दा अघिको भनेर मानिएको असुरकाल र नागवंशको उपेक्षा गरिएको छ । गोपालवंशको भन्दा अघि नेपालमा असुरहरूको शासन थियो । स्वर्गका देवराज इन्द्रलाई दमन गरेको हुँदा वाणासुरका छोरा वज्रनाभ दैत्य महेन्द्रदमन नामबाट कहलाएका थिए । स्वयं पृथ्वीनारायण शाहले पनि नेपालका गढी र किल्लाहरूलाई इन्द्रवज्र तुल्याएर राख्न सकेमा वैरी त के इन्द्रको आसन पनि डगाउन सकिन्छ भनेका छन् । 


वास्तवमा नेपालको सैनिक इतिहास अघि पुरानो ढुंगेयुग पैशाचकालबाट सुरु हुन्छ । नेपालमा मनाइने घोडेजात्रा पर्वको परम्पराबाट यो कुरा सिद्ध हुन्छ । घोडेजात्रा नयाँ वर्षको उपलक्ष्यमा रणकौशलको अभ्यासका लागि मनाइने पर्व हो । यति लामो गौरवमय इतिहास भएको सेना नेपालबाहेक विश्वको कुनै पनि देशको छैन । यसरी यति लामो इतिहास र परम्परा भएको नेपाली सेना नेपाल राष्ट्रको गौरव हो । अतः नेपालको सैनिक इतिहासको पृष्ठभूमिमा यस्ता गरिमामय विषय समावेश गरिनुपर्छ ।


यस पुस्तकमा लिच्छवि राजा नरेन्द्रदेवको समयमा चीनले भारतको कन्नौजका राजा हर्षवद्र्धनका सेनापति अरुणाश्वलाई दमन गर्दा नेपालले चीनलाई सात हजार घोडचढी सेनाद्वारा सहयोग गरेको उल्लेख छ, तर नेपालका मायावी राजा अरमुडीले कालीगण्डकीको किनारामा गुरिल्ला युद्धद्वारा कास्मिरका राजा जयापिड (वि.सं. ८३९) लाई परास्त गरेको कुरा भने उल्लेख गरिएको छैन । पर्वत जिल्लामा कुस्माको अर्मादिघाट नै नेपालका मायावी राजा अरमुडीले कास्मिरका राजा जयापिडलाई परास्त गरेको थलो हो । त्यसकारण नेपाली सेनाको उच्च मनोबल र रणकौशलको वृद्धिका लागि नेपालको एकीकरणको इतिहासमा यो घटना र थलोमाथि अत्यन्तै उच्च रूपले प्रकाश पार्न अत्यावश्यक छ ।


पृथ्वीनारायण शाहको सन्दर्भमा चर्चा गर्दा भुटानका औतारी लामाले गरेको तान्त्रिक अनुष्ठानबाट पृथ्वीनारायण शाहको जन्म भएको हो भन्ने मान्यता छ, तर यो पुस्तकमा यस सम्बन्धमा कुनै चर्चा गरिएको छैन । पृथ्वीनारायण शाहले वि.संं. १८०१ मा नुवाकोट विजय गरेको हुँदा यो पुस्तकमा वि.संं. १८०१ देखि नेपालको एकीकरणको इतिहास शुभारम्भ गरेको छ, तर ससुराली मकवानपुरमा बेइज्जती सहेर मनमा ठूलो उत्साह लिई चन्द्रागिरिको डाँडाबाट नेपाल उपत्यका हेरेको घटनालाई नेपालको एकीकरणको सपना मानिएको छ । अतः चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको मनमा जुन विचार उत्पन्न भयो, त्यही नै नेपालको एकीकरणको भावनाको उदय थियो । त्यस अवसरमा भानु अर्याल र कुलानन्द ढकालले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्नका लागि उत्साह दिएका थिए । त्यसकारण चन्द्रागिरिको डाँडाको घटनाबाट नेपाल एकीकरणको इतिहास शुभारम्भ गरिनुपर्छ, तर यस पुस्तकमा चन्द्रागिरिको उक्त घटनालाई महत्व दिइएको छैन ।


पृथ्वीनारायण शाहलाई काशी जान खर्चको अभाव हुँदा बिसे नगर्चीको सल्लाहअनुसार बाह्र हजार गोरखाको घरैपिच्छे एक–एक रुपैयाँ उठाएर बाह्र हजार रुपैयाँ पोको पारेर पृथ्वीनारायण शाह काशी गएका थिए । यसबाट बिसे नगर्ची एउटा कुशल अर्थविद् र योजनाकार रहेको स्पष्ट हुन्छ । यसैगरी पृथ्वीनारायण शाहले ज्ञानकर बाँडालाई पश्चिमतिरको युद्ध रोक्नका लागि मनकामनामा तान्त्रिक अनुष्ठान गराएका थिए । नेपाल एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले गुरुसमान मानेका सिद्ध भगवन्तनाथको ठूलो भूमिका छ । यसैगरी लखनौका तीनजना मुसलमान कालिगडलाई पृथ्वीनारायण शाहले आफ्नो सेनामा जागिर दिई हातहतियार बनाउने काममा लगाएका थिए तर यस पुस्तकमा यी कुराले ठाउँ पाएका छैनन् । त्यसकारण यस पुस्तकमा पृथ्वीनारायण शाहको सन्दर्भमा सबैलाई समेटेर बाहुनको कुरा, औतारी लामाको कुरा, दमैको कुरा, बाँडाको कुरा, जोगीको कुरा र मुसलमानको कुरा लेखिदिएको भए नेपालको एकीकरणमा सबै वर्ग र समुदायको सहभागिता रहेको वास्तविकता राम्ररी स्पष्ट हुन्थ्यो र यसबाट सबै नेपालीमा नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको साझा भावना विकास हुने थियो ।
एक्लो झागल गुरुङ पोखरा गएर परशुराम थापाको षड्यन्त्रलाई विफल बनाएपछि पृष्ठशोधन गरेपछि पृथ्वीनारायण शाह निर्भीकतापूर्वक अघि बढ्न सकेको घटनालाई विस्तृत रूपमा व्याख्या गरिदिएको भए यसबाट नेपाली सेनामा शौर्य, वीरता र कार्यकुशलताको भावना अभिवृद्धि हुने थियो, तर त्यस्ता वीर झागल गुरुङको तस्बिरसम्मले पनि यस पुस्तकमा ठाउँ पाउन सकेन । 


यस पुस्तकको पृ. ५५ मा मिरकासिमलाई जितेपछि गोरख कम्पनी स्थापना गरिएको उल्लेख छ, तर वास्तवमा मकवानपुरमा मुसलमानलाई र सिन्धुलीमा अंग्रेजलाई जितेपछि मुुगलको दोष मेट्न गोरखनाथको नामबाट श्रीनाथ र गोरखकालीको नामबाट कालीबक्स कम्पनी स्थापना गरिएका हुन् । यस पुस्तकको पृ. ७१ मा पृथ्वीनारायण शाहले अंग्रेजलाई रोक्न वंशराज पाण्डे, श्रीहर्ष पन्त, वीरभद्र उपाध्याय र वंशु गुरुङलाई सिन्धुली खटाएको उल्लेख छ, तर सिन्धुलीको युद्धसम्बन्धी भूगोल र युद्धको वर्णन पनि राम्ररी मिलेको छैन ।

पुस्तकमा पृथ्वीनारायण शाहका सन्दर्भमा सबैलाई समेटेर बाहुनको कुरा, औतारी लामाको कुरा, दमैको कुरा, बाँडाको कुरा, जोगीको कुरा र मुसलमानको कुरा लेखिदिएको भए नेपालको एकीकरणमा सबै वर्ग र समुदायको सहभागिता रहेको वास्तविकता राम्ररी स्पष्ट हुन्थ्यो ।


सिन्धुलीको ढुङ्ग्रेबासको जंगलको युद्धमा अंग्रेजलाई परास्त गरेका सिकारी सर्दार गुरुङको नाम के थियो, त्यो नाम मिलेको छैन । अतः त्यो कुरा निश्चित गर्न आवश्यक छ । इ.शि. बाबुराम आचार्यद्वारा लिखित ‘नेपालको संक्षिप्त वृत्तान्त’ शीर्षक पुस्तकमा ढुङ्ग्रेबासको जंगलमा अंग्रेजसँग लडेका गुरुङको नाम भैंसे गुरुङ लेखिएको छ । त्यसपछि स्वयं इ.शि. बाबुराम आचार्यले लेखेको ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह’ शीर्षक पुस्तकको भाग ३, पृ. ४९०–४९१ मा प्रकाशित भाषावंशावलीमा दुई ठाउँमा वंश गुरुङ र एक ठाउँमा वंसु गुरुङ लेखिएको छ तर बाबुराम आचार्यले चाहिँ उक्त पुस्तकको पृ. ४७८–४७९ मा वंसु गुरुङ लेख्नुभएको छ । इ.शि. बाबुराम आचार्यले वंसु गुरुङ लेखिदिएको हुँदा त्यसपछिका इतिहास लेख्नेहरूले यस विषयमा समुचित अनुसन्धान नै नगरी आँखा चिम्लेर वंसु गुरुङ नै लेखे तर यो यथार्थपरक र विश्लेषणात्मक इतिहास लेखन होइन । केवल अन्धोभक्ति मात्र हो ।


नेपाली सेनाले अहिले प्रकाशित गरेको पुस्तकमा पनि पं. नयराज पन्तको संयोजकत्वमा संगठित इतिहास संशोधन मण्डलद्वारा सम्पादित एवं जगदम्बा प्रकाशनद्वारा प्रकाशित ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ शीर्षक पुस्तकको पृ. ८६२–८६३ को सन्दर्भ दिएर उक्त सिकारी सर्दारको नाम वंशु गुरुङ लेखिएको छ, तर उक्त पुस्तकमा वंशु गुरुङ नभएर वंश गुरुङ लेखिएको छ । यसरी हुँदै नभएको कुराको सन्दर्भ दिनु अथवा एउटा कुरा लेखिएकोमा अनर्थ हुने गरी अर्कै कुरा लेख्नु, यो कस्तो नेपाल एकीकरणको इतिहास लेखन हो ? अतः यो कुरा ज्यादै त्रुटिपूर्ण र आपत्तिजनक छ, किनभने त्रुटिपूर्ण र भ्रमपूर्ण इतिहास लेख्न, छाप्न र पढ्न हुन्न । यसले मानिसको मतिभ्रष्ट पार्छ ।


डा. डिल्लीरमण रेग्मीद्वारा लिखित मोर्डन नेपाल भोल्युम १ को पृ. १९० मा स्थानीय वंशावलीको उल्लेख गर्दै सिन्धुलीगढीको ढुङ्ग्रेबासमा अंग्रेजसँग लडेका सिकारी सर्दारको नाम वंश गुरुङ लेखिएको छ । पं. नयराज पन्तको प्रत्यक्ष निर्देशनमा इतिहास संशोधन मण्डलले सम्पादन गरेको र कमलमणि दीक्षितजस्ता वरिष्ठ विद्वान्को निर्देशनमा सञ्चालित जगदम्बा प्रकाशनजस्तो गरिमामय संस्थाद्वारा प्रकाशित ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ शीर्षक पुस्तकको पृ. ८६२–८६४ मा शुद्ध रूपमा प्रस्टसँग उक्त सिकारी सरदारको नाम वंश गुरुङ लेखिएको छ । अतः सिन्धुलीको ढुङ्ग्रेबासको जंगलमा गुरिल्ला युद्धद्वारा अंग्रजलाई परास्त गर्ने व्यक्ति बसु गुरुङ वा वंशु गुरुङ नभई वंश गुरुङ हुन् । यो नै यथार्थ इतिहास हो । अतः हामीले इतिहासलाई इतिहास बनाउन जान्नुपर्छ । वास्तविक सत्य र तथ्यको आधारमा इतिहास लेखिनुपर्छ ।


इतिहास संशोधन मण्डल विद्वत्वर दैवज्ञ पं. नयराज पन्तको प्रत्यक्ष संरक्षण र निर्देशनमा संगठित एवं सञ्चालित संस्था हो । इतिहास संशोधन मण्डलले वैज्ञानिक अन्वेषण गरेर नेपालको प्रामाणिक इतिहास प्रकाशन गरी ठूलो मान इज्जत कमाएको छ । त्यसकारण इतिहास संशोधन मण्डलले गरेको काममा कसैसँग कुनै सम्झौता हुन सक्दैन । यदि इतिहास संशोधन मण्डलले गरेको काममा अन्यथा हुन गएमा पं. नयराज पन्त, वरिष्ठ इतिहासविद् धनवज्र बज्राचार्य र प्राज्ञ ज्ञानमणि नेपालको मानमर्दन गरेको ठहरिनेछ ।


यस पुस्तकको पृ. ८८ मा पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग गर्ने खोटाङ, खार्पाका हरिनन्द उपाध्याय पोखरेल र उनका दाजु त्रिलोचन उपाध्याय पोखरेलको नाम उल्लेख गरिएको छ, तर नेपाल एकीकरणको वातावरणलाई सहज बनाएका पं. विश्वेश्वर अर्याल र जग्गाजमिनको श्रेस्ता मिलाएर नेपाललाई अखण्डित बनाएका पृथ्वीन्द्रोदय महाकाव्यका रचयिता पं. उदयानन्द अर्यालको योगदानको भने चर्चा गरिएको छैन ।


आज खम्बुवान र लिम्बुवानमा केही असन्तुष्टि बढिरहेको छ । पूर्वी नेपाल बृहत् नेपाल राष्ट्रमा समाहित भएपछि पृथ्वीनारायण शाहले धर्म भाकेर किरातहरूलाई उनीहरूको अघिदेखिको जग्गाजमिनको भोग र प्रशासनिक अधिकार थामिदिएर एउटा संरक्षकको दायित्व वहन गरेका थिए । यसैगरी पृथ्वीनारायण शाहले जनकपुरका महन्त सुमरनदासलाई उनको पद र गुठी जग्गा थामेर मैथिली भाषामा लालमोहर गरिदिएका थिए । यसरी पृथ्वीनारायण शाहले मिथिलाक्षेत्र र त्यहाँको भाषा एवं धर्म, संस्कृतिप्रति अपनत्वको भाव दर्साएका छन्, तर यस पुस्तकमा यस्ता यी संवेदनशील कुराहरूको व्याख्या गरिएको छैन ।

आज खम्बुवान र लिम्बुवानमा केही असन्तुष्टि बढिरहेको छ । पूर्वी नेपाल बृहत् नेपाल राष्ट्रमा समाहित भएपछि पृथ्वीनारायण शाहले धर्म भाकेर किरातहरूलाई उनीहरूको अघिदेखिको जग्गाजमिनको भोग र प्रशासनिक अधिकार थामिदिएर एउटा संरक्षकको दायित्व वहन गरेका थिए ।


नेपाल एकीकरणको इतिहासमा वि.सं. १८३९ आषाढशुदी ८, बिहीबार कालीमराङठानामा लिइएको सैनिक हाजिरीले ठूलो महत्वपूर्ण स्थान राख्छ । उक्त हाजिरीमा कुन ठाउँको कुन व्यक्ति हो ? उनको पद के थियो ? उनका साथमा कति जवान र के–कस्ता कति हतियार थिए ? उनको खान्कीमा कति खेत दरिएको थियो ? यी सबै विवरण खुलाइएको छ । त्यसकारण नेपाल एकीकरणको इतिहासमा कालीमराङठानाको उक्त सैनिक हाजिरीको महत्वपूर्ण स्थान रहेको हो, तर यो पुस्तकमा कालीमराङठानाको उक्त सैनिक हाजिरीको उल्लेख नगरेर नेपाल एकीकरणको इतिहासको छुटाउनै नहुने एउटा महत्वपूर्ण बुँदा छुटाइएको छ ।


बहादुर शाहको नायवीकालमा पश्चिमतिरको विजय अभियान थालियो । नेपाली सेना स्याङ्जाको लसर्धा र कार्कीकोटमा गएर भेला भए । त्यस अवसरमा दलमुखी भएर अघि बढेका देवान जीव शाहले युद्धमा आफ्नो विजय होस् भन्ने कामनाबाट वि.सं. १८४३ ज्येष्ठकृष्ण सप्तमी, शनिबार, घनिष्ठा नक्षत्र, मध्याह्न सिंह लग्नमा लसर्घाको कुलदेवता आलमदेवीलाई नगरा र कर्णाल चढाई पूजाका लागि गुठी पनि राखिदिएका थिए । अतः स्याङ्जाको लसर्धा, आलमदेवी पश्चिम नेपालको एकीकरण अभियानको अग्रगामी थलोको रूपमा प्रसिद्ध छ, तर यस पुस्तकमा यो थलो र यहाँ भए–गरेका गतिविधिहरूको चर्चा गरिएको छैन ।


नेपाली सेनाद्वारा प्रकाशित ‘नेपाल एकीकरणको इतिहास’ शीर्षक यस पुस्तकमा वि.सं. १८७२ वैशाख ५ गते मलाउको युद्धमा कप्तान भक्ति थापाले वीरगति प्राप्त गरेको घटनापछि पश्चिमतिरको युद्धको विवरण टुंग्याइएको छ, तर वि.सं. १८७२ वैशाख ५ मा पश्चिमतिरको युद्ध टुंगिँदैन ।मलाउको किल्लामा वि.सं. १८७२ वैशाख ५ गतेको जुनेली रातमा भएको युद्धमा ७२ वर्षका कप्तान भक्ति थापाले वीरगति प्राप्त गरेका हुन् । त्यसको भोलिपल्ट वि.सं १८७२ वैशाख ६ गते राजगढको युद्धमा सुब्बा प्रह्लाद गुरुङले वीरगति प्राप्त गरेपछि चौतारिया बम शाहले युद्धविरामको घोषणा गरिदिए । त्यसकारण पश्चिमतिरको युद्ध वि.सं. १८७२ वैशाख ५ गते नभएर वि.सं. १८७२ वैशाख ६ गते टुंगिएको हो ।


त्यसपछि वि.सं. १८७२ वैशाख १७ गते महाकाली नदीलाई साँध मानेर कुमाउमा नेपाल र अंग्रेजबीच सन्धि भयो । त्यस सन्धिमा नेपालको तर्फबाट चौतारिया बम शाह, काजी चामु भण्डारी, कप्तान अंगद घले र सर्दार जसमर्दन थापाले हस्ताक्षर गरेका थिए । सन्धि गरेपछि नेपाली सेना महाकाली तरेर बैतडी आएर बसे । त्यसपछि वि.सं. १८७२ जेठ ५ गते सबै कुराको वृत्तान्त लेखेर श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहलाई पठाइएको थियो ।यसरी पश्चिम किल्ला काँगडातिरको युद्ध टुंगिएको थियो, तर यस पुस्तकमा वि.सं. १८७२ वैशाख ६ गतेदेखि वि.सं. १८७२ जेठ ५ गतेसम्मको वृत्तान्त छुटेकाले यो पुस्तक अपूर्ण छ । यसैगरी यस्तो महत्वपूर्ण पुस्तकमा अनुक्रमणिका दिइएको छैन । यो त्रुटि यस पुस्तकको दोष हो ।

 

अच्युत ता केवल भगवान् मात्रै हुन्छ, तापनि जुनसुकै काम गर्दा पनि गम्भीर हुनुपर्छ । अतः अर्को–अर्को संस्करणमा यस्ता त्रुटि सच्याउँदै, अधुरोलाई पूर्ण गर्दै केस्रा–केस्रा केलाएर नेपाल एकीकरणको वैज्ञानिकस्तरको प्रामाणिक इतिहास लेखेर नेपाल राष्ट्रको प्राज्ञिक आवश्यकताको आपूर्ति हुनेछ भन्ने आशा गर्छु ।

विज्ञेषुकिमधिकम् । अस्तु ।