• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
लोकरञ्जन पराजुली
२०७८ कार्तिक १३ शनिबार ०७:३०:००
समाज

औलोको दोहोलो

२०७८ कार्तिक १३ शनिबार ०७:३०:००
लोकरञ्जन पराजुली

“काठमाडौं, आषाढ ८ गते । गत वैशाख ३० गतेको खड्गनिसानाबमोजिम मलेरिया ज्वरो हटाउने बन्दोबस्तलाई हेटौंडामा यो वर्ष ४ महीनासम्म बसी आएन्टीमलेरियाको काम गर्नको निमित्त डाक्टर कम्पाउण्डर पल्टनिया जवान हाकिम कारिन्दासमेत गरी ४० जवान खटिएको खबर छ ।”२००७ साल असार १२ गतेको गोरखापत्रको तेस्रो पातोको पहिलो कोलममा छापिएको ‘औलो रोक्ने जाँचबूझ’ शीर्षकको एक वाक्यको समाचार हो यो (हेर्नुहोस् तस्बिर १) । नेपालमा औलो उन्मूलनबारे लेखिएका सामग्रीमा प्रजातन्त्र आइसकेपछि (विसं. २०१० र २०२० को दशकमा) खासगरी अमेरिकी सरकार/विश्व स्वास्थ्य संगठनको सहयोगमा डिडिटी छर्केर लामखुट्टे मार्ने अभियानलाई उल्लेख गरिन्छ । तर, नेपालमा औलोको दोहोलो काड्ने प्रयत्न राणाकालको अन्तिम वर्ष (२००७ साल) मा सुरू भइसकेको यो समाचारले देखाउँछ । 

इतिहासमा औलो
हजारौँ वर्षदेखि नेपाललगायत संसारभरका मानिसलाई औलो (मलेरिया)ले आक्रान्त पार्दै आएको छ । विगतमा नेपालको तराई, भित्री मधेस र पहाडी भेगका पनि मैदानी इलाकाहरू (उपत्यका, टार, खोँच, आदि)मा यो रोगको जगजगी भएकैले पहाडका भिरपाखामा जनसंख्याको ठूलो हिस्सा बसोवास गरेको हो । नेपालका कतिपय ठाउँका नाउँ नै ‘औल’ भएको पाइन्छ । उदाहरणका लागि वीरगन्जबाट केही किलोमिटर पश्चिमको इलाकाको नाउँ औल हो । त्यस्तै, दार्चुला खलंगालाई अद्यापि औल खलंगासमेत भन्ने गरिन्छ ।


इतिहासका ठेली केलाउने हो भने नेपाल भ्रमण आएका विदेशीहरूका लेखोटमा नेपालमा यो रोगको आधिपत्यको उल्लेख पाइन्छ । १८औँ शताब्दीको मध्यताका मकवानपुर हुँदै हिँडेका पादरी गेओर्गिएनले औलोको महामारीबारे उल्लेख गरेको हेमांग दीक्षितले आफ्नो पुस्तक ‘नेपाल्स क्वेस्ट फर हेल्थ’मा लेखेका छन् । १८औँ शताब्दीकै अन्ततिर नेपाल आएका अंग्रेज कर्णेल विलियम कर्कप्याट्रिकले आफ्नो किताब ‘एन अकाउन्ट अफ द किङडम अफ नेपाल’मा नेपालको तराई र मैदानी इलाकामा औलो व्याप्त भएको उल्लेख गरेका छन् । 


जंगबहादुरको शासनकालमा ब्रिटिस रेजिडेन्सीमा चिकित्सक रहेका हेनरी ओल्डफिल्डको किताब ‘स्केचेज फ्रम नेपाल’मा औलोबारे पटक–पटक, तर सामान्य उल्लेख पाइन्छ । नुवाकोट/देवीघाटमा गर्मी सुरु हुन थालेपछि औलो लाग्ने, औलो नलागोस् भनेर देवीको पूजा गरिने र त्यहाँका केही जाति दराई, कुमाल, माझी, दनुवार आदि औलोबाट केही हदसम्म ‘इम्युन’ रहेको उनले लेखेका छन् । सन् १८४१ मा नेपालकी महारानीको हेटौँडामा औलो लागेर मृत्यु भएको प्रसंग पनि उनको किताबमा पढ्न पाइन्छ । साथै, जंगबहादुरको हत्या गर्ने सुरमा काठमाडौं छिरेका लाल झाले औलोले थला परेर मृत्युको मुखमा पुग्दा आफूले जगतबम पाण्डेको उक्साहटमा गगनसिंहको हत्या गरेको बताएको त्यहाँ उल्लेख छ । 


अर्का ब्रिटिस रेजिडेन्ट ब्रायन हजसनले १९औँ शताब्दीको मध्यमा लेखेका छन्– समुद्री सतहभन्दा तीन–चार हजार फिटमुनिका कुनै पनि इलाकाले मलेरियालाई माथ दिन सक्दैनन् । चन्द्रशमशेरको पालामा राममणिले तयार गरेको साधारण चलतीको औषधि पुस्तकमा पनि औलोको प्रविष्टी पाइन्छ । माथि भनेझैँ, मलेरिया नेपालको मात्रै शत्रु थिएन–एनोफिलिस मिनिमस नामको फुच्चे लामखुट्टेबाट सर्ने यो रोगले सारा संसारलाई नै कायल बनाएको थियो । र, विश्वव्यापी रूपमा यससँग लड्ने प्रयत्न हुँदै आएको थियो । औलो रोगसँग सम्बन्धित विविध पक्षको अनुसन्धान गरेबापत विभिन्न समयमा थुप्रैले नोबेल पुरस्कार पाइसकेकाले पनि यसको गुरुत्व दर्साउँछ ।


सन् १९३९ मा स्विस रसायनशास्त्री पौल म्युलरले डिडिटी (डाइक्लोरोडाइफिनायलट्राइक्लोरोइथेन) नामक रासायनिक पाउडर किटपतंगको दोहोलो काड्नमा उपयोगी हुन्छ भन्ने पत्ता लगाएपछि भने फुच्चे लामखुट्टेका दिनगन्ती सुरू भए ।    – म्युलरले पछि सन् १९४८ मा नोबेल पुरस्कार पाए।) तथापि बर्सेनि दुई अर्ब व्यक्ति अद्यापि यो रोगको चपेटामा पर्ने र करिब छ लाखजनाले यसकै कारण ज्यान गुमाउने अनुमान गरिन्छ । 

नेपालको पहिलो ‘औलोताडन’ अभियान
पश्चिमा मुलुकमा सन् १९४० को दशकमा डिडिटीको व्यापक प्रयोग सुरू भयो । र, सो दशकका पछिल्ला वर्षमा छिमेकी भारतलगायत विश्वका अन्यन्य मुलुकमा । यही मेसो नेपालमा पनि ‘अनुभवको रूपमा’ (अर्थात् पाइलट प्रोजेक्टको रूपमा) हेटौँडामा २००७ सालमा औलो नियन्त्रणको कार्यारम्भ गरियो । यतिखेर अन्तिम राणा शासक मोहनशमशेर नेपालमा शासनरुढ थिए । उनी उदारवादी मानिएका पद्मशमशेरलाई धपाएर २००५ सालदेखि शासनसत्ता हाँकिरहेका थिए । आफू शासनमा आएपछि पद्मशमशेरले लागू गर्न खोजेका अलि उदारवादी नीतिहरूलाई रोकेर राखेका मोहनशमशेर २००७ सालसम्म आइपुग्दा ‘गलिसकेका’ थिए ।

औलो नियन्त्रणसँगै सुरु भयो नेपालका मैदानी इलाकामा नयाँ बस्ती बस्ने प्रक्रिया र सहरीकरण ।


 ‘कस्मेटिक’ नै सही नेपाल पनि ‘परिवर्तनउन्मुख’ छ भनेर नदेखाउने हो भने शासनमा हालीमुहाली कायम राखिरहन अब सम्भव छैन भन्ने उनले पछि अनुभूत गरेको देखिन्छ । सोहीअनुरूप उनले विभिन्न क्षेत्रमा ‘सुधार’ हुँदै गरेको देखाउन प्रचार अड्डा नै खडा गरेका थिए । यही क्रममा वैधानिक समितिलाई सक्रिय बनाएर स्थानीय निकाय (गाउँ/नगर तथा जिल्ला पञ्चायत) र केन्द्रीय विधायिका गठन कार्य अगाडि बढाएका थिए । अनि आर्थिक योजना समितिलाई सक्रिय तुल्याई ‘प्रादेशिक विकास’का लागि भनेर रकम छुट्याएको घोषणा गरेका थिए । 


स्वास्थ्यसम्बन्धी ‘पथप्रदर्शक’ योजना चालू गर्नका लागि पनि उनले २००७ सालदेखि वार्षिक करिब रु. ८० हजार छुट्याएका प्रचार समितिको सूचनाबाट थाहा हुन्छ । यही क्रममै खास गरी हेटौँडालाई केन्द्रमा राखी अमलेखगन्जदेखि चितवनसम्म मलेरिया नियन्त्रणका लागि प्रयत्न गर्न खोजिएको थियो । यसबाट सफलता मिलेमा ‘कैयन् नगर र निवासहरू जन्मने’ शासकहरूले ठानेका थिए, जुन कालान्तरमा सही ठहरियो ।


हेटौँडामा २००७ असारको दोस्रो सातादेखि सुरू भएको औलो नियन्त्रणसम्बन्धी पाइलट प्रोजेक्टमा डाक्टर, कम्पाउन्डर, सेनाका जवान र अन्य कर्मचारी गरी ४० जना खटिएका थिए । उनीहरूले हेटौँडामा ‘औलोताडन (कहीं औलोतोडन पनि लेखिएको) अफिस’ खोलेर काम गरेका थिए । यस काममा ‘बीसौँ हजार’को प्रारम्भिक रकम निकासा भएको ‘बिजुली अड्डा’को दाबी थियो । सरकारले स्वास्थ्यसम्बन्धी प्रादेशिक कार्यालयको खाका बनाए पनि सो गठन नभइसकेकाले होला, यी सबै काम बिजुली अड्डाको मातहत गरिएको थियो ।


प्रारम्भमा चार महिना लाग्ने ठानिए पनि यो काम तीनै महिनामा सकिएको र सोको नतिजा उत्साहप्रद भएको, अर्थात् औलो नियन्त्रणमा आएको देखिन्छ । ‘औलोताडन’का लागि नेपाली टोलीले ‘हेटौँडा र वरिपरका कैयन् गाउँहरूमा’ गरेको काम ‘कस्तो हिसाबसँग भयो भन्ने कुराको जाँचबुझका लागि दिल्लीनिवासी मलेरिया एक्सपर्ट, डाक्टर राघवन’लाईसमेत झिकाएको थियो । राघवन हेटौँडा ‘आई केही दिन त्यहाँ बसी सबै कुरा काम सन्तोषजनक भएको रहेछ भनी फर्केर’ गएको बिजुली अड्डाको सूचनामा जनाइएको छ ।


मलेरियालाई ‘दूषित हवा रोग’ भन्ने पुरानो मान्यता अझै दोहोर्‍याइरहे तापनि नेपाल सरकारले २००७ सालसम्म आइपुग्दा यसको मूल कारक लामखुट्टे हो भन्ने स्विकारिसकेको थियो । गोरखापत्रमा छापिएको बिजुली अड्डाको सूचनामा भनिएको छ, “खास गरी दह र धाप नै यो रोगको वासस्थान हुन्छ । ...लामखुट्टेद्वारा यो रोग फैलिन्छ । दिनभरि सो झिङो, ढल, किचड, पोखरी, रछान आदि मैला ठाउँमा सुत्दछ र साँझ परेपछि उठी आहारा खोज्न बाहिर उड्छ । मानिस र जन्तुहरूको रगत चुसी टन्न भएर फेरि फोहोर ठाउँमा गई फूल पार्छ । चाँडै नै बच्चाहरू जन्मी टुइँटुइँ गरी घुम्न थाल्छन् । रोगी ठाउँमा जन्मी हुर्केका यी डान्स (?) ले रोग बोकी मानिस तथा जनावर सबैमा इन्जेक्सन गरी रोगको वीजारोपण गरिदिन्छ र हनहनी जरो आउन थाल्छ ।” 


लामखुट्टेबाट फैलने यो रोगसँग लड्न साबिकका उपाय कुइनान सल्फेटका गोली खाने, तेल÷मलम लगाउने र झुल टाँग्ने मात्रले सम्भव भएन । किनभने ‘कुइनाइन कति खानु ? झूल सबैलाई’ पुग्थेन, अनि ‘मलम लगाएर साध्य’ भएन । त्यसैले सरकारले दुई चुच्चे उपाय अपनाएको थियो । पहिलो थियो, साबिकका उपाय र ‘औलान्तकतैल’ को प्रयोग गर्ने । र, दोस्रो, ‘दुष्ट पतंग’ अर्थात् लामखुट्टेको जन्म निवारणका लागि ‘हरेक दह, हरेक किचड, कोठा, चोटा, भुइँ, भित्ता, भरेङ, भान्सा, कुना काप्ची यत्रतत्र औषधि छरी’ औलोताडन गर्ने । 


यी उपाय लगाएपछि हेटौँडा र वरपरका गाउँमा सो ‘व्याधिका जड विषालु लामखुट्टेहरूको भागाभागको मेलो’ भएको सरकारी दाबी थियो । यहाँनेर सरकारले कुन ‘औषधि’ छरेको थियो भन्ने थाहा नलागे पनि यो डिडिटी भएको अनुमान लगाउन सकिन्छ, किनभने यति वेलासम्म अन्यत्र विश्वमा र छिमेकी भारतमा पनि डिडिटीको प्रयोग व्यापक हुन थालेको थियो ।

नेपालको राजनीतिक आन्दोलनको सफलता र विश्वव्यापी मलेरियाविरुद्धको लडाइँ सँगसँगै जस्तै सुरु भयो । मलेरियाविरुद्ध डिडिटी पाउडर कारगर मानियो । पछि जनस्वास्थ्य र समग्र वातावरणका लागि खराब (क्यान्सर–कारकसमेत) मानिएको यो विषादी लाखौँलाख टन उत्पादन गरियो ।


यसरी हेटौँडा र वरपरका गाउँमा ‘औलोको दोहोलो’ भई ‘दुनियाँले आशा गरेभन्दा बढ्ता फाइदा उठाउन पाएकाले’ सो काम ‘अमलेखगन्जमा पनि होओस् भन्ने त्यहाँका वासिन्दाहरूले बिन्ती’ चढाएछन् । सोहीबमोजिम “अमलेखगन्जमा पनि सो औलो हटाउने क्रिया आश्विन ६ (?) गतेदेखि आरंभ भई तदारुखसाथ काम” भइरहेको बिजुली अड्डाको अर्को सूचना २००७ साल असोज १६ गतेको गोरखापत्रमा छापिएको छ (हेर्नुहोस् तस्बिर २) । 

 एनोफिलिसको दोहोलोले ल्याएको परिवर्तन
हेटौँडामा सफल भएको यो पाइलट प्रोजेक्ट अमलेखगन्जमा पनि कार्यान्वयनमा आएको र त्यहाँ पनि सो काम सफल भएमा “चितौन र अरू औलो लाग्ने सबै ठाउँमा यो काम चालू” गराउने बिजुली अड्डाले जनाएको थियो । तर, अमलेखगन्जमा औलोताडन कार्यक्रम लागू हुँदै गर्दा तात्कालिक राजा त्रिभुवन शाह भागेर पहिले भारतीय दूतावासमा र पछि दिल्लीमा शरण लिन पुगे । 


त्रिभुवन सपरिवार दिल्ली लागेलगत्तै नेपाली कांग्रेस पार्टीले राणाशासनविरुद्ध २००७ सालको सशस्त्र आन्दोलन छेड्यो । राणाशाही ढल्यो । शासन व्यवस्थामा उथलपुथल आयो; र राजनीतिले प्राधान्य पायो । अमलेखगन्जमा पनि सायद औलोताडनको काम भयो, तर चितवनसम्म त्यो पुगेन । नेपालको राजनीतिक आन्दोलनको सफलता र विश्वव्यापी मलेरियाविरुद्धको लडाइँ सँगसँगै जस्तै सुरु भयो । मलेरियाविरुद्ध डिडिटी पाउडर कारगर मानियो । पछि जनस्वास्थ्य र समग्र वातावरणका लागि खराब (क्यान्सर–कारकसमेत) मानिएको यो विषादी लाखौँलाख टन उत्पादन गरियो, जसको सानो एक हिस्सा मूलतः अमेरिकी सहयोगको काँध चढेर नेपाल भित्रियो । र, नेपालको तराई, भित्री मधेस र पोखरा, नुवाकोटजस्ता पहाडी उपत्यकाका मैदानी भूभागमा समेत यसलाई व्यापक रूपमा छरियो । औलोलाई पूर्ण उन्मूलन गर्न नसके पनि यसले धेरै हदसम्म त्यसलाई नियन्त्रण  गर्‍यो । 

 

औलो नियन्त्रणसँगै सुरू भयो नेपालका मैदानी इलाकामा नयाँ बस्ती बस्ने प्रक्रिया र सहरीकरण । चितवनमा त विदेशी (अमेरिकी) सहयोगमा राप्ती उपत्यका विकास परियोजना नै सुरू गरेर बस्ती बसालियो । पहाडमा बिपत्मा परेका, बापत् लागेका र अवसरको खोजीमा रहेकाहरू निजी प्रयासमा र राज्यको प्रोत्साहन/मद्दतमा मैदानी इलाका झरे । फलतः नेपालको जनसांख्यिक वितरणमा क्रमशः कायापलट भयो । बीसौं शताब्दीको सबैभन्दा गहनमध्येको यो अकल्पनीय परिवर्तनका लागि वातावरणीय इतिहासकार टम रबर्टसनले भनेझैँ औलोको दोहन (वा त्यसको स्रोत एनोफिलिस लामखुट्टेको आममरण) नै मुख्य कारक रह्यो । 

(पराजुली मार्टिन चौतारीमा कार्यरत ऐतिहासिक समाजशास्त्री हुन् ।)