• वि.सं २०८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
दुतेन्द्र चाम्लिङ
२०७८ कार्तिक १३ शनिबार ०८:१६:००
संगीत

संगीतमा आन्दोलन

विभिन्न आन्दोलन र परिवर्तनपछि पनि नेपाली संगीतको अन्तर्वस्तु किन उही छ ?

२०७८ कार्तिक १३ शनिबार ०८:१६:००
दुतेन्द्र चाम्लिङ

 

अल्बर्ट आइन्स्टाइनले गुरुत्वाकर्षणको तरंग र प्रसारणसम्बन्धी भविष्यवाणी गरेको एक सय वर्षपछि सन् २०१६ मा अन्ततः उक्त भविष्यवाणी सही साबित भएको समाचारले संसारलाई तरंगित बनायो । विभिन्न आन्दोलन, परिवर्तन र आविष्कारले संगीतमा गहिरो प्रभाव पारेको हुन्छ । विशेषगरी संगीतलाई ध्वनिहरूको व्यवस्थित संरचनाको रूपमा मात्र बुझ्ने दृष्टिकोणले संगीतलाई आन्दोलन, परिवर्तन र आविष्कारबाट सधैँ टाढा पुर्‍याउँछ र त्यो भनेको अन्ततः संगीतबाटै टाढा पुग्नु हो । वास्तवमा संगीत त्यो संज्ञान हो, जसले हरेक प्रक्रियालाई व्यवस्थित गरी कुनै पनि कार्यलाई सम्भव तुल्याउ“छ । संगीतमा अन्तर्निहित आन्दोलन पहिचान गर्न नसकेको मूल्य मानिसले हिँड्दा–हिँड्दै लडेबाट तिरिरहेको हुन्छ ।


प्रस्तर युगदेखि मानव समाज सभ्यताको प्रयाणकारी सिलसिलाबाट अघि बढ्दै यहाँ आइपुगेको छ । यसमा संगीतको देन छ । हामीले कुनै बिउ रोप्यौँ र त्यसबाट बिरुवा उम्रियो । त्यो एउटा निर्दिष्ट संगीतमा अन्तर्निहित आन्दोलनको कारणबाट सम्भव भएको हो । बिउ एउटा बिरुवा बन्ने निष्कर्षमा संगीतमा अन्तर्निहित आन्दोलनको एउटा निश्चित द्वन्द्वयुक्त शृंखलाको व्यवस्थित प्रक्रियाले पार गरेको हुन्छ । प्रकृतिको संश्लेषण नै संगीत हो । द्वन्द्व विकल्पको आग्रहबाट सुरु हुन्छ र त्यसको औचित्य अर्को परिष्कृत द्वन्द्वको तहमा पुगेबाट पुष्टि हुन्छ । द्वन्द्वमा अन्तर्निहित जति पनि प्रक्रियाहरू हुन्छन्, तिनीहरूले संगीतमा अन्तर्निहित आन्दोलनको उत्कृष्ट छनोटद्वारा प्रयाणकारी प्रवृत्तिलाई धारण गर्छन् र बिउलाई निषेध गर्ने वातावरणको निर्माण गरी बिरुवा हुने प्रक्रियालाई सम्भव तुल्याउ“छन् । संगीत निष्कर्षभित्रको प्रक्रिया हो र प्रक्रियाभित्रको व्यवस्थित निष्कर्ष हो ।


निश्चित, निर्धारित र निर्दिष्ट लक्ष्य र उद्देश्यसम्म पुर्‍याउने द्वन्द्वहरूबाट सिर्जित संगीतको प्रोगेसन नै संगीतमा अन्तर्निहित आन्दोलन हो, जसलाई निर्दिष्ट रूपमा प्रयाणकारी बनाउन नोटेसनहरू निर्धारित गरिन्छन् । संगीतकारले एउटा निर्दिष्ट र निश्चित अर्थ र उद्देश्यसहित विचार र भावनाहरूको अन्तर्वस्तुमार्फत सिर्जनालाई अगाडि बढाउँछ । संगीतकारले संगीतमा अन्तर्निहित आन्दोलनमा आफ्नो विचारलाई बढीभन्दा बढी गति दिएर अगाडि लैजाने हुनाले संगीतको अन्तर्वस्तु सबैभन्दा बढी संगीतमा अन्तर्निहित आन्दोलनमा मुखरित हुन्छ । कुनै पनि संगीतको चरित्र, भाव, विचार र त्यसको सम्पूर्ण अन्तर्वस्तु पहिचान गर्नु अनि त्यस संगीतमा अन्तर्निहित आन्दोलनलाई गहिरो गरी सुन्नु आवश्यक हुन्छ ।

औद्योगिक क्रान्ति र संगीत
बेलायतबाट सुरु भएको औद्योगिक क्रान्ति क्रमशः सन् १७६० देखि १८४० सम्म संसारभरि फैलियो । यस क्रान्तिको मुख्य केन्द्रबिन्दु युरोप भएकाले यसलाई युरोपका संगीतज्ञहरूले अरूले भन्दा बढी नजिकबाट बोध गर्ने अवसर पाए । सिम्फोनीको सुरुवात औद्योगिक क्रान्तिअघि भए पनि समयको आवाजलाई मुखरित गर्ने सन्दर्भको कारणले यसको सुरुवात औद्योगिक क्रान्तिको समयलाई लिइन्छ । औद्योगिक क्रान्तिअघिका सिम्फोनीमा तीन ओटा मुभमेन्टहरू हुन्थे । जब औद्योगिक क्रान्ति सुरु भयो, त्यसले सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका प्रभावमार्फत मानिसहरूको पारस्परिक सम्बन्ध, चेतना, संवेग, जीवनशैली, कार्यशैली, यातायात, व्यापार, कृषि प्रणाली, वर्गहरूको विभाजन, सहरीकरण, गाउँ र सहरबीचको विभाजन, पर्यावरण आदिमा आमूल परिवर्तन ल्याएकाले त्यसलाई सम्बोधन गर्न मूलतः हाइडन, मोजार्ट र विथोवेनले सिम्फोनीमा चौथो मुभमेन्टलाई प्रविष्टि दिए । सिम्फोनीका चार मुभमेन्टहरूमध्ये पहिलोले स्फूर्ति र जीवन्तता, दोस्रोले सुस्त तथा लयात्मक, तेस्रोले ऊर्जाशील नृत्य र चौथोले उत्साह, मनोरञ्जन र जीवन्तताजस्ता मुख्य प्रवृत्तिलाई समेट्छन् । चौथो मुभमेन्ट औद्योगिक क्रान्तिले गरेको आविष्कारले मानिसमा ल्याएको उहापोह, उमंग र उल्लासको उपज हो ।

हाम्रा अधिकांश क्रान्तिकारी गीतहरूले आह्वान होेइन, आदेश जारी गर्छन् । राष्ट्रिय गीतले त झन् विभेदको अन्त्यविना नै राष्ट्रिय एकता सम्भव हुन्छ भन्ने संश्लेषण गर्दै धार्मिक गुरुका महान् उपदेशको अभावलाई पूर्ति गर्ने सामथ्र्य राख्छन् ।


हाइडनको सिम्फोनी नं. ९४ को दोस्रो मुभमेन्टमा सिम्फोनीको जुन स्ट्रोक छ, त्यो औद्योगिक क्रान्तिप्रतिको प्रतिक्रिया हो, जसले मूलतः सत्रौँ शताब्दीको औद्योगिक क्रान्तिको समीक्षा र अठारौँ शताब्दीको औद्योगिक क्रान्तिको चरित्रलाई व्यक्त गर्छ । मोजार्टको सिम्फोनी नं. ४० द्रुतगतिको आन्दोलनका साथ सुरु हुन्छ र एउटा निश्चित अन्तरालमा गएर सुस्त हुनुअघि उदासी, विरोधाभास र कुतूहलताजस्ता अन्तर्वस्तुका साथ अघि बढ्छ । यो प्रक्रिया पहिलो मुभमेन्टभरि धेरै चोटि दोहोरिन्छ । यस सिम्फोनीमा विभिन्न सेक्सनहरूको यस्तो प्रक्रियाबद्ध आन्दोलनहरूको शृंखला तय गरिएको छ कि त्यसले औद्योगिक क्रान्तिप्रति मानिसहरूको धारणा, विचार र प्रतिक्रियालाई व्यक्त गरेको छ ।


विथोवेनको सिम्फोनी नं. ५ यसरी सुरु हुन्छ कि मानौँ नयाँ युगको घोषणा हुँदै छ । मानिसहरू जुलुस लाउँदै मार्चपास गर्दै नजिक–नजिक आउँदै छन् । संगीतमा आन्दोलन यसरी उत्कर्षसहित अगाडि बढ्छ कि प्रत्येक पाइलामा नयाँ कुराको उद्घाटन हुँदै छ । श्रोताहरू ती मानिसहरू हुन्, जसले त्यो दिन हेर्नलाई अधैर्यसाथ धेरै अघिदेखि पर्खिरहेका थिए । यसको सुरुकै मोटिफ यति भव्य छ कि त्यो एक्कासि उठ्छ । त्यो संगीतको युरेका हो । यसले औद्योगिक क्रान्तिको आमूल रूपान्तरणलाई मात्र सम्बोधन गर्दैन, अरू सम्भावित नयाँ दिनको उद्घाटनप्रति पनि संकेत गर्छ । यस सिम्फोनीमा उडविन्डस र स्ट्रिङसबीचको संवाद नयाँ धारणा र पुरानो धारणाबीचको द्वन्द्व हो, जसको संघर्षबाट नयाँ युग अगाडि बढ्छ । औद्योगिक क्रान्तिको उल्लास, उमंग, उत्प्रेरणा र उदात्ततालाई सिम्फोनीको इतिहासमै पहिलोपटक सिम्फोनी नं. ९ को चौथो मुभमेन्टमा कोरलको सुरुवात गरेर विथोवेनले वाद्ययन्त्रको समानान्तर मानिसको आवाजलाई अगाडि ल्याइदिए । यो मानिस आफैँले आविष्कार गरेको यन्त्रको अपूर्णताको बोधको उपज थियो । यो औद्योगिक क्रान्तिप्रतिको विथोवेनको ऐतिहासिक प्रतिक्रिया थियो । यो यन्त्रप्रतिको अधिक निर्भरताको कारणले बनेको परनिर्भर प्रवृत्तिबाट ब्युँझिनका लागि गरिएको ऐतिहासिक आह्वान थियो ।


हाइडन, मोजार्ट र विथोवेनको सिम्फोनीहरूमा अन्तर्निहित आन्दोलनमा संगीतको भव्य आयतन, तीव्रता, गुञ्जाइको प्रतिबिम्ब र आवृत्तिको जुन व्यतिरेक छ, त्यो औद्योगिक क्रान्तिप्रति मानिसहरूको प्रतिक्रियाको उपज हो, जसले औद्योगिक क्रान्तिप्रतिको आफ्नो जिम्मेवारीलाई संगीतमा अन्तर्निहित आन्दोलनको माध्यमद्वारा पूरा गरे । र, यो हाइडनको सिम्फोनी नं. ९४, मोजार्टको सिम्फोनी नं. ४० र विथोवेनको सिम्फोनी नं. ५ मा सबैभन्दा बढी लागू हुन्छ । औद्योगिक क्रान्तिपछाडिको संघर्ष, उहापोह र चेतना उनीहरूको संगीतमा अन्तर्निहित आन्दोलनहरू हुन् । औद्योगिक क्रान्तिले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र पर्यावरणमा पारेको प्रभावको चित्रण र त्यसप्रतिको प्रतिक्रिया हाइडन, मोजार्ट, विथोवेन, फ्रान्ज सुवर्ट, सोपें, रिचार्ड वाग्नर आदिको सिम्फोनीमा अन्तर्निहित आन्दोलनको मुख्य समान अन्तर्वस्तुहरू हुन् । औद्योगिक क्रान्तिको समयमा सिम्फोनीको रचना गर्ने कलाकारहरू पुँजीपतिकै सान्निध्यतामा रहे पनि उनीहरूको रचनाले युरोपको समाजमा औद्योगिक क्रान्तिले पुँजीपति र श्रमिक–कामदारबीच बढाउँदै गइरहेको खाडल, अन्तरविरोध र द्वन्द्वलाई सघन बनाउने ऐतिहासिक कार्यमा महत्वपूर्ण योगदान गरेका छन् ।

अक्टोबर क्रान्ति र संगीत
‘नयाँ युगले नयाँ धुनको माग गर्छ ।’ भन्ने रुसी उखानबाट नै हामी रसियनहरूको संगीतप्रतिको दृष्टिकोणबारे थाहा पाउँछौँ । उजेन पुटिएरको शब्द तथा पिएरे डे गेयटरको संगीत रहेको ‘इन्टरनेसनल’लाई सन् १९०२ मा अर्काडी कट्सले रसियन भाषामा अनुवाद गरे, जसले सन् १९०५ को पहिलो रसियन क्रान्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍यायो । तीन दर्जनभन्दा बढी भाषामा अनुवाद भएको यो गीतको रसियन र चिनियाँ संस्करण बढी प्रयाणकारी सुनिनुको कारण छ । यो गीतले रसियन र चिनियाँ संस्करणमा संगीत संयोजन र गायनको बहुस्वरको प्रतिक्रियाको माध्यमद्वारा चुनौती, संघर्ष, संकल्प, सपना, परिवर्तन, दृढता, प्रतिबद्धता, आशा र नयाँ संसारको त्यो क्षितिज देखाइदिएको छ कि उद्घोष, उल्लास, उमंग, उत्प्रेरणा, उद्वेग, उच्छलनजस्ता संगीतमा अन्तर्निहित आन्दोलनको कारणले सुन्ने जोकोहीले परिवर्तनको पूर्वाभासलाई नजिकैबाट महसुस गर्न सक्छन् । रसियन संस्करणको ‘इन्टरनेसनल’ गीत एउटा लामो आरोहको साथ सुरु हुन्छ, जुन फ्रेन्च भाषामा भएको ओरिजिनल गीतमा छैन । त्यो आरोह रसियन क्रान्तिमा सहभागी मानिसहरूको उल्लास हो ।


सेर्जेई प्रोकोफिएभले सिम्फोनी नं. १ मार्फत अक्टोबर क्रान्तिलाई ऐतिहासिक रूपमा प्रतिक्रिया दिए, जुन उनले अक्टोबर क्रान्ति सम्पन्न हुनुभन्दा एक महिनाअघि सिर्जना गरेका थिए । यसलाई एलेक्ज्यान्डर ग्लाजुनोभले अक्टोबर क्रान्तिको पहिलो बिगुल भनेका छन् । डेभलेपमेन्ट सेक्सनमा पहिलो र दोस्रो थिमको अनुक्रमहरूलाई बहुप्रदर्शनात्मक ढंगले प्रस्तुत गरिएको छ, जुन अक्टोबर क्रान्तिको अन्तरद्वन्द्व र अन्तरसंघर्ष हुन् । तेस्रो मुभमेन्ट मिनुएटको साथ सुरु हुन्छ, त्यसलाई गह्रौँ र छलाङपूर्ण नाच (जसलाई गेभोट भनिन्छ) द्वारा प्रतिस्थापन गरिएको छ । मुभमेन्टलाई अझ प्रभावशाली बनाउनु मिडल सेक्सनमा ड्रोन ट्रियोको समावेश गरिएको छ ।

 

निकोलाई म्यास्कोभ्स्कीको विचारमा यो मुभमेन्ट ‘उत्सवअघिको बृहत् तयारी’ हो । चौथो मुभमेन्टमा अन्तर्निहित आन्दोलनले उल्लास र उमंगहरूको त्यो बिम्ब रचना गरेको छ, तीव्र गतिमा फूलहरू फक्रिरहेका छन् । निलो आकाशमुनिको डाँडाकाँडामा पुतलीहरू उडिरहेका छन् । मजदुर–श्रमिकहरू उमंग र उल्लासका साथ काम गरिरहेका छन् । मानिसहरू तीव्रताका साथ नयाँ–नयाँ कुराको निर्माण गरिरहेका छन् । श्रमिक–मजदुरहरूका ती जो थिए, सबै रचनात्मकता, सिर्जनात्मकता र क्रियाशीलता सबै चौथो मुभमेन्टको आन्दोलनले उजागार गरिदिएको छ । स्वतन्त्रता, समानता र सामूहिकताजस्ता अन्तर्वस्तुले यस सिम्फोनीको मोडुलेसनलाई उम)गमय र उल्लासमय बनाएको छ । यस सिम्फोनीको आन्दोलन श्रमिक–मजदुरहरूको रचनात्मकता, श्रमप्रतिको सम्मान, सामूहिकता, स्वतन्त्रता र मानवताप्रतिको प्रतिबद्धताप्रतिको अभिव्यक्ति हो । चौथो मुभमेन्टमा जुन आन्दोलन छ, त्यो एकदमै फरक र नयाँ छ, जसले समग्र अक्टोबर क्रान्तिको अवश्यम्भाविताप्रति गहिरो र जोडदार ढंगले संकेत गर्छ । लेनिनका अनुसार संगीतको माध्यमद्वारा सेर्गेई प्रोकोफिएभले पूरा गरेको ‘ऐतिहासिक जिम्मेवारी’लाई साहित्यको माध्यमद्वारा म्याक्सिम गोर्कीले अक्टोबर क्रान्तिका लागि पूरा गरेको ऐतिहासिक जिम्मेवारीसँग तुलना गर्न सकिन्छ ।


मिखाइल मिखायलभिच इप्पोलितोभ—इभानोभ, रेइनहोल्ड ग्लिएर, निकोलाई म्यास्कोभ्स्की, सेर्जेई यार्चमानिनअफ, अलेक्ज्यान्डर ग्लाजुनोभ, सेर्जेई प्रोकोफिएभ, दमित्री सोस्ताकोभिच, आराम खाचातुर्यान, भ्लादिमिर देसेमोभ, भानो मुरादेली, गाभरिल पोपोभ आदिजस्ता कम्पोजरहरूले नियति दर्शनको विरोध, आन्दोलनका लागि उत्प्रेरणा, स्वप्नशीलता, संघर्षको अनिवार्यताजस्ता संगीतमा अन्तर्निहित आन्दोलनको रचनामार्फत अक्टोबर क्रान्तिका लागि महत्वपूर्ण योगदान दिए । उनीहरूको संगीतमा समाजवादप्रतिको प्रतिबद्धता मात्र छैन, त्यहाँ विकास हुँदै गरेको आत्मकेन्द्रित र सर्वसत्तावादी प्रवृत्तिको आलोचनाका साथै समाजवादी समाजको समीक्षा र आउने समयको जिम्मेवारीका लागि गहिरो आह्वान छ ।


दमित्री सोस्ताकोभिचको सातौँ सिम्फोनीमा श्रम र उत्पादनप्रतिको सम्मान र बहुगानको उल्लासजस्ता अन्तर्वस्तु निहित आन्दोलन छ । उनले सिम्फोनी नं. ११ मा पहिलो रसियन क्रान्तिदेखि स्टालिनको शासनसम्मको समीक्षा गरेका छन् । पहिलो र दोस्रो मुभमेन्टले ‘विन्टर प्यालेस’मा जनवरी २२ मा घटेको ‘ब्लडी सन्डे’को बेचैनीपूर्ण निस्तब्धतालाई प्रतिबिम्बित गर्छ । पहिलो सेक्सनले ती विद्रोहीहरूका बारेमा चित्रण गर्छ, जसले विन्टर प्यालेसमा सरकारको बढ्दै गइरहेको अक्षमता, भ्रष्टाचार र खराब शासन व्यवस्थाको अन्त्यको माग गर्दै प्रदर्शन गरेका थिए । तेस्रो मुभमेन्ट क्रान्तिकारी अन्त्येष्टि प्रदर्शनमा भएको हिंसाप्रतिको शोक हो । अन्तिम मुभमेन्टले थप आन्दोलनका लागि आह्वान गर्छ ।

उनको सिम्फोनी नं. ७ लाई लेनिनग्राद नाम दिइएको छ, जुन दोस्रो विश्वयुद्धताका सोभियत संघमाथिको जर्मनको आक्रमणप्रतिको प्रतिक्रिया हो, जसमा जर्मनले रसियामाथि गरेको क्रूर हत्या, हिंंसा र आततायी घटनाको चित्रणका साथै अन्तिम मुभमेन्टमा सोभियत संघको विजयको सानदार उद्घोष छ । त्यो अक्टोबर क्रान्तिले स्थापना गरेको नया“ संसारको पुनर्जागरण हो । दमित्री सोस्ताकोभिच, सेर्जेई प्रोकोफिएभ, इप्पोलितोभ–इभानोभ, सेर्जेई यार्चमानिन अफ, अलेक्ज्यान्डर ग्लाजुनोभ र अलेक्ज्यान्डर मोसोलोभजस्ता कम्पोजरले सोभियत संघको समाजवादी शासन व्यवस्था र त्यसका व्यावहारिक प्रवृत्तिलाई संगीतमा अन्तर्निहित आन्दोलनद्वारा आलोचनात्मक प्रतिक्रिया दिए भने डेभिड चेर्नोमोर्दिकोभ, भ्लादिमिर गिर्गोर्येभिच जखारोभ र लेभ लेबेडिन्स्कीजस्ता संगीतज्ञहरूले समाजवादी समाज, स्टालिनको आत्मकेन्द्रित र सर्वसत्तावादी प्रवृत्तिप्रति प्रतिबद्ध संगीतको विकासलाई अगाडि बढाई समाजवादी व्यवस्थाको अन्तरद्वन्द्व र अन्तरविरोधलाई सघन बनाउन योगदान दिए ।

नेपालको सन्दर्भमा संगीत आन्दोलन
अपवादलाई छोड्ने हो भने सय वर्षको नेपाली संगीतको इतिहासमा सबै संगीत गीत (शब्द) द्वारा निर्देशित र नियन्त्रित छ । नेपाली गीतको संरचना एउटा निश्चित संरचनामा जकडिएको छ, जुन सोनेटभन्दा छोटो छ, त्यसले संगीतलाई कहिल्यै चान्टभन्दा माथि उठ्न दिँदैन । ल्याटिन भाषा ‘कन्तारे’बाट चान्ट भएको यसको अर्थ अध्यात्मस“ग छ । त्यसले स्तुति, भजन, महिमाप्रति आग्रह र आलोचनात्मक चेतप्रति निषेधको भाव राख्छ । क्याथलिन फाराघेरको कथा ‘मांक्स’ मा एउटा पात्रले चान्ट नगाएर आफ्नै लोकगीत गाएकोमा सजाय पाएको कथा छ । मांक्स आइरिस समूहको बीचमा पर्ने आल अफ म्यान राज्यमा बसोबास गर्ने आदिवासी समुदाय हो । उनीहरूको संगीतमा कुनै पनि रोकावट र दोहोरिने प्रवृत्तिगत आवृत्ति हु“दैन । रोकावट र पुनरावृति चान्टको मुख्य प्रवृत्तिगत विशेषता हुन् । एक दुई स्वरको उचाइमा निर्धारित र नियन्त्रित भइराख्नु यसको सीमा हो ।


नेपालमा पहिचानको आन्दोलनले एउटा चरण पार गर्दै गर्दा ‘इन्टरनेसनल’ गीतको हवाला दिएर ‘कहा“ पछाडि फर्किएको ? अब त अन्तर्राष्ट्रिय जाति पो हुनुपर्छ’ भन्ने प्रतिक्रियाहरू आए । यस गीतमाथिको यति विदू्रप विश्लेषण नेपालबाहेक सायदै कहीँ भएको होला । यो रूपवादी प्रवृत्तिको पराकाष्ठा हो । वास्तवमा कम्युनिस्ट घोषणापत्रको ‘विश्वको मजदुर एक हौँ’ को मर्म नै यो गीतको एक मात्र सार हो । यस गीतका लेखक उजेन पुटियर पेरिस कम्युनको एक सदस्य थिए, जो अन्तर्राष्ट्रिय मजदुरहरूको प्रथम सम्मेलन(सन् १९६४) मा सहभागी भएका थिए । यो गीत पेरिस कम्युनमाथिको दमन ‘ब्लडी विक’को चित्रण गर्नु र श्रमिक–मजदुरमाथि हुने दमन, हत्या, हिंसा र शोषणविरुद्ध लड्न संसारभरिका श्रमिक–मजदुरलाई एक हुन गरिएको आह्वान हो । यो गीतमा कहीँ पनि ‘अन्तर्राष्ट्रिय जाति’ हुनेछ भनिएको छैन ।

 

यो गीतमा सन् १९७१ मा पेरिस कम्युनमाथिको हिंसात्मक र क्रूर दमनबाट हतोत्साही भएका श्रमिक–मजदुरहरूलाई संघर्ष गर्नका लागि पुनर्संगठित हुने उत्प्रेरणा दिन ‘अन्तर्राष्ट्रिय श्रमिक–मजदुरको संगठन’ (सन् १८६४–१८७६) लाई ‘मानव जातिको अभिन्न संगठन’ बनाउने सपना देखिएको छ । गीतमा भएका शब्द ‘अन्तर्राष्ट्रिय’ ‘अन्तर्राष्ट्रिय श्रमिक–मजदुरको संगठन’लाई गरिएको छोटकरी सम्बोधन हो, जुन संगठन मानव जातिको अभिन्न संगठन यसकारण हुनेछ भनिएको छ कि त्यहा“ मानिस– मानिसबीच कुनै किसिमको विभेद बा“की रहने छैन । प्रत्येक मानिसले मानिसलाई मानिसको रूपमा हेर्नेछ । यो गीत संघर्ष र आन्दोलनलाई व्यापक बनाउन संसारको सबै श्रमिक–मजदुरलाई अन्तर्राष्ट्रिय श्रमिक–मजदुरको संगठनमा आबद्ध हुन सो संगठन सम्पूर्ण मानव जातिकै सम्मान गर्ने संगठन हुनेछ भनेर विश्वस्त तुल्याउ“दै आन्दोलनका लागि गरिएको आह्वान हो ।


विभिन्न आन्दोलन र परिवर्तनबाट नेपाली संगीत लगभग प्रायः टाढा छ भन्नु साह्रै चुनौतीपूर्ण विश्लेषण हो, तर वास्तविक कुरा अहिलेको अवस्थामा योभन्दा अर्को हामी खोज्न सक्दैनौँ । नेपाली संगीतमै आजीवन काम गरिरहेका संगीतकारहरूलाई मात्र दोष दिएर यसबाट हामी उम्कन सक्दैनौँ । हामी सबै नेपाली यसका लागि जिम्मेवार र जवाफदेही छौँ र यहाँ उठाएको संगीतको आन्दोलनको विषय प्राविधिक संगीतभन्दा बढी बृहत्तर सामाजिक र राजनीतिक आन्दोलनको संगीततर्फ लक्षित छ । सात साल, छयालीस साल, जनयुद्ध, दलित, मधेसी, मुस्लिम, महिला, आदिवासी जनजाति, सीमान्तकृत समुदायको आन्दोलन र ०६२/६३ को आन्दोलनले स्थापना गरेको मान्यता र परिवर्तनको भाइब्रेसन नेपाली संगीतमा अन्तर्निहित आन्दोलनमा कहीँ पनि छैन ।

 

विभिन्न आन्दोलन र परिवर्तनपछि पनि नेपाली संगीतको अन्तर्वस्तु उही छ । कुनै पनि आन्दोलनको प्रभाव त्यसमा छैन । आन्दोलन र परिवर्तनपछि श्रोताले अधिक रुचाइएका भनिएका पछिल्ला समयका संगीतका अन्तर्वस्तु त झन् पुरानो लोकगीतको भद्दा नक्कलबाट अत्यधिक प्रभावित छन् । ती गीतमा त्यस्ता प्रयुक्त शब्दहरू (थेगो)को प्रयोग गरिएका छन्, जुन धेरैअघि मृत भइसकेका छन् । त्यस्ता शब्दहरूको प्रयोगले रुढीगत परम्परा र अतीतप्रतिको अतिशयी मोह मात्र व्यक्त गर्दैनन् कि विभिन्न आन्दोलनले स्थापित गरेको परिवर्तनको विरोधसमेत गर्दछन् । त्यस्तो संगीत सिर्जनाले सामाजिक जिम्मेवारी र दायित्वलाई स्वान्तः सुखायःको खाल्डोमा मात्रै लैजाँदैन प्रतिगामी र पश्चगामी प्रवृत्तिलाई सहयोग पुर्‍याउन आफैँ त्यसको अभिन्न अंग बन्नसमेत पुग्छ ।


संगीत मानिस र समाजबाट अलग्गै विषय होइन । यो समाजकै उत्पादन भएका कारण मानिस र समाजले कस्तो सोच्छ, संगीत त्यसबाट प्रभावित हुन्छ । हामी के सोच्छौँ, संगीतले उजागार गर्छ । हाम्रो देशको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताप्रतिको दृष्टिकोण र तिनीहरूको अवलम्बन शैलीले हाम्रो चिन्तन प्रणालीबारे प्रस्ट पार्छ । संविधानमा भएको धर्मनिरपेक्षको स्पष्टीकरणले त संसारलाई चकित तुल्याइदिएको छ । विभिन्न आन्दोलनको उतार पछाडि पुरानै राजनीतिक प्रवृत्ति र शासन प्रणाली दोहोरिने जो प्रवृत्ति छ, नेपाली संगीतमा अन्तर्निहित आन्दोलनको केन्द्रीय र प्रमुख अन्तर्वस्तु त्यही हुन पुगेको छ ।


संगीतमा अन्तर्निहित परिवर्तनशील आन्दोलनले हामीलाई परिवर्तनकामी बन्न उद्दीपन गर्छ । सात सालको प्रजातन्त्रको स्थापना र सत्र सालको महेन्द्रले गरेको राजनीतिक कु, ०४७ सालको प्रजातन्त्रको पुनस्र्थापना र ज्ञानेन्द्रले गरेको राजनीतिक कु र ०६२–६३ को आन्दोलनले स्थापना गरेको परिवर्तनकामी व्यवस्था र त्यसपछिको राजनीतिक विपर्यास गति सबैले चान्टको एक कदम अघि बढ्ने र दुई कदम पछि हट्ने प्रवृत्तिगत विशेषता बोक्नु संयोग मात्रै होइन । वास्तवमा यो हामी कसरी सोच्छौँ भन्ने कुराको जबरजस्त परिणाम हो । नेपालको अन्तरिम संविधान, ०६३ र नेपालको संविधान (२०७२) को स्पिरिट हे¥यौँ भने अझ त्यो स्पष्ट हुन्छ ।

हाम्रा अधिकांश क्रान्तिकारी गीतहरूले आह्वान होेइन, आदेश जारी गर्छन् । राष्ट्रिय गीतले त झन् विभेदको अन्त्यविना नै राष्ट्रिय एकता सम्भव हुन्छ भन्ने संश्लेषण गर्दै धार्मिक गुरुका महान् उपदेशको अभावलाई पूर्ति गर्ने सामथ्र्य राख्छन् ।


संगीत इतिहासको अभिलेख हो । पञ्चायत कालमा रचिएका नेपाली संगीतले वि.सं. २०३७ सालको जनमत संग्रहको परिणाममा भूमिका खेल्ने तत्वहरू, त्यसको मनोविज्ञान, समग्र पञ्चायत कालको राजनीतिक चेतनाबारे संकेत गर्छन्, तर त्यसमा पञ्चायकालको विकल्पको आवाज, आन्दोलन र अन्तर्वस्तु कहीँ पनि छैन । हाम्रो संगीत विभेद र शोषण विद्यमान रह“दा पनि असाध्यै भावुक, अनुशासित र शालीन छन् । हाम्रा अधिकांश क्रान्तिकारी गीतहरूले आह्वान होेइन, आदेश (फरमान) जारी गर्छन् । राष्ट्रिय गीतले त झन् विभेदको अन्त्यविना नै राष्ट्रिय एकता सम्भव हुन्छ भन्ने संश्लेषण गर्दै धार्मिक गुरुका महान् उपदेशको अभावलाई पूर्ति गर्ने सामथ्र्य राख्छन् ।


चीनले पहिलोचोटि कोभिड–१९ को नियन्त्रण गर्न सफल भएपछि वुहानवासीले भने, ‘कोभिड–१९ माथिको विजयपछि तपाईंहरूले मानिसहरू अझ बढी असल भएको पाउनु हुनेछ ।’ उनीहरूको यो संकेत गराइ संकटको कारणले वैयक्तिक स्वार्थको ठाउँमा विकसित भएको सामूहिक हितको सोचप्रति लक्षित थियो । हाम्रो सामूहिक हितको सोच, राष्ट्रिय एकता, राष्ट्रिय चिन्तन र विशिष्ट क्षमता नाओमी क्लेनको सक डक्ट्रिन प्रयोग गरी भूकम्पपछि ल्याएको संविधान र कोभिड–१९ बाट चरम रूपमा प्रताडित भइरहेको अवस्थामा ल्याइएको पटक–पटकको अध्यादेश र संसद् विघटनले छर्लंग बनाइदिएको छ । पहिलो संविधानसभाको विघटनपछि सुरु भएको निरन्तर पश्चगमनको सिलसिलाको विरुद्ध लड्ने नैतिकता हाल रहेको कुनै पनि राजनीतिक दलसँग नहुनुले अहिलेको नेपाली राजनीतिक पर्यावरणको भयावह अवस्थाबारे बताउँछ ।


संसद् विघटनविरुद्ध उठेको नागरिक आन्दोलनमा गरिएको विभिन्न सांस्कृतिक स्टन्टहरूले आन्दोलनको संगीतलाई विद्रुपीकरण गरेको यथार्थबारे हामी सबै जानकार छौँ । यो एकप्रकारले आन्दोलनको संगीतको भयानक विषयान्तरण गर्ने चेष्टा हो । योे आन्दोलनलाई मखुण्डो र मास्कको रूपमा प्रयोग गरिएको यथार्थ प्रमाण हो ।


ऋाफूअनुकूल भएमा मात्र परिवर्तनलाई स्वीकार गरेजस्तो गर्ने अवसरवादी क्रान्तिकारिता र ऐक्यबद्धता, व्यक्तिवादी र मुर्दावादी शान्ति चिन्तन, दलाल पु“जीवादी र वर्चस्ववादी राष्ट्रिय एकता र आफूलाई परिवर्तन गर्न नचाहने बर्तोल्त ब्रेख्तको कविता ‘चेन्जिङ द हिवल’को जस्तो प्रवृत्ति बोक्नेहरूको बोलवाला नै आजको नेपाली संगीत निर्मितिको प्रमुख कारक हो । हामी नेपाली राष्ट्रिय एकताप्रति यति प्रतिबद्ध छौँ कि विभेदविरुद्धको कुनै पनि आवाज हरेकचोटी राष्ट्रिय एकताको खिलाफमा हुन्छ र त्यसको घाँटी निमोठ्नु नै सबैभन्दा ठूलो राष्ट्रवादी कार्य हुन्छ भन्ने संस्कृतिको निर्माण हुन गएको छ । नेपालको संविधानले एउटा घरपालुवा जनावरलाई एउटा जात वा धर्मलाई प्रश्रय दिने गरी ‘सार्वजनिक हितको सम्पत्ति’को रूपमा स्थापित गर्ने व्यवस्था गरेको छ । नेपालको सबै संविधानले सम्पत्तिलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ ।

 

संकटकालबाहेक अन्य अवस्थामा मौलिक हक निलम्बन नहुने संविधानवादको मर्मअनुसार मौलिक हकको रूपमा रहेको सम्पत्तिको हक वि.सं. २००४ देखि आजसम्म निलम्बनमा छ । यस अर्थमा नेपालमा वि.सं. २००४ देखि आजसम्म संकटकाल छ । आज दलित, मुस्लिम, आदिवासी जनजाति र सीमान्तकृत समुदायलाई यो देशमा एउटा घरपालुवा जनावरभन्दा पनि तल्लो तहमा बाँच्न बाध्य पारिएको छ । देशको विभिन्न ठाउँमा दलित, मुस्लिम, आदिवासी जनजाति र सीमान्तकृत समुदायका हजारौँ मानिस आफ्नो सम्पत्तिको भोग गरेको अभियोगमा जेलमा सजाय भुक्तान गरिरहेका छन् । यो हामीलाई स्वाभाविक लाग्ने भइसकेको छ । स्वाभाविकता निष्क्रियता, निर्लज्जता, विभेद र शोषणप्रतिको ऐक्यबद्धता हो । यसबारे बोल्नुपर्ने मानवअधिकार आयोग कहाँ छ ? नागरिक आन्दोलन कहाँ छ ? बौद्धिक समाज, राजनीतिक दल र आलोचनात्मक चेत भएको सचेत नागरिक हामी कहाँ छौँ ? मौनताको पनि पक्षधरता हुन्छ र फाइदा सधैँ पश्चगामीलाई पुग्छ । हामी आन्दोलन पनि किस्ताबन्दीमा गर्छौं । हामी विभेदको अन्त्य पनि किस्ताबन्दी गर्छौं । हामी कुरीति, कुसंस्कार र रुढीगत मानसिकताको अन्त्य पनि किस्ताबन्दीमा गर्छौं । हामी ०६२–६३ को जनआन्दोलनभन्दा धेरै पछाडि फर्किसकेका छौँ ।

 

पछिल्लो विद्यमान राजनीतिक अवस्था एकैचोटी अप्रत्याशित तरिकाले आएको होइन, यो हाम्रो व्यक्तिवादी चिन्तन, ‘सबै जनावर समान छन् तर केही जनावर अधिक नै समान छन् ।’ भनी ठान्ने रुढीग्रस्त, जातवादी सोच, दासप्रवृत्ति, हुल्लडबाज र भिडतन्त्रवादी मानसिकताको निरन्तर प्रवृत्तिको उपज हो । हरेक समस्याको समाधान हामी एक–दुईजना काकताली राजनीतिक नेतृत्वमा खोजिरहेका छौँ । समस्या अन्तै छ, हामी समाधान अन्तै खोजिरहेका छौँ । संसद् विघटन सतहमा आएको एउटा परिदृश्य मात्र हो । वास्तवमा सतहमा नआएका विषय अनेक छन्, जसले अहिले नेपालको मूल कानुन संविधान एक नभएर अनेक भएको पुष्टि गर्छन् । कुनै पनि कानुनको अनेकता कानुन र न्यायविहीनताको अवस्था हो । संसद् विघटनविरुद्धको आन्दोलनमा देखिएका मानिसहरूको फरक–फरकको प्रदर्शन शैलीले प्रतिगमनविरुद्धका धेरै आन्दोलन अझै बाँकी रहेकोबारे संकेत गरिदिएको छ । हिजो आन्दोलनमा सँगै हुनेहरूको आज अर्को आन्दोलनमा मुठभेड हुने स्थितिले प्रतिगमनको बहुरूप र बहुतहलाई उदांगो बनाइदिएको छ । परम्परावादी वैचारिक निरन्तरताभन्दा राजनीतिक र सांस्कृतिक क्यामोफ्लेज भयानक हुन्छ । यही कारण नेपालका विभिन्न आन्दोलनले स्थापित गरेको परिवर्तन पटक–पटक विघटित हुने गरेको छ ।


अन्याय जहाँसुकै होस्, त्यसले सबै ठाउँमा खतरा पैदा गर्छ । मार्टिन निमोलरको स्वीकारोक्तिजस्तो हामीले अरूमाथि हुने शोषण र दमनविरुद्ध बोलेनौँ भने हामीमाथिको विभेद र शोषणविरुद्ध बोल्ने कोही पनि बाँकी रहँदैन । अरूमाथि विभेद, शोषण र अत्याचार हुँदा चाहिँ मौन बस्ने अनि आफूलाई समस्या हुँदा कोही बोलेनन् भनेर गुनासो गर्ने प्रवृत्तिले विभेदको अन्त्य हुँदैन । सम्पूर्ण आन्दोलनको बीचमा एकता भए मात्र सम्पूर्ण विभेद, शोषण र अत्याचारको अन्त्य सम्भव हुन्छ र राष्ट्रिय एकता कायम हुन्छ ।


आइन्स्टाइनको गुरुत्वाकर्षण तरंग र प्रसारणसम्बन्धी भविष्यवाणी सही साबित भएपछि शिक्षा, स्वास्थ्य, विज्ञान, राजनीति, समाजशास्त्र, अर्थशास्त्र, साहित्य, कला र संगीतलगायत सम्पूर्ण विषयमाथि त्यसको प्रभावसम्बन्धी विभिन्न कोणबाट छलफल, बहस र विश्लेषण भइरहेको छ । खगोलशास्त्री साबोर्च मार्का भन्छन्, ‘यो क्षणसम्म हाम्रो आँखा आकाशमा थियो र हामीले गुरुत्वाकर्षणको तरंगको संगीत सुन्न सकेका थिएनौँ । अब हामीले यो संगीत सुनेका छौँ र अब आकाश उही रहनेछैन ।’ आकाश अनन्तताको बिम्ब हो र गुरुत्वाकर्षणको तरंगको अस्तित्व र त्यसको संगीतले आकाशको परिवर्तनशीलतालाई आज उजागार र प्रमाणित गरिदिएको छ । परिवर्तनशीलता सजीव हुनुको एक मात्र प्रमाण हो । गतिशीलता र अन्तर्क्रिया संगीतको जन्मको पहिलो सर्त हो । परिवर्तनलाई सबैभन्दा सूक्ष्म तवरले संगीतले अभिव्यक्त गर्छ ।

 

समाजको परिवर्तनशीलता र सजीवता हामी संगीतको माध्यमद्वारा पहिचान गर्न सक्छौँ । कुनै पनि आन्दोलनको अपरिहार्यता परिवर्तनकामी दृष्टिकोण र प्रवृत्तिमा हुन्छ । कुनै पनि समाजको आन्दोलन त्यस समाजको संगीत हो, जसले समाजको चेतनालाई अग्रगामी र परिवर्तनकामी बनाउन उद्दीपन गर्छ । विभिन्न आन्दोलन र परिवर्तनको तरंग र उमंगले नै संगीतमा अन्तर्निहित आन्दोलन र अन्तर्वस्तुलाई प्रयाणकारी बनाउने भएकाले समाजलाई गतिशील र अग्रगामी बनाउने सामाजिक दायित्व पूरा गर्न आन्दोलन र परिवर्तनलाई महसुस गर्नु, चिन्तन गर्नु र त्यसप्रति आफ्नो सिर्जनाको माध्यमद्वारा प्रतिक्रिया र अभिव्यक्ति दिनु जरुरी हुन्छ ।