• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नरेन्द्रजंग पिटर
२०७८ कार्तिक २७ शनिबार ०६:४२:००
सम्झना

मुक्ति सेनाले भोगेका नियति

जब इतिहासकार शक्तिको पक्षधर हुन्छन्, तब इतिहासप्रति नै विश्वासको संकट पैदा हुन्छ 

२०७८ कार्तिक २७ शनिबार ०६:४२:००
नरेन्द्रजंग पिटर

 

रेल्वेको छेउमा एउटा लालटिन टिलपिलाइरहेको हुन्छ । त्यो लालटिन बुधसिंह गुरुङले बोकिरहेको हुन्छ । आदापुरबाट छुटेको रेल रक्सौल स्टेसन नपुग्दै बीचैमा शक्ति सिंहले एक्कासि चेन खिच्छन् । रेल रोकिन्छ । मध्यरातको समय, अन्य यात्रीले सुइँको नपाउँदै हरेक डिब्बाबाट यात्रुहरू एकाएक हाम फाल्छन् । रेलबाट ओर्लिएका यात्रीहरू सेनाको फर्मेसनमा परिणत हुन्छन् र त्यो फर्मेसन उत्तरतिर लम्कन्छ । रुट गाइडले बाटो बिर्सिएर निर्धारित स्थानमा पुग्दा समयभन्दा एक घन्टा ढिला भइसक्छ ।


पूर्व क्षितिजमा लाली छाउँदै गर्दा जिबी याकथुम्बा नेतृत्वको सो जनमुक्ति सेनाले (मुक्ति सेना) ब्यारेकमा फायर खोल्छ । प्रतिकारमा सरकारी सेनाको जवाफी गोली चल्छ । असिनाझैँ बर्सिरहेका गोलीले ब्यारेक रणभूमिमा फेरिन्छ । अचानक भएको हमलाको प्रतिकारका लागि सरकारी सेना एलर्ट थिएन । तर, समय उसकै अनुकूल हुँदै जान्छ । एकाएक मुक्ति सेनाबाट एसल्टमा लडिरहेका तेजबहादुर क्षेत्रीको छातीमा गोली लाग्छ । रगतको भल बग्छ । कैयन मुक्तिसेना घाइते हुन्छन् । उज्यालो जति हुँदै जान्छ, मुक्तिसेना त्यति नै रक्षात्मक हुँदै जान्छ । ब्यारेकमै ढलेका क्षेत्रीको लास ल्याउने प्रयास असफल हुन्छ । कमान्डर याकथुम्बाले कासन दिन्छन्– रिट्रिट । 


अर्काे आर्कः थिरबम मल्लको टोलीलाई (पटनाबाट मुजफ्फरपुर हुँदै वीरगन्ज पुगेको) बडाहाकिम सोमशमशेरको निवास कब्जा गर्नुपर्ने थियो । मल्लले ‘मामा...मामा’ भन्दै बडाहाकिमलाई सरन्डर त गराँउछन् तर सरकारी सेनाको प्रहारबाट भने जोगिएनन् । छातीमै गोली लाग्छ । तुरुन्त सीमावर्ती डंकन अस्पताल पु¥याइन्छ । 


बडाहाकिम सोमशमशेर मुक्ति सेनाको कब्जामा पर्छन् र उनलाई अस्थायी क्याम्प गौशालामा (सिरसिया पुलनजिक) युद्धबन्दी बनाइन्छ । तब युक्ति, बुद्धि लगाउँदै घाइते भान्जा (मल्ल) भेट्न अस्पताल जान्छु भनेर विलाप गर्छन् । मुक्ति सेनाले विलाप वाणी पत्याँउछ । तर, शमशेर उम्केर भारतीय अफिसरसमक्ष गुहार माग्न पुग्छन् । 


युद्धमा पलपलको समयले इतिहास कोरिरहेको हुन्छ । एकातर्फ कमान्डरको घाइते जीवन र मृत्युको दोसाँध, एक घन्टा ढिलाले जितलाई निर्णयमा पुर्‍याउन नसकेको पीडा । छर्लंग उज्यालो हुन्छ । भोकप्यासले लखतरान मुक्ति सेनालाई तेजबहादुर अमात्यको अगुवाइमा वीरगन्ज स्टेसनमा खानेपानीको व्यवस्था गरिएको हुन्छ । ब्यारेकभित्र सरकारी सेना, सहरबजार यत्रतत्र मुक्ति सेना । गाउँबस्तीबाट जम्मा गरिएका बारबोर राइफल । हिमालयन एयरवेजको पर्चा छराइ । फेरि याकथुम्बाको नेतृत्वमा अर्को ब्यारेक आक्रमण । बडाहाकिम सोमशमशेरले आत्मसर्मपण गरेर भारतमा सरण लिइसकेकाले सरकारी सेनाको मनोबल गिरिसकेकाले साँझ ६ बजे मुक्ति सेनासमक्ष आत्मसमर्पण गर्छन् । घाइते बुद्धसिंह गुरुङको छियाछिया भएको एउटा हात र एउटा खुट्टा डंकनमा काटिन्छ ।

 

अपरेसनले पनि बच्न नसकेका मल्लले साँझ डंकन अस्पतालमै साँझ अन्तिम सास लिन्छन् । वीरगन्ज मोर्चा सफल भएको खबर भने कमान्डर मल्लले सुन्न पाएनन् ।
मुक्ति सेनाले नोभेम्बर ११ मा वीरगन्ज, भैरहवा र विराटनगर तीन मोर्चामा फायर खोलेको हुन्छ, तर वीरगन्जमा मात्रै सफलता मिल्छ । यसरी ७१ वर्ष पहिला क्रान्ति सुरु भएकाले ११ नोभेम्बरमा जनमुक्ति सेना दिवस मनाइन्छ । मुक्ति सेनाका संस्थापकमध्ये अन्तिम योद्धा नरेन्द्र लामाको पनि झन्डै एक महिना पहिले काठमाडौंमा मुत्यु भयो ।


वीरगन्ज मुक्ति सेनाको कब्जामा नौ दिन मात्रै रह्यो । एकराजशमशेर कमान्डको कालीबहादुर पल्टनले एकाएक ब्यारेकमा हमला गरेर सयौँ मुक्ति सेना छप्काइए । त्यस लासको चाङमा एकजना कालु नेपाली मात्रै बच्न सफल भए । उनी मारिएको सोचिएछ । उपचारपछि आठ महिनामा सम्पर्कमा विराटनगर पुग्दा अवस्था फेरिसकिएको थियो । इतिहासका ती अज्ञात सहिदहरू अहिलेसम्म चर्चाविहीन छन् । 


मुक्ति सेनाको गठन
भारतीय स्वतन्त्रतासँगै नेताजी सुवासचन्द बोसको आजाद हिन्दू सेनाको (आहिसे) विघटन श्रावण २००४ मा भएपछि देशविभाजनको मानवीय त्रासदीलाई स्वयंसेवी व्यस्थापन गर्न जनरल मोहन सिंहको अगुवाइमा गठन भएको ‘देश सेवक सेना’ पन्जाबमा सक्रिय थियो । सिंहको आग्रहमा ‘आहिसे’का गोर्खाली योद्धाहरू मेजर पूर्ण सिंह ठाकुर, मेजर दिलमान सिंह थापा, बुधसिंह गुरुङ, रूपनारायण प्रधानहरू त्यसमा सामेल भए । यसैबीच क्रान्तिकारी सेना तयारीका सपना बोकेका बाबुकृष्ण शर्मा २००४ को माघमा अमृतसरमा पुगेर नेपाली क्रान्तिमा उहाँहरूको आवश्यकता र दायित्वबारे गम्भीर विमर्श गरेपछि मेजर ठाकुरसँग नेपाली राष्ट्रिय कंग्रेसका अध्यक्ष डा.डिल्लीरमण रेग्मीको फागुन १ गते २२ बनारसमा छलफल भयो । तर, क्रान्तिप्रतिको डा. रेग्मीको सोच र मार्गचित्र मेजर ठाकुरलाई पटक्कै चित्त बुझेन । उनी पन्जाब नै फर्किए । 

हरेक क्रान्तिकारी आन्दोलनमा युद्धका चरित्र फेरिएसँगै युद्ध मैदान (आर्क) र अग्रपंक्तिका योद्धाहरूको भूमिका पनि फेरिन्छन् । सत्ताका समग्र चरित्र फेरबदल नभएका देशहरूमा पुरानै सेनाले निरन्तरता पाउँछ र उसको बफादार नयाँ शासकप्रति हुन्छ । तर, पूर्णक्रान्ति भएका देशमा भने क्रान्तिकारी सेनाले नै राज्यको नयाँ सेना बन्न पाउँछ ।


फेरि बाबुकृष्ण शर्मा देश सेवक संघको अफिस अमृतसरमा २००५ साल वैशाख ९ गते एकाबिहानै पुगेको देख्दा मेजर खवासले– अब फेरि किन ? भन्ने कडा फौजी प्रश्न गरे । यसपटक शर्मा डा. रेग्मीको आदेशमा नभई प्रजातान्त्रिक कांग्रेसको तर्फबाट अनुरोध, आह्वान र निम्ता लिएर पुगेका थिए । तब उनी सुवर्णशमशेर, महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय भेट्न कलकत्ता जान तयार भए । वैशाख १३ गते प्रजातान्त्रिक कंग्रेसको नेतृत्वसँग मेजर ठाकुरको छलफल भएर जनमुक्ति सेना गठन गर्ने निधो भयो ।


कलकत्ताको चौरगीमा आजाद हिन्द सेनाका योद्धा र अन्य युवा विद्यार्थी रहेको भेलाले जनमुक्ति सेनाको गठन (२००५ साल जेठ ७ गते बिहीबार) हुन्छ । सोही बैठकले अध्यक्षमा पूर्णसिंह ठाकुर खवास । उपाध्यक्षमा ज्ञानबहादुर सुब्बा (जिबी याकथुम्बा) र दिलमान सिंह थापामगर, सचिवमा क्षत्रबहादुर राई (सिबी वान्तवा) कोषाध्यक्षमा नरेन्द्र लामा, सहसचिवमा श्याम तामाङ र सदस्यहरूमा सदिलबहादुर राई, बुधसिंह गुरग, निर्मल लामा, डोनस ग्रागंदान र रूपनारायण प्रधान छानिए ।  


काग्रेस एकीकरण र मुक्ति सेनाको अवस्था
प्रजातान्त्रिक कंग्रेस र राष्ट्रिय कंग्रेसबीच २०५० साल वैशाख ११ गते आइतबार कलकत्ताको टाइगर सिनेमा हलमा भएको एकता महाधिवेशनले संयुक्त पार्टीको नाम नेपाली कंग्रेस भयो । सो एकतामा जनमुक्ति सेना गठन भएको कुरा प्रजातान्त्रिक कंग्रेसले राष्ट्रिय कंग्रेसलाई जानकारी दिएन । मुक्ति सेनाको दरभंगाको लहरियासरायमा प्रशिक्षण केन्द्र थियो । एकीकृत पार्टीका नेतृत्वलाई चार महिनापछि मात्र त्यसको जानकारी गराइयो । मुक्तिसेनाको समग्र रिपोर्टिङ गर्न कमान्डरहरूलाई पटना बोलाइयो । बिपीनिवासमा बसेको पार्टी मिटिङमा मेजर खवास, याकथुम्बा र श्याम तामाङ लहरियासरायबाट पुगेर रिर्पोटिङ गरे । बिपी कोइरालाले पहिलोपटक आषाढ ३ गते शनिबार मुक्ति सेना शिविरमा निरीक्षण भ्रमण गरे । 


२००७ सालकोक्रान्तिमा मुक्ति सेना 
पूर्वी चम्पारणको उत्तरको वर्गनियामा २००७ साल आश्विन १० गते मंगलबार भएको नेपाली कांग्रेसको पहिलो महासम्मेलनले यथाशीघ्र सशस्त्र क्रान्ति गर्ने निर्णय गर्दै युद्धकालीन संरचना बनाएर सर्वोच्च कमान्डरमा मातृकाप्रसाद कोइरालालार्ई चयन गर्‍यो । उक्त सम्मेलनमा मुक्ति सेनाका तर्फबाट मेजर ठाकुर, याकथुम्बा र तामाङ सहभागी थिए । 

१) ००७ को सशस्त्र संर्घषको युद्ध संरचनालाई केन्द्रीय नेतृत्व सुप्रिम कमान्डर (डिक्टेटर) मातृकाप्रसाद कोइराला, सुप्रिम सैन्य कमान्डर मेजर पूर्णसिंह खवास ठाकुर, पूर्वी भेग (नारायणी नदी पूर्व) राजनीतिक कमिसार बिपी कोइराला, पश्चिम भेग (नारायणी नदी पश्चिम) महेन्द्रविक्रम शाह रहे । पार्टी एकताको भावअनुसार पूर्वी क्षेत्र राष्ट्रिय कंग्रेस र पश्चिम क्षेत्र प्रजातान्त्रिक कंग्रेसको नेतृत्वमा रह्यो । खवास एक सिटर प्लेनमा दिनभर अग्रिम मोर्चाको निरीक्षण निर्देशन सिंगल सिटर बोनान्जा प्लेनबाट गरी साँझ राजनीतिक नेतृत्व र फौजी नेतृत्वबीच छलफल र आगामी रणनीति बन्थे । 


२)    काठमाडौंमा सशस्त्र संगठनको तयारीकै क्रममा बद्रीविक्रम थापाको २००७ साल वैशाख १९ गते बिहानै गिरफ्तार भयो । 


३) इन्द्रजात्रामा सबै सत्ताधारी राणा पुग्ने भएकाले त्यसलाई अपरेसन थलो बनाउन सीतामडीबाट बनेपा हुँदै जाने टोलीमा ‘आहिसे’का छापामार एवं मुक्ति सेनाका उपाध्यक्ष दिलमान सिंह थापा, गणेशमान सिंह, सुबेदार कुलमान सिंह तामाङ, अपरेटर केहर सिंह लामा, सुन्दरराज चालिसे, हर्कलाल श्रेष्ठ (बनेपा) पूर्णबहादुर खवास थिए । सो टोलीले भाद्र शुक्ल द्वादशीको दिन अपरेसन गर्नुपर्ने थियो । पहिल्यै गिरफ्तारीले सबै योजना चकनाचुर भयो भने त्यसमा सहभागीहरू दिलमान सिंह थापा, गणेशमान सिंह, सुन्दरराज चालिसेलगायत २३ जनालाई हरिशमशेर आयोगले फासीको सजाय सिफारिस ग¥यो । 


४) दोस्रोपटकको अभियानमा मात्र विराटनगर मुक्त भयो । पहिलोपटकमा सहादत भएका तुलाराम तामाङको (गोले काइँला) लास बडाहाकिम उत्तमविक्रमको आदेशमा अस्पतालबाट घोडागाडीले घिसार्दै सहरभरि वीभत्स प्रदर्शन गर्दै हाटखोलामा कुकुर गिद्द र स्याललाई खुवाइयो । मुक्ति सेनालाई समर्थन गर्ने भारतीय समाजवादीका पुर्णियाका नेता डा. कुलदीप झाको सहादत भयो भने प्रसिद्ध साहित्यकार फणेश्वर नाथ रेणु मुक्ति सेनाका प्रजातान्त्रिक रेडियोका संस्थापक बने ।


५) वीरगन्ज अभियानमा कब्जा गरिएको ३५ लाख भारतीय रुपैयाँ सुवर्णशमशेरको कार्तिक २८ गते रक्सौल भ्रमणमा दिइएको थियो । राणा सरकारले नेपाली कंग्रेसले डकैत गरेको भनेर उजुरी दिएपछि भारत सरकारले सो रकम नियन्त्रणमा लिएर कांग्रेस नेताहरूलाई गिरफ्तार पनि गरेको थियो । तर, समाजवादी पार्टीको दबाबका कारण रिहा भए । क्रान्तिपछि सो रकम नेपाललाई फिर्ता भयो ।  


कंग्रेस र मुक्तिसेना 
मुक्ति सेनाको गठन प्रजातान्त्रिक कंग्रेसले गरेकाले राष्ट्रिय कंग्रेस यसप्रति सधैँ उदासीन रह्यो । हरेक क्रान्तिकारी आन्दोलनमा युद्धका चरित्र फेरिनेसँगै युद्ध मैदान (आर्क) र अग्रपंक्तिका योद्धाहरूको भूमिका पनि फेरिन्छन् । सत्ताका समग्र चरित्र फेरबदल नभएका देशहरूमा पुरानै सेनाले निरन्तरता पाउँछ र उसको बफादारी नयाँ शासकप्रति हुन्छ । तर, पूर्णक्रान्ति भएका देशमा भने क्रान्तिकारी सेनाले नै राज्यको नयाँ सेना बन्न पाउँछ । पहिलो कोटीमा उपनिवेशवाद वा तानाशाही सत्ताबाट मुक्त भएका देशमा पुरानै सेनाले निरन्तरता पाए भने अमेरिका, चीन, रुस, भियतनामजस्ता देशमा क्रान्तिकारी सेना नै राज्यको सेना बन्न पुग्यो । 


२००७ साल फागुन ४ गते ३ हवाईजहाज गौचरणमा उत्रियो । पहिलो दिल्लीबाट राजा त्रिभुवन र उनको परिवार, पटनाबाट आएको दोस्रोमा कांग्रेस नेतृत्व र मुक्ति सेनाका कमान्डर मेजर ठाकुर र याकथुम्बा, तेस्रोमा गिरिजाप्रसाद कोइरालालगायत डोनास ग्रागंदान, श्याम तामाङलगायत मुक्ति सेनाका योद्धाहरू थिए । साँझ ८ बजे कमलपोखरीस्थित थिरबम मल्लको घरमा राजनीतिक नेतृत्व र मुक्ति सेना नेतृत्वबीच अव मुक्ति सेनालाई के गर्ने भन्नेबारेमा छलफल भयो । आजाद हिन्द सेनाझैँ मुक्ति सेनाको विघटन गरी देश सेवा दल बनाउने प्रस्ताव बिपीको रह्यो भने ठाकुर र याकथुम्बाले मुक्तिसेनालाई नै राष्ट्रिय सेना बनाउने प्रस्ताव राखे ।

 

तर, दुवैमा सहमति भएन । पाँचबुँदे सहमतिमा रक्षा दल बनाउने निधो भयो । फागुन २८ गतेको संयुक्त मन्त्रिपरिषद्को निर्णयअनुसार रक्षादल बनाउने सरकारी घोषणाले मुक्ति सेना रक्षादलमा फेरिएर पहिलो राइफलका कमान्डर नरेन्द्रविक्रम शाहले त्यसको नयाँ नेतृत्व गरे ।   मातृकाप्रसाद कोइरालाले २००८ माघ १४ गते मुक्ति सेना पुनर्गठन गर्ने पहल गरे तापनि शक्ति र विचारको टसलले हुन सकेन । रक्षादलभित्रै खेल्ने प्रयास भयो । सिंंह दरबार विद्रोह र विजेश्वरी काण्ड प्रमुख रहे । पछि रक्षादल २०१२ मा नेपाल प्रहरीमा फेरियो । पूर्णसिंह ठाकुर नेपाल प्रहरीका आइजिपी र अञ्चलाधीश, याकथुम्बा, आइजिपी र राजदूत, श्याम तामाङ, एसपी बने भने सेनातर्फ दिलमान सिंह थापा चार नम्बर पृतनापति, ब्रिगेडियर जनरल, र डोनास ग्रागदान लेफ्टिनेन्ट कर्णेल, गुलाब सिंह थापा कर्णेल भए । अर्थात् नेपाली कंग्रेसले जनमुक्ति सेनालाई राजनीतिक भूमिकामा नभई रक्षादल हुँदै प्रहरी र सेनामा पठायो । १७ सालको संसदीय व्यवस्था कु गरिँदा भने मुक्ति सेना विघटन गरेकोमा कंग्रेस नेतृत्वले पछुतो मान्यो भने आफैँले लडेर ल्याएको व्यवस्था र नेतृत्वविरुद्ध पूर्वमुक्ति सेनाका योद्धाहरू विवशतावश परिचालित हुनपुग्यो । उनीहरू सेना र प्रहरीमा स्वेच्छाले गएका थिएनन् पार्टीले पठाएको थियो ।

दिलमान सिंह थापा 
तिनदेशको फासीका ज्युँदा सहिदलाई वडाध्यक्ष त्यो पनि पराजय गराइएको मुलुक हो, यो । जसलाई तीन देशमा फासी भो । अन्तिम अवस्थामा परिस्थति फेरियो । सता बदलिए । तब फासीका सजाय निरस्त भयो । हो... त्यो अनौठो मुक्ति सेनाका उपाध्यक्ष दिलमान सिंह थापाको कथा । उनी एक मात्र त्यस्ता नेपाली प्रतीक पात्र हुन् जो सिंगापुरमा जापानसँग लड्न गएको ब्रिटिस–इन्डियन सेनाका मेजर जनरल परासी भलका तर्फबाट कर्नेल जोन हन्टले १९९८ फागुन २ गते जापानी जर्नेल फुजिबारासमक्ष आत्मसमर्पण गरेपछि युद्धबन्दी बने । रास बिहारी बोसको नेतृत्वमा पूर्वी एसियामा रहेका भारतीय र नेपाली एवं युद्धबन्दीसहित आजाद हिन्द सेना गठन भयो । पछि त्यसलाई नेताजी सुभाषचन्द्र बोसले कमान्ड गरे ।

 

हरेक सत्ताले आदर्शलाई ध्वस्त पार्छ र नेतालाई आदर्शमा रहन सक्दैन । मुक्ति योद्धालाई भाडाका सिपाहीजस्तो बनाउन खोज्छ । मुक्ति योद्धालाई भ्रष्ट, लालची र आसे बनाएपछि नयाँ सत्तालाई सहज हुन्छ । आखिर त्यही नियति जनमुक्ति सेनाले भोग्नुपर्‍यो । 

इम्फालमा देखाएको बहादुरीताका कारण थापाले २००१ साल वैशाख ३ गते नेताजीद्वारा सेर ए हिन्द मानपदवी घोषणा भयो । तर, जुलाईमा उनीलगायत ‘आहिसे’का योद्धालाई ब्रिटानी– अमेरिकी सेनाले गिरफ्तार गरी युद्धबन्दी बनाउँदै जिगरगाछा जेलमा राख्यो । पूर्ण सिंहलगायतका बन्दीलाई फासीको सजाय माग गरियो । ५ चैत्र २००० मा कोहिमामा गिरफ्तार मेजर दुर्गा मल्ल र दलबहादुर थापालाई भने लालकिल्लामा १० भदौ २००१ मा फासी दिइयो । मल्ल र थापाको सालिक भारतीय संसद् भवनमा छ । दिलमानसिंह थापा र मेजर ठाकुरसँगै जनरल मोहन सिंह, कर्णेल ढिल्लो र सहनवाज खाँन पनि रहेकाले उनीहरू सबैको रिहाइका लागि जवाहरलाल नेहरू, तत्कालीन भारतका प्रख्यात वकिल भोलाभाइ देसाईले अदालतमा बहस गरे । भारतीय स्वतन्त्र संग्राम अन्तिम अवस्थामा थियो, उनीहरूको रिहाइ २८ चैतमा भयो ।

 

तेस्रोपटक दिलमानसिंह थापा, गणेशमान सिंहलगायत २३ जनालाई इन्द्रजात्रा षड्यन्त्र केसमा हरिशमशेर आयोगले श्री ३ मोहनशमशेरसमक्ष सिफारिस गरेको थियो । फैसला कार्यान्वयन पहिल्यै राणा शासन ढल्यो ।  यसरी तीनवटा फासीबाट उम्केका जनमुक्ति सेनाका उपाध्यक्ष, ब्रिगेडियर जनरल दिलमान सिंह थापालाई नेपाली कांग्रेसले भने २०४८ मा नेपालगन्जको फुलटेग्रा, वार्ड नम्बर ७ को अध्यक्षमा उठाइएर पनि हराइयो । थापाले ८८ वर्षको उमेरमा २०५८ मंसिर ८ गते नेपालगन्जमा अन्तिम सास लिए । 

 

इतिहासको कुशल व्यवस्थापन 
नेपाली कंग्रेसको वरिपरि आधुनिक नेपालको इतिहास रिंगिरहेको छ, तर कंग्रेसभित्रको सत्ताधारी अभिजातवर्ग भने इतिहासका ती कडीलाई या त विषयान्तर गर्छन् या तपसिलमा पार्छन् । प्रजातान्त्रिक कंग्रेसलाई न्यूनीकरण गर्ने आशयले महेन्द्रविक्रम शाह नेतृत्वको २००७ सालको संघर्ष गाथामा नारायणी पश्चिमको आन्दोलनको चर्चा अत्यन्तै न्यून छ । जनमुक्ति सेनाको भूमिकाको खासै उल्लेख पाइँदैन । संस्थापक सुब्बा देवीप्रसाद सापकोटाको चर्चा पनि सुनिँदैन ।


विद्रोहीलाई वैधानिकताले कुनै अर्थ राख्दैन । अदालत, कानुन, जेल, लोभ, डर, छलकपट र षड्यन्त्रले रोक्न र छेक्न सक्दैन । विधानमा टेकेर, विधान भत्काउँदै नयाँ विधान बनाउँछन् । सनातनीहरू परिवर्तनलाई पहिला, अस्वीकार गरेर प्रतिरोध गर्छन्, मन नलागी–नलागी स्वीकार गर्दै जान्छन्, कालान्तरमा स्विकार्न अभ्यस्त हुँदै जान्छन् । यसैगरी, सभ्यता अगाडि बढ्दै जान्छ । अगुवाइ अरूले गरून्, सहादत अर्काको घरमा होस्, परिवर्तनको पहिलो उपलब्धि मैले पाऊँ भन्ने हुन्छ भने भूतपूर्व विद्रोहीहरूमा सबै कुराको आधिपत्य आफैँले मात्रै पाउनुपर्छ भन्ने हुन्छ ।

 

विश्वका महान् क्रान्तिहरू क्रान्तिकारी सेनाबेगर भएका छैनन् । बन्दुकको आडमा टिकेको सत्तालाई बन्दुकले नै भत्काउनुपर्छ, तर बन्दुक राजनीतिको कमान्डमा हुनुपर्छ भन्ने कुरा गम्भीर अध्ययन गरेका थिए– बाबुकृष्ण शर्माले । (उनलाई विभिन्न ठाउँ, अवस्था र भूमिकाले कृष्णप्रसाद शर्मा, धनेश्वर शर्मा, गुरुजीजस्ता शब्द प्रयोग गरिएको छ) । शर्माले राजनीतिक नेतृत्वलाई मुक्ति सेनाको महत्व मात्रै हैन अगुवाइका मार्गचित्र र क्रान्तिकारी सेनाको सम्भावना पनि अथ्र्याएपछि मुक्ति सेनाको सोच कंग्रेस पार्टीले स्विकारेको हो । 

 

इतिहासले आफ्ना पाठकसँग सधैँ माग गर्ने विषय भनेको ऐतिहासिक नजर र चेतले घटना, तत्कालीन अवस्था, शक्तिबीचको द्वन्द्व र सम्बन्धको अध्ययनको माग गर्छ । तर, क्रान्तिका राप र चाप जति सेलाउँदै जान्छन् क्रान्तिकाल त्यत्तिकै बिर्सिँदै जान्छ भने सत्तामा नयाँ अभिजातको उदय हुँदै जान्छ । शक्ति हितअनुसारको इतिहासको व्यवस्थापन गर्न चाहन्छ । जब इतिहासकार शक्तिको पक्षधर हुन्छन् तब इतिहासप्रति नै विश्वासको संकट पैदा हुन्छ । शक्ति र अवस्थाको हेरफेरसँगै मिथकलाई इतिहास बनाउने र शक्तिको सौन्दर्यीकरण गरिन्छ । बौद्धिक जगत् र इतिहासकारहरूको पक्षधरता नै मिथ्या इतिहासको मूल पक्ष हो । 

 

संसारमै राजबन्दी, देशद्रोही, बन्दी र कैदी शब्दका अर्थ र परिभाषा सत्ता, समय र अवस्थासँगै फेरिएर नायक र स्तुत्य बनेर जयजयकार मनाइन्छ । इतिहासले कहिलेकाहीँ ठट्टा पनि गर्छ । सत्ता यथास्थिति बचाउन चाहन्छ, समाज यथास्थितिमा रहन चाहँदैन । तब टकराहट हुन्छ । यही सामाजिक द्वन्द्वको निकासमा राजनीतिकचेत विद्रोहमा उत्रिन्छ । 

 

हरेक क्रान्तिपछि समाज र व्यक्तिमा तीव्र महत्वाकांक्षा र क्रान्तिको क्षतिपूर्तिभाव पैदा हुन्छ । मूल नेतृत्व सामुन्ने त्यसलाई व्यवस्थापन गर्ने सबभन्दा ठूला चुनौती हुन्छन् भने नयाँ र पुराना शक्तिबीच भयंकर टक्कर हुन्छ । यस्तो वेला मूल नेतृत्वको चरित्र, आदर्श, समर्पणले सार्वजनिक अपिल गर्ने नैतिक साहस राख्छ । तर, हरेक सत्ताले आदर्शलाई ध्वस्त पार्छ र नेतालाई आदर्शमा रहन सक्दैन । मुक्ति योद्धालाई भाडाका सिपाहीजस्तो बनाउन खोज्छ । मुक्ति योद्धालाई भ्रष्ट, लालची र आसे बनाएपछि नयाँ सत्तालाई सहज हुन्छ । आखिर त्यही नियति जनमुक्ति सेनाले भोग्नुपर्‍यो ।