बिस्तारै–बिस्तारै
भरिएका बोतलहरूको छेउमा
खाली गिलाससरी
राखिएको छु म
बिस्तारै–बिस्तारै अँध्यारो आउनेछ
र, ढुनमुनिँदै
मेरै छेउमा आसन जमाउनेछ ।
ऊ केही बोल्नेछैन
मलाई पटक–पटक भर्नेछ
खाली गर्नेछ,
भर्नेछ— खाली गर्नेछ
र, अन्त्यमा
खाली बोतलहरूसँगै
खाली गिलाससरी
छोडेर जानेछ ।
मेरा साथी हो !
तिमीहरू मृत्युलाई चिन्दैनौ
चाहे त्यो मान्छेको होस्
या कुनै देशको
चाहे त्यो समयको होस्
या कुनै भेषको ।
सब थोक बिस्तारै–बिस्तारै त हुन्छ
बिस्तारै–बिस्तारै त बोतलहरू खाली हुन्छन्
गिलास भरिन्छ,
कसैले गिलास भर्छ,
हो, बिस्तारै–बिस्तारै त
आत्मा खाली हुन्छ
मान्छे मर्छ ।
त्यस देशलाई म के गरूँ
जो बिस्तारै–बिस्तारै ढुनमुनिँदै
मेरो छेउमा बसेको छ ।
मेरा साथी हो !
तिमीहरू मृत्युलाई चिन्दैनौ
बिस्तारै–बिस्तारै अँध्यारोको पेटमा
सबथोक विलीन हुनेछ
त्यसपछि केही पनि घर्किंदैन, बित्दैन
बित्नलाई केही बाँकी पनि रहँदैन
खाली बोतलहरूको छेउमा
खाली गिलाससरी सबथोक रहन्छ यत्तिकै
झन्डाको छेउमा देश
नामको छेउमा मान्छे
प्रेमको छेउमा समय
दामको छेउमा भेष
सबथोक रहन्छ यत्तिकै
खाली बोतलहरूको छेउमा
खाली गिलाससरी
‘बिस्तारै–बिस्तारै’—
मलाई असाध्यै घृणा छ
यो शब्ददेखि ।
बिस्तारै–बिस्तारै त घुन लाग्छ
अनाज मर्छ,
बिस्तारै–बिस्तारै त धमिराले सबथोक खान्छ
साहस डराउने गर्छ ।
बिस्तारै–बिस्तारै त विश्वास हराउँछ
संकल्प निदाउँछ ।
मेरा साथी हो !
म त्यस देशलाई के गरूँ
जो बिस्तारै–बिस्तारै
बिस्तारै–बिस्तारै खाली हुँदै गइरहेको छ
भरी बोतलहरूको छेउमा
खाली गिलाससरी
पसारिएको छ
बिस्तारै–बिस्तारै
अब म ईश्वरलाई पनि पाउन चाहन्नँ
बिस्तारै–बिस्तारै
अब म स्वर्ग पनि धाउन चाहन्नँ
बिस्तारै–बिस्तारै
अब मलाई केही पनि छैन स्वीकार
चाहे त्यो घृणा होस्, चाहे प्यार ।
मेरा साथी हो !
बिस्तारै–बिस्तारै केही पनि हुँदैन
केवल मृत्यु हुन्छ,
बिस्तारै–बिस्तारै केही पनि आउँदैन
केवल मृत्यु आउँछ,
बिस्तारै–बिस्तारै केही पनि पाइँदैन
केवल मृत्यु पाइन्छ,
मृत्यु–
खाली बोतलहरूको छेउमा
खाली गिलाससरी ।
सुन,
ढोलको ढमढम मन्द हुँदै गइरहेको छ
बिस्तारै–बिस्तारै एउटा क्रान्ति–यात्रा
शव–यात्रामा परिणत भइरहेको छ
दुर्गन्ध फैलिरहेको छ–
नक्सामा देशको
र, आँखामा प्रेमको
सीमान्त धमिलो–धमिलो भइरहेको छ
र, हामी मुसाले झैँ हेरिरहेका छौँ ।
देश कागजमा
बनेको नक्सा होइन
तिम्रो घरको
एउटा कोठामा आगो दन्किरहेको छ भने
के तिमी
अर्काे कोठामा निश्चिन्त सुत्न सक्छौ ?
तिम्रो घरको एउटा कोठामा
लास सडिरहेको छ भने
के तिमी
अर्काे कोठामा प्रार्थना गर्न सक्छौ ?
यदि सक्छौ भने
मलाई तिमीसँग
केही भन्नु छैन ।
देश कागजमा बनेको
नक्सा होइन
कि— एक अंश च्यातिँदा
बाँकी अंश साबिकै सग्ला रहून्
र, नदी, पर्वत, सहर, गाउँ
उसैगरी आ–आफ्ना ठाउँमा देखियून्
निरपेक्ष रहून् ।
तिमी यस सत्यलाई मान्दैनौ भने
मलाई तिम्रो साथ
रहनु छैन ।
यस संसारमा मान्छेको जीवनभन्दा ठूलो
केही पनि छैन
न ईश्वर
न ज्ञान
न चुनाव
हरेक कागजी लेखोटलाई
च्यातचुत पार्न सकिन्छ
र, धर्तीको सात पत्रभित्र
गाड्न सकिन्छ ।
विवेक जो
लासहरूको जगमा उभिन्छ
अन्धो हुन्छ
शासन जो
चलिरहेको होस् बन्दुकको नालले
त्यो हत्याराको धन्दा हुन्छ
तिमी यसलाई मान्दैनौ भने
मलाई अब एक पल पनि
तिमीलाई सहनु छैन
याद राख
एउटा बच्चाको हत्या
एउटी महिलाको मृत्यु
एउटा मान्छेको
गोलीले क्षतविक्षत् तन
कुनै शासनको मात्र होइन
सम्पूर्ण राष्ट्रको हो पतन ।
यसरी बगेको रगत
धर्तीले सोस्न सक्दैन
आकाशमा फरफराइरहेको झन्डालाई
बनाउँछ मैलो यसले ।
जुन धर्तीमा
जंगी बुटहरूको निसान हुन्छ
र, तिनमा
ढलिरहेका हुन्छन् लासहरू
त्यो धर्ती
यदि तिम्रो रगतमा
आगो बनेर दौडिँदैन भने
बुझ !
तिमी बाँझो भइसक्यौ–
तिमीलाई यहाँ सास फेर्नसम्म छैन अधिकार
तिम्रा लागि रहेन अब यो संसार ।
जरुरी बात
छ एकदम साफ
कुनै हत्यारालाई
कदापि नगर माफ
चाहे होस् त्यो तिम्रो यार
या धर्मको ठेकेदार,
चाहे होस् लोकतन्त्रको
स्वनामधन्य पहरेदार ।
पोस्टमार्टम रिपोर्ट
गोली खाएपछि
एउटाको मुखबाट निक्ल्यो–
‘राम’ ।
दोस्रोको मुखबाट निक्ल्यो–
‘माओ’ ।
तर, तेस्रोको मुखबाट निक्ल्यो–
‘आलु’ ।
पोस्टमार्टम रिपोर्ट भन्छ–
अघिल्ला दुई जनाको पेट
भरिएको थियो ।
पिछडिएको मान्छे
जब सबै बोल्थे
ऊ चुप रहन्थ्यो,
जब सबै हिँड्थे
ऊ पछि लाग्थ्यो,
जब सबै खानमा मस्त–व्यस्त हुन्थे
ऊ अलग्गै बसेर रोटी खेलाइरहन्थ्यो,
जब सबै थकित–गलित भएर सुत्थे
ऊ शून्यमा एकोहोरो हेरिरहन्थ्यो,
तर, जब गोली चल्यो
सबैभन्दा पहिले
उही मारियो ।
नाता
आफूले लुगा लगाएर
अरूले लुगा लगाएको देख्नु
आफूले लुगा लगाएर
अरूले लुगा नलगाएको देख्नु
आफूले लुगा नलगाएर
अरूले लुगा नलगाएको देख्नु
तीन भिन्न–भिन्न नाता बनाउनु छ
यीमध्ये
पहिलोले तिमीले मन बहलाउनु छ
दोस्रोलाई खोज्न जानु छ
तेस्रोसँग मिलेर
क्रान्ति र सिर्जनाको झन्डा उठाउनु छ ।
विख्यात हिन्दी कवि सर्वेश्वर दयाल सक्सेना (सन् १९२७–१९८३) को कविताको केन्द्रमा लोकजीवन र सामान्यजन हुन्छन् । त्यसैले उनको कविताको भाषा सरल छ, त्यसले भन्ने कुरा पनि सरल छ । जटिल संसारलाई सरल भाषामा अथ्र्याउनु उनको काव्यिक सामथ्र्य हो । उनी आममान्छेले भोगेका दुःख र पीडा, अन्याय र शोषण, विषमता र विसंगतिलाई उधिन्ने काम मात्रै गर्दैनन्, उसलाई आक्रोशित, प्रतिरोधी र बागी पनि बनाइछाड्छन् । चित्रमय शैली, धारिलो व्यंग्य अनि क्रूर सत्ता र शक्तिमाथि निर्मम प्रहार, यी सबैले उनलाई विलक्षण कवि बनाएका छन् । उनका ‘काठ की घंटियाँ’, ‘बाँस का पुल’, ‘एक सुनी नाव’, ‘गर्म हवाएँ’, ‘कुआनो नदी’, ‘जंगलका दर्द’, ‘खुँटियों पर टँगे लोग’, ‘कोई मेरे साथ चले’ कविता संग्रहहरूले हिन्दी कवितालाई थप विपुलता प्रदान गरेका छन् । सन् १९८२ मा प्रकाशित नेपाली कविताको हिन्दी अनुवाद समुच्चय ‘नेपाली कविताएं’ का उनी प्रधानसम्पादक थिए ।
अनुवाद : विनोदविक्रम केसी