• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गोविन्द मरासिनी
२०७८ मङ्सिर ४ शनिबार ०८:१८:००
यात्रा

चित्लाङमा ‘क्वाड बाइक’मा सरर

२०७८ मङ्सिर ४ शनिबार ०८:१८:००
गोविन्द मरासिनी

तिहारको छोटो बिदामा छोटै यात्रामा निस्कने सोच बनाएँ । यसअघि पुगेर धेरै घुमफिर गर्न नपाएको चित्लाङ मेरो रोजाइमा पर्‍यो । चिसो–चिसो मौसममा मित्र सुवास भण्डारीका साथमा मोटरसाइकलमै चित्लाङको यात्रामा निस्क्यौँ । यसअघि चोभार–दक्षिणकाली–कुलेखानी हुँदै चित्लाङ पुगेको भए पनि यसपटक भने छोटो समयमा पुग्न सकिने कंलकी–थानकोट हुँदै चित्लाङ रोज्यौँ । वर्षायाममा केही बिग्रने भए पनि अहिले यो बाटो राम्रो र निर्माणाधीन नै रहेछ । घुम्तीहरूको ठाउँठाउँमा ढलान गरिएको रहेछ । पहाडको घुमाउरो बाटो चन्द्रागिरिको केबलकार अवलोकन गर्दै करिब एक घन्टामा फुत्तै चित्लाङ पुग्यौँ । 


चित्लाङ पुगेपछि सबैले सम्झनैपर्ने नाम हो, देवेन्द्र नेपाल । चित्लाङलाई पर्यटकीय गन्तब्य बनाउनुमा उहाँको पनि ठूलो हात छ, भन्दा फरक नपर्ला । हामीले अघिल्लै दिन उहाँले निर्माण गरेको चित्लाङ अर्गानिक भिलेजको टेन्टमा बस्नका लागि व्यवस्था गर्न भनेका थियौँ । प्रायः शुक्रबार र सार्वजनिक बिदामा व्यापक भिडभाड हुने हुनाले जानुभन्दा अघि नै बसोवासको व्यवस्था गर्नु उचित हुन्छ । हामी दिउँसै चित्लाङ पुगेकाले घुमफिर गर्नेतर्फ लाग्यौँ । साथै खुलेको मौसमले थप उत्साहित बनायो । 


चित्लाङ पुगेपछि सप्तऋषिले नुहाउने गरेका सातधारा, पर्यटकीय माझगाउँनजिकै पर्ने मानव निर्मित इन्द्रसरोवर तालको अवलोकन, मोहिनी झरना, परम्परागत दरबार, अशोक चैत्य, प्राचीन पार्टीपौवा, महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता लेखेको स्थल, सरकारीस्तरबाट सञ्चालित बाख्राफार्म र अफ्रिकामा पाइने दुर्लभ जनावर अल्पाको पालन घुम्नैपर्ने ठाउँ हुन् । हामी यी ठाउँमध्ये अधिकांश ठाउँमा पुग्यौँ, केही ठाउँ भने रहर हुँदाहुँदै पनि समय अभावका कारण पुग्न सकेनौँ । घुमफिरपछि निकै रमाइलोका साथ अर्गानिक भिलेजले निर्माण गरेको नास्पाती घारीमा रहेको टेन्डमा रात बितायौँ । साँझ समूहमा हुने क्याम्पफायरिङ, गीत–संगीतसहित नृत्य र सस्तो मूल्यमा अर्गानिक खानेकुराको स्वाद लिँदाको मजा नै बेग्लै थियो । 

बिहान उठ्नेबित्तिकै टेन्डबाटै नियाल्न सकिने सन्राइज, स्वच्छ हावापानी, खुलेको आकाश र हरियाली, परम्परागत शैलीका घर देख्दा काठमाडौंको धुलो–धुवाँबाट आत्तिएका आँखाले शीतलता महसुस गरेँ । चित्लाङमा पछिल्लो समय भित्रिएको ‘क्वाड बाइक’ चलाउन हामी उत्साहित थियौँ । क्वाड बाइक सञ्चालन समूहका एक सदस्य माधव खतिवडासँग सम्पर्क भयो र हामीलाई उहाँले नै सहजीकरण गरिदिनुभयो । 

बाइक चलाएको बानी भएकाले सुरुमा केही समय हेन्डल सीधा बनाउन र ठूलो टायर देख्दा डर पनि लाग्यो । चौरमा केही समय बाइक ‘राउन्ड’ लगाएपछि चित्लाङआसपास करिब दुई किमि बाइक चलायौँ र तस्बिर, भिडियो लिँदै रमायौँ ।


‘एडभेन्चर गेम’मै समावेश गरिएको यो बाइक चलाउन सामान्य केही नियम पालना गर्नुपर्नेरहेछ । त्यसबारेमा पनि हामीलाई खतिवडा सरले नै जानकारी गराउनुभयो । यो बाइक अन्य बाइक र स्कुटर चलाउने जोकोहीले पनि सजिलै चलाउन सक्नेरहेछ । यद्यपि, बाइक र स्कुटरको लाइसेन्स नभएकाहरूलाई भने यो चलाउन छुट नदिइनेरहेछ । यसमा ठुल्ठूला चारवटा टायर हन्छ, त्यसैले पनि यसलाई क्वाड बाइक भन्ने गरिएको रहेछ । हामीले सामान्य जानकारीपछि ‘गेयर अप’ (उक्त बाइक चलाउँदा सुरक्षार्थ लगाइने लुगाहरू) गरिसकेपछि, हामीलाई केहीबेर चौरमै चलाउन सिकाइयो ।

बाइक चलाएको बानी भएकाले सुरुमा केही समय हेन्डल सीधा बनाउन र ठुलो टायर देख्दा डर पनि लाग्यो । चौरमा केही समय बाइक ‘राउन्ड’ लगाएपछि चित्लाङआसपासको करिब दुई किमि बाइक चलायौँ र तस्बिर, भिडियो लिँदै रमायौँ । क्वाड बाइक चलाउँदा अन्य बाइक चलाएजस्तो गेयर अप र डाउन गरिरहनुपर्ने झन्झट पनि रहेनछ । यस बाइकमा एक नम्बरको गेयर, बीचमा न्युट्रल र पछाडि ब्याकगियर हुँदोरहेछ । 


विशेषतः मरुभूमिमा मनोरञ्जनका लागि प्रयोग गरिने क्वाड बाइकलाई एडभेन्चर गियर प्रालि र चित्लाङ रिसोर्टले भित्र्याएको हो । स्थानीय सरकारसँगको सहकार्यमा सात किमिसम्मको रुटमा चलाउन मिल्ने गरी बिस्तार गर्ने कम्पनीको तयारी छ । जुन रुटका लागि प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ ।सधैँ बाइकमा हुइँकिएका हामीलाई क्वाड बाइकको अनुभवले बिलकुलै नयाँ अनुभूति दिलायो । क्वाड बाइकको मजा लिएसँगै हामी पुनः आफ्नो मोटरसाइकलमा काठमाडौंको यात्रा तय गर्‍यौँ । भर्खरै क्वाड बाइक चलाएको भएर होला बाटोमा कताकता केहीछिन् क्वाड बाइक नै चलाएको अनुभूतिसमेत भयो । मार्खु, कुलेखानी रुट हुँदै काठमाडौं फर्कदै गर्दा इन्द्रसरोवर तालमा पोखराको झल्को मेटाउने गरी डुंगामा सयर नगरी मनले मानेन ।