• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भीष्म उप्रेती काठमाडाैं
२०७६ बैशाख ७ शनिबार ११:२७:००
समाज

बाँसझाङभित्र सानो संसार

२०७६ बैशाख ७ शनिबार ११:२७:००
भीष्म उप्रेती काठमाडाैं

म आफूले बाल्यकाल बिताएको आफ्नो गाउँबाट टाढा छु । जहाँ छु त्यहाँ पनि मिहिनेत र मुस्किलले एउटा सानो संसार सिर्जना गरेको छु । त्यसो त मलाई आँत लुकाउन, जाडो, गर्मी र वर्षाबाट जोगाउन, सुरक्षाको अनुभूति दिलाउन, सुरक्षित महसुस गर्न र मेरो विश्वासलाई उठाइराख्न मेरो सानो संसार पर्याप्त नै छ । बाहिरबाट देखिने पनि यही नै हो । तर, यो पूर्णताभित्र पनि एक किसिमको अपूर्णताको आभास भइरहने गर्छ । यो केवल अनुभूति र भावना हो, तर हुनचाहिँ हो । आपूmबाहेक अरू कसैले पनि नदेख्ने, अनुभूत पनि नगर्ने एउटा आकार र सत्य हो ।

अनुभूतिभित्र बोध भइरहने यही आकारभित्र म सधैँ घर मास्तिरको बाँसझाँङ देख्छु । हरिया बाँसका रूख, कुनै अग्ला र छिप्पिएका, कुनै अलि साना र ठिक्क छिप्पिएका, कुनै भने कलिला पनि । त्यस्तै, कुनै गर्वले एकदम सीधा आकाशतिर ताकिरहेकाजस्ता, कुनैचाहिँ सरमले अलिअलि झुकेजस्ता नुहेका र कुनै–कुनै त पूरै आत्मसमर्पण गरेजस्ता भुइँमै लत्रेका पनि । यी बाँसझाँङसँगै म त्यसवेलाका मेरा साथीसंगाती पनि देख्छु । गृष्मको चर्को घामले पोल्ने दिनमा कहिले बिस्तारै त कहिले अलि हतारमा झैं गरेर हामीसँगै वा त्यसको केही अघिपछि हावा पनि पस्थ्यो बाँसझाँङमा । अनि हावाले बाँसका हरिया पातलाई बिस्तारै हल्लाउँदै पिपिरीबाजा बजाएझैं एक खालको संगीत सिर्जना गर्दथ्यो । त्यो सिर्जना सोभैm हाम्रो मानसमा, हृदयमा पुग्थ्यो र अलौकिक आनन्द र सौन्दर्यको सिर्जना गथ्र्यो ।

हामी गर्मीयाममा अक्सर विदाको दिन बाँसझाँङमै हुन्थ्यौँ । बाँसका बोटमाथि, अग्ला र बलिया बाँसका झन्डै टुप्पासम्म पनि पुग्थ्यौँ । बाँसका बोटहरूमाथि घन्टौँ बिताउँथ्यौँ । त्यहीँ एउटा बाँसबाट अर्को बाँस, अनि अर्कोबाट फेरि अर्को गर्दै यात्रा गथ्र्यौँ । एउटाले अर्कोलाई भेट्टाउने र छुने खेल खेल्थ्यौँ । बाँसका बोटमाथि बसेरै स्कुलका पाठ घोक्थ्यौँ । वादविवादको तयारी गथ्र्यौं । कहिले–कहिले त स–साना विषयमा ठूलो झगडासमेत गथ्र्याैं । यसरी बाँसझाँङभित्रै एउटा अलग्गै सानो दुनियाँ सिर्जना गरेका हुन्थ्यौँ ।

यो एक दिन, दुई दिन, साता वा महिना दिनको कुरा थिएन । हामीले कति वर्षसम्म यसैगरी बिताएका थियौँ । कहिले तीनजना, कहिले चारजना त कहिले पाँच, ६ जनासमेत हुन्थ्यौँ । गाउँका समवयका केटाहरू यसैगरी छुट्टीको दिन बाँसघारीमा बिताउँथ्यौँ । सपनै–सपनाले भरिएको एउटा अलग दुनियाँ निर्माण गरेर त्यसैमा रमाउन पाउनुभन्दा ठूलो आनन्द अरू के हुन्थ्यो होला त्यसवेला ? ०३० को दशकको त्यो समय टेलिभिजन थिएन, स्मार्टफोन, इन्टरनेट र सामाजिक सञ्जाल त कल्पनाभन्दा बाहिरका विषय थिए । बरू कहिलेकाहीँ आकाशमा उडेका हवाईजहाज र हेलिकोप्टर देख्दा भने आफूलाई पनि त्यसरी नै नीलो खुला आकाशमुनि बेतोडले कावा खाने रहर उर्लेर आउँथ्यो । त्यसैले, साथीहरूसँगको हार्दिकता थियो, साथीहरूसँगको स्वस्थ, अस्वस्थ प्रतिस्पर्धा थियो र कहिलेकाहीँ इष्र्या वा झगडाले उत्पन्न गराउने विषाद पनि थियो । आफैंले सिर्जना गरेको अलग्गै संसार ।

हामी आफूले समय बिताउने बाँसझाँङ फेरिरहन्थ्यौँ । कहिले हाम्रो जग्गाको बाँसझाँङ, कहिले अर्को साथीको बाँसझाँङ, कहिले अर्कै साथीको बाँसझाँङ । घरमा हाम्रो खोजी हुन्थ्यो । कहिले कसको घरमा, कहिले कसको घरमा काम परिरहन्थ्यो । घरमा अलिकति हात अगाडि बढाइदिँदा अभिभावकलाई कति धेरै सुविस्ता हुन्थ्यो । तर, त्यसवेला, त्यो उमेर ! यी सबै व्यावहारिकता कहाँ सम्झन्थ्यो र ! खासगरी, जब हाम्रा अभिभावकले हामी कुन बाँसझाँङमा हुन्छौँ भन्ने थाहा पाउनुहुन्थ्यो र हामीलाई बोलाउन, नमाने लखेट्नसमेत आउनुहुन्थ्यो, तब हाम्रो दुनियाँ एकाएक भताभुंग हुनपुग्थ्यो । तब यसलाई जोगाइराख्ने उपायस्वरूप हामीले बाँसझाँङ फेर्ने निधो गरेका थियौँ । त्यसैले, हामी नजिक–नजिकका सबै बाँसझाँङका बाँसलाई राम्रोसँग चिन्दथ्यौँ । उनीहरू हाम्रा मित्र र अभिभावक दुवै थिए ।

खेल्दा कहिलेकाहीँ बाँसले काट्थ्यो, घाउ लाग्थ्यो । तर, तिनको पर्वाह थिएन हामीलाई । किनभने, बाँसझाँङमा बाँस मात्र थिएनन् । त्यहाँ अनेकौँ चरासमेत बस्थे । तिनका चिरिबिरी आवाजले अलग्गै संगीतको सिर्जना गर्दथे जुन हामीले थाहै नपाई हाम्रा आत्माभित्र, भावनाभित्र, सोचभित्र पसिसकेका हुन्थे । तिनले हामीलाई पग्लन, भावनाले भरिन, मानिसहरूसँग हार्द हुन्, प्रकृतिलाई एकदमै नजिकबाट अनुभूत गर्न र सम्बन्धमा संवेदनशील हुन सिकाए । अहिले सोच्छु, हाम्रो मान्छे बन्ने प्रक्रियाको एउटा अवस्था थियो त्यो । ती सबै चरा अहिले त नहोलान्, तर म तिनीहरूसँग कृतज्ञ छु । 

यसैगरी सम्झन्छु– बाँसमा खेल्दा त्यो केवल एउटा खेल मात्र थियो त ? वा थाहै नपाई बाँसका बोट मभित्र पनि उम्रिए ? वा तिनले मलाई उनीहरूले जस्तै दुनियाँको अगाडि शिर उठाएर सोझोसँग उभिन सिकाए ? अझ यसो भनौँ, जतिसुकै सोझो भएर उभिए पनि मभित्र विनम्रता र मर्यादामा झुक्नुपर्ने संस्कार पनि बसालिदिएँ ! अप्ठ्यारो पर्दा वा जस्तै प्रतिकूलतामा पनि अन्तिमसम्म उठ्न प्रयास गरिरहनु जीवन हो भन्ने बोध थाहै नपाई मलाई गराए ! आज म आपूmतिरै फर्केर जब हेर्छु– मभित्र कति धेरै विशेषता ती बाँसघारीका बाँससँग मिल्ने खालका छन् । 

मलाई थाहा छैन, पानी परेका वेला पानीका कोमल थोपाले छोइँदा बाँसका पात बजेको कतिजनाले सुनेका छन् । यसरी निस्किएको आवाजसँग यस्तै अर्को आवाज ठोक्किएर बनेको आवाजको सिम्फोनी कतिले सुनेका छन् । मैले एकपटक होइन, अनेकौँपटक सुनेको छु र आह्लादित भएको छु । आफूभित्रका तनाव वा असन्तुष्टि केही थिए भने ती सबै त्यही पानी र बाँसका पातका आवाजसँगै बगेर गएका छन् । चैत–वैशाखका उराठलाग्दा दिनमा बेतोडले चल्ने हावाले हल्लाइँदा बाँसका पात मात्र होइन, बाँसका रूखले समेत सुसेल्छन् । त्यो सुसेली आवाजले मानिसको हृदयलाई कहाँ छुन्छ र कस्तो अनुभूति गराउँछ, त्यो मलाई थाहा छ ।

मलाई सधैँ बाँसघारीतिर लिएर जाने बाटो पनि मेरो सम्झनामा सधैँ आउँछ । त्यो बाटोले मैले थाहा पाएदेखि नै जहिले पनि उसको अँगालो मेरा लागि सधैँ खोलेर राख्यो । हिलो भएको वेलामा पनि, धुलो भरिएको वेलामा पनि, यी दुवैभन्दा फरक स्तरोन्नति भएका वेलामा पनि म यस बाटोमा हिँडेँ । अहिले पनि हिँड्छु । यो कच्चीबाटोको डोब मेरो अन्तरहृदयमा अमिट भएर कोरिएको छ । यसको एकछेउ मेरो घरमा पुग्छ र अर्कोछेउ गाउँभरिका बाँसझाँङसम्म पैmलिएको छ । मलाई लाग्छ, मैले वा बाँसझाँङमा खेल्ने मेरा दौँतरीभन्दा बाहेक अरू सबैले यसलाई सामान्य बाटोभन्दा केही देख्दैनन् ।

मानिस मेरा कवितामा प्रकृति बढी आउँछ भन्छन् । म भन्छु– प्रकृति र मान्छेबाहेक लेख्ने कुरा के छ दुनियाँमा ? मेरा कवितामा विषय एकदम मिहिन भएर आउँछन्, अनुभूतिको बलियो लेपन लागेर आउँछन्– केही मानिस भन्छन् । म के भनूँ ? मैले सुसेली हाल्न बाँसझाँङमा चराबाट सिकेँ । मैले प्रेम गर्न, संवेदनालाई सम्हालेर राख्न र चुलीचुली बनाउन गाउँका हरिया, नीला, पहेँला, वैजनी आदि रङहरूले सजाएर चिटिक्क परेकी प्रकृतिबाट सिकेँ । मैले बिस्तारै बोल्न सिकेँ, सभ्यतापूर्वक बोल्न सिकेँ, देखेको कुरालाई आफ्नै किसिमले, तर निर्भिकतापूर्वक भन्न वा लेख्न सिकेँ । अगाडि आउने विसंगतिको डटेर सामना गर्न र त्यसपछि मुस्कुराउन सिकेँ । म मान्छे, मैले यी सबै प्रकृतिबाट सिकेँ । अब मैले यी र यिनैसँग जोडिएर आउने मानिसको जीवन नलेखेर अरू के लेखूँ ?

बाँसझाँङ र यीसँगैका प्रकृतिका अनेकौँ भावभंगीले मभित्र कल्पनाशीलतालाई जगाइदिए । कल्पनाशीलताले मानिसलाई जिउँदो राख्छ र केही नयाँ गर्न प्रेरित गरिरहन्छ, हुटहुटी लगाइरहन्छ ।

यी अनुभूति, भावना, दृष्टिकोण तथा स्मृतिबाट नै मेरो जीवनको आकार र दर्शन बनेको छ । वास्तवमा यीबाहेक अन्यत्र म कहीँ पनि छैनँ र केही पनि होइन । मसँग वाल्यकालका अनेकौँ स्मृति सजीव छन् । तिनले मेरो जीवनमा रङ भरेका छन्, बास्ना छरेका छन् र मभित्रको दानवलाई दमन गरेर मलाई मान्छे भइरहन लगाइरहेका छन् । 