• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर ११ शनिबार ०६:५४:००
समाज

ब्याच नम्बर २०४६ : मित्रता, सफलता र हार्दिकता

नेपाल ल क्याम्पसको ०४६ को बिएलको एउटा उम्दा ब्याच, जसका सहपाठी राज्यका विभिन्न क्षेत्रका उच्च पदमा पुग्न सफल भएका छन्

२०७८ मङ्सिर ११ शनिबार ०६:५४:००

पञ्चायतकालका अन्तिम वर्षहरू, राजनीतिक कारणले त्यतिवेला कलेजमा नियमित भर्नासमेत हुँदैन थियो । नेपाल ल क्याम्पसमा ०४१ सालपछि एकैपटक ०४३ सालमा बिएलमा भर्ना खुल्यो । आइएल पढेका दुई ब्याचका विद्यार्थी एकैपटक भर्ना हुँदा ०४३ को बिएल ब्याच ठूलो हुन गयो । एक सय ५९ जना विद्यार्थीलाई दुई सेक्सनमा पढाइ हुन्थ्यो । 

०४६ मा बिएल पास गरेको त्यो ब्याच ठूलो मात्र भएन, कलेजको इतिहासकै एउटा सफल र प्रभावशाली टोली बन्न पुग्यो । त्यही ब्याचका दुई विद्यार्थी निजामती प्रशासनको सर्वाेच्च पद मुख्यसचिव बन्न पुगे । अन्य पाँचजना हाल विशिष्ट श्रेणीमा कार्यरत छन् । निजामती मात्र नभई अन्य विभिन्न क्षेत्रमा यो ब्याचका विद्यार्थी अब्बल भएर हाल आ–आफ्नो क्षेत्रमा सफलता चुमेका छन् । 

लोकदर्शन र शंकर : समान सपना, फरक गन्तव्य 
स्याङ्जाका लोकदर्शन रेग्मी र पर्वतका शंकरदास बैरागीका बुबाका सपना समान थिए–कानुन पढेर छोरो न्यायाधीश बनोस् । बुबाको त्यही सपना पूरा गर्न दुवैले नेपाल ल क्याम्पससम्मको यात्रा तय गरे । बैरागी एसएलसीलगत्तै ल क्याम्पसमा भर्ना भए भने रेग्मीले पोखरामा आइएल सकाएर ०४३ सालमा ल क्याम्पसमा भर्ना भए । दुवैले बुबाको न्यायाधीश बन्ने सपना पूरा त गरेनन्, तर जीवनमा अर्काे विशिष्ट सफलता चुमे । निजामती सेवाको सर्वाेच्च पदमा एकपछि अर्काेले नेतृत्व गर्ने अवसर पाए । रेग्मी बेलायतको राजदूतमा नियुक्त भएपछि गत वर्ष असोजदेखि बैरागी नेपाल सरकारका मुख्यसचिव छन् । 

०४६ को सो ब्याचका टपर थिए बैरागी, पढाइमा मात्र होइन, करिअरमा पनि उनले आफूलाई अब्बल नै साबित गरेका छन् । कानुन पढेर न्याय क्षेत्रमा लाग्ने बुबाको सपना भए पनि कलेज पढ्दै गर्दा परराष्ट्र सेवातर्फ आफ्नो आकर्षण बढेको उनी बताउँछन् । आइएल उत्तीर्ण गरेलगत्तै ०४४ मा उनी परराष्ट्रको नासुमा उत्तीर्ण भए, ०४७ मा परराष्ट्रकै अधिकृत बने । ‘स्कुल पढ्दादेखि नै अन्तर्राष्ट्रिय विषयहरूमा निकै रुचि भएकाले मेरो रोजाइमा परराष्ट्र सेवा पर्‍यो,’ उनी सुनाउँछन् । 

अधिकृतको रूपमा पहिलो पोस्टिङले नै आफ्नो करिअरको जग बसाएको बैरागी बताउँछन् । ‘अधिकृतमा मेरो पहिलो पोस्टिङ परराष्ट्रको भारत हेर्ने शाखामा भयो, त्यो शाखा परराष्ट्रको सबैभन्दा चुनौतीपूर्ण शाखा मानिन्थ्यो,’ उनी भन्छन्, ‘त्यहाँ मैले परराष्ट्र नीतिका धेरै पक्ष बुझेँ, जसका कारण पछि अन्यत्र काम गर्न पनि मलाई सजिलो भयो ।’ उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाबाटै नाम निकालेकाले उनले करिब पाँच वर्ष परराष्ट्र सचिवका रूपमा काम गर्ने अवसर पाए । 
लेखाइको सिर्जनशीलताले उनी कलेजदेखि नै सधैँ अगाडि रहे । भन्छन्, ‘म घोकेर पढ्ने विद्यार्थी होइन, लेखाइमा मौलिकता दिन खोज्थेँ, त्यही कारण कलेज र लोकसेवामा सफल भए जस्तो लाग्छ ।’ 

परराष्ट्र सचिवका रूपमा सार्क, बिमस्टेक सम्मेलनको आयोजना, भारतबाट प्रधानमन्त्री तथा चीनबाट राष्ट्रपतिको भ्रमणलाई पनि एउटा सम्झिने कामका रूपमा लिन्छन् । परराष्ट्र सचिवका रूपमा आफैँ मस्यौदा गरेको परराष्ट्र नीतिलाई मुख्यसचिव भएर आफैँ प्रमाणित गर्ने अवसर पनि उनले पाए । २०४६ सालको ल क्याम्पसको ब्याचका धेरै साथीहरू एकदमै मिहिनेत र उत्प्रेरित रहेको बैरागी बताउँछन् । ‘सहपाठी धेरैजना विभिन्न पदमा पुगेकोमा खुसी लाग्छ, सहकार्य झन् राम्रो हुन्छ, तर यो मेरो साथी हो, यसलाई सहयोग गर्नुपर्छ, सो साथी होइन, सहयोग गर्नु हुँदैन भन्ने चाहिँ हुँदैन ।’ 

आफैँले आफैँलाई विश्वास गर्ने र स्वस्थ मानसिकताका साथ अघि बढेकाले नै आफू यहाँसम्म पुगेको उनी बताउँछन् । निजामतीमा सुधार गर्ने ठाउँहरू धेरै रहेको मुख्यसचिवका रूपमा निजामती सेवालाई थप व्यावसायिक बनाउने आफूले सक्दो प्रयास गरिरहेको बैरागी बताउँछन् । निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी आफूहरूको सफलतामा ल क्याम्पसका अध्यापकहरूको पनि ठूलो भूमिका रहेको बताउँछन् । त्यतिखेर माधव आचार्य, प्रकाश वस्ती, भरतराज उप्रेती, डा. गोपाल शर्मा, रञ्जितभक्त प्रधानाङ्गलगायतले निकै उत्साहका साथ क्याम्पसमा पढाउने गरेको उनी सम्झन्छन् । 

जुनसुकै पदमा पुगे पनि कलेजदेखि अहिलेसम्म साथीहरूसँगको सम्बन्धमा सधैँ एकरूपता रहेको रेग्मी सुनाउँछन् । ‘०४३ सालमा शंकर बैरागीजी र मेरो भेट हुँदा हाम्रो सम्बन्ध जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ रेग्मी भन्छन्, ‘कहिल्यै अलिकति पनि तलमाथि भएन, संयोगले दुवैजना निजामतीको सर्वाेच्च पदमा पुग्न सफल भयौँ ।’ पृथ्वीनारायण क्याम्पसमा आइएस्सी पढेपछि न्यायाधीश बन्ने बुबाको सपना पूरा गर्न उनी ल क्याम्पसमा भर्ना भएका थिए । त्यतिवेला स्याङ्जाबाट श्रीकान्त रेग्मी, खेमराज रेग्मी, चक्रबन्धु अर्याल निजामतीको प्रथम श्रेणीमा पुगेका थिए । उनीहरूकै कारण आफू पनि निजामतीमा आकर्षित भएको रेग्मीले सुनाए । ०४९ सालमा नासु र ०५१ मा अधिकृत भएका उनी समकक्षीको तुलनामा छिट्टै उच्च पदमा पुग्न सफल भए । ०५८ सालमा उपसचिव भएका उनी त्यसको दुई वर्षपछि नै खुला प्रतियोगिताबाट सहसचिव भए । ०६९ मा सचिव भएका रेग्मी करिब तीन वर्ष निजामतीको सेवाको नेतृत्व गरेपछि बेलायतको राजदूतमा नियुक्त भएकोमा हालै स्वेदश फर्किएका छन् । 

निजामती सेवाजस्तो जीवन र जगत्को सेवा गर्ने अर्काे कुनै क्षेत्र नभएको उनको अनुभव छ । निजामती सेवामा आफूले गरेको कामले अहिले पनि गर्व लाग्ने रेग्मी सुनाउँछन् । कर्मचारीलाई उनको अनुरोध छ, ‘निजामती सेवा अद्वितीय क्षेत्र हो, उच्च मनोबल राखेर काम गर्नुहोला, त्यो जति जनताको सेवा गर्ने ठाउँ अन्यत्र छैन ।’आफ्नो सफलतामा लोकसेवा आयोगको निष्पक्षताको पनि ठूलो भूमिका रहेको रेग्मीको टिप्पणी छ । ‘लोकसेवा निष्पक्ष नभएको भए मजस्ता स्याङ्जाको टिमुरेभञ्ज्याङजस्तो गाउँमा जन्मिएको व्यक्ति त्यहाँसम्म पुग्न सक्दैनथे,’ उनी भन्छन्, ‘लोकसेवा आयोगको जस्तो सिस्टम राज्यका सबै अंगमा पुर्‍याउन सके, देशमा छिट्टै समृद्धि आउँछ जस्तो लाग्छ ।’ सफलताका लागि सपनाको दायरा फराकिलो बनाउनुपर्ने र त्यहीअनुसार अघि बढ्नुपर्ने उनको अनुभव छ । लोकसेवाको तयारी गर्दा मान्छेहरू चन्द्रमा पुगिसके हामी लोकसेवा पास गर्न नसक्ने भन्ने सोचका साथ मिहिनेत गर्ने गरेको उनले सम्झिए । ‘सबै व्यक्तिसँग विशिष्ट क्षमता हुन्छ, त्यसलाई असाधारण सोचका लागि गन्तव्य तय गर्‍यो भने असफलता कसैको पनि शब्दकोशमा हुँदैन ।’ आफ्ना ब्याचका साथीहरूको सफलताको कारण पनि यही भएको उनको बुझाइ छ । 

अर्थदेखि परराष्ट्र मन्त्रालयसम्म समकक्षी

एसएलसीपछि उच्च अध्ययनका लागि काठमाडौं आएका मधुकुमार मरासिनीको ल क्याम्पसको यात्रा रोजाइभन्दा बाध्यात्मक थियो । उनी अर्थशास्त्र पढ्न चाहन्थे । त्यसका लागि त्रिचन्द्रलगायत क्याम्पसमा आवेदन दिएर दसैँ मनाउन उनी गाउँ गए । गाउँबाट फर्किंदा त ती कलेजमा भर्ना गर्ने समय नै सकिएको थियो । ‘सर्वाेच्च अदालतमा एकजना आफन्त हुनुहुन्थ्यो,’ मरासिनी भन्छन्, ‘त्यसपछि उहाँमार्फत ल क्याम्पसका क्याम्पस प्रमुखलाई भन्न लगाएर त्यहाँ भर्ना भइयो ।’ आइएलको नजितामा उनी आफ्नो ब्याचमा उत्कृष्ट भएका थिए । 

पढाइसँगै खरिदार पदबाट उनको जागिर यात्रा सुरु भएकोमा ०४९ सालमा हुलाक सेवातर्फ अधिकृतमा नाम निकाले । ‘त्यतिवेला जागिर खानुपर्ने बाध्यता थियो, त्यसकारण खरिदारबाटै सुरु गरियो,’ मरासिनी भन्छन्, ‘त्यतिवेला विकल्प पनि धेरै थिएनन्, पछि यही क्षेत्रमा करिअर केन्द्रित भयो ।’ ०५३ सालमा सरकारले मूल्य अभिवृद्धि कर(भ्याट) लागू गर्न राजस्व सेवामा अधिकृत माग्यो । उनको करिअर हुलाकबाट राजस्वमा मोडियो । विराटनगरस्थित उनले नेतृत्व गरेको कर कार्यालय उत्कृष्ट भएर पुरस्कृत भयो । मरासिनी भन्छन्, ‘नेपालमा कर सुधारको काममा सुरुवातकै कारिन्दा हुन पाएकोमा गर्व पनि लाग्छ ।’ अर्थशास्त्र पढ्ने सपना उपसचिव भएपछि उनले पूरा गरे । छात्रवृत्तिमा अस्ट्रेलियाबाट विशिष्ट श्रेणीमा अर्थशास्त्रमा स्नातकोत्तर गरे भने हावर्ड विश्वविद्यालयमा पनि छोटो कोर्स पढ्ने अवसर पाए । साथै निजामती सेवाबाटै विश्व बैंकमा काम गर्ने अर्काे विशिष्ट अवसर पनि पाए । सचिवका रूपमा महालेखा नियन्त्रकको कार्यालय हुँदै हाल उनी अर्थ मन्त्रालयमा कार्यरत छन् । कलेज पढ्दाका साथीहरू विभिन्न क्षेत्रमा उच्च पदमा हुँदा समन्वय गर्न थप सहज भएको उनी सुनाउँछन् ।  

स्याङ्जामा एसएलसी पास गरेपछि भरतराज 
पौड्याल साइन्स पढ्ने सपना बोकेर पोखरा झरेका थिए । साइन्स पढ्न पृथ्वीनारायण क्याम्पसमा भर्ना पनि भए । तर, गाउँकै एक शिक्षकको सुझाबले उनको जीवनको बाटो नै मोडियो र त्यो नै उनको जीवनको ‘टर्निङ प्लाइन्ट’ बन्यो । साइन्स पढेर एमबिबिएस र इन्जिनियरिङतर्फ नै लाग्ने उनको सपना थिएन । साइन्स नै पढेका गाउँका ती शिक्षकले साइन्स पढ्दा करिअर शिक्षकमै मात्र टुंगिन सक्ने भएकाले पुनर्विचार गर्न सुझाए । ‘अर्काेतर्फ मेरो पिताजी पनि छोराले कानुन पढोस् भन्ने चाहनुहुन्थ्यो, मेरो दाइ पनि साइन्सबाट चार्टर्ड अकाउन्टेन्टतर्फ लाग्नुभएको थियो,’ पौड्याल भन्छ्न, ‘त्यसपछि मैले साइन्स पढ्ने योजना छाडेर ल पढ्न काठमाडौं आउने निर्णय गरेँ, त्यो नै मेरो जीवनको सबैभन्दा उत्कृष्ट निर्णय थियो, त्यसपछि कहिल्यै पछाडि फर्किएर हेर्नु परेन ।’ 

काठमाडौं आएर ल क्याम्पसमा पढ्न थालेका उनकोे त्यसपछिको सपना निजामतीतर्फ मोडियो । ०४४ सालमा कानुन सेवामा नायब सुब्बाबाट प्रवेश गरेका उनी ०४९ सालमा हुलाक सेवाको अधिकृत बने । त्यसको १० वर्षपछि उनी उपसचिवका रूपमा परराष्ट्र सेवातर्फ मोडिएका हुन् । हुलाकमा अधिकृत भएको पाँच वर्षमै उनले परराष्ट्रमा लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा सफल भएनन् । त्यसपछि अध्ययनका लागि नेदरल्यान्डस् पुगे । त्यहाँ उनले क्लास टप गरेपछि पिएचडीको प्रस्ताव आएको थियो । यता परराष्ट्रमा उपसचिवको जाँच दिएका थिए । उपसचिवमा सफल भएपछि पिएचडी गर्ने उनको सपना थाती रह्यो, उनको त्यो सपना अहिलेसम्म अधुरै छ । 

स्कुल पढ्दादेखि नै अन्तर्राष्ट्रिय विषयमा चासो राखेर उनी बिबिसी हिन्दी सुन्थे । त्यही चासोका कारण पनि आफू परराष्ट्रतर्फ मोडिएको उनी बताउँछन् । पाकिस्तानमा राजदूतसमेत भइसकेका पौड्याल निजामती सेवामा आफू पूर्ण रूपमा सन्तुष्ट रहेको बताउँछन् । ‘सुरुदेखि नै राम्रा मान्छेहरूसँग निकट भएर काम गर्ने अवसर पाएँ, मैले सबै पदमा पदभन्दा धेरै जिम्मेवारी पाएँ,’ उनी भन्छन्, ‘अर्काे कुरा अहिलेसम्म कुनै दिन पनि दिनमा आठ घन्टाभन्दा बढी नै काम गरेको छु, जिम्मेवारीप्रति सधैँ प्रतिबद्ध भएर काम गरेको छु । सुरुदेखि सधैँ एउटै डिग्रीमा मैले जिम्मेवारी पूरा गरेको छु जस्तो लाग्छ । त्यसले पनि सन्तुष्टि दिन्छ ।’ 

निजामती सेवामै रहँदा उनलाई संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय निकायबाट निकै आकर्षक प्रस्ताव आएका थिए । निजामती सेवाका भन्दा कैयौँ गुणा धेरै सेवा–सुविधा हुने ती पदमा जाने प्रस्तावलाई उनले सहजै अस्वीकार गरिदिए । अन्तर्मनदेखि नै नेपाली झन्डाको सेवा गर्ने इच्छा भएकाले त्यस्ता प्रस्ताव अस्वीकार गरेको पौड्याल सुनाउँछन् । ‘म सादा जीवनमा रमाउने मान्छे, भित्रैदेखि सेवा गरौँ भन्ने सोचाइ भएकाले त्यस्ता प्रस्तावलाई सहजै रिजेक्ट गरेँ ।’ 

कलेज पढ्दादेखि नै ल क्याम्पसको सो ब्याचले केही गर्छ भन्ने चर्चा हुने गरेको उनी सुनाउँछन् । ‘हाम्रो ब्याचमा धेरैजना मिहिनेती, डायनामिक र एकदमै सहयोगी थिए,’ उनी सम्झन्छन्, ‘कतिसम्म भने हामीभन्दा दुई ब्याच अगाडिका दाइहरूले समेत हाम्रो ब्याचको प्रशंसा गर्थे ।’ कलेजदेखि अहिलेसम्म साथीहरूबीच सौहाद्रता, हार्दिकता र सद्भावपूर्ण सम्बन्ध रहेको परराष्ट्र सचिव पौड्याल बताउँछन् । ‘सबैजना आ–आफ्नो क्षमताले उच्च पदहरूमा पुग्नुभएको छ, कोही पनि एकअर्काप्रति निर्भर हुनुपरेको छैन,’ उनी भन्छन्, ‘ब्याचका साथीहरूसँग एकदमै गजबको सम्बन्ध छ ।’ अर्थसचिव मरासनी र उनी ‘क्सालमेट’ मात्र नभई ‘रुममेट’समेत थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव धनराज ज्ञवालीको जागिरे यात्रा २१ वर्षको उमेरबाटै सुरु भएको हो । खरिदार, नासु, अधिकृत हुँदै उनी हाल सचिवसम्म पुगेका हुन् । ०५० सालमा उनले कानुन सेवाको अधिकृतमा नाम निकाले । तीनै पदमा उनी पहिलो प्रयासमा सफल भए । यसको कारणबारे ज्ञवाली भन्छन्, ‘म पढाइमा एक्सिलेन्ट त होइन, तर हाजिरीजवाफ र निबन्ध प्रतियोगितामा भाग लिइरहन्थेँ, त्यही कारण लोकसेवाको परीक्षा सहज भयो ।’ 

अधिकृत भएको पाँच वर्षमै उनी उपसचिवमा बढुवा भए । सहसचिव हुन भने उनलाई साढे १४ वर्ष लाग्यो । गत वर्ष मात्र उनी सचिवमा बढुवा भएका हुन् । जागिरे जीवनमा भौतिक योजना मन्त्रालयमा हुँदा सहरी विकासको क्षेत्रमा धेरै काम गर्न सफल भएको उनी सम्झन्छन् । कलेजका साथीहरू नै अहिले विभिन्न मन्त्रालयदेखि मुख्यसचिवसम्म हुँदा काम गर्न सहज हुने गरेको उनी बताउँछन् । ‘खासगरी अहिले निजामतीमा भएका साथीहरूबीच कलेज पढ्दादेखि नै घनिष्टता थियो, अहिले पनि कुनै पनि विषयमा खुलेर कुरा हुन्छ ।’

हाल लोकसेवा आयोगको सचिवका रूपमा कार्यरत महेन्द्र गुरागाईं  पनि यही ब्याचका हुन् । साइन्स पढ्ने योजना बनाएरै तेह्रथुमबाट राजधानी आएका उनको पनि यात्रा ल क्याम्पसमा मोडियो । साइन्समा भर्ना नमिलेपछि उनी पनि ल क्याम्पसमा जोडिए ।गुरागाईं पनि ०४९ को हुलाक सेवाका अधिकृत हुन्, जुन ब्याचबाट हालसम्म १४ जना सचिव भइसकेका छन् । उनको जागिर भने ०४२ सालमै सुरु भएको थियो खरिदार पदबाट ।

०५६ मा उपसचिव,  खरिदारदेखि सहसचिवसम्म उनी परीक्षाबाटै पदोन्नति भए । अधिकृतमा हुलाकमै बसेका उनी उपसचिवमा सोलुखुम्बुको एलडिओ भए । सहसचिवमा सञ्चार, लोक सेवा र सामान्य प्रशासनमा धेरै समय बिताए । सामान्यमा हुँदा कर्मचारीको २४(घ) सम्बन्धी बढुवाको काम उनले नै फत्ते गरे । ‘जुन कार्यालयमा बसे पनि एउटा मात्र भए पनि नयाँ काम गरेको छु, त्यसैमा खुसी लाग्छ ।’ कलेजका धेरै साथी अहिले एकैपटक उच्च पदमा हुँदा काम गर्न सहज हुने गरेको उनको अनुभव छ । ‘कतिपय बैठकमा हामी कलेजकै साथी मात्र हुने अवस्था पनि हुन्छ,’ उनले सुनाए । ०४६ सालपछि अधिकृत पदमा लोकसेवाको भर्ना खोल्न केही समय लागेको र त्यो ब्याचका धेरैजना क्षमतावान्हरू एकैपटक प्रवेश भएर उच्च तहमा पुगेको उनको भनाइ छ । 

सोही ब्याचबाट सचिव बनेका विष्णुप्रसाद नेपाल हाल अवकाशपछि लोकसेवा आयोग गण्डकीका अध्यक्ष छन् । ०४३ सालमा न्याय सेवाबाट अधिकृतमा प्रवेश गरेका उनी ०४९ मा हुलाक सेवाबाट अधिकृत भए । ०५३ मा उनी सेवा परिवर्तन गरी राजस्वमा गए । जागिरको धेरै अवधि अर्थ मन्त्रालयमातहत नै बिताएका उनी आन्तरिक राजस्व विभागका महानिर्देशक हुने अवसर पनि पाए । ०७७ सालको जेठमा सचिवमा बढुवा भएका नेपाल सचिवबाट अवकाश पाएपछि गत चैतमा आयोगको अध्यक्षमा नियुक्त भएका हुन् । 

गणितमा कमजोर भएकाले आफूले त्यतिवेला कानुनको पढाइ रोजेको नेपाल बताउँछन् । पोखरामा आइएलको पहिलो वर्ष पढेका उनी दोस्रो वर्ष ल क्याम्पसमै पढेका हुन् । परिवार र आफन्तका धेरैजना सरकारी सेवामा भएकाले आफूले सरकारी सेवा रोजेको उनी बताउँछन् । त्यो ब्याचमा आइएलका दुई ब्याच मिसिएकाले पनि त्यसमा धेरैजना अब्बल निस्किएको उनको विश्लेषण छ । यस्तै, कर्णाली प्रदेशको संसद्का सचिव जीवराज बुढाथोकी यही ब्याचमा पढेका थिए । सहसचिवहरू विनोदप्रकाश सिंह, रामचन्द्र ढकाल र फणिन्द्र गौतम पनि यही सफल टोलीका ब्याची हुन् । सिनियर सहसचिव रहेका उनीहरू पनि सचिवमा बढुवा हुने प्रतीक्षामा छन् । निजामतीमा मात्र होइन, यही ब्याचबाट प्रहरीमा समेत उच्च तहमा पुगेका छन् । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेल पनि यही ब्याचका विद्यार्थी हुन् । ०४९ सालमा इन्स्पेक्टरबाट प्रहरीमा भर्ना भएका एआइजी विश्वराज पाँच महिनापछि प्रहरी महानिरीक्षकको दाबेदारमध्ये एक हुनेछन् । 

निर्वाचन आयोगमा भण्डारी, वायुसेवामा अधिकारी 

हाल निर्वाचन आयुक्त रहेका रामप्रसाद भण्डारी पनि यो ब्याचका उत्पादन हुन् । उनी पनि संयोगले ल क्याम्पस पुगेका थिए । एसएलसीपछि केही वर्ष उनले गृहजिल्ला रामेछापकै विद्यालयमा पढाए । पछि एक साथीलाई त्रिचन्द्र क्याम्पसमा साइन्समा आफ्नो भर्ना गरिदिन आग्रह गरेका थिए, ती साथीले उनको ल क्याम्पसमा भर्ना गरिदिएछन् । ‘उनलाई ल पढ्न मन रहेछ, साथीले मेरो पनि त्यतै भर्ना गरिदिएछन्,’ भण्डारी भन्छन्, ‘म काठमाडौं आउँदासम्म त्रिचन्द्रमा भर्ना गर्ने अवधि पनि सकिसकेको रहेछ, त्यसपछि ल नै पढ्न थालेँ ।’ 

यो ब्याचको सफलता एकातर्फ छ, साथीहरूबीचको मित्रता र हार्दिकता पनि कलेजदेखि अहिलेसम्म उस्तै छ । जसका कारण सफलता मात्र नभई मित्रताका लागि पनि यो ब्याच उदाहरणीय बनेको छ । 

आइएल पढ्दादेखि नै उनी ल फर्ममा काम गर्न थालिसकेका थिए । ०४२ सालमा आइएल पास गरेपछि अभिकर्ता भए, जसले त्यतिवेला क्षेत्रीय अदालतसम्म बहस गर्न पाइन्थ्यो । बिएल पढ्दा उनी नियमित बहस गर्न थालिसकेका थिए । एलएलबी उत्तीर्ण भएपछि अरू बल्ल बहस सिक्दै थिए, तर उनी भने परिपक्व भइसकेका थिए । ‘मलाई सुरुदेखि नै वकालतमा रस बस्यो,’ उनी भन्छन्, ‘त्यतिवेला नासुको तलब ६ सय ४० रुपैयाँ थियो, म एउटा बहस गरेको पाँच सय रुपैयाँ कमाउँथेँ, महिनामा १५–२० हजार कमाइ हुन्थ्यो, त्यसकारण सरकारी जागिर खानेतर्फ इच्छा नै जागेन ।’ त्यतिवेलाका सहपाठी रहेका हाल काभ्रे जिल्ला अदालतमा कार्यरत न्यायाधीश मोहन भट्टराईले उनको लोकसेवा आयोगको फर्म पनि भरिदिएका थिए, तर उनले बुझाएनन् । आर्थिक रूपमा पनि उनले कति छिटो प्रगति गरे भने ०४६ सालमा अन्य सहपाठीहरू लोकसेवाको परीक्षा तयारी गरिरहँदा उनले काठमाडौंमा घर नै बनाइसकेका थिए । त्यतिवेला कानुन व्यवसायी थोरै हुने र मुद्दा धेरै भएकाले आफूले छोटो अवधिमै आर्थिक प्रगति गरेको उनी बताउँछन् । 

कानुन व्यवसायीको कोटाबाट न्यायाधीश बन्ने प्रस्ताव उनलाई आएको थियो, तर त्यसमा पनि उनले चासो दिएनन् । ‘न्यायाधीश अलि अप्ठेरो पदजस्तो लाग्छ, त्यसकारण त्यसमा पनि मलाई इच्छा जागेन,’ भण्डारीले भने । ०७४ सालमा वरिष्ठ अधिवक्ता भएका आफूलाई संवैधानिक निकायमा नियुक्तिको रहर नभए पनि संयोगले नियुक्त भएको र नियुक्त भएपछि मात्र जानकारी पाएको बताउँछन् । आफ्नो ब्याचका धेरै मिहिनेती भएको र त्यहीकारण सफल भएको उनको विश्लेषण छ । ‘साथीहरू सबै क्षेत्रमा सफल भएको देख्दा खुसी लाग्छ,’ उनी भन्छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी पनि सोही ब्याचका विद्यार्थी हुन् । कलेज पढ्दापढ्दै निगममा चौथो तहमा नाम निकालेका उनले गत वर्ष अवकाश पाएकोमा हालै निगमकै कार्यकारी अध्यक्षमा नियुक्त भएका हुन् । 

आठ न्यायाधीश, चार वरिष्ठ अधिवक्ता 
सो ब्याचका आठजना हाल न्यायाधीश छन् । सुदर्शनराज पाण्डे, रमेशराज पोखरेल र हरि भण्डारी उच्च अदालतका न्यायाधीश छन् । त्यस्तै, मोहन भट्टराई, देवकुमार गिरी, श्रीप्रसाद सञ्जेल, कैलाश सुवेदी, बाबुकाजी बानियाँ जिल्ला अदालतका न्यायाधीश छन् । कानुन व्यवसायमै लागेका चारजना वरिष्ठ अधिवक्ता भइसकेका छन् । पूर्वमहान्यायाधिवक्तासमेत रेहका रमण श्रेष्ठ र दिनेश त्रिपाठी चर्चित कानुन व्यवसायीका रूपमा स्थापित भइसकेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्, ‘सायद यत्तिको सफल ब्याच कमै हुन्छ, हाम्रा ब्याचका कानुनी क्षेत्रमा भन्दा निजामतीमा धेरै सफल भएका छन् ।’ 

वरिष्ठ अधिवक्ताद्वय उषा मल्ल पाठक र सुजन लोप्चन पनि यही ब्याचका हुन् । त्यो ब्याचमा आठजना महिला रहेकोमा हाल दुईजना मात्र सक्रिय रूपमा कानुन व्यवसायमा छन् । परिवारमा कसैले नपढेको विषय रोजेर उषा मल्ल ल क्याम्पसमा पुगेकी थिइन् । नेपाल बारको केन्द्रीय उपाध्यक्षसमेत भइसकेकी उनी त्यतिवेला जागिर खान सजिलो हुन्छ भनेर ल पढेको र पछि वकालतमै रमाएको बताउँछिन् । सानैदेखि कानुन व्यवसाय नै मन परेकाले आफूले यो क्षेत्र रोजेको सुजनको भनाइ छ । धेरै साथीहरूले सरकारी सेवा रोज्दा पनि आफूलाई वकालत नै मन परेको उनी बताउँछिन् । 

हाल एक्सन एडकी अध्यक्ष डा. निर्मला केसी सो ब्याचकी विद्यार्थी हुन् । टेवा नामक संस्थाकी संस्थापक उनले सामाजिक क्षेत्रमा आफ्नो नाम कमाएकी छिन् । आफूलाई बच्चादेखि नै सामाजिक काम र कानुनी विषयमा रुचि भएकाले एसएलसीपछि ल क्याम्पसमा भर्ना भएको उनी बताउँछिन् । एमालेका पूर्वसांसद रेवतीरमण भण्डारी पनि सँगै पढेका थिए । यो ब्याचको सफलता एकातर्फ छ, साथीहरूबीचको मित्रता र हार्दिकता पनि कलेजदेखि अहिलेसम्म उस्तै छ । जसका कारण सफलता मात्र नभई मित्रताका लागि पनि यो ब्याच उदाहरणीय बनेको छ ।