• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अभय श्रेष्ठ
२०७८ मङ्सिर ११ शनिबार ०८:३९:००
साहित्य

आज मैले अदालतको हात बाँधिदिएँ

२०७८ मङ्सिर ११ शनिबार ०८:३९:००
अभय श्रेष्ठ


हिजो एउटा मुद्दामा 
अन्तरिम आदेश जारी गर्दै
मलाई अदालतले भनेको थियो–
‘तिमी आफू मान्छे भएको सबुत पेस गर ।’

 

म बोल्न सक्छु
विचार गर्न सक्छु
मान्छेका हरेक गतिविधि गर्न सक्छु
मान्छे हुन यसभन्दा बढी
के चाहिन्छ सबुत ?
तर, उसले मलाई
ठोस सबुतविना मान्छे मान्न नसकिने 
ठहर गर्‍यो ।

 

गोली प्रहार गरेर
मेरो पिठ्युँमा सरकारले दिएको 
आलो घाउ लिई
जब पुगेको थिएँ अदालत
उसले फेरि मसँग माग्यो सबुत
सत्य त पिठ्युँको मेरो घाउ नै थियो 
सत्यलाई के चाहिन्थ्यो सबुत !
मैले आफ्नो पिठ्युँको घाउ देखाएँ
जसलाई सबुत मान्न गर्‍यो उसले अस्वीकार 
र, यो घाउलाई घाउ नमानी
केवल जन्मचिह्न भएको ठहर गर्‍यो । 

 

आखिर अदालत भन्नु पनि 
हाडमासुको सामान्य मान्छेकै पसल त रहेछ
हारेर एक दिन आफैँसँग
अनि बेचिदिएँ बजारमा मैले शरीरका सबै लुगा
र, स्वस्ति–शान्ति गर्न पुगेँ उसको घर
यसरी एक दिन 
धपक्कै बले महादेवका तीनै आँखा
कुनै दिन मान्छे मान्न नसकिने ठहर भएको म
आखिर मान्छे नै त ठहरिएँ 
बोनसमा मेरो पोल्टामा अदालतको मनकारी हातले
दिई पठायो मैले नमागेको एक भारी उपहार ।

 

आज एकाएक अदालतले 
मकहाँ आफ्नो पसारिएको हात पठायो 
र, हाकाहाकी ‘सीकाः भू’ माग गर्‍यो ।

 

आफ्नै हातको भर नलागेर 
मेरो पारिवारिक भोजमा
भर्खरै फेरि ऊ स्वयं हाजिर भयो
बेचेर बजारमा शरीरका सबै लुगा 
फर्कने पालो अब उसको रहेछ, 
गुरुदक्षिणा माग्न आएको द्रोणाचार्यझैँ
ठिंग उभियो ऊ मेरोसामु
कानमा केही फुसफुसायो 
र, ‘सीकाः भू’ थाप्न फेरि उसले 
आफ्ना फराकिला हातहरू फैलायो ।

 


मन त मेरो अनेकौँ खोला मिसिएको
नदीझैँ भइरह्यो
आफ्नै विगतले थिचिएर 
विचारहरू भइरहे ओहोर–दोहोर
भित्र कतै केही बल्यो झिलिक्क–
मलाई खेद छ आफ्नै विगतसँग–
अब म बजारमा बेचिने वस्तु होइन ।
फैलिएका उसका हातहरूलाई
आज मैले टनटन्ती बाँधिदिएँ ।

 

०००
(‘सीकाः भू’ : ‘सी काये भ्वय्’को बोलीचाली स्वरूप । अर्थात् सिल लिने भोज ।  नेवार समुदायको पारिवारिक भोजमा बलि दिइएका पशु, पन्छीको अंग परिवारका सदस्यबीच ज्येष्ठताअनुसार बाँड्ने परम्परा ।)