नेपाल–अंग्रेज युद्धका वेला गोर्खाली फौजको नेतृत्व गरेर पश्चिमी क्षेत्रमा अंग्रेजसँग लडिरहेका अमरसिंह थापा र जनरल डेबिट अक्टरलोनीबीच १५ मे १८१५ मा एउटा सम्झौता भयो । दुवै सेना कमान्डरबीच भएको सम्झौतापत्रमा हस्ताक्षर हुँदा त्यस पत्रको पाँचौँ बुँदामा अंग्रेजले आफ्नो सेनामा गोर्खालीलाई भर्ती गर्न सक्ने व्यवस्था उल्लेख थियो । लगत्तै भगौडा गोर्खाली सेनालाई समेटेर अंग्रेजले सिरमोर, नुसिरी, मलाउ र कुमाउ बटालियन बनायो । यसरी सुरु भएको भर्ती राणाकालीन समयमा आउँदा उत्कर्षमा पुग्यो । राणाकालमा इस्तिहार जारी गरेर नेपाली युवालाई गाउँगाउँबाट जम्मा गरी भर्ती पठाइयो । राणाकालअघि गोर्खा भर्ती गर्न इस्तिहार जारी गरेको पाइँदैन । राणाकालमा किन इस्तिहार जारी गरेरै भर्ती पठाइयो होला ? यसको उत्तर खोज्न यो आलेख लेखिएको छ ।
०००
सुगौली सन्धिपछि अंग्रेजले नेपाल दरबारसँग वैधानिक रूपमा गोर्खा भर्तीको प्रस्ताव राखे पनि सफल भएन । त्यसैले अंग्रेजका एजेन्टहरू लुकीलुकी नेपाल छिर्थे र नेपाली युवालाई फकाएर भर्ती गर्न लैजान्थे । सन् १८७७ मा जंगबहादुरको मृत्युपछि रणोद्दीप सिंह सत्तामा आए । ब्रिटिसको दबाबका कारण रणोद्दीपले अंग्रेज सेनामा भर्ती हुन इच्छुक नेपाली युवालाई अनुमति दिन मञ्जुर गरे (पुरुषोत्तम बाँस्कोटा, (सन् १९९४) द गोर्खा कनेक्सन अ हिस्टोरी अफ गोर्खा रिक्रुटमेन्ट इन द ब्रिटिस आर्मी, न्यु दिल्ली : निराला पब्लिकेसन्स, पृष्ठ ६३) । रणोद्दीपले अंग्रेज सेनामा भर्ती जाने नेपालीलाई कुनै रोकतोक नभएको इस्तिहार जारी गरे ।
सत्ता बलियो बनाउने कूटनीतिको लोभमा उनले नेपाली युवालाई भर्ती लैजान अनुमति दिए । सरकारका तर्फबाट वैधानिक रूपमा अंग्रेजलाई नेपाली युवा भर्ती गर्न दिएको यो नै पहिलोपटक हो । अंग्रेज कार्यवाहक राजदूत इम्फेबाट ठूलो दबाब भएका कारण रणोद्दीपले अंग्रेज सेनामा स्वेच्छाले जानेलाई रोकतोक नगर्ने निश्चय गरी विभिन्न जिल्लाका बडाहाकिमहरूलाई तदअनुरूपको निर्देशन जारी गरे (सुरेन्द्र केसी– सन् २००५),गोर्खा भर्ती कथा, व्यथा र आन्दोलन, ताप्लेजुङः सविता प्रकाशन, पृष्ठ ७०) । त्यसपछि धनकुटा, इलाम र काठमाडौंमा समेत युवाहरू बटुलियो । तत्कालीन समयमा गोर्खा भर्ती गर्न सरकारका तर्फबाट जारी गरिएका विभिन्न सूचनालाई इस्तिहार, सनद भनिन्थ्यो । रणोद्दीपपछिका शासक वीरशमशेर, चन्द्रशमशेरले गोर्खा भर्तीबारे पटक–पटक इस्तिहार जारी गरे । राणाकालीन समयमा नेपाली युवालाई अंग्रेज सेनामा भर्ती पठाउन जिम्मुवाल, मुखिया, तालुकदार, सुब्बा, पगरीमार्फत गाउँगाउँमा इस्तिहार र सदन पठाइएको थियो ।
वीरशमशेरले एक महिनाभित्रै सात सय युवा अंग्रेज सेनाका लागि पठाए । वीरशमशेर अंग्रेजसामु यसरी लम्पसार परेका थिए कि उनले सन् १८८६ को सुरुमै नेपालका सैनिक जवानसमेत ब्रिटिस सेवामा जान सक्ने अनुमति दिए ।
रणोद्दीपले अंग्रेजको मागबमोजिम नेपाल दरबारबाटै युवाहरू बटुल्न नेपाली सैनिकका अधिकारीहरूलाई देशका विभिन्न भागमा खटाएका थिए (केसी, २००५ः७३) । राणा सरकारले उक्त कार्यका लागि छुट्टै बजेटको व्यवस्थासमेत गरेको थियो । ती अधिकारीहरूलाई १८ देखि २८ वर्ष पुगेको ५ फिटभन्दा बढी उचाइ भएका र ३२ इन्च छाती भएकालाई मात्र छनोट गर्न निर्देशन दिइयो । योसँगै अंग्रेज सेनामा भर्ती हुन रोक नलगाएको कुरा जनतालाई जानकारी गराउन निम्नानुसारको इस्तिहार सार्वजनिक रूपमा देशका विभिन्न ठाउँमा पठाइयो ।
‘‘नेपाल सर्कारबाट ब्रिटिस सर्कारलाई आफ्ना दोस्ती देखाउनाको षातिर यो इस्तिहार जाहेर भयो कि तिमीहरू ब्रिटिसका पल्टनमा भर्ती हुनको इच्छा हुन्याले नजिकका हाम्रा नेपाली हाकिंछेउ हाजिर हुनु र मौसफ हाकिंबाट त्यस्तो नोकरी यति तलब यति पेन्सन पाउँछौं भन्याँ इत्यादि व्यहोरा थाहा पाउन्या छैन । ब्रिटिस सर्कारको नोकरीमा भर्ती हुन जान्यालाई हाम्रा सर्कारबाट पूरा इजाजत छ कुनै तहको रोकटोक छैन । जानेहरू देषी सर्कार नेपाल षुसी हुन्या छन् । ती ज्याथाहरूले रिक्रुट जम्मा गन्र्या अफिसरसँग हाजिर भै निजहरूले दिएका उर्दी बमोजिम गन्र्या गरे । (केसी,२००५ः७३–७४) ।’’
सन् १८७९ जनवरीको पहिलो हप्तासम्म नेपाल दरबारले नेपालस्थित अंग्रेज रेसिडेन्टलाई दिएको जानकारी अनुसार एक सय १५ युवा बटुलिएको थियो (केसी,२००५ः७०) । सरकारले नै भर्ती जानलाई कुनै रोकटोक नहुने उर्दी लगाएपछि वैधानिक रूपमा भर्ती पठाउन थालियो । नेपाली सैनिक अधिकारीहरू देशका विभिन्न स्थानमा पठाएर अंग्रेजका खातिर नेपाली युवालाई भर्ती जान बाध्य पारेपछि इच्छाविपरीत थुपै्र नेपाली युवा अंग्रेज सेनामा हुलिएका थिए ।
भर्ती पठाउन बाटो खर्चको व्यवस्था
वीरशमशेर प्रधानमन्त्रीको रोलक्रममा थिएनन् । २२ नोभेम्बर १८८५ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेर श्री ३ महाराज एवं प्रधानमन्त्री बने । उनले आफ्नो सत्तालाई अंग्रेजबाट मान्यता दिलाउन अंग्रेजले माग गरेको कुरा स्वीकार गर्ने रणनीति लिए । सन् १८८५ मा वीरशमशेरले सत्ता बलियो बनाउने कूटनीति र द्रव्यको लोभमा अंग्रेजले चाहेजति भर्ती गर्ने अनुमति दिए । गोर्खा भर्तीका प्रसंगमा अंग्रेजका लागि यो अवधि स्वर्णकाल रह्यो (ज्ञानबहादुर कार्की, (स्न २०००)गोर्खा भर्तीको इतिहास : संक्षिप्त अध्ययन, (हिस्टोरिया भोलुम आई भी (भी) पोखरा : इतिहास तथा संस्कृति विभाग, पृथ्वीनारायण क्याम्पस, पृष्ठ ९२) । यतिवेला गाउँगाउँमा इस्तिहार र सनद जारी गरेर जबर्जस्ती नेपाली युवालाई अंग्रेज सेनामा पठाइयो ।
वीरशमशेरले एक महिनाभित्रै सात सय युवा अंग्रेज सेनाका लागि पठाए । वीरशमशेर अंग्रेजसामु यसरी लम्पसार परेका थिए कि उनले सन् १८८६ को सुरुमै नेपालका सैनिक जवानसमेत ब्रिटिस सेवामा जान सक्ने अनुमति दिए । वीरशमशेरले नेपालका हरेक गाउँबाट तोकिएको संख्यामा युवाहरू पठाउने उर्दीसमेत जारी गरे । पहिलोपटक करिब आठ हजार युवा पठाएकोमा दुई हजार दुई सय मात्रै छानिएकोमा वीरशमशेर दुःखी भए ।
अंग्रेजले गुरुङ र मगरहरू मात्र बढी संख्यामा सेनामा लिने र अरू जातिबाट कम भर्ती लिने भएकाले यस्तो भएको थियो (आसाद हुसेन, (सन् १९७०)ब्रिटिस इन्डियाज् रिलेसन्स विथ द किङ्डम अफ नेपाल, लन्डनः जर्ज एलेन एन्ड अन्विन लिमिटेड, पृष्ठ २४६) । वीरशमशेरले सन् १८९२ सम्ममा सात हजार ६ सय ६२ युवा अंग्रेज सेनामा पठाए । जब कि रणोद्दीप सिंहको आठ वर्षीय शासनकालमा जम्मा एक सय ६६ जना मात्र भर्ती भएका थिए । अंग्रेज सेनामा गोर्खा सैनिकका पाँच बटालियन रहेकोमा वीरशमशेरको शासनकालमा १५ बटालियन पुग्नुले वीरशमेशरले अंग्रेजको इच्छाअनुसार नेपाली युवा व्यवस्था गरिदिएका थिए । गाउँका मुखिया, जिम्मुवाल, तालुकदार, सुब्बा, पगरीमार्फत उर्दी जारी गरेर हुलका हुल युवा भर्ती पठाउन थालियो ।
सुरुमा ब्रिटिस सेनाका गोरा अफिसरहरू चोरबाटोबाट गोर्खा सैनिक बढाउन क्रियाशील थिए । गाउँ पुगेका गल्लावाललाई स्थानीयले गोर्खेलौरी लगाएर लखेट्दा पनि यो क्रम रोकिएको थिएन । सन् १८८५ मा वीरशमशेर जबरा प्रधानमन्त्री भएपछि सत्ताको यो अवरोध पनि सहजै हट्यो । उनले १८८६ फेब्रुअरीमा डोटीबाट पाँच सय, दैलेखबाट चार सय र धनकुटाबाट ६ सय ५० गरी एक हजार पाँच सय ५० जना युवा बटुलेर भर्ती पठाएका थिए (केसी, २००५ः७५) । त्यसपछि अंग्रेजले धोको पुग्ने गरी नेपाली युवा भर्ती गर्न थाल्यो । उनीभन्दा पछि सन् १९०० मा प्रधानमन्त्री भएका देवशमशेरले पनि अंग्रेज साम्राज्यबाट आफ्नो शासनसत्ता टिकाउन यो क्रमलाई निरन्तरता दिए ।
कमान्डर इन चिफ भीमबहादुर शमशेरले तीनै जाजरकोटी राजा उपेन्द्रविक्रम शाहलाई २२ अगस्ट १९१४ मा दोस्रो इस्तिहार पठाएका छन् । इस्तिहारमा भर्ती हुने युवा कम भएकाले एकैचोटि धेरै भर्ती गर्नलाई सरकारले दिने सुविधाबारे जानकारी दिनू भन्ने उल्लेख गरिएको छ । उतिवेला राज्यले कारबाही गर्ने उर्दी जारी गर्दासमेत भर्ती जाने एक सय २५ जना युवा पाउन मुस्किल पथ्र्यो । भर्ती हुने युवा नपाइएपछि राणा सरकारले युवाहरूलाई विभिन्न किसिमका सेवा–सुविधा पाउने लोभ–लालचासमेत देखाउने गरेको थियो ।
‘‘...रिक्रुट भर्ती हुन जानेमा घरबाट हिँडेको मितिदेखि भर्ती हुने जग्गामा नपुगेसम्म खान खर्र्चबापत कम्पनी रु. ५ र भर्ती भयापछि घर खर्च गर्नलाई मोरु २४ रुपैयाँ एकैपटक पाउने छौं तेस पछि जागिर भै मैन्हामा मैन्हावारी पाई सब कुराको सुविस्ता हुन्याछ सो बुझ्नु...। (तुलसीराम वैद्य र त्रिरत्न मानन्धर, (सन् १९७८) आधुनिक नेपालको इतिहासका केही पानाहरू, काठमाडाै लालीगुराँस प्रकाशन, पृष्ठ ६३–६४)।
अंग्रेजले भर्ती लिँदा सकेसम्म गुरुङ र मगर हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले लामो समय अध्ययन गरेर यी जातिलाई लडाकुका रूपमा व्याख्या गरेका थिए । यतिसम्म कि अंग्रेजले वीरशमशेरलाई भर्ती पठाउँदा गुरुङ–मगर ७५ प्रतिशत हुनुपर्ने गरी कोटा नै तोक्न दबाब दिएका थिए ।
त्यतिवेला प्रथम विश्वयुद्ध चलेकाले नेपाली युवा भर्ती जान मान्दैनथे । भर्ती लिन आउनेलाई गाउँबाटै लखेटिन्थ्यो । त्यही भएर भर्ती हुने युवा पाउन बढो मुस्किल थियो । जतिपटक इस्तिहार जारी गर्दा पनि भर्ती हुने युवाहरू नपुगेपछि तत्कालीन नेपाली सेनाका कमान्डर इन चिफ भीमबहादुर शमशेरले तोकिएको संख्यामा युवा नपठाउनलेलाई कारबाही गर्ने धम्की पठाउनुपरेको थियो ।
भर्ती पठाउने इस्तिहार
सन् १९०१ मा वीरशमेशरको मृत्युपछि सत्ताको बागडोर देवशमेशरको हातमा पुग्यो । तर, तीन महिनाभित्रै उनलाई हटाएर सत्ता हत्याउन सफल चन्द्रशमशेरले गोर्खा भर्तीको नाममा युवालाई विदेश पठाउने कार्य कडाइका साथ लागू गरे । सन् १९०८ सम्म १५ बटालियन रहेकोमा उनको शासनकालमा गोर्खा सैनिकको बटालियन बढेर २० मा पुग्यो । चन्द्रशमशेर अंग्रेजबाट आफ्नो सत्ता खतरामुक्त राख्न उसलाई केही न केही सहयोग गर्न चाहन्थे । यतिवेलै पहिलो विश्वयुद्ध सुरु भयो । अंग्रेजले गोर्खा रेजिमेन्टका लागि नेपाली युवा पठाइदिन चन्द्रशमशेरलाई अनुरोध गर्यो । अंग्रेजसँग सम्बध सुधारको मौका चुक्न नदिई चन्द्रशमशेरले नेपाली युवा बटुल्न समूह नै बनाएर विभिन्न जिल्लामा खटाए । गाउँका मुखिया, जिम्मुवाल, तालुकदार, सुब्बा, पगरीमार्फत उर्दी जारी गरेर नेपाली युवालाई अंग्रेज सेनामा हुल्न थालियो । चन्द्रशमशेरका पालामा नेपाली युवालाई भर्ती पठाउन देशभर इस्तिहार जारी गरिएको थियो । चन्द्रशमशेरका तर्फबाट जाजरकोटी राजा उपेन्द्रविक्रम शाहलाई अंगे्रज सेनाका लागि रिक्रुट जम्मा गरी पठाउन जारी गरिएको इस्तिहार यस्तो थियो :
‘‘ब्रिटिस गोर्खा पल्टनमा रिक्रुट भर्ना गर्नलाई थो थोर्ड आउने भइ चाहिँदो जति एकै बाजी भर्ना गर्न नपाइने भएको हुनाले रिक्रुट भर्ना गर्न पठाउनलाई तिम्रा राज्य भरबाट रिक्रुट भर्ती गर्ने ज्वां (जवान) १२५ नघटाई तेस्मा सकेको बढाई बन्तोबस्त गरि टेकट बाँडी दि राखी यहाँबाट लेखि आएका बखत सो जवांलाई जहाँजहाँ जति बुझाउनु पुर्याई दिनु भन्या लेखी आउँला सो बमोजिम गरि पुर्याउनुपर्नेछ अैले यो सनइ पुकुनी मात्र रिक्रुट भर्ना गर्ना निमत्ति गर्नुपन्र्या बन्दोबस्त र इन्तजाम दफादफामा लेखी बक्सेको छ सो बमोजीम गरि भर्ना गर्ने बन्दोबस्तो गर्नु । रिक्रुट भर्ना गर्ने बारेमा गाउँगाउँका द्वारे, भरी, मुखिया जीम्मावाल, तालुकदार रैयतका नाउँमा गरि बक्सेको सनइ यसै साथ पठाई बक्सेका छ रैयत दुनिया हरूलाई सुनाई संझाई बन्दोबस्त गर्ने कुरा सो सनइ सबै तिमीले बुझी सोही बमोजिम सम्झाई बुझाई रिक्रुट भर्ना गर्नलाई टेकट बाँडिदिनु । १८ वर्ष पूरा भई २५ वर्षसम्मको उमेरको उचाइमा ५ फुट २ इन्चभन्दा बढी, छाती ३२ मा नघटेका निरोगी बलिया जवांहरू भर्ना गर्न बन्दोबस्त गर्नुपर्छ ।’’ (पूर्वमन्त्री बालाराम घर्तीमगरले उपलब्ध गराएको इस्तिहार)
रोजाइमा गुरुङ र मगर
अंग्रेजले भर्ती लिँदा सकेसम्म गुरुङ र मगर हुनुपर्नेमा जोड दिएका थिए । उनीहरूले लामो समय अध्ययन गरेर यी जातिलाई लडाकुका रूपमा व्याख्या गरेका थिए । यतिसम्म कि अंग्रेजले वीरशमशेरलाई भर्ती पठाउँदा गुरुङ–मगर ७५ प्रतिशत हुनुपर्ने गरी कोटा नै तोक्न दबाब दिएका थिए । (बाँस्कोटा १९९४ः८२) । वीरशमशेरले सोहीबमोजिम पाएसम्म गुरुङ मगरलाई नै भर्ती पठाउने व्यवस्था मिलाएका थिए । सन् १८९४ देखि सुरु भई १९०९, १९३३, १९६४ संस्करणका ‘गोर्खा सैनिक भर्ना निर्देशिका’ (ह्यान्डबुक फर गोर्खाज) किताबमा ‘नेपालका मतवाली जातिलाई प्राथमिकता दिई भर्ना गर्नू’ भन्ने उल्लेख छ । जाजरकोटी राजा उपेन्द्रविक्रम शाहलाई तेस्रोपटक २ सेम्टेम्बर १९१४ मा पठाइएको इस्तिहारमा गुरुङ र मगर नै रिक्रुट हुनुपर्ने नपाएपछि मात्रै अन्य जातिका पठाउनुपर्ने उल्लेख छ ।
‘‘...रिक्रुट जम्मा गर्नेमा छातीमा ३२ इन्च पुगेको भया अग्लामा अग्लाई ५ फुट आधा इन्चमा नघटेको अघी लेखि आया बमोजिम निरोगी बलिया बलिया छानी टिकट बाडने काम गर्नु स्व रिक्रुटलाई त्यस राज्यका इलाकाबाट पायासम्म गुरुङ मगर हुनुपर्छ, गुरुङ मगर पाएसम्म गुरुङ मगरै र नपाएको अघिका सनदमा लेखीयाका अरु जाततको जवां बन्दोबस्त गर्नु...(वैद्य, र मानन्धर,१९७८ः६६–६७) ।’’
सायद रिक्रुट नपाएर होला जाजरकोटी राजालाई पटकपटक ताकेता गर्दै १८ वटा इस्तिहार पठाइएको छ । १८ औं इस्तिहारमामा तीन दिनभित्र रिक्रुट दाखिला गर्नू भन्ने आदेश दिइएको छ । भनेको म्याद सकिँदा पनि बाँकी रिक्रुट नबुझाएकाले लेखिएबमोजिम नगरे कारबाही हुने धम्कीसमेत दिइएको छ । त्यतिवेला गाउँगाउँबाट भर्ती हुन कैयाैँपटक उर्द जारी गरिन्थ्यो । त्यतिवेला अंग्रेज सेनामा भर्ती गर्न तत्कालीन राज्य नै लागेको थियो । यस्तो उर्दी लगाइएपछि गल्लावाल नेपालका गाउँगाउँ पुग्न असहज अवस्था रहेन । यसरी अंग्रेजले गाउँबाट हजारौँ हजार युवालाई विनाअवरोध भर्ती लैजान पाए ।
पहिलो विश्वयुद्ध सकिँदा सन् १९१८ सम्म २ लाख नेपाली युवा कम्पनी सरकारमा भर्ती भइसकेका थिए । अंग्रेज सेनामा भर्ती हुन गोर्खाली पठाएबापत चन्द्रशमशेरलाई वार्षिक १० लाख (जुन पछि दोब्बर पारियो) रुपैयाँ रोयल्टी रकम बंगाल बैंकमार्फत आउँथ्यो (मेदिनीप्रसाद शर्मा,(सन् १९५१) नेपालको आधुनिक इतिहास भाग १–२, बिराटनगरः जानुका प्रकाशन, पृष्ठ २२७) । अंग्रेज सेनामा अब गोर्खा सैनिकको सङ्ख्या ह्वात्तै बढ्यो । अंग्रेजले गोर्खाली सेनाको अलग्गै ब्रिगेड बनायो, ‘ब्रिगेड अफ गोर्खाज’ नाम दिएर । दोस्रो विश्वयुद्धताका अंग्रेज सेनामा भर्ती हुने नेपाली युवाको संख्या बढेर दुई लाख ५० हजार पुगेको थियो ।
०००
सरकारले इस्तिहार जारी गरेर जानैपर्ने बाध्य गराएपछि नेपाली युवाहरू करबलले अंग्रेज सेनामा भर्ती हुन लागे । सरकारबाटै रिक्रुट बटुल्न नेपाली सैनिकका अधिकारीहरूलाई देशका विभिन्न भागमा खटाउनु र भूपू गोर्खा सैनिकलाई गल्लावालका रूपमा गाउँगाउँ पठाइएपछि हजारौँ नेपाली युवा इच्छाविपरीत अंग्रेज सेनामा हुलिए । यतिवेला पहिलो र दोस्रो विश्वयुद्ध चलेको हुँदा भर्ती जाने युवा पाउन मुस्किल थियो ।
पहिलो विश्वयुद्धमा दुई लाख र दोस्रो विश्वयुद्धमा दुई लाख ५० हजार नेपाली युवा अंग्रेज सेनामा भर्ती हुनुको मूल कारण नै भर्ती जानैपर्ने गरी जारी गरिएको इस्तिहार थियो । त्यसैले राणाकालीन इस्तिहारले गर्दा त्यो समय नेपाली युवाका लागि अँध्यारो काल बन्न पुग्यो । किनभने यति ठूलो संख्यामा गोर्खा भर्ती न पहिले भएको थियो न त्यसपछि भयो । राज्यले नै संस्थागत रूपमा युवालाई जम्मा गरेर जबर्जस्ती गाउँगाउँबाट गोर्खा भर्ती पठाउँदा नेपालका थुप्रै गाउँ युवाविहीन भएका थिए । त्यसले नेपालको विकासक्रममा लामो समयसम्म नकारात्मक असर पार्यो । त्यसको अनुभव अहिलेको पुस्ताले समेत गरिरहनुपरेको छ ।
(लेखक त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पिएचडी गर्दै छन् ।)