• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कुमारी लामा
२०७८ मङ्सिर २५ शनिबार ०६:५२:००
इतिहास

बिपी महामानव कि आममानव ?

२०७८ मङ्सिर २५ शनिबार ०६:५२:००
कुमारी लामा

गुण दोषसहितका आममानिस हुन् विश्वेश्वरप्रसाद कोइराला, न कि महामानव । महान् या महामानवको पगरी गुथाइनु देवत्वकरण गर्नु हो । कसैको देवत्वकरणसँगै उसको धुपधुवाँर र पूजापाठ सुरु हुन्छ । अन्ततः थन्को लाग्छन् एक कुनामा । बिपी खोपीका देवता बनाइने पात्र होइनन् । नेपालमा प्रजातन्त्र स्थापनार्थ उनले गरेको संघर्ष र विकास गरेको सिद्धान्त निश्चय नै अभिनन्दनीय छन् । कांग्रेसलगायत राजनीतिक पार्टीहरूको सैद्धान्तिक क्षयीकरणको आजको अवस्थामा बिपीको विचारलाई नवीन व्याख्या, विश्लेषण र सिर्जनशील आलोचनासहित अघि बढाउन जरुरी छ ।

 
नेपालमा प्रजातन्त्र भित्रिएपछि २०१५ सालमा भएको निवार्चनबाट बिपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल भए । तर, जितको उमंग लामो समय टिक्न सकेन । केही समयपछि नै महेन्द्रीय ‘कु’मार्फत जनताको आशामाथि कुठाराघात भयो । महेन्द्रले देशमा निर्दलीय पञ्चायती निरंकुश शासन लादे ।


 प्रजातन्त्र प्राप्तिको केही समयपश्चात् नै कांग्रेसभित्र अनेकन् मतभेद सुरु भइसकेका थिए । पार्टी अध्यक्ष रहेका मातृकाप्रसाद कोइराला र बिपीबीचको चिसोपना चुलिएको थियो । जहानियाँ राणाशासन अन्त्यपछिको पहिलो मन्त्रिषरिषद्मा बिपी गृहमन्त्री र मोहनशमशेर प्रधानमन्त्री भए । मातृकाप्रसाद कांग्रेस अध्यक्ष थिए । त्यसै बखत विद्यार्थी आन्दोलन हुँदा उनीहरूले पुलिस हेडक्वार्टर हनुमानढोकामा आक्रमण गरेपछि गोली चल्दा एक विद्यार्थीको मृत्यु भयो । बिपीविरुद्ध क्याबिनेट खनिएपछि उनले रेडियो नेपाल गई आफ्नो राजीनामा घोषणा गरे । त्यसपछि मात्र उनी राजाकोमा राजीनामा पत्र बुझाउन पुगे । उनको राजनीतिक धर्म र जिम्मेवारी यस घटनाले प्रस्ट पार्छ । उनको राजीनामालगत्तै सरकार ढलेपछि मातृकाप्रसाद प्रधानमन्त्री भए ।


 प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै रहेका मातृकाप्रसाद र बिपीबीच दरार पैदा भयो । दाजुभाइबीच केही वैचारिक मतभेद रहेको विश्लेषकहरू बताउँछन् । बिपी संवैधानिक राजतन्त्रको पक्षधर थिए । साथमा उनका केही विशिष्ट धारणा पनि । उनी भन्थे, ‘...अहिलेदेखि नै राजालाई संवैधानिक राज्य प्रमुखजस्तो कार्य गराउन थालिएन भने पछि गएर अर्को क्रान्ति गर्नुपर्ने हुन्छ ।’ (१८७, आत्मवृत्तान्त) । भूमिसुधार जतिसक्यो छिटो हुनुपर्छ भन्ने मत थियो उनको । साथमा हिन्दुस्तानलाई थान्कोमा राख्नुपर्ने र सरकार पार्टीप्रति उत्तरदायी हुनुपर्छ भन्नेमा उनी अडिग थिए । तर, मातृकाले भने आफू राजाप्रति उत्तरदायी रहेको दोहो¥याइरहँदा बिपीका निम्ति अपाच्य रह्यो । बिपी र मातृकाबीचको खटपटले निश्चय नै पार्टीभित्र कचिंगल पैदा ग¥यो । त्यसवेला कांग्रेसभित्र बढ्दै गरेको अवस्थाप्रति बिपीको अवश्य नै भागेदारी छ । तर, त्यसको आलोचनात्मक बहसको बदला प्रायः बिपीमार्गीहरू उनको बखानै मात्र गरिबस्छन् ।


बौद्धिक नेता प्रदीप गिरिले मातृकाप्रसादले कांग्रेसको सभापति छाड्न नचाहेका कारण पार्टीभित्र भएको कचिंगललाई अनेक आयामसहितको भन्दै त्यसैलाई बिपीले प्रखर सैद्धान्तिक रूप दिएको दाबी गरेका छन् । (राजनीतिक अभिलेख, ७) । कुरा ठिकै पनि होला, तर देख्दा त शक्तिकै संघर्ष देखिन्छ । आममानिसले देख्ने र व्याख्या गर्ने बाहिरी परिदृश्य त दाजुभाइबीचको शक्तिको खिचातानी नै हो । के कांग्रेसका युवा नेताहरूले कमसेकम यस्ता विषयमा बहस पैरवी थाल्नुपर्दैन ?


नेपाललाई जहानियाँ राणाशासनबाट मुक्त गरी प्रजातान्त्रिक शासन व्यवस्था ल्याउन प्रमुख भूमि खेल्नेमध्येका नेता बिपीप्रति नेपालका शाहवंशीय शासक जहिल्यै क्रूरतापूर्वक प्रस्तुत भए । उनलाई बारम्बार पक्रने र लामो समय जेलमा हाल्ने काम भयो । महेन्द्रले ‘कु’ गरेको समय उनी तरुण दलको सम्मेलनमा उद्घाटन भाषण गर्दै थिए । मञ्चबाटै सेनाका अफिसरले पक्राउ गर्दा उनी देशका जननिर्वाचित पहिलो प्रधानमन्त्री र रक्षमन्त्रीसमेत थिए । उनलाई पक्रेर थुनामा राखेको केही घण्टापछि मात्र राजा महेन्द्रले देशको संसद् र मन्त्रिपरिषद् विघटन गरी संविधानका कतिपय प्रावधान निलम्बित गरेका थिए । त्यसपश्चात् देशमा संकटकाल घोषणा गरे । बिपीसँगै पक्राउ पर्नेहरूमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, दिवानसिंह राई, जमानसिंह गुरुङ र प्रेमराज आङदम्बे पनि थिए । उनीहरूलाई नेपाली सेनाको सुन्दरीजल आर्सनल कार्यालयका प्रमुख बस्ने क्वार्टरलाई बन्दीगृहमा परिणत गरी राखिएको थियो । त्यस घटनासँगै बिपी र गणेशमान सिंह आठ वर्ष लामो काराबासमा परे भने अरू अलि अघि नै छुटे ।


बिपीको जेल जर्नलले उनको पृथक् व्यक्तित्व उजागर गर्छ । त्यस बखत उनी शारीरिक र मानसिक रूपमा अत्यन्त कमजोर, उद्विग्न, अन्योलग्रस्त देखिनुका साथै कतिपय अवस्थामा निराश पनि प्रतीत हुन्छन् । यो एक स्वाभाविक मानवीय गुण हो । उनको जेल जर्नल (दिनपञ्जी) ४ फागुन २०१७ मा सुरु हुँदा उनी थुनिएको दुई महिना भइसकेको थियो । अन्योलग्रस्त मनस्थितिमा पूरा साठी दिन बिताएका उनी लेख्छन्, ‘यी साठी दिन निराशा र आशाका तरंगमा बिते । समातिएको केही दिनसम्म त म शुद्ध अन्योलको स्थितिमा रहेँ । वास्तविकता र भ्रमलाई छुट्याउन गाह्रो भयो ।’ (१) । 


हुन त उनी आफ्ना अन्योलग्रस्त मनस्थितिलाई बिट मार्दै तुरुन्तै तर्कगत चिन्तनतिर पनि लाग्छन् । महेन्द्रीय मनोविज्ञान र कुकार्यलाई उनी तर्कपूर्ण आलोचनाले निम्त्याएको हडबडाहटको संज्ञा दिन्छन् । अनेकन् सकसपूर्ण आठवर्षे बन्दी जीवनपछि २०२५ सालको मध्यतिर छुटेका बिपी भारत पस्छन् । बिपी व्यक्तित्वको एक महत्वपूर्ण हिस्सा हो, उनले लिएको मेलमिलापको नीति । आठ वर्ष लामो भारतीय निर्वासन तोड्दै मेलमिलापको नीतिसहित उनी १६ पुस, २०३३ मा स्वदेश फिर्छन् । तर, पटनाबाट आएको विमान काठमाडाैंमा अवतरण गर्नेबित्तिकै बिपी, गणेशमान र उनीसँग आउने सबै पक्राउमा पर्छन् । विनाकुनै कसुर र बेगरपुर्जी एकतन्त्रीय शासन व्यवस्थाका मठपतिको दम्भमा तत्कालीन राजा वीरेन्द्रले विमानस्थलबाटै उनीहरूलाई पक्रन लगाई जेल हाल्छन् । महेन्द्रीय ‘कु’पश्चात बारम्बार बिपीलगायत नेताहरू लामो कठोर काराबासमा राखिने क्रममा देशले तीन दशक लामो एकदलीय पञ्चायती शासन व्यहोर्न बाध्य हुन्छ ।


वीरेन्द्रकालीन समयमा राष्ट्रभक्त विद्रोही धेरै युवाले ज्यान गुमाए । ओखलढुंगाका क्याप्टेन यज्ञबहादुर थापालाई २६ माघ २०३५ को राति सेन्ट्रल जेलबाट कमला नदीको किनारमा पु¥याएर गोली हानी मारियो । त्यसअघि धनुषाका दुर्गानन्द झालाई १५ माघ २०२० को राति सेन्ट्रल जेलबाटै निकाली मृत्युदण्ड दिइयो । त्यसबखत उनी जम्मा २१ वर्षका थिए । एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको निशानामा परी धेरै होनहार युवा सहिद भए । प्रजातन्त्र पुनस्र्थापना र जनताको स्वतन्त्रताका लागि सबै जाति, वर्ग र समुदायको उत्तिकै योगदान छ ।


मेलमिलापको नीति लिई देश पसेका बिपी र गणेशमानलाई राज्यविप्लवको मुद्दामा अदालतमा अनेकपटक बयान लिने काम भयो । उनीहरूको ज्यान जोखिममै थियो । मृत्युदण्ड दिन सकिने धेरै मुद्दा उनीहरूमाथि थिए । अदालती बयान शृंखलालाई बिपीले अत्यन्त साहसपूर्वक सामना गरेको देखिन्छ । उनको व्यक्तित्वको अर्को महत्वपूर्ण हिस्सा विद्रोहीपना र निर्भीकता हो । ‘मैले क्रान्तिको आह्वान गरेको हुँ..., म क्रान्तिकारी हुँ, आतंकवादी होइन । ...प्रजातन्त्र ल्याउनका लागि जनक्रान्तिको आवश्यकता परेको हो ।’ (८) । 


डेमोकल्सको तरबारझैँ टाउकामाथि झुन्डिरहेको मृत्युदण्डको सम्भाव्यतासामु बिपीले बयानमा देखाएको अजस्र आँट नमनयोग्य छ । त्यही विद्रोही बोली काफी भयो, उनको फेरि सुन्दरीजल बसाइका लागि । सम्भवतः उनको स्वीकारोक्तिले तानाशाही शासकको मनमा ठूलै भूकम्पीय धक्का दियो । त्यसैले बिपी र गणेशमानलाई फेरि सुन्दरीजल कैदखानामा हुलियो । उनीहरू लामो समय अनेकन् लाञ्छनासहित कैदमै रहे । त्रस्त शक्तिले गर्न सक्ने भनेकै यस्तै हर्कत न हो ।

कसैलाई महामानवको पगरी गुथाइनु देवत्वकरण गर्नु हो । कसैको देवत्वकरणसँगै उसको धुपधुवाँर र पूजापाठ सुरु हुन्छ । अन्ततः थन्को लाग्छन् एक कुनामा । बिपी खोपीका देवता बनाइने पात्र होइनन् । विश्वेश्वरप्रसाद कोइराला मानवोचित शक्ति, सामथ्र्य र सीमासहितका व्यक्ति हुन् । बिपीको असली व्यक्तित्वलाई विशेषणको भारीले थिच्नुभन्दा उनको बहुआयामिक व्यक्तित्वमाथिको आलोचनात्मक विश्लेषण आजको आवश्यकता हो ।

 

यसैबीच १२ जुन सन् १९७७ मा बिपीलाई उपचारका लागि न्युयोर्क जान सरकारले स्वीकृति दियो । उनले चाहेका भए उतै शरण लिई बस्न सक्थे । उनलाई थाहा थियो, फर्किनु भनेको फेरि पनि सीधै जेल जानु हो । यस हदको उनको देशप्रेम नमनयोग्य छ । लामो बन्दी जीवन र अस्वस्थता, पारिवारिक दूरी, राज्यको निरंकुशता र अदालती झन्झटलगायतले उनी दिक्क थिए । परिणामतः उनमा मानिसक तनाव र वितृष्णा चुलिएको प्रस्ट हुन्छ । निद्रा नलाग्ने समस्या र एन्जाइटीका कारण भेलियम खाने गरेको उनले स्विकारेका छन् । तर, अरूका अघि भने कुनै हालतमा कमजोर देखिनुहुन्न भन्ने उनको दृढता छ । सम्भवतः भित्री शैथिल्य र बाहिर प्रस्तुत हुनुपर्ने फरक व्यक्तित्वबीचको द्वन्द्वमा उनी पर्छन् । प्रायः कमजोर भएका बखत आमा सम्झिन्छन् । आमाप्रतिको उनको असीम श्रद्धा र प्रेमपूर्ण भावमा उनी लेख्छन्–


‘बिहान चिया खाइवरी र व्यायाम सकिएपछि म आमाको कपालको चुल्ठो भएको लकेट ढोग्छु ।’ (फेरि सुन्दरीजल, १२ ) आमाप्रतिको यस हदको सम्मान बोकेका बिपीले महिला र पुरुषको सम्बन्धका विषयमा दिएको विवादास्पद अभिव्यक्तिले भने जोकोहीलाई अचम्मित पार्छ । ‘महिला–पुरुष सम्बन्धका बारेमा’ नामक संसदीय भाषणमा महिलाबारे उनको गज्याङगुजुङ धारणा आएको छ । उनी एकातिर लोग्नेमानिसलाई विकास र प्रगतिसँगै दैवीशक्ति प्राप्त गरौँ भन्छन् भने अर्कातिर स्वास्नीमानिसहरू लोग्नेमानिसलाई फसाएर आफ्नो काम पूरा गर्न चाहन्छन् (राजनीतिक अभिलेख, ११९) भनिदिन्छन् । सारा नेपालले एक विशेष बौद्धिक तहमा राखेका नेताले यति हदसम्मको आलोकाँचो अभिव्यक्ति दिन सुहाउँछ त ?


कुनै बखत युरोपियन सोसल डेमोक्रेसी र माक्र्सवादबाट प्रभावित विद्रोही बिपी अन्ततः गान्धीय आध्यात्मिक चौघेराबाट उम्कन असफल देखिन्छन् । आफू भौतिकवादी भए पनि संस्कारबाट मुक्त हुन नसकेको (जेल जर्नल, ११९) उनको स्वीकारोक्ति छ । तथापि, धरैले महान् मानिरहेका बिपीभित्रका मनोगत उतारचढाव र वैचारिक उल्झनहरू नियाल्दा उनी एक आममानिसभन्दा खास कुनै अर्थमा फरक लाग्दैनन् । त्यसकारण पनि विश्वेश्वरप्रसाद कोइराला मानवोचित शक्ति, सामथ्र्य र सीमासहितका व्यक्ति हुन् । बिपीको असली व्यक्तित्वलाई विशेषणको भारीले थिच्नुभन्दा उनको बहुआयामिक व्यक्तित्वमाथिको आलोचनात्मक विश्लेषण आजको आवश्यकता हो ।