• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जिल्ला ब्युरो
२०७८ मङ्सिर २५ शनिबार ०७:०१:००
रिपाेर्ट

कांग्रेस महाधिवेशन : प्रतिनिधिमा पारिवारिक जालो

२०७८ मङ्सिर २५ शनिबार ०७:०१:००
जिल्ला ब्युरो

- केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र यादव सिराहा– ३ बाट महाधिवेशन प्रतिनिधि छन् ।
- पूर्वकेन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादवका भाइ विश्वमोहन यादव सिराहा– २ को सभापति (स्वतः महाधिवेशन प्रतिनिधि) चयन भएका छन् ।
- सिराहा जिल्ला सभापति रामचन्द्र यादव र पत्नी रुसोदेवी यादव महाधिवेशन प्रतिनिधि छन् ।
- पूर्वमन्त्री पद्मनारायण चौधरीकी पत्नी हिरादेवी चौधरी र छोरा सन्तोष चौधरी सिराहा– १ बाट महाधिवेशन प्रतिनिधि बनेका छन् ।
- संविधानसभाका सभासद् डा. गणेश मण्डल, पत्नी प्रीति मण्डल, मामा बलदेव मण्डल सिराहा– ४ बाट महाधिवेशन प्रतिनिधि छन् ।
- नेता रामसुन्दर चौधरी र उनकी पत्नी पुनम चौधरी पनि महाधिवेशन प्रतिनिधि बनेका छन् ।
- नेता अरुण सिंह र उनकी पत्नी निर्जलादेवी सिंह पनि महाधिवेशन प्रतिनिधि छन् ।

 

०००
१४औँ महाधिवेशनका लागि सिराहाबाट चयन भएका यी प्रतिनिधि भावी नेतृत्व चयनका मतदाता मात्र होइनन्, महाधिवेशन प्रतिनिधिमा कांग्रेसभित्रको पारिवारिक जालोका उदाहरण हुन् । कांग्रेसमा महाधिवेशन प्रतिनिधिको पारिवारिक जालो देशभर उस्तै बलियो छ । केन्द्रीय नेताका आफन्तको पार्टीको जिल्ला नेतृत्वमा पनि उस्तै प्रभुत्व छ । 


कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर दाइ लोकबहादुर देउवा कञ्चनपुर– २ बाट महाधिवेशन प्रतिनिधि छन् । देउवाका भतिज प्रकाश देउवा डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै निकटका अनुसार राजनीतिमा बिल्कुल बेमतलब रहने सर्तमा डा. आरजु राणाले देउवासित विवाह गरेकी थिइन् ।


कांग्रेस नेताहरूकै अनुसार राजनीति मात्र होइन, देउवाका हरेक निर्णयमा डा. आरजुको ‘मतलब’ हुने गर्छ । दुईवटै संविधानसभामा उनी समानुपातिकको बाटोबाट प्रवेश गरिन् । गत आमनिर्वाचनमा कैलालीमा पराजित भइन् । उनी तेस्रोचोटि महाधिवेशन प्रतिनिधि भएकी छिन् । छोरा जयवीरसिंहले पनि यसपालि क्रियाशील सदस्यता लिएका छन् ।


चौधौँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनिएका प्रकाशमान सिंहकी श्रीमती सिर्जना र छोरा प्रभाषमान काठमाडौं– ७ बाट निर्विरोध महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । सिंहले काठमाडौं– १ लाई निर्वाचन क्षेत्र बनाए पनि उनको निवास चाक्सीबारीसमेत रहेको क्षेत्र– ७ हो । चिन्तन रामचन्द्र पौडेलका उत्तराधिकारी बन्ने अड्कलका बीच यसपालि छोरी संज्ञा पोखरेल कास्की– १ बाट महिलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छिन् । केन्द्रीय महामन्त्री पूर्णबहादुर खड्काका भाइ विष्णुबहादुर खड्का कांग्रेस सुर्खेतका उपसभापति छन् ।


डा. रामशरण महत र डा. प्रकाशशरण महतका भतिजा रमेशकुमार महत नुवाकोट कांग्रेसका सभापति छन् । डा. रामशरण महतकी श्रीमती रोशना महत महाधिवेशन प्रतिनिधि छिन् । डा. प्रकाशशरण महतकी श्रीमती बिना बुढाथोकी महाधिवेशन प्रतिनिधि छिन् । अर्जुननरसिंह केसीका भाइ जगदीश्वरनरसिंह केसी बागमती प्रदेश सभापतिमा पराजित भए, उनी महाधिवेशन प्रतिनिधि छन् । अर्जुननरसिंह केसीका अर्का भाइ डा. केदारनरसिंह केसी महाधिवेशन प्रतिनिधि छन् । उनी जिल्ला सभापतिमा भने पराजित भएका थिए । 


केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका भाइ बालकृष्ण बस्नेत सिन्धुपाल्चोक– १ का सभापति छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीकी भाइबुहारी मधु शाही हुम्लाबाट महाधिवेशन प्रतिनिधि छिन् । शाहीकै मामाका छोरा जुनराज हमाल पनि महाधिवेशन प्रतिनिधि छन् ।स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्का दाङबाट महाधिवेशन प्रतिनिधि छन् । दाङ– १ मा खड्काका छोरा अनुराग निर्विरोध भएनन्, चुनावमै भिड्नुपर्‍यो । तर, २८ वर्षीय अनुराग खुलातर्फ सबैभन्दा धेरै भोट पाएर महाधिवेशन प्रतिनिधि भए । 


दाङकै केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेका भाइहरू कमलकिशोर घिमिरे र किरणकिशोर घिमिरे तथा बहिनी कविताकिशोर घिमिरे महाधिवेशन प्रतिनिधि छन् । केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंकी भाउजू जयन्ती हुमागाईं काभ्रेबाट महाधिवेशन प्रतिनिधि छिन् । बलबहादुर केसीकी श्रीमती रीना उप्रेती सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । उपसभापति विजयकुमार गच्छदारका कान्छा छोरा दिव्य गच्छदार मोरङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । गच्छदारकी भतिजी प्रमिला गच्छदार प्रदेश १ समितिको सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छिन् । उनी महाधिवेशन प्रतिनिधि पनि हुन् । आमन्त्रित केन्द्रीय सदस्य नागेन्द्र चौधरीकी छोरी नवोदिता चौधरी सुनसरी– २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी प्रदेश– १ की समानुपातिक सांसद पनि हुन् । केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायका श्रीमान् दिनेश उपाध्याय मकवानपुरबाट महाधिवेशन प्रतिनिधि छन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पराजित भएका थिए ।

कांग्रेसमा महाधिवेशन प्रतिनिधिको पारिवारिक जालो देशभर उस्तै बलियो छ । केन्द्रीय नेताका आफन्तको पार्टीको जिल्ला नेतृत्वमा पनि उस्तै प्रभुत्व छ ।


गृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाण रुपन्देही कांग्रेसको जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस सांसद भरत शाहकी श्रीमती डा. अनिता शाह ढुंगाना रुपन्देही कांग्रेसको उपसभापतिमा निर्वारोध निर्वाचित भएकी छिन् । रुपन्देही क्षेत्र नम्बर–५ का क्षेत्रीय सभापति शाह भने प्रदेश सभापति निर्वाचनमा पराजित भएका छन् । कांग्रेसले खाणलाई लुम्बिनी प्रदेशको जिम्मा दिएको थियो । 


पर्वतका पूर्वपार्टी सभापति अर्जुन जोशी पनि सहोदर भाइ युवराजलाई जिल्लाको पार्टी सभापति बनाउन त सफल भए, आफूचाहिँ कांग्रेसको गण्डकी प्रदेश कार्यसमिति सभापति बन्ने आकांक्षामा असफल भए । पार्टीको जिल्ला सभापति जोशीलाई शुक्रराज शर्माले हराइदिए । कांग्रेसको जिल्ला राजनीतिमा जोशी परिवारको शक्तिशाली बिरासत छ । कुस्मा नगरपालिकाको मेयर पनि जोशी खलककै रामचन्द्र छन् । कांग्रेसको चौधौँ महाधिवेशनका तल्ला तहका चुनावमा काफी युवा छनोट भएका छन्, जहाँ राजनीतिक परिवार वा नेताको अति बफादार पनि उत्तिकै छन् । भारतमा पारिवारिक बिरासतबाट राजनीति गर्नेको संख्या निकै ठूलो छ । 


भारतका चर्चित चुनावी रणनीतिकार प्रशान्तकिशोरका अनुसार त्यहाँको पहिलो लोकसभामा कुनै राजनीतिक परिवार वा विरासतको प्रतिनिधित्व गर्नेको संख्या नौ प्रतिशतभन्दा कम थियो । अहिलेको लोकसभामा ४० वर्ष नपुगेका सांसदमा करिब–करिब सबै (९८ प्रतिशत) कुनै न कुनै स्थापित राजनीतिक परिवारलाई प्रतिनिधित्व गर्छन् । ‘कुनै पनि राजनीतिक विरासत नबोकेको व्यक्ति चुनावी राजनीतिमा सफल हुन झन्–झन् कठिन हुँदै छ,’ उनले भनेका छन् । 


भारतको पनि अझ उत्तरी भारतको चुनावी राजनीतिबाट प्रभावित नेपालको राजनीति पनि त्यस्तै उन्मुख छ । ‘साधन, स्रोत र शक्ति नै राजनीतिमा भएपछि राजनीति गर्नेका पुस्ता–दरपुस्ताको आकर्षण स्वाभाविक छ,’ विश्लेषक प्रकाशचन्द्र झा भन्छन्, ‘पद र शक्ति त छ नै, पुँजी लगानी नगरी अकुत धन आर्जनको अवसर पनि यसैमा छ ।’ यसैले तिनले आफूलाई निर्वाचित गराउनेको ‘यसम्यान’ भन्दा फरक भूमिका निर्वाह नगर्ने झा बताउँछन् । प्रशान्तकिशोरको ‘आइप्याक’को अनुभव सँगालेका युवा विश्लेषक समृद्ध घिमिरेका अनुसार बिरासतको राजनीतिअन्तर्गत पुस्तान्तरण हुँदै गर्दा उत्तराधिकारी भ्रष्ट र कमजोर हुने गरेको अन्तर्राष्ट्रिय अनुभवले बताउँछ ।