• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
निर्मल अर्याल
२०७८ पौष ३ शनिबार ०९:०३:००
सम्झना

आख्यानकार रमेश विकल : व्यक्ति एक प्रतिभा अनेक

२०७८ पौष ३ शनिबार ०९:०३:००
निर्मल अर्याल

‘स्रष्टा या त आफ्ना रचनाहरूमा बाँच्छ या त सन्ततिको रगतमा’  नेपाली साहित्यका यशस्वी साधक एवं आख्यान क्षेत्रका मूर्धन्य स्रष्टा रमेश विकलले २०६१ पुस ४ गते राजधानीको रामशाहपथस्थित बार एसोसिएसनको हलमा आयोजित एक साहित्यिक कार्यक्रममा व्यक्त गरेको शाश्वत उद्गार हो यो । अहिले विकलको भौतिक शरीर हामीमाझ नरहे पनि उनी आफ्ना उद्गारझैँ कालजयी रचना र सन्तति दुवैको रगतमा अजर अमर छन् ।


रचनाहरूमार्फत स्रष्टा अमर हुनु खासै नौलो होइन, तर सन्ततिमार्फत अजर हुने सौभाग्य भने विरलैले पाउँछन् । विकलले भने यो सौभाग्य पाएका छन् ।विकललाई आदर्श मान्दै उनका छोरा, छोरी, नाति नातिनी हुँदै पनातिनी (आयुषा)समेत साहित्य सिर्जनामा सक्रिय छिन् । यसबाहेक विकल परिवारको योगदानमा संघीय सरकार तथा स्थानीय सरकारको सहयोगमा उनलाई जीवन्त बनाउन पुख्र्यौली थलो आरुबारी (हाल गोकर्णेश्वर–९)मा रमेश विकल साहित्य प्रतिष्ठानको भव्य भवन ठडिएको छ । अन्य वरिष्ठ साहित्यकारहरूको स्मृतिमा भवन तथा संग्रहालय निर्माणमा किचलो भएको समाचार आइरहेको सन्दर्भमा रमेश विकल साहित्य प्रतिष्ठानको भवन ठडिनु ठूलो उपलब्धि नै हो ।

 
विकल जीवित हुँदै प्रतिष्ठान स्थापना गरिएको थियो भने प्रतिष्ठान भवनको परिकल्पना गरी जग्गा दान (घरसहित पाँच आना) पनि उनले जीवित अवस्थामा नै गरेका थिए । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पका कारण पुरानो घर भत्किएपछि अहिले सोही स्थानमा विकलको पूर्णकदको सालिकसहित उनले प्रयोग गर्ने सरसामान, लत्ताकपडा, उनले कोरेका तस्बिर, पुस्तकालयसहितको अत्याधुनिक प्रतिष्ठान भवन निर्माण गरिएको छ । यसै प्रसंगमा शताब्दी पुरुष सत्यमोहन जोशीले भनेका पनि छन्, ‘लेखनका अतिरिक्त विकललाई म दानशील व्यक्तिका रूपमा लिन्छु । साहित्यका लागि काठमाडौंको यति महँगो आफ्नो घरजग्गा दान गर्ने काम चानचुने व्यक्तिले गर्न सक्दैन । म उनको दानशीलताकोे हृदयदेखि नै सम्मान गर्दछु । उनले मुखले भनेर होइन, दान नै गरेर देखाए । ’ (रमेश विकल–बिम्ब एक प्रतिबिम्ब अनेक) 


चन्द्रशेखर चालिसे र छायादेवी चालिसेका एक्ला छोराको रूपमा विसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन काठमाडौंको जोरपाटी आरुबारीमा जन्मिएका विकल २००५ सालदेखि साहित्य सिर्जनामा लागेका हुन् । साहित्यमा समर्पित रही रमेश विकल हुनुअघि उनको नाम रामेश्वरप्रसाद चालिसे थियो । गाउँघरमा भने उनलाई ‘रामबाबु’ भनी सम्बोधन गरिन्थ्यो । केहीले उनलाई पछिसम्म पनि ‘राम दाइ’ भने । साहित्यकार श्यामप्रसाद शर्माको हस्तलिखित साहित्यिक मासिक ‘सन्देश’को पहिलो अंक (२००५) मा उनको तत्कालीन व्यवस्थाविरुद्ध क्रान्तिकारी चेतसहितको कविता प्रकाशित भयो, जसको अंश यस्तो थियो–


कुखुराहरूले अब शंख फुके
रजनीचर वृन्द समस्त उठे 
नवजागृतिको छ बखत सबको 
उठ जाग युवा सुप्रभात भयो । 

 

युवा अवस्थामा नै ‘हार्डकोर’ कम्युनिस्ट भइसकेका विकल स्वयंले पछि धेरैलाई कम्युनिस्ट पार्टीको सदस्यता वितरण गरे । २००७-०८ ताका विकलले कम्युनिस्ट पार्टीको सदस्यता वितरण गर्दा फाराममा औँला काटेर रगतको हस्ताक्षर गर्न लगाई हौसाउँदै भन्थे, ‘यो फर्म अब सीधै स्टालिनकोमा पुग्छ र परिचयपत्र पनि उतैबाट आउँछ’ । (अन्तर्दृष्टि साहित्यिक त्रैमासिक) पत्रकारसमेत रहेका वरिष्ठ वामपन्थी नेता शक्ति लम्साललगायतलाई मैनबत्तीको रापमा हत्केला सेक्न लगाई कम्युनिस्ट पार्टीको सदस्यता थमाउने पनि विकल नै हुन् । तर, पछि पदका लागि हुने लुछाचुँडी, सत्ताका निम्ति मरिहत्ते गर्ने प्रवृत्ति र नेताहरूको भ्रष्ट क्रियाकलापका कारण पार्टी राजनीतिप्रति उनको मोह पूर्ण भंग भएको उनका निकटतम मित्रसमेत रहेका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे बताउँछन् ।

अन्य साहित्यकारहरूझैँ विकलको साहित्यिक यात्रासमेत कविताबाटै सुरु भए पनि कालान्तरमा उनी नेपाली समाजका घटनाक्रमको सूक्ष्म विश्लेषण गर्न सक्ने सशक्त आख्यानकार भए । पहिलो पुस्ताका कथाकार गुरुप्रसाद मैनालीले झँै उनले पनि आफ्ना रचनामा समाजका सबै पक्षको यथार्थ प्रवृत्तिलाई उजागर गरेका छन् ।


अन्य साहित्यकारहरूझैँ विकलको साहित्यिक यात्रासमेत कविताबाटै सुरु भए पनि कालान्तरमा उनी नेपाली समाजका घटनाक्रमको सूक्ष्म विश्लेषण गर्न सक्ने सशक्त आख्यानकार भए । पहिलो पुस्ताका कथाकार गुरुप्रसाद मैनालीले झैँ उनले पनि आफ्ना रचनामा समाजका सबै पक्षको यथार्थ प्रवृत्तिलाई उजागर गरेका छन् । आख्यान विधामा विकललाई ‘गुरु’ मानेर साहित्य सिर्जनामा लाग्नेको जमात पनि बाक्लै छ । मदन पुरस्कार विजेतासमेत रहेका चर्चित कथाकार महेशविक्रम शाह भन्छन्, ‘नेपाली साहित्यमा मेरा लागि विकल आदर्श पुरुष हुन् । उनका कथा पढेर नै मैले कथा लेख्न थालेको हुँ ।

 

विकलको कथा लेख्ने विशिष्ट कलालाई धेरैले पछ्याएका छन् । मैले पनि पछ्याइरहेको छु ।’ विशेषतः २००७ सालपछिको नेपाली आख्यान विधालाई आफ्ना सामाजिक यथार्थवादी कृतिहरूद्वारा अझै स्तरीय, समृद्ध र लोकप्रिय बनाउनमा उनको अग्रणी भूमिका रहेको समालोचक गोविन्द भट्ट बताउँछन् । बिरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), उर्मिला भाउजू (२०३५)लगायतका उनका कथासंग्रहरू चर्चित छन् । अप्रकाशित अवस्थामा नयाँ सडकको पाण्डुलिपिलाई २०१८ सालको प्रतिष्ठित मदन पुरस्कार प्रदान गरिएको थियो ।

 

विकलका केही रचनामा विश्वेश्वरप्रसाद कोइरालाका कृतिहरूमाझैँ यौन मनोविज्ञानका विविध पाटाहरूलाई शिष्ट शैलीमा प्रस्तुत गरिएको पाइन्छ । अविरल बग्दछ इन्द्रावती (२०४०) उनको अत्यन्त चर्चित उपन्यास हो । २०५८ सालमा नेपाल टेलिभिजनबाट यस उपन्यासमा आधारित टेलिशृंखला प्रसारण भएपछि विकल साहित्यइतरको वर्गमा पनि अत्यन्त लोकप्रिय हुन पुगे । प्रज्ञा प्रतिष्ठानको विद्वत्वृत्ति पाएर यो उपन्यास तयार गर्नका लागि उनले करिब दुई हप्ता आफ्नो ससुरालीसमेत रहेको इन्द्रावतीआसपासको माझी बस्तीमा बिताएका थिए । त्यसो त उनीमाथि अविरल बग्दछ इन्द्रवतीसहितका कृति विदेशी साहित्यबाट ‘चोरेको’ आरोप नलागेको पनि होइन । यसमा उनको प्रस्ट धारणा थियो, ‘कुनै पूर्वसिर्जनासँग भावभूमि मिल्न जानु चोरी होइन । यो आरोप लगाउनेहरूको लघुताभास हो । म यसबाट कहिल्यै विचलित पनि भइनँ र वास्ता पनि गरिनँ ।’


५० भन्दा बढी कृति प्रकाशित गरेका विकल सम्पादन, समालोचना र अनुवादमा पनि अब्बल मानिन्छन् । रोचक घिमिरले २०१८ सालदेखि साहित्यिक पत्रिका ‘रचना’ प्रकाशित गरेदेखि नै उनी रम्य रचनाका अलौकिक स्रष्टा भैरव अर्यालसँगै सम्पादनमण्डलमा सक्रिय रहे । आफ्ना समकालीन र कनिष्ठ साहित्यकारहरूका रचनाको वस्तुनिष्ठ समालोचना गर्नमा उनी माहिर रहे । संस्मरण लेखनमा समेत उनको कलम सशक्त रूपमा चलेको पाइन्छ । उनले अनुवाद गरेका विश्वप्रसिद्ध बालकथाहरू निकै रुचाइएका छन् । 


महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम, नाटककार तथा कवि गोपालप्रसाद रिमाल, कथाकार गोविन्दबहादुर मल्ल ‘गोठाले’लगायतका स्वदेशी साहित्यकारहरूबाट प्रेरित विकलका रचनामा म्याकसिम गोर्की, एन्टोन चेखबलगायतका विदेशी स्रष्टाहरूको पनि राम्रै प्रभाव पाइन्छ । विकल प्रगतिशील साहित्यकार भए पनि लेखक स्वतन्त्र हुनुपर्छ, कुनै पनि वादमा बाँधिनुहुँदैन भन्ने प्रस्ट मान्यता राख्थे । २०१६ सालमा नै बिएड उत्तीर्ण उनले प्रचार विभाग (हालको सूचना विभाग), शिक्षा मन्त्रालयलगायतका स्थानमा जागिरे जीवन बिताई त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पनि गरे । उनी प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा र प्रज्ञापरिषद्मा पनि रहे । भावुक स्वभावका विकल सरल, स्वच्छ, जिज्ञासु, अन्याय–अत्याचारविरुद्ध बुलन्द आवाज उठाउने, विनाकारण कसैसँग नझुक्ने, आफ्ना कमीकमजोरीलाई सहजै स्वीकार गर्ने खालका थिए । परिवारजनका अनुसार खानेकुराको कुरा गर्दा ‘बर्फी’प्रति उनको अत्यधिक मोह थियो । राजधानीका गल्ली–गल्लीमा कहाँ कस्तो गुणस्तरको बर्फी पाइन्छ भन्नेमा उनी पूर्ण जानकार रहन्थे । बर्फीका नयाँ–नयाँ स्वाद चखाउन उनी आफ्ना आत्मीय मित्रहरूलाई राजधानीबाहिरसमेत लैजाने गर्थे । 


बौद्ध र कपन क्षेत्रको बीचमा पर्ने रामहिटीमा साहित्य सदनको भवन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका विकल भैरव पुरस्कार गुठी, नेपाल बाल साहित्य समाजलगायतका संस्थाका संस्थापक अध्यक्ष हुन् । अभिनव साहित्य समाजलगायतका साहित्यिक संघ संस्थाहरू पनि उनकै प्रेरणामा खोलिएका हुन् । साहित्यकबाहेक समाजसेवा, संगीत र चित्रकलामा पनि विकलको औधी रुची थियो । समाजसेवाकै लागि विकलको सक्रियतामा उनको जन्मस्थान आरुबारीमा २०२७ सालमा ग्राम निर्माण बन्धुमण्डल क्लब स्थापना भएको थियो । २००९ सालमा नै रेडियोमा स्वर परीक्षा दिएर अनुत्तीर्ण विकल बाँसुरी बजाउन निपूर्ण थिए ।

 

यातायातका साधन नहुँदा मध्यरातमा चाबेलबाट बाँसुरी बजाउँदै आरुबारी फर्कने क्रममा निद्रा बिथोलेको भन्दै उनले धेरैको खप्की पनि खाए । हार्मोनियम, किबोर्डमा मीठो धुन बजाउन सक्ने ल्याकत पनि उनमा थियो । गीत–संगीतप्रेमी विकलकै निम्तोमा रामेश, रायन, मञ्जुललगायतका कलाकार आरुबारीस्थित विकलनिवासमै पुगेर घन्टौँसम्म गानाबजाना गर्थे । आफ्ना मनका तर्कनालाई चित्रमार्फत व्यक्त गर्न उनी माहिर थिए । ‘रवि बाबु’का नाममा मौलिक मुहार चित्र बनाउन पनि उत्तिकै सिपालु विकललाई ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्य सशक्त चित्रकारको संज्ञा दिन्छन् । गत वर्ष दिवंगत वरिष्ठ चित्रकार उत्तम नेपालीका अनुसार सामाजिक अवस्थालाई सहज रूपमा चित्रमार्फत प्रस्तुत गर्न विकलबाट भएको प्रयास कला क्षेत्रमा लाग्नेहरूका लागि प्रेरणा हुन पुगेको छ । यी विभिन्न विधामा विकललाई स्मरण गर्दै रमेश विकल साहित्य प्रतिष्ठानले बर्सेनि विभिन्न स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएको छ । 


साहित्यकार विकलमाथि दल विशेषको लेभल टाँसेर एउटा सीमित घेरामा उनलाई खुम्च्याउनु मनासिब नहुने वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे बताउँछन् । घिमिरेका अनुसार समग्रमा विकल एक इमानदार जनपक्षीय साहित्यकार हुन् र उनले आफ्नो त्यो स्वरूप कहिल्यै बदलेनन् पनि । ‘म लेख्दालेख्दै मर्छु, मैले लेख्न छाडेको दिन मेरो मृत्यु हुन्छ’ भन्ने विकल रोगले थलिएर २०६५ मंसिर २४ मा अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शड्ढयामा जानु केही घन्टाअघि सम्म पनि सिर्जनामै तल्लीन रहे । मधुमेह, उच्च रक्तचापलगायत रोगबाट थलिएका विकलको निधन २०६५ साल पुस २ गते भयो । वरिष्ठ साहित्यकार वैरागी काइँलाका अनुसार ‘नेपाली साहित्याकाशबाट एक महान् साहित्यकारको अवसान भयो वरिष्ठ आख्यानकार रमेश विकल निधनसँगै । बहुविधाका प्रतिभाशाली स्रष्टा उनको दुःखद निधनले पुर्‍याएको क्षति पुर्न नेपाली साहित्यले कति अवधि कुर्नुपर्ने हो, अहिले नै लेखाजोखा गर्न नसकिएला ।’