• वि.सं २०८२ असार २३ आइतबार
  • Sunday, 06 July, 2025
कुच, झोताबगर र सेती नदीमाथिको साँझको दृश्य ।
युगीन विवेक
२०७८ पौष ३ शनिबार ०९:१२:००
पर्यावरण

सुन्दर बझाङ

२०७८ पौष ३ शनिबार ०९:१२:००
युगीन विवेक

विश्वका अधिक देशले पर्यटनलाई आयको मुख्य स्रोत बनाइरहँदा नेपाल भने सम्भावनालाई बेवास्ता गरेर बसेको छ। पर्यटनको अथाह सम्भावना बोकेको तर पर्यटनमा न्यून गतिविधि हुँदै आएको प्रदेश हो सुदूरपश्चिम। अपि, साइपाल बेसक्याम्प, खप्तड, सुर्माताल, कैलाश गुफा, तपोवन, रामारोशन, बडीमालिका पर्यटनको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्। शुक्लाफाँटा, दोधारा झोलुंगे पुल, चिसापानी, टीकापुर, सेती, कर्णाली र बुढीगंगाको तटीय क्षेत्र पनि पर्यटनका दृष्टिले उत्तिकै महत्वपूर्ण मानिन्छन्।
बझाङ एक ऐतिहासिक ठाउँ पनि हो। बाइसे राज्यहरूमध्ये दुईवटा राज्य बझाङमा पर्थे, एउटा थलारा र अर्को बझाङ राज्य। यिनै दुई राज्यलाई छुट्याएको थियो सेती नदीले। साइपालको आँगनबाट सुरु भई कर्नालीमा मिल्ने सेती छालआसपासका केही सुन्दर दृश्य कैद गरिएका छन् र थोरै वर्णन गर्ने प्रयास गरिएको छ।

बझाङको सबैभन्दा होचो भाग हो, देउरा। यो सेती नदी र बझाङ जिल्लाको दोस्रो सहायक नदी कालंगा गाडको संगमस्थल हो। बझाङ, डोटी र बैतडीको सीमानाकाका रूपमा परिचित यो ठाउँ नजिकै धारीछडा झरना छ भने सेती नदीपारि पूर्वपट्टि नेपालभरि छरिएर रहेका रेग्मी थरका पूर्वजहरूको भूमि मानिएको रेगम जिउलाको सुन्दर फाँट छ। यसैको शिरमा छोटी मालिकाको प्राकृतिक दृश्यले मनै लोभ्याउँछ।

सेती नदी किनारमा अवस्थित अर्को सुन्दर फाँट हो पौड्यालहरूको पुख्र्यौली थलो मानिएको पौडी जिउलो। पौडी जिउलाबाट जमिन छेडेर अर्को जिउलो झल्ला पु¥याएको सिँचाइको भूमिगत कुलो बडो गज्जबको लाग्छ। केदार क्षेत्र र यसआसपासका ठाउँमा दहसैन, भामचौर, चुवावन क्षेत्र पनि पर्यटकीय दृष्टिले महत्वपूर्ण देखिन्छन्। त्यस्तै रायल, मोयल, झोता, कुच, पिखेत, बगडगाउँ, मालुमेला, सुवेडा, देवल, गोलाइँ, डुङ्ग्री जिउलाहरू असोज–कार्तिकमा लहलह झुलेका धानका बालाले र तल सुसेली हालेर बगेको नीलो सेती नदीले मनै लोभ्याउँछ भने वैशाख–जेठमा गहुँका बालाले बयली खेल्दाको दृश्यले मनमा झङ्कार पैदा गराउँछ।

औल भेगका अर्का दुई महत्वपूर्ण तथा सुन्दर ठाउँ हुन् छान्ना र थलारा। बझाङ जिल्लाका अन्नभण्डार भनेर चिनिने यी दुई गाउँपालिका खप्तडका फेदी हुन्। थलारामा रहेको छडीभेल झरना, माइको थान, थलारा कोट, देवल बाँझको प्राचीन देवल, पारा काट्ने र मनानधार, डिख्लाबाट देखिने साइपाल शृंखला र त्यहाँबाट बग्ने बयालोले थकानलाई शीतलता प्रदान गर्छ। अहिले अधिकांश भाग सडक सञ्जालसँग जोडिएका छन् भने सदरमुकामसम्म कालोपत्रे सडकको पहुँच छ। ठाउँठाउँमा व्यवस्थित आवास, बिजुली, सञ्चारको सुविधा पनि थपिँदो छ। सेती नदीमा चैनपुरदेखि देउरासम्म र्‍याफ्टिङको सम्भावना प्रबल छ, जो हुन सकेको छैन।

बन्जिजम्प, पाराग्लाइडिङ, हाइकिङ, रक क्लाइम्बिङ, क्यानोइङ, जिपलाइन, स्काइडाइभिङजस्ता एडभेन्चर कार्यका लागि पनि एकदमै उपयुक्त स्थलहरू व्यापक रूपमा छन्। प्राकृतिक रूपले ‘पर्फेक्ट’ त्यस्ता ठाउँको पहिचान गरी सम्बन्धित निकायले (निजी क्षेत्रले पनि गर्न सक्छ) बेलैमा ध्यान पुर्‍याउने हो भने यो क्षेत्रले स्थानीयहरूको जनजीविकामा कायापलट ल्याउन सक्छ।

यस क्षेत्रमा घुम्न भदौ, असोज र कार्तिक सबैभन्दा उत्कृष्ट मौसम हुन सक्छ। एक त यो मौसम न धेरै जाडो न त धेरै गर्मी हुने भएकाले घुम्न उपयुक्त छ। अझ पुस–माघतिर आउने हो भने सेतीको असला माछाको (आलो वा सुकुटी दुवै) मीठो स्वाद चाख्दै दुईतीन घन्टा हाइकिङ गर्दै अग्ला डाँडाहरूबाट साइपाल शृंखलाको गज्जबको दृश्य हेर्न सकिन्छ।

जंगलमा पाइने पलाँस प्रजातिको फूल ।
ठिङको पडेस गाउँमा वायुऊर्जा सञ्चालनको तयारी ।
धामीगाउँ र पृष्ठभूमिमा गुदुपाल हिमाल ।
कुच जिउलाको फाँट र सेती नदी । 
सेकु गाउँ, जुइलको जिउलो र सेती नदी ।