• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
प्रदीप भट्टराई
२०७८ पौष १० शनिबार ०७:२४:००
समाज

राष्ट्रकवि डा. माधवप्रसाद घिमिरेका नाममा

२०७८ पौष १० शनिबार ०७:२४:००
प्रदीप भट्टराई

राष्ट्रकवि डा. माधवप्रसाद घिमिरे ‘मुखाकृति’को हुलाक टिकट प्रकाशनमा आएको छ । २०७६ साल चैत ६ गते तत्कालीन ओली सरकारले घिमिरे जीवित हुँदै टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । निर्णय प्रक्रियामा रहेकै वेला घिमिरेको भदौ २ गते निधन भयो । निर्णय गर्ने ओलीले त त्योभन्दा पनि अघि असार २९ गते नै बालुवाटार छोडिसकेका थिए । ढिलै भए पनि निर्णय त कार्यान्वयन भयो, तर यसो हुँदा घिमिरे राजारानीबाहेक ज्युँदैमा टिकट छापिने नेपालीको कीर्तिमान बनाउन चुके । आमपाठकका लागि सामान्य ज्ञानमा ‘ज्युँदैमा हुलाक टिकट छापिने पहिलो नेपाली स्रष्टा को हुन् ? भन्ने प्रश्न थपिएन ।


सर्जक– स्रष्टाका हुलाक टिकट छापिनु आफैँमा स्वागतयोग्य काम हो । विश्वका अधिकांश देशमा यो प्रचलन छ । हाम्रै देश नेपालले पनि यो राम्रो चलनको अनुशरण गर्दै आएको छ । थुप्रै सर्जक– स्रष्टा हुलाक टिकटमालामा पर्दै आएका हुन् । त्यही शृंखलाका पछिल्लो अंक भएका हुन् घिमिरे । उनी यस शृंखलाका सही दाबेदार नै हुन् । यसरी हेर्दा यो एक स्वाभाविक प्रक्रिया हो । 


तर, यो स्वाभाविक कामलाई पनि नेपालको राज्यसंयन्त्रले अस्वाभाविक किसिमले सम्पन्न गर्‍यो । परिणामतः उनी टिकटका सही पात्र हुँदाहुँदै पनि विवादमा तानिए । बाँचुन्जेल त पृष्ठभूमि र स्वयं राष्ट्रकवि उपाधिका कारण उनी धेरथोर विवादमा थिए नै, मरेपछि पनि उनी त्यसबाट मुक्त हुन सकेनन् । यसलाई एउटा कोणबाट हेर्दा उनको सफलता मान्न सकिएला, तर अर्को कोणबाट हेर्दा नियति पनि भन्नुपर्ने हुन्छ ।


विवाद टिकटमा छापिएका दुईवटा विषयका कारण जन्मिए । पहिलो, मृत्युपछि टाँचा लागेको टिकटमा जन्ममिति मात्रै लेखिएको सँग जोडिएको छ । यसअघिको परम्परा के थियो भने स्रष्टाहरूको निधनपछि हुलाक टिकट छापिन्थ्यो । उनीहरूको जन्म र मृत्युका दुवै मिति राखिन्थे । तर, यसपटक त्यस्तो भएन, जन्ममितिले नै काम चलाइयो । पुरानो नजीर काटियो, नयाँ बस्यो । सायद, टिकट छापिसकेकाले किन खेर फाल्ने भनेर यसो गरिएको हुन सक्छ । यसो भन्दा ‘हुँदै होइन’ भन्न पनि सकिँदैन । यद्यपि, यो एक किसिमको पाद–टिप्पणीको विषयचाहिँ बन्यो । 


दोस्रो, टिकटमा लेखिएको नामसँग सम्बन्धित छ । लेखिएको छ, राष्ट्रकवि डा. माधवप्रसाद घिमिरे । पहिला राष्ट्रकविकै कुरा गरौँ, उनलाई धेरैअघिदेखि राष्ट्रकवि भनिँदै आइए पनि उपाधि भने २०६० साल असोज ८ गते नेपाल अधिराज्यका अन्तिम राजा ज्ञानेन्द्रले दिए । ज्ञानेन्द्रको महाराजाधिराज ओहोदा, उनको निरंकुश शासनसत्ता सबै विवादास्पद भएकाले त्यस्ता विवादास्पद व्यक्तिले दिएको उपाधि निर्विवाद हुने कुरै भएन । परिवर्तनकामी धेरै नेपाली जनतालाई यो मन परेको थिएन । राष्ट्रको नयाँ परिभाषाका लागि आन्दोलनरत उनीहरू त्यही राष्ट्र जोडेर दिइएको राष्ट्रकवि भनिने उपाधिको परम्परागत परिभाषासँग पनि सहमत हुन सकिरहेका थिएनन् । 


यहीँनेर, के पनि यथार्थ हो भने घिमिरेले जीवनभर प्रज्ञा प्रतिष्ठानमा रहेर मूलतः निरंकुश सत्ताको ‘जी हजुरी’ गरे । त्यति मात्र गरेनन्, त्यसमार्फत् प्राप्त प्रज्ञासत्ता र शक्ति परिवर्तनकामी स्रष्टा–सर्जकलाई दबाउन पनि दुरुपयोग गरे । उनीबाट दमित स्रष्टा–सर्जकको लामो पंक्ति छ ।

हो, उनी एक उम्दा स्रष्टा हुन् । उनको सिर्जनाको एउटा अलग्गै पाटो छ, त्यो कति उम्दा हो, अर्कै विश्लेषणको विषय बन्छ । उनका सिर्जनाहरूको कसरी समीक्षा भयो ? र, उनी प्रज्ञा प्रतिष्ठानको शक्तिमा नभएको भए उनका सिर्जना समीक्षकका आँखाले त्यतिकै सुन्दर देख्थे कि देख्दैनथे ? यो अर्को विश्लेषणको पाटो हुन सक्छ । मरेपछि सबै माफीसकिने हाम्रो समाजमा अब यी प्रश्नहरूको उत्तर खोजिँदैन, खोजेर फाइदा पनि छैन । यसै पनि, नेपाली समाज ‘नौ दिनमा नौलो र बीस दिनमा बिस्र्याे’ हुने समाज हो । 

प्रश्न, एकजना डा. माधवप्रसाद घिमिरेमा सीमित छैन, यो एक प्रवृत्तिका रूपमा झाँगिएको छ । यो प्रवृत्तिले समाजको आलोचनात्मक धारलाई त भुत्ते बनाएकै छ, नजानिँदो किसिमले स्वस्ति–प्रशस्तिको आदिम युगतिर पनि डोहोर्‍याउँदै छ


अब, डा. अर्थात् डाक्टरको सन्दर्भमा केही कुरा गरौँ । घिमिरेलाई २०७३ सालमा नेपाली साहित्यको सेवा गरेबापत त्रिभुवन विश्वविद्यालयले मानार्थ विद्यावारिधि दिएको हो । नामैले मानार्थ यो एक आलंकारिक उपाधि हो । यो विद्यावारिधि औपचारिक होइन, अनौपचारिक हो । र, यो उपाधिधारी जो स्वाभाविक हुन्छ, उसले कहीँ कतै आफ्नो नामको अगाडि डाक्टर लेख्दैन, केही अस्वाभाविकहरूले लेखे पनि समयक्रममा लाज मानेर लेख्न छोड्छन्, छोडेका छन् । लाज नभएकाहरूको त के कुरा भयो र, लेखिरहेका हुन्छन्, लेखाइरहेका हुन्छन् । 


नेपाली समाजले देख्दा घिमिरे एक स्वाभाविक स्रष्टा थिए । उनले २०७३ सालमै मानार्थ विद्यावारिधि पाएका हुन् । त्यसपछि पनि उनी पाँच वर्ष बाँचे । यसबीचमा उनले कहीँ कतै डा. माधव घिमिरे लेखेको पाइएको छैन । तर, उनको नाममा छापिएको टिकटमा भने एकाएक डा. माधव घिमिरे लेखियो । उनी ज्युँदै भएको वेला प्रकाशनमा आउँदा पनि यो यही रूपमा आउँथ्यो होला, त्यतिवेला डाक्टर भनिएकोमा मक्ख पर्थे कि लज्जाबोध महसुस गर्थे ?, अब यो परीक्षणको विषय रहेन । मृत्युपछि उनलाई डाक्टर माधवप्रसाद घिमिरे बनाउने राज्यसंयन्त्र भएकाले यसमा उनलाई जिम्मेवार ठह¥याउन मिल्दैन ।


अब घिमिरे डाक्टर लेखिए पनि नलेखिए पनि, राष्ट्रकवि भनिए पनि नभनिए पनि फरक नपर्ने ठाउँमा गइसके । साहित्यका अरू फाँटलाई छोड्दा पनि उनले आफूलाई युगौँयुगसम्म बचाइराख्ने कालजयी गीत सिर्जना गरेका छन्, ती गीतका कारण पनि उनी बाँचिरहनेछन्, सम्झनामा रहिरहनेछन् । उनलाई सम्झने यो एक पाटो हो । उनलाई सम्झने अर्को पाटो पनि छ, त्यो के भने उनले जीवनभर निरंकुश राजसत्ताको पहरेदारका रूपमा प्रज्ञा प्रतिष्ठानमा रहेर परिवर्तनकामी साहित्य स्रष्टामाथि विभेद गरे, दोहन र दमन गरे । त्यसको चरम रूप थियो, २०४६ को जनआन्दोलनमा ऐक्यबद्धता जनाउन चैत ३ गते हातमा कालोपट्टी बाँधेर त्रिचन्द्र क्याम्पसअगाडि धर्नामा बसेका स्रष्टा–सर्जकमाथि प्रहरी दमन हुँदा ज्यान जोगाउन प्रज्ञा प्रतिष्ठान पस्न खोज्दा भोटेताल्चा लगाउन दिएको आदेश । शासनमा पुग्ने नेताले बिर्सेर घिमिरेको आरति उतारे पनि त्यो नीलो पीडामा परेका स्रष्टा–सर्जकले कसरी बिर्सन सक्छन् र ? 


यो अर्कै प्रश्न हो । तर, हुलाक टिकटमा डाक्टर लेखिदेऊ भनेर सायद उनले भनेनन् होला, कथंकदाचित् भनेकै रहेछन् भने पनि राज्यसंयन्त्रले लेख्न हुँदैनथ्यो । त्यसैले यसमा उनको दोष छैन । यो सरासर राज्यसंयन्त्रको तर्फबाट गरिएको एक विसंगतिपूर्ण गल्ती हो । नजानेर होइन, जानीजानी गरिएको गल्ती । एउटा अनौपचारिकतालाई जबर्जस्त औपचारिक बनाउन गरिएको गलत नजीर । 


यसले हाम्रो राज्यसंयन्त्र कति हचुवाको भरमा चलिरहेको छ ? कति गैरजिम्मेवार छ ? भन्ने एउटा सफेद तस्बिर देखाउँछ । भनाइ नै छ, नोकरशाहीतन्त्रको त ग्रन्थीमै विवेक सकिएर दलाली भरिएको हुन्छ । उनीहरूबाट विवेकसम्मत निर्णयको अपेक्षा नगरौँ । तर, त्यो निर्णयमा हस्ताक्षर त टिकटमा पहिलो टाँचा लगाउने सम्बन्धित विभागीय मन्त्रीले नै गर्ने होलान् । अहिले त्यो भूमिकामा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् । कम्तीमा उनले त हस्ताक्षर गर्नु पहिले आफूले केमा हस्ताक्षर गरिरहेको छु भन्ने त सोच्नुपर्ने हो । 

 

अब के हुन्छ ? 
सामान्य रूपमा हेर्दा निधन भइसकेका घिमिरे डाक्टर माधवप्रसाद भए, अब उनी आएर पनि केही गर्ने होइनन् । यसले के फरक पार्छ र ? केही मानिसलाई यस्तो पनि लाग्न सक्छ । र, एक कोणबाट हेर्दा यही नै सत्य हो । तर, अर्को कोणबाट हेर्दा यो एक मानार्थ विद्यावारिधिधारी डाक्टर माधवप्रसादको मात्र प्रश्न होइन । यो एक गलत नजीरको सुरुवात पनि हो । अब यसबाट अरू थुप्रै डाक्टरहरूको जन्म हुन्छ । डाक्टर केपी शर्मा ओली, डा. विजयकुमार गच्छेदार, डा. मदनकृष्ण श्रेष्ठ, डा. हरिवंश आचार्य आदि इत्यादि– यी त नाम चलेकै डाक्टर हुने भए । नाम नचलेकाको त धन्दा नै सुरू हुन्छ । किनकि, पछिल्लो समय मानार्थ विद्यावारिधि विश्वविद्यालयले दिने एक किसिमको जंकिटजस्तो भएको छ । विश्वविद्यालयलाई केहीले पैसा दिन्छन्, केहीले जग्गा दिन्छन्, केहीले नीतिगत भ्रष्टाचार गरिदिन्छन् । र, ती सबै गरेबापत विश्वविद्यालयले उनीहरूलाई मानार्थ विद्यावारिधि दिने गरेको छ । अझ, विदेशी विश्वविद्यालयका नेपाली एजेन्ट त सही छाप गरेर ठिक पारिएका मानार्थ विद्यावारिधिका प्रमाणपत्र टक्र्याउँन सधैँ तयार हुन्छन् । 

जब मानार्थ विद्यावारिधिधारी कवि माधवप्रसाद घिमिरेलाई राष्ट्रकवि डा. माधवप्रसाद घिमिरे भनेर राज्यसंयन्त्रले नै डाक्टरको पगरी गुथाइदिन्छ तब एउटा विसंगतिपूर्ण सिलसिला सुरु हुन्छ 


यस्तो अवस्थामा समाजमा मानार्थ विद्यावारिधिको सदावहार मौसम सुरु हुन्छ । सार्वजनिक जीवन भएका धेरैजसोसँग डाक्टरको उपाधि हुन्छ । अनि ककसको नाममा मात्र डाक्टर लेख्नेभन्दा पनि ककसको नाममा डाक्टर नलेख्ने भन्ने अवस्था आउन सक्छ । त्यसपछि के हुन्छ ? अहिलेका लागि यो अनुमानका लागि ठाउँ दिने प्रश्न मात्र होला । तर, राज्यसंयन्त्रले यस्तै विवेकहीन निर्णय गर्दै जाने हो भने समाज यस्ता अनेकांँ नयाँ विसंगति र विकृतिको दलदलमा फस्न धेरै टाढा छैन । यसै पनि हाम्रो समाज पुराना विसंगति र विकृतिबाट मुक्त भइसकेको छैन ।


यसको अर्को पक्ष के हो भने, यस किसिमको फौबन्जारी संस्कृति बढ्दा साँच्चैको शोध गरेर विद्यावारिधि गरेका मानिस मर्कामा पर्छन् । हुन त अहिले नेपालमा पनि विद्यावारिधि गरेकाहरूले डाक्टर लेख्न छोड्न थालेका छन् । अमेरिकी पदचाप पछ्याउँदै गरिएको यस अभ्यासका लागि अमेरिकामा त पिएचडी गरेकाले डाक्टर लेख्दैनन्, मेडिकल चिकित्सकहरूले मात्र लेख्छन् भन्ने खालको कुरा गरिन्छ, सुनाइन्छ । तर, यसमा पनि पूर्ण सत्यताचाहिँ छैन । यो आंशिक सत्य मात्र हो । पूरा सत्यचाहिँ के हो भने, अमेरिकामा विद्यावारिधि गरेका हुन् वा मेडिकल चिकित्सकहरू, अधिकांशले नामको पछाडि एमडी, पिएचडीलगायतका उपाधि मात्र लेख्ने गर्छन् ।

यसको अर्थ सबैले यसै गर्छन् भन्ने होइन, अझै पनि अमेरिकामा विद्यावारिधि गरेर नामको अगाडि डाक्टर लेख्नेको ठूलो संख्या छ । त्यसको ज्वलन्त उदाहरण, अमेरिकी प्रथम महिला डाक्टर जिल बाइडेन नै छिन् । अंग्रेजी साहित्यमा विद्यावारिधि गरेकी उनको अफिसियल नाम नै डा. जिल बाइडन हो । यहाँ अमेरिकामा विद्यावारिधि गरेकाले डाक्टर लेख्नु÷नलेख्नु उनीहरूको निजी रोजाइको विषय हो । यसमा दोस्रो व्यक्तिले वा समाजले कुनै क्रिया–प्रतिक्रिया नै दिँदैन । तर, नेपालमा भने आधा सत्यकै भरमा आधिकारिक भनाइ राख्ने एक तहका अजासु (अति जान्ने–सुन्ने)हरू अमेरिकामा यसो गरिन्छ, उसो गरिन्छ भनेर भ्रम छरिरहेका छन् । र, हाम्रो समाजमा पनि डाक्टर लेख्नेहरू खिसिट्युरीको पात्र बनाइन थालेका छन् ।

 

अब के गर्ने ?
मानार्थ विद्यावारिधि प्रचलन संसारभर नै छ । खासमा यो मानका खातिर मानका रूपमा दिइने एक किसिमको अनौपचारिक उपाधि हो । त्यसैले यस्ता उपाधिधारीले नामको अगाडि डाक्टर लेख्ने चलन छैन, लेख्दैनन् । कानुनी रूपमा केही नभए पनि समाजमा यसलाई एक किसिमको नैतिक बन्धनका रूपमा लिने गरिएको छ । नेपाली समाजले पनि त्यही रूपमा अभ्यास गर्दै आएको हो । यद्यपि, अपवादका रूपमा सही, केहीले व्यक्तिगत हैसियतमा यसको अभ्यास गर्दै आएका हुन् । तर, राज्यका तर्फबाट भने यति ठूलो मानकमा गरिएको सम्भवतः यो पहिलो प्रयोग हो । यो विसंगतिपूर्ण प्रयोग हो र यसलाई नै पहिलो र अन्तिम बनाउनुपर्छ । 


रह्यो, मानार्थ विद्यावारिधिधारीलाई डाक्टर बन्नबाट कसरी निरुत्साहित गर्ने भन्ने कुरा । त्यसका लागि, पहिले त त्यस्ता व्यक्तिहरूमै लज्जाबोध हुनुपर्छ ताकि उनीहरूबाट त्यस्तो असामान्य काम नहोस् । दोस्रो, आमसञ्चारकर्मीहरूले पनि त्यस्ता व्यक्तिलाई डाक्टर भन्ने र लेख्ने गर्नुहुँदैन । यो एक किसिमको भ्रमको खेती त हो नै, आमपाठकको सुसूचित हुने अधिकारमाथिको प्रहार पनि हो । तेस्रो, राज्यसंयन्त्रले त यस्तो असामान्य काम कुनै पनि हालतमा गर्नुहुन्न । 
रह्यो विद्यावारिधि गर्नेले डाक्टर भन्ने र लेख्ने कुरा, यसलाई व्यक्तिको निजी रोजाइमा छाडौँ । अहिले पनि नेपालमा डाक्टर लेख्ने विद्यावारिधिवाला पनि छन्, नलेख्ने विद्यावारिधिवाला पनि छन् । दुवैखालेले सत्कर्मका लागि सम्मान र दुष्कर्मका लागि दुत्कार पाएकै छन्, यसमा उनीहरूको विद्यावारिधिले ताŒिवक रूपमा फरक पारेको पनि छैन ।

 

र, अन्तमा
पछिल्लो समय नेपालमा एउटा गलत भाष्य तयार गरिँदै छ । एक किसिमको देवत्वकरणको त्यो भाष्यमा लोकप्रिय व्यक्ति सिर्जना गरिन्छ र उसका बारेमा प्रश्न गर्नै नपाइने वा नसकिने प्रपञ्चको विकास गरिन्छ । र, उनीहरूलाई जे गर्न पनि छुट हुने अवस्था सिर्जना गरिन्छ । यसले गर्दा नेपाली समाजमा बाँच्न जान्ने अहम् कलाको विकास भइरहेको छ । त्यो के भने जसरी पनि सत्ताको नजिक हुने र लोकप्रियताको पारो चढाइरहने ।

 

माधवप्रसाद घिमिरे त्यही कोटीका एक प्रतिनिधि पात्र हुन् । यही कलाका कारण राजतन्त्रका खम्बा उनी लोकतन्त्र हुँदै गणतन्त्रसम्म अपरिहार्य नै बन्न सके । त्यसैले समाजमा अग्रगामी विचार बनाउने भनेर दाबी गर्नेहरू पनि उनका बारेमा त्यति आलोचनात्मक देखिएनन् । अझ यसो भनौँ, पञ्चायतकालमा विचारका हिसाबले घिमिरेको कोपभाजनको सिकार भएकाहरू पनि उनको बाँच्न जान्ने अदम्य कलाका सामु गणतन्त्रकालमा समेत निरीह बने, बनिरहेकै छन् । प्रश्न, एकजना डा. माधवप्रसाद घिमिरेमा सीमित छैन, यो एक प्रवृत्तिको रूपमा झाँगिएको छ । यो प्रवृत्तिले समाजको आलोचनात्मक धारलाई त भुत्ते बनाएकै छ, नजानिँदो किसिमले स्वस्ति–प्रशस्तिको आदिम युगतिर पनि डोहोर्‍याउँदै छ । राष्ट्रकवि डा. माधवप्रसाद घिमिरेका नाममा यो टिप्पणी लेखिरहेको यतिवेला अहिलेका लागि यति नै कामना गरौँ, व्यक्तिको विवेकको ग्रन्थी भरियोस्, राज्यसंयन्त्र जिम्मेवार बनोस् ।