• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अभय श्रेष्ठ
२०७८ पौष १० शनिबार ०८:१८:००
साहित्य

जैविक ज्ञानको पक्षमा

२०७८ पौष १० शनिबार ०८:१८:००
अभय श्रेष्ठ

नेल्सन मन्डेला भन्छन्, ‘शिक्षा यस्तो हतियार हो, जसलाई तिमी संसार बदल्न प्रयोग गर्न सक्छौ ।’ मन्डेलाका भनाइमा सायदै कसैले विवाद गर्ला । तर, शिक्षा के हो ? यस प्रश्नको सही जवाफ शिक्षालयहरूले बिरलै दिएका छन् । कक्षाकोठाका चार भित्ता र पाठ्यक्रमका पानामा सीमित पाठहरू मात्र शिक्षा हुन् ? वर्ष दिनभरि पढेर तीन घन्टामा दिएको जाँचमा धेरै अंक ल्याउँदैमा विद्यार्थी शिक्षित हुन्छन् ? मुखाग्र पाठले शिक्षाको सौन्दर्य वहन गर्न सक्छ ? हरिहर तिमिल्सिनाको चर्चित उपन्यास ‘कखरा’ले यी प्रश्न टड्कारो स्वरमा उठाउँछ र तीमाथि सन्देह गर्छ ।


‘कखरा’ नेपाली आख्यानमा सम्भवतः अहिलेसम्म कतै नउठाइएको विषय हो । उपन्यास पठनीय हुनुको पहिलो कारण त यही हो । यसको नायक सफल शर्माको कथा पढ्दा हरेक पाठक समानुभूतिमा पुग्छ । उपन्यासको सबैभन्दा हार्दिक पाटो नै यही हो । सफल, साधु र सानुजस्तै हरेकजसो किशोर जीवनको असीम स्वाधीनता उपभोग गर्न चाहन्छ । घनु काकाजस्ता पात्र पनि जताजतै भेटिन्छन्, जो हद नाघेर उत्ताउला हुन्छन् । 


यति भन्दाभन्दै उपन्यासले मेरो आफ्नै सुदूर अतीतलाई सिनेमाको पर्दामा झैँ आँखाअगाडि ल्याइदिएको छ । मेरो स्कुल जीवन पञ्चायतको उत्तराद्र्ध काल थियो । व्यवस्थाको छाया हरेक ठाउँमा पर्छ, मेरै स्कुलमा पनि थियो । कक्षामा सर–मिसले दिने यातना थरी–थरीका थिए । तिनमा पनि कुखुरा बनाउने, दुई औँलाको बीचमा कलम राखेर बेसरी थिचिदिने, पाठ नआउनेजति सबै छात्रछात्रालाई आउनेले चड्कन–च्युरा खुवाउने अनि बेन्चमाथि उभ्याउने र मेचमुनि टुक्रुक्क बसाल्ने सजाय सबैभन्दा प्रसिद्ध थिए । यी सबै सजायका लागि विद्यार्थी हत्तु हुन्थे । तैपनि कुखुरा बन्नु सबैभन्दा कष्टकर हुन्थ्यो । उत्तिकै अपमानजनक पनि । सर र मिसका दृष्टिमा भने सायद यही सबैभन्दा उत्कृष्ट, रोज्जा र प्रिय सजाय थियो । टुक्रुक्क बसाली आफ्नै तिघ्रामुनि हात छिराएर देब्रे हातले दाहिने कान र दाहिने हातले देब्रे कान समाउन लगाइन्थ्यो । यो सजाय पूरै एक पिरियडभरि भोग्नुपथ्र्यो । 


एक दिन अंग्रेजी पढाउने एक स्थानीय सर सायद घरमा झगडा गरेर स्कुल आएका थिए । त्यो दिन उनले विद्यार्थीलाई ‘सपकिपर’को हिज्जे र माने सोधेका थिए । कक्षा ४ पढ्ने विद्यार्थी त्यसको जवाफ दिन सक्ने स्थितिमा थिएनन् । फस्र्टब्वाईले माने मिलायो, हिज्जे बिगा¥यो । थर्डब्वाईले पनि बिगा¥यो । केटीहरूले पनि बिगारे । स्कुलवरिपरिका दादा खालका छात्रले बिगार्नु त स्वाभाविक र अनिवार्य थियो । सही जवाफ दिनेले अगाडि नमिलाउने जति सबैको गाला बत्ती बल्ने गरी चड्काउनु पथ्र्यो । त्यो प्रश्न मसम्म आइपुग्दा २० जना चड्कन–च्युरा खान उभ्याएर राखिएका थिए ।

 

मलाई हिज्जे र माने दुवै आउँथ्यो । ‘एसएचओपिकेइइपिइआर सपकिपर मिन्स पसले,’ मैले भनेँ । सरले मलाई ‘क्या बात्’ भनेर डँडाल्नो भाँचिएलाझैँ गरी धाप दिए । अब बीसैजनालाई मैले तिनको कान तानेर तोरीको फूल देख्ने गरी चड्काउनुपर्ने भयो । तर, चड्कन चाख्नेले कक्षाबाहिर भेट्नेबित्तिकै एक चड्कनको बदला पातो खस्लाझैँ गरी मलाई कति घुस्सा हान्नेवाला थिए । चारजनालाई मैले कान छोएजस्तो मात्रै गरेर हलुका चड्कन लगाएँ । मेरो चड्कन खासमा तिनको गाला मुसारेजस्तो मात्रै भएको थियो । सर सूक्ष्म तरिकाले मेरो कारबाही निगरानी गरिरहेका थिए । पाँचौँपल्ट पनि मैले त्यसै गरेपछि अकस्मात् मेरै गालामा कक्षा थर्कने गरी सरको चड्कन बज्रियो । मैले तोरीको फूल देखेँ । ‘कसरी चड्काउनु पर्दोरहेछ, चाल पाइस् ?’ सरले भने । 


यस्तो थियो, हाम्रो जमानामा पढाउने र सिकाउने तरिका । ‘कखरा’को अवधि भने अलि पछाडिको छ । त्यहाँ पढाउने तरिका हाम्रो जमानामा भन्दा थोरै फरक छ । तर, शिक्षणको जडता र यातनाको सार भने उही छ । विद्यार्थीले आफ्नै तरिकाले सोच्न पाओस् । सिक्ने, अध्ययन–मनन गर्ने मौलिक तरिका अँगालोस् । विद्यार्थीलाई त्यो मौका अहिले पनि छैन ।


‘कखरा’ उपन्यासको शक्ति नै यसमा व्यक्त विचार हो । बनिबनाउ पाठ्यक्रमलाई जबर्जस्ती मुखाग्र गरेर होइन, आनन्दित र प्रफुल्लित हुँदै आफूले चाहेको स्रोतबाट ज्ञान लिँदै विद्यार्थी अघि बढोस् भन्ने नै उपन्यासको मूल स्वर हो । हुन पनि शिक्षाको स्रोत ठूला डिग्री हासिल गरेका व्यक्ति मात्र होइनन्, हरेक व्यक्ति र वस्तु हुन् । किसानले बालीविज्ञान पढेको हुँदैन, तर माटोको गुण, स्वभाव र ढुकढुकी छाम्न बालीविज्ञभन्दा बढी उही विज्ञ हुन्छ । विकास निर्माणको सैद्धान्तिक ज्ञान इन्जिनियरलाई हुन्छ, तर नपढेका मिस्त्रीहरूलाई सिमेन्ट, बालुवा, रोडा, इँटा वा हिलोको गुणबारे इन्जिनियरलाई भन्दा बढी ज्ञान हुन्छ ।

‘कखरा’ उपन्यासको शक्ति नै यसमा व्यक्त विचार हो । बनिबनाउ पाठ्यक्रमलाई जबर्जस्ती मुखाग्र गरेर होइन, आनन्दित र प्रफुल्लित हुँदै आफूले चाहेको स्रोतबाट ज्ञान लिँदै विद्यार्थी अघि बढोस् भन्ने नै उपन्यासको मूल स्वर हो ।

 

यस कुराको सबैभन्दा ठूलो उदाहरण त नेपालमा वास्तुकलाको औपचारिक अध्ययन सुरु नहुँदै झन्डै तीन सय वर्षअघि निर्मित भक्तपुरको ङ्यातापोल अर्थात् पाँचतले मन्दिरलाई लिन सकिन्छ । दुई महाभूकम्प थेगेर पनि यति अग्लो मन्दिर किन भत्किएन ? प्रस्ट थियो, त्यति वेलाका भक्तपुरका मिस्त्रीहरूको व्यावहारिक ज्ञान धेरै उच्च थियो । त्यसैले ज्ञानका स्रोत ठूला डिग्रीधारी व्यक्तिहरू मात्र होइनन्, आफ्नो क्षेत्रका हरेक व्यक्ति ज्ञानका आधिकारिक स्रोत हुन सक्छन् । जस्तै– किसान, सिकर्मी, डकर्मी, घोडचढी, सवारी चालक, पौडीबाज, पहलवानहरू सबै जैविक बुद्धिजीवी हुन् । विद्यार्थीले तिनबाट पनि गहिरो ज्ञान लिन सक्छ । ‘बैंकको बचत पैसाजस्तो विद्या जड कुरा होइन’ भन्ने क्रान्तिकारी शिक्षाविद् पाउले फ्रेरेबाट उपन्यासको भाव प्रेरित छ ।


हरिहर तिमिल्सिना नाम चलेका गीतकार र भावपूर्ण कविता लेख्ने कवि हुन् । पेसाले उनी अनुभवी शिक्षक र ‘पढ्नेले पढौँ’ भन्ने अभियान चलाएका एक अभियन्ता हुन् । उपन्यासले यथार्थसँग गहिरो साक्षात्कार गर्न सक्षम हुनुको कारण पनि यही हो । किनभने उनले आफ्नै अनुभूत विषयलाई उपन्यासमा समेटेका छन् । तीनघन्टे परीक्षाको परिणाममा खासै राम्रो परिणाम नल्याएका तर जीवनको गोरेटोमा उपलब्धि हासिल गरेका उपन्यासको नायक सफलजस्ता थुप्रै विद्यार्थीसँग उनले साक्षात्कार गरेका छन् । समाज र हाम्रो शिक्षा पद्धतिले पचाउन नसक्ने एकजना यस्ता विद्यार्थीलाई समेत उनले भेटे, जसले बाबुआमाको करले विज्ञान पढे तर उनको रुचि मानविकीमा थियो । कलेज नपुग्दै उनले देश–विदेशका गरी ६५ वटा उपन्यास पढिसकेका थिए । एकपल्ट तिनले एउटा मानविकी कलेजमा गएर आफूले कलेजको पढाइ परीक्षण गर्न चाहेको बताएका थिए । उनको तर्क थियो, शिक्षालयले होइन, विद्यार्थीले शिक्षकको परीक्षा लिएर शिक्षालय छान्न पाउनुपर्छ । हरिहरको उपन्यासको प्रमुख पात्र यस्तै अनौठा लाग्ने तर प्रचलित शिक्षण पद्धतिमाथि प्रश्न उठाउने र सन्देह गर्ने विद्यार्थी हो ।


जटिल विषयलाई सरलीकृत भाषामा लिखित यो उपन्यास शिक्षाको स्टेरियोटाइप भत्काउने पुलिन्दा मात्र पनि होइन । पाठकले यसमा उपन्यास पढ्दा पाउने सबैखालको आनन्दभाव पाउँछ । उपन्यासको हास्य चेतना उच्च छ । विद्यार्थीले हरेक शिक्षक र सहपाठीलाई राखिदिने उपनामले पाठकलाई काउकुती लगाइरहन्छ ।


उपन्यासमा कमजोरी केही छैनन् भन्ने होइन । यसमा प्रयुक्त संवाद अलि बढी भावुक र कति ठाउँमा अस्वाभाविकसमेत लाग्छन् । उपन्यासको नायक सफलको एउटा साथीको नाम छ– सिपियू अर्थात् चन्द्रप्रकाश उदास । उदास मूलतः काठमाडौंका रैथाने नेवारको एक थर हो । तर, उपन्यासमा यो पात्र गोरखा, लाप्राकबाट आएको छ । त्यो व्यक्तिलाई मगर वा गुरुङ बनाएको भए अलि बढी आधिकारिक हुन्थ्यो कि भनेर समाजशास्त्रीय सवाल उठाउन सकिन्छ । कम्प्युटरको माउलाई पनि सिपियू भनिन्छ । कम्प्युटरको यही माउ भागसँग दाँजेर हास्यरस सिर्जना गर्न पात्रको थर उदास राखेको यहाँ प्रस्ट देखिन्छ ।

 

आठ कक्षा पढ्दै गरेको, अंग्रेजी पनि उति राम्रो भएको भेउ नपाइने सफल शर्माले ‘क्याचर इन द राई’जस्तो पाल्सी अंग्रेजी भएको अमेरिकी उपन्यास पढिसकेको प्रसंग पनि यथार्थसंगत लाग्दैन । अपवादमा यस्तो हुन सक्छ । तर, त्यसलाई सामान्यीकरण गर्न मिल्दैन । सफल शर्माले लामो प्रतीक्षा र श्रम गरेपछि मात्र प्रेम शिविरको गाडीमा चढ्न पाएको तर त्यसअघि कति प्रयास गर्दा ठेगानासमेत नपाएको प्रसंग भक्तले कठिन तपस्या गरेपछि मात्र भगवान्को दर्शन पाउँछ भनेजस्तै स्वैरकाल्पनिक छ । तर, यी प्रसंग पटकथा रसमय बनाउन राखिएका मसला मात्र हुन् । मूल कुरा त शिक्षालयलाई ‘प्रेम शिविर’ बनाउने यसको लक्ष्य हो । हरिहर आफँै अनुभवी शिक्षक हुन् । आफ्नै विद्यालयलाई ‘प्रेम शिविर’ बनाउनु अब उनको नैतिक दायित्व हो ।