• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शिवहरि घिमिरे
२०७८ पौष १७ शनिबार ०६:३८:००
समाज

जो नेपालमै नाटकको भविष्य खोज्थे

२०७८ पौष १७ शनिबार ०६:३८:००
शिवहरि घिमिरे

नेपाली नाट्य क्षेत्रका एक विशिष्ट रंगकर्मी प्रचण्ड मल्ल पाँच दिनअघि मात्रै नेपाली रंगकलाको आकाशबाट अस्ताए । नेपाली नाट्य क्षेत्रमा आधुनिकता भित्र्याउने एक रंगकर्मीको निधनसँगै नेपाली रंगक्षेत्रको एउटा धरोहरको अन्त्य भएको छ । जीवनको अधिकांश समय रंगकलामा समर्पण गरेका ८८ वर्षीय मल्लको पुस २ गते बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भयो । उनी केही दिनयता श्वासप्रश्वासको समस्याबाट ग्रसित थिए ।

 

उनको निधनसँगै नेपाली नाट्य क्षेत्रलाई अतुलनीय क्षति पुगेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले बताए । उनले नाटकमा आधुनिक युग ल्याउने व्यक्तिको अन्त्य हुँदा नाट्य क्षेत्र टुहुरोझैँ बनेको बताए । शर्माका अनुसार बोली व्यवहार स्वाभाविक भएका मल्लको नाट्य प्रस्तुति भने ‘अस्वाभाविक’ थियो । उनले निर्देशन गरेका हरेक नाटक दमदार हुन्थे । मल्लले देखाउने सडक नाटक हेर्न मानिसहरू सडकमा झुुम्मिन्थे । उनीप्रति युवापुस्ताको उस्तै ‘क्रेज’ थियो । शर्मा भन्छन्, ‘मैले पनि उहाँसँगै काम गरेको छु, नाटक मैले लेखेको थिएँ, ती नाटकको निर्देशन उहाँले गर्नुभएको थियो । नाटक क्षेत्रमा उहाँ निकै अनुभवी व्यक्ति हुनुहुन्थ्यो ।’


मल्लको निधनसँगै रंगक्षेत्रले एउटा ज्ञाता गुमाएको उनले बताए । नाटक खेल्ने मात्रै नभएर त्यसको सिद्धान्तसमेत बुझेका व्यक्ति नेपाली नाट्य क्षेत्रले गुमाउँदा शर्माले दुःख व्यक्त गरे । ‘नाटक क्षेत्रका सैद्धान्तिक र व्यावहारिक दुवै ज्ञान थियो उहाँलाई । नाटकसम्बन्धी धेरै पुराना जानकारी उहाँसँग थिए,’ उनी भन्छन्, ‘नेपाली नाटकको इतिहास उहाँसँग थियो, त्यस्तै महत्वपूर्ण व्यक्तिलाई हामीले गुमाएका छौँ ।’ उनका अनुसार मल्ल नेपाली नाट्य क्षेत्रमा शिखर व्यक्ति मानिन्छन् । उनी एउटा नाटककार मात्रै नभएर कुशल निर्देशक र रंगशिल्पी पनि थिए । उनलाई रंगमञ्चबारे सबै ज्ञान भएकाले त्यतिवेलाका चर्चित नाटक लेखकको नाटकलाई पनि बेजोड तरिकाले निर्देशन गर्थे । 


मल्लको मृत्यु पर्दापछाडि लुकेको नाटकको कथाजस्तै भएको प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले बताए । उनका अनुसार मल्लले करिब ४५ वर्ष रंगमञ्च क्षेत्रमा काम गरे । उनले कैयौँ कलाकारलाई नाटकको तालिम दिए, नाटक लेख्न र मञ्चन गर्न सिकाए । ‘उहाँ नाट्य क्षेत्रमा निकै खारिएको व्यक्ति हुनुहुन्थ्यो, नाटक निर्देशनमा उहाँको ज्यादै दख्खल थियो,’ गुरुङ भन्छन्, ‘हामीले नाट्य क्षेत्रका निकै नै विशिष्ट व्यक्ति गुमाएका छौँ ।’ 


मल्लको जीवन पनि निर्देशनमै बित्यो । उनी जान्ने–बुझ्ने भएदेखि नै नाटकमा लागेका थिए । उनले बालकृष्ण सम, गोविन्दबहादुर मल्ल गोठाले, विजय मल्ल, सत्यमोहन जोशी, चुणानाथ भट्टराई, भीमनिधि तिवारी, हृदयचन्द्रसिंह प्रधानलगायतका नाटक निर्देशन गरेका छन् । संस्कृतिविद् सत्यमोहन जोशी मल्ल नेपाली नाटक क्षेत्रका निकै मिहिनेती पात्र रहेको बताउँछन् । उनी भन्छन्, ‘उहाँले ‘घाम लाग्छ सपना ब्यँुझन्छ’, ‘मृत्यु एक प्रश्न’ जस्ता पुराना नाटकको पनि निर्देशन गर्नुभएको छ । नेपाली नाट्य क्षेत्रको उहाँ निकै अब्बल व्यक्ति हुनुहुन्थ्यो ।’

मल्लले रुसमा गएर नाट्य तालिम लिएका थिए । उनले त्यहाँ सिकेको कला नेपाली नाट्य क्षेत्रमा लागू गराएका थिए, जसका कारण उनलाई 
नेपाली नाटकमा आधुनिकता भित्र्याउने व्यक्ति पनि भनिन्छ ।


मल्लले नयाँ पुस्तालाई नाटकबारे थिएटरमा प्रशिक्षण दिन्थे । उनले ०२३ सालदेखि तत्कालीन नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा नाट्य विभागका काम गरेका थिए । त्यसपछि ०६९/०७० मा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिसमेत भए । पूर्वी तराईको बारामा जन्मेका मल्ल सानैदेखि काठमाडौंको बानेश्वरमा बस्दै आएका थिए । यहीँबाटै उनले नाटक लेख्न र निर्देशन गर्न सिकेका हुन् । मल्लले ७५ वटाभन्दा बढी नाटकमा निर्देशन गरेका छन् ।

 

रुसमा तालिम, नेपालमा काम
मल्लले रुसमा गएर नाट्य तालिम लिएका थिए । उनले त्यहाँ सिकेको कला नेपाली नाट्य क्षेत्रमा लागू गराएका थिए, जसका कारण उनलाई नेपाली नाटकमा आधुनिकता भित्र्याउने व्यक्ति पनि भनिन्छ । उसो त उतिवेला धेरै व्यक्तिहरू तालिम लिन जाँदा उतै हराउँथे । तर, मल्ल भने नेपालमै नाटकको भविष्य खोज्दै काठमाडौंका गल्लीगल्ली, चोकचोकमा नाटक देखाउन हिँड्थे । त्यतिवेलादेखि नै उनीसँग नाटक क्षेत्रको एउटा जमात नै थियो । उनी नाटक सिकाउँथे, निर्देशन गर्थे र प्रदर्शन गर्थे । उनीसँग नाटक सिक्न चाहनेहरूको निकै भिड हुन्थ्यो ।


मल्ल नाटकघरहरूमा मात्रै नाटक देखाउने व्यक्ति थिएनन् । उनी नाटकको दायरा फराकिलो पार्न चाहने व्यक्ति मानिन्छन् । कहिले सडक, कहिले चोक त कहिले सांस्कृतिक कार्यक्रममा नाटक देखाउन पुग्थे उनी । त्यतिवेला मल्ललाई राजदबारदेखि विभिन्न सरकारी सांस्कृतिक कार्यक्रममा नाटक देखाउन बोलाइन्थ्यो । उनी नयाँ वर्षको दिन नेपाली सेनालाई पनि नाटक देखाउन टुँडीखेल पुग्थे ।

 

दरबारमा नाटक देखाउँथे मल्ल
कुरा ०२७ साल वैशाखतिरको हो । त्यतिवेला राजा महेन्द्र सत्तामा थिए । राजालाई नाटक देखाउन दरबारमा ‘शुभराजा’ विषयक नाटक मञ्चन कार्यक्रम आयोजना हुन्थ्यो । उक्त कार्यक्रमको तयारी ‘शुभराजा’ नाटक समितिले गथ्र्याे । उक्त समितिमा थिए मल्ल । त्यतिवेला दरबारमा बालकृष्ण समको ‘राजेन्द्रलक्ष्मी’ नाटक देखाउने तयारी भइरहेको थियो । उक्त नाटकको निर्देशन मल्लले गरेका थिए । उक्त दिन नाटक हेर्न संस्कृतिविद् सत्यमोहन जोशी पनि दरबार क्षेत्रमा पुगेका थिए । ‘त्यहाँ नाटक हेर्न कैयौँ मानिस दरबारमा पुगेका थिए, ती सबै पुगेको प्रचण्ड मल्लको कारणले रहेछ, मानिसहरूले उनको नाटकलाई निकै नै मन पराउँदा रहेछन्,’ जोशी भन्छन्, ‘मलाई पनि उनको निर्देशनका नाटक मन परेको थियो, अनि संगत गरेँ ।’