• वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
वसन्त महर्जन
२०७८ पौष १७ शनिबार ०७:५१:००
समाज

धर्मान्तरणका अन्तर्य

२०७८ पौष १७ शनिबार ०७:५१:००
वसन्त महर्जन

झट्ट हेर्दा आदर्श हिन्दू महिलाको उदाहरण दिन मिल्ने एक मित्र हिन्दू धर्म संस्कृतिसँग सम्बन्धित हरेक चाडपर्व तथा सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुन्छिन् । पोखराबाट तानसेनको बसयात्राको दौरान यस लेखकसँग भलाकुसारी गर्दै आफू बौद्ध धर्म अपनाउन इच्छुक रहेको सुटुक्क बताइन् । यसका लागि गर्नुपर्ने प्रक्रियाका बारेमा पनि सोधिन् । त्यहीवेला उनैबाट थाहा पाएँ, धर्म परिवर्तनको अन्तर्य अर्कै रहेछ । उनले यसअघि नै हिन्दू धर्म परित्याग गरेर अरू धर्म अपनाइसकेकी रहिछिन् । विदेश जान पाइने र उतै व्यवस्था हुने आदि आश्वासन वा अपेक्षा पूरा नभएपछि हिन्दू आवरणमा यथावत् नै बसिरहेकी थिइन् । आफ्नो अपेक्षा बौद्ध धर्मबाट पूर्ति हुन्छ कि भन्ने आशा भएछ र सोधेकी थिइन् । त्यसपछि धर्मसम्बन्धी हाम्रो संवाद अघि बढेन । तर, उनीसँग सम्पर्क भइरहन्छ । त्यसवेलादेखि उनको धार्मिक तथा सांस्कृतिक गतिविधि मेरा लागि अध्ययनको विषय बन्यो । 


परम्परानुसार मान्दै आएको धर्म छाड्नुहुँदैन भन्ने मान्यता पाइन्छ । आफ्नो धर्म जस्तोसुकै भए पनि ‘परधर्म भयावह’ भन्ने आग्रहलाई मैले आफ्नो आदर्श कहिल्यै बनाउन सकिनँ । परम्पराअनुसार मान्दै आएको धर्ममा दृढ विश्वास वा आस्था भएपछि एउटै मात्र सत्य यही हो भन्ने आग्रह गहिरोसँग बस्छ । धर्मान्तरण गरेकाहरूमा पनि यही आग्रहले घर गरेको पाइन्छ । पृथ्वी वा ब्रह्माण्डको उत्पत्ति हुनुभन्दा अघि नै ईश्वर वा यस्तै अदृश्य एउटा परमसत्ता हुने र त्यही सत्ताले सबै कुराको सृष्टि गर्ने धारण पनि पाइन्छन् ।

 

यससम्बन्धी हजारौँ बेग्लाबेग्लै कथाकहानीको पढ्न र सुन्न पाइन्छन् । तर, इतिहास तथा पुरातत्व विज्ञानको कसीमा राखेर हेर्दा यी कुराको पुष्टि हुँदैनन् । र, आस्था वा विश्वास भनी त्यसलाई यथावत् नै राख्नुपर्ने गज्जबको चलन यहाँ पाइन्छ । सृष्टिसम्बन्धी जतिसुकै लामो र रोचक कथा बनाएका धर्महरूको अस्तित्व पनि तथ्य र प्रमाणको कसीमा राखेर हेर्दा केही हजार वर्षभन्दा पुराना नभएको पुष्टि हुन्छ । बरु तीभन्दा पुराना पुरावस्तुुको अस्तित्व भूतलमा पाइन्छन् । पुरातात्विक अध्ययनपछि ती कुरा यति वर्ष पुरानो वा उति वर्ष पुरानो भनी काल निर्धारण गर्न सकिएका छन् । विभिन्न धार्मिक साहित्यमा वर्णित घटना वा कथावस्तुुलाई वस्तुुगत रूपमा अध्ययन गर्दा पनि तिनको काल निर्धारण गर्न सकिएको छ । यस अर्थमा पृथ्वीमा भएका कुनै पनि भौतिक कुरा इतिहासभन्दा पर छैनन् । 


मानव विकासको इतिहास हेर्दा सुरुमा तिनीहरू प्रकृतिको शक्तिबाट नतमस्तक भएको र अनेकौँ कल्पना गरेर त्यसमा भक्तिभाव देखाउने गरेको भन्ने कुरा थाहा पाइन्छन् । धर्मको इतिहास केलाउँदा पनि यही विश्वास वा भक्तिभाव सर्वप्रथम दृष्टिगोचर हुन्छ । यस्ता धर्म अझै पनि अस्तित्वमा छन् । अथवा, पछि विकसित हिन्दू, बौद्ध, जैन, मुस्लिम, आदि नामका धर्म र अभ्यासमा ती प्रकृति धर्मका अवशेष केही मात्रामा देख्न पाइन्छन् । यस अर्थमा आजभोलि आफूलाई परम्पराअनुसार निश्चित धर्मसँग सम्बन्धित भनेर पहिचान दिनेहरू कुनै वेला अर्कै धर्मसम्प्रदायसम्बद्ध भएको पाउँछौँ । यी धर्महरूको विकास हुुनुुअघि उनका पुर्खा कुनै न कुनै धर्मसँग सम्बन्धित हुन्थे अर्थात् ती धर्मको उदय हुनअघि तिनको कुनै धर्म नै थिएन वा तिनको अस्तित्व नै थिएन भनेर तर्क गर्न सकिन्न । 


ईसापूवृ ५६३ मा जन्मेर ३५ वर्षको उमेरमा बोधि (ज्ञान) लाभ गरी आफ्नै मतवाद बौद्ध धर्मदर्शन सुरु गर्ने गौतम बुद्धले अन्य धर्म सम्प्रदायमा रहेकालाई धर्मान्तरण गरेर भिक्षु–भिक्षुणी तथा उपासक–उपासिका बनाएका हुन् । गौतम बुद्धभन्दा केही वर्षले जेठो वर्धमान महावीरले पनि यही गरेका थिए । यही कुरा इसाई धर्म र त्यसको करिब पाँच सय वर्षपछिको इस्लाम धर्मका सम्बन्धमा पनि लागू हुन्छ । कुनै पनि धर्मले आफ्ना लागि भनेर छुट्टै मानवको सृष्टि गरेको हुँदैन । इतिहासलाई अझ गहिरिएर हेर्ने हो भने तत्कालीन वैदिक ब्राह्मण तथा श्रमण परम्परासँग सम्बन्धित विभिन्न मतवादमा आस्था राख्ने मानव समुदायलाई गौतम बुद्धले बौद्ध र वर्धमान महावीरले जैन बनाएका हुन् ।

 

भारतीय भूमिमा मुसलमानी आक्रमणपछि व्यापक मात्रामा धर्मान्तरणको लहर चलेको पाइन्छ । त्यतिवेला इस्लाम धर्म अपनाउनेहरू अधिकांश बौद्ध थिए । इस्लाममा धर्मान्तरण नभई यत्तिकै बस्नेहरू कालान्तरमा हिन्दू समाजभित्र तथाकथित तल्लो जातिका रूपमा चिनिन गएका थिए जो अझै पनि भारतीय समाजमा देख्न पाइन्छन् । कतिपय बौद्धहरू पुनः वैदिक परम्परातिरै लागेको पनि पाइन्छ र नेपाल तथा भारतका कतिपय वैदिक ब्राह्मणका कुलदेवता हिन्दू नै नभएर बज्रयानी देवीदेवता हुने गरेको तथ्यले यो कुराको पुष्टि गर्दछ । 


कुन धर्म कति मात्रामा सही हो वा होइन भन्ने बहस यो लेखको तात्पर्य होइन । विश्वमा विद्यमान कुनै पनि धर्म स्थिर भएर रहेका छैनन् । सबैमा आ–आफ्नो धर्म नै सही र राम्रो भन्ने आग्रह पाइन्छ । अन्यप्रति सद्भाव राखी, भलो गरुँ भन्ने मनसायले बाटो देखाउने अर्थमा धर्मको प्रचार गरिरहेका हुन्छन् । धर्मको प्रचार कार्यमा एक पक्षका लागि असल कर्म भइरहेको हुन्छ भने अर्को पक्षले त्यसैलाई खराब कर्मका रूपमा हेरिरहेको हुन्छ । तर, जसले जति सक्यो त्यसले त्यति नै, आ–आफ्नै पाराले गरिरहेको कुरा यथार्थ हो ।

धर्मान्तरणको सन्दर्भमा प्रायः के सुन्न पाइन्छ भने गरिब र पिछडिएका समुदायमा अनेकौँ प्रलोभन दिएर अमुक धर्मको प्रचार गरिँदै छ । के–कति प्रलोभन दियो वा के कति पूर्ति कसरी गर्‍यो, त्यो बेग्लै विषय हो । मान्छेहरू आर्थिक मात्रै नभएर सामाजिक हैसियतका लागि पनि धर्म परिवर्तन गर्दा रहेछन् भन्ने कुरा घामजत्तिकै छर्लंग छ ।

 

कुनै वेला समुद्र नाघ्नु हुँदैन भन्ने हिन्दू मान्यता थियो र फलतः हिन्दू धर्मको प्रचार हुन पाएन । समुद्र नाघेर जानेलाई भारतीय हिन्दू समाजमा विशेषतः गाउँमा जातिच्यूत गरिन्थ्यो । स्वामी विवेकानन्दलाई यही समस्या परेको थियो । तर, आजभोलि समुद्रपारि पनि हिन्दू धर्मको प्रचार–प्रसार व्यापक रूपमा हुँदै छ, अर्थात् धर्मान्तरण गरेर हिन्दूहरूलाई अन्य धर्ममा लगेजस्तै हिन्दूहरूले पनि अन्य धर्मका मानिसलाई धर्मान्तरण गरेर हिन्दू बनाउने कार्य गरिरहेकै छन् । आफ्नो धर्म सम्प्रदायका मानिसलाई अन्य धर्म सम्प्रदायमा लाँदा नकारात्मक रूपमा लिने र आफूले अन्य धर्म सम्प्रदायका मानिसलाई आफ्नो धर्मसम्प्रदायमा ल्याउन सके सकारात्मक रूपमा लिने प्रवृत्ति त मानव स्वभाव नै भयो । 


विश्वमा भएका कतिपय धर्मबीच समान मूल्य–मान्यता रहेका हुन्छन् भने कतिपय सन्दर्भमा असमान मात्रै नभएर विपरीत पनि हुन्छन् । यही भएर बेग्लाबेग्लै धर्मको अस्तित्व आएको हो । यसो हुँदाहुँदै पनि आआफ्ना आस्था तथा दर्शनहरूलाई सुरक्षित राखेर एकअर्कामा भाइचाराको भावना विकसित गरेर अगाडि बढिरहेको पाइन्छन् । यो राम्रो पक्ष हो । विश्व इतिहासमा धार्मिक सद्भावको यो विकसित रूप यसअघि देख्न पाइन्नथ्यो । 


धर्मान्तरणको सन्दर्भमा प्रायः के सुन्न पाइन्छ भने, गरिब र पिछडिएका समुदायमा अनेकौँ प्रलोभन दिएर अमुक धर्मको प्रचार गरिँदै छ । के–कति प्रलोभन दियो वा के कति पूर्ति कसरी ग¥यो, त्यो बेग्लै विषय हो । मान्छेहरू आर्थिक मात्रै नभएर सामाजिक हैसियतका लागि पनि धर्म परिवर्तन गर्दारहेछन् भन्ने कुरा घामजत्तिकै छर्लंग छ । केही वर्षअघि यो पंक्तिकार बौद्ध धर्म छाडी इसाई धर्म अपनाउने समुदायको अध्ययनमा लागेको थियो र अधिकांशले धर्म परिवर्तन गर्नुको कारण बौद्ध पुरोहितका रूपमा रहेका लामाले भनेअनुसारको खर्च गर्न नसकेर अन्ततः धर्म नै परिवर्तन गरेको जवाफ दिएका थिए ।

 

रोगव्याधिजस्ता समस्याका लागि कालो भाले वा कालो बोको काट्न लगाउने तथा आर्थिक रूपमा विपन्नबाट दानदक्षिणा बटुल्ने कर्म मूलतः बौद्ध धर्मको भावनाविपरीत हो, तर ती बौद्ध पुरोहितबाट यस्तो काम सम्पन्न हुनु विकृतिको हद हो । हिन्दू धर्म छाडी अन्य धर्ममा लाग्नुका पछाडि पनि यस्तै कारण रहेको पाइन्छ । आफ्नो धर्ममा रही आस्थाअनुसार बसुन्जेल जातीय छुवाछुत तथा विभेद गर्ने र सामान्य जीवन जिउन नै नसक्ने अवस्था ल्याइँदा उसले स्वाभाविक रूपमा विकल्प खोज्ने हुन्छ नै । यस अवस्थामा प्रलोभनमा पारेर धर्म परिवर्तन गरेको भन्ने तर्क सधैँ र सबै ठाउँमा लागू हुँदैन किनभने हुनेखाने व्यक्ति वा परिवारले पनि धर्म परिवर्तन गरिरहेको पाइन्छ । 


मान्छेले आफ्नो जीवनशैली तथा हैसियतको स्तरोन्नतिमा ध्यान दिनुलाई अन्यथा लिनुहुँदैन । तर, यसैको अपेक्षा गरेर वा प्रलोभनमा परेर धर्म परिवर्तन गर्नु उद्यमशील व्यक्तिका लागि सुहाउँदो कुरा होइन । यो लेखको सुरुको प्रसंगमा उल्लेखित महिला मित्रलाई कसैले प्रलोभनमा पारेको भन्दा प्रलोभित भएको देखिन्छ । महत्वाकांक्षा पनि देखिन्छ । तर, अपेक्षा पूरा नभएपछि यसैका लागि पुनः अर्को धर्ममा धर्मान्तरण हुने मनसाय पनि व्यक्त गर्दछन् । यो पूर्णतः अकर्मण्यता हो । कुनै पनि धर्मको उपादेयता भौतिक सुख–सुविधाका लागि नहुने हुनाले त्यस्तो कुराको अपेक्षा राख्दै धर्म परिवर्तन गरेर हिँड्नु अवाञ्छनीय प्रवृत्ति पनि हो ।