• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तारालाल श्रेष्ठ
२०७८ पौष १७ शनिबार ०८:०७:००
पर्यावरण

सम्पदा सिँगार्दै कलाकारहरू

२०७८ पौष १७ शनिबार ०८:०७:००
तारालाल श्रेष्ठ

मान्यजन मात्रै होइन शासक अझ बढी कलाका भोका हुँदारहेछन् । यसर्थ, हरेक दरबार म्युजियममा रूपान्तरित हुन्छन् । यस्तै, अनुभूति हुन्छ हनुमानढोका दरबारभित्र पस्दा । कति धेरै कलाकृति, यत्रतत्र–सर्वत्र । शिरदेखि पाउसम्म, कुनादेखि काप्चासम्म जताततै कलाकृति । केही छुँदा कला छोइन्छ । अढेस वा ठेस लाग्दा पनि कलाकृति । दायाँबायाँ, तलमाथि जताततै कला नै कला । भग्नावशेषभित्रै कलाकृति भेटिन्छन् । हामी ढलभित्र पनि अमूल्य शिलापत्र भेटिने देशका नागरिक हौँ । कलामा धनी नागरिक हुनुमा गर्वबोध हुन्छ, कहिलेकाहीँ । 


शनिबार काठमाडौंका सडकमा सवारी चाप अलि खुकुलो छ । पुष्पलालपार्क, चम्पादेवीको फेदीबाट साइकलमा हुइँकिँदै हनुमानढोका वसन्तपुर दरबार पुग्छु । आन्तरिक पर्यटकको घुँइचो थेगिसक्नु छैन । भिडभाडभन्दा भित्र चुपचाप केही थान कलाकार क्यानभासभित्र डुबिरहेका थिए । भूकम्पपछि बन्द क्षेत्रमा पुनर्निर्माण कार्य चलिरहेकै छ । कामदारलाई कामको चटारो छ । केही कलाकार क्यानभासमै ध्यानमग्न छन्, चुपचाप । केही हेर्छन्, केही कोर्छन् । कोही सुक्दै गरेको रंगमा पानी छम्कँदै छन् । कोही ध्यानमग्न क्यानभासमा रंग पोत्दै छन् । एक कलाकारको साथमा निषेधित क्षेत्रभित्र पस्छु । यताउति डुल्छु, कलाभित्रै भुल्छु । किराँत, लिच्छवि, मल्लकाल हुँदै शाहकाल जोड्ने कलाकृति गनिसाध्य छैन । राति पनि सुटुक्क त्यहीँ बसेर हेरिरहुँझैँ । गहनाका गाथा उत्तिकै छन् । महारानीहरू सती जाँदा छाडेका ऐतिहासिक गरगहना हेर्दा जीउ सिरिंग हुन्छ । मध्यकालीन वास्तुकला उम्दा छन् । हरेक सःझ्या–ढोका, निदाल–टुँडाल, आँगन–पिढी, चोटा–कोठा कलात्मक छन् । विदेशी सोधकर्ता एउटै इँटा नापजाँच गर्दै दिन बिताइरहेछन् । भत्किएका भवन उठाउन जुटेकाहरू झम्के साँझसम्म जुर्मुराइरहेका छन् ।

चित्रकार राजेन्द्र याकमीले बनाएको पेन्टिङ

बहुमूल्य अवशेषहरू टुँडिखेलमा थुपारेको थुप्राबाट पनि बटुली अभिलेखीकरण गरिराखेका छन् । अलग संसार घुमिरहेझैँ लाग्छ, एउटा हनुमानढोका दरबार घुमेर हेर्दा पनि । के छैन त्यहाँ, जुन कलात्मक नहोस् । प्रताप मल्लले सन् १६७२ बनाएका भनिने हनुमानको प्रतिमाभन्दा उता र यताका अमूल्य कलाकृति कति छन् कति । कसले बनाएका होलान् ती कलाकृति ? बेनाम छन्, कलाकार । सन् १४८२ रत्न मल्ल जन्मिनुअघि, अझ यक्ष मल्लभन्दा अघि पनि राजाहरू थिए । प्यागोडा, शिखर र डोम शैलीका दरबार र कलाकृतिहरू अन्यत्र थिए । अमूर्त कलाकृतिको गाथा अझ अमूल्य हुने नै भयो । जसरी यस दरबारसँग जोडिएका मौलिक चाडपर्व, संस्कार–संस्कृति, नाचगान, प्रदर्शनीका गाथा गरिमामय छन् । अनि न युनेस्कोले सन् १९७९ मा विश्वसम्पदा सूचीमा प्राथमिकताका साथ समावेश ग¥यो । यसभित्र अवस्थित चोकहरूकै गाथा गाइनसक्नु छ । 

शनिबारीय कला प्रदर्शनीमा आबद्ध कलाकार प्रत्येक शनिबार कुनै सम्पदा क्षेत्रमा पुग्दा रहेछन् । आफ्नै खर्चमा सम्पदाका चित्र कोर्दा रहेछन् । हनुमानढोका दरबारमा पनि उनीहरू चना–चिउरा खाजा आफ्नै खर्चले खाँदै थिए, क्यानभासमा कला भर्न कम्मर कसेर ।


नेपालभित्र मात्रै नभई भारतखण्डमै अति दुर्लभ उत्कृष्ट प्रस्तर कालीयदमन प्रतिमालगायत भव्य मास्टरपिस कलाकृति कसले बनाए, कलाकारको अत्तोपत्तो छैन । सातौँ शताब्दीतिर बनाइएको अनुमान गरिने कालीयदमन मूर्तिलाई प्रताप मल्लले घुम्ने क्रममा कतै भेटेर ल्याई हनुमानढोका दरबार परिसरभित्र प्रतिस्थापित गरेको भनिन्छ । सिस बैठकबाट नाच हेर्ने सोखका कथा छन् । इन्द्रजात्राको इतिहास उत्तिकै चोटिलो हुने नै भयो । इन्द्रजात्राकै क्रममा पृथ्वीनारायण शाहले आक्रमण गरी काठमाडौं हात पारेका थिए । मोहनीचोक र राजगद्दी उत्तराधिकारीका जन्ममृत्युसँग जोडिएका गाथा उस्तै अनौठा छन् । उक्त महलमा नजन्मिए राजगद्दीका लागि लायक नहुने मान्यता रहेछ । जयप्रकाश मल्लले राज्य यही कारणले गुमाउनुपरेको भाग्यवादी भाष्य यस चोकसँग जोडिएका छन् । मूलचोकको महिमा गाथा उत्तिकै स्मरणीय छन् । त्रिशूल, दसैँ, लोहन, मसान, न्हुला छेँ, वायु नामका चोकहरूका आफ्नै गाथा छन् । सारा कलासँग अनौठा कथाहरू जोडिए छन् ।

 

शासकको उत्पत्ति र समाप्तिका मात्रै होइन जनताका कथाव्यथा कति होलान् । तिनलाई कसले खोतल्ने ? यति विशाल कलाकृतिले भरिपूर्ण सम्पदास्थलभित्र दुई दर्जन कलाकार क्यानभासभित्र घोप्टिरहेको दृश्य देख्दा जो–कोहीलाई कुतकुति लाग्न सक्छ । उनीहरूको अभीष्टलाई कसरी विश्लेषण गर्ने ? जो केही थान क्यानभासमा अथाह मूर्त–अमूर्त कलाको प्रतिबिम्ब उतार्न खोज्दै छन् ।

 
त्यहाँ निषेधित स्थलहरूभित्र पनि अनगिन्ती मूर्त–अमूर्त कलाकृति छन् । कतिपय स्थलमा जनता विशेष दिन प्रवेश पाउँछन्, फोटो खिच्न पाउँदैन् । त्यस्ता केही स्थलमा कलाकार पसेका छन् । क्यानभासअघि घोप्टिएर बसेका छन् । प्राचीन पुस्ताका कलाकृति हेर्दै हराइरहेका छन् । कोही अमूर्त गाथा सुन्दै छन् । कुन कलाको कति प्रतिबिम्ब उतार्ने ? कुन पक्षमा किन कलाकारले काम गर्ने ? मन्थन गर्ने माहोल छैन । मोहनकालीचोकमै जति पनि मूर्ति छन् विष्णु–कालीसँग मात्रै सम्बन्धित, एक कलाकार भन्दै थिए, विश्वभर यस्ता मूर्तिहरू छैनन् । मल्लकालमा राजाहरूले तान्त्रिक विद्याका आधारमा राज गर्थे भनिन्छ । यसर्थ, प्राचीनकालमा नेपाल तन्त्र, मन्त्र र यन्त्रको मुलुक मानिएको होला । त्यसताका संसारमै निपूर्ण तान्त्रिक विद्याले सम्पन्न केन्द्र भूमि यही मोहनकालीचोक थियो ।

वरिष्ठ चित्रकार किरण मानन्धर 

काठमाडौंका मात्र नभई भक्तपुर, ललितपुर र कीर्तिपुर तीनवटै सहरका कालिगढको केन्द्र पनि यही दरबार देखिन्छ । जहाँ तीनवटै सहरहरूका नामका दरबार नै छन् । तान्त्रिक मोहनकालीचोकका ढुंगेधाराभित्र वरिपरि विष्णुको अवतारदेखि कृष्णका लीलाहरूसँग सम्बन्धित अचम्मका मूर्तिहरू छन् । पश्चिमपट्टि बन्द कोठामा कुर्सीमा बसेर घुँडामा हात राखेको पूरै कंकालको संसारमै देख्न नसकिने दक्षिणकालीको मूर्तिको चर्चा गर्दै थिए, अर्का कलाकार । तिनको टाउकातिर भैरव–कालीका करिब चार दर्जन मूर्ति अनि माथितिर वालपेन्टिङ । तान्त्रिक क्षेत्रका मूर्तिहरूमा कति मसिना बुटा कुँदिएका छन् । यति मिहीन काम गर्ने कलाकार को हुन् ? अत्तोपत्तो छैन । अति मिहीन ढंगले सानाभन्दा साना बुट्टा अति राम्ररी कुँदिएका छन् । हातहरूको संयोजन उस्तै राम्रो छ, एउटा मूर्तिमा । त्यसमा दैत्यलाई वध गरिरहेको देखिन्छ । उक्त एउटै मूर्तिमा कति धेरै हात खोपेर बनाइएका छन्, आश्चर्यचकित पार्ने गरी ।


सुन्दरीचोकको कालभैरवको काठ कुँदेर बनाइएको मूर्ति र तलेजु भवानी मदिर उत्तिकै उत्कृष्ट छ । एक कलाकारको शब्दमा, मन्दिरका मूल चारवटा ढोकाभित्र भ¥याङ भएर पिँधमा पुग्नुपर्छ, निकै तल । सर्वसाधारणको पहुँचभन्दा पर भएकाले भित्र के छ भन्ने कुरा रहस्यमय नै छन् । ती ढोका नवमीको दिनमा मात्रै खुल्छ । त्यस समय तलेजु भवानी मन्दिरभित्र हुँदैन, त्रिशूलचोकमा आसन बनाएर विश्राम गरी पूजा गर्न लगिँदोरहेछ । अनि मूलचोकभित्र स्वर्ण गेटमा राखेपछि त्रिशूल चोकमा बलिको काम सुरु हुन्छ । दसैँमा अर्नाजत्रा राँगा बलि दिँदा राँगाको रगतको छिर्का त्रिशूल चोकबाट मूलचोक (सोह्र हात परसम्म) पु¥याएर छ्याप्नुपर्ने चलनको कथा पनि सुनियो । किनकी मूलचोकमा बलि दिइन्न, तर बलिको ताजा रगत त्रिशूल चोकदेखि मूलचोकसम्म पु¥याउनुपर्ने भएर पानीका फोहराझैँ आलो रगत फालिन्छ भन्ने सुनेँ । तिथिअनुसार त्यहाँ बलि दिइँदोरहेछ । मूलचोकमा धेरै राम्रा टुँडाल छन् । मूल ढोका दायाँबायाँ अष्टमंगल पूर्ण कलश छन्, सिंहछापसहितका, अनौठा । त्यहाँ रगतको फोहोरा फालिदाका दृश्य कस्ता देखिएला, सम्झदै डरलाग्दा बिम्ब उभिन्छन् । जलाशय नारायण, नागदहन, नरसिंह अवतार उस्तै अनौठा छन् । 

महारानीहरू सती जाँदा छाडेका ऐतिहासिक गरगहना हेर्दा जीउ सिरिंग हुन्छ । मध्यकालीन वास्तुकला उम्दा छन् । हरेक सःझ्या–ढोका, निदाल–टुँडाल, आँगन–पिढी, चोटा–कोठा कलात्मक छन् । विदेशी सोधकर्ता एउटै इँटा नापजाँच गर्दै दिन बिताइरहेछन् ।


पञ्चमुखी हनुमानको मूर्ति भएको मन्दिर गाथा अर्को आश्चर्य हो । पूजारीले विधि बिराए भगवान्ले थप्पड–लात बर्साउँछ भन्छन् पुजारी बाजे । पुजारीले पनि मूर्तिलाई सीधा हेर्नै सक्दैनन् भन्ने सुनियो । कपडाले अनुहारमा ढाकेर मात्रै मूर्ति हेर्नुपर्छ भन्छन् । भित्र पस्न पाइन्न पुजारीबाहेक । सामान्य मानिस अलिकता भित्र पुग्नै नपाई लात–झापड भेट्छ भन्छन् । निर्माण गर्ने मानिस पनि भित्र पसेका छैन अरे । मसानचोकमा बरु पस्न सकिँदोरहेछ । यस्ता अनौठा थुप्रै कलाले थप कलाकार पर्खिबसेको भान भयो । 

 

शनिबारीय कला प्रदर्शनीमा आबद्ध कलाकार प्रत्येक शनिबार कुनै सम्पदा क्षेत्रमा पुग्दा रहेछन् । आफ्नै खर्चमा सम्पदाका चित्र कोर्दा रहेछन् । हनुमानढोका दरबारमा पनि उनीहरू चना–चिउरा खाजा आफ्नै खर्चले खाँदै थिए, क्यानभासमा कला भर्न कम्मर कसेर । तीन वर्षदेखि प्रत्येक शनिबार कतै न कतै सम्पदा क्षेत्र पुग्ने, स्वतःस्फूर्त कला सिर्जेर घर फर्कने उनीहरूलाई आदतै लागिसक्यो भन्छन् । एक हजारभन्दा बढी सम्पदासँग सम्बन्धित मूर्त–अमूर्त चित्रकला सिर्जिसकेपछि उनीहरू हनुमानढोका दरबारभित्र पसेका रहेछन् । अढाई दर्जन कलाकृति हनुमानढोका ग्यालरीमा छाडेर अघिल्ला पुस्ताका केही कलालाई निषेधित क्षेत्रभन्दा अलि वर आमजनमानससम्म ल्याउने चेष्टा गर्दै थिए, उनीहरू । यद्यपि, प्राचीन पुस्ताका अनगिन्ती सम्पदा निधिले थप कलाकार कुरिबसेकै छन् । भुइँमान्छेसम्म पुग्न थप कला अभियान माग गर्दै छन् ।