
जिन्दगीमा पहिलोपटक हुम्ला जाँदा हवाईजहाज चढियो । हिमाल माथि–माथि हुँदै हुम्ला त पुगियो, तर दुई हप्ता नपुग्दै कैलालीको चिसापानी आउनुपर्ने भयो । हिउँ पग्लेपछि हिल्सा जानु थियो, मुचु अनि लिमी उक्लिनु थियो । तर, सबै सपना अधुरै रह्यो । आजभन्दा करिब तीस वर्षअघि अर्थात् २०४८ साल फागुन १६ गतेबाट सुरु भएको सिमीकोटदेखि चिसापानीसम्मको पैदलयात्रा जिन्दगीको अविस्मरणीय हिँडाइ थियो मेरो । पैदलयात्राबारे पहिला हिँडेका प्रहरीहरूसँग जानकारी लियौँ । कसैले नौ दिन कसैले १० दिन लाग्छ भने । हुम्लामा विमानस्थल बनेपछि धेरै कर्मचारी एवं पहुँच हुने स्थानीय पनि जहाजबाटै आवतजावत गर्ने भए । पहिला त सबै पैदल नहिँडी सुख थिएन होला । कति दिन हिँडेर आवतजावत गरे होलान्, सरकारी कर्मचारी अनि प्रहरीहरू त्यो वेला ? त्यो अनुभव मैले नै सँगालेँ । मसँगै जान बर्दियाका टेकबहादुर सिसी र सुर्खेतका दिलबहादुर क्षत्री निस्किए ।
सिमीकोटबाट तेर्सिएर स्याम्नेको ओरालो झरेपछि आउने खार्पुनाथ नपुग्दै शिक्षक समन्तमणि आचार्य हामीसँग मिसिनुभयो । अब चारजनाको यात्रा अघि बढ्यो । कास्की घर भएको उहाँले लामै समय शिक्षण पेसा अपनाउनुभएको रहेछ । हामी हिँड्दै कर्णाली नदीको तीरमा पुग्यौँ । कर्णाली चीनको तिब्बतस्थित मानसरोवरबाट बगेर आएको हो । याङ्चु कटेपछि लाली गाउँ आयो अनि गोप्का, सुनाखडा हुँदै बेलुका छहारे भन्ने स्थानमा पुगियो । हामी अघि नै एक हुल बटुवाले ठाउँ ओगटिसकेका रहेछन् । गाउँ होइन, सहर हुने कुरै भएन, एक मात्र पहरामा ठडिएको झुप्रो, पसल या होटल मात्र पनि हामीलाई सहारा भयो । कर्णाली तीरको पहरामा अढेस लागेर बसेको वसन्त रावलको एक्लो होटलमा रात काटिने भयो । ओढ्ने ओछ्याउने हुने कुरै भएन । ज्याकेट र तौलियाको भरमा सबैजना पल्टियौँ । कर्णालीको सिरेटोले राम्ररी निदाउन के दिन्थ्योे र । कट्नु थियो कट्यो, पहिलो रात ।
बिहान उज्यालो नहुँदै हिसाब बुझाएर अघि लम्कियौँ । रिप भन्ने गाउँ आयो । दुल्ली भन्ने गाउँ आयो । थोरै दूरीमा सर्केगाड भन्ने गाउँ आयो । त्यहाँ हाईस्कुल रहेछ । जाडो बिदामा अन्य शिक्षक घर गए पनि एकजना शिक्षक एसएलसी दिनेलाई पढाएर बस्नुभएको रहेछ । बिहानको खाना त्यहीँ खायौँ । केही लम्किएपछि कल्पे भन्ने गाउँ आयो । ठूलो खोला मिसिने रहेछ यहीँनेर । सलीसल्लाको कहालीलाग्दो भिर आयो आङ सिरिङ्ग हुने खालको । छङगाछुर भिरमा तल कर्णाली हेर्दा त आँखै तिर्मिराउने खालको । बाटो बनाउने सिलसिलामा विस्फोटक पदार्थ पड्काउने जोखिमयुक्त कार्यमा खटिँदा एकजना प्रहरी जवानको निधन भएको रहेछ त्यहाँ । कहाँ हो कहाँको यति अनकन्टार भिरमा देशसेवा गर्दागर्दै प्राणोत्सर्ग गर्ने प्रहरी भाइलाई मनमनै श्रद्धाञ्जली दिएँ ।
पारि मुगु जिल्ला हो भन्ने बताउनुभयो समन्त सरले । न्यारघाट आयो । झोलुंगे पुल बन्न लागेको रहेछ । थकाइ त कति लाग्यो कति ! भोकको सीमा भएन । केही खाऊँ भने भेटिने हैन । उता परको मोड पार गर्यो, अब त केही आउला कि भन्यो फेरि उस्तै कुइनेटो आउँछ । बेलुका हामी हुम्लाकै तुम्च भन्ने गाउँ पुग्यौँ । वास बस्नैपर्ने भयो तर नौला मान्ठा देखेर असजिलो माने गाउँलेहरूले । मुस्किलले एउटा घरमा बास पाइयो । सिमीकोट छाडेको तेस्रो दिन भयो । मकै भन्ने गाउँ आयो । हाम्रो मुख्य बालीको सम्मानमा राखिएको एउटै गाउँ होला देशमा सायद, मकै । । त्यसपछि हामी गल्फा पुग्यौँ । बिहानको खाना त्यहीँ खाने विचार गरियो ।
आज हामीले हुम्ला जिल्ला छाड्छौँ रे भन्ने जानकारी भयो । मुगु कर्णाली मूल कर्णालीमा मिसिएर अझ ठूलो हुँदै गयोे । यतैबाट लागेमा गमगढी अनि सुन्दर रारा ताल जान सकिने बुझियो । मध्याह्नमा हुम्लाको अन्तिम गाउँ मैला कवाडी पुगियो । त्यहाँ इलाका प्रहरी कार्यालय रहेछ । प्रहरी देखेपछि यसै रमाइलो लाग्ने नै भयो प्रहरीलाई । कति विकट स्थानमा प्रहरी कार्यालय ! न यातायात छ, न अरू सुविधा नै । प्रहरीले यसरी नै दुःख गरेर सरकारको प्रतिनिधित्व गरेको छ सर्वत्र भन्ने लाग्यो । वारिपारि माथि कता हो कता थुम्का अनि भिरमा बसेका गाउँका आकृतिहरू । लेकमा हिउँले नढाक्दा सिमीकोट जान यतैबाट सोझो पर्छ भन्ने जानकारी गराए प्रहरी दाजुभाइहरूले । दिन अझै केही बाँकी भएकाले अघि बढ्न उचित ठानियो । अब हामी बाजुरा जिल्लामा हिँड्न थाल्यौँ । जिन्दगीले बाजुरा टेक्न पनि लेखेको रहेछ । यति मिठो नाम अँगालेर पनि कति दुःखको जीवन बाँचरिहेको छ है बाजुराले जस्तो लाग्यो । असजिलो बाटो त नभन्दै आइगयो । हातगोडा दुवै टेकेर पो छिचोल्नुपर्ने रहेछ । तल कर्णालीको डरलाग्दो सुसाहट, पाइलै बढाउन नसकिने कहाली लाग्ने भिर । हैन कसरी हिँड्दा हुन् भारी बोकेर बटुवाहरू ? कतिको लडेर ज्यान गयो होला है ?
तेस्रो दिनको साँझ हामी साँखाचौर भन्ने स्थानमा पुग्यौँ । केही गोठजस्ता घर र केही मानिस भेटिए । वासको बारेमा सोधपुछ गरियो । एकजना बुढीआमा रहिछन् मेरै हजुरआमाजस्ती । चौथो बिहान बुढीआमालाई गाँसवासको भुक्तानी गरेर बिदा भयौँ । अब यो जिन्दगीमा यो बाटो फेरि कहिले पो हिँडुँला र अनि ती बुढीआमासँग भेट फेरि कसरी पो होला र ! यस्तै सोचेर त्यहाँबाट बिदा भइयो । अँध्यारोमै बाटो लागिएको कारणले केहीबेर बाटो भुलिएछ । फेरि फर्केर मूलबाटो भेट्टायौँ । अब पारिको मुगु पनि सकिन लागेको थाहा पाइयो । हामी बोल्डिग, सुकाढिक भएर बिहान झुँगलाको चौर पुग्यौँ । अब कर्णालीको वारि पनि बाजुरा पारि पनि बाजुरा रहेछ । हामीले चौरमा रहेको पसलमा खाना खाने व्यवस्था मिलायौँ ।
हामी राति बल्ल लामोओडार भन्ने स्थानमा पुग्यौँ । खाना खाएर कालीकोट र बाजुराको सीमामा रहेको लामोओडारको ओडारमै सुतियो । पाँचौँ दिनको बिहानै अघि लम्कियौँ हामी । निकै हिँडेपछि कालीकोटको थिर्पु आयो । मिलेको बस्ती रहेछ । हाइस्कुल पनि देखियो । एकजना रसिली बहिनीको पसलमा चिया पियौँ । तिनको मुस्कान कर्णालीको पानीजस्तै कञ्चन थियो र गालाको लाली हुम्लाको स्याउजस्तै रातो । एक प्रहरी चौकी पनि रहेछ थिर्पुमा । अब रास्कोट पुगियो । निकै हिँड्दा पनि खाना खाने ठाउँ भेट्न मुस्किल भयो । बाटोमा नुनतेल, सामान खरिद गरेर आउँदै गरेका बटुवाहरू भेटिन थाले ।
असजिलो बाटो त नभन्दै आइगयो । हातगोडा दुवै टेकेर पो छिचोल्नुपर्ने रहेछ । तल कर्णालीको डरलाग्दो सुसाहट, पाइलै बढाउन नसकिने कहालीलाग्ने भिर । हैन, कसरी हिँड्दा हुन् भारी बोकेर बटुवाहरू ? कतिको लडेर ज्यान गयो होला है ?
मध्याह्नमा रेङिगले आइपुगियो । कालीकोटको सदरमुकाम मान्म खाँडचक्र जाने बाटो त्यतैबाट रहेछ । हामी पारितर्फ माथि रहेको मान्म भएर जाने कि के गर्ने भन्नेमा भयौँ । तर, लमतन्न कर्णालीकै धित नमरेर हो या के हो तीरैतीर लम्कने सल्लाह भयो । कालीकोटमा झन् दुःख रहेछ । हुम्ला, बाजुरामा जस्तो विमानस्थल पनि यहाँ रहेनछ । बेलुका लाली पुगेर वास बसियो । हुम्ला, बाजुरा, मुगुतिरबाट जाडो लागेपछि भेडाबाख्रा चराउँदै ल्याएर चिसापानी, कटाँसेसम्म पु¥याई बिस्तारै माथि उकाल्ने चलन सदियौँदेखि चलिरहेको छ ।
आज सायद छैटौँ दिन भयो कर्णालीको तल–तल झरेको । हामीले बिहानै बाटो ततायौँ । जुम्लाबाट बग्दै आएको तिला नदी देखियो पारि । लालुखुलालु पुगियो । प्रहरी चौकी रहेछ बाटैमा । प्रहरी देख्नासाथ अपनत्व लागिहाल्ने भयो । केही कुराकानी गरियो प्रहरीसँग । मधेस झरेर वर्षभरिलाई चाहिने सामान बोकेर पहाड लम्किँदै गरेका बटुवाहरू बाटैभरि भेटिए । यसरी नै चल्दै आएको होला जिन्दगी । हामी हल्का झोला बोक्नेको गन्तव्य अझै आएको छैन । आउँदा पनि स्थानीय उत्पादन, भाँडाकुँडासँगै खानेकुरा बोक्नैपर्यो । फर्किंदा किनमेल गरेको भारी बोकेर उकालो लाग्ने कति दिनमा घरमा पुग्दा हुन् जस्तो लाग्यो । हुन त हिमाल, पहाड र तराई भनेर पूर्व–पश्चिमै फैलिएको नेपालमा यातायातको पहुँच निकट नहुन्जेल सबैलाई यसरी नै झर्नुपर्ने नियति थियो नै । मेरै हजुरबुबापुस्ता ठोरीमा गएर नुनतेल गर्नुभएको कहानी ताजै छ अझै ।
केहीबेरमा शान्तिघाट आयो । अब हामीले कालीकोट छाडेर अछाम जिल्लामा पाइला टेक्यौँ । पारि भने दैलेख जिल्ला सुरु भइसकेछ । कर्णाली हुंकार अलि मत्थर हुँदै गएजस्तो लाग्यो । आयो अब भानाकोट । कति रमणीय बस्ती रहेछ अछामको । मानिसहरू जो साक्षात्कार भए आत्मीय थिए, मायालु थिए । सबैमा दुःख त थियो, तर पनि मन कर्णालीजस्तै सङ्लो भएको आभास भयो ।
अछामको चिल्ताडा पुगियो । खाना त्यहीँ खाने भयौँ । आज अलि खुसी लाग्यो । समथरिलो फाँट अनि बस्ती, कर्णाली पनि सौम्य भएर बगेकी, फराकिलो स्थान भएकाले अब त आउन लाग्यो कि जस्तो लाग्यो । टोड्केसाल भन्ने स्थान आयो । बेलुका हुन लागेको बखत तुल्ता भन्ने गाउँ पुगियो । कर्णालीको ढिकमा बसेको, रातो माटोले लिपिएको, ढुंगाको छाना भएको रमणीय गाउँ रहेछ तुल्ता त । कति राम्रो नाम तुल्ता, अर्थ के थियो कुन्नि ?
बेलुका दाडे पुग्यौँ । आजको वास यहीँ हुने भयो । हामीले होटल साहुजीलाई हिँडाइले जिउ धेरै थाकेकाले थकाइ मेट्ने झोल पाइन्छ कि भनेर जिज्ञासा राख्यौँ । प्रहरीले अछाममा रक्सी बेच्न कडाइ गरेको, अछामलाई ड्राइ एरिया बनाएकाले पाउन गाह्रो छ भने । तैपनि खाने भए पारि दैलेख गएर व्यवस्था गर्छु भने । बुढा त रात परेको अवस्थामा हाम्रो थकाइ मेट्न दैलेख तर्ने भए । एकातिर प्रहरीले नै कडाइ गरेको छ, अर्कोतिर त्यस्तै प्रहरीलाई नभई भएको छैन के भन्नु ! कता प्रहरीलाई दारु ल्याउँदा डुंगा पल्टेर अवगाल आउने हो कि भनेर बुढा नआउन्जेल चिन्ता पनि लाग्यो ।
सातौँ दिनको बिहान दाडेमा दैलेखबाट डुंगा तरेर आएको दारुले निद्राले भन्दा पहिला छाडेछ कि क्या हो, उठियो । एक घन्टापश्चात् असारा आयो ।
हामी चिउराकोटको उकालो लाग्यौँ । थुम्कामा चिया पिइयो । यो रहफ रहेछ अछामको । कर्णाली निकै फेरो परेको घुमेर । ओरालो झरेपछि असुराघारी पुगियो । एउटा होटल रहेछ घारीमै । दही, मोहीसहितको शाकाहारी खाना पाइने । फेरि छुटेको कर्णालीसँग जम्काभेट भइगयो । सुर्खेत टेकियो, जंगाला पुगियो । ढुकानेखोलो भन्ने स्थानमा केहीबेर विश्राम गरेर हामी उकालो लाग्यो । बाँसपानीको उकालो कहाली नै लाग्ने तालको पो रहेछ । उक्लिएपछि त समथरिलो तराईजस्तो बस्ती पो देख्न पाइयो, हैन आउन लागेछ कि के हो भनेर औधी खुसी भयो मन । बाँसपानीको उकालोजत्तिकै ओरालो झरेपछि सुर्खेतको गुटु बजार पुगियो ।
आठौँ दिनको बिहान झिसमिसेमै बाटो ततायौँ । भेरी नदी भेटियो । भेरीमा डुंगा लाग्ने रहेछ, पारि जान । भेरी तरेपछि पनि सुर्खेत जिल्लै रहेछ । बिहानपख नै तातापानी पुगियो । अबको कर्णालीमा भेरी तथा सेतीको समिश्रण हुने रहेछ । हुम्ला खार्पुनाथमा देखेको कर्णालीको तुलनामा समुन्द्रैजत्रो । सुर्खेत र कैलाली जोड्ने लामो झोलुंगे पुल तरेर हामी कैलाली जिल्ला टेक्यौँ । ठीक एक बजे कर्णालीको चिसापानी आइयो । मोटर चढ्न पाइने भयो भनेर खुसी लाग्यो । अझ खुसी आठौँ दिनसम्मको लगातार पैदलयात्रा सकुशल गरेर हामी चिसापानी निस्किन सक्यौँ । कर्णाली फेरि तर्नुपर्ने रहेछ । कैलालीबाट बर्दिया आइयो । मोटर समातेर नेपालगन्जमा उत्रियौँ । समन्त सर पनि छुट्टिनुभयो, पोखरा जाने बस समात्नका लागि ।
आजभन्दा करिब तीस वर्षअघि अर्थात् २०४८ साल फागुन १६ गतेबाट सुरु भएको सिमीकोटदेखि चिसापानीसम्मको पैदलयात्रा जिन्दगीको अविस्मरणीय हिँडाइ थियो मेरो । यात्राका साथी समन्तमणि आचार्य, दिलबहादुर, टेकबहादुर थिए । समन्त सर जिल्ला शिक्षा अधिकारी पनि हुनुभयो । सायद अझै सेवामै हुनुहोला । दिल र टेकले अवकाश पाए अघि नै । म पनि तीस वर्ष सुरक्षा निकायमा सेवा गरेर निवृत्त भएँ तर पनि तीस वर्षअघिको त्यो लामो पैदलयात्रा आज पनि झलझली मनमा आइरहन्छ ।
अहिले त धेरै स्थानमा मोटर चल्न थाल्यो । कर्णालीमै पनि ठाउँ–ठाउँमा पक्की पुल बनिसकेका छन् । कालीकोट, बाजुरा भएर हुम्लाको कवाडी हुँदै बाटो अघि बढिसकेको छ । सायद अब केही वर्षमा नेपाली सेनाले बाटो पूरा गर्नेछ, जसले त्यहाँको जनजीवनमा ठूलो सहजता उत्पन्न गर्नेछ । चीनको सीमा हिल्सातिरबाट सडक आए पनि देशकै मूल भागबाट जोडिने गरी सिमीकोट सडक पुगेपछि उक्त जिल्लाले धेरै सुविधा प्राप्त गर्ने नै छ । जय कर्णाली !
(लेखक सशस्त्र प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक हुन्)