• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कमल मादेन
२०७८ पौष २४ शनिबार ०६:४५:००
पर्यावरण

हङ्रायोको वैज्ञानिक अभिलेख

२०७८ पौष २४ शनिबार ०६:४५:००
कमल मादेन

पंक्तिकारले नयाँ पत्रिका दैनिकको ८ पुस २०७८ संस्करणमा ‘अनुसन्धानविनाको आरोप कहिलेसम्म ?’ शीर्षकमा लेख लेखेको थियो । लेखमा मूलतः नेपालमा हङ्रायो सम्बद्ध सामग्रीबारे पनि चर्चा गरिएको थियो । लेख वन्यजन्तु अध्ययन–अनुसन्धानमा पनि विशषेतः चरा अध्ययन–अनुसन्धान तथा अवलोकनकर्ता माझ निकै चर्चा–परिचर्चा भयो । धेरैको मत नेपालमा हङ्रायो लोप भयो भनिएको सामग्री प्रशस्त अध्ययन–अनुसन्धान भएर नै नेपालबाट लोप भएको लेखिएको हुनुपर्छ भन्ने देखियो । किनभने यो जानकारी नेपालमा चरा अध्ययन–अनुसन्धानको क्षेत्रमा उपल्लो तहको योगदान गर्नेबाट लेखिएको थियो । तर, नेपालमा हङ्रायो सम्भवतः लोप भयो भनेर लेख्नु सही थिएन । सारमा भन्नुपर्दा, इलाम, पाँचथर, ताप्लेजुङको केही ठाउँमा चरा अवलोकन र पूर्वप्रकाशित सामग्रीकै आधारमा मात्र यो निष्कर्षमा पुग्नु हुँदैनथ्यो । किनभने ती स्थानमा यो चराका निम्ति बृहत् खोज अनुसन्धान गरिएको सामग्री अहिलेसम्म प्रकाशित भएको देखिन्न । 


मैले उक्त लेखमा हङ्रायोको नमुना नेपालबाट हड्सनले मात्र होइन, अरूले पनि संकलन गरेर १९औँ शताब्दीमा लगेका थिए भन्ने लेखेको थिएँ । नेपालबाट हङ्रायो नमुना हड्सनबाहेक अरूले संकलन नै गरेको छैन भन्ने प्रतिक्रिया धेरै नै आए । धेरैजसो चरा अध्येयतालाई हङ्रायो हर्नविल होइन भन्ने पनि थाहा नभएको पाइयो । उनीहरू हर्नविल नै हो भन्छन् यसलाई । बरु, स्थानीय बासिन्दा स्पष्ट छन् । उनीहरू भन्छन्– यसको टुँडो हर्नविल वा धनेशजस्तो भए पनि ठुँडोमाथि धनेशको जस्तो ठूँडो जोगाउने हेल्मेट हुँदैन (हेर्नुहोस तस्बिर) । भ्रम स्पष्ट पार्न हङ्रायोबारे पुनः लेख्नुपर्ने आवश्यकता ठानेँ । पहिलो, हङ्रायो हर्नविल होइन । दोस्रो, पर्याप्त स्थलगत अध्ययन नगरी हङ्रायो नेपालबाट लोप भयो भनी लेखियो । तेस्रो, हङ्रायो नमुना हड्सनसहित अन्यले पनि संकलन गरेका थिए ।


वाइल्डलाइफ फोटोग्राफर अभिषेक दासलगायतले भारतस्थित महानन्द वाइल्डलाइफ स्याङ्चुरीमा हङ्रायोको तस्बिर प्रशस्तै खिचेका छन् । ती तस्बिर विश्वभर नै लोकप्रिय रहेको इबर्डडटओआरजीमा उपलब्ध छन् । महानन्द वाइल्डलाइफ स्याङ्चुरी सिलिगुडीको सुकुना बजारनजिकै छ । जुन स्थान नेपालको सीमाबाट लगभग २५ किलोमिटर मात्रै टाढा रहेको छ । यही स्याङ्चुरीको उत्तरतर्फको लाटपन्चर गाउँमा हङ्रायोको तस्बिर सन् २००५ मा खिचिएको जानकारी ‘इन्डियन बर्डस’ नामक जर्नल (२००६)मा उल्लेख छ । अभिषेक दासका अनुसार लाटपन्चरमा २०२१ अप्रिलमा हङ्रायोको गुँड पनि भेटिएको थियो । जब कि यता नेपालमा भने चराविज्ञले लेखेका पुस्तक र लेखमा यो चरा नेपालमा हड्सनपछि कसैले नभेटेको जानकारी छ । अचम्म, त्यति नजिकबाट नेपालमा त्यो चरा आउँदैनथे भन्न सकिने कुनै आधार नै छैन । इलामको सूर्योदय नगरपालिका– १ स्थित सिमधापमा २१ डिसेम्बर २०२१ मा झापाका वाइल्डलाइफ फोटोग्राफर देवेन खरेलले खिचेको हङ्रायोको तस्बिरसहित जानकारी पत्रपत्रिकामा प्रकाशित आए । सूर्योदयको दक्षिण–पूर्वी सीमाबाट लाटपन्चर करिब १९ किलोमिटरको हवाई दूरीमा छ । गत डिसेम्बरमै इलामको अर्को स्थानमा पनि यो चराको तस्बिर खिचिएको छ ।


इलामको जंगलमा हङ्रायो पाइने जानकारी ‘द इस्ट फाउन्डेसन’ सम्बद्ध व्यक्तिहरूले ५/६ वर्षअघि नै थाहा पाएर सन्दकपुरका कलम मुखियालाई यसको तस्बिर खिच्न क्यामरासमेत उपलब्ध गराएका थिए । यदाकदा हङ्रायो देखे पनि लेन्स छोटो भएका कारण यसको तस्बिर खिच्न भने सकेनन् । उनका अनुसार विसं. २०३० को दशकमा सन्दकपुरमा हङ्रायो निकै देखिन्थ्यो । पूर्वी नेपालका पहाडी बासिन्दाका निम्ति हङ्रायो शब्द नयाँ होइन । यो चराबारे कैयन मिथक प्रचलित छन् । लिम्बू समुदायमा साना केटाकेटी रोइरहे ‘मे हाभे, हङ्रायोने केजा (रोयो भने हङ्रायोले खान्छ)’ भन्छन् । भातको गाँस ठूलो निल्यो भने ‘कस्तो हङ्रायोले पाङ्ग्रो निलेजस्तो’ भनिन्छ । गत दुई सातायता इलामका वनजंगल चहार्ने क्रममा पंक्तिकारले थुप्रै स्थानीयसँग इलामामा हङ्रायो छ, छैन भनेर सोध्दै नेपालमा हङ्रायो र यसको अभिलेखका बारेमा चर्चा गर्‍यो । सूयोदय नगरपालिका– १ वडाध्यक्ष अमृत पाण्डेयले र स्थानीय बासिन्दाहरूले त्यही ठाउँमा हङ्रायो देखिएको बताए । उनीहरूले यो चरा पहिलेदेखि नै यता पाइन्छ, चरा अध्ययन–अनुसन्धानकर्ताहरूले जंगल नघुमीकनै लेख्दा रहेछन् भन्ने प्रतिक्रिया दिए । यसले नेपालमा हङ्रायो लोप भएको थिएन, पाइने स्थानहरूमा चरा अध्ययन तथा अवलोकनकर्ताहरूबाट गहन खोज भएकै रहेनछ भन्नेतर्फ संकेत गर्छ ।

 

हङ्रायो हर्नविल होइन
ब्राइन हड्सनले हङ्रायो वैज्ञानिक जगत्का निम्ति नेपालबाट सन् १८२९ मा पत्ता लगाएका हुन् । उनले यसको नेपाली नाम होमराई लेखे । सम्भवतः हङ्रायोलाई होमराई भनेको सुने । यसको पोथी कालो रंगको, ठुँडो हल्का पहेँलोमा केही कालो धर्सा, आँखावरिपरि नीलो र घाँटीमा बोकेदारीझैँ चुस्स हल्का रातो–खैरो गाँडजस्तो आकृति देखिन्छ । भाले हङ्रायोको भने घाँटी, टाउको र छातीमुनिको भाग रातोरातो–खैरो रंगको हुन्छ । जुन रंगलाई रुफस–कलर भनिन्छ । घाँटी रेडिस–ब्राउन भएको अर्थमा रुफस–नेक्ड हर्नविल भनियो यसलाई । यो मानेमा रुफस–नेक्ड शब्द चयन सही छ तर, त्यसपछि हर्नविल शब्दको प्रयोग भने गलत हो ।  


हर्न र विल दुई पृथक् शब्द हुन् । हर्नले सिङ र विलले ठुँडो अथ्र्याउँछ । ठुँडोमाथि टाउकोतिर सिङजस्तो आकृति (क्यास्क)का कारण हर्नविल भनिएको हो । कुनैको क्यास्क सिङजस्तो र कुनैको सानो चुस्स मात्र देखिन्छ । यसलाई अन्दाजले चिन्नुपर्छ । सुमात्रा र बर्नियो द्वीपमा पाइने हर्नविल (वैज्ञानिक नाम बुुसेरोस राइनोसेरोस)मा क्यास्क सिङजस्तो ठूलै आकृतिको हुन्छ । केहीको क्यास्कचाहिँ ठुँडोजत्तिकै लामो र समानान्तर रहेको हुन्छ । अफ्रिकामा पाइने बाइक्यानेट्स जातिअन्तर्गतका हर्नविलको क्यास्कको कारण ठुँडो निकै मोटो, भद्दा देखिन्छ । 

इलामको जंगलमा हङ्रायो पाइने जानकारी ‘द इस्ट फाउन्डेसन’ सम्बद्ध व्यक्तिहरूले ५–६ वर्षअघि नै थाहा पाएर सन्दकपुरका कलम मुखियालाई यसको तस्बिर खिच्न क्यामेरासमेत उपलब्ध गराएका थिए । यदाकदा हङ्रायो देखे पनि लेन्स छोटो भएका कारण यसको तस्बिर खिच्न भने सकेनन् ।


हर्नविलमा बाहिरबाट चिन्न सकिने हर्नबाहेक अन्य दुई आन्तरिक संरचना पनि हुन्छन् । एउटा सजिलै थाहा पाउन सकिने मिर्गौलाको आकृति हो । सम्पूर्ण चराको मिर्गाैला तीन खण्डमा विभाजित हुन्छ । तर, हर्नविलको मिर्गाैला मात्र दुई खण्डको हुन्छ । यस्तै, हर्नविलमा अन्य चरामा नहुने भिन्नता घाँटीको हाँड पनि हो । चराको घाँटीको सबभन्दा माथिको हाडलाई एट्लस र त्यसमुनिको भागलाई एक्सिस भनिन्छ । हर्नविलका दुवै हाड जोडिएका हुन्छन् । यस्तो अन्य कुनै चरामा पनि हुँदैन । यी दुई हाड जोडिएका कारण हर्नविलको ठुँडो जतिसुकै गहुँगो भए पनि घाँटीले ओजन थामेको हुनुपर्छ । हङ्रायो हर्नविल नभएपछि यसको मिर्गाैलाको स्वरूप र घाँटीको हाड हर्नविलभन्दा फरक हुनुपर्छ । 

 

नेपाल अभिलेख
हर्नविलको स्वरूप जे–जस्तो भए पनि तिनीहरू सबै एकै परिवार बुसेरोटिडीअन्तर्गत समावेश छन् । यो परिवारका जम्मा १४ जातिअन्तर्गत अफ्रिकामा २३ र एसियामा ३१ प्रजाति छन् । नेपालमा तीन जातिअन्तर्गत इन्डियन ग्रे हर्नविल, ओराइन्टल पाइट हर्नविल र ग्रेट हर्नविल छन् । हड्सनले हङ्रायोको वैज्ञानिक नाम बुसेरोज निपालेन्सिस् राखे । बुसेरोज जाति बुसेरोटिडी परिवारमा पर्छ । यो परिवारअन्तर्गत चराको माथिल्लो ठुँडोमा स्पष्ट क्यास्क हुन्छ । हङ्रायोमा क्यास्क हुँदैन । हड्सनले हङ्रायोको ठुँडोमाथि क्यास्क नै वास्ता नगरी बुसेरोज जातिअन्तर्गतको नयाँ चरा मानेर नामकरण गरिदिए । यसले हड्सनमा बुसेरोटिडी परिवारको मूलभूत स्वरूप नै हेक्का नभएको बुझिन्छ । जोह्न इडवार्ड ग्रेले नेपाल र तिब्बतबाट हड्सनले संकलन गरेका स्तनधारी र चराको क्याटलग बनाए । त्यो क्याटलग सन् १८४४ मा प्रकाशित भयो । ग्रेले उक्त क्याटलगमा हङ्रायोको वैज्ञानिक नाम एसेरोज निपालेन्सिस् बनाइदिए । एसेरोज ¥याम्फस्टिडी परिवारअन्तर्गतको एक जाति हो । नेपालमा यो परिवारको अन्य चरा पाइँदैन । 

 

नेपालको चरासम्बन्धी लेखिएका पुस्तक तथा लेखमा हड्सनबाहेक अन्यले नेपालबाट हङ्रायोको नमुना संकलन गरेका छैनन् भन्ने लेखिएको छ । तर, हड्सनपछि पनि नेपालबाट हङ्रायोको नमुना संकलन भएको अभिलेख भेटिन्छ । सन् २००१ मा प्रकाशित एनजे कोलार र अन्य सम्पादित ‘थ्रेटेन्ड बर्डस अफ एसिया’ पुस्तकमा यो चराबारे (पृष्ठ १८३८, १८३९ र १८४४ मा) चर्चा छ । पुस्तकका अनुसार, नेपालबाट एक नमुना सन् १८५० ताका पनि संकलन भएको रहेछ । त्यो नमुना बेल्जियमस्थित आइआरएसएनबी संग्रहालयमा रहेको जनाइएको छ । फ्र्यान्क बेइली भन्ने व्यक्तिले त्यो नमुना नेपालको कुन भागबाट संकलन गरेका हुन्, त्यो भने खुलाइएको छैन । यस्तै, नेपालबाट संकलन भएका अन्य नमुना नेदरल्यान्ड र अस्ट्रियामा पनि संग्रहित छन् भन्ने जानकारी छ । 

 

हुकर र अन्य
बेलायतका महान् वनस्पति अन्वेषक जोसेफ डाल्टन हुकर सन् १८४८ को नोभेम्बर महिनामा इलामबाट ताप्लेजुङको ओलाङचुङगोलातर्फ जाँदै थिए । तिनले लेखेको ‘हिमालयन जर्नल्स’, भाग–१ पुस्तकको एकठाउँ (पृ.१७७)मा ...फुल अफ हर्न–विल्स (बुसेरोज), अ बर्ड रिजम्बलिङ द टुकन (हड्सनले जंगलमा प्रशस्त संख्यामा हर्नविल देखेछन्, तर त्यसको ठुँडोचाहिँ टुकनको जस्तो रहेछ) भनी लेखेका छन् । टुकनको स्वरूप काटीकुटी हर्नविलजस्तो देखिन्छ । दक्षिण, मध्य तथा उत्तर अमेरिकामा पाइने टुकन समूहको चरामा क्यास्क हुँदैन । बरु हुकरले उक्त चराको स्वरूप ठीक ठम्याएका थिए । तर, यसलाई उनले पनि बुसेरोज जातिअन्तर्गतको भन्ठाने । त्यसमा चाहिँ हुकर पनि चुके । 


बेलायतमा सन् १९११ मा हाउस अफ कमन्समा निर्वाचित भएर छोटो अवधिका निम्ति मन्त्रीसमेत भएका हर्बट स्टेवेन्सले सन् १९१२ मा बेलायतको ह्यान्कक् म्युजियमका निम्ति ‘नोटस् अन बर्डस् रेकर्डेड इन नेपाल’ शीर्षकको एक अध्ययन प्रतिवेदन तयार गरेका थिए । उनले सिक्किमका चरामा उल्लेख्य अध्ययन गरी सन् १९२३÷१९२५ ताका ‘बम्बई न्याचुरल हिस्टोरी’ जर्नलमा सातवटा लेखै लेखेका छन् । उनैले सन् १९२२ मा नेपालमा हङ्रायोको गुँड पाइन्छ भनी उल्लेख गरेका थिए, तर ठाउँ उल्लेख छैन । 


अब चर्चा गरौँ, हङ्रायोको विश्वव्यापी अवस्थाबारे । आइयुसिएनअनुसार समुद्री सतहबाट करिब ३००–२,५०० मिटर भूसतह उचाइसम्मको चौडापाते जंगलमा रहने यो चरा दक्षिण र दक्षिण–पूर्वी एसियामा मात्र पाइन्छ । यसको अवस्था लोपोन्मुख छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत फरेस्ट रिसर्च एन्ड सर्भे विभागले सन् २०१८ मा प्रकाशित गरेको ‘फरेस्ट कभर म्याप्स अफ लोकल लेभल्स (७५३) अफ नेपाल’ शीर्षकको पुस्तकअनुसार भारतसँग सिमाना जोडिएको इलाम जिल्लाका चार पालिका रोङ, सूर्योदय, माइजोग्माई र सन्दकपुरमा जंंगल ३९७.३५ वर्ग किलोमिटर छ । त्यो जंगलको अधिकांशजसो हिस्सा चौडापाते जंगल हो ।

 

देवेन खरेलबाट सोही जंगलमा खिचिएको हङ्रायोकोे जानकारी राष्ट्रिय मिडियामा आइसकेको छ । नेपालमा वन्यजन्तुको सूची, नमुना संकलन तथा देखेका भरमा मात्र नभई सुनेका आधारमा पनि तयार गरिएका छन् । जस्तो, नेपालमा जंगली याक अध्ययन अनुसन्धानकर्ताले सन् २०१४ भन्दाअघि कहिल्यै देखेकै थिएनन् । उपल्लो मुस्ताङका बासिन्दाले भनेकै आधारमा जंगली याक नेपालमा पाइन्छ भनी सूचीकृत मात्र गरिएन, ऐनमा संरक्षित वन्यजन्तु नै मानिएको छ । नेपालको धेरैजसो चरा प्रजाति देखेकै भरमा सूचीकृत गरिएका हुन् । यसबाट भन्नैपर्छ कि केही सिनियर विज्ञले देखेको वा सुनेको भरमा वन्यजन्तु नेपालमा पाइन्छ भनेर राज्यकै निकाय तथा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट मान्यता पाउने तर अन्य अनुसन्धानदाता तथा देवेन खरेलजस्तो व्यक्तिबाट खिचिएका तस्बिरउपरचाहिँ अनावश्यक चर्चा–परिचर्चा गरिरहन किमार्थ शोभाजनक होइन । 

 

जे होस्, देवेन खरेलले नेपालमा हङ्रायो पाइन्छ भन्ने इलामबाट पुष्टि गरेका छन् । यसलाई जोगाउन स्थानीय बासिन्दालाई यो कस्तो चरा हो र यसलाई कसरी जोगाउन सकिन्छ भन्ने बुझाउन सक्नुपर्छ । यो चरा पाइने सम्भावित ठाउँमा बृहत् खोज गरिनुपर्छ । इलामबाहेक पाँचथर, ताप्लेजुङका जंगलमा पनि पाइनसक्छ यो चरा । यसको दिगो संरक्षणका निम्ति स्थानीय, प्रदेश तथा केन्द्रीय तहबाट कार्यक्रम तर्जुमा गर्नुपर्छ । यसलाई पर्या–पर्यटनसँग जोडेर आर्थिक उपार्जनको माध्यम बनाउनुपर्छ ।