पुस महिनाको पहिलो साता अधिवक्ता यमुनासँग अनामनगरको एउटा खाजाघरमा भेट भयो । उनी पत्रिका पढ्दै थिइन् । २७ वसन्त पार गरिसकेकी हँसिली, मृदुभाषी यमुनाले पहिला आफूलाई अधिवक्ता बनाउने आमाको कथा सुरु गरिन् । उनी त मुस्कुराउँदै आमाको कथा र आफ्ना संघर्षका दिन सुनाउँदै थिइन्, तर हामी सुन्नेहरू भने हाँसिरहेका थिएनौँ, एकअर्कामा आँसु लुकाउन खाजा पसलका भित्ताहरूमा आँखा डुलाइरहेका थियौँ ।पश्चिम रुकुमको फलामेढुंगा गाउँबाट तल सानी भेरी सुसाइरहेको सुनिन्छ । गाउँको ठीक माथि छ– सिस्ने हिमाल । रनवनले भरिएको एउटा सुन्दर गाउँ । प्रकृतिले त सुन्दर बनाइदियो, तर मान्छेले गाउँलाई जातको आधारमा विभाजन गर्यो ।
सबैभन्दा माथि दमाईं डेरा । त्यसपछि सार्की डेरा अनि कामी डेरा । बीचमा मगरको दुई घर । अनि सबैभन्दा धेरै अन्न फल्ने समथर ठाउँमा खड्का गाउँ र बाहुन चौर । त्योभन्दा मुनि सानी भेरी र मुगु खोलाको किनारतिर ओडारमा बस्ने बादीहरू । दलितका घरहरूलाई डेरा भनियो । उच्च भनिएका जातका मानिसहरू बस्ने ठाउँलाई गाउँ भनियो । त्यही कामी डेरामा हुर्किइन् यमकुमारी ददेल ‘यमुना’ । उनी दलित समुदायबाट रुकुमकै पहिलो अधिवक्ता हुन् । दुर्गम, गरिब र दलित परिवारमा जन्मिएकी यमुना कसरी अधिवक्ता बनिन् ? उनको संघर्ष–यात्रा सुरु गर्नुअघि उनकी आमाको कथा सुनौँ ।
संघर्षको पहिलो अध्याय
यमुनाकी आमाको नाम अमृता नेपाली हो । उनी ५४ वर्षकी भइन् । अमृता दुई वर्षकी हुँदा आमाको निधन भयो । त्यसपछि अमृताको बाले अर्को बिहे गरे । कान्छी आमाले नरुचाएपछि अमृता मामाघर गइन् । मामाघरका भाइहरूलाई स्कुल बोकेर लैजाने, ल्याउने गर्न थालिन् । त्यहीवेला झ्यालबाट चिहाएर, मास्टरले पढाएको सुनेर अमृताले पनि केही अक्षर सिकिन् । समय बित्दै जाँदा अमृताले त्यहीँबाट ५ कक्षा पास गरिन् ।
त्यहाँ पढ्दापढ्दै सदरमुकाम खलंगामा तानमा कपडा बुन्न सिकाउनेहरू पुगे । ठकुरीका छोरीहरू कपडा बुन्न सिक्न जाने भए । अमृतालाई पनि एकजना ठकुरीकी छोरी हेर्ने हेरालु बनाएर सदरमुकाम पठाइयो ।ठकुरीकी छोरीलाई रेखदेख गर्दै अमृताले पनि तानमा कपडा बुन्न सिकिन् । एउटा तान बुनेको तीन रुपैयाँ दिइन्थ्यो । ठकुरीका छोरीहरूले दिनमा एउटा पनि तान बुनिनसक्दा अमृताले चाहिँ दिनमै तीनवटा सकाउन थालिन् । यमुना भन्छिन्, ‘कपडा बुनेको नौ रुपैयाँ र पुरस्कार एक रुपैयाँ गरी आमाले दिनमै १० रुपैयाँ कमाउनुभयो रे !’
अमृताको सीप देखेर तालिम दिनेहरूले उनलाई सुर्खेत लैजाने कुरा गरे । तर, मामाघरका आफन्तले बिरानो ठाउँमा अमृतालाई जान दिएनन् । बरु तजे कामीसँग जबर्जस्ती बिहे गरिदिए । अमृता बिहे गरेर पुगेको गाउँमा शिक्षकको अभाव थियो । उनी त्यही गाउँको श्री सरस्वती प्राथमिक विद्यालयमा पढाउन थालिन् । अमृता स्कुलमा पढाउने, तेजबहादुर आरनमा काम गर्ने, जिन्दगी राम्रैसँग बित्न थाल्यो ।
तल फाँटमा बस्नेहरू खेताला खोज्दै कामी डेरातिर पुग्थे । यमुना र उनका दाइ आँगनमा खेलिरहेको देखेर भन्थे, ‘चाँडै ठुली भएस् । हाम्रो खेतमा काम गर्न चाँडै आएस् ।’ यस्तो आशीर्वाद दिनेहरूकै खेतबारीमा काम गरेर पुस्तौँ गुजारेका थिए, दमाईं डेरा, सार्की डेरा र कामी डेराका दलितले । भूगोलको तहमा सबैभन्दा माथि बस्नेहरू समाजको तहमा सबैभन्दा तल बनाइए । समथर ठाउँमा बस्नेहरूले डेरामा बस्नेहरूलाई शासन गरिरहे । डेरामा बस्नेहरू उनीहरूका लागि फगत श्रमिक थिए । उनीहरूको श्रम चल्थ्यो, सीप चल्थ्यो तर जात चल्दैनथ्यो ।फाँटमा बस्ने ठालुलाई अमृता शिक्षिका भएर स्कुलमा पढाइरहेको पटक्कै चित्त बुझिरहेको थिएन । ‘हाम्रा छोराछोरीले त्यो कमिनीलाई कसरी नमस्कार गर्ने ?’ फाँटमा बस्नेहरूले यसरी नै कुरा काट्थे ।
विद्यार्थीका प्रिय शिक्षिका थिइन् अमृता । यमुना भन्छिन्, ‘आमाले पढाउँदा स्कुल एकदमै राम्रो थियो रे ! आमाले किताबी शिक्षा मात्रै होइन, अतिरिक्त सीप पनि सिकाउनुहुन्थ्यो रे !’ अमृताले १ र २ कक्षामा पढाएका विद्यार्थी हुन्, काँशीराम ओली । हाल उनी नेपाल आयल नियम सुुदूरपश्चिम प्रादेशिक कार्यालयमा लेखाप्रमुख छन् । उनी भन्छन्, ‘अमृता म्याडमले हामीलाई एकदमै माया गर्नुहुन्थ्यो । जतिसुकै गाह्रो कुरा पनि गीति शैलीमा पढाउनुहुन्थ्यो । हामी रमाइलो मान्दै पढ्थ्यौँ र बुझ्थ्यौँ पनि ।’
समय सँधै उस्तै रहेन । अमृताको जीवनमा एउटा घुम्ती आइपुग्यो । फाँटमा बस्ने ठालुको माइला छोराको बिहे भयो । पढेलेखेकी बुहारी गाउँमा आइपुगिन् । बिहेकै दिन स्कुलमा लगेर उनलाई शिक्षक नियुक्त गरियो र अमृतालाई जबर्जस्ती स्कुलबाट निकालियो । कामी डेराकी सक्षम दलित शिक्षिकाभन्दा फाँटमा बस्ने ठालुकी बुहारी ‘अब्बल’ शिक्षिका ठानियो ।अब अमृताको जीवनमा तिरष्कार र दुःखको हुन्डरी सुरु भयो । उनको पक्षमा बोलिदिने कोही भएन । स्कुलका ससाना विद्यार्थी अमृता मिस नै चाहिन्छ भनेर बोल्न सक्दैनथे । बोले पनि बच्चाहरूको माग कसले सुन्ने ?
स्कुलबाट अमृतालाई निकाले पनि अमृताको मनबाट स्कुल निस्किएन । आफूले पढाइरहेका विद्यार्थी उनका लागि छोराछोरी समान प्रिय थिए । उनी स्कुल गएर विद्यार्थीलाई चौरमा लाइन लगाउन खोज्थिन् । कापीमा हाजिर गर्न खोज्थिन् । उनलाई फेरि स्कुलबाट जबर्जस्ती निकालियो । तिरष्कार भोगेरै पनि अमृता स्कुलबाहिर उभिएर पढिरहेका बालबालिकालाई हेरिरहन थालिन् । निष्कासित भइसकेर पनि उनी स्कुल आउने गरेको काँशीराम सम्झिन्छन् । भन्छन्, ‘म त सानै थिएँ । धेरै कुरा त सम्झना छैन । तर, हामी पढिरहँदा उहाँ स्कुलमा आउने गरेको याद छ ।’
स्कुलबाट अचानक निकालिएपछि पनि उनी निरन्तर स्कुल गइरहिन् । किनकि उनलाई स्कुल जाने बानी परिसकेको थियो । हरेक दिन स्कुल नगई चित्तै नबुझ्ने भयो उनलाई । दिनमा एकपटक स्कुल पुग्नु, स्कुलको बाहिर उभिएर भित्र पढिरहेका विद्यार्थीलाई नियालेर हेर्नु उनको दैनिकी बन्यो । अमृताको व्यवहार गाउँलेहरूलाई असामान्य लाग्न थाल्यो । अब गाउँमा हल्ला चल्यो– कामी डेराकी अमृता ‘बौलाही’ ।
सानी यमुनालाई बौलाहीकी छोरी भन्न थालियो । अमृताको श्रीमान्लाई बौलाहीको लोग्ने भन्न थालियो । अमृतालाई अब श्रीमान्ले स्कुल नजाऊ भन्न थाले । यमुना भन्छिन्, ‘गाउँका मान्छेहरूले हेप्न थालेपछि आमालाई बाले कुट्न थाले । बाले मात्रै होइन, हजुरबा र काकाहरूले पनि कुट्न थाले ।’ जति कुटाइ खाए पनि अमृता स्कुल जान छाडिनन् । अब उनलाई निको पार्न धामीझाँक्री बोलाइयो । धामीले युवाहरू जम्मा पारी अमृतालाई जालले छोेपेर कुट्न लगाए ।
अमृताका लागि आफू शिक्षित हुनु, गाउँमा पढाउन खोज्नु अनि छोराछोरीलाई पढाउनुपर्छ भन्नु नै अभिशापजस्तो भइदियो । मामाघरमा चिनेको अक्षर उनका लागि पीडा दिने माध्यमजस्तो बनिरह्यो । तर, उनी यातना र तिरष्कारले गल्नेवाला थिइनन् । छोराछोरीलाई शिक्षित बनाई छाड्ने अठोटमा उनी लागिरहिन्– चाहे श्रीमान्, ससुरा र देवरहरूले कुटून्, चाहे दुनियाँले ‘बौलाही’ भनोस् । शिक्षित त बनाउने, तर कसरी ? समाजका लागि त उनी अब ‘बौलाही’ भइसकेकी थिइन् ।
एक दिन अगेनाको डिलमा बसेर के–के सोच्दासोच्दै अमृतालाई उपाय फुर्यो । उपाय फुरेपछि उनले तुरुन्तै यमुना र उनको दाइलाई आँगनमा बोलाइन् । सानी यमुना र उनका दाइ आमाको छेउमा टुक्रुक्क बसे । अनि अमृताले आँगनको बिचमा सफा पारेर बढारिन् । त्यसपछि अगेनाबाट खरानीको थुप्रो छोराछोरीको छेउछेउमा राखिदिइन् । अनि थोरै खरानी टिपेर आँगनमा लेखिन्– क । छोराछोरीलाई सिकाउँदै भनिन्, ‘यसलाई क भनिन्छ । लु क भन त ।’ यमुना र उनका दाइले चाख मानेर हेरिरहे । अनि आमाले सिकाएजसरी खरानीले आँगनमै लेख्न थाले । यमुनाका लागि अब स्कुल बन्यो घर । कापी बन्यो, घरको आँगन । कलमको मसी बन्यो खरानी । यमुना भन्छिन्, ‘खरानीले हातका औंलाहरू फुट्थे । तर, हामीले लेख्न छाडेनौँ ।’ अब संघर्ष गर्ने अध्याय अमृताबाट यमुनातिर पुस्तान्तरण हुँदै थियो ।
संघर्षको दोस्रो अध्याय
यमुनालाई अमृताले आफूले पढाउन नपाएकै स्कुलमा भर्ना गरिदिइन् । तर, यमुनासँग कापीकलम हुँदैनथ्यो । खुट्टामा चप्पल हुँदैनथ्यो, जिउमा गतिलो कपडा हुँदैनथ्यो । यमुना भन्छिन्, ‘स्कुलले दिने किताबबाहेक मसँग कापीकलम हुँदैनथ्यो ।’यमुनाले कापी किन्ने उपाय सोचिन् । घरमा फलेको अम्बा टिपिन् अनि साथीहरूलाई अम्बा दिएर कापीको पाना लिन थालिन् । भन्छिन्, ‘बेलौती(अम्बा)सँग साटेको पानाहरू बटुलेर कापी बनाएँ । अरूले लेखेर फालेका कापी जम्मा गरी धोएर आमाले हामीलाई कापी बनाइदिनुहुन्थ्यो ।’
प्राथमिक शिक्षा सकाएपछि यमुना गाउँभन्दा परको श्री महेन्द्र उच्च माध्यमिक विद्यालय छिवाङमा पढ्न थालिन् । यमुनाले त्यहीँबाट एसएलसी र प्लस टु पनि सकिन् । अब यमुनाको यात्रा गाउँबाट सदरमुकाम खलंगातिर सोझियो ।खलंगामा एफएममा कार्यक्रम चलाउँदै, स्कुल पढाउँदै अंग्रेजी विषयमा ब्याचलर पढ्न थालिन् । तर, जतिपटक परीक्षा दिँदा पनि उनी फेल मात्रै भइरहिन् । लगातार तेस्रो वर्षसम्म रिजल्ट फेल आएपछि कलेजमा बुझ्न गइन् । कलेजले काठमाडौं नै जान सुझायो ।
एक दिन अगेनाको डिलमा बसेर सोच्दासोच्दै अमृतालाई उपाय फुर्यो । उपाय फुरेपछि उनले तुरुन्तै यमुना र उनको दाइलाई आँगनमा बोलाइन् । सानी यमुना र उनका दाइ आमाको छेउमा बसे । अनि अमृताले आँगनको बीचमा बढारिन् । त्यसपछि अगेनाबाट खरानीको थुप्रो छोराछोरीको छेउछेउमा राखिदिइन् । अनि थोरेै खरानी टिपेर आँगनमा लेखिन्– क ।
कहिल्यै नटेकेको काठमाडौंमा उनी आइन् । बल्खुको परीक्षा नियन्त्रण कार्यालयवरपर चक्कर काट्न थालिन् । कहिले गोप्य शाखा, कहिले डिनको कार्यालय । कहिले दस्तुर तिर्न लाइन, कहिले हाकिम भेट्न लाइन । परीक्षा नियन्त्रण कार्यालयका फाँट घुम्दाघुम्दै उनी थाकिन् । तर, समस्या के हो पत्ता लगाउन सकिनन् ।
दिनभरि टियूको चक्कर काट्नु, रात परेपछि आफन्तको डेरा खोज्दै हिँड्नु, उनको दैनिकी हुन थाल्यो । भन्छिन्, ‘एक दिन कीर्तिपुरबाट फर्किंदा रात प¥यो । चिनेकी साथी सपनाको फोनै लागेन ।’ कहिल्यै नआएको काठमाडौंमा उनी अलपत्र परिन् । माइतीघर पुगिन् । त्यहाँ पुग्दा रात छिप्पिसकेको थियो । जाने कहाँ हो, बस्ने कहाँ हो, केही टुंगो थिएन । सडक सुनसान हुँदै गइरहेको थियो । सहरदेखि अब उनलाई डर लाग्न लागेको थियो । त्यसपछि उनी माइतीघरको घडीस्तम्भमुनि लुकेर बसिरहिन् । भन्छिन्, ‘त्यहीँ रोएर बसिरहेँ । बल्ल–बल्ल झरनासँग सम्पर्क भयो । उनी मलाई लिन आइन् ।’
भोलिपल्ट बिहान यमुना फेरि बल्खु पुगिन् । त्यहाँ धाउन थालेको पनि धेरै दिन बितिसकेको थियो । जति धाउँदा पनि नभएपछि उनी कार्यालयपरिसरमै भक्कानिइन् । उनी रोएको देखेपछि त्यहाँका एकजना कर्मचारीले उनलाई सहयोग गरे । भन्छिन्, ‘उनले मलाई सहयोग गरे । म त एकदमै राम्रो नम्बरमा पास भएको रहेछु । तर, टियूले सबै मार्कसिटमा यमकुमारी हुनुपर्नेमा यमकुमार लेखेछ । त्यो सुनेर म छाँगाबाट खसेजस्तै भएँ । रोएँ ।’टियूले उनलाई भन्यो, ‘यसलाई सच्याउने म्याद पनि सकियो । समयमै आएको भए तपाईंले क्षतिपूर्ति पनि पाउनुहुन्थ्यो । अब कुनै कानुनी प्रक्रिया बाँकी छैन । फेरि फस्ट एयरबाटै परीक्षा दिनुस् ।’
त्यसपछि यमुना खाली हात रुँदै रुकुम फर्किइन् र फेरि उही क्याम्पसमा सुरुबाटै परीक्षा दिन थालिन् । पास भइन् पनि । उनलाई तीनवर्षे कोर्सको ब्याचलर सकाउन टियूको गल्तीका कारण पाँच वर्ष लाग्यो ।‘त्यसपछि मैले शिक्षा संकाय त्यागेर कानुन पढ्ने सोच बनाएँ,’ उनी भन्छिन्, ‘यदि कानुन जानेको भए मैले यति दुःख नपाउने रहेछु । क्षतिपूर्ति पनि पाउने रहेछु ।’ अन्ततः यमुना कानुन पढ्न काठमाडौं आइन् ।
२०७२ मा एलएलबी भर्ना भइन् । २०७५ मा पढाइ सकिन् अनि ०७६ मा लाइसेन्स पनि निकालिन् । त्यसपछि वकालत गर्न थालिन् । अन्ततः उनी रुकुम जिल्लाकै पहिलो दलित अधिवक्ता बनिन् । भन्छिन्, ‘खरानीले भुइँमा लेखेर क ख सिकेँ र अहिले अधिवक्ता भएँ ।’ अधिवक्ताको लाइसेन्स पाएको दिन उनले आमालाई फोन गरेर आफू वकिल बनेको खबर सुनाइन् । अमृताले गहभरि आँसु बनाई फोनबाटै छोरीलाई बधाई दिइन् ।त्यही वेला नवराज विकहरू भेरीमा बगाइए । उनले आफ्नो जिल्लामा भएको जघन्य घटनाको वकालतबाटै काम सुरु गरिन् । उनी अहिले ‘सारभूत कानुनी सेवा’मा आबद्ध भएर वकालत गरिरहेकी छिन् । उनलाई नजिकबाट साथ दिइरहेका अधिवक्ता मोहन साशंकर यमुनाबारे भन्छन्, ‘आर्थिक, राजनीतिक रूपमा कहीँ पनि पहुँच नभएको दुर्गम ठाउँबाट उहाँ संघर्ष गरेर यहाँसम्म आइपुग्नुभयो । म उहाँलाई एक साहसी महिलाको रूपमा लिन्छु । उहाँ सबै मानिसका लागि प्रेरणाको स्रोत हो ।’
बितेका तीन वर्षमा उनले महोत्तरीमा दलित शिक्षकमाथि भएको दुव्र्यवहारको मुद्दा लडिन् । जातकै कारण कोठा नपाएपछि सञ्चारकर्मी रूपा सुनारले दायर गरेको मुद्दा पनि उनले नै हेरिरहेकी छिन् । अन्तर्जातीय प्रेम सम्बन्धकै कारण पाँच वर्षदेखि शिक्षण अस्पताल महाराजगन्जमा मृत राखिएका अजित मिजारको मुद्दा पनि उनले हेरिरहेकी छिन् । जबर्जस्ती करणी, बालविवाह, लेनदेनलगायत दर्जनौँ मुद्दा उनले अहिले हेरिरहेकी छिन् । साथै उनी कानुनमै मास्टर्स पनि पढिरहेकी छिन् ।
हिजोआज यमुनाको दैनिकी अदालत धाउँदै बित्छ, कहिले सर्वोच्च अदालत, कहिले उच्च अदालत, कहिले जिल्ला अदालत । उनी छुवाछुतजस्ता घटनाको मुद्दा हेर्दा कुनै पनि शुल्क लिन्नन् । महिला अधिवक्ता हुँदा पीडित महिलाहरूले आफ्नो पीडा खुलस्त पोख्न सक्ने उनको अनुभव छ । भन्छिन्, ‘समाजका यति धेरै समस्या बुझ्ने र सकेकोजति समाधान गर्ने अवसर पाएँ । एकदमै खुसी छु ।’
०००
सिस्ने हिमालबाट पग्लिँदै आएको हिउँ सानी भेरीमा हेलिँदै कहाँ–कहाँ पुग्यो । मुगु खोला र सानी भेरीकै किनारैकिनार बसाइँ सरिरहने चराको बथान पनि कतिपटक आयो, गयो । नजिकैको जंगलमा कति पालुवा उम्रिए, झरे । ऋतुहरू आइरहे, गइरहे । गाउँका घरहरूमा कतिपटक पार्टीका झन्डा गाडिए, फेरिए । तर, त्यो तह–तहमा विभाजित गाउँको कथा कहिल्यै फेरिएन । सीपका खानी दमाईं डेरा, सार्की डेरा, कामी डेराका दलितहरू आत्मसम्मानले उँचो शिर बनाई गाउँमा हिँड्ने दिन कहिल्यै आएन । सानी भेरी र मुगु खोलाकिनारको ओडारमा बस्ने बादीहरूको वासस्थान त फेरियो, तर जिन्दगी फेरिएन ।
कैयन् वर्ष गुज्रिसक्दा पनि अमृतालाई स्कुल गइरहने बानीले छाडेन, न बिझ्न छाड्यो उनलाई ‘बौलाही’ भन्ने समाजको तिखो वाण । कोभिड महामारीअघिसम्म पनि उनी वेला–वेला स्कुल जान्थिन् । यमुना भन्छिन्, ‘जातकै कारण मेरी आमाले अहिलेसम्म पनि पागलको ट्याग बोकेर हिँड्नुपरेको छ । समाजको टर्चरले आमाको मानसिक स्वास्थ्यमा असर प¥यो । कुनै–कुनै वेला असामान्य व्यवहार देखाउनुहुन्छ । ट्रमामा गुज्रियो मेरी आमाको जिन्दगी । स्कुलमा पढाउन पाएको भए सायद आमालाई यस्तो हुँदैन थियो ।’
यमुना जिल्लाकै पहिलो वकिल भएपछि उनलाई जिल्लामा सम्मान गरियो । त्यसवेला अमृताले छोरीलाई अंकमाल गर्दै भनिन्, ‘सात बच्चा जन्माएँ । बल्ल अहिले वकिलकी आमासम्म बनेँ ।’ अमृताको जीवनमा खुसी दिने यही एउटा माध्यम बनेको छ । अनि अमृता आफूलाई स्कुलबाट निकाल्नेहरूलाई भन्छिन्, ‘मैले खरानीले कख सिकाएकी विद्यार्थी वकिल भइन् । उनीहरूले पढाएका विद्यार्थी कहाँ पुगे ?’सोही प्राविका पूर्वप्रधानाध्यापक कर्णबहादुर वली अमृताले आफ्ना छोराछोरीलाई शिक्षित बनाएको र स्कुलमा पनि राम्रो पढाएको बताउँछन् । उनी भन्छन्, ‘उहाँले चार महिना निजी स्रोतबाट विद्यार्थीलाई माया गरी व्यावहारिक तरिकाले पढाउनुभयो ।’
यमुनालाई ६ कक्षादेखि प्लसटुसम्म सामाजिक शिक्षा पढाउने शिक्षक टेकबहादुर वली भन्छन्, ‘यमुना एकदमै प्रतिभावान्, जेहेनदार विद्यार्थी हुन् । रुकुमजस्तो दुर्गम पहाडी जिल्लाको गरिब दलित परिवारमा जन्मिएर पनि आज उनी मिहिनेतले वकिल बनिन् । एकदमै खुसी छु । मेरी विद्यार्थीलाई म सम्मान गर्छु ।’ अमृतालाई पनि नजिकबाट चिन्छन् उनी । भन्छन्, ‘उनकी आमा अमृता गाउँघरमा कविता लेख्ने, गीत गाउने कविहृदयकी मान्छे हुन् । तर, विडम्बना शिक्षामा पछाडि परेको गाउँले उहाँलाई ‘मानसिक स्वास्थ्य ठीक नभएकी’ मान्छे ठान्यो ।’
हिजोआज वकिल छोरी गाउँ गएको पल अमृतालाई संसार जितेजस्तो लाग्छ । अनि छोरीलाई अघि लगाएर गाउँ घुम्न निस्किन्छिन् । दमाईं डेरा पुग्छिन्, सार्की डेरा पुग्छिन् । कामी डेरा घुमेर मगर गाउँ पनि झर्छिन् । फाँटको क्षेत्री–बाहुन गाउँमा अरूले देख्ने गरी आमाछोरी घुमिरहन्छन् । अनि बाटोमा भेटिएका जोसुकैलाई विनाप्रसंग, विनासन्दर्भ उसले सुन्ने गरी भन्छिन्, ‘अब वकिल मान्छे । कहाँ गाउँ घुमिहिँड्ने फुर्सद हुन्छ र !’
०००
अनामनगरको खाजा पसलमा कुराकानी गरिरहँदा अधिवक्ता यमुनाको मोबाइलमा निकै फोन आइरह्यो । ती फोनमध्ये धेरै त मुद्दा हेरिदिन आग्रह गर्नेहरूको थियो । अन्तिममा उनले सपना सुनाइन्, ‘एक दिन आमालाई मैले अदालतमा बहस गरिरहेको देखाउने मन छ ।’ आमाको कुरा गर्दागर्दै यमुनाको गला अवरुद्ध भयो ।