• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ माघ १ शनिबार ०७:१२:००
रिपाेर्ट

बुलफाइट : विगतदेखि वर्तमानसम्म

२०७८ माघ १ शनिबार ०७:१२:००

वर्षभरि मीठो र तागतिलो खुराक खाएर बलवान भएको गोरुले जब विपक्षीलाई जित्छ, उसले कस्तो अनुभूति गर्छ, थाहा छैन । तर, उसलाई पाल्ने कृषकको छाती भने गर्वले ढक्क फुल्छ । कृषक वर्षभरि गोरुको पालन–पोषणमा खर्च भएको रकम बिर्सन्छन् र आफ्नो बलवान गोरुलाई स्याबासी दिन्छन् । यस्तै, दृश्य देखिने गोरु जुधाई मेला अर्थात् बुलफाइट आज रसुवा, नुवाकोट र धादिङको पर्यटकीय आकर्षण बनेको छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष औपचारिक रूपमा बुलफाइट नहुने बताइएको छ । जसले गर्दा माघ १ गते अघिल्लो वर्षहरूमा जस्तो रौनकता हुनेछैन । 

पछिल्लो समय बुलफाइट आन्तरिक पर्यटकबीच लोकप्रिय बनेको छ । रसुवा तथा नुवाकोट थुप्रै पर्यटकीय गन्तव्य र आकर्षण भएका जिल्ला हुन् । जसमध्ये वर्षमा एकपटक भए पनि आन्तरिक पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ बुलफाइट । रसुवा र नुवाकोटको सिमाना वेत्रावती, नुवाकोटको तारुका र धादिङमा स्थानीय संघसंस्थामार्फत बुलफाइटको आयोजना गरिन्छ । बुलफाइट हेर्न जिल्ला तथा बाहिरी जिल्लाका हजारौँ मानिस यी क्षेत्रमा पुग्ने गरेका छन् ।

बुलफाइट आयोजना गरेर माघेसंक्रान्तिको दिन उत्सवका रूपमा मनाइने गरिएको छ । तर, यो वर्ष कोरोना संक्रमण पुनः महामारीको रूपमा फैलन थालेसँगै जिल्ला–जिल्लामा कडाइ गर्न थालिएको छ । ऐतिहासिक पर्वको रूपमा लिइने बुलफाइट कोरोना संक्रमणका कारण औपचारिक रूपमा नगर्ने गरी स्थगित गरिएको आयोजक संस्था गोसाइँकुण्ड युवा क्लब र माघेसंक्रान्ति गोरु जुधार्ई संरक्षण संस्थाले सूचना जारी गर्दै जानकारी दिएका छन् । आयोजक संस्थाले औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्नका लागि प्रायः सबै तयारी गरिसकेका थिए । वेत्रावतीमा हुने गोरु जुधार्ई कार्यक्रम अवरुद्ध हुँदा आयोजकलाई पाँच लाखबराबरको घाटा रहेको गोसाइँकुण्ड युवा क्लबका सचिव ईश्वर थापा बताउँछन् । ‘हामीले कार्यक्रममा हुने सबै सामान खरिद गरिसकेका थियौँ । गोरुधनी किसानहरूले दर्ता पनि गराउनुभएको थियो । प्रायः सबै तयारी थियो, तर कोरोना संक्रमण बढेकाले कार्यक्रम अवरुद्ध हुनपुग्यो । यसले हामीलाई धेरै घाटा पुगेको छ ।’

यसरी जुधाइन्छ गोरु

ऐतिहासिक पर्वका रूपमा रसुवा, नुवाकोट र धादिङमा मनाइने बुलफाइटमा एक स्थानमा करिब पाँचदेखि ३० हलगोरुको घम्साघम्सी हुने गर्दथ्यो । रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा १० हलभन्दा बढी, नुवाकोटको तारुकामा करिब २० हलभन्दा बढी धादिङमा करिब ६ हल गोरुबीच घम्साघम्सी हुने गर्दथ्यो । गोरुको घम्साघम्सीका काले, तारे, फुर्के, सिँगारेलगायतका अनेकौँ नाम गरेका साँढेहरू मैदानमा उत्रिन्थे । त्यसका लागि एक महिनाअघिदेखि नै किसानहरूले आफ्ना बलवान गोरुहरू तयार गरेर ल्याएका हुन्छन् । केही समयको घम्साघम्सीपछि जुन गोरु प्रतिस्पर्धामा अगाडि रहन्छन् । पहिलो, दोस्रो, तेस्रो, सान्त्वना हुने गोरुधनी किसानले नगदसहितका पुरस्कार पाउँछन् । हार्ने गोरुधनीलाई पनि प्रतियोगितामा सहभागी गराएको भन्दै नगदसहित प्रोत्साहन गरिन्छ । गोरुको आकार, उमेर हेरी उस्तै प्रकृतिका गोरुसँग जुधाउने गरिन्छ । खासगरी, कमजोर तथा साना गोरुसँग ठूला र बलिया गोरु नपरून् भन्नेमा आयोजकले मूल्यांकन गर्छ । विजेता गोरुधनीले प्रमाणपत्रसहित पुरस्कार हात पार्छन् । गोरुलाई बलियो बनाउन स्थानीयले चना, चामल, पीठो, घाँस, पराललगायत आँटिलो खाद्यान्न खुवाउँछन् । गोरुका लागि बिमासमेत गर्न थालेपछि गोरु पाल्ने र जुधाउने प्रतियोगितामा स्थानीयको अझ बढी उत्साह थपिएको छ ।

कसरी सुरु भयो बुलफाइट ?

गोरु जुधाइने यो प्रतियोगिता करिब दुई सय वर्षअघिदेखि चल्दै आएको स्थानीयको भनाइ छ । बझांगी राजा जयपृथ्वीबहादुर सिंहको मावली नुवाकोटको तारुका हो । विक्रम संवत् १८८६ सालमा बझाङी राजा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुका मामाघर आउँदा भान्जालाई स्वागत र मनोरञ्जन दिलाउन उनका मावलीले बाजागाजासहित गोरु जुधाउने प्रचलनबाट बुलफाइट सुरु भएको बूढापाकाहरू बताउँछन् । त्यसो त बुलफाइट सुरु हुनुको पछाडि अन्य किंवदन्ती पनि छ । रसुवा र नुवाकोटको सिमाना वेत्रावतीमा सदिऔँदेखि गोरु जुधाउने परम्परा रहेको वेत्रावतीका समाजसेवी शशी डंगोल बताउँछन् । माघेसंक्रान्तिका दिन वेत्रावतीका जुडिफाँट, साम्राटाफाँट, ढाडेबगरफाँट, दहफाँट, सिम्लेफाँटहरूमा घिउ–चाकुको भोज खाई दिउँसो गोरु चराउन खेतका फाँटहरूमा लाँदा वेत्रावतीका किसानहरूले आ–आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । इतिहासअनुसार नेपाल र तिब्बत (भोट) चीनबीच विसं. १८४९ मा युद्ध हुँदा नेपालतर्फको क्षति जोगाउन एउटा ठूलो ऐतिहासिक सन्धि वेत्रावतीमा भएको थियोे । यही वेत्रावती सन्धिको सम्झनालाई जीवन्त राख्न गोरु जुधाउने परम्पराको थालनी गरिएको भन्ने वेत्रावतिका स्थानीय बूढापाकाहरूको भनाइ पनि रहेको छ । 

१८४९ सालदेखि रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा गोरु जुधाई मेला हुँदै आएको भए पनि गोसाइँकुण्ड युवा क्लबले २०५३ सालदेखि व्यवस्थित रूपमा वेत्रावतीमा गोरु जुधाउने मेला सञ्चालन गर्न थालेको हो । त्यस्तै, माघेसंक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अनुसार विसं. १८८७ सालदेखि नुवाकोटको तारुकामा सुरु भएको गोरु जुधाईलार्ई २०६२ सालदेखि स्थानीय युवाहरूले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रपद्र्धनमा केन्द्रित रहेर व्यवस्थित रूपमा जुधाउन थालेको हो ।

व्यावसायिक रूप

शताप्दी पुरानो परम्परा भए पनि स्थानीयले एकीकृत रूपमा गोरु जुधाईलाई मेलाका रूपमा मनाउन थालेको भने करिब डेढ दशक मात्र भएको छ । गोरु जुधाई मेलामा पुरस्कारको समेत व्यवस्था गरिएसँगै अब यो मेलाले व्यावसायिक रूप लिइसकेको छ । मेलालाई आकर्षक बनाउन स्थानीय तथा राष्ट्रिय कलाकार, पञ्चेबाजालगायतको समेत व्यवस्था गरिएको हुन्छ । जसले माहोललाई थप उत्साहप्रद बनाउने गरेको छ । यसले स्थानीय होटेल व्यवसायीमा समेत उत्साह ल्याउने गरेको छ । काठमाडौंबाट मेला हेर्न आउनेहरू सोही दिन काठमाडौं फर्कन भ्याउँदैनन् । उनीहरू वास बस्दा कम्तीमा दुई दिन यहाँका होटेल व्यवसायीले राम्रो आम्दानी गर्छन् । त्यति मात्र होइन, स्थानीय उत्पादनको बिक्रीका लागि पनि मेला महत्वपूर्ण माध्यम बनेको छ । मेला हेर्न हरेक वर्षजसो आउने नुवाकोटका अर्जुन न्यौपाने भन्छन्, ‘गाउँमा उत्पादन भएको शुद्ध खानेकुरा किन्न मेला उपयोगी साबित भएको छ ।’ मेलाले यी जिल्लाको पहिचानसँगै आर्थिक गतिविधिमा समेत सहयोग गरेको छ ।

विश्वमा कहाँ–कहाँ हुन्छ बुलफाइट ?

वास्तवमा नेपालमा आयोजना हुने बुलफाइट एक सानो अंश मात्र हो । विश्वमा गोरु जुधाएर मनोरञ्जन लिने ठुल्ठूला महोत्सवहरू आयोजना हुने गर्दछ । स्पेन विश्वमै बुलफाइटका कारण चर्चित मुलुक हो । स्पेनिस ‘बुलफाइट’को चर्चा संसारभर हुन्छ । पोर्चुगल, फ्रान्स र केही ल्याटिन अमेरिकन देश मेक्सिको, कोलम्बिया, इक्वेडर, भेनेजुएला तथा पेरुमा समेत यस्ता महोत्सव हुन्छन् । बुलफाइटले विश्वभरका सञ्चारमाध्यमको ध्यान मात्र तान्दैन, पर्यटक आकर्षित गरी ठूलो आर्थिक उपार्जनमा पनि सहयोग गरेको छ । स्पेनिस बुलफाइटकै सिको त नभनौँ, तर नुवाकोटको तारुका, रसुवा नुवाकोटको सिमाना वेत्रावती तथा धादिङको धुवाकोट नाम लिनासाथ ‘गोरु जुधाई मेला’को याद आउँछ । अर्थात् रसुवा, नुवाकोट र धादिङले अब गोरु जुधाई मेलालाई व्यावसायिक बनाएका छन् । जसका माध्यमबाट पर्यटकीय बजारमा यी जिल्लाको पहिचान थपिएको छ । हरेक वर्ष माघ १ गते यी जिल्लाहरू गोरु जुधाईका माध्यमबाट नेपाली सञ्चारमाध्यममा छाउने गर्छ । गोरु जुधाई हेर्न सिन्धुपाल्चोक, काठमाडांै, भक्तपुर, ललितपुरलगायतका जिल्लाबाट समेत हजारौँ मानिस पुग्ने गर्दछन् । 

पहिचान बन्दै गएको गोरु जुधाउने प्रतियोगितालाई अहिले राज्यका विभिन्न निकायले पनि वैधानिकता प्रदान गरेका छन् । व्यवस्थित र सुरक्षित प्रतियोगिता आयोजना हुन थालेसँगै यसलाई पर्यटक आकर्षित गर्ने माध्यमका रूपमा लिन थालिएको छ ।

संरक्षणको चिन्ता

गोरु जुधाई मेला पहिचान बन्दै गएको छ । तर, स्थानीयमा बिस्तारै यो मेला लोप हुने हो कि भन्ने चिन्ता पनि छ । गोरु परम्परागत कृषि प्रणालीको एक माध्यम हो । युवा पुस्ताको पलायनसँगै पाका उमेरका बुबा आमालाई गोरुको स्याहार–सुसारमा जुट्न उस्तै मुस्किल पर्ने गरेको छ । अर्कोतिर, आधुनिक कृषि प्रणाली सुरु हुँदा खेत जोत्न अत्याधुनिक मेसिन भित्रिइसकेका छन् । यसले दीर्घकालीन रूपमा मेलालाई कायम राख्न भने चुनौती रहेको स्थानीयको गुनासो छ । पछिल्लो समय गोरु जुधाई मेलालाई पशु अधिकारकर्मीले समेत आलोचना गर्ने गरेका छन् । तर, विश्वका धनी मुलुकमै यस्तो मेला आयोजना हुने हुँदा उनीहरूको आवाज भने मत्थर छ । अधिकारकर्मीले पशुलाई जुधाएर मनोरञ्जन लिने काम अमानवीय भएको तर्क गर्छन् ।